निर्णय नं. ४३८९ - उत्प्रेषण

निर्णय नं. ४३८९ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४७ सालको रिट नं. ६३१
आदेश भएको मिति: २०४८।१०।२८।३ मा
निवेदक : जि.का.का. शाखा काठमाडौंमा थुनामा रहेको मलाड्ड मुस्ताङ्ग तमाङ्ग
विरुद्ध
प्रत्यर्थी : ललितपुर जिल्ला अदालतसमेत
विषय : उत्प्रेषण
(१) सर्वश्वसहित जन्मकैद भएकोमा सोको जे जति कैद हुन्छ सोको मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरेपछि डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र (साविक पेज नं. ६३६) जरिवाना बापतको कैद ठेक्नु भन्ने लगत निर्णय पत्र कानुन विपरीत देखिँदा डाँका मुद्दाको कैद थप गरेको लगत सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १७)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुड्डाना
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. रुद्रप्रसाद तिमिल्सेनाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको ज्यान डाँका मुद्दामा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ हुने ठहरी ललितपुर जिल्ला अदालतबाट २०३९।११।३० मा भएको फैसलाको कलम एक सो फैसलालाई मुनासिब ठहर गरी मध्यमाञ्चल क्षेत्रीय अदालत र सम्मानीत सर्वोच्च अदालत समेतबाट फैसला भयो, जिवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक पारी डाँका कसूर गरेको ठहरी काभ्रेपलान्चोक जिल्ला अदालतबाट ९ वर्ष कैद, रु. २२,०४५।५० जरिवाना हुनेमा जरिवाना नतिरे बापत चोरीका महलको २८ नं. र दण्ड सजायँको ३८ नं. बमोजिम ४ वर्ष कैद समेत जम्मा १३ वर्ष कैद हुने भनी २०४०।३।९।५ मा भएको फैसलाको कलम एक, उक्त मितिमा फैसलाले ठहर भए बमोजिमको १३ वर्ष कैद ललितपुर जिल्ला अदालतबाट भएको फैसलाले ठहर भए बमोजिमको कैद थुनामा परेको मिति २०४७।८।१५ बाट भुक्तान गरेपछि मात्र का.प.जि.अ.बाट ठहर भएको १३ वर्ष कैद शुरु गराई भुक्तान गराउने भनी कैदको लगत ठेकी ठेकाई कैद म्याद ठेकुवा पुर्जी दिएको र डाँका मुद्दामा का.प.जि.अ.को फैसला उपर म.क्षे.अ.मा पुनरावेदन गरेकोमा शुरु फैसला मनासिब ठहरी पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा १०% दशका दरले हुन आउने थप कैद १० महीना २४ दिन र जरिवाना रु. २२०४।७५ हुने गरी फैसला गरेकोमा सो पुनरावेदन गरे बापतको थप कैदको भने हालसम्म थप पुर्जी दिएको छैन । सो समेत विपक्षीहरुले ३३ वर्ष १० महीना २४ दिन कैद गर्ने लगत ठेकिएको छ ।
३. नेपालको प्रचलित कानुनी व्यवस्था एकजना व्यक्तिलाई एक कलम भन्दा बढी जतिसुकै कलममा सजायँ गर्नु परेको खण्डमा एक कलम बाहेक बढी जतिसुकै कलम भए तापनि कैदको कलम मध्ये जुन कलमको सजायँ ठूलो छ सोही कलमको मात्र सजायँ गर्नुपर्छ सबै कलमको खत पटक खापी सजायँ गर्नु हुँदैन, अघि ठेकिएको कैदको कलम सानु र पछि ठेक्नु पर्ने कैदको कलम ठूलो भएमा अघि थुनामा परेको मितिबाट कट्टा हुने गरी ठूलो कलमको मात्र सजायँ कायम गरी कैदको लगत ठेक्नु पर्छ । कैदको लगतमा र पुर्जी भने सबै कलमको विवरण उल्लेख गर्नुपर्छ सजायँ भने गर्नु हुँदैन भनी दण्ड सजायँको ४१ नं. मा उल्लेख छ ।
४. एकजना मानिसलाई एक कलमको भन्दा बढी कलममा सजायँ गर्नु परेको खण्डमा सो कैदको कलममध्ये जुन कलमको सजायँ ठूलो छ सो कलमको सजायँ मात्र गर्नु वा ठेक्नु पर्छ सबै कलमको खत पटक खापी सजायँ गर्नु हुँदैन भनी दण्ड सजायँको महलको ८ नं. मा उल्लेख भएको छ, सर्वश्वसहित जन्मकैदको सजायँ भइसकेकोमा अरु खत पटक खापी सजायँ गर्नु हुँदैन भनी उक्त ८ नं. मा उल्लेख भएको छ । निवेदकलाई विपक्षी ललितपुर जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजायँ गरी सकेपछि विपक्षी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट (साविक पेज नं. ६३७) ठहर गरेको सजायँको कलम नलाग्ने प्रष्ट छ ।
५. निवेदकलाई केवल शुरुमा थुनामा बसेको मिति २०३७।८।१५ गतेबाट रुद्रप्रसाद तिमिल्सीनाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी मलाई समेत गराएको ज्यान मुद्दामा भएको सर्वश्वसहित जन्मकैदको सजायँ मात्रको कैद कट्टा हुने गरी कैदको लगत ठेक्नु र ठेकाउनु पर्नेमा सो नभई ज्यान मुद्दाको कैद भुक्तान भए पछि मात्र विपक्षी का.प.जि.अ.बाट ठहर गरेको जिवनाथ घिमिरेको जाहेरी परेको डाँका मुद्दाको कैद असूल उपर गराउनु भनी आफूले कैदको लगत ठेकी विपक्षी कारागारको नाउँमा पत्र लेखी सोही बमोजिमको कैदको लगत ठेकाई सोको बोधार्थ कैद म्याद ठेकुवा पुर्जी म निवेदकलाई दिएको गैरकानुनी छ ।
६. विपक्षी जिल्ला कार्यालय कारागार शाखाले प्रचलित कानुनतर्फ कुनै विचार नगरी गैरकानुनी ढंगबाट दुवै कलमको खत पटक खापी सजायँ गर्ने गरेकोबाट निवेदकको मौलिक तथा कानुनी हक समेत हनन् भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा जो चाहिने पुर्जी विपक्षीहरुको नाउँमा जारी गरी मेरो मौलिक तथा कानुनी हक समेतको प्रचलन गरी गराई गैरकानुनी ढंगबाट ठेके ठेकाएको लगत कट्टा गरी कानुन बमोजिम हुन सक्ने ठूलो कलमको सजायँ मात्र कायम गरी थुनामा बसेको मितिबाट कट्टा हुने गरी कैदको लगत ठेक्नु ठेकाउनु भनी विपक्षी ललितपुर जिल्ला अदालतका नाउँमा किटानी आदेश पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
७. यसमा के कसो भएको हो प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको ०४७।४।१० को आदेश ।
८. यस कार्यालयको लगत श्रेस्ता हेर्दा वादी श्री ५ को सरकार भएको रुद्रप्रसाद तिमिल्सीनाको जाहेरी परेको प्रतिवादी मलाङ मुस्ताङ तामाङ भएको ज्यान डाँका मुद्दामा ललितपुर जिल्ला अदालतको मिति २०३९।११।३० को फैसला अनुसार निज रिट निवेदकलाई कैद वर्ष २० (सर्वश्वसहित जन्मकैद) ठेकाई मिति २०३७।८।१५ देखि थुनामा बसी आएकोमा काभ्रेपलाञ्चोक जिल्ला अदालतको च.नं. १८७४ र १८७५ मिति ०४४।२।२० को पत्रानुसार जिवनाथ घिमिरेको जाहेरी परेको दोश्रो पटके, डाँका मुद्दामा म्यादी कैद ९ वर्ष र ज.रु. २२,०४५।५० को २ वर्ष ५ महीना समेत गरी जम्मा कैद ३१ वर्ष ५ महीना भई छुट्ने मिति २०६९।१।१५ मा छुटिजाने यस कार्यालयको लगत श्रेस्ताबाट देखिन्छ ।
९. यसरी अधिकार प्राप्त ललितपुर जिल्ला अदालत र काभ्रेपलाञ्चोक जिल्ला अदालत समेतको आदेशानुसार विपक्षी रिट निवेदक मलाड्ड मुस्ताङ तामाङलाई कैद ठेकी आएकोले यस कार्यालयको तर्फबाट निज निवेदकको कुनै मौलिक हकमा असर नपरेको हुँदा रिटनिवेदन खारेज हुन सादर अनुरोध भन्ने समेत जिल्ला कार्यालय कारागार शाखा काठमाडौंको लिखितजवाफ रहेछ ।
१०. जिवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार भएको प्रतिवादी मलाड्ड मुस्ताङलाई का.प.जि.अ.ले दोश्रो पटक पारी डाँका गरेकोले जरिवाना रु. २२,०४५।५० र कैद वर्ष ९ भई जरिवानातर्फ साविक चोरीको २९ नं. अनुसार कैद वर्ष ४ र कैद तर्फ ९ वर्ष गरी जम्मा कैद वर्ष १३ हुने भएको र ल.पु.जि.अ.बाट रुद्रप्रसाद तिमिल्सीनाको जाहेरीले परेको ज्यान डाँका मुद्दामा सर्वश्वसहित जन्मकैद गरी ०३७।८।१५ देखि कैद कट्टी हुने गरी ल.पु.जि.अ.बाट थुनामा राखेकोले ल.पु.जि.अ.को कैद भुक्तान भएपछि यस अदालतबाट लागेको कैद वर्ष १३, पनि कारागारको नियमानुसार जो जे गर्नुपर्छ गर्ने गरी कैद ठेकी ठेकाई राख्न कारागारमा पुर्जी पठाएको, कारागारले पनि एक प्रति कैदी पुर्जी २०४४।२।२४ मा निवेदकलाई बुझाई यस (साविक पेज नं. ६३८) अदालतमा भर्पाई पठाएको देखिन्छ । साथै निवेदक हालसम्म ल.पु.जि.अ.को सर्वश्वसहित जन्मकैदमा नै रहेको देखिएकोले सो कैद भुक्तान गरी सकेपछि कारागारको नियमानुसार यस अदालतको कैद बापत थुनामा राख्न कैद ठेकी पठाएको व्यहोरा अनुरोध भन्ने समेत काभ्रेपलाञ्चोक जि.अ.को लिखितजवाफ रहेछ ।
११. विपक्षी ललितपुर जिल्ला अदालतको नाउँमा रीतपूर्वक म्याद तामेल भई आएको देखिएको तर लिखितजवाफ प्राप्त हुन आएको रहेनछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री होमनाथ ढुड्डानाले मेरो पक्ष रिट निवेदकलाई रुद्रप्रसाद तिमिल्सीनाको जाहेरी भएको ज्यान डाँका मुद्दामा ललितपुर जिल्ला अदालतले सर्वश्वसहित जन्मकैद गर्ने गरी फैसला गरी सकेपछि जीवनाथ घिमिरेको जाहेरी परेको डाँका मुद्दामा ९ वर्ष कैद र जरिवाना बापत भनी चारवर्ष कैद ठेक्ने गरी कैद खापी जम्मा ३३ वर्ष कैद ठेक्ने गरेको कैदी लगत त्रुटिपूर्ण छ । मु.ऐ.अ.बं. २०३ ले सर्वश्वसहित जन्मकैद हुने मुद्दामा पुनरावेदन गरे बापत थप कैद तथा सजायँ नहुनेमा सो पनि कानुन प्रतिकूल छ । दण्ड सजायँको ४१ नं. मा एक कलम भन्दा बढी जतिसुकै कलममा सजायँ गर्नु पर्दा कैदको कलम मध्ये जुन कलमको सजायँ ठूलो छ सोही कलमको सजायँ गर्नुपर्छ र सबै कलमको खत पटक खापी सजायँ गर्न नहुने कानुनी व्यवस्था छ दण्ड सजायँको ८ नम्बरमा पनि एकै जनाले धेरै पटक मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैद वा अरु सजयँ हुने खत गरेको भए पनि कुनै खतमा मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद र जन्मकैद मध्ये ठूलो सजायँ भएपछि सानो सजायँ हुने खत वा सो सजायँहरु मध्ये कुनै सजायँ भए पछि अरु सानो सजायँ हुने खत खापिँदैन भन्ने प्रष्ट कानुनी व्यवस्था हुँदा कानुन प्रतिकूल हुने गरी कैद लगत ठेकेबाट मेरो पक्षको संवैधानिक तथा कानुनी हकमा हनन् हुन गएकोले उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी त्रुटिपूर्ण लगत बदर गरी कानुन बमोजिम लगत ठेक्नु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी हुनुपर्दछ भन्ने र विपक्षी कार्यालय समेतको तर्फाबट बहसको लागि उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री अलीअकवर मिकरानीले निवेदकलाई त्यसरी बढी कैद लगत ठेक्ने गरी भएको आदेश उपर चित्त नबुझे पुनरावेदन तहको अदालतमा गई लगत सच्याउने तर्फ कारवाही गर्नु पर्नेमा यसरी रिट क्षेत्रमा आउन मिल्ने होइन भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१४. यसमा रुद्रप्रसाद तिमिल्सीनाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म भएको ज्यान डाँका मुद्दामा म निवेदकलाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहरी ल.पु.जि.अ. बाट मिति २०३९।११।३० मा फैसला भएको र जीवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म भएको डाँका मुद्दामा दोस्रो पटक पारी डाँका ठहरी का.प.जि.अ.बाट कैद वर्ष ९, र २२,०४५।५० जरिवाना भएको जरिवाना नतिरे चोरीको २८ नं. ले ४ वर्ष कैद समेत जम्मा १३ वर्ष कैद हुने भनी मिति २०४०।३।९ मा फैसला भएको उक्त मितिमा भएका फैसलाले ठहर भए बमोजिम १३ वर्ष कैद ल.पु.जि.अ.बाट भएको फैसलाले ठहर भए बमोजिमको कैद थुनामा परेको मिति ०३७।८।१५ गतेबाट भुक्तान गरेपछि मात्र का.प.जि.अ.बाट ठहर भएको १३ वर्ष कैद शुरु जरिवाना भराउने भनी कैदको लगत ठेकियो । दण्ड सजायँको ८ नं. ले सर्वश्वसहित जन्मकैद भएको ठूलो कैद सजायँमा अरु खत खापिदैन भनेको र दण्ड सजायँको ४१ नं. ले (साविक पेज नं. ६३९) ठूलो कलमको मात्र सजायँ कायम गरी कैदको लगत ठेक्नु पर्नेमा म रिट निवेदकलाई ज्यान मुद्दामा थुनामा परेको २०३७।८।१५ गतेबाट सर्वश्वसहित जन्मकैदको सजायँको मात्र कैद कट्टा हुने कैदको लगत ठेक्नु पर्नेमा प्रस्तुत ज्यान मुद्दाको कैद भुक्तान भएपछि मात्र का.प.जि.अ.बाट ठहर गरेको डाँका मुद्दाको कैद असूल गर्न भनी कैदको लगत ठेकिएबाट मेरो मौलिक तथा कानुनी हक समेत हनन् भएकोले गैरकानुनी ढंगबाट ठेकिएको कैदको लगत कट्टा गरी गराई कानुन बमोजिम हुने सजायँ ठूलो कलमको मात्र सजायँ कायम गरी थुनामा बसेको मितिबाट कैद कट्टी हुने गरी कैद लगत ठेक्नु भन्ने किटानी आदेश पाउन उत्प्रेषणको रिट चढाएको छु । उपयुक्त आज्ञा, आदेश वा जो चाहिने पुर्जी उक्त विपक्षीहरुको नाउँमा पाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर भएको पाइन्छ ।
१५. जिवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक भएको डाँका मुद्दामा दोस्रो पटक पारी डाँका गरेकोले का.प.जि.अ.बाट कैद वर्ष ९ जरिवाना रु. २२,०४५।५० को चोरीको २८ नं. ले कैद वर्ष ४ भएको र ल.पु.जि.अ.बाट ज्यान डाँका मुद्दामा सर्वश्वसहित जन्मकैद गरी २०३७।८।१५ देखि कैद कट्टा हुने गरी थुनामा राखेको र ल.पु.जि.अ.का कैद भुक्तान भएपछि यस अदालतबाट लागेको कैद वर्ष १३ कैद ठेकी राख्न कारागारमा पुर्जी पठाएको हो भन्ने विपक्षी का.प.जि.अ.को लिखितजवाफ देखिन्छ । ल.पु.जि.अ.का फैसलाले निज मलाड्ड मुस्ताङ तामाङलाई सर्वश्वसहित जन्मकैद भएकोले ल.पु.जि.अ.को फैसला बमोजिम निजले भुक्तान गरेपछि अदालतको कैद वर्ष ९ र जरिवाना रु. २२,०४५।५० को कैद जरिवाना निजलाई कैद ठेकी ठेकाई थुनामा राख्नु भनी २०४४।२।१८ को मितिबाट २०४४।२।२० मा का.प.जि.अ.बाट जिल्ला कारागार शाखा काठमाडौंमा पत्र लेखिएको पाइन्छ ।
१६. दण्ड सजायँको ८ नं. मा एकै जनाले धेरै पटक मृत्युदण्ड वा सर्वश्वसहित जन्मकैद वा जन्मकैद वा अरु सजायँ हुने खत गरेको भए पनि कुनै खतमा मृत्यु दण्ड सर्वश्वसहित जन्मकैद र जन्मकैद मध्ये ठूलो सजायँ भए पछि सानो सजायँ हुने खत वा सो सजायँहरु मध्ये कुनै सजायँ भएपछि अरु सानो सजायँ हुने खत खापिदैन । सर्वश्वसहित जन्मकैद वा जन्मकैद हुने वा भएको कसैले म्याद गुजारी फरार भएको वा कैद थुनामा बसेको वा कैद थुनाबाट भागेको वा धरौटी जमानी तारेखमा छूटेको अवस्थामा ठूलो सजायँ हुने खत गरे सोही ठूलो सजायँ गर्नुपर्छ फेरि जन्मकैदको सजायँ हुने खत गरेकोमा जन्मकैद भोगी छुटन पाउने भएपछि चारवर्ष थपी र घटी सजायँको खत गरेकोमा खत अनुसार बढीमा चारवर्षसम्म थपी कैद गर्न पर्छ भन्ने र दण्ड सजायँको ४१ नं. मा एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ । त्यसरी कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नु पर्ने भयो र अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्नु पर्ने कलमको हद बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मितिदेखि पछि ठेकिएको कलमको हद ननाघ्ने गरी कैद ठेक्नु पर्छ । अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्नु पर्दैन फैसला कैद, पुर्जी कैद ठेक्ने किताबसम्म खुलाई दिनुपर्छ र पछि ठेकिने कलमको हद घटी भए पनि अघि कैद गर्दा ठूलो कलमको हद नपुगेको रहेछ भने सो नपुग दिनसम्म पछिल्लो कलममा कैद गर्नुपर्छ । धेरै कलमको कैदको हद बराबर हुन आयो भने सो मध्ये एक कलमको कैद ठेक्नु पर्छ । अरु कलमका हकमा फैसला कैदी पुर्जी कैद ठेक्ने किताबमा सम्म खुलाउनु पर्छ तर फैसला भइसकेपछि कैद नबस्दै वा थुना बसेको अवस्थामा वा थुना कैदबाट छुटेको वा भागेको अवस्था अर्को कसूर गरेकोमा सो कसूर बापत कानुन बमोजिम थप कैद ठेक्नु पर्छ भन्ने लेखिएको (साविक पेज नं. ६४०) पाइन्छ ।
१७. निवेदकलाई ल.पु.जि.अ.को फैसलाबाट मिति २०३९।११।३० मा सर्वश्वसहित जन्मकैदको सजायँ भएकोमा विवाद देखिन्न । का.प.जि.अ.को मिति २०४०।३।९ को फैसलाबाट निवेदकलाई डाँका मुद्दामा वर्ष नौ र जरिवाना बापत कैद वर्ष ४ एवं पुनरावेदन गरे बापत थप कैद भए पनि सो डाँका मुद्दा भएको सबै कैद सोही सर्वश्वसहित जन्मकैदको मुद्दामा गाभिन जाने र खत नखापिने भनी दण्ड सजायँको ८ नं. ले कानुनी व्यवस्था गरेको र एकै मानिसलाई धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबैभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी कैद गर्न पर्ने र अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्नु नपर्ने भन्ने दण्ड सजायँको ४१ नं. ले समेत कानुनी व्यवस्था गरेकोले निवेदकलाई रुद्रप्रसाद तिमिल्सीनाको जाहेरीले वादी श्री ५ को सरकार भएको ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैद भएकोले जिवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा निवेदकलाई भएको कैद खापिने अवस्था रहेन । यस्तो अवस्थामा निवेदकलाई सर्वश्वसहित जन्मकैद भएकोमा सो को जे जति कैद हुन्छ सो को मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा का.प.जि.अ.बाट ल.पु.जि.अ.बाट सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरे पछि प्रस्तुत डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्नु भन्ने लगत निर्णय पत्र कानुन विपरीत देखिँदा डाँका मुद्दाको कैद थप गरेको लगत सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । सर्वश्वसहित जन्मकैद भई मिति २०३७।८।१५ देखि कैद ठेकिएकोले निवेदकलाई का.प.जि.अ.को मिति २०४०।३।९ को फैसला बमोजिम लागेको सजायँको कैद ल.पु.जि.अ.को भुक्तान भएपछि खापी ठेक्न नमिल्ने हुँदा कानुन बमोजिम लगत सच्याई कैद ठेक्नु भनी विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि यस आदेशको १ प्रति म.न्या.का. मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४८ साल माघ २८ गते रोज ३ शुभम् ।