निर्णय नं. ७१७५ - लागु औषध (टिडिजेसिक वुप्रिनर)

निर्णय नं.७१७५ ने.का.प २०६० अङ्क १.२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत २०५ सालको फौ.पु.नं. २००९
फैसला मितिः २०५९।१२।२४।२
मुद्दाः लागु औषध (टिडिजेसिक वुप्रिनर)
पुनरावेदक
प्रतिवादीः जिल्ला धनुषा घोडघास गा.वि.स.वा.नं. ६ मा वस्ने विमल कुमार झा.
विरुद्ध
प्रत्यर्थी
वादीः प्र.ना.नि अमलवहादुर श्रेष्ठ समेतको प्रतिवेदनले श्री ५ को सरकार
§ लागु औषध वरामद भएको वरामदी मुचुल्कामा प्रतिवादी रोहवर्मा बसेको र उक्त मुचुल्कामा गरेको सही हस्ताक्षर आफ्नो होइन भन्न नसकेको अवस्थामा रोहवर मा बसेको कुरालाई अन्यथा भन्न नमिल्ने ।
§ प्रतिवादिबाट २१० ओटा टिडिजेसिक व्रुपिनोरफिन इन्जेक्सन वरामद भएको हुँदा त्यत्रो मात्रामा वरामदी समान अरु कारणबाट लिई हिंडेको हो भनी भन्न सक्ने अवस्था मिसिलबाट नदेखिनुका साथै निज बाट बरामद भएको लागु औषध टिडिजेसिकलाई National Forensic Science Laboratory बाट परिक्षण गरी मिती २०५२।५।२८ मा प्राप्त प्रतिवेदनमा त्यस्तो इन्जेक्सन परीक्षण गर्ने प्रविधी नभएको भन्ने उल्लेख गरे पनि विषेशज्ञको रायमा AS mentioned in the label Sample Contains narcotic drug Buprenorphine उल्लेख भएको तथा बरामदी लागु औषध को सेम्पल लेवलमा लेखिएको कुरालाई अन्यथा प्रमाणित हुन नसकेको अवस्तामा उक्त पदार्थ लागु औषध टि डि जेसिक होइन भनी अनुमान गर्न नमिल्ने ।
§ मिती २०५१।२।२ को नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार पनि उक्त २ Ml को ampoule मा बरामद भएको टि डि जेसिक नाम Buprenophine injection लागु औषधकै परिभाषा भित्र परेको देखाई निज ले आफुसँग साथमा रहेको लागु औषध ,लागु औषध ऐन ,2033 को दफा १२ बमोजिम ऐन र ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेश बमोजिम प्राप्त गरेओ वा राखेको हो भनी प्रमाण पेश गर्न समेत नसकेको देखिदा निज लाई लागु औषध ओसारपोसार गरेको ठहर गरी आइ शुरू धनुषा जिल्ला अदालत कैद वर्ष २ गरेको मनासिव ठहर गरी जरिवाना सम्म नगरेको इन्साफ केही उल्टी गरी प्रतिवादीलाई लागु औषध नियन्त्रण ऐन , २०३३ को दफा १४ (१) (झ )बमोजिम रु १,००,०००। एक लाख जरिवाना सेमत हुने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५४।५।१८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. २०५२।५।१८ गते राती अं. २०.२० वजेको समयमा नगराइन गा.वि.स.वडा नं. ३ स्थित रामप्रसाद पासवानको पसलमा शैलेन्द्र ठाकुर र विमल झाले वोकी ल्याएको सुपर डिलक्स भन्ने लेखिएको प्याकेट भित्र लागू औषध टेडिजेसिक फेला परेको र शैलेन्द्र ठाकुर भागी गएको र विमल झा पक्राउ परेको भन्ने वरामदी मुचुल्का ।
३. वरामद लागु औषध टेडिजेसिक मेरो होइन । भारत वेनिपट्टी वस्ने मेरो सालो चन्द्रकान्त मिश्रले घर सम्म लगी राखि दिनु भनि दिएको हो । २०५२।५।१८ गते सो सामान वोकी घरतर्फ आउन लाग्दा नगराईन चोक होटलमा रक्सी मासु खादै गर्दा साथी शैलेन्द्र ठाकुर र अर्को नचिनेको व्यक्ति भेटभयो । सो सामान मैले शैलेन्द्रलाई वोक्न दिए अर्को पसलेले पैसा वांकी छ भनि शैलेन्द्रसंग झगडा गरी पोका खोस्न लागे मैले यो त मेरो सामान हो भनि खोसी लिई घर जान लाग्दा प्रहरी आई सामान समेत पक्राउ गरेका हुन भन्ने विमल कुमार झाले प्रहरीमा गरेको वयान कागज ।
४. २०५२।५।१८ गते राती अं. २०.२० वजे शैलेन्द्र ठाकुर विमल झा र अर्को नचिनेको व्यक्ति भै रक्सी देउ भनि मागे मैले शैलेन्द्रलाई पैलाको वांकी पैसा देउ भनि निजको साथमा भएको पोको खोसें, विमल झाले यो सामान मेरो हो भनि पोको लिए हाम्रो झगडा भएको अवस्था प्रहरी आई विमल झावाट पोको खोसी हेर्दा टेडिजेसिक इन्जेक्सन भै पक्राउ गरेपछि शैलेन्द्र ठाकुर समेत भागी गएका हुन भन्ने रामप्रसाद पासवानको प्रहरीमा भएको कागज ।
५. २०५२।५।१८ गते टेडिजेसिक इन्जेक्सन प्रक्राउ भएको थाहा पाएनौ । विमल झा र शैलेन्द्र ठाकुरले लागु औषध ओसार पसार गरेको थाहा छैन तेश्रो व्यक्तिको हो थाहा छैन भन्ने वस्तुस्थिति मुचुल्का ।
६. संकलित कागज प्रमाणवाट विमलकुमार झा शैलेन्द्र ठाकुर, चन्द्रकान्त मिश्र समेत लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (ङ) र (च) को कसूर अपराध गरेको हुंदा सोही ऐनको दफा १४ (झ) अनुसार हदै सम्म सजायं गरी पाउं भन्ने अभियोग पत्र ।
७. मवाट लागू औषध टेडिजेसिक वरामद भएको होइन र यस्तो काम पनि गर्दिन २०५२।५।१९ गते काठमाडौ जान लाग्दा दिनमा मलाई पक्राउ गरी लगेका हुन १८ गते राती पक्राउ गरेको होइन सो रात म मेरै घरमा छु । म निर्देाष हुंदा सजाय हुनु पर्ने होइन भन्ने विमल कुमार झाले अदालतमा गरेको वयान ।
८. विमलझावाट लागू औषध वरामद भएको भन्ने झुठा हो । रात्रीवसमा टिकट वुकिङ गर्ने व्यक्ति हुंदा पैसाको विषयमा कुरा नमिली पक्राउ गरेका हुन भन्ने प्र. का साक्षी सोनफी झा समेतको वकपत्र ।
९. विमलझावाट लागू औषध वरामद भएको मुचुल्कामा निजको सहिछाप भएको र सो सहिछाप होइन भनि इन्कार रहेको नदेखिएकोले निजलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को खण्ड (च) को कसूरमा ऐ दफा १४ को खण्ड (झ) अनुसार २ वर्ष कैद हुने ठहर्छ । उक्त कसूर गरे वापत निजले कुनै आय आर्जन गरेको भन्ने अभियोग दावीको अमाद हुंदा जरिवाना गरी रहनु परेन । अर्को प्रतिवादी शैलेन्द्र ठाकुर र चन्द्रकान्त मिश्रको हकमा मुल्तवी हुने ठहर्छ भन्ने धनुषा जिल्ला अदालतको मिति २०५३।६।२४ को आदेश ।
१०. प्रतिवादीलाई कसूर ठहर गरि सकेपछि ऐनमा भएको व्यवस्थानुसार कैद तथा जरिवाना दुवै गर्नुपर्नेमा न्यूनतम कैद मात्र गरी जरिवानाको सजाय नगरिएको शुरु फैसला त्रुटिपूर्ण हुंदा सो हद सम्म वदर गरी कानून बमोजिम सजाय समेत गरी पाउं भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।
११. आफूले अपराध नगरेको कुरा अदालतमा वयानमा उल्लेख गरेकोमा मेरो इच्छाविपरीत गराइएको प्रहरीको वयानलाई आधार लिई २ वर्ष कैद गर्ने गरेको शुरु जि.अ.को फैसला नमिलेकोले वदर गरी न्याय पाउं भन्ने प्रतिवादी विमल कुमार झाको पुनरावेदनपत्र ।
१२. यसमा प्र. विमल कुमार झालाई कसूरदार ठहराएको शुरुको फैसला वेमनासिव भन्न मिलेन । निजलाई न्यूनतम हदको रु १,००,०००। एक लाख जरिवानाको सजायँ समेत हुने देखिन आएकोले धनुषा जिल्ला अदालतको मिति २०५३।६।१५ को फैसला उक्त हद सम्म मिलेको नदेखिंदा केही उल्टी भै प्र. विमल कुमार झालाई रु १,००,०००। )एकलाख) जरिवाना समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५४।५।१८ को फैसला ।
१३. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । लागु औषध शैलेन्द्रले वोकी ल्याएको भनि भट्टीवाला रामप्रसादले कागज गरी दिएको, अवस्था छ, वरामदी मुचुल्कामा वस्ने व्यक्तिले अदालतमा उपस्थित भई साक्षी सरह वकपत्र गरेको खण्डमा मात्रै उक्त वरामदी मुचुल्कालाई प्रमाणमा लिनु पर्नेमा प्रमाण ऐनको दफा १८ र २२ विपरीत प्रमाणमा लिइएको छ । यसरी गलत मुल्याड्ढन गरी प्रहरीमा भएको सावितिको आधारमा कसूरदार ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा उल्टी गरी अभियोग दावीवाट सफाइ पाउं भन्ने प्र. विमल कुमार झाको पुनरावेदन पत्र ।
१४. प्रतिवादीवाट वरामद भएको भनिएको टिडिजेसिक वुप्रीनोराफिन (BUPRE NORPHINE) इन्जेक्सन लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड (७) को प्रयोजनका लागी तोकिएको बस्तुमा समावेश भएको नदेखिएको र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा समेत त्यस्तो इन्जेक्सन परीक्षण गर्ने विश्वासनीय प्रविधि (Method) नभएको भन्ने समेत उल्लेख भएको अवस्थामा प्रतिवादीलाई लागू औषध संचय गरेको भनि कसूरदार ठहर्याई गरेको पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम म.न्या.का.लाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५९।१।६ को आदेश ।
१५. नियम बमोजिम दैनिक मुद्धा पेशी सूचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्धान अधिवक्ता श्री वावुराम पौडेलले प्रतिवादीवाट वरामद भएको भनेको टि.डी.जेसीक लागू पदार्थ हो होइन भन्ने जाँच गर्ने नसकीने भनी प्रतिवेदनमा उल्लेख हुँदा वरामदी पदार्थलाई औषध नै रहेको भनि प्रतिवादीलाई सजाय गरेको मिलेको छैन । वरामदी मुचुल्का रीतपूर्वकको छैन साथै मुचुल्कालाई प्रमाणमा लिन वरामदी मुचुल्काका व्यक्तिले साक्षी सरह अदालतमा आई वकपत्र गर्नुपर्नेमा सो गराउन सकेको छैन । अन्यथा प्रमाणित नहुंदासम्म अभियुक्तलाई निर्दोष मान्नु पर्ने हुदा कसूरदार ठहर गरी सजाँय गरेको फैसलाहरु वदर गरी सफाइ पाउनु पर्छ भनि तथा विपक्षी वादी श्री ५ को सरकारको तर्फवाट विद्धान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले वरामद भएको टि.डी. जेसिकको लेवलनै वु्रप्रीनोराफिन रहेको भनि उल्लेख भएवाट वरामद टि.डी. जेसीक लागू औषध नै रहेको पुष्टी भएको छ । सो प्रतिवादीवाट वरामद भएकोलाई प्रतिवादीले अन्यथा भन्न सकेको नहुँदा प्रतिवादीलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।
१६. विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस जिकिर सुनी पुनरावेदनपत्र सहित मिसिल समेत अध्ययन गरी शुरु धनुषा जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादीलाई जरिवाना समेत गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ छैन भनि निर्णय दिनु पर्ने देखियो ।
१७. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विमलकुमार झा समेतलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (ङ) र (च) को कसूर अपराधमा ऐ. ऐनको दफा १४ (झ) अनुसार सजायको अभियोग माग दावी भएकोमा प्रतिवादीलाई ऐ. ऐनको दफा ४ को (च) को कसूरमा ऐ. दफा १४ को खण्ड (झ) अनुसार २ वर्ष कैदमात्र गरेको शुरु जिल्ला अदालतको फैसला उपर वादी प्रतिवादीको पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन पर्दा शुरु फैसला केही उल्टी गरी प्रतिवादीलाई रु १,००,०००। जरिवाना समेत हुने गरेको फैसला उपर प्रतिवादीको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
१८. यसमा प्रतिवादी विमलकुमार झा ले अदालतमा आई वयान गर्दा आरोपित कसूरमा इन्कार रही वयान गरेको पाइएपनि अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा वरामद भएको अपराध जन्य लागू औषध र टिडिजेसिक इन्जेक्सन अर्कैको भै आफूले ल्याइ दिएको सम्म हो र आफ्नो साथवाटनै वरामद भएको हो भनि कसूरमा सावित रही वयान गरेको देखिन्छ । प्रतिवादीले अदालतमा वयान गर्दा लागू औषध टिडिजेसिक वरामद भएको र वरामदी मुचुल्का भएको सम्वन्धमा थाहा छैन भनी अनभिज्ञता प्रकट गरेको पाइन्छ । अधिकार प्राप्त अधिकारी समक्षको वयान मेरो इच्छा विरुद्ध कुटपिट गरी गराएका हुन भनि भनेता पनि यो यस प्रकारले कुटपिट गरेकोले घा जाँच गराई पाउँ भनी अदालतमा वयान गर्दा भन्न सकेको पाइदैन । लागू औषध वरामद भएको वरामदी मुचुल्कामा निज रोहवरमा वसेको र उक्त मुचुल्कामा गरेको सही हस्ताक्षर आफ्नो होइन भन्न नसकेको अवस्थामा रोहवरमा वसेको कुरालाई अन्यथा भन्न मिल्ने देखिएन । प्रतिवादीवाट २१० ओटा टिडिजेसिक व्रुपिनोरफीन इन्जेक्सन वरामद भएको हुँदा त्यत्रो मात्रामा वरामदी समान अरु कारणवाट लिई हिडेको हो भनी भन्न सकिने अवस्था मिसिलवाट देखिन आउंदैन । निजवाट वरामद भएको लागू औषध टिडिजेसिकलाई National Forensic laboratory वाट परीक्षण गरी मिति २०५२।५।२८ मा प्राप्त प्रतिवेदनमा त्यस्तो इन्जेकसन परीक्षण गर्ने प्रविधि नभएको भन्ने उल्लेख गरे पनि विषेशज्ञको रायमा AS mentioned in the label Sample Contains narcotic drug Buprenorphine उल्लेख भएको तथा वरामदी लागू औषधको सेम्पल लेवलमा लेखिएको कुरालाई अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा उक्त पदार्थ लागू औषध टि.डि. जेसिक होइन भनी अनुमान गर्न मिल्ने अवस्था देखिदैन । मिति २०५१।२।२ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार पनि उक्त २ ml को ampoule मा वरामद भएको टि.डी जेसिक नाम Buprenorphine injection लागू औषधकै परिभाषा भित्र परेको देखिई निजले आफूसंग साथमा रहेको लागू औषध, लागु औषध ऐन, २०३३ को दफा १२ वमोजिमको ऐन र ऐन अन्तर्गत वनेको नियम वा जारी गरेको आदेश वमोजिम प्राप्त गरेको वा राखेको हो भनी प्रमाण पेश गर्न समेत नसकेको देखिंदा निजलाई लागू औषध ओसारपसार गरेको ठहर गरी शुरु धनुषा जिल्ला अदालतले कैद वर्ष २ गरेको मनासिव ठहर गरी जरीवानासम्म नगरेको इन्साफ केही उल्टी गरी प्रतिवादीलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम रु. १,००,०००। एकलाख जरिवाना समेत हुने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति संवत् २०५९ साल चैत्र २४ गते रोज२ शुभम्........................