निर्णय नं. १५७६ - अंश
निर्णय नं. १५७६ ने.का.प. २०३९ अङ्क ८
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको देवानी फुल बे.नम्बर २३
फैसला भएको मिति : २०३९।८।११।६ मा
निवेदक/प्रतिवादी : ल.पु.जि.निरनिवास बस्ने फि.मा.श्री निरशम्शेर ज.ब.रा.
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने बिमलादेवी राणा
मुद्दा : अंश
(१) दाइजो पनि ४ भाग लाग्ने भनी भएको निर्णय मिलेको नदेखिने ।
(प्रकरण नं. २३)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२३।१०।१२।३ मा भएको फैसला दोहराइ इन्साफ गरी दिनु भन्ने प्रमाङ्गी पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तीपत्रमा “यो बिन्तीपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो हो र तायदातीमा आएको गर–गहना सुनाचाँदी समेतको कानूनले बुझ्नु पर्ने प्रमाण नबुझी निर्णय भएको रहेछ भने बिन्तीपत्रमा लेखिएको त्यस अदालतको डिभिजनबेञ्चबाट ०२८।१०।१२ मा किनारा भएको अंश मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी ३ महिनाभित्र कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी मौसूफका बिशेष जाहेरी बिभागबाट ०३९।३।१।३ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : विपक्षसँग मेरो विवाह भएको २३।२४ बर्ष भयो। छोरा १ जायजन्म भएपछि मलाई हेला गरी बराबर कुटपिट झगडा गरी दुःख दिने गर्नु भएको र ०२३ साल पौष १ गतेदेखि खान लगाउन समेत नदिनु भएकोले सोल्टी होटेलमा नोकरी गरी दाईजो पेवा समेतबाट निर्वाह गरी आएको छु । छोराको विवाह समेतमा हेरविचार नगर्नु भएकोले बालकृष्णसँग ऋण लिई विवाह गरी दिएको, खान लाउन नदिएकोले अंशियार जवान ४ हुँदा ऐन बमोजिम ४ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्नेसमेत वादी दावी रहेछ ।
३. वादी मेरो विवाहिता श्रीमती हुन् निजलाई खान लगाउन दिई राखेकी छु र ढुकुटी भण्डारको साँचो समेत वादीकै जिम्मामा छ । डाक्टरको राय अनुसार ३ बर्षदेखि म छुट्टै बंगालामा बसेको छु । वादी म देखि छुट्टै मूलघरमा बस्ने गरी आएकी छन् । सोल्टी होटलमा नोकरी गर्नु पर्ने अवस्था नै छैन, बालकृष्णसँग मेरो रुपैयाँ लिनु छ वादीले कसरी सापट लिइन । वादी दावी बमोजिम अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी जिकिर रहेछ ।
४. विवाहिता स्वास्नीलाई त्याग्नु पर्ने अवस्था नभई वादी लेखको मात्र प्रतित मानी कुटपिट गरी निकाला गरेको र खान लाउन नदिएको कुराको प्रमाण वादीबाट पेश हुन नआएबाट वादीलाई अंश छुट्याई दिनुपर्छ भन्ने न्यायोचित देखिन नआएकोले बुझिए सम्मका सबूत प्रमाणबाट अ.बं.को १० नं.र लोग्ने स्वास्नीको ९ नं.समेतबाट वादी दावी पुग्न नसक्ने भई झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत २०२६।१२।१६।४ को ललितपुर जिल्ला अदालतको फैसला रहेछ ।
५. सबूतप्रमाणको मुल्यांकन नगरी अंश नपाउने भनी ठहर गरेको सुरुको इन्साफमा चित्त बुझेन उचित न्यायपाउँ भन्नेसमेत वादीको ०२७।१।२९।३को बा.अं.मा परेको पुनरावेदन रहेछ ।
६. अंश पाउँ भन्ने वादीको दावा पुग्न नसक्ने भनी ल.पु.जि.अ.बाट गरेको फैसला बदर गरिदिएको छ । मानु छुट्टिएको ०२३।१।१९ गते कायम गरी सो मितिको अघिल्ला दिनसम्मको आ–आफ्नो जिम्माको तायदाती लिई अंश छुट्याई दिनु भनी मिसिल ललितपुर जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत बा.अं.अ.को ०२७।१०।२३।६ को आदेश रहेछ ।
७. अञ्चल न्यायाधीशज्यूले सुरुको फैसला बदर गरी अंशतर्फ कारवाही गर्न निमित्त सुरुमा पठाउने गरी अन्तिम आदेश दिनु भएकोले सो आदेश बदर गरी सुरुको इन्साफ सदर गरी पाउँ भन्ने समेत म.क्षे.अ.मा परेको पुनरावेदन रहेछ ।
८. वादीलाई अंश दिनु नपर्ने ऐन बमोजिमको कुनै कारण प्रतिवादीले देखाउन नसकेको सम्बन्धबिच्छेद ठहरी अर्को मुद्दाको आजै निर्णय भएकोले समेत गर्दा तायदाती बमोजिमको धनमालतर्फ वादी अनुसार ४ भागको १ भाग वादीले अंश पाउने ठर्हछ भन्ने समेत म.क्षे.अ.को ०३४।१।१२।१ को फैसला रहेछ ।
९. उक्त फैसलामा चित्त नबुझी अंशबण्डाको ऐन बमोजिम खुलाउनु पर्ने जग्गाको नयाँ हद नम्बर किल्ला समेत नखोली र चार किल्ला समेत नखुलाई जग्गाको हुँदै नभएको केही आफैले लिई सकेको गहना इत्यादी समेत अंश हुनु पर्ने झुठ्ठा फाँटवारी बनाई विमलाले दिएको फाँटवारीको आधारमा फैसला गर्ने अधिकार भएकोले फैसलामा लेख्दैमा नभएको चिज बन्ने होइन। तसर्थ सर्वोच्च अदालतबाट झिकी इन्साफ जाँची कानून बमोजिम गरी इन्साफ जाँची दिनु पर्ने गरी प्रमाङ्गी पाउँ भन्ने समेत ०३५।१०।३० को निर शम्शेर ज.ब.रा.को निवेदनमा भई आएको हुकुम बक्स रहेछ ।
१०. यसमा मोरङ्ग आयल्स मिल, दी हिमालय माइजर्स सिण्डीकेट, नेपाल प्लाइउड एण्ड बबिन, मोरङ्ग कटन मिल्स, वीरगञ्ज कटन मिल्स, पश्चिम नेपाल सलाई कम्पनीहरु लिकुडेसनमा गइसकेको हुनाले त्यस्को श्रेस्ता उद्योग विभागमा छ बुझी पाउँ भनी निर शम्शेर ज.ब.रा.को निवेदन परेको हुनाले उपर्युक्त मिल कारखानाहरु लिकुडेशनमा गएको हो होइन भए कुन उद्योग मिल कारखानाहरु कुन कुन मितिदेखि लिकुडेशनमा गएको र त्यसको शेयर र डिभेन्चर लिने व्यक्तिहरुका सम्बन्धमा कहिले के कस्तो व्यवस्था भएको छ बुझी पेश गर्नु भन्ने समेत ०३६।५।१७।१ को डिभिजनबेञ्चको आदेश रहेछ ।
११. उक्त आदेश अनुसारको उद्योग विभागबाट जवाफ ०३७।२।१०।६ मा प्राप्त भएको रहेछ ।
१२. यसमा मुलुकी ऐन अंशबण्डाको २२ नं.बमोजिम प्रतिवादी फि.मा.निर शम्शेर ज.ब.रा.का नाउँमा म्याद पठाएकोमा प्रतिवादी तर्फबाट वादी विमलादेवी राणा जिम्मा रहेको फाँटवारी खुलाई उजूर गरेको तर्फ कुनै कारवाही नचलाई फैसला गरेको अ.बं.१९२ नं. को विरुद्ध भएकोले छलफल निमित्त विपक्ष वादी विमलादेवी राणालाई अ.बं.२०२ नं.र सर्वोच्च अदालत नियमावली बमोजिम नोटिस म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने ०३७।३।१७।२ को डिभिजनबेञ्चको आदेश रहेछ ।
१३. यसमा वादीले पेश गरेको सम्पत्तिको विवरण गलत छ भन्ने विषयको प्रतिवादीले म.क्षे.अ.मा ०३१।१२।३१ मा दिएको उजूरी निवेदनको प्रकरण ३ मा उल्लिखित बिमलाले ०२२।१०।३ मा भरपाई गरी जिम्मा लिएको जवाहिरात भनेको सो ०२२।१०।३ को सक्कल भरपाई प्रतिवादी निवेदकबाट दाखिल गराई सो भरपाई कागज ऐन बमोजिम सुनाउन नियम बमोजिम पेश गर्नु भन्ने समेत ०३८।४।२२।५ को डिभिजनबेञ्चको आदेश रहेछ ।
१४. उपरोक्त ०२२।१०।३ को भरपाई मलाई देखाई सुनाउँदा देखो सुनो, सो भरपाई मैले गरी दिएको ठिक हो । उक्त भरपाइको सिर पुछारमा भएको सही मेरै हो । तर भरपाइमा लेखिएको जवाहिरातहरु मेरो दाइजो सम्पत्ती हो । मेरो पति प्रतिवादी फि.मा.निर शम्शेर ज.ब.रा.जिम्मा थियो, पछि मैले यो अंश मुद्दा पर्नु भन्दा अगाडि नै बुझी लिई भरपाई गरी दिएको हुँ । अंश बापत बुझी लिई भरपाई गरेको होइन भन्ने समेत विपक्षी वादी बिमलादेवी राणाको डिभिजनबेञ्च समक्ष गरेको ०३८।८।९।३ को बयान रहेछ ।
१५. यसमा निवेदक प्रतिवादी निर शम्शेर ज.ब.रा.ले म.क्षे.अ.मा ०३१।१२।३१ मा वादीले पेश गरेको सम्पत्तिको विवरण गलत छ भन्ने उजूरी बिषयमा दिएको निवेदनपत्र साथ वादी बिमलादेवी ०२२।१०।३ मा भरपाई गरी जिम्मा लिएको भनेको जवाहिरातको फाँट भरपाईमा उल्लेख भएको जवाहिरातहरुको मोल बिगो खुलाउन लगाई पेश गर्नु भन्ने समेत ०३८।९।१६।५ को डिभिजनबेञ्चको आदेश रहेछ ।
१६. वादीबाट पेश भएको तायदाती बमोजिमको र वादी बिमलादेवी राणाले ०२२।१०।३ मा भरपाई गरी जवाहिरात बुझी लिएको भरपाई बमोजिमको जवाहिरात बिमालादेवी राणा जिम्मा रहेको भए निजैले सर्वोच्च अदालतमा ०३८।४।९।३ मा गरेको बयानबाट देखिएको उक्त भरपाईमा लेखिएको जवाहिरातहरु मेरो दाइजो सम्पत्ति हो, मेरो पती फि.मा.निर शम्शेर जिम्मा थियो । पछि मैले यो अंश मुद्दा पर्नु भन्दा अगाडि नै बुझी लिई भरपाई गरी दिएको हुँ । अंश बापत बुझी लिई भरपाई गरेको होइन भन्ने समेत बयान देखिए तापनि सो निजको दाइजो सम्पत्ति हो भन्ने प्रमाण पेश गर्न नसकेकोले वादी बिमलादेवी जिम्मा रहेको सो सम्पत्ति समेत अंश भाग लाग्नु पर्ने देखिँदा माथि उल्लिखित सम्पत्तिहरुलाई वादीले पेश गरेको तायदातीमा समावेश गरी त्यसमा र अरुमा वादीले ४ खण्डको अंश पाउने ठहराई म.क्षे.अ.ले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।१०।१२।२ को फैसला ।
१७. निवेदक प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.को तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले तायदाती दिएको कानूनसंगत छैन । नभएको अचल सम्पत्तिको पनि वादी तर्फबाट तायदाती दिइएको छ । चल सम्पत्तिलाई पनि बढी देखाईएको छ । फिल्डमार्सल निर शम्शेर ज.ब.रा.को मुमा कृष्णकुमारीका नाउँका जग्गा पनि बण्डा गर्ने गरेको र कृष्णकुमारीको मृत्यु ०३०।६।९ मा भएपछि उक्त सम्पत्ति फिल्डमार्सल निर शम्शेर ज.ब.रा.को नाममा आएको छ भन्ने समेत र विपक्षी वादी बिमलादेवी राणाको तर्फबाट बिद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले बिमला राणाले ०२२ सालमा गरी दिएको भरपाईमा “गहनाहरु लाउन निमित्त लिएको भन्ने उल्लेख भएकोबाट बिन्तीपत्रमा सवै गहना बिमलासंंग छ भनी उल्लेख भएको व्यहोरा झुठ्ठा छ । नापीमा सबै जग्गा आफ्नो र आफ्ना आमा कृष्णकुमारीका नाउँमा नापी गराउनु भएको छ । बिमलादेवीबाट आएको तायदाती कानून बमोजिम छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१८. यसमा निवेदक प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.को वारेस कमलमान श्रेष्ठ र वादी बिमलादेवी राणाको वारेस भक्तबहादुरलाई रोहवरमा राखी ०३९।६।५, ०३९।६।१२ र ०३९।६।१५ मा समेत बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा विपक्षी र म लोग्ने स्वास्नी हो मलाई खान लाउन नदिई ०२३।९।१ गते निकाला गरेकाले ४ अंशियार हुँदा ऐन बमोजिम ४ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने वादी, वादीलाई खान लाउन नदिई निकाला गरेको होइन । डाक्टरको सल्लाह अनुसार घरको सिँढी चढ्न मनाही गरेकोले छुट्टै बंगलामा र वादी मुलघरमा बसेकी छन् बण्डा गर्नुपर्ने अवस्था छैन । अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवाद भएको प्रस्तुत मुद्दामा वादीबाट पेश भएका तायदाती बमोजिम र ०२२।१०।३ मा वादीले भरपाई गरी बुझिलिएको गहना समेत वादीको दाईजो सम्पत्ति हो भन्ने प्रमाण पेश गर्न नसकेकोले वादी बिमलादेवी जिम्मा रहेको सो सम्पत्ति समेत अंश भाग लाग्नु पर्ने देखिँदा त्यसमा समेत ४ भागको १ भाग अंश वादीले पाउने ठहर्याई डिभिजनबेञ्चबाट ०३८।१०।१२।३ मा निर्णय भए उपर प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.ले गहनाको मोल मसँग सोध्नु पर्नेमा बिमलादेवीबाटै मात्र खुलाइएको मसँग हुँदै नभएको गहना तायदातीमा देखाइएको र मोल पनि मनपरि राखियो । म जिम्मा ५५४०६।३।६ तोला चाँदी रहेको भन्ने देखाइएको तर, त्यसको प्रमाण दिन सकेको छैन । लिक्युडेशनमा गई सकेको कम्पनीको पनि शेयर दिलाउने गरेको छ । ०३०।६।९ मा मुमा स्वर्ग भएपछि वहाँका जग्गा समेत पारी क्षेत्रफल बढाई तायदातीमा देखाइयो भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.ले चढाएको बिन्तीपत्रमा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३८।१०।१२।२ मा भएको निर्णय मनासिव बेमनासिव के रहेछ भन्ने कुरामा नै निर्णय दिनु पर्ने देखिन आएको छ ।
१९. वादी विमला राणाले प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.बाट ४ भागको १ भाग अंश पाउने ठहरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको निर्णय विरुद्ध निवेदक फिल्समार्सल निर शम्शेर ज.ब.रा.ले आपत्ती उठाएको नदेखिँदा वादी ४ भागको १ भाग पाउने अंशियार भएको कुरामा विवाद रहेन । अब निवेदकले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको निवेदनमा मुख्यतः निम्न अनुसार उजूरी गरेको देखिन्छ :
(१) बिमला राणासँग रहेका गहनाको मोल मसँग सोध्नु पर्नेमा गहना राख्ने विमलासँग सोधेको छ ।
(२) मसँग हुँदै नभएको गहना कल्पना गरी मोल पनि मनपरी राखेको र बिना प्रमाण मसँग भएको ठहर्याई फैसला गरेको ।
(३) १७००६।३।६ तोलाको चाँदी भाँडा र ३८४००। तोला सिल चाँदी समेत जम्मा ५५४०६।३।६ तोला चाँदी मसँग छ भन्ने कुराको प्रमाण विमलाले केही दिन सकेकी छैनन् ।
(४) लिम्यूडेशनमा गई सकेका कम्पनीहरुको शेयरमा वादीको दावी छ । कम्पनीहरु लिक्वीडेशनमा गई सकेका छन ।
(५) घर जग्गाको फाँट दिँदा पनि कित्ता नम्बर केही खुलेका छैनन् । चार किल्ला हाली अरु अरु मानिसको र उनको नालिश परेको मिति पछि २०३०।६।९ गते स्वर्गे भएको मुमा कृष्णकुमारीको जग्गा समेत पारी र जग्गाको क्षेत्रफल बढाई नभएको जग्गा देखाई लेखेकी छन् । उपरोक्त बुँदाहरु तर्फ विचार गर्दा निम्नानुसारको स्थिति देखिन आउँछ ।
१९.
(१) विमला राणासँग रहेका गहनाको मोल कसले खुलाउने भन्ने सम्बन्धमा ऐनमा कस्तो व्यवस्था रहेछ भन्ने तर्फ हेर्दा मुलुकी ऐन अंशबण्डाको महलको २३ नं. मा बण्डा गर्नु पर्ने सम्पत्तिको मोल फाँटवारी दिनेबाट खुलाई दिने उल्लेख भएको देखिन्छ, प्रस्तुत मुद्दामा प्र.फिल्डमार्सल निर शम्शेरबाट तायदाती लिने भन्ने भएको आदेशानुसार निजबाट तायदाती दाखिल हुन नसक्दा अंशबण्डाको २२ नं.अनुसार वादी विमला राणाबाट तायदाती दाखिल हुन आएको छ । उक्त तायदातीमा उल्लेख भएका विमला राणासँग रहेका गहनाहरुको मोल बढी परेको भन्ने उजूर परेमा उक्त २३ नं.बमोजिम हुने तर, निज प्र.निर शम्शेर ज.ब.रा.ले ०३१।१२।३१ मा दिएको तायदाती सम्बन्धी उजूरीमा मोलको विषयमा केही उल्लेख भएको पाइँदैन । अतः उक्त वियषमा निवेदक फिल्डमार्सल निर शम्शेर ज.ब.रा. ले अब आपत्ति गर्न पाउने अवस्था छ भन्न मिलेन ।
(२) मसँग हुँदै नभएको गहना कल्पना गरी मोल पनि मनपरी राखेको र बिना प्रमाण मसँग भएको ठहर्याई फैसला गरेको भन्ने निवेदकले आपत्ति जनाएको हकमा विचार गर्दा वास्तवमा वादी विमला राणाले ०३१।८।२ मा दिएको तायदातीमा देखाइएको सुन जवाहिरातको अस्तित्व प्रमाणित हुनु पर्यो । ०३१।१२।३१ मा प्र.फिल्डर्मासल निर शम्शेर ज.व.रा.ले दिएको तायदाती सम्बन्धी उजूरीमा मसँग कुनै पनि जुवाहिरात छैन भन्ने र ०३२।५।३।३ मा डिभिजनबेञ्चबाट भएको आदेशानुसार ०३२।५।२६ मा गरेको कागजमा सुन, चाँदी, जवाहिरात मसँग छैन भन्ने यस्ता विवाद उपस्थित भएको स्थितिमा यो जवाहिरात आदी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.सँग छ भन्ने कुराको प्रमाण पुर्याउने अभिभारा सो जिकिर लिने व्यक्ति अर्थात वादी विमला राणा माथि नै हुन्छ । मिसिल हेर्दा त्यस्तो केही प्रमाण गुज्रन सकेको देखिन आउँदैन । अतः निवेदक प्र.फिल्डमार्सल निर शम्शेर ज.ब.रा.सँग रहे भएको प्रमाणित हुन नसकेका सुन जवाहिरात चाँदी समेतमा पनि अंशबण्डा लाग्छ भन्न कानूनसंगत हुँदैन । तायदातीमा उल्लेख भएका फिल्डमार्सल निर शम्शेरसँग रहेका भनेका फर्निचरहरुका सम्बन्धमा पनि यही स्थिति देखिन आउँछ ।
(३) लिक्वीडेशनमा गई सकेका कम्पनीहरुको शेयरमा वादीले दावी गरे भन्ने निवेदकको उजूरीको हकमा मिसिल हेर्दा ०३१।१२।३१ मा प्र.फिल्डमार्सल निर शम्शेर ज.ब.रा.ले दिएको तायदाती सम्बन्धी उजूरीमा धेरै कम्पनी लिक्वीडेशनमा गई सकेका भन्ने उल्लेख भएको रहेछ । यस विषयमा २०३२।५।३।३ मा डिभिजनबेञ्चबाट कुन कुन कम्पनी लिक्यूडेसनमा गए र लिक्यूडेसनमा गएका भए कुन साल मितिमा गएको हो, सो को सबूत के छ भन्ने समेत आदेश भएकोमा निवेदकले २०३२।५।२६।५ मा निम्न बमोजिम खुलाएको देखिन्छ ।
२०. मोरङ्ग आयल मिल्स, दी हिमाल माईनर्स सिन्डिकेट, नेपाल प्लाईउड एण्ड बबिन, मोरङ्ग कटन मिल्स, वीरगञ्ज कटन मिल्स, पश्चिम नेपाल सलाई कम्पनी लिक्वीडेशनमा गइसकेका छन...उद्योग विभाग बुझी पाउँ । म.क्षे.अ.बाट ०३४।१।१२।१ मा भएको फैसला सर्वोच्च अदालतबाट जाँची दिने व्यहोराको ०३५।९।४।३ मा बक्स भएको हु.प्र.बाट कारवाई हुँदा ”कुन कुन उद्योग मिल्स कारखानाहरु कुन कुन मितिदेखि लिक्वीडेशनमा गएको र त्यसको शेयर र डिबेञ्चर लिने व्यक्तिहरुका सम्बन्धमा कहिले के व्यवस्था भएको छ, उद्योग विभाग समेत जहाँ जो बुझ्नु पर्छ बुझी जवाफ झिकाउने भन्ने ०३६।५।१७।१ मा आदेश भएको र सो अनुसार बुझ्दा नेपाल प्लाइउड एण्ड बविन हालसम्म सञ्चालन भई रहेको, पश्चिम नेपाल सलाई कम्पनीको इजाजत खारेज गरी लिक्वीडेशनमा पठाउने तर्फ कारवाई भई रहेको छ । दी हिमाल माइनर्स सिन्डिकेट लि.मिति २०१० सालमा लिक्वीडेशनमा गएको र तत्सम्बन्धी काम हाल सम्म जारी नै रहेको छ, शेयर तथा डिबेञ्चर आदीको भुक्तानी भई नसकेको मोरङ्ग कटन मिल्स लि.मिति २०२०।४।२५ मा लिक्यूडेसनमा गएको र सम्बन्धित लिक्यूडेसनले शेयर तथा डिबेञ्चरको भुक्तानीको काम जारी राखेको, वीरगञ्ज कटन मिल्स लि.मिति २००६।७।४ मा लिक्वीडेशनमा गएको लिक्यूडेसन सम्बन्धी कारवाई जारी नै रहेको छ, शेयर डिबेञ्चर आदीको भुक्तानी भई नसकेको भन्ने समेत मिति ०३६।५।२८ को र श्री फिल्डमार्सल निरशम्शेर ज.ब.रा.को नाउँमा मोरङ्ग आयल मिल्स लि.कम्पनीमा भा.रु.१०। दरको शेयर नं.१५३५० देखि १५७४९ सम्म कित्ता ४०० को भा.रु.४०००।–को शेयर रहेकोमा कम्पनीको जायजेथा विक्री भई उठेको रकम मध्येबाट शेयरहोल्डरहरुले पाउने २९ प्र.श.ले भा.रु.११६०।–निज श्री फिल्डमार्सल निर शम्शेर ज.ब.रा.लाई मिति २९।४।२०।१ मा भुक्तानी भई सकेको कम्पनीको श्रेस्ताबाट देखिएको व्यहोरा लिक्यूडेटरबाट जवाफ प्राप्त हुन आएको भन्ने समेत व्यहोराको मिति ०३७।२।२ को उद्योग विभागका पत्रहरु प्राप्त भएको मिसिलबाट देखिन्छ । उपरोक्त विवरणबाट प्र.फिल्डमार्सल निर शम्शेर ज.ब.रा.ले तायदाती विषयमा दिएको उजूरीमा उल्लेख भएका मिल कम्पनीहरु मध्ये रघुपति जुट मिल र विराटनगर जूट मिल बाहेक अरु सबै लिक्वीडेशनमा गई सकेको र सो लिक्वीडेशनमा गई सकेको मध्ये मोरङ्ग आयल मिल्स लि.बाट भा.रु.११६०।–निज फिल्डमार्सलले पाएको देखिन्छ । तसर्थ रघुपति जूट मिल र विराटनगर जूट मिल्सको शेयरमा र लिक्यूडेसनमा गएको मोरङ आयल मिल्स लि.बाट आएको भा.रु.११६० मा वादी विमला राणाले ४ भागको १ भाग अंश पाउनु पर्ने र अरु लिक्यूडेसनमा गई सकेका मिल कम्पनीहरुको हकमा शेयर डिबेञ्चरको रकम पाएको बखत विमला राणाले त्यसमा पनि ऐन बमोजिम ४ भागको १ भाग पाउनु पर्ने देखिन आउँछ ।
(४) तायदातीमा उल्लेख भएको घर जग्गाहरुको सम्बन्धमा हेर्दा निवेदक प्र.फिल्डमार्सल निर शम्शेर ज.ब.रा.ले ०३१।१२।३१ मा दिएको उजूरीमा घर जग्गाको फाँटवारी दिएको अंशबण्डाको २३ नं.को रीत नपुगेको सिम जग्गाको दक्षिण तर्फको किल्ला पनि नमिलेको र रोपनीको अंक पनि मनपरी बढी चढाएको भन्ने उल्लेख छ । मिसिल साथ रहेको वादी बिमला राणाले दाखिल गरेको घर जग्गाको तायदाती विवरणमा १९५५।५।२६ गतेका खड्गनिसानाबाट भएका बण्डापत्र बमोजिम विपक्षी प्रतिवादीको भागमा परेको पूर्व सडक पश्चिम रैकर जग्गा उत्तर बाटो दक्षिण बाग्मती इन्द्रायणी स्थान जाने बाटो यति ४ किल्ला भित्रको ल.पु.जि.झम्सीखेलको जग्गा रोपनी १३४।।।.३ मध्ये रोपनी ८०९ मा घर क्याम्प, बंगला, गोठ, ग्यारेज, गारथ, घर, तवेला, धन्सार समेत वनको प्रचलित मोल अं.ने.रु.एकलाख रुपैयाको कित्ता १ उपरोक्त ४ किल्ला भित्रको बाँकी जग्गा रोपनी ५४।।।.३ का ऐ.एकलाख रुपैयाँको कित्ता १ समेत उल्लेख भएको रहेछ ।
२१. जहाँतक सिम जग्गाको दक्षिणतर्फको किल्ला नमिलेको भन्ने निवेदक प्रतिवादीको भनाई छ, किल्ला नमिलेको भए सोही किल्ला के हो सो कुरा निवेदक प्रतिवादीले आफ्नो उजूरीमा खुलाउन सक्नु पर्ने थियो । सो खुलाउन नसकेकोले प्रतिवादीको यो उजूरी युक्तिसंगत देखिन आउँदैन । त्यस्तै रोपनीको अंक बढी चढाएको भए प्रतिवादीले आफ्नो उजूरीमा सही अंक खुलाई दिन केही बाधा थिएन, सो गर्न नसकेकोले रोपनीको अंक सम्बन्धी आपत्ति पनि मनासिव देखिँदैन। तर जग्गा सम्बन्धमा मध्यमाञ्चल क्षेत्रीय अदालत तथा उक्त अदालतको फैसला सदर गर्ने गरी यस अदालतको डिभिजनबेञ्च २०३८।१०।१२।२ को फैसलामा एक स्पष्ट त्रुटि भएको देखिन आउँछ । यो त्रुटि हो प्रतिवादी फिल्डमार्सल निर शम्शेर ज.ब.रा.को मुमा कृष्णकुमारीको नाममा रहेको जग्गाको सम्बन्धमा वादी विमला राणाले यस मुद्दाको फिराद २०२५।९।५ मा दर्ता गरेको र त्यसको अघिल्लो दिन अर्थात मिति २०२५।९।४ सम्मको बण्डा गर्नु पर्ने सम्पत्तिको तायदाती माग्ने आदेशानुसार तायदाती दाखिला भएको छ । यसबाट २०२५।९।४ का दिन सम्म वादी प्रतिवादीका जिम्मा रहेको सम्पत्तिमा अंश लाग्ने भन्ने निष्कर्षमा अदालत पुगेको देखिन्छ र यस निष्कर्ष सम्बन्धमा कुनै विवाद उपस्थित भएको पनि छैन । उक्त मितिमा मुमा कृष्णकुमारीको सम्पत्ति निजकै हुनाले सो सम्पत्ति अंश मुद्दाबाट वादी प्रतिवादीका बीच बण्डा लाग्न सक्ने देखिँदैन ।
२२. मुमा कृष्णकुमारी मिति २०३०।६।९ मा परलोक हुनु भएको कुरा मिसिलबाट देखिन्छ, अतः निजको नाममा रहेको जग्गा वादी प्रतिवादी जिम्मा २०२५।९।४ सम्म रहेको सम्पत्ति भित्रका भन्न नमिल्ने स्पष्टै छ । तसर्थ उक्त मुमा कृष्णकुमारीको नाममा रहेको निजको हकको जग्गामा यस अंश मुद्दाबाट वादी विमला राणाले भाग पाउन सक्ने देखिँदैन । कुष्णकुमारीको सम्पत्तिमा वादीको पनि हक लाग्ने भए ऐन बमोजिम वादीले आफ्नो हक कायम गराउन कानूनले कुनै बाधा दिएको देखिँदैन ।
२३. साथै २०२२।१०।३ मा वादी विमला राणाले फि.मा.निर शम्शेर ज.ब.रा.लाई गरी दिएको भरपाईमा उल्लेख भएका गहनाहरु मेरो दाइजो हो भनी यस अदालतमा गरेको बयानमा उल्लेख भएको देखिएको र त्यस सम्बन्धमा फि.मा.निर शम्शेर ज.ब.रा.को केही उजूरी नहुँदा २०२२।१०।३ को भरपाई बमोजिम गहना जवाहिरातहरु निज विमला राणाको दाइजो नै देखिने हुँदा त्यसमा पनि ४ भाग लाग्ने भनी स.अ.डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको देखिएन ।
२४. परिणाम स्वरुप माथिका प्रकरणहरुमा उल्लेख भएको बुँदा प्रमाणहरुको आधारमा वादी विमला राणाले निम्न बमोजिम अंश पाउने ठर्हछ ।
१. वादी बिमला राणाले दिएको तायदातीमा उल्लेख भएका घर जग्गाहरु मध्ये कृष्णकुमारीको नाममा रहेको १०।७।२ जग्गा बाहेक गरी बाँकीमा ४ भागको १ भाग ।
२. तायदातीमा उल्लिखित मिल कम्पनीहरु मध्ये माथि उल्लेख भए अनुसार लिक्यूडेसनमा गई सकेका मोरङ्ग आयल मिल्स लि.कम्पनीबाट फि.मा.निर शम्शेरले पाएको भा.रु.११६०।–मा ४ भागको १ भाग अर्थात भा.रु.२९०।–र लिक्यूडेसनमा नगएका रघुपति जुट मिलको ५०० र विराटनगर जुट मिलको २७५ शेयरहरुमा ४ भागको १ भाग र अरु लिक्वीडेशनमा गई कारवाई भई रहेका भनेको र हिमाल माइनर्स सिण्डिकेट मोरङ्ग कटन मिल्स लि.र वीरगञ्ज कटन मिल्स लि.का मिल कम्पनीहरुबाट आउने रकममा ४ भागको १ भाग ।
३. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।१०।१२।२ को इन्साफ केही उल्टी हुने ठर्हछ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
४. प्र.फि.मा.निर शम्शेर ज.ब.रा बाट कोर्ट फि रु.१७१२१।४५। दाखिल भएको देखिँदा केही गर्नु परेन ।
हामीहरुको सहमती छ ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०३९ साल मार्ग ११ गते रोज ६ शुभम् ।