निर्णय नं. ४३८० - कर्तव्य ज्यान

निर्णय नं. ४३८० ने.का.प. २०४८ अङ्क १०
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४७ सालको फौ.पु.पूर्ण इ.नं. २८
फैसला भएको मिति: २०४८।९।१६।३ मा
निवेदक/प्रतिवादी : जिल्ला कारागार मोरड्डमा थुनामा रहेको धनेश्वर लिम्बू
विरुद्ध
विपक्षी/वादी : मनकुमारी राइको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) चस्मदिद व्यक्तिहरुको बकपत्र वारदात भएको एक वर्ष भन्दा पनि पछि भएको देखिएकोले त्यस्तो स्थितिमा शर्ट, पाइन्टको रंग कस्तो थियो भन्ने जस्ता सानातिना कुराहरु याद नहुन पनि सक्ने हुँदा जाहेरी दर्खास्त, जाहेरवालीको अदालतमा गरेको बकपत्र समेतबाट घटना हुँदा वारदात स्थलमा नरहेको भन्न मिल्ने स्थिति नदेखिँने ।
(प्रकरण नं. ४४)
(२) निवेदक प्रतिवादी मौकामा वारदातमा उपस्थित भएको तर निजले आफ्नो साथमा कुनै हतियार लिएको वा मृतक माथि प्रहार गरेको भन्ने कुरा प्रमाणित हुन नआएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय दफा (३) बमोजिम तीन वर्ष कैद सजायँ हुने ।
(प्रकरण नं. ४४)
निवेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री बाल (साविक पेज नं. ५९१) कृष्ण न्यौपाने, विद्वान अधिवक्ता श्री प्रेमप्रसाद अधिकारी
विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४६।३।५ मा भएको फैसला दोहर्याई पाउँ भनी प्रतिवादी धनेश्वर लिम्बुको हकमा अधिवक्ता वालकृष्ण न्यौपानेले न्यायिक समिति मार्फत चढाएको बिन्तिपत्र र सो सम्बन्धमा न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्नु भनी हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४७।४।२ मा लेखी आए बमोजिम पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. मिति २०४०।११।२८ गतेमा दिन ४ बजे पनि उत्तम राइको साथमा म माइती दाजु प्रेमराजको घरमा गएकोमा जहरमान लिम्बू, नासपाते साइला, धनेश्वर, मनमती, नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बु, विष्णुबहादुर, जन्तरे लिम्बू, विजुले लिम्बू र नचिनेका अरु ५, ५ जना समेतले लाठी खुकुरी लिई मेरो श्रीमती लाने उत्तमे राइलाई ठीक नगरी भएन भनी जहरमानले बचन दिई समाउदै घोक्र्याउँदै घिसारी लाठी खुकुरीले हानी पति उत्तम राइलाई मारे भन्ने जाहेरी दर्खास्त ।
३. धारिलो हतियारले काटिएको या चोट भएको भन्ने लाश प्रकृति मुचुल्का भएको र लाश जाँच पोष्ट मार्टम रिपोर्ट समेत भएको रहेछ ।
४. झगडा हुँदा छुट्याउने मर्नेकी श्रीमती र प्रेमराजलाई पनि कुट्दै थिए मैले मनाही गर्दा जहरमानको जार हो काट्न पाइन्छ तलाई केही हुँदैन चुप लाग भनी उत्तरपट्टी गए भन्ने एककुमार अधिकारीको मौकाको कागज ।
५. धनेश्वरको नातीले ११ पल्ट उत्तमलाई गनी गनी काटे भनी इन्द्रकुमारीलाई भनी रहेको सुनँे भन्ने बलमाया लिम्बुनीको मौकाको कागज ।
६. जहरमानको श्रीमती लगेको कारण उत्तमलाई कर्तव्य गरी मारेको हुन् भन्ने इन्द्रकुमारी लिम्बू, चन्द्रकुमारी, जंगबहादुर राई, बअबहादुर, बमबहादुर राई समेतको पृथक पृथक मौकाको कागज ।
७. घटना अवस्थामा श्रीमान चन्द्रकुमार गए नगएको थाहा छैन भन्ने समेत श्रीमती जसोदादेवी संग्रौलाको र झगडा हुँदा छुट्याउँदा म र मेरो श्रीमानलाई पनि कुटपिट गरी सकेको हातमा लाठी, खुकुरी थियो म घर आएँ । आधा घण्टापछि उत्तम मरेको सुनँे भन्ने रत्नमाया लिम्बूनीको र उत्तम भागे भनी कोही घर वरीपरी घुमिरहेका, जहरमानको हातमा डण्डा धनेश्वरको हातमा खुकुरी र लाठी, नास्पातेको हातमा डण्डा, नन्दकुमारको हातमा डण्डा, धनेश्वर चन्द्रकुमारको श्रीमती र जहरमानकी भान्जी समेत लाठी लिई उभिएको चिनँे अरु चिनिन ५०, ६० जना थिए हामी घर आयौं । भोलिपल्ट उत्तम मर्यो भन्ने सुनी हेर्न गयौं भन्ने समेत शिवकुमार राई र जहरमानको श्रीमती, जारी गरेको कारण मारेको हुनुपर्छ भन्ने पूर्णप्रसाद लिम्बू र जहरमानले मानिस उठाई उत्तमलाई मारे भन्ने सुनेको हुँ भन्ने समेत लक्ष्मण राई र हल्ला सुनी घटनास्थल जाँदा मानिस दौडदैं आई एउटा मानिस दौडदै मेरो घर आँगनमा छटपटाउन लागे पछि १०, १५ जना आई लाठी प्रहार गर्न थाले । डरले म घरभित्र पसेँ । एकछिन पछि कुटने मानिसहरु उत्तमतर्फ (साविक पेज नं. ५९२) लागे । म घर बाहिर निस्केँ । घाइते उत्तम रहेछ । इसाराले पानी माग्यो श्रीमतीले पानी ल्याई दिइन् । एकक्षण पछि उत्तमको मृत्यु भयो भन्ने समेत मोख धिमाल र मचि धिमालको मौकाको कागज ।
८. मनकुमारी राई र प्रेमराज लिम्बुको घा जाँच भएको केश फाराम पनि दाखिल भएको रहेछ ।
९. मिति २०४०।११।२८ गतेमा हाम्रो शत्रु मार्नु पर्छ बेलुकी घर आउ भनी जहरमानले भनी जाँदा जहरमान, नास्पाते साइलो, धनेश्वर, मानमती, नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्रकुमार, वानी विष्णुबहादुर, जन्तरे फुतुङ भन्ने विष्णुबहादुर, पृथ्वीबहादुर, जितबहादुर ४, ५ जना अरु नचिनेको रहेछन् मार्नु पर्छ भन्ने सहमति भई डण्डा खुकुरी हात हातमा बोकी घरबाट बाहिर निकाली भाग्दा लखेटी कुट्न काट्नु गरी मोरु धिमालको घरमा उत्तमको मृत्यु भएको हो हतियारले २, ३ पल्ट काटेको छ भन्ने समेत चन्द्रबहादुर लिम्बूको प्रहरीमा कागज ।
१०. मिति २०४०।११।२८ गते बजार भर्न गएको बेला विष्णुबहादुरसंग भेट भई बेलुकी जहरमानको घर जाने भनी जाँदा जहरमान, गजकेशर, चन्द्रकुमार, नास्पाते, जितबहादुर, पुष्पबहादुर, धनेश्वर, कृष्ण चन्द्र, प्रेम विष्णु, मानमति, नरेन्द्र ढलाधरे, खिलप्रसाद, भीमकुमार, चन्द्रकुमार, अकासे भवानी र नचिनेका ५, ६ जना समेत रहेछन् जहरमान, धनेश्वरले उत्तमलाई कुटनु मार्नु पर्छ भन्दा सबै सहमत भई सबैले लखेटी कुटे काटेका छौ मृत्यु भएको हो मैले १।२ पटक काटेँ भन्ने समेत पृथ्वीबहादुर लिम्बूको प्रहरीमा कागज ।
११. धनेश्वरकोमा पैसा माग्न गएँ धनेश्वर नहुँदा उनकी श्रीमतीसंग गफ गरी पर्खि बसेको थिए साँझ ६, ७ बजे जहरमानको श्रीमतीलाई मारपिट भइरहेको छ, भन्दा त्यसै गएँ कुटने हुनकी भनी डरले साइडबाट हेर्दा जहरमान, धनेश्वर नरध्वजलाई चिनँे अरु चिनिन म घर गएँ जहरमान, धनेश्वर समेतका कर्तव्यबाट मारेका हुन भन्ने जितबहादुर लिम्बूको प्रहरीमा कागज ।
१२. बहिनी ज्वाईलाई पुर्याई घर फर्कदै गर्दा धनेश्वरसंग भेट भई सहयोग मागेकोले केको सहयोग भन्दा तल पुगेपछि थाहा पाउने छौ भनी भन्दा हामी पाउँदैनौ जाँदैनौं भन्दा तिमीहरुका खैरेत छैन भनी भनेकोले साथ लागी जाँदा भीमकुमारको घर गयो मानिसको जमात थियो चिनेका धनेश्वरकी नाती, धनेश्वर पुष्प लिम्बू, कृष्ण लिम्बू पृथ्वीबहादुर, चक्रबहादुर अन्तरे, भक्तबहादुर, प्रेमबहादुर, धनेश्वरकी श्रीमती, जहरमान समेतका मानिस थिए उत्तमलाई मारपिट गरी रहेका थिए उत्तम त्यहाँबाट भाग्यो घर फर्कंदा बाटोमा पुष्पले ४ पल्ट, धनेश्वरको नातीले ११ पल्ट, जन्तरेले २ पल्ट खुकुरीले काटे भने मैले लौराले २।३ पटक हिर्काएको छु भन्ने समेत दिलप्रसाद लिम्बूको प्रहरीमा भएको कागज ।
१३. छोरा ज्वाईलाई बिदा गरी घर फर्कंदा धनेश्वरसंग भेट हुँदा सहयोग मागे संगै जाँदा अधिकारी बाहुनको घरमा ६०, ७० जनाको जमात रहेछ जहरमान धनेश्वरको नाती, पुष्पबहादुर, जन्तरे लिम्बू, विजले, पृथ्वीबहादुर, प्रेमबहादुर, कृष्ण लिम्बू नास्पाते समेतलाई चिने अरुलाई चिनिन सो अवस्था जहरमान समेतका मानिसले उत्तमको जेठानलाई कुटे र जेठान घरतर्फ गए पुष्प, जन्तरे, धनेश्वरको नाती र कृष्णको हातमा खुकुरी अरु सबैको हातमा डण्डा थिए सबैले उत्तमलाई कुटपिट गर्यो मैले पनि कुटें उत्तम भागेपछि सबै लखेट्दै गएका थिए, धिमालको घर पुगी उत्तमले जहरमानको श्रीमती लगेको कारणले धनेश्वर समेतको षडयन्त्रबाट उत्तमलाई कुटपिट गरी मारेको हो भन्ने समेत भीमकुमार लिम्बूको प्रहरीमा भएको कागज ।
१४. उत्तम राइलाई जहरमान लिम्बू र निजका सहयोगी समेतका मिलेमतोबाट मिति २०४०।११।२८ गते ७।३० बजे खुकुरी समेतको हतियारले काटी कुटी मारेका हुन् पक्राउ नपरेका हत्यारा के कहाँ लुकी छिपी बसेका छन् भन्ने समेत व्यहोराको सीताराम बस्नेत समेत जना १३ ले लेखाएको सरजमीन मुचुल्का । (साविक पेज नं. ५९३)
१५. सरजमीनबाट पनि खुकुरी प्रहार गरी मारेको समर्थित हुन आएको र जेठी श्रीमती लगेको कारणबाट जहरमानले अरु प्रतिवादी जम्मा गरी लाठी खुकुरी प्रहार गरी उत्तमको मृत्यु भएको यसैको चोटबाट मरेको भन्ने खुल्न नसकेको हुँदा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. अभियोगमा ऐ.को १३(३) को बमोजिम सजायँ हुन प्रस्तुत प्रहरी तथा जिल्ला न्यायाधिवक्ताको संयुक्त प्रहरी प्रतिवेदन ।
१६. उत्तम राइलाई, समेत भई कुटपिट गरी मारेको होइन । प्रहरीले कुटपिट गरी पढी नसुनाई सहिछाप गराए । मिति २०४०।११।२८ गते रात दिन गौरीगंज मामली घरमा छु जाहेरवाला र सरजमीनले किन पोल गरे चिन्दिन भन्ने समेत चन्द्रबहादुर लिम्बूको अदालतमा बयान ।
१७. मिति २०४०।११।२८ गते दिन रात विमारी भएकोले घर मै छु प्रहरीले कुटपिट गरी पढी, नसुनाई कागजमा सहिछाप गराएका हुन् उत्तम राइलाई मैले मारे मराएको छैन, नचिनेका मानिसले किन पोल गरे जान्दिन, जहरमानले मारेको भन्ने सम्म सुनेको हुँ भन्ने पृथ्वीबहादुर लिम्बूको अदालतमा भएको बयान ।
१८. मिति २०४०।११।२८ गते दिन रात घरमै छु । प्रहरीमा पढी नसुनाई डरत्रासमा सही गराएका हुन् म समेत भई उत्तम राइलाई कुटपिट गरी मारेको होइन पोल गर्नु कारण थाहा भएन निर्दोष छु भन्ने समेत दिलप्रसाद लिम्बूको अदालतमा भएको बयान ।
१९. जहरमान, धनेश्वर समेतको कुटपिटको कारणबाट उत्तम मरेको भन्ने सुनेको हुँ म समेत भई कुटपिट गरी मारेको होइन प्रहरीमा लेखी राखेको कागजमा सही गर भन्दा गरेको हुँ मलाई किन पोल गर्यो थाहा छैन भन्ने समेत जितबहादुर लिम्बूको अदालतमा भएको बयान ।
२०. घटना भएको भनेको दिन म दिनरात आफ्नै घरमा छु म समेत भई कुटपिट गरी उत्तम राइलाई मारेको होइन निजलाई जहरमानले मारेको भन्ने गाउँ घरमा सुनेको हुँ प्रहरीमा पढी नसुनाई डरत्रास देखाएकोले सही गरी दिएको हुँ म उपरको पोल झुठ्ठा हो भन्ने समेत मीनकुमार लिम्बुको अदालतमा भएको बयान ।
२१. मिति २०४०।११।२८ गते दिन रात काठमाडौं कमलपोखरी अगाडि नेवारको घरमा कविराजद्वारा उपचार गराई बसेको छु म समेत मिली उत्तम राइलाई कर्तव्य गरी मारेको होइन ७२ वर्षको बृद्ध मानिसलाई झुठ्ठा अभियोग लगाएका हुँदा रिहाई पाउँ भन्ने समेत मानमतिको अदालतमा भएको बयान कागज ।
२२. मिति २०४०।११।२८ गतेका दिन बिहानै चन्द्रगढी बजारमा देवीप्रसादको रु. २००।– तिर्न गएको र गंगादेवीले वारिशद्वारा जग्गा लिएको वारिसमा मालपोतमा साक्षी बसेको छु सो रात देवीप्रसादको घरमा बसेको छु म समेत भई उत्तम राइलाई कर्तव्य गरी मारेको होइन फसाउन पोल गरेका हुनुपर्छ म निर्दोष छु भन्ने समेत धनेश्वर लिम्बूको अदालतमा भएको बयान कागज ।
२३. मिति २०४०।११।२८ गते पहाड घर पाँचथर फिदिम आङसराङ गा.पं. वडा नं. ४ मा छु आफैं वा अर्काको भनाइले रिसइवीले फसाउन पोल गरेका हुन् प्रेमराज समेतलाई चिन्दिन किन पोल गरे जान्दिन भन्ने नरेन्द्र लिम्बूको अदालतमा भएको बयान कागज ।
२४. मिति २०४०।११।२८ गते दिन रात आफ्नो घर ते¥हथुम सोल्मा गा.पं. वडा नं. ९ मा छु । ते¥हथुम मालमा जग्गा लिंदा साक्षी सो दिन बसेको छु उत्तम राइलाई मार्नु म सरीक छैन भन्ने समेत तेजबहादुर लिम्बूको अदालतमा भएको बयान कागज ।
२५. म समेत भई उत्तम राइलाई मारेको होइन र उत्तम राइले मेरी श्रीमती जारी गरेको छैन श्रीमती माइती झापाको दुवागढीमा छिन् राजनीति रिसले प्रधान पञ्चबाट हटाउन झुठ्ठा पोल गरेका हुन् बाबु विमारी (साविक पेज नं. ५९४) भएको खबर आई २९ गते पहाड ताप्लेजुङ गई चैत्र २ गते पुगी उपचार गरी मिति २०४१।५।२० गतेमा शनिश्चरे घरमा फिरी आएको छु । अपराध नगरेको हुँदा सफाई पाउँ भन्ने समेत प्रधानपञ्च जहरमान लिम्बूको अदालतमा भएको बयान ।
२६. मिति २०४०।११।२८ गतेका दिन कीर्तिपुर बालकल्याण प्रा.वि.मा ४ बजे सम्म शिक्षक हुँदा बसेको छु । म समेत भई उत्तम राइलाई मारेको होइन पछि आमा विमारी भई उपचार गर्दा नलागी आमाको मृत्यु समेत भएको कृया गरी घर आउँदा म्याद आएकोले थाहा पाई आएको छु किन पोल गरे भन्न सकिन अभियोगबाट सफाई पाउँ भन्ने समेत नन्दकुमार संग्रौलाको अदालतमा भएको बयान कागज ।
२७. मिति २०४०।११।२८ गते साँझ आफ्नै घरमा छु उत्तमलाई म समेत भई कुटपिट गरी मारेको छैन । नचिनेका व्यक्तिहरुले किन पोल गरे जान्दिन मैले सजायँ पाउनु पर्ने होइन भन्ने समेत भवानी खरेलको अदालतमा भएको बयान कागज ।
२८. नास्पाते साइला भन्ने नरध्वज लिम्बू १, कृष्ण लिम्बू १, गजेश्वर भन्ने गजकेशरी लिम्बू १, चन्द्रकुमार लिम्बू १, पुष्पबहादुर लिम्बू १, फुर्तुङ भन्ने विष्णुबहादुर लिम्बू १, आकाशे भन्ने जन्तरे लिम्बू १, प्रेमबहादुर लिम्बू १ र भक्तबहादुर राई समेतले तामेल भएको म्यादी पुर्जीको म्याद गुजारी फरार रहेका रहेछन् ।
२९. जाहेरवाली सरजमीन सहितका वादी पक्षका गवाह र प्रतिवादीहरुको साक्षी तथा जहरमानको जेठी श्रीमती चन्द्रकुमारी, भक्तबहादुर सावल मगर समेत बुझी बकपत्र भएको र तेजबहादुर साक्षी बसेको भनेको सक्कलै लिखत ते¥हथुम मालपोत कार्यालयबाट झिकाइएको रहेछ ।
३०. प्रतिवादी मध्ये जितबहादुर लिम्बू, मानमती लिम्बूनी, तेजबहादुर लिम्बू, नरेन्द्र लिम्बू, भवानी खरेल, नन्दकुमार संग्रौला र धनेश्वर लिम्बूले अभियोगबाट सफाई पाउने र जहरमान लिम्बू अभियोगमा इन्कार भए पनि संकलित सबूद प्रमाण, प्रहरीमा सावित हुने व्यक्ति र सरजमीन र जाहेरवाला समेतको पोलबाट कर्तव्यवाला देखिएका र प्रहरीमा सावित हुने चन्द्रबहादुर लिम्बू, पृथ्वीबहादुर लिम्बू, निमकुमार लिम्बू, दिलप्रसाद लिम्बू समेतले जाहेरवालाको श्रीमान उत्तम राइलाई कर्तव्य गरी मारेको ठहर्छ म्यादी पुर्जीको म्यादै गुजारी बस्ने फिरादीहरुको हकमा मुलतवी रहने ठहर्छ भन्ने समेत मिति २०४३।३।२७।६ को मोरंग जिल्ला अदालतको फैसला ।
३१. मोरङ जिल्ला अदालतले प्रतिवादीहरु जितबहादुर लिम्बू, मानमति लिम्बू, नरेन्द्र लिम्बू धनेश्वर लिम्बू, भवानी खरेल, तेजबहादुर लिम्बू, नन्दकुमार संग्रौलालाई सफाई दिएको चित्त बुझेन प्रतिवेदन दावी बमोजिम निजहरुलाई पनि सजायँ गरिपाउँ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनपत्र ।
३२. जिल्ला अदालतको फैसलामा चित्त बुझेन इन्साफ पाउँ भनी प्रतिवादी पृथ्वीबहादुर लिम्बू, जहरमान लिम्बू, चन्द्रबहादुर लिम्बूको पृथक पृथक र दिलप्रसाद लिम्बू तथा भिमकुमार लिम्बूको संयुक्त रुपमा पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
३३. उत्तम राइलाई धारिलो हतियार समेतले कुटपिट गरी मारेको लाश प्रकृति मुचुल्का, शव परीक्षण, जाहेरी दर्खास्त, चस्मदिद् व्यक्तिहरुको लिखत समेतबाट देखिन आएको छ प्रतिवादी चन्द्रबहादुर लिम्बू, पृथ्वीबहादुर लिम्बू, भीमप्रसाद लिम्बू, दिलप्रसाद लिम्बू समेत उत्तम राईलाई मार्न भनी सल्लाहमा पसी हुल बाँधी भई कुटपिट गरी मारेमा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सावित रहेका र सो सावितीलाई लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनलाई समर्थन भएको प्रतिवादी प्र.जहरमानले मौका वारदातमा उपस्थित भई ठोक ठोक भन्दै गरेको जंगबहादुर राइको (साविक पेज नं. ५९५) मौकाको कागज तथा बकपत्रबाट देखिएको र अन्य चस्मदिद व्यक्तिहरुको बकपत्रबाट समेतको कारणबाट जहरमानकी श्रीमती जारी गरी लगेको भन्ने कारणबाट नै उत्तम राइलाई प्रतिवादी जहरमान समेत भई कुटपिट गरी मारेको देखिएकोले प्रतिवादी जहरमान, प्र.चन्द्रबहादुर लिम्बू, प्र.भीमकुमार लिम्बु, प्र.दिलप्रसाद लिम्बू, तथा प्रतिवादी पृथ्वीबहादुर लिम्बूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजायँ गरेको शुरु मोरङ जिल्ला अदालतको फैसला मनासिब हुँदा निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन प्रतिवादी धनेश्वर लिम्बू समेतले उत्तम राइलाई लखेट्नेमा रहेको कुरा चश्मदित व्यक्ति प्रेमराजको बकपत्रबाट देखिएको र जाहेरी दर्खास्त र बकपत्रबाट पनि निज धनेश्वर वारदातमा रहेको देखिँदा निजलाई शुरुबाट सफाई दिने गरेको इन्साफ मिलेको नदेखिएकोले उल्टी भई निज धनेश्वर समेत प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुने ठहर्छ । अरु प्रतिवादीहरुलाई सफाई दिने गरी भएको शुरुको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१२।१४ गतेको फैसला ।
३४. मृतक उत्तम राइको मृत्यु कर्तव्यबाट भएको ठहर भएको छ । प्रेमराज लिम्बूले गरेको कागज र बकपत्र तथा रत्नमाया लिम्बूनीको बकपत्रलाई प्रमाणमा नलिई विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुलाई सफाई दिन नमिल्ने हुँदा प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरी पाउँ भनी श्री ५ को सरकारको तर्फबाट यसै अदालतमा परेको पुनरावेदनपत्र ।
३५. अन्य प्रतिवादीहरुको साविती बयान मेरो विरुद्धमा प्रमाणमा लाग्न नसक्ने समेतका कारणबाट सफाई पाउनु पर्ने भएकोले पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ नमिलेको हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको जहरमान लिम्बूको यस अदालतमा परेको पुनरावेदनपत्र ।
३६. प्रहरीमा भएको साविती बयानलाई अन्य स्वतन्त्र प्रमाणहरुबाट समर्थित नभएसम्म कसूरदार ठहर गर्न नमिल्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको दिलप्रसाद लिम्बू, भीमकुमार लिम्बूको यस अदालतमा परेको पुनरावेदनपत्र ।
३७. प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार दावी प्रमाणित गर्ने भार वादीमा रहेको र शंकारहित प्रमाण मिसिल सामेल रहेकोले पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको धनेश्वर लिम्बूले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
३८. शंकाको आधारमा मलाई कसूरदार ठहर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर लिम्बूको पुनरावेदनपत्र ।
३९. अन्य प्रतिवादीहरु सरह मेरो नाम जाहेरी प्रकरणमा उल्लेख नभएको कारण समेतबाट मैले सफाई पाउनु पर्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मानकुमारीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
४०. यसमा प्रतिवादी जहरमानले वारदातस्थलमा नरहेको भन्न अदालतमा बयान गरेको भए पनि निज अन्यत्र रहे भएको कुरामा सबूद प्रमाण पुग्न नसक्ने देखिएको र अन्यत्र रही वारिशनामामा साक्षी बसेको भन्ने निजको जिकिर भए पनि घरायसी वारिशनामामा साक्षी बसेको कारणले वारदातस्थलमा नरहेको भनी प्रमाणित हुन नसक्ने निज वारदातमा रही ठोक ठोक भन्दै गरेको भनी जगबहादुरको मौकाको कागज र बकपत्रबाट देखिन आएको तथा अन्य प्रतिवादीहरुले मौकामा गरेको कागजबाट समेत जहरमानले अपराध गरेकोमा सबूद प्रमाण रहे भएको देखिन आउँछ । बलबहादुर लिम्बू र प्रेमराज लिम्बू समेतले गरेको बकपत्रबाट चन्द्रबहादुरले प्रहरी समक्ष गरेको साविती बयानलाई पुष्टि गरेको छ भने (साविक पेज नं. ५९६) भीमकुमार लिम्बू र दिलप्रसाद लिम्बूले प्रहरी समक्ष गरेको साविती बयान पनि प्रेमराज लिम्बू र रत्नमायाको बकपत्रबाट समर्थित भएको पाइन्छ । जाहेरवालीको बकपत्रबाट पृथ्वीबहादुर लिम्बूको अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानलाई पुष्टि गरेकोले अन्यथा भन्न मिल्ने देखिन आएन । वारदात हुँदा धनेश्वरले अन्यत्र रहेको जिकिर लिए पनि सो जिकिर प्रमाणबाट समर्थित हुन नसकेको र अन्य प्रतिवादीले निजलाई पनि मौकामा कागज गर्दा पोल गरेका तथा प्रेमराज लिम्बूको बकपत्रबाट निज वारदातमा रही कसूर गरेको देखिएको छ । तसर्थ प्रतिवादी जहरमान, प्रतिवादी दिलप्रसाद, प्रतिवादी भीमकुमार, प्रतिवादी पृथ्वीबहादुर, प्रतिवादी धनेश्वर, प्रतिवादी चन्द्रबहादुरले प्रहरी प्रतिवेदन दावी अनुसार कसूर गरेको कुरा मिसिल संलग्न सबूद प्रमाणहरुबाट देखिन आएको हुँदा सो को आधारमा प्रमाण समेतबाट निजहरु भई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ गर्ने गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको हुँदा निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । सफाई पाएका प्रतिवादीहरु जीतबहादुर, मानमति लिम्बूनी, नरेन्द्र लिम्बू, भवानी खरेल, तेजबहादुर लिम्बू तथा नन्दकुमार संग्रौलाले अपराध गरेको रत्नमाया र जाहेरवालीको बकपत्र समेतबाट देखिन नआएको निजहरु कसूरमा इन्कार रही बयान गरेको र निजका साक्षीहरुको बकपत्रबाट सो इन्कारी समर्थित भएको हुँदा सबूद प्रमाणको अभावको निजहरुलाई कसूरदार ठहर गर्न नमिल्ने भएकोले श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेतको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।
४१. उक्त फैसलामा चित्त बुझेन पूर्णइजलासबाट दोहर्याई हेरी पाउँ भनी प्रतिवादी धनेश्वर लिम्बुको हकमा अधिवक्ता बालकृष्ण न्यौपानेले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको निवेदनपत्रमा यसमा वारदातमा धनेश्वर लिम्बूलाई देख्ने भन्ने जाहेरवाली मानकुमारी तथा अर्को चस्मदिद् भनिएका प्रेमराज र रत्नमायाले अदालतमा बकपत्र गर्दा निज धनेश्वर लिम्बुले लगाएको कपडामा भिन्नता देखाएका तथा मर्ने उत्तम राइसंग प्रतिवादी धनेश्वर लिम्बूको कुनै रिसइवी समेत नदेखिँदा कर्तव्य ज्यान जस्तो अपराधमा तथ्य सबूदको अभावमा सजायँ गर्न न्यायोचित नहुने हुँदा प्रतिवादी धनेश्वर लिम्बूलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुन गएको भन्ने समेतको न्यायिक समितिको पर्चा भई श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा प्रस्तुत मुद्दा दोहर्याई पूर्णइजलासबाट हेरी दिनु भन्ने हुकुम प्रमांगंी बक्स भएको छ भनी मौसूफ सरकार प्रमुख सचिवालय राजदरबारबाट लेखी आए बमोजिम पूर्णइजलास लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
४२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री प्रकाश वस्ती, श्री बालकृष्ण न्यौपानेले र श्री प्रेमप्रसाद अधिकारीले वारदातमा धनेश्वर लिम्बूलाई देख्ने भन्ने जाहेरवाला मनकुमारीले गरेको बकपत्रमा प्रतिवादी धनेश्वरले निलो बुट्टा भएको स्वेटर र फुस्रो खालको प्यान्ट लगाएको भन्ने उल्लेख छ, प्रेमकुमार लिम्बूले अदालतमा बकपत्र गर्दा प्रतिवादी धनेश्वरले कोठे शर्ट सेतो पाइन्ट लगाएको भन्ने उल्लेख गरेको छ भने रत्नमाया लिम्बूले गरेको बकपत्रमा धनेश्वरले सेतो गन्जी र सेतो पाइजामा लगाएको हुँदा यसरी एउटै वारदातमा देख्ने एउटै मानिसले लगाएको लुगाको सम्बन्धमा चस्मदिद् भनिएका तीनजनाको भनाइमा विविधता देखिएको छ । प्रेमबहादुरले बयानमा धनेश्वरले काटे कुटेको देखिन भनेको छ । धनेश्वरले चोट पुर्याएको भनेर कसैले भनेको छैन । धनेश्वरले हतियार प्रहार गरेको वा मार्ने संयोग पारेकै केही देखिन्न । निजले मृतकलाई मार्नु पर्ने रिसइवी केही छैन र मनसाय पनि (साविक पेज नं. ५९७) देखिँदैन । चोट नछाडने मार्ने संयोग नपार्ने वारदातमा उपस्थित सम्म हुने व्यक्तिलाई ज्यानसम्बन्धीको १३(३) धनेश्वरका हकमा आकर्षित हुँदैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटी आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी धनेश्वर लिम्बू वारदात हुँदा घटनास्थलमा नभएको भन्ने जिकिर लिएको तथा जहरमान र धनेश्वर दुवैले त्यो दिन देवीप्रसाद चापागाई कहाँ बसेको भनी बयान भनी बयान गरेको ती दुइले एक अर्कासंग त्यहाँ भेट भएको भन्ने जिकिर लिएका छैनन् देवीप्रसादले अदालतमा गरेको बयानमा जहरमान निजको घरमा बसेको भनी बयान गरेको तर धनेश्वरको सम्बन्धमा सो कुरा स्वीकार गरेको छैन । धनेश्वर वारदातमा नभएको जिकिर प्रमाणित भएको छैन निजले ब्ष्दिष् को जिकिर लिएपछि त्यसको प्रमाण पुर्याउने अभिभारा निज उपर नै हुन्छ । मनकुमारीले अदालतमा गरेको बयानमा धनेश्वर लिम्बूले मानिसहरु उठाउनु उत्तम राइलाई मार्न लगाएको उल्लेख छ कस्तो लुगा लगाएको भन्ने महत्वपूर्ण कुरा होइन । २०४० साल फाल्गुणको घटना २०४२ साल बैशाखको बकपत्र हुँदा लुगा कस्तो थियो भन्ने स्मरण नहुनपनि सक्दछ । साक्षीहरुले गरेको बयानमा सानातिना असंगतिहरु भए पनि मूल कुरामा सबैका भनाई मिलेको छ, भने अर्थात मुद्दाको सारभूत कुरामा असंगति छैन भने त्यो कुरा साँचो हो भन्ने मानिनु पर्दछ । रत्नमाया र प्रेमराजको बकपत्रबाट पनि धनेश्वर वारदातमा उपस्थित रहेको कुराको पुष्टि हुन्छ । तसर्थ धनेश्व्र लिम्बूको सम्बन्धमा संयुक्त इजलासले गरेको फैसला मनासिब छ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
४३. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी धनेश्वर लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
४४. यसमा निर्णयतर्फ हेर्दा मिति २०४०।११।२८ गतेका दिन ४ बजे पति उत्तम राइका साथ माइती दाजु प्रेमराजको घरमा गएकोमा जहरमान लिम्बू, नासपाते साइला, धनेश्वर, मनमति, नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बू, विष्णु बहादुर, जन्तरे लिम्बू, विजुले लिम्बू र नचिनेका अरु ५, ६ जना समेतले लाठी खुकुरी लिई मेरी श्रीमती लाने उत्तम राइलाई ठीक नगरी भएन भनी जहरमानले बचन दिई समाउँदै घोक्रयाउँदै घिसारी लाठी खुकुरीले हानी पति उत्तम राइलाई मारेकोले कसूरदारहरुलाई सजायँ गरी पाउँ भन्ने समेतको मानकुमारी राइको जाहेरी परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । जाहेरी दर्खास्तको व्यहोरा र जाहेरवाली मनकुमारीले अदालतमा गरेको बकपत्रबाट प्रतिवादी धनेश्वर लिम्बू वारदातमा रहेको भन्ने देखिन्छ साथै मौकामा देख्ने प्रेमराज र रत्नमायाले अदालतमा गरेको बकपत्रमा समेत निज वारदातमा संलग्न रहेको कुरा पुष्टि गरिएको देखिन्छ । सरजमीनका मानिसहरुले वारदातमा धनेश्वर लिम्बू पनि संलग्न थियो भनी लेखाएको पाइन्छ । एउटै व्यक्ति धनेश्वर लिम्बूले लगाएको लुगाको सम्बन्धमा चस्मदिद् भनिएका तीन जनाको भनाइमा विविधता देखिएकोले निज वारदातमा थिएन भन्ने तथ्यलाई पुष्टि गर्छ भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरुको बहस जिकिरको सम्बन्धमा हेर्दा प्रस्तुत मुद्दामा चस्मदिद् व्यक्तिहरुको बकपत्र वारदात भएको एक वर्षभन्दा पनि पछि भएको देखिएकोले त्यस्तो स्थितिमा शर्ट, पाइन्टको रंग कस्तो थियो भन्ने जस्ता सानातिना कुराहरु याद नहुन पनि सक्ने हुँदा जाहेरी दर्खास्त, जाहेरवालीले अदालतमा गरेको बकपत्र समेतबाट निज धनेश्वर लिम्बू उक्त घटना हुँदा वारदातस्थलमा नरहेको भन्ने मिल्ने स्थिति देखिएन । अब निज प्रतिवादी धनेश्वर लिम्बूको प्रस्तुत वारदातमा कस्तो किसिमको संलग्नता रहेको थियो भन्ने सन्दर्भमा हेर्दा प्रतिवादी धनेश्वरको हातमा खुकुरी थियो भनी शिवकुमार राइले (साविक पेज नं. ५९८) प्रहरीमा कागज गरेको देखिए तापनि निज अदालतमा आई बकपत्र गर्न सकेको पाइँदैन । चन्द्रबहादुर लिम्बूले मार्न जम्मा भएका मध्ये जहरमानको घरमा धनेश्वर पनि भएको हात हातमा डण्डा खुकुरी बोकेको भनी प्रहरी समक्ष बयान गरे पनि अदालतमा आई बयान गर्दा धनेश्वरले हतियार, लाठी लिएको भनी बकपत्र गरेको देखिँदैन । अदालतमा आई बकपत्र गर्ने अन्य चस्मदिद् व्यक्तिहरु मानकुमारी, प्रेमराज र रत्नमाया समेतले प्रतिवादी धनेश्वर लिम्बूले उत्तम राईलाई प्रहार गरेको देखे भन्न सकेको पाइन्न । निज प्रतिवादी धनेश्वरले मर्ने उत्तम राईलाई मार्ने तर्फ भाग्न उम्कन नपाउने गरी घेरा हालेको भन्ने कुरा र निज प्रतिवादी धनेश्वर वारदातमा हुँदा निजको हातमा हतियार लाठ्ठी थियो भन्ने कुरा यी चस्मदिद् व्यक्तिहरुको बकाइबाट समेत समर्थित भएको पाइन्न निज धनेश्वर लिम्बूले मौकामा हतियार लिई वा नलिई प्रहार गरेको भन्ने पनि देखिन आउँदैन । तसर्थ यसमा निवेदक प्रतिवादी धनेश्वर लिम्बू मौकामा वारदातमा उपस्थित भएको देखिन्छ । तर निजले आफ्नो साथमा कुनै हतियार लिएको वा मृतक माथि प्रहार गरेको भन्ने कुरा प्रमाणित हुन नआएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय दफा (३) बमोजिम तीन वर्ष कैद सजायँ हुने ठहर्छ । निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।३।५।२ को फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी धनेश्वर लिम्बू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम तीन वर्ष कैद हुने ठहरेको र निज शुरु मोरड्ड जिल्ला अदालतको मिति २०४१।३।१९।२ को आदेशले थुनामा रहेको भन्ने मिसिलबाट देखिँदा निजलाई यस इजलासबाट लाग्ने गरेको तीन वर्ष कैद सजायँ भुक्तान गरी सकेको भए र अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए कैदबाट छाडि दिनु र भुक्तान नभइसकेको भए लगत कसी कैद गर्नु भनी जिल्ला कारागार शाखा मोरड्ड तथा शुरु मोरड्ड जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..१, निवेदक प्रतिवादी धनेश्वर लिम्बूकाहकमा निजलाई पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१२।१४।१ का फैसलाले लाग्ने गरेको जन्मकैदको सजायँ गर्नु परेन, सो लगत कट्टा गरी दिनु भन्ने शुरु मोरड्ड जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..२, मिसिल नियमानुसार गरी बुझाई दिनु..३
उक्त रायमा हामीहरु सहमत छौं ।
प्र.न्या.विश्वनाथ उपाध्याय,
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४८ साल पौष १६ गते रोज ३ शुभम् ।