निर्णय नं. ४३९१ - उत्प्रेषण

निर्णय नं. ४३९१ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
सम्वत् २०४६ सालको रिट नं. ७०२
आदेश भएको मिति: २०४८।१०।२२।४ मा
निवेदकहरु : गणेश गुठी, गणेश टोल, पोखरा कास्की पो.नं.पा. वडा नं. ४ बस्ने चन्द्रकुमार पालीखेसमेत (साविक पेज नं. ६४३)
विरुद्ध
विपक्षी : गुठी संस्थान, केन्द्रीय कार्यालय, रामशाहपथसमेत
विषय : उत्प्रेषण
(१) नित्य पूजा नगरा बजाए बापत मात्र खान्गीमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतानी नम्बरीमा दर्ता गर्ने गरेको निर्णय र सो आधारमा भएका अन्य निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
अवलम्बित नजीर : ने.का.प. २०४६, अंक ४, नि.नं. ३८०४, पृ. ४४० मा प्रतिपादित सिद्धान्त ।
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :–
कास्की पोखरा गणेशटोल स्थित गणेश देवताको दैनिक नित्यपूजा बाजा बजाउने जात्रा पर्व समेतको धर्म कार्यको लागि पुर्खा मोहनमान पालिखेले विभिन्न जग्गाहरु समर्पण गरी गुठी धर्मकार्य चलाई आएकोमा राणाकालीन प्राइममिनिष्टर जुद्ध शमशेरबाट १९९९।३।२ मा सनद पनि बक्स भएको थियो । उक्त सनदमा दमाइहरुले नगरा बाजा बजाउने र सो बापत अ. ७।२ तिरो लाग्ने पाखो जग्गाको आयस्ता खान पाउने गरी खान्गीको लागि १ माना विजनको जग्गा राखिएको र नगरा बजाउने खन्गीदारमा विपक्षी दमाइहरुको पुर्खा भोटे दमाइको नाम अंकित गरिएको (साविक पेज नं. ६४४) थियो । उक्त सनद अनुसार निज भोटे दमाइ भएसम्म निजले नै र निजपछि विपक्षी दमाइहरुले उक्त जग्गा कमाई त्यसको आयस्ता खान्गी खाई गणेश देवताको मन्दिरमा नित्य विहान बेलुका दुई पटक नगरा बाजा बजाई आएको थियो । उपरोक्त जग्गा हाल ९ नं. नापी गोश्वाराबाट नापी हुँदा शुरुमा प्रत्येक कित्तामा जग्गा धनीमा गणेश गुठी मात्र राखिएकोमा पछि लाइन खिची त्यस मुनी पो.न.पं. वडा नं. ३ कि.नं. ३३,१ २३, ४९९ मा विपक्षी लेखबहादुर, कि.नं. ३२, १२४, ५०४ मा आइतश्री दमिनी, कि.नं. ३०, १२१ मा जितबहादुर, कि.नं. ३१, १२२ मा बखतबहादुरको नाउँमा कि.नं. ४३३ जीतबहादुर बखतबहादुरको नाम थपी नापी भएको रहेछ । गुठी संस्थानले विपक्षी दमाइहरुको नापी दर्ता बदर गरी जग्गा धनी गणेश गुठी कायम गरी ज.ध.पुर्जा गुठी संस्थानमा पठाई दिनु भनी मालमा लेखी पठाएको रहेछ । यही कुरालाई लिई निर्णय बदर गरिपाउँ भनी विपक्षी आइत श्री दमिनी समेतले मुद्दा दायर गरेकोमा ०३८ सालमा नापी दर्ता भएकोमा हदम्यादभित्र अदालतमा उजूर परेको देखिएन । साथै गुठी संस्थान ऐनको दफा ३९ अन्तरर्गत कारवाही गर्न पाउने गुठी संस्थानलाई अधिकार भएमा पनि दर्ता गराउने दमाई दमिनीहरुलाई बुझ्दै नबुझी एकतर्फी निर्णय गर्न पाउँछ भन्न मिलेन । यसर्थः गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब भन्ने प.क्षे.अ.बाट २०४०।११।२८ मा फैसला भई सो उपर पुनरावेदन अनुमतिको लागि निवेदन दिएकोमा स.अ.बाट पुनरावेदन दिन अनुमति नदिएको रहेछ । विपक्षी दमाइहरु उपर दर्ता गर्न नहुने जग्गा दर्ता गरे उपर कारवाही गर्नु पर्नेमा उल्लेखित उपरोक्त खान्गीको जग्गा विपक्षी दमाइहरुको नाउँमा प्रति रोपनी रु. ३०,०००।– लिई रैतानीमा दर्ता गर्ने गरी २०४५।१।९ मा निर्णय गरी उक्त जग्गा विपक्षी दमाइहरुकै नाउँमा ज.ध.प्र.पुर्जा उपलब्ध गराइदिनु भनी गुठी संस्थान केन्द्रीय कार्यालयबाट मालपोत कार्यालय पोखरामा ०४५।३।३ मा दर्खास्त गरी पठाएको रहेछ । त्यसपछि २०४५।४।२० को निर्णय अनुसार गणेश गुठी र रैतानी कायम भनी पो.न.पं. वडा नं. ४, कि.नं. ३३, १२३, ४९९ को ३ कित्ता जग्गाहरुको जग्गाधनी विपक्षी गोमा दमाई, जानकी दमाइ भनी जनाई ज.ध.प्र.पूर्जा दिइएको रहेछ । त्यस्तै कि.नं. ४९३ को जग्गा जितबहादुर बखतबहादुर जग्गा धनी जनाई ज.ध.प्र.पुर्जा दिइएको रहेछ त्यस्तै किसिमले कि.नं. ३०, २२१ को ज.ध.प्र.पुर्जा जितबहादुरलाई र कि.नं. ३१, १२२ को ज.ध.प्र.पुर्जा जितबहादुरलाई र कि.नं. ३१, १२२ को बखतबहादुर र कि.नं. ३२, १२४, ५०४ को ज.ध.प्र.पुर्जा आइत श्री दमिनीलाई दिइएको र कुन मितिमा दिइएको भन्ने मितिसम्म उल्लेख छैन । यसरी विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालयले आफूले गर्नुपर्ने काम कर्तव्य नगर्नुको साथै उपरोक्त कित्ता ११ का जग्गाहरु विपक्षी दमाइहरुको नाममा निजी दर्ता गर्ने रैतानी दर्ता गर्ने कारवाही तथा निर्णयहरु निम्न लेखिए बमोजिम गलत कानुन विपरीत र अनधिकृत छ उपरोक्त ११ कित्ता जग्गाहरु गणेश देवताको मन्दिरमा विहान बेलुका नगरा बजाउने दमाइहरुको खान्गीको लागि राखिएको जग्गा हो भन्ने कुरा १९९९।३।२ को सनदले पनि बताइरहेको छ । खान्गी जग्गा भन्नाले मतलव नै ठेकिएको काम गरेबापत खान पाउने नगरे खान नपाउने खास सेवासंग सम्बन्धित गुठी जग्गा हो । त्यस्तो जग्गा गुठीको नाम निशान नरहने गरी खान्गीदारको निजी रैकर रैतानी जग्गा सम्पत्ति हुन सक्दैन । यस्तो गर्न गुठीको ३ तथा गुठी संस्थान ऐनको दफा ३०क, ३६, ३९(१) विपरीत पनि छ । विपक्षी गुठी संस्थान तथा मालपोत कार्यालयले देखादेखी कानुन विपरीत अनधिकृत काम गरी माथि लेखिए बमोजिम गुठी खान्गीको जग्गा विपक्षी दमाइहरुको नाउँमा निजी रैकर दर्ता गरिदिएबाट पोखरा गणेशटोल स्थित गणेश देवताको जग्गा हरण भएबाट नेपालको संविधानको धारा १०, ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त अधिकार हनन् भएको हुनाले सोको प्रचलनार्थ संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएका छौं । उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश जारी गरी उपरोक्त ११ कित्ता जग्गाहरु विपक्षी दमाइहरुको (साविक पेज नं. ६४५) नाउँमा निजी दर्ता गर्ने गरेको ०४५।१।९, ०४५।३।३ को तथा अन्य निर्णयहरु भए सो निर्णयहरु समेत झिकाई ती निर्णयहरु तथा सोको आधारमा विपक्षीहरुको नाउँमा गरिएको दर्ता तथा सो सम्बन्धी अन्य सम्पूर्ण काम कारवाही समेत बदर गरी उपरोक्त ११ कित्ता जग्गाहरु पूर्ववत् गणेश गुठीको बाजा बजाउने खान्गी गुठी जग्गा नै कायम गरिपाउँ भन्ने समेत रिटनिवेदन ।
२. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत, एक न्यायाधीशको इजलासको मिति २०४६।५।२७ को आदेश ।
३. उल्लेखित जग्गाहरु गुठी रैतानी नम्बरी कायम गरिदिने भनी मिति ०४५।३।३ मा गुठी संस्थान केन्द्रीय कार्यालयबाट लेखी आए बमोजिम मिति २०४५।४।२० मा यस मालपोत कार्यालयबाट गुठी रैतानी नम्बरी श्रेस्ता पूर्जामा कायम गरिएको व्यहोरा अनुरोध छ भन्ने समेत मालपोत कार्यालय कास्कीको लिखितजवाफ ।
४. गुठी संस्थान अधिनस्थ गुठी जग्गा मोहीले गुठी रैतान नम्बरीमा दर्ता गराउन चाहेमा गुठी संस्थानले तोकेको रकम बुझाएमा संस्थानले रैतान नम्बरीमा दर्ता गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था भएकोले सो कानुनी व्यवस्था अनुसार गुठी संस्थान समक्ष हामीहरुको निवेदन परी रजिष्ट्रेशन दस्तूर असूल गर्दा के कति दस्तूर लिने गरेको छ भनी मालपोत कार्यालय कास्कीलाई पत्र लेखी पठाइसकेको आधारमा बाजा बजाउने काममा खण्डित नगर्ने हाम्रो समेत मञ्जूरी सहमतिबाट ठाउँको महत्व र सबूद प्रमाण नापीको श्रेस्ता प्रमाण र अदालतको फैसला समेतको मूल्यांकन गरी गुठी संस्थानको अध्यक्षको तर्फबाट २०४५।१।९ मा सञ्चालक समितिमा पेश हुने भई समितिबाट २०४५।३।३ मा समितिबाट प्रतिरोपनी रु. ३०,०००।– दरले हामीहरुले दाखिल गर्ने भएकोले नापीको श्रेस्ता बमोजिम गुठी रैतान नम्बरी जमीनको पुर्जा उपलब्ध गराइदिने भनी २०४५।१।९ को स.अ.को निर्णयबमोजिम कार्यान्वयन गर्न २०४५।३।३ मा मा.पो.का. कास्की लाई पत्र लेखी सो को बोधार्थ हामीहरु समेतलाई दिएको हो । मा.पो.का.कास्कीबाट २०४५।४।२० को निर्णय समेत अनुसार हामीहरुका नाउँमा गणेश गुठीलाई गुठी रैतानी नम्बरीमा कायम गरी जग्गा धनी प्रमाणपूर्जा पाएको हो भन्ने समेत जितबहादुर दमाई, जानकी दमिनी, गोमा दमाई, आइतश्री दमिनी र बखतबहादुर दमाइको संयुक्त लिखितजवाफ ।
५. बखतबहादुर समेतका व्यक्तिहरुलाई झिकाई प्रचलित दर भाउले हुने रकम संस्थानलाई बुझाई जग्गा आ–आफ्ना नाउँमा दर्ता गराइलिन मञ्जूर गरेको हुँदा मूल्य निर्धारण कमिटीको राय अनुसार प्रति रोपनी रु. ३०,०००।– का दरले हुने रकम गणेश गुठीका नाममा खाता खोली प्राप्त हुने व्याजबाट श्री को कार्य सञ्चालन गर्ने निर्णय भएको हो, सो निर्णय गुठी संस्थान ऐनको अधिनमा रही भएको हुँदा बदर हुन पर्ने होइन । गुठी संस्थान ऐन, २०३३ को दफा १९ ले सबै छूटगुठी राजगुठीमा परिणत भई सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्तो छूटगुठीका गुठीयार खान्गीदारको सबै अधिकार समाप्त हुनेछ भन्ने उल्लेख भएबाट रिट गर्ने अधिकार विपक्षीलाई नभएबाट रिटनिवेदन खारेज गरिपाउँ भन्ने गुठी संस्थान केन्द्रीय कार्यालयको लिखितजवाफ ।
६. विवादका जग्गाका सम्बन्धमा गुठी संस्थानबाट के कस्तो निर्णय भएकोछ, तत्सम्बन्धी निर्णय सहितको सक्कल फाइल झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश भएकोमा सक्कल फाइल नपठाएको र पेशीको सूचनामा पनि हाजिर नभएको फायलबाट देखिन आएको ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत रिटनिवेदन अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले मेरो पक्षका पुर्खाले गणेश मन्दिरमा विहान बेलुकी नित्य बाजा बजाउने र सो बाजा बजाए बापतको खान्गी खाने गरी गुठी राखेको हुँदा विपक्षीहरुका नाउँमा दर्ता गर्ने गरेको दर्ता उत्प्रेषणको (साविक पेज नं. ६४६) आदेशद्वारा बदर गरी विपक्षी गुठी संस्थान र मालपोत कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । विपक्षी कार्यालयका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले गुठी संस्थानले दर्ता गरिदिने भनी पत्र पठाएको हुनाले मालपोत कार्यालयले दर्ता गरिदिएको हुँदा रिटनिवेदन खारेज हुनुपर्छ भन्ने र विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले प्रचलित दरभाउमा रकम बुझाई मेरो पक्षले आफ्नो नाउँमा दर्ता गराएको हो । गणेश गुठीको सम्बन्धमा उजूर गर्ने हकदैया निवेदकहरुलाई छैन । गुठी संस्थान ऐन अनुरुप भएको काम कारवाही बदर हुनुपर्ने नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने नपर्ने के हो सो को निर्णय दिनुपर्ने हुन आयो ।
९. यसमा निर्णयतर्फ विचार गर्दा, गणेश देवताकै दैनिक नित्य पूजा, बाजा बजाउने, जात्रा पर्व समेतको लागि पुर्खा मोहनमान पालिखेले विभिन्न जग्गाहरु समर्पण गरी आएकोमा १९९९।३।२ मा राणाकालीन प्राइमिनिष्टर जुद्ध शमशेरबाट सनद बक्स भएको थियो । बाजा बजाए बापतमा खान्गी जग्गा खान पाउने नगरे खान नपाउनेमा विपक्षी दमाइहरुको नाउँमा रैकर दर्ता गरी दिने गरेको गुठी संस्थान र मालपोत कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी गणेश देवता कै नाउँमा दर्ता गर्नु भन्ने परमादेश समेतको आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर भएको पाइन्छ । गुठी संस्थान अधिनस्थ जग्गा मोहीले गुठी रैतान नम्बरीमा दर्ता गराउन चाहेमा गुठी संस्थानले तोकेको रकम बुझाई रैतान नम्बरीमा दर्ता गर्न सक्ने कानुनी व्यवस्था हुँदा गुठी संस्थानले हाम्रो नाउँको गुठी रैतान नम्बरी जनिएको पुर्जा उपलब्ध गराइदिने भनी मालपोत कार्यालय कास्कीलाई पत्र लेखी मा.पो.का. कास्कीबाट जग्गा धनी प्रमाण पुर्जा पाएकोले रिटनिवेदन खारेज हुनुपर्छ भन्ने लिखितजवाफ भएको देखिन्छ ।
१०. निवेदकहरुका पुर्खा मोहनमान पालिखेले गणेश देवताको दैनिक नित्य पुजा बाजा बजाउने जात्रा पर्व समेतको धर्म कार्यका लागि गुठी राखेको र राणा प्राइमिनिष्टर जुद्ध शमशेरबाट १९९९।३।२ मा सनद पनि बक्स भएकोमा विवाद देखिँदैन । गणेश देवताको गुठीको सनदमा बाजा बजाउने दमाइ के खान्गी धान ५। नगरा बाजा बजाउने खान्गी जानी खाने ७।२ भनी उल्लेख भएको देखिन्छ । नित्य पूजा बाजा बजाउने र सो जग्गाको खान्गी खाने गरी गुठी राखेकोमा गुठी संस्थानले गुठी संस्थान ऐन, २०३३ को दफा ३६ को अधिनमा रही निर्णय गरेको र दफा १९ बमोजिम गुठियार खान्गीदारको सबै हकाधिकार समाप्त हुनेछ भन्ने भएबाट विपक्षीलाई रिटनिवेदन गर्ने अधिकार छैन भन्ने गुठी संस्थानको जवाफबाट देखिन्छ । यस अदालतको आदेश बमोजिम निर्णय फाइल मगाएकोमा गुठी संस्थान उपस्थित हुन आएन । धर्म कार्यमा बाधा पर्न जाने कुरालाई हामी सनातन देखि धर्मलोप भन्दै आएका छौं, गुठीमा धर्मलोप गर्ने अधिकार अरुलाई त के कुरा गुठी संस्थानलाई पनि हुँदैन, गुठी धर्मलोपमा गुठी संस्थान वा त्यससंग सम्बन्धित महन्त जस्ताले उजूर गर्न पाउँदैन भन्न नमिल्ने, धर्मलोप भएकोमा गुठी संस्थानले मात्र उजूर गर्नु पर्ने अरुले नपाउने र त्यसमा पनि पूजा आजा चलाई शेष खान पाउने महन्तले पनि उजूरै गर्न नपाउने भन्दा हाम्रो धर्म गुठी संस्थानको जिम्मा रहेको हुन गई धर्मलोप गर्न चाहेमा गुठी संस्थानले सजिलैसंग गर्न पाउने भन्ने घुमाउरो अर्थ लाग्न जाने हुँदा त्यस्तो भन्नु न्यायोचित हुँदैन, यसो भन्नु संवैधानिक पनि हुँदैन किनभने हिन्दू धर्म संविधानले संरक्षित राष्ट्र धर्म हो, यसलाई यति सामान्य र सरल कुरा सम्झन मिल्दैन यो राष्ट्रकै चासो भएको कुरा हो त्यसकारण सबै हिन्दू नेपालीको चासोको कुरा हो” भनी यस अदालतबाट ने.का.प. २०४६, अंक ४, नि.नं ३८०४, पृ. ४४० मा सिद्धान्त समेत प्रतिपादन भइसकेको हुँदा निवेदकहरुको रिटनिवेदन गर्ने अधिकार छैन भन्न मिलेन । (साविक पेज नं. ६४७)
११. अतः गणेश देवताको नित्य पूजा नगरा बाजा बजाए बापत मात्र खान्गीको रुपमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतान नम्बरीमा दर्ता गर्ने गरेको मिति २०४५।१।९, ०४५।३।३ को निर्णय र सो आधारमा भएका निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । उपरोक्त ११ कित्ता जग्गाहरु पूर्ववत् गणेश गुठीको बाजा बजाउने खान्गी गुठीको जग्गा नै कायम गर्नु गराउनु भनी विपक्षी गुठी संस्थान तथा मा.पो.का.कास्कीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थीको जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.को कार्यालयमा पठाई दिनु । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इति सम्वत् २०४८ साल माघ २२ गते रोज ४ शुभम् ।