निर्णय नं. ७१७२ - अंश

निर्णय नं.७१७२ ने.का.प २०६० अङ्क १.२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत २०५४ सालको दे.पु.नं. ..४२४४
फैसला मितिः २०६०।१।८।२
मुद्दा :– अंश
पुनरावेदक
प्रतिवादीः जिल्ला कपिलवस्तु गा.वि.स.सिहोखोर वडा नं १ वस्ने निजामुद्दीन मिया समेत
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. वस्ने सफी महमद मियां ।
§ प्रतिवादिले रितपुर्वक वण्डा गरेको नभई घरसारमा वाडँफाडँ गरी लिएको र पछी उखडामा कमाएको जग्गा आ -आफ्नो नाँउ दर्ता गरी निजि आर्जनको भएको भन्ने प्रतिउत्तर जिकिरका हकमा रित पुर्वक वण्डा पत्र पारीत नभएको एकाबाबु को दुई भाई छोराहरु विच अंशवण्डा भैसकेको छ भन्ने सकिने स्थीति नदेखिने
§ वादी प्रतिवादी दुवै नाँउमा भुमी सम्बन्धी अनुसुची फाराम १ नं तथा ७ नं फारम हरु अलग अलग भरी छुट्टै बस्दै आएको भन्ने सम्वन्धमा जग्गाको विवरण भरी एकै परिवारका २ व्यक्त्तिले अलग अलग पेश गर्दैमा अंशवण्डा भैसकेको भन्न सकिने स्थिती नहुने ।
§ कानुन बमोजिम वरावर हक हिस्सा अंश कायम हुने दाजु भाई विचमा देखिएको असमान जग्गादर्ताको अवस्था देखिदा वादी प्रतिवादी बीच अंश वण्डा भएको र वादीले अंश हक छुट्टी सकेको भन्न सकिने अवस्था नहुने ।
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार छ :–
२. वावु कल्लु मियाका छोरा साहमोहमद गुल्ले मिया र म सफी महमद समेत जना ३ भएको गुल्लेको स्वास्नी प्रतिवादी दुलारी मियाइनी भएको निजको छोरा प्रतिवादी निजामुद्दिन तथा कमरेश शाह समेत २ जना भएको, शाहमहमदको स्वास्नी छोरा छोरी समेत कोही नभएको वावु आमा दाजु शाह महमद र गुल्ले समेत परलोक हुनु भएको म र प्रतिवादीहरु समेत संगोलमा वसी आएकोमा आपसमा चित्त नवुझेकोले २०४८।१।१५ गतेका दिन मेरो अंश भाग छुटयाई दिनुहोस भनी प्रतिवादीहरु संग भन्दा तिमीलाई केही पनि दिदैनौ भनी वण्डा छुटयाई नदिनु भएकोले फिराद परेको अधिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी आधा अंश भाग छुटयाई पाउँ भन्ने समेत फिराद पत्र ।
३. दावी अनुसार वादीले अंश पाउने कुनै अवस्था छैन । वादीको फिराद जिकिर झुठ्ठा हो । यो वादीले ०१६ साल वैशाख १ गते आफ्नो अंश लिई अलग भएका हुन । वावु गुल्ले मियाले छुट्टै जिमिदार काँहा हारवाही गरेका र वादीले छुट्टै जिमिदारकोमा कारवाही गरी उखडा विवरण फाराम भरी हरवाही चलाई दर्ता समेत गराई भोग चलन गरी आएका छौ । ७ नं. फाँटवारी पनि छुट्टाछुट्टै भरी पेश भएको र सवै व्यवहार छुट्टाछुट्टै भएकोले वादीको झुठ्ठा दावीवाट फुर्सद दिलाई पाउँ भन्ने समेत प्रतिउत्तर पत्र ।
४. शुरु कपिलवस्तु जिल्ला अदालतको आदेशानुसार वादी प्रतिवादीका साक्षी वुझिएको र प्रमाण मिसिल समेत साथै पेश भएको रहेछ ।
५. वादीले पुनः अंश पाउँ भन्ने दावी पुग्ने नदेखिंदा प्रतिवादीवाट अंश पाउं भन्ने वादी दावी नपुग्ने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५१।५।७ को फैसला ।
६. वादीले प्रतिवादीवाट अंश पाउने नठहराई मलाई हराई भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी हाम्रो शुरु फिराद मागदावी वमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । ७. यसमा अंशवण्डाको रीतपूर्वकको लिखतको अभाव र व्यवहार प्रमाणवाट समेत छुट्टि भिन्न भएको नदेखिएको अवस्थामा वादी दावी नपुग्ने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला फरक पर्ने देखिएकोले छलफलका लागि अं.वं.२०२ नं वमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार। पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश ।
८. अंशमा वादी दावी नपुग्ने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५१।५।७।२ को फैसला मिलेको नदेखिंदा सो फैसला उल्टी भै ऋणको हकमा साहुको उजुर परेका वखत ठहरे वमोजिम हुने हुँदा वादी प्रतिवादीहरुवाट दाखिल भएको दायदाती फाँटवारीमा उल्लेख भएको चल अचल सम्पत्ति मध्येवाट वादी दावी वमोजिम २ भागको १ भाग अंश हक वादीले छुटयाई लिन पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५३।५।३० को फैसला ।
९. उक्त फैसलामा चित्त वुझेन । वण्डा गर्नुपर्ने सम्पति नै अंशियारहरु वीच नभएको संगोलको पैतृक सम्पति नभएपछि लिखत पेश गर्नुपर्ने अवस्था नपर्ने, वावु वाजेको पालामा कुनै सम्पति न भै मजदुरी गरी खाने गरेकोमा ३३ वर्ष अगाडि नै भाँडाकुँडा जो भएको वण्डा गरी छुट्टै वसेको, उखडामा कमाएको जग्गाको फारम भरेको अनुसूची १ नं फारममा आ–आफ्नो परिवारको मात्र छुट्टाछुट्टै भरेको आ–आफूले उखडावाट प्राप्त गरेको निजी आर्जनको जग्गालाई वण्डा गर्ने गरेको कानूनी आधार विनाको त्रुटिपूर्ण फैसला वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फ वाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१०. यसमा दुवै थरको तायदाती फाँटवारी र वादी प्रतिवादी व्यहोरावाट पुर्खौली सम्पति भएको भन्ने नदेखिएको , दुवै थरले उखडा जग्गा अलग –अलग कमाई आएको र नापीमा ७ नं. फारम भरे अनुसार जग्गा दर्ता गराई अलग – अलग घरवास गरी आएको आधारमा अंशवण्डाको ३० नं. अनुसार प्रमाणवाट वण्डा भै सकेको ठह¥याई भएको शुरु जिल्ला अदालतको फैसलालाई सदर नगरी उल्टी गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेको नदेखिंदा अं.व.२०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।७।२७ को आदेश ।
११. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर सहितको मिशिल अध्ययन गरी हेर्दा शुरु इन्साफ उल्टी गरी दावी वमोजिमको अंशहक वादीले पाउने ठहराएको फैसला मिलेको छ, छैन ? सो सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१२. निर्णयतर्फ विचार गर्दा कल्लु मियाँका ३ छोरामा शाह महमद, गुल्ले मिया र वादी सफी महमद भएकोमा शाह महमद निसन्तान स्वर्गे भै सकेको र प्रतिवादी दुलारी प्रतिवादी निजामुद्दिन, प्रतिवादी कमरेश स्वर्गिय गुल्ले मियाका पत्नी छोराहरु भएकोमा वादी प्रतिवादी वीच विवाद देखिदैन । २०१६।१।१ मा मानु छुट्टिएको र खती उपती आ–आफ्नै गरी वसेको भन्ने प्रतिवादी जिकिर भएकोमा रीतपूर्वक पारित भएको लिखत पेश दाखेल गर्न सकेको पाइदैन । प्रतिवादीले रीतपूर्वक वण्डा गरेको नभई घरसारमा वाडँफाँड गरी लिएको र पछि उखडामा कमाएको जग्गा आ–आफ्नो नाउँमा दर्ता गरी निजी आर्जनको भएको भन्ने प्रतिउत्तर जिकिरका हकमा रीतपूर्वक वण्डा पत्र पारित नभएको एकावावुको दुई भाई छोराहरु वीच अंशवण्डा भैसकेको छ भन्न सकिने स्थिति देखिएन । वादी प्रतिवादी दुवैका नाउँमा भूमि सम्वन्धी अनुसूची फराम १ नं तथा ७ नं फारमहरु अलग–अलग भरी छुट्टै वस्दै आएको भन्ने सम्वन्धमा जग्गाको विवरण भरी एकै परिवारका २ व्यक्तिले अलग–अलग पेश गर्दैमा अंशवण्डा भैसकेको भन्न सकिने स्थिति पनि भएन । वावु कल्लुका ३ भाई छोरामा जेठा भाई निसन्तान मृत्यु भएपछि वाँकी रहेका २ भाई वादी र प्रतिवादी गुल्ले मियाँका परिवार वीच मुद्दामा पेश भएको तायदाती फाँटवारी हेर्दा प्रतिवादी गुल्ले मियाका नाउँमा ज.वि. २–०–१२ र वादी सफी महमदको नाउँमा ज.वि. ०–५–१० मात्र जग्गा देखिई दुई अंशियार वीच असमान रुपमा जग्गा दर्ता कायम रहेको देखियौ । यस स्थितिमा कानून वमोजिम वरावर हक हिस्साको अंश कायम हुने दाजु भाई वीचमा देखिएको असमान जग्गादर्ताको अवस्था देखिंदा वादी प्रतिवादी वीच अंशवण्डा भएको र वादीले अंश हक लिई छुट्टि सकेको भन्न सकिने अवस्था भएन ।
१३. अतः शुरु जिल्ला अदालतको फैसला उल्टी गरी ऋणको हकमा साहुको उजुरी परेका वखत ठहरे वमोजिम हुने हुँदा वादी प्रतिवादीवाट पेश भएको तायदाती फाँटवारीमा उल्लेखित चल अचल सम्पत्तिवाट दावी वमोजिम २ भागको १ भाग वादीले अंश छुटयाई लिन पाउने ठह¥याएको पुनरावेदन अदालत वुटवलको मिति २०५३।५।३० को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सत्तैmन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.खिलराज रेग्मी
इति सम्वत २०६० साल वैशाख ८ गते रोज २ शुभम ...................