निर्णय नं. ८५४३ - दर्ता बदर गुठी कायम

निर्णय नं. ८५४३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
संवत् २०६२ सालको दे.पु.नं. ८५३२
फैसला मितिः २०६७।८।१२।१
मुद्दाः– दर्ता बदर गुठी कायम ।
पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३४ बानेश्वर बस्ने कृष्णकुमार शाही
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने होमकुमारी उपाध्यायको मु.स. गर्ने दिनेशप्रकाश कोइराला
शुरु फैसला गर्ने :–
प्रशासक विष्णुप्रसाद सिग्देल, गुठी संस्थान
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री हरिबाबु भट्टराई
§ ऐतिहासिक दस्तावेज समेतका प्रमाणबाट गुठी जग्गा देखिएकोमा त्यसको लगत गुठी संस्थानमा रहनु, नरहनु नै सर्वाधिक महत्वपूर्ण कुरा होइन । त्यसमा पनि गुठी संस्थानको लगतमा उक्त जग्गाको लगत रहँदै नरहेको भन्ने पनि होइन । आफू कहाँ रहेभएको लगत र ऐतिहासिक दस्तावेजहरूको कानूनी अध्ययन, अन्वेषण नगरी गुठीको कुनै कार्यालयले गुठी लगतमा सो जग्गा नदेखिएको भन्ने कुनै बेला लेखिदिँदैमा त्यसको अस्तित्व र स्वामित्व परिवर्तन हुन नसक्ने ।
(प्रकरण नं.७)
§ जे जुन व्यहोराबाट भए पनि गुठीको जग्गा रैकरमा कसैले दर्ता गराएको भन्ने देखिएमा र सो प्रमाणित हुन आएमा साविकबमोजिम गुठी कायम गर्न सक्ने सम्मको अधिकार गुठी संस्थानका प्रशासकलाई प्रदान गरेको देखिने ।
(प्रकरण नं.१०)
§ मुद्दा पर्दापर्दैको अवस्थामा भएका हक हस्तान्तरणका व्यवहारले कानूनी मान्यता नपाउने तथा मूल स्रोत नै कायम रहन नसकेपछि सोही स्रोतबाट टुक्रिएर गएका अन्य जग्गाको छुट्टै अस्तित्व कायम रहन नसक्ने ।
(प्रकरण नं.११)
पुनरावेदक वादी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ताहरू श्री बल्लभ वस्नेत, श्री बालकृष्ण नेउपाने, श्री पदमप्रसाद काफ्ले, श्री रामप्रसाद गौडेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत पाटनको २०६२।५।१४ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छः–
मेरो बाजे कुलचन्द्र शाहीको नाउँमा मोहिया दर्ता भएको राजा जयप्रकाश मल्लले ने. सं. ८८६ मा बाँदर परेवालाई मकै छरी खुवाउने र शिवरात्रीमा महादीप बाली ब्राह्मण भोजनसमेत गराउने कार्यका लागि राखेको गुठी साविक २०२१ सालको नापीमा वत्तीसपुतली वडा नं. ६ कि.नं. २१७ को ४–१–० जग्गा जग्गावाला कुलचन्द्रको मृत्यु पश्चात दर्तावाला होमकुमारी उपाध्याय र मेरो बाबु समेतको मिलेमतोबाट रैकर दर्ता गराएकोले रैकरतर्फ दर्ता गराएको उक्त गुठीको जग्गा गुठी नै कायम गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्णकुमार शाहीको निवेदन ।
उक्त जग्गाको फिल्डवुक उत्तारमा जोताहा महलमा नुरविक्रम शाही, जग्गाधनी महल होमकुमारी उपाध्याय, किसानको व्यहोराको महलमा का.ई बानेश्वरको मनकुमारी कोइरालाको हो, मैले जोती खाएको छुँ र कैफियत महलमा ल.न.११५/१ का वाग्मती डोल रोपनी १३।। को पोत रु. ४०।९० लागेको भन्ने व्यहोरा उल्लेख भएको ।
उक्त जग्गा साविक २०१९ सालमा कृष्णप्रसाद पाध्या, कृष्णराज पाध्या र मेघराज पाध्यासमेत ३ बाट काठमाडौँ ल.नं. ११५ मा दर्ता रहेको १३–८–० जग्गा रजिष्ट्रेशन पास गरी लिएको रैकर जग्गा हो, गुठी जग्गा होइन भन्ने समेत व्यहोराको होमकुमारी उपाध्यायको तर्फबाट निवेदन परेको ।
साविक वत्तीसपुतली वडा नं ६ को कि. नं २१७ बदर भै कि. नं. ६३७, ६३८ कायम भएको, हाल उक्त जग्गाको नगर वडा नं.९, सिट नं. १०२–११०७–१८ कि.नं. ५२, ३४ भै नाप नक्सा भएको देखिन्छ । कि. नं. ५२ मा १–४–१–३ नाम खाली, ३४ मा ३–१–० होमकुमारी उपाध्यायमा नाप नक्सा भएको देखिन्छ । साविक र हालको नक्सामा आकार प्रकार केही फरक देखिन्छ भन्ने काठमाडौँ नापी शाखाले लेखाई पठाएको मिति २०५३।२।१५, च. नं. ४६७९ को पत्र ।
साविक वत्तीसपुतली गा. वि. स. वडा नं ६ कि. नं २१७ को ४–१–० हाल नापीअनुसार का.न.पा. वडा नं. ९, कि. नं.५२ र ३४ को क्रमशः १–४–१–३ र ३–१–०–० जग्गा रैकर तर्फको नभई बाँदर परेवा गुठीको भएको र उक्त जग्गा हाल कृष्णकुमार शाहीको भोगमा रहेको भन्ने समेत व्यहोराको मिति २०५३।३।१६ मा भएको सर्जमिन मुचुल्का ।
पुनरावेदन अदालतको फैसला समेतबाट बाँदर परेवा गुठी राजगुठी भएकोमा विवाद समाप्त भएपछि यस गुठीको लगतभित्रको जग्गा कायम गर्दै जानुपर्ने संस्थानको कर्तव्यभित्रै पर्न आउने हुँदा गुठी संस्थान ऐन, २०३३ को संशोधनसहितको दफा ३९(१) बमोजिम रैकरको लगत कट्टा गरी पशुपति बाँदर परेवा गुठी कायम गर्ने समेत ठहराई आज यो निर्णय पर्चा खडा गरी दिएँ भन्ने समेत व्यहोराको गुठी संस्थानको मिति २०५३।४।१४ को निर्णय–पर्चा ।
गुठी संस्थानका प्रशासक विष्णुप्रसाद सिग्देलले रैकरको लगत कट्टा गरी गुठी कायम गर्ने ठहराई मलाई हराई गरेको निर्णयमा मेरो चित बुझेन । विपक्षी वादीले कि.नं. २१७ को जग्गा पशुपति बाँदर परेवा गुठीको जग्गा हो भन्ने कुनै प्रमाण सो निवेदनसाथ पेश दाखिल गर्नु भएको छैन । हकदैयाविहीन विपक्षीको अ.बं. ८२ नं. को प्रतिकूल भनाइसम्मको आधारमा कि.नं. २१७ को जग्गा पशुपति बाँदर परेवा गुठी ठहर्याएको गुठी संस्थानका प्रशासकको निर्णय प्रमाण ऐन, २०३१ को दफा २६ मा उल्लिखित कानूनी प्रावधानको प्रत्यक्ष प्रतिकूल हुँदा बदरभागी छ । विपक्षीको निवेदन खारेज हुने गरी गुठी संस्थानको निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी होमकुमारीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यस्मा विवादमा उल्लेख भएको कि.नं. २१७ को जग्गाको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गुठी प्रशासकले सोही जग्गा गुठी कायम गर्ने भनी गरेको मिति २०५३।४।१४ को निर्णय फरक पर्न सक्ने देखिँदा छलफलका लागि विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
उक्त जग्गा प्रमाणबाट गुठीको हो भने त्यसतर्फ निर्णय गर्ने अधिकार गुठीसंस्थान ऐनले गुठी संस्थानका प्रशासकलाई दिएको पनि प्रष्ट देखिन्छ । तर अदालतमा विवाद परी कारवाही चलिरहेको विवादको विषयमा निर्णय गर्न पाउने होइन । त्यसतर्फ गुठी संस्थानले केही विचारै नगरी कृष्णकुमार शाहीको कारवाहीतर्फ निवेदनमा उल्लिखित सम्पूर्ण प्रमाण बुझी निर्णय गर्नुपर्नेमा त्यसतर्फ कुनै प्रमाण नै नबुझी गरिएको गुठी संस्थानको निर्णय कानूनको रोहमा मिल्ने देखिएन । तसर्थ उक्त मिति २०५३।४।१४ को गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय उल्लिखित आधार प्रमाणबाट मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब जे जो प्रमाण बुझ्नु पर्छ बुझी निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल गुठी संस्थान केन्द्रीय कार्यालयमा पठाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५५।४।२६।३ को फैसला ।
प्रस्तुत मुद्दा फैसला गर्दा मिलापत्र बदर मुद्दाको आधारमा फैसला गरिदिएकोमा मिलापत्र बदर मुद्दा र प्रस्तुत मुद्दाको निर्णयवस्तु बिलकुलै फरक परेको छ । प्रस्तुत मुद्दामा विवादको जग्गा राजगुठी हो वा रैकर हो भन्ने विषयवस्तु रहेको छ । मेरो बाबु नुर विक्रम शाहीले मोही छोडपत्र गरी गरेको मिलापत्र बदर हुने हो, होइन भन्ने सो मिलापत्र बदर मुद्दाको विषयवस्तु रहेको छ । विवादको जग्गालाई गुठी संस्थानले गुठी कायम गरेपछि विपक्षीले गुठी संस्थानलाई विपक्षी नबनाई दायर गरेको मुद्दाबाट गुठी संस्थानको स्वामित्व हरण हुन सक्तैन । गुठी संस्थानले निर्णय गर्नुभन्दा पूर्व साक्षी सर्जमिन लगायतका सम्पूर्ण प्रमाण बुझी ठहर गरिएको देखिँदा देखिदै प्रमाण नबुझी निर्णय गरिएको भन्दै पुनः निणर्य गर्न पठाउन मिल्ने होइन । पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने वादी कुष्णकुमार शाहीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
विवादित जग्गा समेतमा अघि पनि मुद्दा परी सर्वोच्च अदालतबाट निर्णय भएको परिप्रेक्ष्यमा न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ख) बमोजिम पुनरावेदन अदालतबाट नै प्रमाणको विवेचना गरी मुद्दा निर्णय गरी दिए हुनेमा पुनः निर्णय गर्नु भनी गुठी संस्थानमा नै मुद्दा फिर्ता गर्ने गरेको पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नदेखिँदा छलफलको लागि विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ख) ले तल्लो अदालत, निकाय वा अधिकारीले मुद्दामा इन्साफ गर्नुपर्ने प्रश्नहरूसँग सम्बद्ध प्रमाणहरू बुझ्न छुटाएको रहेछ भने पुनरावेदन सुन्ने अदालतले आफैंले बुझी फैसला अन्तिम आदेश गर्न पाउने व्यवस्था गरेको देखिन्छ । उपर्युक्त व्यवस्थाअनुसार पुनरावेदन अदालतबाटै प्रमाणको विवेचना गरी प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्नेमा सो नगरी पुनः निर्णय गर्नको लागि प्रस्तुत मुद्दा गुठी संस्थानमा पठाएको मिलेको नदेखिँदा पुनरावेदन अदालत पाटनको मिति २०५५।४।२ को फैसला बदर गरी दिएको छ । अब पुनरावेदन अदालत पाटन स्वयमले जे जो प्रमाण बुझ्नु पर्छ हेरी बुझी निर्णय गर्नु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाई दिने ठहर्छ भन्ने यस अदालतको मिति २०५९।२।१७ को फैसला ।
पुनरावेदिकाको दाताले नै कुश विर्ता भनी लिएको जिकीरबाट कुश विर्ता नदेखिई भएको फैसला अन्तिम भइरहेको साथै एकै लगतको जग्गा यसै अदालतको फैसलाबमोजिम पशुपति बाँदर परेवा गुठीको जग्गा हो भनी अन्तिम भैरहेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को प्रावधान एवम् सम्मानीत सर्वोच्च अदालतको मिति २०४९।७।१६ मा भएको आदेश समेतबाट विवादित कि.नं. २१७ को जग्गाको रैकरको लगत कट्टा गरी पशुपति बाँदर परेवा गुठी कायम हुने ठहराई गुठी संस्थानका प्रशासकबाट मिति २०५३।४।१४।२ मा भएको निर्णय पर्चा मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालतका माननीय न्यायाधीश श्री नन्दराज अधिकारीको राय ।
गुठी संस्थानका प्रशासकले दर्ता बदर गुठी कायम विषयमा मिति २०५३।४।१४ मा रैकरको लगत कट्टा गरी गुठी कायम गर्ने ठहराई गरेको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । माननीय न्यायाधीश श्री नन्दराज अधिकारी ज्यूले गुठीको निर्णयलाई सदर गर्नु भएको रायसँग सहमत हुन नसकिएकोले पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम निर्णयार्थ तेस्रो न्यायाधीशसमक्ष पेश गर्नु भन्ने पुनरावेदन अदालतका माननीय न्यायाधीश श्री अलि अकवर मिकरानीको राय ।
विवादित कि.नं. २१७ को जग्गा गुठी अधिनस्थ जग्गा हो भन्ने कुरा प्रमाणित गर्ने कुनै ठोस आधार र प्रमाण रहेको नदेखिएको उपरोक्त स्थितिमा उनाउ कि.नं १६ को जग्गा सम्बन्धमा भएको फैसलालाई आधार बनाई भएको गुठी संस्थानको मिति २०५३।४।१४ को निर्णय मिलेको नदेखिँदा गुठी संस्थानका प्रशासकले विवादित कि.नं. २१७ को रैकर जग्गालाई गुठी कायम गर्ने गरी गरेको मिति २०५३।४।१४ को निर्णय उल्टी हुने ठहर्याएको माननीय न्यायाधीश श्री अलि अकवर मिकरानीको राय मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री हरिवावु भट्टराईको २०६२।५।१४।३ को फैसला ।
पुनरावेदन अदालत पाटनबाट गुठी संस्थान ऐन, २०३३ को दफा ३९ तथा मुद्दामा पेश भएका प्रमाण र नजीरलाई पूर्णतः वेवास्ता गरी एकपक्षीय प्रमाणको त्रुटिपूर्ण किसिमले मूल्याङ्कन गरी फैसला भएको छ । प्रस्तुत मुद्दामा विवादित कि.नं. २१७ का जग्गा गुठी होइनन् भन्ने सम्बन्धमा पुनरावेदन अदालतबाट भएको फैसलाले निर्णयाधार लिन सकेको पाइन्न । गुठी संस्थानबाट निर्णय गर्ने क्रममा प्रमाणमा लिइएको मिति १९९८ सालको गुठीको लगतलाई विपक्षी होमकुमारी उपाध्यायले अन्यथा भन्न सकेको अवस्था छैन । उक्त लगतले पशुपन्छी बाँदर परेवा गुठी रहेको एवं सो गुठीसँग घरजग्गा रही उक्त गुठीको जग्गामध्येकै विवादित जग्गा म पुनरावेदकका बाजे कुलचन्द्र शाहीले मोहीमा कमाएको निर्विवाद स्थापित रहेको हुँदा विवादित जग्गा गुठीको हो भन्ने तथ्यलाई विवादरहित प्रमाणले पुष्टि गरिरहेको अवस्थामा सोतर्फ ध्यान नदिई उक्त गुठीको लगतहरूलाई बेवास्ता गरी फैसला भएको छ । श्री पशुपति बाँदर परेवा गुठीलाई राजा जयप्रकाश मल्लले स्थापना गरी प्रद्युम्न पन्तलाई जिम्मा दिएकोमा समयक्रममा सो गुठी प्रद्युम्न पन्तकै सन्तान गोविन्दप्रसाद पन्तका जिम्मामा आएको समयमा गोविन्दप्रसाद पन्तले १९९८ सालको लगत मुचुल्का लेखी श्री पशुपति गोश्वारामा चढाएको तथ्य सोही १९९८ को लगतबाट देखिन्छ । विपक्षी होमकुमारी उपाध्यायले २०१९ सालमा जग्गा खरीद गरेको भनी देखाएका दाताहरू कृष्णप्रसाद पन्त, मेघराज पन्त समेतका व्यक्तिहरू प्रद्युम्न पन्तकै सन्तानहरू हुन् । विवादित जग्गा बाँदर परेवा गुठीको होइन भनी दावी जिकीर लिनेले बाँदर परेवा गुठीको जग्गाको छुट्टै अस्तित्व देखाउन सकेको हुनुपर्ने हो । संवत् १९९८ सालकै लगतका आधारमा कि.न. १६ को रैकरको लगत कट्टा हुने भनी एकै अदालतबाट पदमकुमारी गौतमको मुद्दामा फैसला भएकोमा सोही लगतका आधारमा सोही लगत भित्रको अर्को जग्गाको रैकरको लगत कट्टा नहुने भनी भएको फैसला पूर्णतः बदरभागी छ । विपक्षी होमकुमारीले उल्लेख गरे जस्तो निजका दाताका पुर्खाहरूले कुश विर्ता पाई सोबाट रैकर परिणत भएको प्रमाण दिन गुजार्न सकेको अवस्था छैन । निजका दाताहरूका नाममा कुश विर्ता रहे भएको नभै कुश विर्ता नै नभएको सम्बन्धमा यस अदालतबाट फैसला भएको अवस्था छ । वि.सं. १९९८ को लगतले नै बाँदर परेवा गुठी गुठी संस्थान अधिनस्थ राख्न गुठीमा लगत कसिएको प्रमाणित भएको अवस्थामा गुठी लगत तथा तहसील कार्यालयको २०५०।१२।५ को पत्र गलत रहेकोमा वा गुठीको अभिलेख कितावको प्रतिकूल रहेको प्रमाणित भएको हुँदा सो पत्रलाई आधार लिई पुनरावेदन अदालत पाटनबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी गुठी संस्थानका प्रशासकबाट भएको निर्णय सदर गरिपाऊँ भन्ने वादी कृष्णकुमार शाहीको यस अदालतमा २०६२।१०।११ मा दर्ता भएको पुनरावेदनपत्र ।
गुठी संस्थान जग्गाधनी हो भन्ने शुरु निवेदनमा नै उल्लेख भइरहेको देखिँदा निजलाई समेत बुझी निर्णय गर्नुपर्ने अवस्था भएकोले अ.बं. १३९ नं. बमोजिम गुठी संस्थान केन्द्रीय कार्यालयलाई बुझी नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतबाट मिति २०६५।३।१५ मा भएको आदेश ।
सोधनी भएको कि.नं. २१७ को जग्गा जयप्रकाश मल्लले नेपाल संवत् ८८६ वैशाख सुदी तीन तलेजु भवानी पुकार गर्दै श्री पशुपतिनाथको मन्दिर वरपर परेवालाई धान मकै खुवाउने र शिवरात्रीमा महाद्विप बाली ब्राम्हणलाई भोजन गराउने दानपत्र गरी राखेको गुठीको जग्गा हो । श्री पशुपति गोश्वारामा गुठी सञ्चालन गर्नेले १९९८ मा पेश गरेको लगत समेतबाट देखिने जग्गा हो भन्ने समेत व्यहोराको गुठी संस्थानका प्रशासक सेमन्तराज चापागाँईको वारेस रघुनाथ वस्नेतले २०६५।४।३० मा यस अदालतमा गरेको बयान ।
यसमा वादी रुद्रकुमारी उपाध्याय विपक्षी होमकुमारी उपाध्याय भएको गुठी कायम मुद्दामा तत्कालीन वाग्मती अञ्चल अदालतबाट २०४४।११।१० मा भएको फैसलासहितको मिसिल, वादी कृष्णकुमार शाही विपक्षी नुरविक्रम शाही भएको मिलापत्र बदर मुद्दाको मिसिल भूमिसुधार कार्यालय काठमाडौं वा काठमाडौं जिल्ला अदालत जहाँ छ त्यहाँबाट झिकाउनु । साथै प्र.प्र. कृष्णराज पन्तसमेत विपक्षी वादी पदमकुमारी गौतम भएको जग्गा सम्बन्धी दे.पु.नं. ९५०।१७९३ को मुद्दामा मिति २०५२।७।१५ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला सहितको मिसिल झिकाई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।६।१२ को आदेश ।
यसमा प्रत्यर्थी प्रतिवादी पक्षको दाताहरूको नै विवादित जग्गा रैकरमा परिणत रहेको भन्ने कुराको तथ्ययुक्त प्रमाण पेश हुन सकेको नदेखिएको र साविक ८८६ को लगतबाट विवादित जग्गा पशुपति बाँदर परेवा गुठीको हो भन्ने देखिइरहेको अवस्थामा गुठीको नठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलको लागि प्रत्यर्थीलाई झिकाई उपस्थित भएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।१०।१९ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष मिति २०६७।७।२८ मा पेश भई हेर्दाहेर्दैमा रही आज पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीरसहितका सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरी पक्ष विपक्षका तर्फबाट प्रस्तुत भएको वहस समेत सुनियो ।
पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता बल्लभ बस्नेतले राजगुठीको जग्गा रैकर परिणत गरेमा जहिलेसुकै सो रैकर दर्ताको लगत कट्टा गरी राजगुठी कायम गर्न गुठी संस्थान ऐनले प्रशासकलाई अधिकार दिएको छ, विवादित जग्गाको विपक्षीका दाताउपर चलेको १९९८ कै लगतको कि.नं. १६ को जग्गा पशुपति बाँदर परेवा गुठी कायम भैसकेको हुँदा सोही लगतमा समावेश भएको विवादको जग्गा पनि राजगुठी भन्ने स्पष्ट नै छ, विवादित जग्गा प्रतिवादीका दाताको कुश विर्ताको भए त्यसको स्पष्ट प्रमाण हुनुपर्दछ, कुश विर्ताको भन्ने प्रमाण नभएको र साविक प्रमाणबाटै पशुपति बाँदर परेवा गुठीको विवादित जग्गा हो भन्ने स्पष्टै देखिँदा पुनरावेदन अदालतले अन्यथा फैसला गरेको मिलेको छैन भन्ने समेत वहस गर्नुभयो ।
पुनरावेदन तर्फबाटै विद्वान अधिवक्ता वालकृष्ण न्यौपानेले विवादित जग्गा प्रतिवादीका दाताले रैकर परिणत गराएको भने पनि सो बेनिस्साबाट आएको भन्ने उल्लेख भएको छ, रैकर परिणत साविक लगतको आधारमा हुने हो, बेनिस्साबाट होइन, बेनिस्साको जग्गा हुँदैन, गुठीको लगतबाट सोजग्गा गुठीको देखिएमा त्यो गुठीको नै कायम हुन्छ, साविक लगत फेला नपरेको अवस्थामा फेला नपरेको भनी लेख्दैमा पछि लगत फेला परेमा गुठीको जग्गा होइन भन्न मिल्दैन, गुठीको ताम्रापत्र भएपछि अन्यथा जे सुकै गरे पनि त्यो जग्गा गुठीको नै हुने भएकाले गुठी संस्थानका प्रशासकले रैकर परिणत बदर गरी विवादित जग्गा राजगुठी कायम गरेको निर्णय मिलेको हुँदा पुनरावेदन अदालतले गरेको फैसला उल्टी हुनुपर्दछ भन्ने समेत वहस गर्नुभयो ।
पुनरावेदक तर्फबाटै विद्वान अधिवक्ता पदमप्रसाद काफ्लेले विवादित जग्गा गुठीको भनी सोको लगत प्रतिवादीका दाताले १९९८ सालमा पशुपति गोश्वारामा पेश गरेको हो, गुठी जग्गा कमाई प्रमाणबिना रैकर परिणत गराएको अवस्थामा जग्गा गुठीको भन्ने देखिएपछि जे जस्ता क्रियाकलाप गरे पनि त्यो जग्गा गुठीको कायम गर्ने अधिकार गुठी संस्थानका प्रशासकलाई हुँदा पुनरावेदन अदालतले गुठी संस्थानका प्रशासकले गरेको निर्णय उल्टी हुने ठहर्याएको फैसला मिलेको छैन भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
गुठी संस्थानको तर्फबाट विद्वान अधिवक्ता रामप्रसाद गौडेलले विवादित जग्गा गुठीको जग्गा हो, गुठी संस्थान ऐन, २०३३ को दफा १७ ले राजगुठीको स्वामित्व गुठी संस्थानमा रहन्छ, उक्त ऐनको दफा ३९(१) ले गुठीको जग्गा रैकरमा दर्ता भएको देखिएपछि सो दर्ता बदर गर्न प्रशासकलाई अधिकार दिएको छ, विवादित जग्गाको लगत १९९८ सालमा पशुपति गोश्वारामा पेश गरेबाट यो जग्गा गुठीको भन्ने प्रष्ट देखिन्छ, विपक्षीका दाताले वादीका पितालाई बाँदर परेवा गुठीको मोही स्वीकार गर्नु भएको तर निज मोही भएको जग्गा अर्कै हो भनी देखाउन सक्नु भएको छैन, गुठीको जग्गा भए पनि लगत अद्यावधिक नगरेको कारण गुठीमा लगत नदेखिएको आधारमा सो सम्बन्धमा भएको पत्राचार नै रैकर परिणतको आधार बन्न सक्तैन, गुठी संस्थानको प्रशासकको निर्णय अन्यथा भन्ने देखिएको छैन, त्यसकारण पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
पुनरावेदक कृष्णकुमार शाहीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापाले विवादित जग्गा गुठीको भन्ने १९९८ सालको लगतबाट देखिन्छ, जयप्रकाश मल्लकै पालामा स्थापना गरिएको गुठी हुँदा कुनै व्यक्ति विशेषले राखेको गुठी होइन, १९९८ सालको लगतको कि.नं. १६ को जग्गामा मुद्दा परी गुठी कायम भै सकेको हुँदा सोही लगतको विवादित जग्गा पनि गुठीको भन्ने स्पष्ट नै छ, राजगुठीको जग्गामा विवन्धनको सिद्धान्त आकर्षित हुन नसक्ने हुँदा गुठी तहसील कार्यालयले तत्काल लगत नदेखिएको भनी लेखेकै आधारमा जग्गा बेनिस्सा कायम रहन र विपक्षीको नाममा रैकर परिणत हुन नसक्ने हुँदा पुनरावेदन अदालतले गुठी संस्थानका प्रशासकले गरेको निर्णय उल्टी गरेको फैसला मिलेको छैन भन्ने समेत वहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले विवादित जग्गा राजगुठीको होइन भनी गुठी संस्थानले नै पटक–पटक बोलिसकेको छ, २०४४ सालमा वाग्मती अञ्चल अदालतबाट विवादित जग्गा राजगुठी कायम नभई रैकर कायम भएको छ । राजगुठीको प्रमाण विपक्षीसँग छैन, विपक्षीका पिता नुरविक्रम शाहीले होमकुमारीसँगको वाली भराई मोही निष्काशन गरिपाऊँ भन्ने मुद्दामा मोही नै छाडी मिलापत्र गरेका र सो मिलापत्र कायमै रहेको अवस्थामा अब छोराले सो जग्गा प्रतिवादीको होइन भन्न मिल्दैन, अदातलबाट भएका निर्णयले विवादित जग्गा राजगुठीको नदेखिएकोमा अदालतको निर्णय काट्ने गरी निर्णय गर्ने अधिकार गुठी प्रशासकलाई हुँदैन, गुठीको प्रमाण नदेखिएको अवस्थामा गुठी कायम गर्न नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसला मनासिब छ, कायम रहनु पर्दछ भन्ने समेत गर्नुभएको बहस सुनियो ।
२. उपरोक्त वहस जिकीर एवं मिसिलबाट देखिएको तथ्य र प्रमाण समेतलाई मध्यनजर राखी इन्साफतर्फ विचार गर्दा, बाजे कुलचन्द्र शाहीको नाममा मोही दर्ता भएको राजा जयप्रकाश मल्लले ने.सं. ८८६ वैशाख सुदी ३ रोजमा तलेजु भवानीको पुकारा गर्दै दानपत्र, तामापत्र, लालमोहोर गरी वाग्मती डोल खेत र बानेश्वर पाखा जग्गा पशुपतिनाथ मन्दिर वरपरका बाँदर परेवालाई धान मकै छरी खुवाउने र शिवरात्रीमा महादीप बाली ब्राम्हण भोजनसमेत गराउने कार्यको लागि राखेको राजगुठी जग्गामध्ये २०२१ सालको सर्वेनापीमा का. जि. वत्तीसपुतली गा.वि.स.वडा नं. ६ कि.नं. २१७ को रोपनी ४–१–० कायम भएको जग्गाको दर्तावाला होमकुमारी उपाध्यायले गुठी मास्ने नियतले रैकर जग्गा भनी दर्ता गराएको हुँदा गुठीमा दर्ता गरी बाजे कुलचन्द्र शाही र बाबु नुरविक्रम शाही परलोक भैसकेको हुँदा मेरो नाममा जोताहा दर्ता गरी निज होमकुमारीका नाउँमा दर्ता रहेको कि.नं. २१७ समेतका अन्य जग्गासमेत उक्त गुठीको हुँदा रैकरको लगत कट्टा गरी राजगुठीमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदकको निवेदन परी कारवाही शुरु भएको देखिन्छ । गुठी संस्थानका प्रशासकबाट साविक कि.नं. २१७ को हाल कायम का.न.पा. वडा नं. ९ सिट नं. १०२–११०७–१८ कि.नं. ५२ र ३४ को जग्गाको रैकरको लगत कट्टा गरी पशुपति बाँदर परेवा गुठी कायम गर्ने ठहराई गरेको निर्णय पुनरावेदन अदालतबाट उल्टी हुने ठहराएको फैसलाउपर पुनरावेदन परेको अवस्था छ ।
३. प्रस्तुत मुद्दामा साविक कि.नं २१७, ज.रो.४–१–० जग्गा नेपाल संवत् ८८६ मा पशुपतिनाथ मन्दिर वरपरका बाँदर परेवालाई धान मकै छरी खुवाउने समेतका लागि तत्कालीन राजा जयप्रकाश मल्लले राखेको गुठीको जग्गा प्रतिवादीले रैकर परिणत गरी दर्ता गरेको भन्ने वादीको भनाई एकातर्फ रहेको छ भने अर्कातर्फ उक्त जग्गा २०१९ साल चैत २८ गते आफूले कृष्णप्रसाद पाध्या, कृष्णराज पाध्या र मेघराज पाध्यासमेत–३ जनाबाट रजिष्ट्रेशन पारित गरी काठमाडौं दोस्रो माल काठमाडौंमा लगत नं. ११५ मा दर्ता भएको १३–८–०–० जग्गा मध्यकै भएको, कि.नं. २१७ को ४–१–०–० जग्गा नुरविक्रम शाहीले मोहीमा कमाई बाली बुझाउँदै आएको गुठीको जग्गा नभएको भन्ने समेत प्रतिवादीको भनाई रहेकोमा यसै विवादित जग्गाको सम्बन्धमा अन्य मुद्दा मामिलाहरू समेत परेको देखिन्छ । मोहीले बाली नबुझाएको भनी प्रतिवादी होमकुमारीले यी पुनरावेदकका पिता नुरविक्रम शाही उपर २०३४ सालको वाली भराई पाउन दिएको मुद्दामा बाली भराई लिन पाउने ठहरी शुरु जिल्ला अदालतबाट भएको फैसला सदर गरी तत्कालीन वागमती अञ्चल अदालतबाट २०३९।१।७ मा २०३८ सालको दे.पु.नं. १३१७ को मुद्दामा फैसला भएको रहेछ । साथै २०३३ सालको बाली सम्बन्धमा परेको मुद्दामा पनि बाली भराई लिन पाउने ठहरी काठमाडौँ जिल्ला अदालतबाट २०३६ सालको सं.दे.मि.नं. १८ को मुद्दामा २०३६।७।३० मा फैसला भएको पनि देखिन आउँछ । त्यसैगरी बाली भराई मोही निष्काशन गरिपाऊँ भनी प्रतिवादीले यी पुनरावेदकका पिताउपर दिएको मुद्दामा जग्गाधनीकै जोत कायम हुने गरी मोहियानी हक छाडी २०४२।८।१२ मा भूमिसुधार कार्यालय काठमाडौँमा मिलापत्र भएको समेत देखिन्छ । सो मिलापत्र बदर गरिपाऊँ भनी यिनै पुनरावेदक वादीले दिएको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट निर्णय भएकोमा उक्त फैसला अधिकार क्षेत्रात्मक त्रुटिको आधारमा बदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला सो हदसम्म मनासिव ठहराई मुद्दा हेर्ने अधिकारक्षेत्र भएको सम्बन्धित भूमिसुधार कार्यलयमा रुजु रहेका पक्षलाई तारेख तोकी पठाउने गरेको हदसम्म केही उल्टी हुने ठहरी यस अदालतबाट २०५१ सालको दे.पु.नं. २४५३ को पुनरावेदक प्रतिवादी होमकुमारी उपाध्याय विरुद्ध कृष्णकुमार शाही भएको मिलापत्र बदर मुद्दामा २०५४।८।३।३ मा फैसला भएको समेत देखिन्छ । प्रतिवादीले उल्लिखित मुद्दाहरूलाई समेत आफ्नो पक्षमा प्रमाणको रुपमा प्रस्तुत गरेको पाइन्छ ।
४. वादीले उल्लेख गरेको गुठीको स्रोतको सम्बन्धमा विचार गर्दा प्रमाणको मिसिलसंलग्न गुठी लगत तथा तहवील कार्यलयबाट २०३५।८।५ मा मिठुमैया मल्लले प्राप्त गरेको नेपाल संवत् ८८६ को ताम्रपत्रको नक्कल पेश भएको छ । उक्त नक्कलमा “...श्री श्री जयप्रकाश मल्ल देव प्रभूबाट तिमालमा बस्ने श्री प्रम्द्युम्न पन्थ नाम भएकालाई प्रसन्न भै वक्से वागमती डोल वुनाम भएका प्रसन्न भै वक्से बाटोदेखि पश्चिम कुलो वा पानी जम्मा भै रहेको देखि पूर्व दक्षिण उत्तर येश्व माजमा ई चार किल्ला गरेको छविस रोपनी जग्गाका ... वाग्मती डोल खेत रोपनी २६ जवा २ देही घडी वर्ष ६ वापत श्री ३ ...दक्षिण ढोकामा कुश विर्ता गरी प्रसन्न भै वक्से धौपाटं लगं लाछि टोल ननीइटाछे भन्ने तयारी घर ४ जवा २ हात ५ पाँच नालषा २ जवा २ आधा जवा ४ हात र येती श्री पद्युम्न पन्थले श्री ३ पशुपति प्रीतिगरेर आफ्ना स्त्री जय लक्ष्मी व्राम्हणी वाचुंज्याल दश षण्डको १ षंड श्री ३ पशुपतिमा शिवरात्रीका दिन वत्ति वाल्नु वानर परेवालाई ख्वाउनु श्री जय लक्ष्मी व्रम्हणीले श्री ३ पशुपतिको सेवा गरी घरमा वसीखानु पाइन्छ तेस्का शेष पछि आफ्ना इच्छा हुनेलाई दिन पाइन्छ यो ठाउँ कसैले लोप गर्यो भने पंचमाहा पातक लाग्ने भया यस विषाको छीं यावत चन्द्रार्कभेदीनी नेपाल संवत् ८८६ वैशाख शुदी ३ रोज शुभम्” भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी संवत् ९८ जेष्ट २४ गतेको पर्चाको नक्कल हेर्दा “यसमा नेपाली संवत् ८८६ साल वैशाष शुदी ३ रोजमा पुर्षा प्रद्युम्न पन्थले गुठी जग्गाको आयस्ता मध्ये १० खण्डको १ खण्डले श्री पशुपतिका वानर परेवालाई श्रावणमा धान छरी श्री पशुपतिमा महाद्विप बाली भोजन गराई खानु भनी राखि गएको गुठीमा मेरा दाता पदम नाथ –१ कृष्णप्रसाद –१ मेघराज –१ समेतले गरी दियाको ८९।१।२५ का कागजबमोजिम खाई गुठी चलाई आएको छु भनी देउपाटन लगन लाछी टोल वस्ने गोविन्दप्रसाद पन्थले म्यादभित्र दिएका लगत मुचुल्काबाट गुठी काम चलाई खान पाउने धान मुरी ५१।१ देखिएकाले सोहीबमोजिम किताव खडा गरी श्री ५ सरकार गुठी वन्दोवस्तमा बुझाई भराई सकेबाट यो मिसिलले अरू कारवाही गर्नुपर्ने नदेखिएकोले तामेली पर्चा गरी दियां” भन्ने उल्लेख भएको पाइयो ।
५. देउपाटन लगनलाछी टोल बस्ने गोबिन्दप्रसाद पन्थले १९९८ साल वैशाखमा पशुपति गोश्वारा भण्डारमा पेश गरेको लगत मुचुल्काको नक्कलको छाँयाप्रतिबाट पनि “पुर्खा प्रद्युम्न पन्थलाई जय प्रकाश मल्लका पालामा श्री ३ तलेजुमा कुश विर्ता वागमती डोल रोपनी २६ बानेश्वर १९ समेत जम्मा रोपनी ४५ वक्से बमोजिम सो जग्गाको आयस्ताको १० खण्डको १ भागले श्री पशुपतिमा माहादिप बाली वानर परेवालाई ख्वाउनु, गोठ घर भत्के बिग्रे बनाउनु भनी ताम्रापत्र गरी गुठी राखी ... गुठी चलाई आउने पद्मनाथ –१ कृष्णप्रसाद –१, मेघराज समेतले तपसीलबमोजिमको आयस्ता खाई गुठी चलाउनु भनी मेरा नाउमा ८९।१।२५ गते कागज वक्स गरी दिएको तपसील बमोजिमको आयस्ताको १० खण्डको १ खण्डले तपसील बमोजिम गुठी काम चलाई शेष बाँकी खाई आएको ठीक दुरुस्त छ” भन्ने उल्लेख भएको देखिन्छ । उक्त लगतको तपसीलमा खुलाएको विवरणमा का.इ. बानेश्वर बस्ने कुलचन्द्र शाहीले कमाएको वारी वागमती डोल समेत खेत रोपनी ३ भन्ने समेत उल्लेख भएको देखिन्छ ।
६. उल्लिखित ऐतिहासिक दस्तावेजहरूबाट राजा जयप्रकाश मल्लले नेपाल संवत् ८८६ मा आयस्ताको दश खण्डको १ खण्ड आयस्ताले पशुपतिमा शिवरात्रीका दिन बत्ती बाली बाँदर परेवालाई खुवाउनको लागि गुठी राखेको भन्ने देखिन आउँछ । गुठीको लगत राख्ने कार्यालयले ती लिखतहरूको नक्कल दिएको भन्ने देखिएको र ती लिखतहरूलाई प्रतिवादीले अन्यथा भन्न सकेको समेत देखिन आएन । प्रमाण ऐन, २०३१ को दफा ६(ग) मा “कुनै अदालत वा सरकारी कार्यालयमा कानूनले राख्नु पर्ने स्याहा, स्रेस्ता वा कागजपत्रमा उल्लेख गरिएको कुराहरू सही रुपमा उल्लेख गरिएका हुन् भनी अदालतले अनुमान गर्नेछ” भन्ने उल्लेख भएको देखिन्छ । अदालतले सो बमोजिम अनुमान गर्नु नपर्ने भनी तत्सम्बन्धमा खण्डन गरी प्रमाण प्रस्तुत गरेको मिसिलबाट नदेखिएको अवस्थामा बाँदर परेवा गुठीको अस्तित्व नभएको भन्न मिल्ने देखिन आएन ।
७. तत्कालीन राजा जयप्रकाश मल्लले राखेको उक्त गुठी पद्मनाथ, कृष्णप्रसाद र मेघराजले चलाई आएको र १९८९।१।२५ मा कागज गरी गोविन्दप्रसाद पन्थलाई गुठी चलाउन दिएको भन्ने पनि देखिन्छ । विवादित जग्गा २०१९ साल चैत १८ मा कृष्णप्रसाद पाध्या, कृष्णराज पाध्या र मेघराज पाध्या समेतबाट आफूले खरीद गरेको भन्ने प्रत्यर्थी प्रतिबादीको भनाई रहेको देखिए पनि प्रतिवादीका दाता र १९८९।१।२५ मा कागज गर्ने व्यक्तिहरू अलग–अलग व्यक्तिहरू हुन् भनी विवाद उठाएको पाइएन । विवादित जग्गाको फिल्डबुकको कैफियत महलमा ल.न. ११५/१ को वागमती डोल रोपनी १३।। को पोत रु.४०।९० लागेको उल्लेख भएको भन्ने मिसिलबाट देखिन आउँछ । प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा प्रकरण ३ को खण्ड (छ) मा दाताहरूले कुशविर्ता जग्गा रैकर परिणत गरी मिति २०१९।१२।२८ मा हक हस्तान्तरण गरेको व्यहोरा उल्लेख गरेको देखिन्छ । तथापि दाताको कुश विर्ताको कुनै सबूद प्रमाण वा हकको स्रोत प्रस्तुत गरेको पाइएन । अर्कोतर्फ विवादित कि.नं. २१७ को जग्गा कित्ताकाट भै कायम भएका कि.नं. ५२ र ३४ को जग्गा रैकर तर्फको नभई बाँदर परेवा गुठीको भएको भनी सम्बन्धित वडा सदस्यको रोहवरमा २०५३।३।१६ मा गुठी संस्थानबाट स्थानीयस्तरमा भएको सर्जमिनबाट समेत देखिन आउँछ । यसरी पुनरावेदक वादीले विवादित जग्गालाई पशुपति बाँदर परेवा गुठी भनी विवाद उठाएको अवस्था भएको र पशुपतिक्षेत्रमा शिवरात्रीमा महाद्विप वाली बाँदर परेवालाई १० खण्ड आयस्ताको १ खण्डका दरले खुवाउन वाग्मती डोल समेतको जग्गा गुठी राखेको भन्ने देखिएको छ । प्रतिवादीका दाताहरूले नै १९८९ साल वैशाख २५ गते सोबमोजिम कागज गरेको समेत देखिएबाट विवादित जग्गा सो गुठी अन्तर्गतको होइन, अर्कै जग्गा भएको पुष्टि हुने वस्तुनिष्ट प्रमाण प्रतिवादीबाट प्रस्तुत भएको मिसिलबाट देखिएको छैन । ऐतिहासिक दस्तावेज समेतका प्रमाणबाट गुठी जग्गा देखिएकोमा त्यसको लगत गुठी संस्थानमा रहनु, नरहनु नै सर्वाधिक महत्वपूर्ण कुरा होइन । त्यसमा पनि गुठी संस्थानको लगतमा उक्त जग्गाको लगत रहँदै नरहेको भन्ने पनि होइन । आफूकहाँ रहेभएको लगत र ऐतिहासिक दस्तावेजहरूको कानूनी अध्ययन, अन्वेषण नगरी गुठीको कुनै कार्यालयले गुठीलगतमा सोजग्गा नदेखिएको भन्ने कुनै बेला लेखिदिँदैमा त्यसको अस्तित्व र स्वामित्व परिवर्तन हुन सक्दैन ।
८. यसको साथै पशुपति बाँदर परेवा गुठीको जग्गालाई गुठी चलाउनेका सन्तान मधुसुधन पन्त र सुदर्शन पन्तले ताम्रापत्र आदि लोप गराई बेनिस्सामा रैकरतर्फ दर्ता गराएको सन्दर्भमा पदमकुमारी गौतमले दिएको रैकर परिणत जग्गासम्बन्धी मुद्दामा पनि सो मुद्दाका प्रतिवादीहरूले विवादित कि.नं. १६ को जग्गा राजा जयप्रकाश मल्लले राखेको गुठी नभएको र पुर्खाको कुश विर्ताको जग्गा भएको भन्ने समेत पुनरावेदन गर्दा जिकीर लिएको देखिन्छ । उक्त मुद्दामा गुठी संस्थानका प्रशासकले सो मुद्दामा विवादित कि.नं. १६ को ४–१२–२ जग्गाको रैकरको लगत कट्टा गरी राजगुठी कायम गरेको निर्णय मनासिव ठहरी पुनरावेदन अदालत पाटनबाट संवत् २०५२ सालको दे.पु.नं. ९५०/१७९३ को पुनरावेदक प्रतिवादी कृष्णराज पन्तसमेत विरुद्ध प्रत्यर्थी वादी पदमकुमारी गौतम भएको रैकर परिणत जग्गा सम्बन्धी मुद्दामा २०५२।७।१५।४ मा भएको फैसला अन्तिम भइरहेको सोही मुद्दाको मिसिलबाट देखिन आउँछ । सो मुद्दाका प्रतिवादीहरू यस मुद्दाका प्रतिवादीका दाता/तिनका सन्तान नभएको भन्ने जिकीर लिई विवाद उठाएको देखिँदैन । प्रस्तुत मुद्दाका प्रतिवादीले लिएको जिकीर र उक्त मुद्दामा यी प्रतिवादीका दाता अर्थात सो मुद्दाका प्रतिवादीहरूले लिएको जिकीर र स्रोत एउटै रहेको र सो मुद्दाबाट यी प्रतिवादीका दाताका पुर्खाको कुश विर्ताको जग्गा रहेको भन्ने नै नदेखिएको अवस्थामा दाताले कुश विर्ता रैकरमा परिणत गराएको जग्गाबाट आफूले विवादित जग्गा खरीद गरेको भन्ने प्रतिवादीको जिकीर प्रमाणित हुन सकेन ।
९. यसको अतिरिक्त ऐतिहासिक दस्तावेज समेतबाट विवादित सा.कि.नं. २१७ तथा वादी पदमकुमारी र प्रतिवादी कृष्णराज पन्त समेत भई चलेको माथिको प्रकरणमा उल्लिखित मुद्दामा विवादित कि.नं. १६ समेतको जग्गा पशुपति बाँदर परेवा राजगुठीको देखिइसकेपछि सो राजगुठीको जग्गा अन्यत्र छ वा सोही राजगुठीको जग्गा अन्य कित्तामा कायम छ भनी प्रतिवादीले देखाउन सकेको पाइँदैन । कि.नं. १६ र साविक कि.नं. २१७ को प्रकृति र स्वामित्वको स्रोत समान देखिन्छ । समान हैसियतका यी दुई जग्गामध्ये कि.नं. १६ को हकमा गुठी प्रशासकले गरेको निर्णय मुनासिव ठहराएको पुनरावेदन अदालत पाटनले सो कि.नं. २१७ को हकमा गुठी संस्थानका प्रशासकले गरेको निर्णय बदर गर्ने निर्णय गरेको देखिन्छ ।
१०. अब रैकरमा परिणत भैसकेको जग्गाको लगत गुठी संस्थानका प्रशासकले कट्टा गर्न पाउन हो, होइन भन्ने सम्बन्धमा प्रचलित कानूनी व्यवस्था दृष्टिगत गर्दा, गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को “गुठी घर वा जग्गा साविक बमोजिम दर्ता हुने” भन्ने उपशीर्षक रहेको उपदफा (१) मा “गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता भएको प्रमाणित हुन आएमा प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले त्यस्तो गुठीको घर वा जग्गा साविकको गुठी तैनाथी जग्गा, गुठी अधिनस्थ जग्गा वा गुठी रैतान नम्बरीमा नै दर्ता गर्न सक्नेछ । त्यसरी दर्ता भइसकेपछि सो घर वा जग्गाको पहिले दर्ता भएको लगत कट्टा हुनेछ” भन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित व्यवस्थाले जे जुन व्यहोराबाट भए पनि गुठीको जग्गा रैकरमा कसैले दर्ता गराएको भन्ने देखिएमा र सो प्रमाणित हुन आएमा साविकबमोजिम गुठी कायम गर्न सक्ने सम्मको अधिकार गुठी संस्थानका प्रशासकलाई प्रदान गरेको देखिन आउँछ । गुठीको जग्गालाई निजी रैकर बनाउने उद्देश्यले कसैसँग मुद्दा मामिला गरी मिलापत्र गर्दैमा गुठीको अस्तित्व नासिन वा मासिन नसकोस् भनी विधायिकाले गुठी संस्थानका प्रशासकलाई उक्त अधिकार दिएको देखिन्छ ।
११. गुठी संस्थानका प्रशासकले साविकको स्रेस्ता, कागज र लगतबाट विवादित जग्गा गुठीको भन्ने देखिएकोले विवादित जग्गालाई साविकबमोजिम बाँदर परेवा गुठी कायम गरेको देखिन आउँछ । वादीले दावी गरेको किता नं. २१७ को जग्गा एक अर्कामा हस्तान्तरण हुँदै साविकको स्वरुपमा नरही उक्त जग्गा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ कि. नं. ५२ र ३४ मा कित्ता विभाजित भएकोमा कि. नं. ५२ पनि प्रस्तुत मुद्दा परिसके पछि कि. नं ३५३, ३५४, ३५५ र ३५६ कायम भएको भन्ने पुनरावेदन अदालतको आदेशानुसार सम्बन्धित मालपोत कार्यालयबाट मगाइएको दर्ता उतारको प्रमाणित प्रतिलिपिबाट देखिन्छ । मुद्दा पर्दापर्दैको अवस्थामा भएका हक हस्तान्तरणका व्यवहारले कानूनी मान्यता नपाउने तथा मूल स्रोत नै कायम रहन नसकेपछि सोही स्रोतबाट टुक्रिएर गएका अन्य जग्गाको छुट्टै अस्तित्व कायम रहन नसक्ने हुँदा कि. नं २१७ बाट विभिन्न मितिमा कित्ताफोड भै कायम भएका अन्य कित्ताका जग्गाहरूको परिवर्तित स्वरुप कायम रहन सक्तैन । यसप्रकार राजगुठीको जग्गा व्यक्ति विशेषको नाममा केही गरी दर्ता भएको रहेछ भने पनि त्यस्तो जग्गा वा सम्पत्तिलाई राजगुठीको रुपमा कायम राख्न सक्ने अधिकार गुठी संस्थानको प्रशासकलाई कानूनले प्रदान गरेकोले गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) को सोही अधिकार प्रयोग गरी सो संस्थानको प्रशासकले प्रत्यर्थीको नामको रैकर दर्ता बदर गरी पूर्ववत् गुठी कायम गर्ने गरेको २०५३।४।१४ को निर्णयमा कुनै कानूनी वा तथ्यगत त्रुटि रहे भएको देखिन आएन ।
१२. अतः विवादित जग्गाको रैकरको लगत कट्टा गरी जग्गाधनीमा पशुपति बाँदर परेवा गुठी कायम गर्ने समेत ठहराई गुठी संस्थानका प्रशासकले मिति २०५३।४।१४ मा गरेको निर्णय बदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१४ को फैसला माथि विवेचित आधार, कारणहरूबाट मिलेको नदेखिँदा सो फैसला उल्टी भै गुठी संस्थानका प्रशासकले विवादित जग्गाको रैकर दर्ताको लगत कट्टा गरी जग्गाधनीमा पशुपति बाँदर परेवा गुठी कायम गर्ने गरेको निर्णय मनासिव ठहर्छ । दायरीको लगत कट्टा गरी गुठी संस्थानको मिति २०५३।४।१४ को निर्णयबमोजिम गर्नु भनी सम्बन्धित गुठी संस्थानमा लेखी पठाई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.तपबहादुर मगर
इति संवत् २०६७ साल मंसिर १२ गते रोज १ शुभम्.....
इजलास अधिकृत :–दीपककुमार दाहाल