शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१६६ - दर्ता बदर समेत

भाग: ४५ साल: २०६० महिना: बैशाख अंक:

निर्णय नं.७१६६      ने.का.प २०६० अङ्क १.२

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री बलिरामकुमार

संवत् २०५५ सालको दे.पु.नं. .....४७५७

फैसला मितिः २०६०।१।२५।५

 

मुद्दा :दर्ता बदर समेत ।

 

पुनरावेदक प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.४ बस्ने इश्वरी भोमी

विरुद्ध

विपक्षी वादी : ऐ.ऐ. वडा नं. ३ गछे लामागाल बस्ने गणेशलाल खडगी  

 

§  सानुकाजी खड्गीले निज को आमा पूर्ण कुमारीको नाम को २ नं ब्रम्हायणी साविक न् नं २५८ को रसिद भिडाई जग्गा दर्ता गरै सकेको अवस्था म पुन: सोही रसिद देखाई आफ्नो बाबुको नाम पूर्ण कुमार भएको भनी झुठ्ठा व्यहोरा लेखाई दुषित तरिकाबाट बिपक्षी वादिको हक भोग मा रहेको विवादित कि नं ५ को जग्गा आफ्नो नाम मा दर्ता गरएको प्रत्यक्षत: देखिन आएको छ । त्यस्तो दुषित दर्तालाई मान्यता दिन कानुनत: स्वत: नमिल्ने र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको आधारमा समेटा दुषित दर्ता बदर गराउन हक भोग चलन समेत भएका व्यक्तिका विरुद्ध हद म्याद बाधक नहुने देखिएकोले वादी दावी बमोजिम जग्गा प्रतिवादी नाममा भएको  दर्ता बदर हुने ठहर्‍याएको  सुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत फैसलामा त्रुटी नदेखिने ।

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुमार कार्की

विपक्षी वादी तर्फबाट :  विद्वान अधिवक्ताद्वय श्री सुधानाथ पन्त र श्री नरेन्द्र गौतम

अवलम्वित नजिर : 

फैसला

न्या.वलिराम कुमारः पुनरावेदन अदालत, पाटनबाट मिति २०५३।३।७ मा भएको फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छ :

२.    भक्तपुर नगरपालिका वडा नं. १(ङ) कि.नं. ५ को क्षेत्रफल ०० जग्गा मेरो बाबा पूर्ण कुमारका नाममा नाप नक्सा भएको मिति २०२०।१।३१ र २०२०।२।१ मा विभिन्न व्यक्ति हरुबाट राजीनामा गरी लिएको जग्गा मोही लक्ष्मी कुमारी र जग्गाधनीमा मेरा पिता कायम भई नापी भएकोमा दर्ता नामसारीको लागि मालपोत कार्यालयमा जांदा कि.नं. ५ को जग्गा राजीनामा भएको देखिएको भन्ने उल्लेख भएबाट बुझी हेर्दा उक्त जग्गा विपक्षको पति पिता सानुकाजीले निजको नाउंमा २०३२।१२।१ मा दर्ता गर्ने गरी भू.प्र.का.भ.पु.ले निर्णय गरेको कुरा २०४८।८।४।१४ मा नक्कल सारी लिदा थाहा भयो  । सो जग्गा २०३३।६।५ मा नाति गोरालाई पास गरेको देखियो । मेरो पिताले राजीनामा पास गरी लिएको जग्गा आफ्नो बाबुको नाम समेत पुन कुमार भनि लेखाई झुठृा दर्ता गर्ने गरी भूमि प्रशासन कार्यालयबाट भएको निर्णय र सो आधारमा भएको दर्ता समेत बदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    अड्डामा रहेको श्रेस्ता खिचोला हुने होइन दर्ता भएको जग्गा सानुकाजिको आमाको नामको भएकोले हाल साविक गर्न सिफारिश दिएको र मैले कुनै कसूर गरेको नहुंदा झुठृा फिराद दावीबाट अलग फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिवादी इश्वरी भोमीको प्रतिउत्तर पत्र ।

४.    प्रतिवादी अष्टमाया समेत जना ३ ले २०४८।५।२१ मा र प्रतिवादी राम ताल्चा भडेलले २०४८।६।७ मा र प्रतिवादी चन्द्रप्रसादले २०४८।६।४ मा तामेल भएको म्यादमा हाजिर नभई म्यादै गुजारी बसेको । 

