शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३८७ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १०

निर्णय नं. ४३८७    ने.का.प. २०४८            अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४८ सालको रि.नं. १५५४

आदेश भएको मिति: २०४८।१०।२९।४ मा

निवेदक      : काठमाडौं जिल्ला का.न.पा. वार्ड नं. १९ यटखा बस्ने शाही नेपाल वायु सेवा निगमको केन्द्रीय खरिद तथा भण्डार विभागमा वरिष्ठ सहायक पदमा कार्यरत नरमकाजी बज्राचार्य

विरुद्ध

विपक्षी : शाही नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालय नयाँ सडकसमेत

विषय : उत्प्रेषण (साविक पेज नं. ६२६)

(१)    फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो, फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न नसकिने ।

(प्रकरण नं. १६)

(२)   निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्था ल्याउनु हुन्छ ।

(प्रकरण नं. १६)

(३)   स्वतः निलम्बनको विषयलाई खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बन भएको कर्मचारीको सम्बन्धमा निलम्बनको अवधिको सीमासंग गाँस्न नमिल्ने ।

(प्रकरण नं. १६)

(४)   प्रहरी हिरासतमा वा अदालती कारवाहीको सिलसिलामा थुनामा रहेको कर्मचारीको निलम्बनको अवधि ६ महीना भन्दा बढी हुन सक्तैन भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने ।

(प्रकरण नं. १७)

(५)   सफाई पाएको कर्मचारीको हकमा गिरफ्तारी र जमानीमा छाड्न इन्कार गरिएको भन्ने पूर्व शर्तको समाप्ति भएको मान्नु पर्ने ।

(प्रकरण नं. १७)

(६)    स्वतः निलम्बनको अवस्थाको समाप्त नै निलम्बन फुकुवाको आधार हुन्छ जिल्ला अदालतले निवेदकलाई फौज्दारी अभियोगबाट सफाई दिई गरिएको फैसला उपर पुनरावेदन परेकोले निलम्बन जारी रहनु पर्दछ भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नसक्ने ।

(प्रकरण नं. १७)

(७)   थुना हिरासतमा नरहेकोमा पनि फौज्दारी मुद्दा जारी रहेको कारणबाट निलम्बन जारी रहने भन्ने शाही नेपाल वायु सेवा निगम कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११, , ४(ङ) मा व्यवस्था रहेको पाइँदैन । निवेदकको हकमा प्रहरी हिरासत र थुना निलम्बनको पूर्व शर्तको अभावमा निलम्बन जारी रहन्छ भन्न कानुनसंगत भएन ।

(प्रकरण नं. १७)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । (साविक पेज नं ६२७)

२.    म निवेदक शाही नेपाल वायु सेवा निगम केन्द्रीय कार्यालयको स्थायी कर्मचारी हुँ । मैले विपक्षी कार्यालयको केन्द्रीय खरिद तथा भण्डार विभागमा वरिष्ठ सहायकको रुपमा २०४५ साल श्रावण देखि सेवा गरी आई रहेकोमा २०४६।१।१२ गते विपक्षी कार्यालयबाट १,३७,०९९।३३ बराबरको सामान चोरी भयो भन्ने विपक्षी कार्यालयको पत्रको आधारमा प्रहरीद्वारा छानविन गर्ने क्रममा म स्टोर किपर भएको नाताले मलाई समेत मिति २०४६।१।१३ मा गिरफ्तार गरी प्रहरी हिरासतमा राखी मिति २०४६।१।३० को प्रहरी प्रतिवेदनद्वारा ०४७।०४८ सालको फौ.नं. ४९।१९८ अन्तर्गत नकवजनी चोरी मुद्दा म समेतलाई चलाइएकोमा का.जि.अ.को मिति २०४७।९।२० को फैसलाले म निवेदकलाई सफाई दिइएको छ । यसै क्रममा शाही नेपाल वायुसेवा निगमको कर्मचारी व्यवस्था तथा साधारण सेवा विभागका का.मु.निर्देशकको मिति ०४६।१।१४ को पत्रद्वारा मलाई प्रहरीले हिरासतमा राखेको छ भन्ने आधारमा शा.ने.वा.नि.को कर्मचारी सेवा नियमावलीको नियम ११, ३.४(ङ) अन्तर्गत निलम्बन गरेको सूचना सोही मितिमा दिई सो मिति ०४६।१।१४ देखि हालसम्म पनि निलम्बन मै राखिएको छ । मिति ०४७।९।२० गतेको का.जि.अ.को फैसलाले सफाई पाए पश्चात मिति ०४७।१०।१८ मा मलाई गरिएको निलम्बन समाप्त गरी मेरो पदमा रही सेवा गर्न पाउँ भनी विपक्षी कार्यालय समक्ष द.नं. १६६४ मा दर्ता गरी निवेदन प्रस्तुत गरेको थिएँ । सो निवेदनका बारेमा के कारवाही भयो जानकारी दिइएन पुनः निवेदन लिई मेरो पदमा कार्य गर्न किन नदिएको हो जानकारी पाउँ भनी विपक्षी कार्यालयमा जाँदा सो निवेदन दर्तासम्म नगरी पहिलेकै आधारमा कारवाही हुन्छ भनेकोले फर्किएँ । तर पुनः मिति २०४८।३।५ गते विपक्षी कार्यालयमा गई बुझ्दा तपाईलाई गरिएको निलम्बन समाप्त गरी तपाईको पदमा स्थापित गरी तपाईलाई सेवा गर्ने अवसर प्रदान गर्न नमिल्ने भनी मौखिक रुपमा विपक्षी कार्यालयद्वारा जानकारी दिइयो । यद्यपि कुन कारण र कुन कानुनका आधारमा निलम्बन खारेज गरी मलाई सेवा गर्न दिन मिल्दैन भन्ने कुराको लिखित जानकारी दिइएन । निवेदकलाई जुन समयमा अर्थात मिति २०४६।१।१४ मा निलम्बनको सूचना दिइएको हो त्यसको विषयवस्तु र तथ्य ९:भचष्तक० लाई म निवेदक उपर नकवजनी चोरी मुद्दा लागेको कारणले अस्वीकार गरेको थिइन । तसर्थ सो उपर शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११.४ बमोजिम पुनरावेदन गर्नु पर्ने आवश्यकता पनि थिएन फौज्दारी अभियोगमा अदालतबाट अपराधी प्रमाणित भएका आधारमा सोही सामान्य सिद्धान्तको ६.१.४ वा ६.१.५ बमोजिम मलाई सेवाबाट हटाइने वा बर्खास्त गरिने कुरा सुनिश्चित भएकोले पनि अदालतको फैसलालाई मैले पर्खनु उपयुक्त नै भएकोले सोही कुराको अवलम्बन समेत गरें ।

३.    शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११.३.४(ङ) बमोजिम गरिएको निलम्बनको अवधि सोही नियम अनुसार पनि कुनै हातलमा पनि ६ महीना भन्दा बेसी हुनै सक्दैन तर यसरी निलम्बन राखिएकोमा निलम्बनको अवधि ६ महीना समाप्त भएपछि आफ्नो कारवाहीको प्रभावकारिता समाप्त भएपछि त्यस्तो कारवाही गर्ने अधिकारीले सजायँ पाएको व्यक्तिलाई आफ्नो कार्यवाहीको प्रभावकारिता समाप्त भएको सूचना दिनु पर्ने हो वा सजायँ पाएको व्यक्तिले ६ महीना पश्चात सेवा गर्न पाउँ भनी निवेदन वा अन्य माध्यमको सहारा लिनु पर्ने हो भन्ने कुरा प्रष्ट नभएकोले गर्दा कार्यवाही गर्ने अधिकारीको सजायँको प्रभावकारिता समाप्त भएपछि सजायँ गर्ने अधिकारीले नै सो को सूचना दिनु पर्ने भन्ने कानुनका मान्य सिद्धान्तको आधारमा म विपक्षी कार्यालयको सूचना प्राप्त गर्ने शाखामा बसेको थिएँ संविधानको धारा १६ ले निवेदकलाई प्रदान गरेको सूचनाको हक समेतको नजर अन्दाज गरियो । मैले सफाई पाइसकेपछि एवं निर्दोष ठहरिए (साविक पेज नं. ६२८) पछि संस्थामा नियुक्त बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३४ को परिच्छेद ६ को ६.७.२, ६.७.३ र ६.७.४ बमोजिम शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरुको समेत निलम्बन स्वतः निस्कृय भई मैले मेरो साविक पदमा रही सेवा गर्न र मैले कानुन बमोजिम पाउनु पर्ने तलब एवं सुविधा समेत पाउनु पर्नेमा विपक्षीहरुलाई मेरो यस अधिकारलाई मान्यता नदिई मेरो यस अधिकारका प्रतिकूल कार्य गर्न एवं मलाई मिति २०४६।१।१४ मा गरिएको निलम्बन कायम राख्न सक्ने अधिकार नहुँदा नहुँदै पनि विपक्षीहरुद्वारा मलाई निलम्बनमै राखी सेवा गर्न नदिने कार्य भएकोले र विपक्षीहरुको उक्त गैरकानुनी कार्यका विरुद्धमा मलाई अन्य कुनै प्रभावकारी कानुनी उपचारको मार्ग अवलम्बन गर्ने उपाय समेत नभएको कारणले गर्दा सम्मानीत स.अ.बाटै विपक्षीहरुको उक्त गैरकानुनी निलम्बन खारेज गरी वा प्रभावहीन घोषित गरी निवेदकलाई निजको साविक पदमा सेवा गर्न दिई निवेदकले कानुन बमोजिम पाउने तलब तथा सुविधा समेत उपलब्ध गराई दिनु भनी विपक्षीहरुका नाउँमा परमादेश लगायत जो चाहिने आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर ।

४.    यसमा के कसो भएको हो प्रत्यर्थी कार्यालयबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको २०४८ असार १६ को आदेश ।

५.    शाही नेपाल वायुसेवा निगमको क्याटरिड्ड स्टोरबाट मालसामान चोरीमा स्टोर सहायक विपक्षी नरमकाजी समेत उपर वादी श्री ५ को सरकारतर्फबाट अदालत समक्ष चलेको नकवजनी चोरी मुद्दाको सन्दर्भमा थुनामा रहेको विपक्षीलाई शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११ ३४(ङ) अनुसार निलम्बन गर्ने गरी मिति २०४६।१।२० गते निगमबाट विभागीय सजायँ गरिएको छ । आचरण बर्खिलापको आरोपमा निगमबाट दण्डित विपक्षीले दण्ड उपर नियममा व्यवस्था रहेको अनुकूल पुनरावेदन गर्नु भएको छैन । अर्कोतर्फ निज उपर चलेको नकवजनी चोरी मुद्दामा पनि अन्तिम निर्णय भएको पाइँदैन । यस प्रकार पुनरावेदकीय उपचारलाई अनुशरण नगर्ने तथा अर्कोतर्फ चोरी मुद्दामा अन्तिम निर्णय हुन बाँकी रहेको अवस्थाको विपक्षीको हकमा रिट क्षेत्र आकर्षित हुने अवस्था छैन कर्मचारी व्यवस्था छैन कर्मचारी व्यवस्था विभागबाट निलम्बन गर्ने गरी पुनरावेदन गर्नु पर्नेमा पुनरावेदन नगर्ने विपक्षीले पुनरावेदन गर्नु पर्ने अवस्था थिएन भन्ने लिनु भएको निवेदन जिकिर उपयुक्त रहेको छैन ।

६.    अदालतमा चलिरहेको मुद्दाको फैसलालाई पर्खनु उपयुक्त रहेको भन्ने स्वीकार गर्ने रिट निवेदकले अदालतका अन्तिम निर्णय नहुन्जेल अन्यथा भन्न नमिल्ने स्वतः प्रष्ट छ । जिल्ला अदालतबाट भएको निर्णय अन्तिम रहेको छ भन्ने विपक्षीको दावी जिकिर रहेको छैन । अदालत समक्ष विचाराधीन रहिरहेको चोरी मुद्दाको अन्तराल निलम्बन फुकुवा गर्ने अवस्था रहेको छैन । नत नियमावलीमा निलम्बन फुकुवा गर्नेगरी जनाउ दिने प्रावधान रहेको छ । चोरीको आरोपबाट आरोपित विपक्षी उपर चलिरहेको मुद्दामा अन्तिम निर्णय मध्यान्तर ६ महीनाभित्र निलम्बन फुकुवा गर्ने अवस्था रहेको छैन । जिल्ला अदालतको निर्णय अन्तिम रहेको छ भन्न नसक्ने विपक्षीले सफाई पाइसकेको छु भन्ने दावी लिन मिल्दैन । आरोपबाट उन्मुक्ति नपाएको विपक्षीलाई निर्दोष रहेको भन्न र निजको निलम्बन फुकुवा गरी तलब भत्ता सहित काममा लगाउनु पर्ने अवस्था रहेको छैन, निजको माग दावी निरर्थक रहेको भन्ने कुरा निज उपर चलिरहेको मुद्दाको रोहमा नै स्पष्ट छ । स्टोरबाट चोरी भएको लाखौंको धनमालको बारेमा सहायक स्टोर किपर विपक्षीले अन्जान रहेको भन्न मिल्दैन । अतः उल्लेख गरे अनुसार विपक्षी रिट निवेदकको जिकिर बनावटी एवं मिथ्या (साविक पेज नं. ६२९) रहेकोले विपक्षीको रिटनिवेदन खारेज गरी पाउन सादर अनुरोध भन्ने समेत वायुसेवा निगम केन्द्रीय कार्यालय तथा कर्मचारी व्यवस्था तथा साधारण सेवा विभागको संयुक्त लिखितजवाफ रहेछ ।

७.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकतर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारीले मेरो पक्ष रिट निवेदक विपक्षी कार्यालयको खरीद तथा भण्डार विभागमा वरिष्ठ सहायकको रुपमा कार्यरत रहेको अवस्था मिति २०४६।१।१२ गते कार्यालयको स्टोरबाट रु. १,३७,०९९।३३ बराबरको सामान चोरी गरेको अभियोगमा मेरो पक्षलाई २०४६।१।१३ मा पक्राउ गरी २०४६।१।३० मा प्रहरी प्रतिवेदन दायर भएकोमा काठमाडौं जिल्ला अदालतले २०४७।९।२० मा मेरो पक्षलाई सफाई दिने गरी फैसला भयो । मेरो पक्षलाई प्रहरी हिरासतमा राखेको छ भन्ने आधारमा शा.ने.वा.नि.को कर्मचारी सेवा नियमावलीको नियम ११४(ङ) अन्तर्गत निलम्बन गरेको सूचना २०४६।१।१४ मा दिई हालसम्म निलम्बनमा राखेको छ, उक्त नियम बमोजिम ६ महीनाभन्दा बढी निलम्बनमा राख्न सकिन्न । निवेदकलाई निलम्बनमा राखेको नियमले तोकेको ६ महीनाको अवधि समाप्त भइसकेको छ । जिल्ला अदालतले मेरो पक्षलाई लगाइएको अभियोगबाट समेत सफाई समेत दिइसकेको छ । मेरो पक्ष थुना हिरासतमा अव छैन अतएवं सेवा गर्न मौका पाउँ भनी मेरो पक्षको विपक्षी कार्यालयमा परेको निवेदनमा कुनै कारवाही नगरी मौलिक हक हनन् गरिएको छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११४(ङ) बमोजिम निलम्बन स्वतः निस्कृय भई मेरो पक्षले साविक पदमा रही सेवा गर्न र कानुन बमोजिम पाउनु पर्ने तलब सुविधा समेत पाउनु पर्नेमा केवल शुरु अदालतको फैसला उपर पुनरावेदन परेको आधारमा मात्र नियम बमोजिम ६ महीनाको निलम्बन अवधि समाप्त भई सक्दा पनि पूर्व निलम्बनकै स्थितिमा कायम राखी निवेदकलाई सेवा गर्ने अवसरबाट बञ्चित गर्ने गरेको विपक्षीहरुको त्रुटिपूर्ण काम कारवाही उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरी निवेदकलाई पूर्ववत् आफ्नो पदमा सेवा गर्न दिई कानुन बमोजिम पाउने तलब तथा सुविधा समेत दिनु भन्ने परमादेश समेत जारी हुनुपर्दछ भन्ने र प्रत्यर्थी वायुसेवा निगमको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री महादेव यादवले रिट निवेदक उपर चलेको नकवजनी चोरी मुद्दाको सन्दर्भमा थुनामा रहेको विपक्षीलाई शा.ने.वा.नि.का कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११४(ङ) अनुसार निलम्बन गर्ने गरी २०४६।१।१४ गते निगमबाट विभागीय सजायँ गरिएको उपर निजको पुनरावेदन परेको छैन, साथै रिट निवेदक उपर चलेको नकवजनी चोरी मुद्दाको अन्तिम फैसला समेत नभइसकेको उक्त स्थितिमा उक्त मुद्दाबाट सफाई पाइसकेको भन्न मिल्दैन । निवेदक उपरको मुद्दा अदालतमा विचाराधीनमा नै रहेको स्थितिमा निजलाई पूर्ववत् आफ्नो पदमा बहाल राख्ने कुरै आउँदैन, जहाँसम्म निलम्बनको कुरा छ रिट निवेदकलाई चोरी मुद्दामा थुनामै रहेको अवस्थामा निलम्बन गरी सकिएको र अन्तिम तहबाट फैसला नभएसम्म निलम्बन फुकुवा गर्न मिल्दैन, अतः रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने होइन भन्ने समेत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

८.    प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

९.    यसमा विपक्षी कार्यालयको स्टोरबाट रु. १,३७,०९९।३३ चोरी भएको मुद्दामा मिति ०४६।१।१३ मा गिरफ्तार गरी प्रहरी हिरासतमा राखी ०४६।१।३० मा प्रहरी प्रतिवेदनद्वारा चोरी मुद्दामा म समेतलाई चलाइएकोमा का.जि.अ.बाट २०४७।९।२० मा सफाई पाएँ । शा.ने.वा.नि.को कर्मचारी सेवा नियमावलीको (साविक पेज नं. ६३०) नियम ११, , ४(ङ) अन्तर्गत निलम्बन गरेको सूचना २०४६।१।१४ देखि हालसम्म कायम छ ।

१०.    सफाई पाएकोले निलम्बन समाप्त गरी मेरा पदमा रही सेवा गर्नलाई निवेदन गरेकोमा निलम्बन खारेज गरी सेवा गर्ने अवसर प्रदान गर्न नमिल्ने मौखिक रुपमा भनियो ।

११.    शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरु सेवा नियमावली, २०३१ को नियम ११.३.४(ङ) बमोजिम राखिएको निलम्बन ६ महीना देखि बढ्ता हुन सक्दैन । निलम्बनको अवधि समाप्त भएपछि त्यस्तो कारवाही गर्ने अधिकारीले निलम्बन भएको व्यक्तिलाई आफ्नो कारवाहीको प्रभावकारीता समाप्त भएको सूचना दिनु पर्ने हो म विपक्षी कार्यालयको सूचना प्राप्त गर्ने आशामा थिएँ तथापी विपक्षीहरुद्वारा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ ले म निवेदकलाई प्रदान गरेको सूचना हक समेतको नजरअन्दाज गरियो ।

१२.   मैले सफाई पाएपछि निलम्बन स्वतः निस्कृय भई मेरो साविक पदमा रही सेवा गर्न र मैले कानुन बमोजिम पाउने तलब एवं सुविधा समेत पाउनु पर्नेमा मेरो उक्त अधिकारलाई मान्यता नदिने विपक्षीहरु २०४६।१।१४ को निलम्बन कायम राखी सेवा गर्न नदिने कार्य भएकोले उक्त गैरकानुनी निलम्बन खारेज गरी वा प्रभावहिन घोषित गरी निवेदकलाई निजको साविक पदमा सेवा गर्न दिई निवेदकले कानुन बमोजिम पाउने तलब तथा सुविधा समेत उपलब्ध गराई दिनु भन्ने परमादेश समेत पाउँ भन्ने रिटनिवेदकको मुख्य जिकिर देखिन्छ ।

१३.   नकवजनी चोरी मुद्दाको सन्दर्भमा थुनामा रहेको विपक्षीलाई शा.ने.वा.नि. कर्मचारी सेवा नियमावली, २०३१ को नियम ११.३.४(ङ) अनुसार निलम्बन गर्ने गरी मिति २०४६।१।२० गते निगमबाट विभागीय सजायँ गरिएको छ । निज उपर चलेको नकवजनी चोरी मुद्दा पनि अन्तिम निर्णय भएको छैन । अदालतको अन्तिम निर्णय नहुन्जेल अन्यथा भन्न मिल्दैन । अन्तिम निर्णय बाँकी रहेको अवस्थामा निलम्बन फुकुवा गर्ने स्थिति रहेको छैन खारेज गरी पाउँ भन्ने विपक्षीको लिखितजवाफ देखिन्छ ।

१४.   निगमको सामानहरु हिनामिना सम्बन्धी कुरामा तपाईलाई प्रहरी हिरासतमा राखिएको छ भन्ने ज्ञात हुन आएकोले यस निगमको कर्मचारीहरुको सेवा नियमावली, २०३१ को दफा ११.३.४(ङ) अन्तर्गत तपाईलाई यस निगमको सेवाबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको व्यहोरा सूचित गरिन्छ भनी निवेदकलाई ०४६।१।१४ मा पत्र दिएको पाइन्छ ।

१५.   शाही नेपाल वायु सेवा निगम कर्मचारीको सेवा नियमावली, २०३१ को निगम ११.३.४(ङ) को निलम्बन गर्ने टाइटिलमा अख्तियारवालाले कुनै कर्मचारीको खराब आचरणको जाँचबुझ भई राखेको कुनै बखतमा निजलाई निलम्बन गर्न सक्नेछ । कर्मचारीलाई कुनै अवस्थामा निलम्बन राख्न सकिन्छ भन्ने कुरा अभियोगको प्रगति र अवस्था हेरी निर्णय गरिनेछ निलम्बनमा रहेको कर्मचारीले कुनै जीवीका (सब्सिटेन्सी) भत्ता पाउन सक्ने रहेछ भने सो भत्ता समेत निलम्बन आदेशमा तोकिनु पर्नेछ । त्यस्तो जीविका भत्ता सम्बन्धित कर्मचारीको कूल तलबको एक चौथाई भन्दा बढी हुनेछैन । यदि कर्मचारीलाई फौज्दारी वा राजनैतिक अपराधमा गिरफ्तार गरिएको छ र जमानीमा छाड्न इन्कार गरिएको छ भने निज गिरफ्तार भएको मिति देखि स्वतः निलम्बनमा रहेको मानिनेछ र निलम्बनको आदेश तुरुन्त जारी गरिनेछ । निलम्बनको आदेश जारी गर्ने अधिकारीले लिखित स्वीकृत दिएकोमा बाहेक निलम्बनमा रहेको कर्मचारी निलम्बनको अवधिभर आफ्नो काम गर्न स्थान छोडी अन्यत्र जान पाउने छैन । कुनै हातलमा पनि निलम्बनको अवधि ६ महीना भन्दा बढी हुने छैन, निलम्बनमा राखिएको कर्मचारीको अभियोग प्रमाणित हुन नसकी सफाई पाएमा निजले निलम्बनको अवधिमा जीविका भत्ता बापत एक चौथाई तलब पाएको भए सो कट्टा गरी बाँकी तलबको (साविक पेज नं. ६३१) रकम र केही पनि नपाएको भए पुरै तलब पाउने छ भन्ने व्यवस्था भएको पाइन्छ ।

उपरोक्त नियम बमोजिम निलम्बन हुने दुई अवस्था देखिन्छ ।

(१)    अख्तियारवालाले कुनै कर्मचारीको खराब आचरणको जाँचबुझ भई राखेको कुनै बखतमा निजलाई निलम्बन गर्न सक्ने,

(२)   कर्मचारीलाई फौज्दारी वा राजनैतिक अपराधमा गिरफ्तार गरिएको छ र जमानीमा छाड्न इन्कार गरिएको छ भन्ने निज गिरफ्तार भएको मितिदेखि स्वतः निलम्बन हुने ।

१६.    निवेदक नकवजनी चोरी मुद्दाको अभियोगमा अनुसन्धान कारवाहीको सिलसिलामा प्रहरी हिरासतमा र अदालती कारवाहीको क्रममा थुनामा रहेको कारणबाट स्वतः निलम्बित भएको पाइन्छ । स्वतः निलम्बन र खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बनको अवस्था फरक पारेको उक्त नियमको व्यवस्थाबाट नै हेर्न सकिन्छ । फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो । फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न सकिँदैन । यो अवधि ६ महीना भन्दा बढीको पनि हुन सक्तछ । निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्थामा ल्याउनु हुन्छ । स्वतः निलम्बनको विषयलाई खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बन भएको कर्मचारीका सम्बन्धमा निलम्बनको अवधिको सीमासंग गाँस्न मिल्ने देखिँदैन । अतः प्रहरी हिरासतमा वा अदालती कारवाहीको सिलसिलामा थुनामा रहेको कर्मचारीको निलम्बनको अवधि ६ महीना भन्दा बढी हुन सक्तैन भन्ने निवदेकतर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन मिलेन ।

१७.   निवेदकलाई दावीको अभियोगबाट काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । सफाई पाएको कर्मचारीको हकमा गिरफ्तारी र जमानीमा छाड्न इन्कार गरिएको भन्ने पूर्व शर्तको समाप्ति भएको मान्नु पर्छ । स्वतः निलम्बनको अवस्थाको समाप्ति नै निलम्बन फुकुवाको आधार हुन्छ काठमाडौं जिल्ला अदालतले निवेदकलाई फौज्दारी अभियोगबाट सफाई दिई गरिएको फैसला उपर पुनरावेदन परेकोले निलम्बन जारी रहनु पर्दछ भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन । थुना हिरासतमा नरहेकोमा पनि फौज्दारी मुद्दा जारी रहने कारणबाट निलम्बन जारी रहने भन्ने शाही नेपाल वायु सेवा निगम कर्मचारीहरुको सेवा नियमावली, २०३१ नियम ११,,४(ङ) मा व्यवस्था रहेको पाइँदैन । निवेदकको हकमा प्रहरी हिरासत र थुना निलम्बनको पूर्व शर्तको अभावमा निलम्बन जारी रहन्छ भन्न कानुनसंगत भएन ।

१८.   तसर्थ रिट निवेदक नरमकाजी बज्राचार्यलाई भएको निलम्बन कायम रहन नसकेको हुँदा निवेदकको पूर्व पदमा हाजिर गराई कानुन बमोजिम पाउने तलब एवं सुविधा समेत दिनु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि यसै आदेशको १ प्रति पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४८ साल माघ २९ गते रोज ४ शुभम् ।

(साविक पेज नं. ६३२)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु