निर्णय नं. ४३९३ - कर्तव्य ज्यान

निर्णय नं. ४३९३ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
२०४७ सालको फौ.पु.नं. २९२
फैसला भएको मिति: २०४८।१०।१५।४ मा
पुनरावेदक/वादी : शर्मानन्द ढुंगानाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.खोटाड्ड विजयखर्क गा.वि.स.वा.नं.४ बस्ने नारायणप्रसाद ढुंगाना
मुद्दा : कर्तव्य ज्यान
(१) एकजनाले मात्र मृतक लाश बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डयाउन सक्ने सामान्य स्थिति मान्न नमिल्ने ।
(प्रकरण नं. २४)
(२) शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेको भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्न गरिएकोले पोष्टमार्टम हुन नपाएको अवस्था हुँदा मारेर झुण्डयाइएको हो भन्ने कुरा निश्चयात्मक रुपले भन्न नसकिने ।
(प्रकरण नं. २६)
पुनरावेदक, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।
२. ०४४।५।१६ गते मेरी श्रीमती छोरा नारायणप्रसाद समेत बारीमा दिनभर सुढुनी रोपी बेलुका घरमा आउँदा श्रीमती घरमा छैन भनी छोराले भनेकाले रातभर खोजतलास गर्दा फेला नपरेको र भोलिपल्ट १७ गते (साविक पेज नं. ६५१) बिहान ऐ.वा.नं. ४ बस्ने अविनारायणको छोरीले सावित्रा ढुंगाना मरेको कुरा गाउँमा हल्लाखल्ला गरेकोले गई हेर्दा अविनारायणको बारी पुछारमा खनिउको रुपमा नामलाको बरीयाको पासो लागी झुण्डि मरेको लाश फेला पारी लाश सुरक्षा राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी ।
३. तुरतुरेखोला पूर्व अविनारायणको बारी पश्चिम अविनारायणको बारी दक्षिण वासुदेवको बारी तुरतुरेखोला उत्तर रहेको खनिउको बोटमा झुण्डिएको सावित्राको लाश घाँटीको डोरी खोली हेर्दा नागवेली आकारको डाम भएको आँखा दुवै बन्द भएको जिब्रो केही बाहिर निस्की दाँतले टोकेको योनीबाट सेतो पदार्थ निस्केको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
४. जाहेरवाला निजकी श्रीमती तथा ज्वाई समेतले २०४४।५।१६ गते छोरी सावित्रालाई मकै चोर लगाएको भनी छलफल गरिदिनु पर्यो भनी छोरीले सो १६ गते बेलुका हाम्रो बेसी गोठमा आई भनेको सो पछि सो बेलुका राती ज्वाई मेरो घरमा आई तेरो छोरी आज देखि चाहिंदैन, मारेर सरजमीन गराउन सक्छु भनी भनेको हुँदा मेरो छोरी सावित्रालाई जाहेरवाला शर्मानन्द, थासे र नारायणप्रसादले कर्तव्य गरी मारेको शंका लाग्छ भनी राधादेवीले प्रहरीमा गरेको कागज ।
५. लाशको प्रकृति हेर्दा आफैं आत्महत्या गरी मरे जस्तो लाग्छ, कर्तव्यमा कुनै उपर शंका लाग्दैन भन्ने पद्मप्रसाद ढुंगानाले प्रहरीमा गरेको कागज ।
६. २०४४।५।१६ गते रातभर मृतक सावित्रालाई म समेत भई नारायणप्रसादसंग खोजतलास गर्दा फेला नपरेकी भोलिपल्ट बिहान खनिउको रुखमा झुण्डी मरेको लाश फेला परेको हुँदा र लाशको प्रकृति हेर्दा आफैं आत्महत्या गरी मरेको जस्तो लाग्छ, कर्तव्यमा कसै उपर शंका लाग्दैन भन्ने समेत काशीरामले प्रहरीमा गरेको कागज ।
७. ०४४।५।१६ गते बेलुका ४ बजेको समयमा सावित्रा छोरी बोकी आइरहेको देखी कहाँ जाने भन्दा मलाई मकै चोर लगाए, छलफल गरी माग्न माइतीहरुलाई लिई आउँछु भनी गएको र म गोठमा आउँदा मृतकको श्रीमान् नारायणप्रसादले मेरो गोठ देखि केही माथिबाट बिलभद्रसंग छलफल गरी देउ भनी स्वास्नी माइतीको व्यासितिर गइछ, आइभने मारी दिन्छु भनी भनेको सुनेको हुँ भन्ने समेत विलभद्र ढुंगानाले प्रहरीमा गरेको कागज ।
८. ०४४।५।१६ गते मैले मकै चोर लगाएको पनि थिइन सो दिन म मेरी श्रीमती छोरा नारायणप्रसाद वारीमा दिनभर सुढुनी रोपी बेलुका आ–आफ्नो घरमा आई राती बुहारी हराई भनी छोराले कुरा गरेकोले छोरा नारायणप्रसाद, काशीराम, पद्मप्रसाद समेत भई खोजतलास गर्दा पनि फेला परिन भोलिपल्ट झुण्डी मरेको लाश फेला पारी जाहेर गर्न आएको हुँ । म समेत भई सावित्रालाई कर्तव्य गरी मारेको होइन आफैं आत्महत्या गरी मरेकी हुन् भन्ने समेत शर्मानन्दले प्रहरीमा गरेको कागज ।
९. ०४४।५।१६ गते दिनको १२ बजे मृतक श्रीमतीले मलाई तल्ला घरको मकै चोरी गरी ल्याए भनी किन त्यसो गरेकी भन्दा मेरो मनमा त्यस्तै आयो भनी र म सुढुनी रोप्न गएँ बेलुका घरमा आइपुग्दा श्रीमती घरमा नभएकीले सासुको घरमा कासीरामलाई साथ लिई गएं, सासुको घरमा जाँदा बेलुकी आएकी थिई घर जान्छु भनी गई भनिन्, घरमा आउँदा घर भित्र सानी छोरी साथ सुतेकी रहिछ, मैले खुट्टामा एक लपटा हिरकाएँ, घरमा आगो नफुकी खाना समेत नबनाएकोले बाबुको घरमा आई खाना खाई घरमा आउँदा नानी मात्र सुतिरहेको श्रीमती नभएकीले काशीराम, पदमप्रसाद समेत भई खोजतलास गर्दा फेला परिनन्, भोलिपल्ट १७ गते अविनारायणकी छोरी घाँस काट्न जाँदा निजकै बारीमा भाउजू झुण्डि मरेकी रहिछन् भनी हल्ला गर्दा चाल पाई गई हेर्दा आफ्नै घरको नामलोको पासो लगाई खनिउको रुखमा झुण्डी मरेको लाश फेला पारी बाबु शर्मानन्द जाहेर गर्न गएका हुन् म समेत भई कुटपिट गरेको होइन, (साविक पेज नं. ६५२) आफैं आत्महत्या गरी मरेकी हुन् भन्ने समेत प्रतिवादी नारायणप्रसादले प्रहरीमा गरेको बयान कागज ।
१०. ०४४।५।१६ गते म मेरो श्रीमान, छोरा नारायणप्रसाद समेत घरबारीमा सुढुनी रोप्न गई बेलुका घर आई पुगी बसेको ध्रुवकी आमा घरमा छैन, खोज्नु पर्यो भनी नानी मेरो घरमा ल्याई छोरा ससुराली गएका थिए, ससुरालीबाट पुनः घरमा आउँदा मृतक बुहारी घरमा सुतिरहेकी खाना बनाएको छैन, मलाई खाना दिन भनी छोरा आएकोले चाम्रे पकाई खान दिएँ, सो पछि छोरा घरमा सुत्न जाँदा बुहारी घरमा नभएकीले रातभर काशीराम, पदमप्रसाद समेत भई खोजतलास गर्दा फेला परिन, भोलिपल्ट बिहान अभिनारायणको छोरीले सावित्रा झुण्डी मरेको खबर गरेपछि म समेत भई हेर्दा झुण्डी मरेको देखी श्रीमान जाहेर गर्न गएका हुन्, म समेत भई कुटपिट गरी मारेको होइन भन्ने समेत पदमकुमारीले प्रहरीमा गरेको कागज ।
११. सरजमीनका केही मानिसहरुले कर्तव्य गरेमा शंका लाग्छ भनेका र केही मानिसले आत्महत्या गरी झुण्डी मरेको भनी सरजमीनमा लेखाएको रहेछ ।
१२. प्रस्तुत कर्तव्य ज्यान मुद्दाको कागजात अध्ययन गरी अभियोग तर्फ विचार गर्दा ०४४।५।१६ गते श्रीमतीले आफ्नो बाबु आमाको मकै चोरी गरेको र दिनभर सुढुनी रोपी बेलुका घरमा आउँदा श्रीमती फेला नपरेकी र ससुरालीमा गई तेरी छोरीलाई मारी दिन्छु भनी नारायणप्रसादले धाक धम्की दिई ससुराली घरबाट पुनः फर्की आफ्नो घरमा आउँदा श्रीमती आगो समेत नफुकी सुतिरहेकी रिसइवीमा निजले कुटपिट समेत गरी मारी अपराधबाट बच्नको लागि मृतक लाशलाई आफैंले बोकी लगी आफ्नै घरको नाम्लोको पासो लगाई खनिउको रुखमा झुण्ड्याई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ नं. प्रतिकूल अपराध गरेको हुँदा सोही ऐनको देहाय ३ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत प्रहरी तथा जिल्ला न्यायाधिवक्ताको संयुक्त प्रहरी प्रतिवेदन ।
१३. मृतक सावित्रा ढुंगानालाई कसैले पनि कर्तव्य गरी मारी झुण्डयाएको होइन आफैं आत्महत्या गरी झुण्डी मरेकी हुन्, सरजमीनका दफा १३, १४, १५, १८, १९ र २० का व्यक्तिहरुले रिसइवीको कारणबाट शंका देखाएको हुन्, मैले सासुको घरमा गएर उल्लेखित शब्द प्रयोग गरेको होइन, बिलभद्रसंग यो भन्दा अगाडि ४।५ वर्ष अघि देखि नै बोलचाल नभएको हुँदा रिसइवीको कारणले प्रहरीमा कागज गरेको हो किन मैले मारेको हो भनी प्रहरी दावी लिए म जान्दिन, मैले मेरी श्रीमतीलाई कर्तव्य गरी मारेको र अरु कसैले पनि कर्तव्य गरी मारेको होइन भन्ने समेत अभियुक्त नारायणप्रसादले अदालतमा गरेको बयान ।
१४. शंकाको आधारले कसूरदार ठहर गर्न नमिल्ने हुँदा आरोपित कसूरबाट प्रतिवादीले सफाई पाउने ठहर्छ भन्ने समेत खोटाड्ड जिल्ला अदालतको ०४५।३।३१ गतेको फैसला ।
१५. खोटाड्ड जि.अ.को इन्साफमा चित्त बुझेन, प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट सगरमाथा अञ्चल अदालत, ओखलढुंगा बेञ्चमा परेको पुनरावेदन ।
१६. शुरु खोटाड्ड जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चको ०४६।२।२२ को फैसला ।
१७. शुरु जि.अ.को फैसला सदर गर्ने गरी भएको सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चको फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदन ।
१८. लाश प्रकृति मुचुल्का तथा घटनास्थल प्रकृति मुचुल्का समेतको प्रमाणहरुबाट मृतक सावित्रा ढुंगानाको मृत्यु स्वयं आफैंले घाँटीमा पासो लगाई भएको भन्ने सिद्ध हुन आएको अवस्थामा केवल शंकाको भरमा प्रहरी प्रतिवेदन अभियोग बमोजिम सजायँ गर्न न्यायोचित नहुँदा (साविक पेज नं. ६५३) प्रतिवादी नारायणप्रसाद ढुंगानालाई आरोपित कसूरबाट सफाई दिने ठहराएको सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।
१९. ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ हुनु पर्नेमा प्रतिवादीलाई सफाई दिने गरी गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण र बदरभागी भएकोले सो फैसला बदर गरी प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले मृतक सावित्री र निजको लोग्ने यी प्रतिवादी नारायणप्रसाद बीच झैं झगडा भएको र स्वास्नीलाई नमारी छोडदिन भनी सासुसंग भनेर आएको भनी मृतककी आमा राधादेवीले स्पष्ट रुपमा प्रहरी र अदालतमा बयान गरेकी छिन्, सरजमीनले निजले नै मारेको भनी शंका देखाएका छन् । एकपटक खुट्टाले हानेको भनी अपराधलाई यी प्रतिवादीले आंशिक स्वीकार गरेका छन् । झुण्डिएर मरेको व्यक्तिको र्याल रस निस्केको हुनुपर्ने सो भएको देखिँदैन । झुण्डिएको लासको प्रकृति हेर्दा गोलाकार ीभनभतगचभ :बचप रातोडाम भएको जतापट्टि टाउको लत्रेकोछ, त्यस्को उल्टो भागमा कानपट्टि मात्र नाम्लोको डाम हुनुपर्नेमा सो नदेखिँदा मृतकले आत्महत्या नगरेको र मारेर झुण्डाएको हुँदा प्रतिवादीलाई प्रहारी माग दावी बमोजिम सजायँ हुनुपर्ने हुँदा विपक्षीलाई झिकाइयोस भन्ने बहस प्रस्तुत गर्नु भयो ।
२१. पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के हो सो को निर्णय दिनु पर्ने हुन आयो ।
२२. यसमा निर्णयतर्फ विचार गर्दा, लाश झुण्डिएको अवस्थामा फेला परेको कुरामा विवाद देखिएन । २१२ फीट जमीन देखि माथी लाश झुण्डिएको, जिब्रो टोकिएको अवस्था भएकोबाट झुण्डिएर नै मृतकले आत्महत्या गरेको स्थिति देखिन आउँछ ।
२३. बाबु आमाको मकै चोरेको दोष लगाएकोबाट माइतमा गई मकै चोरी दोष लगाई बस्नै नसक्ने अवस्था भयो भनी भनेकी, भनी मृतककी आमाले भनेको काकालाई इन्साफ गरी दिन पर्यो भनी आग्रह गरेकी, तर काकाले कुनै सहयोग नगरेको स्थिति भई माइतबाट घर फर्की सानी छोरी घरमा राखी पुनः रातको १० बजेतिर बाहिर निस्किएको र घर नफर्केकोबाट मकै चोरीको दोष लागेको लोग्ने बाबु आमापट्टि लागेको समेतबाट मानसिक विरक्ती उठी पासो लगाई मर्न सक्ने सम्भावना देखिएकोछ ।
२४. प्रतिवादी नारायणप्रसाद उपर मात्र मुद्दा चलाएको हुँदा एकजनाले मात्र मृतकलाई बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डाउन सक्ने सामान्य स्थिति मान्न मिलेन ।
२५. प्रतिवादी नारायणप्रसाद प्रहरी र अदालतमा इन्कारी बयान गरेको पाइन्छ । निजले एक छोरा एक छोरी भएकी श्रीमतीलाई मार्नु पर्ने सम्मको खास कारण नदेखिएको र निजले मृतकलाई यसरी मारेको देखें सुनेका हौं भन्ने कुनै साक्षी प्रमाण नभएको, प्रतिवादीले मारेर झुण्डाएको हो भन्ने तथ्ययुक्त ठोस अन्य सबूद प्रमाण पनि देखिँदैन ।
२६. शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेकी भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्न गरिएकोले पोष्टमार्टम हुन नपाएको अवस्था हुँदा मारेर झुण्ड्याइएको हो भन्ने कुरा निश्चयात्मक रुपले भन्न सकिने अवस्था नभएकोले शुरु खोटाङ जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत, ओखलढुंगा बेञ्चको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । प्रत्यर्थीको जानकारीको लागि फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४८ साल माघ १५ गते रोज ४ शुभम् ।
(साविक पेज नं. ६५४)