५.    मालपोत कार्यालय भक्तपुरको ०३२।१२।१ को निर्णय र सो निर्णयको आधारमा भएको दर्ता समेत बदर हुने र वादीका नाउंमा दर्ता हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको २०४९।११।२२ गतेको फैसला ।

६.    नाप नक्सामा भए गरेको नापी सर्भेबाट भइरहेको ४ किल्लालाई पन्छाई एकतर्फि रुपमा गरी गरिएको आदेश अनुसारको नक्सालाई आधार लिई बुझ्नु पर्ने प्रमाण समेत नबुझि गरिएको शुरु फैसला बदर गरी प्रतिवादी जिकिर बमोजिम गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र।

७.    शुरुको फैसला बिचारणीय हुंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५३।१।१७ को आदेश ।

८.    वादीको बाबु पुन कुमार मरेपछि विवादित जग्गा प्रतिवादीले आफ्नो नाउंमा झुठृा व्यहोराबाट दर्ता गराएको स्पष्ट देखिएकोले वादी दावी बमोजिम दर्ता बदर हुने ठहर्याएको भक्तपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५३।३।७ को फैसला ।

९.    हदम्याद जस्तो महत्वपूर्ण विषयमा बिचारै नगरी गरिएको भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ मुलुकी ऐन जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को त्रुटि भएको हुंदा मुद्दा दोहोर्याई पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र ।

१०.    विवादको जग्गा मिति २०३२।१२।१ मा सानुकाजीका नाममा दर्ता भएको भन्ने फिराद लेखबाट देखिन्छ । मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. मा संशोधन हुनु पूर्वको व्यवस्थाबाट दर्ता बदरको नालेस दिनु पर्दा २ वर्षभित्र दिनुपर्नेमा प्रस्तुत मुद्दामा निर्णय दर्ताको कुरा २०४८।८।४ मा नक्कल सारी लिई थाहा पाएको भनि हाल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थालाई समाती नालेश गर्नका साथै सोही आधारमा निर्णय समेत हुंदै आएको पाइयो । जग्गा मिच्नेको १८ नं. मा संशोधन हुनु पूर्व जे जस्तो व्यवस्था थियो । सोही व्यवस्था अनुसार हदम्याद समाई नालेश गर्नुपर्नेमा सो भन्दा पछिको संशोधित हदम्यादलाई समाई दायर भएको नालेश लाग्न सक्ने नदेखिएकोले पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा जग्गा मिच्नेको १८ नं. को हदम्याद सम्बन्धी कुराको त्रुटि भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।५।३१ को आदेश ।

११.    नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री कुमार कार्कीले विवादित जग्गा २०३२।१२।१ मा नै सानुकाजी खड्गी नाममा दर्ता भएको र निजले २०३३।६।५ मा नाति गोरालाई राजीनामा पारित गरि दिएको भन्ने देखिन्छ । सो सम्बन्धमा दर्ता बदरमा नालेस गर्नु पर्दा तत्काल प्रचलित मुलुकी ऐन, जग्गा मिच्नेको महलको १८ नं. बमोजिम २ वर्ष भित्र फिराद दायर गर्नु पर्ने हुन्छ । साविकमा भए गरेको काम कारवाहीका सम्बन्धमा नयां कानूनी व्यवस्थाको आधारमा २०४८ सालमा दायर भएको फिराद हदम्यादको आधारमा खारेज गर्नु पर्नेमा इन्साफ गरेको शुरु तथ्य पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा सो फैसला बदर हुनु पर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु  भयो । विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्त तथा श्री नरेन्द्र गौतमले पुनरावेदक लिखत गरिदिने व्यक्ति होइनन् । निज वडा सदस्य मात्र भएकाले विवादको विषयसंग निजको कुनै सरोकार छैन । वादी गणेशलाल खड्गीका बाबु पूर्ण कुमार खड्गीले २०२० सालमा खरिद गरेको जग्गालाई सानुकाजी खड्गीले अर्कै जग्गाको रसिद भिडाई आफ्नो बाबुको नाम समेत ढांटी दूषित दर्ता गराएको हो । दूषित दर्ता गारएको विषयमा जहिलेसुकै पनि नालेस लाग्न सक्छ । विवादित जग्गा सर्भेनापीमा समेत वादीका बाबुको नाममा नापी भएको र २०२० सालको राजीनामा समेतमा प्रमाणहरुको आधारमा वादीको भन्ने देखिइरहेकोले वादी दावी बमोजिम प्रतिवादीको नामको दर्ता बदर गरी वादीको नाममा दर्ता गारएको शुरु तथा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनु पर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

१२.   विद्वान अधिवक्ताहरुको उल्लेखित वहस जिकिर समेत सुनी निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५३।३।७ को फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।

१३.   यसमा बाबु पूर्ण कुमार खड्गीले २०२०।१।३१ र २०२०।२।१ मा राजीनामा गराई लिएको हाल नापीमा भक्तपुर जिल्ला भक्तपुर नगरापलिका वडा नं. १(ङ) कि.नं. ५ को क्षेत्रफल ०० जग्गा दर्ता नामसारीको लागि निवेदन गरेकोमा कार्वाहीको सिलसिलामा उक्त जग्गा सानुकाजी खड्गीले आफ्नो बाबुको नाम समेत ढांटी अर्कै जग्गाको रसिद पेश गरी २०३२ सालमा दर्ता गराई निजले २०३३।६।५ मा  सो जग्गा नाती गोरालाई बिक्री गरेको २०४८।४।१४ मा नक्कल सारी थाहा पाएकोले झुठ्ठा व्यहोराबाट गराएको दर्ता निर्णय समेत बदर गरी पाउन प्रस्तुत फिराद परेको देखिन्छ । सानुकाजी खड्गीको मृत्यु भइसकेकोले निजका हक खाने अष्टमाया खड्गी समेतका हकवालाहरुले शुरु म्यादै गुजारी बसेको र विवादित जग्गा सानुकाजी खड्गीको आमाको नामको भएकोले जग्गा दर्ताको लागि सिफारिश गरेको र सानुकाजीको मृत्यु भइसकेकोले निजको हक खाने स्वास्नी छोराहरुलाई प्रतिवादी बनाई दिएको फिराद खारेज हुनुपर्छ भनि यी पुनरावेदक प्रतिवादीले प्रतिउत्तर जिकिर लिएको पाइन्छ । शुरु भक्तपुर जिल्ला अदालतबाट विवादित जग्गा वादीको बाबुले प्राप्त गरेको राजीनामा भित्रकै जग्गा देखिएकोले प्रतिवादीको नाममा नामसारी गर्ने गरी भएको निर्णय तथा दर्ता समेत बदर गरी वादीको नाममा दर्ता हुने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनबाट समेत सदर भए उपर परेको निवेदनमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

१४.   पुनरावेदन पत्रमा तथा पुनरावेदक तर्फका विद्वान अधिवक्ताले आफ्नो वहस जिकिरमा मूल रुपमा प्रस्तुत मुद्दामा विवादित जग्गा २०३२ सालमा नै सानुकाजी खड्गीको नाममा दर्ता भइसकेको विषयमा २०४८ सालमा मात्र थाहा पाएको भनि पर्न आएको फिराद हदम्यादको आधारमा खारेज हुनुपर्ने जिकिर लिएको पाइन्छ । सो सम्बन्धमा बिचार गर्दा भक्तपुर नगरपालिका वडा नं. १(ङ) को विवादित कि.नं. ५ को जग्गा वादी गणेशलाल खड्गीका बाबु पूर्णकुमार खड्गीले मिति २०२०।१।३१ र २०२०।२।१ मा खरिद गरी लिएको राजीनामामा उल्लेखित चार किल्ला भित्रको जग्गा भन्ने देखिन्छ । सानुकाजी खड्गीले नाती गोरालाई २०३३।६।५ मा राजीनामा गरिदिएको लिखतको चार किल्ला भिडाउंदा उक्त जग्गा भक्तपुर नगरपालिका वडा नं. १(ग) कि.नं. ४ को चारकिल्लासंग मिल्न आएको समेत देखिन्छ । पुनरावेदक वादी नाती गोरा विपक्षी प्रतिवादी अष्टमाया शाही समेत भएको निर्णय दर्ता बदर समेत मुद्दामा प्रस्तुत मुद्दाका प्रतिवादी अष्टमाया सोही समेतका पति पिता सानुकाजी खड्गीले भक्तपुर नगरपालिका वडा नं. १(ग) कि.नं. ४ क को ०१ जग्गाकै चार किल्ला उल्लेख गरी मिति २०३३।६।५ मा राजीनामाबाट हक छाडी दिएको जग्गाको वडा नम्बर  कित्ता नम्बर र क्षेत्रफल फरक परेको भनि सच्याउन २०५४ सालमा दिएको निवेदनमा निजको राजीनामाको लिखतमा उल्लेख गरिएको कि.नं. ५ को ०० जग्गा गणेशलाल खड्गीको नाउंमा दाखिल खारेज भएकोले संशोधन गर्न नमिल्ने गरी भएको निर्णय बदर गराई पाउन दावी लिएकोमा मिति २०३३।६।५ को राजीनामाको लिखतमा भक्तपुर नगरपालिका वडा नं. १(ङ) कि.नं. ५ को ०० को जग्गा राजीनामा पारित गरी लिएको र निजको नाममा दर्ता श्रेस्ता समेत कायम भइसकेपछि सो लिखतमा उल्लेख गरे भन्दा भिन्दै वडाको बढी क्षेत्रफल भएको जग्गामा हक सिर्जना हुन नसक्ने भनि फिराद खारेज हुने ठहरी पुनरावेदन अदालत पाटनबाट मिति २०५८।९।२६ मा फैसला भइ रहेको समेत देखिन आउंछ । उक्त फैसला समेतबाट सानुकाजी खड्गीले २०३२ सालमा दर्ता गराई २०३३ सालमा नाती गोरालाई बिक्री गरेको राजीनामा लिखतमा उल्लेखित जग्गाको चार किल्लासंग  भक्तपुर नगरपालिका वडा नं. १(ग) को कि.४ को जग्गाको चार किल्ला भिडेको भई विपक्षी वादी गणेश लाल खड्गीले दावी गरेको कि.नं. ५ को जग्गासंग भिड्न आएको देखिंदैन । सानुकाजी खड्गीले विवादित जग्गा आफ्नी आमा पूर्ण कुमारीको नामको २ नं. ब्रम्हायणी साविक न.नं. २५८ को रसिद भिडाई दर्ता गारएको भन्ने मिसिल संलग्न फिल्ड बुक उतारको कैफियत महलमा उल्लेख गरिएको पाइन्छ । निज सानुकाजीले सोही रसिद भिडाई वादी गणेशलाल खड्गीको बाबु पूर्ण कुमारको नाममा नापी भएको विवादित जग्गा दर्ता गराउन आफ्नो बाबुको नाम समेत ढांटी आफ्नो बाबुको नाम बाबु खड्गी भएकोमा आफू पूर्ण कुमारको छोरा भनि निवेदन दिएको प्रमाण मिसिल संलग्न निजको निवेदन व्यहोराबाट देखिन्छ । अर्कै जग्गाको रसिद पेश गरी आफ्नो व्यहोरा समेत ढांटी एकाको हक भोगको  जग्गा कसैले आफ्नो नामा दर्ता गराउंछ भने त्यस्तो दूषित दर्ता बदर गराउन हदम्याद वाधक हुन सक्दैन । प्रस्तुत मुद्दामा सानुकाजी खड्गीले निजको आमा पूर्ण कुमारीको नामको २ नं. ब्रम्हायणी साविक न.नं. २५८ को रसिद भिडाई जग्गा दर्ता गराई सकेको अवस्थामा पुनः सोही रसिद देखाई आफ्नो बाबुको नाम पूर्ण कुमार भएको भनि झुठ्ठा व्यहोरा लेखाई दूषित तरिकाबाट विपक्षी वादीको हक भोगमा रहेको  विवादित कि.नं. ५ को जग्गा आफ्नो नाममा दर्ता गराएको प्रत्यक्षतः देखिन आएको छ । त्यस्तो दूषित दर्तालाई मान्यता दिन कानूनतः स्वतः नमिल्ने र यस अदालतबाट प्रतिपादित नजीर सिद्धान्तको आधारमा समेत दूषित दर्ता बदर गराउन हक भोग चलन समेत भएका व्यक्तिका विरुद्ध हदम्याद बाधक नहुने देखिएकोले वादी दावी बमोजिम विवादित जग्गा प्रतिवादीको नाममा भएको दर्ता बदर हुने ठहर्‍याएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५३।३।७ को फैसलामा त्रुटि रहेको नदेखिंदा उक्त फैसला सदर हुने ठहर्छ पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनु । 

 

उपर्युक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारनाथ उपाध्याय

 

 

इति संवत् २०६० साल वैशाख २५ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु