शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१६९ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: बैशाख अंक:

निर्णय नं.७१६९      ने.का.प २०६० अङ्क १.२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री वलिराम कुमार

संवत् २०५९ सालको फौ.सा.नं. .....४१७

फैसला मितिः २०५९।१२।१४।६

 

मुद्दाः कर्तव्य ज्यान  ।

 

वादिः राजेश भटृराईको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः गोरखा जिल्ला वोर्लाङ्ग गा.वि.स.वडा नं. ९ घर भै हाल कारागार शाखा गोरखामा वन्दी रहेकी सम्झना लामिछाने ढकाल  

 

§  सामाजिक लोकलज्जाबाट बच्ने अभिप्रायले प्रतिवादिले आफु गर्भवती भएको कुरा माईती तर्फ आमालाई पनि नबताएको,अरु कसैलाई पनि थाहा नहुने गरी बच्चा जन्माएको , जिवित बच्चालाई मारेको र मारी सकेपछी म्रितक लाशलाई कपडाले पोको पारी घर देखी तल वारीमा लागि लाशलाई लुकाउने समेतको कार्य गर्दा अरुले थाहा नपाउने गरी गरेको भन्ने समेटा तथ्यगत अवसाथा प्रतिवादिको वयान व्यहोराबाट देखिदा आरोपित कसुर निजले गरेको कुरा शंकारहित किसिमले पुष्टी हुन आउने ।

§  प्रतिवादीको उमेर , वारदात्को प्रक्रिती र सामाजिक लोकलज्जाबाट वच्न गरेको भन्ने कारणबाट सजाय तोक्दा चर्को हुने भनी अ वं १८८ नं बमोजिम ५ (पाँच )वर्ष कैदको सजाय गर्न उपयुक्त हुने भन्ने राय सम्बन्धमा विचार गर्दा,प्रतिवादी सम्झना लामिछाने ढकाल निज को उमेर ,घतनको प्रिष्ठभुमी र सामाजिक परिवेश समेतको   आधारमा सो ५ (पाँच ) वर्ष कैद सजाय पनि चर्को हुने देखिदा निज हालसम्म थुनामा रहेको अवधी १।७।११ (एक वर्ष सात महिना एघार दिन ) कैदको सजाय गर्द पनि न्यायको मक् सद पुरा हुने हुँदा सो अनुसार कैद्को सजाय हुने गरी साधक सदर हुने ।

 

वादी तर्फबाटः

प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः 

फैसला

न्या.वलिराम कुमारः न्याय प्रशासन ऐन, २०४८ को दफा १० वमोजिम पुनरावेदन अदालत, पोखराको मिति २०५९।५।४।३ को फैसला उपर साधक जाँचको लागि पेश हुन आएको       प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

२.    मिति २०५८।४।३१ गते प्रतिवादी सम्झना लामिछाने ढकालले मनोज मुखियाको अवैध गर्भधारण गरी मास पुगेको जातक शिशु जन्माएको स्थानमा गै हेर्दा मृतक शिशुको दायाँ कन्चटमा शंकास्पद घाउ देखिंदा आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको प्र.ह. राजेश भटृराईको जाहेरी प्रतिवेदन ।

३.    खडगवहादुर ढकालको घरको भुई कनामा रहेको नवजात शिशुको लासमा औसा किरा पर्न शुरु भएको अनुहार सडी कालो भएको र दायाँ कन्चट माथि २ इन्च लामो काटेको घाउ देखिएको, घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।

४.    मिति ०५७।८।२१ गते भिनाजु मनोज मुखियासंग करणी भै मेरो गर्भ रहन गै २०५८।४।३० गते वच्चा जन्माउने व्यथा लागी ऐ. ३१ गते मेरो गर्भवाट वच्चा भुईमा खस्यो । त्यस वखत पीडाले गर्दा केहि थाहा पाइन, पछि हेर्दा मृतक अवस्थामा जातक शिशुलाई देखेको हुँ, मारे मराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

५.    मिति २०५८।४।३१ गते छोरी सम्झनाले जिउँदो अवस्थामा वा मृतक अवस्थामा वच्चा जन्माएको थियो भन्ने कुरा नदेखेको हुँदा केहि भन्न सक्दिन भन्ने समेत प्रतिवादीका वावु खर्कवहादुर ढकालले प्रहरीमा गरेको कागज ।

६.    मिति २०५८।४।३१ गते प्रतिवादी सम्झना लामिछानेसंग सोधपुछ गर्दा निजको भिनाजु मनोज मुखियाको अवैध गर्भ धारण गरेको भन्ने थाहा भयो, वारदात के कसरी हुन गयो नदेखेको हुँदा किटान गरी भन्न सक्दैनौं भन्ने समेत व्यहोराको रीता के.सी. समेतका व्यक्तिहरुले गरि दिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

७.    मृतक जातक शिशुको लाश जाँच भै प्रतिवेदन मिसिल संलग्न रहेको ।

८.    अनुसन्धानवाट वुझिएका आधार प्रमाणहरुवाट प्रतिवादीले ज्यान सम्बन्धिको १ नं. विपरीत ऐ. १३(३) नं. वमोजिम कसूर अपराध गरेको देखिंदा सोहि महलको १३(३) नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

९.    मैले जिउदो वच्चा जन्माइ मारेको होइन, वच्चा जन्माउँदाको अवस्था म उठेको र वच्चा भुईमा ठोकिएको हो, त्यस वखत म वेहोस भई एकछिन पछि हेर्दा वच्चा मरेको अवस्थामा देखेको हुँ, सो वच्चा भिनाजु मनोज मुखियासंगको सहवासवाट गर्भधारण गरेको थिएं भन्ने समेत व्यहोराको प्रतिवादीले अदालतमा गरेको वयान ।

१०.    आदेशानुसार वुझिएका प्रतिवादीका साक्षी तथा वस्तुस्थिति मुचुल्काका मानिस समेतले र जाहेरवाला राजेश भटृराई समेतले गरेको वकपत्र मिसिल सामेल रहेको ।

११.    प्रतिवादीले अभियोग माग दावी वमोजिम ज्यान सम्बन्धिको १ र  १३(३) नं. अनुसार कसूर गरेको ठहर्छ । निजलाई ज्यान सम्बन्धीको १३(३) ले सर्वश्वसहित जन्मकैद हुन्छ । प्रतिवादिले अवैध गर्भ लुकाइ सामाजिक लोक लज्जावाट वच्न उक्त कार्य गरी जातकलाई मारेको देखिएको, निजको उमेर १८, १९ वर्षको देखिंदा घातक हतियार प्रयोग गरेको नदेखिएकोले निजलाई ५     (पाँच)  वर्ष कैदको सजाय नै उपयुक्त ठहरिएको हुँदा अ.वं. १८८ नं. वमोजिम राय लेखि साधक सदरको लागि पु.वे.अ. पोखरामा पठाउने ठहर्छ भन्ने समेत व्यहोराको २०५८।१०।२२ को गोरखा जिल्ला अदालतको जाहेरी फैसला ।

१२.   सो फैसला अनुसार साधक सदरको लागि पुनरावेदन अदालत, पोखरामा मिसिल प्राप्त भै साधकको लगतमा दर्ता भएको  ।

१३.   प्रतिवादी सम्झना लामिछाने ढकालले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको ठहर्याई सोहि महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहर्याएको शुरु गोरखा जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । लोकलज्जावाट वच्न तथा समाजको वेइज्जति नहोस भन्ने चाहनाले आफूले जन्माएको जातकलाई मारेको भन्ने देखिएको तथा अपराध गर्दाको अवस्थामा १८ वर्षको कलिलो उमेर भएकी निजलाई सो सजाय गर्दा चर्को पर्ने देखिएकोले ५ (पाँच) वर्ष कैद गर्न साधक जाहेर गरेको शुरु गोरखा जिल्ला अदालतको राय समेत मनासिव देखिएकोले साधक जाँचको लागि मिसिल श्री सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको २०५९।५।४।३ को पुनरावेदन अदालत, पोखराको फैसला ।

१४.   पुनरावेदन अदालत, पोखराको उक्त फैसला अनुसार सो अदालतको प.सं. ०५९।६० फौ.साधक ४।७ च.नं. १२४९, ७५ मिति २०५९।८।१२ को पत्रानुसार यस अदालतमा साधक जाँचको लागि मिसिल प्राप्त भै फौ.सा.नं. ४१७ मा दर्ता भई पेश हुन आएको रहेछ ।

१५.   नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(३) नं. को कसूरमा सोही महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याई अ.वं. १८८ नं. वमोजिम सो सजाय चर्को हुने भनी ५ वर्ष कैदको सजाय गर्ने राय व्यक्त गरेको गोरखा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिले नमिलेको के रहेछ ? साधकको रोहवाट हेरी निर्णय दिनु परेको छ।

१६.    प्रतिवादी सम्झना लामिछाने ढकालले मनोज मुखियाको अवैध गर्भधारण गरी मिति २०५८।४।३१ मा शिशु जन्माएको र मृतक शिशुको दायाँ कन्चटमा शंकास्पद घाउ देखिंदा आवश्यक कारवाही गरी पाउँ भनी प्र.ज. राजेश भटृराईको प्रतिवेदनको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान कारवाही शुरु भएको पाइन्छ । घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का हेर्दा मृत वच्चाको कन्चट माथी २ू लामो काटेको, टाउको फुटेको जस्तो भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादीले आफ्नो भिनाजु मनोज मुखियाको गर्भ धारण गरेको भन्ने तथ्य निर्विवाद रुपमा स्थापित भएको पाइन्छ । वच्चा जन्मने वखतमा पालीको खामो समाइ उभिई रहेको अवस्थामा भुईमा झर्यो हेर्दा छोरा जातक शिशुको लास देखेकी, जन्मदा ढुंगामा खसी मृत्यु भएको होला भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको पाइन्छ । वच्चा जन्मेपछि सो वच्चालाई कपडामा पोको पारी घर देखि तल बारीमा लगी राखेको भन्ने व्यहोरा पनि प्रतिवादीले उल्लेख गरेको देखिन्छ । मिसिल संलग्न कागज प्रमाणहरुको विश्लेषणवाट प्रतिवादीले आफ्नो भिनाजुको अवैध गर्भधारण गरेको पाइएको, मृतक वालक जिउँदै जन्मिएको, सो जन्मेको ठाउँमा ढुंगा रहे भएको नपाइएकोले प्रतिवादीले वयानमा उल्लेख गरे झै जन्मदा ढुंगामा ठोकिएको भन्ने तथ्यको पुष्ट्याई हुन नसकेको, वच्चाको कन्चटमा घाउ देखिएको, टाउको फुटेको जस्तो भन्ने उल्लेख भएको, जस्ता तथ्यगत प्रमाणहरुवाट जातक वच्चाको मृत्यु कर्तव्यवाट भएको स्थापित हुन आएको पाइन्छ । सामाजिक लोकलज्जावाट वच्ने अभिप्रायले प्रतिवादीले आफु गर्भवती भएको कुरा माइती तर्फ आमालाई पनि नवताएको, अरु कसैलाई पनि थाहा नहुने गरी वच्चा जन्माएको, जीवित वच्चालाई मारेको र मारि सकेपछि मृतक लासलाई कपडाले पोको पारी घर देखि तल वारीमा लगी लाशलाई लुकाउने समेतको कार्य गर्दा अरुले थाहा नपाउने गरी गरेको भन्ने समेत तथ्यगत अवस्था प्रतिवादीको वयान व्यहोरावाट देखिंदा आरोपित कसूर निजले गरेको कुरा शंकारहित किसिमले पुष्टी हुन आएको पाइन्छ । यस स्थितिमा प्रतिवादी सम्झना लामिछाने ढकाललाई ज्यान सम्बन्धी महलको १ र १३(३) नं. को कसूरमा १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको गोरखा जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिलेकै देखिंदा सदर हुन्छ । अव प्रतिवादीको उमेर, वारदातको प्रकृति र सामाजिक लोकलज्जावाट वच्न गरेको भन्ने कारणवाट सो सजाय तोक्दा चर्को हुने भनी अ.वं. १८८ नं. वमोजिम ५  (पाँच) वर्ष कैदको सजाय गर्न उपयुक्त हुने भन्ने राय सम्बन्धमा बिचार गर्दा, प्रतिवादी सम्झना लामिछाने ढकाललाई निजको उमेर, घटनाको पृष्ठभूमि र सामाजिक परिवेश समेतको आधारमा सो ५ (पाँच) वर्ष कैदको सजाय पनि चर्को हुने देखिंदा निज हालसम्म थुनामा रहेको अवधि १।७।११ (एक वर्ष सात महिना एघार दिन) कैदको सजाय गर्दा पनि न्यायको मक्सद पूरा हुने हुँदा सो अनुसार कैदको सजाय हुने गरी साधक सदर हुने ठहर्छ । प्रतिवादीलाई अविलम्व थुनावाट मुक्त गरी दिनु भनि कारागार शाखा गोरखामा लेखि पठाई सकिएको हुँदा त्यस सम्बन्धमा केहि उल्लेख गरी रहनु परेन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।                                   

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्नबहादुर श्रेष्ठ

 

इति संवत् २०५९ साल चैत्र १४ गते  रोज ६ शुभम ..............................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु