शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१७८ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: बैशाख अंक:

निर्णय नं.७१७८     ने.का.प २०६० अङ्क १.२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

सम्बत् २०५४ सालको फौ.पु.नं.२६७८

सम्बत् २०५७ साल फौ.सा.नं.३५१

फैसला मितिः २०६०।१।४।५

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ मा घर भै हाल जिल्ला प्रशासन कारागार शाखा महोत्तरीमा थुनामा रहेको राजकुमार मण्डल  

बिरुद्ध

प्रत्यर्थी

वादीः  वीरेन्द्र झाको जाहेरीले श्री ५ को सरकार  

 

वादीः वीरेन्द्र झाको जाहेरीले श्री ५ को सरकार 

बिरुद्ध

प्रतिवादीः जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ मा घर भै हाल जिल्ला प्रशासन कारागार शाखा, महोत्तरीमा थुनामा रहेको राजकुमार मण्डल 

 

§  प्रतिवादीको अधिकार प्राप्त अधिकार समक्ष भएको बयान स्वेच्छाको होइन भने पनि त्यसको पुष्टि गर्न नसकेकोले प्रहरीमा भएको सावितीलाई लास बरामद भएको स्थिति, लास जाँच प्रकृति, लास जाँच विवरण समेतबाट समर्थित भएको स्थिततिमा सा साविती र त्यसबाट स्वभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने देखिने ।

§  सर्जमिनका मासनस समेतले अदालतमा उपस्थित भै बकपत्र गर्दा प्रतिवादी राजकुमारले मारेको हो भनी पोल गरी बकपत्र गरेको समेतका कारण प्रमाणबाट प्रतिवादी राजकुमार मण्डलले अघनु मण्डललाई कर्तव्य गरी मारेको कुरा पुष्टि हुन आएकाले पतिवादी राजकुमार मण्डललाई जन सम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरुको फैसल सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देख्रिंदा सदर हुने ।

 

पुनरावेदक तर्फबाटः

प्रत्यर्थी तर्फबाटः

अवलम्वित नजिरः 

फैसला

न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, जनकपुरको मिति २०५६।३।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको पुनरावेदन र न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक समेत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

२.    जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ स्थित राम सागरको घर घडेरी दक्षिणमा रहेको सुर्जा मण्डल खत्वेको चौकी आंगन भएको सो घरहरु मध्ये पूर्वबाट पश्चिमतर्फ फर्काएको २ कोठा भएको घर रहेको सो कोठाको बिचमा रहेको बाँसको टाटी मूनि अं.२ फिट माटो देखि तल मृतक अघनु मण्डललाई घाँटीमा डोरीको पासोले कसी कर्तव्य गरी मारी खाल्टो खनी गाडी लास फेला परेको भन्ने समेत लास जाँच मुचुल्का । 

३.    मेरो बाबुको आज भन्दा १०/११ वर्ष पहिला नै मृत्यु भैसकेको थियो । मेरो आमा परमेश्वरी र मृतक अघनु मण्डल बीच शारीरिक यौन सम्पर्क हुन थालेको थाहा पाई पटकपटक झगडा समेत भएको र निज आमासँग रामदेव यादव समेतसँग पनि यौन सम्र्पक हुन थालेको भन्ने हल्ला सुनेको तर मलाई थाहा थिएन । मिति २०५४।१।१० गते हामी खत्वे जातीको मडोकारी पूजा गर्नको लागि सबै जना जम्मा भई बसी छलफल गरी गण्डामा बसेको थियौं, त्यतिकै बेला रामदेव यादवले बोलाई तिम्रो आमासँग अघुनीको यौन सम्बन्ध छ । गाउँघरमा बदनाम भै सक्यो तिमीहरु केही गर्दैनौं भनि भनेबाट निजसँग मैले के गर्न सक्छौं भन्दा आज तिमीहरु मेरो साथमा बस तिम्रो आमासँग यौन सम्पर्क गर्न अघुनी मण्डल आउछ । त्यही मौका पारी खतम गर्नु पर्दछ भनी सल्लाह गरे केही छिनपछि अघुनी मण्डल आमाको कोठामा आई अं.१०:१५ मिनेट बसी कोठाबाट बाहिर निस्की आफ्ना घरतर्फ जान लाग्दा म रामदेव यादव समेतले समाती सुर्जा मण्डलको घर भित्र लगी घाँटीमा डोरीले कसी तानी मारी दिई घर भित्र खाल्टो खनी नुन राखी गाडी दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार मण्डलले प्रहरीमा गरेको बयान ।  ४.  आज भन्दा १०/१२ वर्ष पहिला देखि मेरो विवाह सुर्जा मण्डल खत्वेसँग भई जिवन बिताई रहेको छु । मेरो विवाहभन्दा पहिलेदेखि नै मेरो सासु परमेश्वरी विधवा हुनुहुन्थ्यो । सासु र मृतक अघनु मण्डल केही वर्ष देखि अनुचित कार्य यौनसम्पर्क हुने देखेका थियौं । निज अघनु मण्डल सबै जना सुती सकेपछि सासु सँग बस्ने गरेको र रामदेव यादवको समेत यौन सम्पर्क हुँदै आएको थियो । मिति २०५४।१।१० गतेका दिन पनि फगुनी मण्डलसँग बसेको देवर राज कुमार मण्डललाई बोलाई निज अघनु मण्डललाई मार्न योजना रामदेव यादवले गरेको र निजकै अगुवाईमा अघुनी मण्डलको मृत्यु भएको हो भन्ने समेत व्यहोराको पनोदेवी खत्वीनीको बयान ।  ५.      मिति २०५४।१।१० गतेका दिन हामीसँगै बसेको र अघनु मण्डल  खत्वे जातीको देवता पूजा भेडो काटी गर्ने कार्य मिति २०५४।१।११ गते भएकोमा निज अघनु आएकोले कहाँ गए भनि खोजतलास गर्दा रामदेव यादव र परमेश्वर गाउँघर छाडी भागी सकेको र अघनु मण्डलको काटी हत्या त भएका होइन भनि राज कुमार दाजुलाई समाती सोधपुछ गर्दा मिति २०५४।१।१० गते राती २३:३० बजेको समयमा निज अघुनी मण्डलको हत्या गरी विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले घर भित्र खाल्टो खनी नुन राखी गाडेको भन्ने प्रष्ट खुल्न आएको हुँदा निज अघुनी मण्डललाई विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले पूर्व योजना बनाई कर्तव्य गरी मारेको हुन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।    

६.    प्रस्तुत मुद्दा मिति २०५४।१।१० गतेको राती अं.२३:३० बजेको समयमा प्रतिवादीहरुको पूर्व योजना अनुसार अघनु मण्डललाई घांटीमा डोरीको पासो कसी मारी घर भित्र खाल्टो खनी नुन समेत राखी गाडिएको वारदात सिद्ध हुन आयो । अब को कसले कसरी को को भई कुन परिवन्ध पारी घाँटीमा डोरीले कसी कर्तव्य गरी मारी खाल्टो खनी गाडी दिएका रहेछन भन्ने तर्फ संकलित मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा प्रतिवादीको आमा परमेश्वरी देवी १०/१२ वर्ष देखि विधवा भएको र निज अघनु मण्डल र रामदेव यादवसँग अनुचित कार्य यौन सम्पर्क गर्ने गराउने गरेकोमा सो कुरा गाउँलेले थाहा पाई अघनु मण्डल र प्रतिवादीहरुले छलफल समेत गरेको प्रतिवादी मध्ये कै रामदेव यादव र अघनु मण्डल बीच सोही कुरामा मनमुटाव भएको २०५४।१।१० गते राज कुमार मण्डल सुर्जी मण्डल, रामदेव यादव र परमेश्वर देवी समेतले मारी खाल्टो खनी गाडी दिएको भन्ने प्रहरी प्रतिवेदन ।

७.    घरको कोठा भित्र खाल्टो खनी गाडेको मृतक लास फेला परेको भन्ने घटनास्थल तथा लास जाँच मुचुल्का २०५४।१।१० गतेका दिन रामदेव यादवकै पूर्व सल्लाह अनुसार सोही राती आमासँग बसी जान लागेको समयमा डोरीले घाँटीमा कसी मारी खाल्टो खनी गाडेको हो भन्ने प्रतिवादी राज कुमार मण्डलको साविती बयान । २०४४।११।१० गते राती २३:३० बजेको समयमा सुर्जा मण्डल, राज कुमार मण्डल, परमेश्वरी देवी, रामदेव यादव समेत भई घाँटीमा डोरीले कसी मारे भन्ने पानो देवीले गरेको कागज तथा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले नै उघनु मण्डललाई कर्तव्य गरी मारेको हो भन्ने सर्जमिन मुचुल्का समेतको कागज प्रमाणबाट मृतक अघनु मण्डललाई २०५४।१।१० गते राती रामदेव यादव समेत मिली कर्तव्य गरी मारेको र प्रतिवादी मध्येको फगुनी मण्डल भन्ने आफू संलग्न नरहेको तर मारे मराएको कुरामा ज्ञान भएर पनि छिपाउने प्रयास गरेको कुरा पुष्टि हुन आएकोले विरुद्ध खण्डमा भएको प्रतिवादी राज कुमार, सुर्जा मण्डल, रामदेव यादव र परमेश्वरी देवीले मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं.ले विपक्षीले कसूर अपराध गरेकोले निजहरु उपर ऐ.महलको १३(३) बमोजिम सजाय हुन र अर्की प्रतिवादी फगुनी मण्डलले वारदात छिपाउने प्रयास गरेको हुँदा निजलाई ऐ.ऐनको २५ नं.बमोजिम सजाय हुन पक्राउ परेको राज कुमार मण्डल र मिसिल यसै साथ प्रस्तुत गरेको छ भन्ने समेतको अभियोग पत्र । 

८.    मिति २०५४।१।१० गतेका दिन ११ बजे किर्तनमा गएको र पानी आएकोले उतै सुति ऐ.११ गते विहान आफ्नो घर आएको हूँ । मेरो घर र किर्तन भएको ठाउँ १/२ किलो मिटर फरकमा छ। मृतक अघनु मण्डललाई को कसले के गरी मारे मलाई थाहा छैन । म उक्त वारदात समयमा गाउँ घरमा नभै किर्तनमा छु । मैले अघनु मण्डललाई मारेको नहुँदा अभियोग दावी बमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार मण्डल खत्वेले अदालतमा गरेको बयान । 

९.    मिति २०५४।१।१० गतेमा आफ्नो गाउँघरमा नभई मिति २०५४।१।४ गते नै घुमासन गाउँमा बनी गर्न गएको र ऐ.१५ गते मात्र म आफ्नो गाउँघरमा आएको हुँ मर्ने अघनु मण्डललाई के कसरी कसले मारे वा मारेनन् म भन्न सक्दिन सो सम्बन्धमा मलाई केही थाहा जानकारी नभएको र म निर्दोष व्यक्ति हुँदा झुठ्ठा अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी फगुनी मण्डल खत्वेले अदालतमा गरेको बयान ।   

१०.    वादीको साक्षी राम गुलाम पासवान, पुरन मण्डल खत्वे, विजय मण्डल खत्वे, गंगाप्रसाद साह, वलदेव पासमान दुस्नी मण्डल खत्वे तथा प्रतिवादीको साक्षी नघुरी मण्डल समेतले गरेको बकपत्र । 

११.    अघुनीको हत्या गरी खाडल खनी पुरेको कुरा समेत सविस्तार वर्णन गरेको पाइयो । Post Martem Report  हेर्दा तदनुसार घाँटी थिची निस्सासीएर मृत्यु भएको राय उल्लेख भएको पाइन्छ। मौकामा बुझिएका सर्जमिनका मानिस राम गुलाम पासवान, पुरन मण्डल, विजय मण्डल, गंगाप्रसाद साह, दुःखी मण्डल तथा घटनास्थल प्रकृति मुचुल्कामा वलदेव पासवान समेतले अदालतमा बकपत्र गर्दा यो प्रतिवादी राज कुमार उपर पोल गरी बकपत्र गरेको समेत कारण प्रमाणबाट प्रतिवादी राज कुमार मण्डलले अघनु मण्डलको हत्या गरेको कुरा पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद सजाय हुने ठहर्छ । तथापी, वारदातको अबस्था र घटना हेर्दा प्रतिवादीको आमा परमेश्वर देवी तथा मृतक अघनु मण्डल बीचको अवैध यौन सम्बन्ध भएको कारण प्रस्तुत घटना घटेको देखिन्छ । आफ्नो विधवा आमाको चरित्रबाट आफू समेत कलंकित हुन पुग्ने सामाजिक लोक लज्जाबाट बच्न चाहनु र आमाको चरित्र बिगार्नमा सहभूमिका निर्वाह गर्ने मृतक अघुनी उपर आक्रोश पैदा हुनु र सोही कारणवश उत्पन्न मानसिक अबस्थाका कारण तत्काल भएको सरसल्लाह अनुसार अघुनीको हत्या गरेको देखिएकोले ऐन बमोजिम सजाय गर्दा चर्को पर्न जाने स्थिति लागेकोले कैद वर्ष १०।०।० दश मात्र सजाय हुनुपर्ने राय अ.वं.१८८ नं. बमोजिम व्यक्त गरेको छु । साधक जाहेर गरी निकासा भै आए बमोजिम गर्न तथा अब, प्रतिवादी मध्येको फगुनी मण्डलको हकमा विचार गर्दा निज आरोपित कसूर गरेमा इन्कार रही बयान गरेको सह अभियुक्त राजकुमार मण्डलले मौकामा गरेको साविती बयानमा पनि फगुनीलाई पोल नगरेको मौकामा कागज गर्ने पानोदेवीले पनि पोल नगरेको सर्जमिनका केही व्यक्तिले नामसम्म उल्लेख गरेको भरमा ज्यान सम्बन्धीको २५ नं.बमोजिमको कसूरदार ठहर्‍याउन नमिल्ने हुँदा निज फगुनी मण्डलले सफाइ पाउने ठहर्छ भनी मिति २०५५।२।५ गतेमा भएको धनुषा जिल्ला अदालतको फैसला । 

१२.   मिसिल संलग्न प्रमाणबाट प्रतिवादी फगुनी मण्डललाई सफाइ दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादी फगुनी मण्डललाई अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर । 

१३.   यसमा प्रतिवादी राज कुमार मण्डललाई जन्मकैद हुने ठहर्‍याएको उपर निज प्रतिवादीको पुनरावेदन नपरेपछि साधकको लगतमा दर्ता गरी पेश गर्नुपर्नेमा दर्ता गरेको नदेखिएकोले साधकको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने मिति २०५५।१२।७ गतेको आदेश ।

१४.   घाँटी थिची मारी लास छिटै गली सडी जाओस् र दशी फेला नपरोस् भन्ने मनसायले लासमा नुन समेत राखी घर भित्रै खाल्टो खनी मृतकलाई गाडेको देखिंदा प्रतिवादी मध्येका पुनरावेदक राज कुमार मण्डलाई ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम जन्म कैदको सजाय गर्ने गरेको शुरु धनुषा जिल्ला अदालतको मिति २०५५।२।५।३ को फैसला मिलेकै देखिंदा सदर हुन्छ। जिल्ला अदालतबाट १० वर्षसम्म सजाय हुनुपर्ने भनी अ.वं.१८८ नं.बमोजिम व्यक्त भएको रायसम्म मिलेको नदेखिंदा सो रायसम्म बदर गरि दिएको छ भन्ने पुनरावेदन अदालतको फैसला।

१५.   सर्जमिन मुचुल्काका कुनै पनि व्यक्ति देखि जान्ने साक्षी होइनन् । म राजकुमार मण्डलको कर्तव्यबाट अघनुको मृत्यु भएको कसैले पनि देखेका छैनन् । र देखेको हो भनी कसैले भन्न सकेको समेत छैन भन्ने प्रहरीले मलाई आफ्नो हिरासतमा राखी साविती गराएको तथा  लास जाँच मुचुल्का एवं लास जाँच प्रतिवेदन समेतको आधार तथ्य एवं प्रमाण समेतबाट म प्रतिवादी पुनरावेदक राज कुमार मण्डलले नै कर्तव्य गरी अघनुलाई मारेको हो भन्ने पुष्टी हुन नसकेको हुँदा अनुसन्धानको सिलसिलामा वुझिएका मानिसहरुको अड्डामा आई बाझिएको बकपत्र गर्नु तथा बकपत्र गर्न नसकेको साक्षीको व्यहोरालाई प्रमाणमा लिन नमिल्ने भएकोले गैरकानूनी आधार अवलम्ब गरी हराएको त्रुटिपूर्ण फैसलालाई बदर गरी सफाइ प्रदान गरी पाउँ भनी यस अदालतमा परेको पुनरावेदन पत्र । 

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । अब, पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिर बमोजिम गर्नुपर्ने हो, होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने  देखियो । 

१७.   निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रामकुमार मण्डल समेतले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं.विपरीतको कसूर गरेको हुँदा निजहरु उपर ऐन महलको १३(३) बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग माग भै चलेको प्रस्तुत मुद्दामा प्रतिवादी राजकुमार मण्डललाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैदको सजाय हुने ठहर्‍याई शुरुबाट भएको फैसला सदर गर्दै अ.वं.१८८ बमोजिम १० वर्ष सम्म सजायको रायलाई बदर गरे उपर पुनरावेदन परेको देखियो । साथै न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम निज पुनरावेदकका हकमा साधक समेत जाहेर हुन आएको देखिंदा साधकको लगत कट्टा गरी पुनरावेदनकै रोहबाट इन्साफ दिनुरपर्ने देखियो । 

१८.   यसमा मृतक अघनु मण्डल प्रतिवादीको राजकुमार मण्डलको आमा परमेश्वरी बीचको अवैध यौन सम्पर्कको विषयलाई लिएर वारदात भै मृतक अघनुको मृत्यु कर्तव्यबाट हुन गएको देखिन्छ। प्रतिवादी राजकुमार मण्डल अदालत समक्ष अभियोग कसूरमा इन्कार रहे पनि अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कसूरमा सावित रहेको पाइन्छ । वारदातको समयमा प्रतिवादी सुरज मण्डल, रामदेव र राजकुमार मण्डल तीनै जनाले मृतकलाई कसैले टाउको कसैले खुट्टा र कसैले हातमा समाई कोठामा भित्र लगी प्रतिवादी मध्येका राजकुमार मण्डलले मृतकको छातीमा चढी आफ्नो दुवै हातले मृतकको घाँटी थिची रहेको र ५।७ मिनेटसम्म छटपटाउने प्रयास गरी शान्त भए त्यसपछि सल्लाह अनुसार वाहिर लगेर गाड्ने आँट नभएपछि सोही कोठामा खाल्डो खनी लास चाँडै सडी गली जावस् भनी लासमा नुन समेत राखी पुरेको हो भनी बयानमा उल्लेख गरेको पाइन्छ । सो कुराको पुष्टी कोठाको खाल्डोमा लासमा नुन समेत हाली राखेको अबस्थामा लास वरामद भएकोबाट  देखिन्छ । घाँटीमा रुद्र घण्टी माथी डोरी जस्तो चीजले थिचेको कालो डाम भएको, सोही आकारको गोलो डाम गर्दनको पछाडी घुच्चुकको भागमा पनि भएको मृतकको दाहिने छातीको तलको करङ माथी १ इन्च दवावको डाम भएको भन्ने लास जाँच प्रकृति मुचल्कबाट देखिन्छ । लास जाँच प्रतिदनमा (Post Mortem Report) मा The cause of death is asphyxia from throating” अर्थात मृतकको मृत्यु घाँटी थिची निसासि भएको हो भन्ने उल्लेख भएको देखिन्छ । यसबाट प्रतिवादी राजकुमार मण्डलको अधिकार प्राप्त अधिकारी समक्षको बयानसँग उक्त लास जाँच प्रतिवेदनमा उल्लेखित व्यहोरा मेल खाई घटनाका यर्थाततालाई स्थापित गरेको पाइन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान स्वेच्छाको होइन भने पनि त्यसको पुष्टी गर्न सकेका छैनन् । प्रहरीमा भएको सावितीलाई लास बरामद भएको स्थिति, लास जाँच प्रकृति, लास जाँच विवरण समेतबाट समर्थित भएको स्थितिमा सो साविती र त्यसबाट स्वभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने नै देखिन्छ । सर्जमिनका मानिस राम गुलाम पासवान, गंगाप्रसाद शाह, विजय मण्डल, पुरन मण्डल समेतले अदालतमा उपस्थित भै बकपत्र गर्दा प्रतिवादी राजकुमारले मारेको हो भनी पोल गरी बकपत्र गरेको समेतका कारण प्रमाणबाट प्रतिवादी राजकुमार मण्डलले अघनु मण्डललाई कर्तव्य गरी मारेको कुरा पुष्टी हुन आएकाले प्रतिवादी राजकुमार मण्डललाई ज्यान सम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी राजकुमार मण्डलको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।  

 

उक्त रायमा सहमत छु ।  

 

न्या.चन्द्रप्रसाद पराजुली 

 

 

इति सम्बत् २०६० वैशाख ४ गते रोज ५ शुभम्––––––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु