शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३८५ - जिउ मास्ने बेच्ने

भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १०

निर्णय नं. ४३८५    ने.का.प. २०४८            अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४५ सालको फौ.पु.नं. ५००

फैसला भएको मिति: २०४८।९।२१।१ मा

पुनरावेदक/वादी : सन्तमाया दमिनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.रुपन्देही बुटवल नं.पं.वा.नं.९ बस्ने सुरज भन्ने सुरेश सार्कीसमेत

मुद्दा : जिउ मास्ने बेच्ने

(१)    मुद्दाको प्रमुख गवाहको रुपमा रहेकी पीडित पक्ष स्वयं जाहेरवाली समेत अदालतमा आई आफ्नो जाहेरी समर्थन गर्न सकेको छैन । यस्तो स्थितिमा बिना कुनै ठोस सबूद प्रमाण प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याउन नसकिने ।

(प्रकरण नं. १६)

पुनरावेदक, वादीतर्फबाट: विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     न्या.प्र.सुधार ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।२४ को फैसला उपर पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    २०४१ साल ज्येष्ठ ३ गते मेरी छोरी वर्ष १७ की सन्तमाया दर्जी मामाको घरमा जान्छु भनी गएकी र (साविक पेज नं. ६१८) अहिले सम्म घर नआएकीले २०४१ श्रावण ८ गते छोरी लिन भनी जाँदा मामा घरमा नगएकी थाहा पाएपछि सुराक पत्ता लगाउँदा कतै पत्ता नलागेकोले सुराक पत्ता लगाई खोजतलास गरी पाउँ भन्ने समेत हर्षबहादुर दमैको मिति २०४१।४।१३ गतेको हुलिया दर्खास्त ।

३.    २०४१ साल ज्येष्ठ ३ गतेको दिन म खेतमा गएको अवस्था सुरज भन्ने सार्कीले विवाह गर्छु भनी फकाई मानबहादुर कामी र १ जना नचिनेको समेत र म भारत जाउँ भनी सुनौलीमा सिनेमा हेर्न गएका र ऐ.५ गते दिल्ली पुगेपछि मलाई होटलमा राखी गएको र एक छिन पछि नचिनेको मानिस साथ लिई आई रिक्सामा राखी पठाएको, पछि मलाई दिल्ली जिवी रोड भन्ने ठाउँमा पक्की घरमा लगेपछि मानबहादुरले भा.रु. ५,०००।लिई भागे । रुपैयाँ दिने माया तामाड्डले तिमीलाई बिक्री गरी रुपैयाँ लिई गए भनेपछि थाहा पाएँ मलाई बिक्री गर्ने सुरज र मानबहादुरलाई पक्राउ गरी नचिनेको एक जना को हो ? निजहरुबाट खुलाई पक्राउ गरी कानुन बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको सन्तमाया दमिनीको २०४१।११।११ को जाहेरी दर्खास्त ।

४.    म ५।६ वर्ष अगाडि भैरहवा सुनौलीमा गाडी चलाउँथे, २ वर्ष अगाडिबाट भारतको दिल्ली ओखला फैसटु इण्डष्ट्रिजमा चौकीदार काम गर्थे । सो ठाउँबाट आफ्नो घर शंकरनगरमा आउने जाने गर्दथें । मैले जाहेरवाला सन्तमाया दमिनीलाई बिक्री गरेको हैन । निजलाई सुरज सार्कीले विवाह गरी लगेको भन्ने कुरा थाहा पाएको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी मानबहादुर विश्वकर्माले प्रहरी समक्ष गरेको बयान कागज ।

५.    सन्तमायासंग प्रेम भएकोले सो ठाउँ छाडी अन्यत्र जाउँ भनी भनेकी मानबहादुर कामी भारत दिल्लीमा नोकरी गर्ने हुँदा निजसंग सल्लाह गर्दा मिलेमा नोकरी लगाई दिउँला भनेकोले २०४१ साल ज्येष्ठ ३।४ गते तिर सन्तमायालाई घरबाट लिई निस्कदा बाटामा नारायणघाट तिर घर हो भन्ने नाम यकीन नचिनेको मगर गुरुड्ड जस्तो व्यक्ति भेटी बाटा खर्च हाली दिन्छु भनेकीले भैरहवा देखि दिल्ली पुर्‍याई एक आइमाई कहाँ पुर्‍याई भा.रु. १,२००।मा बिक्री गर्‍यो र पैसा बाँडी लिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी सुरज भन्ने सुरेश सार्कीले प्रहरी समक्ष गरेको बयान कागज ।

६.    जाहेरवाली सन्तमाया दमिनीसंग प्रतिवादी भनिएका सुरज भन्ने सुरेश सार्कीको प्रेम भई निजले लगेको र साथमा मानबहादुर विश्वकर्मा भारत दिल्ली गएको भन्ने सुनियो, पछि केटाहरु आएको र केटी नआएकीले भारतमा नै बिक्री गरी छाडे भन्ने सुनेका हौ भन्ने समेत व्यहोराको कविराज पुन समेतका व्यक्तिहरुले गरी दिएको मिति २०४१।११।१८।६ को सरजमीन मुचुल्का ।

७.    जाहेरवाली सन्तमायालाई प्रतिवादी सुरेश सार्कीले विवाह गर्छु भनी झुक्याई भ्रममा पारी भारतको दिल्लीमा लगी भा.रु. १,२००।मा बिक्री गरी मुलुकी ऐन जिउ मास्ने बेच्ने महलको १ नं. को अपराध गरेको सिद्ध हुन आएकोले सोही ऐनको १ नं. बमोजिम प्रतिवादी सुरेश सार्की र प्रतिवादी मानबहादुर कामीलाई सजायँ गरी नाम थर यकीन नखुलेको प्रतिवादी सुरेश सार्कीले बयानमा लेखाएको व्यक्तिको नाम वतन प्रष्ट खुल्न आएका बखत पछि छुट्टै सजायँको माग दावी लिने व्यहोरा जानकारी गराइएको छ भन्ने समेत व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन दावी ।

८.    २०४१ सालको ज्येष्ठ ३ गते म मेरो दिदी सासु पर्नेको घर जिल्ला नवलपरासी माकर गा.पं. मा छु । सो दिन जाहेरवाली र मानबहादुर समेतसंग भेटघाट भएको थिएन । जाहेरवालीलाई मैले भारतमा लगी बेचेको छैन । जाहेरवालीको बाबु हर्षबहादुरसंग मेरो झगडा भनाभन पहिले देखि नै भई रहने हुँदा झुठ्ठा उजूर गराएका हुन् । प्रहरीमा भएको बयान कागजमा कुटपिट गर्दा डर त्रासले सही गरी दिएको हो भन्ने समेत (साविक पेज नं. ६१९) व्यहोराको प्रतिवादी सुरज भन्ने सुरेश सार्कीले रुपन्देही जिल्ला अदालतमा गरेको बयान ।

९.    जाहेरवालीलाई चिन्दिन, निजलाई मैले दिल्लीमा लगी बिक्री गरेको होइन, किन मेरा उपर जाहेरीमा किटान गरेर दिइन मलाई थाहा छैन । म श्रावणको ६७ गते तिर दिल्लीबाट घर आएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी मानबहादुर विश्वकर्माले रुपन्देही जिल्ला अदालतमा गरेको बयान ।

१०.    २०४१ साल ज्येष्ठ ३ गते प्रतिवादी सुरज भन्ने सुरेश सार्की आफ्नो नातेदारको घर वरघाट तर्फ गएका छन् भन्ने कुरा सुनेको हुँ, निज केटी लगी बेच्ने खालको मानिस होइन र सन्तमायालाई भारतमा लगेर बेचेको होइन भन्ने समेत प्रतिवादी सुरेश सार्कीको साक्षी राजकुमार श्रेष्ठले गरेको बकपत्र ।

११.    अभियुक्तहरु अदालतमा आई इन्कार रही बयान गरेका छन् । भारतमा बिक्री गरिएकी भनेकी केटी जाहेरवाली सन्तमायालाई र सरजमीनका व्यक्तिहरु समेतलाई वादी पक्षबाट अदालतमा उपस्थित गराउन सकेको देखिँदैन र बुझिएका प्रतिवादीका साक्षी राजकुमार श्रेष्ठले सन्तमायालाई भारतमा लगेर बेचेको होइन भनी बकपत्र गरी दिएको समेतबाट वादी पक्षबाट कुनै ठोस सबूद प्रमाण पेश हुन नआएको हुँदा प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको मिति २०४२।११।१।४ को फैसला ।

१२.   शुरु जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१३.   वादी पक्षबाट सरजमीनका मानिसहरुलाई अदालतमा उपस्थित गराई दावी समर्थित गर्न सकेको देखिएन । प्रतिवादी सुरेश सार्की प्रहरीमा सावित भए पनि अदालतमा आई इन्कार रहेको प्रहरीमा भएको सावितीलाई समर्थित हुने अन्य सबूद वादी पक्षबाट गुजार्न सकेको नदेखिएको प्रतिवादी मानबहादुर विश्वकर्मा प्रहरीमा समेत इन्कार रहेको र प्रतिवादीहरुलाई शंका रहित रुपमा अपराधी ठहर्‍याउने ठोस सबूदको अभावमा प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरेको रुपन्देही जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।२४।६ को फैसला ।

१४.   अ.बं. ११५ नं. को सम्पूर्ण प्रकृया नअपनाई प्रमाण गुजार्न नसकेको भन्ने आधारमा गरिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला गैरकानुनी भएको हुनाले सो फैसला बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।

१५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठको बहस समेत सुनी पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।

१६.    निर्णय तर्फ विचार गर्दा यसमा २०४१ साल जेष्ठ ३ गते मामा घर जान्छु भनी हिंडेकी छोरी सन्तमाया दमिनी मामा घर पनि नगएकी र घर पनि नफर्केकीले सुराक पत्ता लगाई पाउँ भन्ने हर्षबहादुर दमैको दर्खास्त र सुरेश सार्कीले विवाह गर्छु भनी फकाई मानबहादुर विश्वकर्मा र अर्को नचिनेको एकजना व्यक्ति समेत संगै भारत दिल्ली गई माया तामाङसंग रु. ५०००।लिई मलाई विक्री गरी भागेकोले सजायँ गरी पाउँ भनी सन्तमाया दमैनीको जाहेरी दर्खास्त परी कारवाही शुरु भएको देखिन्छ । प्रतिवादीहरु मध्येका सुरज भन्ने सुरेश सार्कीले प्रहरी समक्ष जाहेरवाला सन्तमाया दमिनीलाई भा.रु. १२००।मा भारतमा विक्री गरेको भनी बयान गरेको भए तापनि अदालतमा (साविक पेज नं. ६२०) बयान गर्दा जाहेरवालालाई विक्री गरेकोमा इन्कार रही घरबाट गएको भनेको दिन २०४१ साल जेष्ठ ३ गते आफू गाउँ घरमा नै नभई अन्यत्रै रहेको भनी लेखाई दिएको देखिन्छ । निज प्रतिवादी सुरेश सार्की उक्त दिन गाउँमा नभई अन्यत्र गएको भनी निजका साक्षी राजकुमार श्रेष्ठले समेत बकपत्र गरेको पाइन्छ । प्रतिवादीहरु मध्येका मानबहादुर विश्वकर्माले जाहेरवाला सन्तमाया दमिनीलाई भारतमा लगी विक्री गरेकोमा प्रहरी र अदालतमा समेत इन्कार रही बयान गरेका छन् । प्रतिवादीहरुले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अपराध गरेको भनी प्रमाणित गर्ने कुनै किसिमको साक्षी प्रमाण वादी पक्षबाट अदालत समक्ष पेश भएको मिसिल सामेल कागजातबाट देखिन आएन । मुद्दाको प्रमुख गवाहको रुपमा रहेकी पिडित पक्ष स्वयं जाहेरवाली समेत अदालतमा आई आफ्नो जाहेरी समर्थन गर्न सकेको छैन । यस्तो स्थितिमा बिना कुनै ठोस सबूद प्रमाण प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याउन सकिने देखिन आएन । अतः प्रतिवादीहरु सुरज भन्ने सुरेश सार्की र मानबहादुर विश्वकर्मा सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट सफाई दिने गरी शुरुले गरेको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत् २०४८ साल पौष २१ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु