निर्णय नं. ७१९४ - कर्तव्य ज्यान

निर्णय नं.७१९४ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
संवत् २०५७ सालको फौ.पु.नं. – २४०७
सम्वत् २०५७ सालको फौ.सा.नं. .. २९९
फैसला मितिः २०६०।२।९।६
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः पर्वत जिल्ला भोर्ले गा.वि.स.वडा नं.९ घर भई हाल जिल्ला कारागार शाखा पर्वतमा थुनामा रहेको वर्ष २१ को चन्द्रबहादुर मल्ल
विरुद्ध
प्रत्यर्थी
वादीः तीर्थ प्रताप सेनको जाहेरीले श्री ५ को सरकार
वादीः तीर्थ प्रताप सेनको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः पर्वत जिल्ला भोर्ले गा.वि.स.वडा नं.९ घर भई हाल जिल्ला कारागार शाखा पर्वतमा थुनामा रहेको वर्ष २१ को चन्द्रबहादुर मल्ल
§ अ.वं. १८८ नं. को प्रयोग उचित र मनासिव माफिक न्याय सम्पादनको लागि न्यायाधीशको तजबिजको विषय हुनाले आरोपित व्यक्तिद्वारा गरिएको अपराधको संगिनता, अपराध गर्नुपर्ने कारण र अवस्था, अभियुक्तको उमेर, निजको सामाजिक एवं आर्थिक पृष्ठभूमि, निज उपर परिवारको निर्भरता इत्यादि विविध कुराहरु मध्ये सबै वा कुनै त्यस्तो तजविज गर्ने न्यायकर्ताले महत्वपूर्ण राय लगाउन सक्ने ।
§ प्रस्तुत मुद्दामा एकाघरसंग बसेको विवाहिता पत्नी र नावालक ९ महीनाकी छोरीलाई समेत कर्तव्य गरी मारी प्रतिवादी आफू र निजको आमा समेतका परिवार मिली लास दवाउने र आफै खोजी पाउं भनि निवेदन समेत गरी अपराधिक क्रियालाई छली हिड्ने अपराधिक प्रकृतिका प्रतिवादीका हकमा यस किसिमको सुविधा प्रदान गर्नु न्यायोचित नहुने ।
(प्र.नं. ३५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राजेश्वर आचार्य
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः
प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत वाग्लुङको मिति २०५७।२।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र १० अनुसार पुनरावेदन परी र साधक जाहेरी भई आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. मेरो छोरी गायत्री मल्ल र नाम थाहा नभएकी ९ महिनाकी नातिनी घरमा नभएको कुरा ०५५ साल साउन १३ गते थाहा पाई घरमा गै बुझ्दा निज दुवै आमा छोरी श्रावण २ गते नै घरदेखि हिंडेको भन्ने थाहा हुन आएकोले निज दुवैको हुलिया समेत निवेदन गरेको छु, खोजतलास गरी पाउं भन्ने तिर्थ प्रताप सेनले इलाका प्रहरी कार्यालय त्रिवेणीमा दिएको निवेदन ।
३. म निवेदक चन्द्रबहादुर मल्लले तिर्थप्रसाद सेन ठकुरीको छोरी गायत्री मल्ललाई ०५२ साल वैशाख महिनामा विवाह गरी ०५४ साल मंसीरमा निजबाट एक छोरीको जायजन्म समेत भई राम्रो मेलमिलाप गरी बसी आएका थियौं । यस्तैमा यही श्रावण महिनाको २ गतेका दिन श्रीमती गायत्री कुमारी मल्ल बालक छोरी समेतलाई लिई हिडेकी र निज हापमेन समेत भएकी र निजलाई मिसन अस्पतालमा लगी उपचार गरेको थिएं, निज यस भन्दा पनि पहिला भागी माइतमा जाने गर्दैथिइन यस्तैमा निज गायत्रीको बुबा छोरी भेट्न आउनु भयो । माइतमा पनि नभएको थाहा पाई गाउं घरमा खोजतलास गर्दा पनि पत्ता लगाउन नसकिएकोले हुलिया समेत दिई यो निवेदन चढाएको छु खोजतलास गरी पाउं भन्ने व्यहोराको चन्द्रबहादुर मल्लको इलाका प्रहरी कार्यालय भोर्लेमा दिएको निवेदन ।
४. मेरो छोरी गायत्री सेनलाई चन्द्रबहादुर मल्लसंग विवाह गरी दिई निजहरुबाट गत २०५४ साल मंसीर महिनामा शिखा मल्ल नाम गरेकी नातीनी समेतको जन्म भएको थियो । छोरी माइतमा जाने आउने समेत गर्दथिन । छोरीलाई घरमा सासु खै कुमारी मल्ल, नन्द जमुना मल्ल, अमाजु मिना हमाल समेतले सानो तिनो कुरामा निहुं झिकी नभएका कुरा निज छोरीको पति चन्द्रबहादुरलाई लगाउने र निजले आमा समेतको कुरा सुनी बराबर पिट्ने गर्दथे भन्ने कुरा छोरीले माइतमा आएर भन्दा सुनेको थिएं । यस्तैमा ०५५।४।१३ गतेका दिन छोरी घरमा छैनन् भन्ने कुरा थाहा पाएपछि निजको घरमा पुग्दा छोरीको अमाजु मिना हमालसंग भेट भै संचो विसन्चोको कुरा सोद्धा घरमा छैनन् भन्ने कुरा थाहा भएको हुंदा त्यसपछि छोरीको घरमा पुगी सम्दीनीसंग सोद्धा ०५५।४।२ गते सांझ ७ बजे तिर घरबाट निस्केको हुन् भन्ने कुरा सुनी जहां तही खोजतलास गर्दा पनि नभेटी प्रहरीमा समेत जनाउ दिएको थिएं । मिति ०५५।४।२३ गतेका दिन भोर्ले गा.वि.स.वडा नं. ९ स्थित ज्यामी भीर नजिक खाडल खने जस्तो र सो वरपर लासको गन्ध आएको भन्ने गाउं घरमा सुनी ऐ. २२ गते प्रहरी समेत गै ज्यामी भीरमा जादा दुर्गन्ध आएको गाउंमा खाडल खनी हेर्दा लास रहेछ लास सडी गली गएको भएता पनि छोरीले लगाउने वैजनी रंगको टिसर्ट, रातो पोते समेतबाट छोरी गायत्री सेनको लास भएको प्रष्ट रुपमा चिने नातीनी शिखा मल्लको लास खोजी गर्दै जांदा ऐ. २३ गतेका दिन निज चन्द्रबहादुर मल्लको घर नजिक अमिलाको बोटमुनी खाडल खनी ढुंगा र माटोले पुरी राखेको खाडल खोतली हेर्दा शिखा मल्लको लास देखिएको हुंदा छोरी गायत्री मल्ल समेतलाई खै कुमारी मल्ल, जमुना मल्ल, मिना कुमारी हमाल, चन्द्रबहादुर मल्ल समेतले कर्तव्य गरी मारी खाडलमा पुरी राखेको हुंदा निजहरुलाई कर्तव्य ज्यान मुद्दामा ऐन अनुसार कारवाही गरी पाउं भन्ने तिर्थ प्रताप सेनको जाहेरी दरखास्त ।
५. पर्वत जिल्ला भोर्ले गा.वि.स.वडा नं. ९ स्थित ज्यामी भीरमा २ फिट ३ इन्च चौडाई, ५ फिट ५ इन्च लम्बाई, २ फिट ३ इन्च खाडल भित्र दाया कोल्टो अवस्थामा वैजनी रंगको लेडी टिर्सट लगाएको अवस्थामा र लास सडी गलिरहेको टाउकोको केही रौं देखिएको लासबाट प्रशस्त गन्ध आएको भन्ने समेतको गायत्री मल्लको लाश र चन्द्रबहादुरको घरको तल अमिलाको रुख मुनी २ फिट लम्बाई १.७ फिट गहिराई भएको खाडलमा मैना ९ को शिखा मल्लको लास भएको र सो लासलाई हेर्दा खप्पर फुटी दुई भाग भएको, शरीरको कुनै पनि भाग छुटृाउन नसकिएको, शरीर पुरै सडि गली डल्लो अवस्थामा रहेको भन्ने समेतको घटनास्थल तथा लास प्रकृति मुचुल्का।
६. मृतक गायत्री मल्लको घर र मेरो घर दुई मिनेटको फरकमा पर्दछ, पहिला पनि घर परिवारले निजलाई हेला गर्ने गर्दथे । यस्तैमा २०५५।४।१३ गते मात्र तिर्थ प्रताप सेन आएपछि हराएकी भन्ने थाहा भएको हो । त्यसपछि खोजी गर्दै जांदा ज्यामी भीरमा गायत्री मल्लको लास र चन्द्रबहादुरको घरमुनी शिखा मल्लको लास खाडल मुनी फेला परेको हो । निजलाई चन्द्रबहादुर मल्ल, खै कुमारी मल्ल, निजका दिदी समेतको षड्यन्त्र समेतबाट कर्तव्य गरी मारेको पूर्ण विश्वास लाग्छ भन्ने तेजबहादुर मल्लको अनुसन्धान अधिकारी समक्ष भएको कागज ।
७. छोरी गायत्री मल्ल, नातीनी शिखा मल्ल समेतको लास तिर्थ प्रताप समेतले चिनी सनाखत गरी दिएको कागज ।
८. मिति ०५२।१।२१ गते मेरो र गायत्री मल्लको विवाह भएको र ०५४ साल मंसीर महिनामा हामी दुईको सम्पर्कबाट छोरी शिखा मल्ल समेतको जायजन्म भै बसी आएको थिएं । आमा समेतको कुराबाट मैले श्रीमतीलाई कहिले कहिले पिट्ने गर्दथें, आमा खै कुमारी, दिदी मिना कुमारीलाई अपशव्द वोल्ने गरेको हुंदा मैले मौका मिलाई मार्ने योजना बनाई रहेको थिएं । ०५५ साल श्रावण २ गते घरमा कोही नभएको मौका पारी मार्ने मुख्य योजना मनमा सोची श्रीमती भित्रबाट लोहोटामा पानी ल्याई बाहिर आएको हुंदा म हातमा नाम्लोको प्लाष्टिकको डोरी लिई घरभित्र पसें । श्रीमती गाग्रीको छेउमा केही झुकी लोहोटा राख्न लागेको अवस्थामा एक्कासी मेरो हातमा रहेको डोरी निजको घांटीमा लगाई बल सहित झडका दिई तान्दा ढली दलिन राख्ने घरको बीचमा रहेको थाममा आइपुगीन । मैले सेही थाममा घांटी कसी दिंदा निज केही बोलिनन् र त्यही नै निजको मृत्यु भयो, त्यसपछि झोलुङगोमा सुतेकी महिना ९ की शिखा मल्ललाई मार्ने कुरा सोची घांटीअचेटी दिएं, र गायत्री मल्ललाई घिसार्दै म सुत्ने कोठामा लगी राखी ढोका लगाई दिएं । त्यसपछि सुनु मल्लकी श्रीमती कहाँ गई भकारो सम्माउनको लागि भनि गैंची मागी ल्याई घरमा आएं । सोही दिन अं. ७ बजेको समयमा सार्वजनिक ठाउंमा मान्छे अट्ने जस्तो खाडल खनी कोदाली समेत त्यही छोडी घरमा आएं । घरमा आमा बैनी समेत थिए, आमाले बुहारी खै भन्दा मारी सिद्धाए भनेपछि गाउंघरमा सुनसान भएपछि पहिला अमिलोको रुखमुनी खाडल खनी शिखालाई गाड्यौ । त्यसपछि आमाले लाईट देखाउने मैले गायत्रीको लास कांधमा बोकी बाटोमा बिसाउंदै खनेको खाडलमा लगी गाडेको हुम, कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको चन्द्रबहादुर मल्लको अनुसन्धान अधिकारी समक्षको बयान कागज ।
९. मिति २०५५।४।२ गते बिहानको खाना खाई मेलामा काम गर्न गै बेलुकी घर फर्कदा भाउजु भतिजी थिएनन् । भान्सा कोठामा गएपछि आमा, दिदी, दाइ बसी रहेका थिएं । म पनि त्यही ठाउंमा बसे । दाइ चन्द्रले भाउजु गायत्री र भतिजी शिखालाई कर्तव्य गरी मारेको र आफु सुत्ने गरेको कोठामा राखेको कुरा भनेपछि सबै जनाले खाना खायौं । रातको अं.१०.३० बजेको सुनसान समयमा पहिला आमा र दाइ भई शिखा मल्ललाई अमिलाको रुखमुनि लगी गाडे त्यसपछि आमाले लाइट देखाउने दाइले गायत्री मल्ललाई बोकी मासवारी भन्ने ठाउंतर्फ लगेका हुन्। दिदी र मैले मानिस हेरी घरमा नै बसेका हौं । त्यसपछि मैले सो कुरा कसैलाई भनेको थिइन । ऐ. २२ गते लास फेला परेको हो भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्षको जमुना कुमारी मल्लको बयान कागज ।
१०. बुहारीको व्यवहार सहिनसक्नु भएको हुंदा यसलाई कसरी पन्छाउने आमा भनि छोराले भन्दा जसरी हुन्छ पन्छाउनु प–यो भनि मैले भन्दा त्यसो भए मारिदिनु प–यो भनी भनेकाले जे गर्नेहो गर भनि मैले भनेकी हुम । त्यस्तैमा ०५५ साल श्रावण २ गते विहान म घर नजिक बारीमा घांस काट्न गएकी र घरमा बुहारी, नातीनी शीखा मल्ल, छोरा चन्द्रबहादुर मल्ल समेत थिए । सोही दिनको अं.४.०० बजेतिर बुहारीले ूमुमाू भनी चिच्चाएको सुनेकी हुम् । वास्ता गरेकी हैन । बेलुका घरमा आएं । घरमा कोही थिएनन् । खाना पकाई खाइसकेपछि छोरी जमुना र छोरा समेत आए । छोरा चन्द्रबहादुरले मारेको कुरा बताएपछि खानपीन गरी सबै वरपरका गाउंले सुतिसकेपछि पहिले डिल मुनी लगी नातीनीको लास गाडी दिई बुहारी गायत्रीलाई छोराले कांधमा राखी मैले लाइटवाली बिसाउदैं छोराले बोकी लगी खाडलमा गाडी पुरी आएका हौं । घटनाबारे छोरी मिना र जमुनालाई समेत थाहा छ भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्षको खै कुमारी मल्लको बयान कागज ।
११. लास सडी गली गएको हुंदा मृत्युको कारण खुलाउन नसकिने भन्ने पोष्टमार्टम रिपार्ट ।
१२. फलामको गैंची समेत बरामद भएको हो भन्ने मिति २०५५।५।५ को बरामदी मुचुल्का ।
१३. पर्वत जिल्ला भोर्ले गा.वि.स. वडा नं. ९ स्थित पूर्व भोर्ले देखि लुंकु जाने मुलबाटो, पश्चिम तेजबहादुर मल्लको घर, उत्तर निज चन्द्रबहादुर मल्लको गोठ, दक्षिण निजको खरवारी यति चार किल्ला भित्र रहेको पूर्व पटृी फर्केको तीन तल्ले फुसको छानो भएको प्रतिवादी चन्द्रबहादुर मल्लको घर, घटना स्थल पकृति ठीक छ भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
१४. प्रतिवादीहरुको पूर्व क्रियाकलापबाट निजहरुकै मिलेमतोबाट गायत्री मल्ल र शिखा मल्लको मृत्यु भएको हुनुपर्छ भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्षको कमला मल्लको कागज ।
१५. श्रावण महिना २ गते मेरो पसलबाट चन्द्रबहादुर मल्लले २ वटा वेट्री दुई वटा नुहाउने सावुन लगेको हुंन के कसरी कर्तव्य गरी मारे खुलाउन सक्दिन भन्ने समेत व्यहोराको अनुसन्धान आधिकारी समक्षको केशरबहादुर गुरुङको कागज ।
१६. चन्द्रबहादुर मल्लले श्रीमती हराइन, हुलिया जाहेरी लेखि लेखाई दिनु प–यो भनि भनेकाले मेरो हस्तबाट सो हुलिया जाहेरी दरखास्त लेखि दिएको हुम् । गायत्री मल्ल र शिखा मल्ललाई चन्द्र बहादुुर मल्ल समेतको जाहेरीमा उल्लेखित मानिसहरुले कर्तव्य गरी मारेको हुंन भन्ने सुनेको हुम भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्षको लोकबहादुर उचै ठकुरीको अनुसन्धान अधिकारी समक्षको कागज ।
१७. चन्द्रबहादुर मल्लकी श्रीमती र छोरी हराएपछि निजले इ.प्र.का. लुखुमा निवेदन दिएका थियौं । खोजी गर्दै जांदा निजहरुको लाशमा मासवारी भन्ने सार्वजनिक जंगलमा गाडेको अवस्थामा फेला परेको हो । गायत्री मल्ल र शिखा मल्ल समेत जना दुईलाई चन्द्रबहादुर मल्ल समेतका जाहेरीमा उल्लेखित व्यक्तिहरुले कर्तव्य गरी मारेको मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्षको हकबहादुर हमालको कागज ।
१८. चन्द्रबहादुर मल्ल र निजको आमा खै कुमारी मल्ल, दिदी मिना कुमारी मल्ल निजको बहिनी जमूना मल्ल समेतका जना ४ मिली गायत्री मल्ल र निजकी छोरी अं.महिना ९ की शिखा मल्ललाई कर्तव्य गरी मारेको हामीहरुलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको हेमप्रताप सेन समेतले संयुक्त रुपमा लेखाई दिएको सर्जमिन मुचुल्का ।
१९. प्रतिवादी चन्द्रबहादुर मल्लले श्रीमती गायत्री मल्ल पानीको लोहोटा लिई घरभित्र पसेको अवस्था लोहोटा राख्न केही घोप्टो पर्दाको मौका पारी घांटीमा डोरीले कसी ढलाई थाममा घांटी कसी दिई कर्तव्य गरी मारी छोरी शिखा मल्ललाई पनि घांटी थिची कर्तव्य गरी मारी ज्यान सम्बन्धी महलको ४ नं.मा वर्णित व्यवस्था प्रतिकूल लाशहरु गाडी श्रीमती र छोरीको ज्यान मार्ने गैह्र कुरा गरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. समेतको कसूर अपराध गरेकोले सोही ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम निज चन्द्रबहादुर मल्ललाई कारवाही भै सजायं हुन र बुहारी गायत्री मल्ल र वालीका शिखा मल्लको ज्यान मार्ने कार्यमा चन्द्रबहादुरलाई दुरुत्साहन निर्देशन दिई बुहारी र वालीकाको भौतिक शरीरलाई समाप्त गर्ने विभिन्न षड्यन्त्र गरी ज्यान मरेपछि दवाउने समेत कार्य गरी ज्यान सम्बन्धी महलको १, १६ नं. र ४ नं. समेतको कसूर अपराध गरेको हुंदा निज प्रतिवादी खै कुमारी मल्ल र मिना कुमारी हमाल जना २ उपर ज्यान सम्बन्धी महलको १६ नं. अनुसार कारवाही भै सजायं हुनाको साथै ऐ. ४ नं. बमोेजिम थप सजायं हुन समेत प्रतिवादी मध्येका वर्ष १५ कि जमूना मल्ल वारदातको दिन मेलामा गएतापनि दाइले भाउजूलाई मार्ने कुरा आमा, दिदी समेतले गर्दा कुनै प्रतिक्रिया नगरी भाउजू र वालीकाको ज्यान संकटमा परेको पूर्व अवस्थालाई थाहा पाई जानाजानी बसेर लास दवाउन आमा र दाजु जांदा मानिस हेर्न बसेका हुंदा ज्यान मार्ने मतसल्लाहमा बसेको स्पष्ट देखिन खुल्न आएकोले प्रतिवादी जमुना मल्ल उपर ऐ. ज्यान सम्बन्धी महलको १ र १७ नं. तथा ४ नं. विपरीतको कसूरमा ऐ. ज्यान सम्बन्धीको ४ नं. र १७(३) नं. अनुसार कारवाही भै वालवालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजायं गरी पाउं भन्ने समेत व्यहोराको अभियोग ।
२०. यही ०५५ साल श्रावण २ गते दिनको ३.३० बजेतिर मैले श्रीमती गायत्रीसंग पानी खान देउ भन्दा तेरा हात भांचिएका छन्र । आंफै पानी लगी खाए हुन्छ भनी भनेकाले मलाई रिस उठी तेरापनि हात खुटृा भांचिएको छैन होला भनि रिसमा एक थप्पड गालामा पिटें, त्यसपछि छोरी बच्चीलाई छोडी निज घरबाट भागी हिडेकी हुंन् ।हाल कहां छन् मलाई थाहा छैन । खोजतलास गर्दै थिएं । ०५५।४।२ गते श्रीमतीलाई मैले पिटेपछि निज नमालुम कता भागिन् । छोरी डोलामा थिइन । आमा पानी लिई घरमा आएपछि म समान किन्न भनि दुकानतिर करीव २५ मिनेटको दुरीमा गएं । साझं ६.३० बजेको समयमा घरमा आउंदा छोरी मेरी आमा खै कुमारी सुत्ने कोठामा थियौं । मैले श्रीमतीलाई पिटेको कुरा आमा खै कुमारीलाई भनिन् । जाहेरी दरखास्त सुनाउंदा सुनें। छोरी शिखा र श्रीमती गायत्री मरे नमरेको थाहा छैन । जिउंदै देखे चिन्न सक्छु । जाहेरीवालाले म समेत उपर कर्तव्य गरी मारेमा किन उजूरी गरे मलाई केही पनि थाहा छैन । केवल प्रहरीले पक्री ल्याएपछि मात्र मलाई श्रीमती र छोरी मारेको केशमा पक्राउ गरेको भन्ने थाहा पाएको हुम भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रबहादुर मल्लले अदालतमा गरेको बयान ।
२१. मिति ०५५ साल श्रावण २ गते कान्छी छोरी र बुहारी एकै साथ मकैको पात लाछन र छोरी जमुना घांस काट्न गएका र खाना खाने समयमा दुवै जना संगै आएर खाना खाएपछि सानो छोरी जमुना वर्ष १५ की खेत रोप्न मेलामा गइन म घरदेखि नजिक गाग्री र धुने लुगा लिएर गाउंको पधेंरामा गएं । छोरी बुहारी घरमा थिए । पधेंराबाट आउंदा बुहारी थिएनन् छोरा मात्र थियो । म आएपछि छोरा पनि हिड्यो । मलाई छोराले केही भनेन । छोरी मिना साउने संक्रान्ति मान्न १ गते आएकी थिइन र २ गते खाना खाएपछि १० बजे तिर घर तर्फ गइन । छोरी मिनाको घर वडा नं. ४ मा पर्छ । बुहारीले सताई पन्छाउन प–यो भनेकी होइन । मारेको कुरा सो दिन छोराले मलाई भनेका होइन भन्ने समेत व्यहोराको प्रतिवादी खै कुमारी मल्लले अदालतमा गरेको बयान ।
२२. यस वारेमा मलाई केही थाहा छैन । के कारणले तिर्थ प्रतापले हामी उपर जाहेरी गरेका हुन् मलाई थाहा छैन । ०५५ श्रावण १ गते सांझमा माइतीघरमा आई भोलिपल्ट बिहान खाना खाई १०.३० बजेको समयमा म मेरो घर भोर्ले गा.वि.स.वडा नं. ९ मा चालुममा गएकी । त्यती खेरसम्म हामी सबैले संगै खाना खाएका थियौं । मेरो भाइ र बुहारी गायत्रीका बिचमा सम्बन्ध राम्रो थियो । बेला बेलामा बोलचाल पनि गर्दथें । घरमा म कहिले काही आउंदा केही कल झगडा गरेको पनि थाहा पाएकी थिइन । अधिकार प्राप्त अधिकारी समक्ष मलाई बयान गराउंदा मैले भनेको कुरा लेखिएको होइन । आफ्नै तालले कागज लेखी नसुनाइकन यहां सही गर भनि भनेकाले सहीछाप गरेकी हुम् । मैले भाइले गायत्री र शिखा मल्ललाई मारेका हुंन र गाड्न गएका हुंन् भन्ने कुरा भनेको थिइन । त्यहां कसरी लेखियो मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी मिना कुमारी हमालले अदालतमा गरेको बयान ।
२३. हाम्रो घरमा दाजु भाउजू र आमाको कहिले पनि झै झगडा हुदैनथ्यो र हाल भाउजु कहांछन भन्ने थाहा छैन र २ गतेदेखि हराएकी हुन् । उक्त दिन केही कल झगडा भएको कुरा मलाई थाहा छैन । निज तिर्थ प्रताप सेन मेरो दाजुका ससुरा नाताका व्यक्ति हुंन् । निजले हामीलाई के कारणले किटानी जाहेरी गरेका हुंन् । मलाई थाहा छैन । हामीले मारेका पनि हैनौं, भाउजू गायत्री घरबाट बच्चा समेत लिई २ गते निस्केकी त्यही दिनदेखि मुमाले निजको खोजी कार्य गरी रहनु भएको तर हालसम्म पत्ता लगाउन सकिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जमुना कुमारीले अदालतमा गरेको बयान ।
२४. साक्षी कमला मल्ल, टिकाबहादुर मल्ल, गुप्त प्रताप मल्ल, हेम प्रताप सेन, मुसा मल्ल, जितबहादुर हमाल,प्रेम प्रताप सेन, ज्ञानेन्द्र प्रताप सेन, तिर्थ प्रताप सेन, दिपक सेन समेतले गरिदिएको बकपत्र ।
२५. प्रतिवादी चन्द्रबहादुर मल्लले आफ्नी श्रीमती र छोरीलाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसूर गरेको हुंदा निजलाई उक्त ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी खै कुमारी मल्ल ज्यान मार्ने कार्यमा सरिक भएको देखिदैन । लास गाड्ने कार्यमा लाईट बाली गएकोमा सावित भएकोसम्म देखिएकाले निज उपरका ज्यान सम्बन्धीको १६ नं.को अभियोग दावी मनासिव देखिएन । निज प्रतिवादी खै कुमारी मल्ललाई ज्यान सम्बन्धी महलको १७(३) को कसूरदार देखिन आएकोले सोही (३) नं. बमोजिम ६ महिना कैद र लास गाड्ने कार्यमा सरिक भएकाले ज्यान सम्बन्धीको ४ नं. बमोजिम ६ महिना थप कैद समेत निज प्र.खै कुमारी मल्ललाई जम्मा एक वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादीहरु मिनाकुमारी हमाल र जमुना कुमारी मल्ल २ जनाले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी चन्द्रबहादुर मल्ललाई सर्वश्वसहित जन्मकैद हुने ठहरेकोले अ.वं. १८६ नं. बमोजिम पुनरावेदन अदालत, वाग्लुङमा साधक जाहेरी गर्ने भन्ने समेत व्यहोराको पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश शिवप्रसाद भेलेले मिति २०५६।८।२ मा गर्नु भएको फैसला ।
२६. वारदात हुंदा मुमा भनि चिच्चाएको आवाज सुनेतापनि कुनै वास्ता गरिन भनि वारदात स्थलबाट नजिकै रहेकी प्र.खै कुमारी मल्ल र प्र. मिना कुमारी मल्लले अधिकार प्राप्त अधिकारी समक्ष स्पष्टरुपमा बयान गरेकी देखिन्छ । बुहारीलाई पन्छाउने क्रममा छोराले मार्नु पर्यो भनि भाइ बुहारीको अमर्यादित व्यवहारका कारण प्र. मिना कुमारी हमाल पनि रुष्ट हुन पुगेकी तथ्य निजकै मौकाको बयानबाट खुल्न आएकोले निज प्र. मिना कुमारीले वारदातस्थलबाट नजिकै रहे भएको भएपनि घटना रोक्न कुनै प्रयास नगरी हत्या भई सकेपछि लास दवाउन छिपाउन मद्दत पुर्याई लामो समयसम्म अपराध प्रकाश नगरी उल्टो मृतकको पिता (जाहेरवाला) लाई झुट्ठा र कल्पित कुरा गर्नु एवं सूचना दिनुले निजको उक्त अपराध घटाउनमा षड्यन्त्रकारी भूमिका रहेको यथार्थता स्पष्ट देखिंदा देखिंदै निज मिना कुमारीलाई र मृतकलाई मार्ने कुरा हुंदा कुनै प्रतिक्रिया व्यक्त नगरी हत्या भै सकेपछि अपराधलाई प्रकाशमा नल्याई लासलाई दपाउने छिपाउने कार्यमा मद्दत पुर्याएको स्पष्ट देखिएकोले प्र जमुना कुमारी मल्ललाई सफाइ दिने गरी भएको शुरुको फैसला त्रुटीपूर्ण हुंदा बदर गरी निज प्र.हरु मीना कुमारी हमाल र जमुना कुमारी मल्ललाई पनि अभियोग दावी बमोजिम नै सजायं होस भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट मिति २०५७।१।७।४ मा पुनरावेदन अदालत वाग्लुङमा परेको पुनरावेदन पत्र ।
२७. वारदात मिति नै एकिन हुंन नसकेको र लाश २०५५।४।२२ मा मात्र फेला परेको छ तथा वादी पक्षकै साक्षी र जाहेरवालाले समेत म उपरको अभियोगलाई पुष्टि हुने गरी लेखाई दिन सकेका छैनन् । अभियोगलाई सावित गर्ने देख्ने जान्ने प्रत्यक्षदर्शी साक्षीको अभाव छ । मेरो र श्रीमती वीच गहिरो मनमुटाव रहेको मिसिल संलग्न कागजातले देखाएको छैन । छोरीको आमा समेत भइसकेकी श्रीमतीलाई मैले मार्नु पर्नेसम्मको कुनै कारण र प्रयोजन थिएन र छैन । मैले कसूर गरेको भनि लगाइएको अभियोग पुष्टि नहुंदा नहुदै मलाई कसूरदार ठहर्याई सर्वश्वसहित जन्मकैद गर्ने गरी भएको फैसलाले मलाई मर्का पर्न गएकोले शुरु जिल्ला अदालतको फैसला बदर गरी अभियोगदावीबाट अलग फुर्सद दिलाई इन्साफ पाउं भन्ने समेत व्यहोराको प्र. चन्द्रबहादुर मल्लको मिति २०५७।१।२।२ मा पुनरावेदन अदालत वाग्लुङमा परेको पुनरावेदन पत्र ।
२८. मृतकलाई प्र. चन्द्रबहादुर मल्लले नै मारी लास गाडेको र ९ महीनाकी छोरीलाई समेत मारी आफ्नै घरको आगन मुनी अमिलाको रुख मुनी गाडेको समेत देखिएको र अरु कसैप्रति शंका व्यक्त गरेको नदेखिएकोले निज प्र.चन्द्रबहादुर मल्ललाई सर्वश्वसहित जन्मकैदको सजायं हुने ठहर्याएको शुरुको इन्साफ मनासिव देखियो भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वागलुङको मिति २०५७।२।१६ को फैसला ।
२९. पुनरावेदन अदालतको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेको छु । मेरो पुनरावेदन जिकिर र मिसिल संलग्न प्रमाणको अध्ययन गरी पुनरावेदन अदालत वाग्लुङबाट पर्वत जिल्ला अदालतको फैसला सदर गर्ने गरेको फैसला बदर गरी सफाइ दिई इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्र बहादुर मल्लको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३०. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री राजेश्वर आचार्यले प्रतिवादी चन्द्रबहादुर अदालत समक्ष अपराध गरेमा इन्कार छन् । अपराध गरेको ठहर भएकै अवस्थामा पनि निजको उमेर समेतका आधारमा अ.वं. १८८ नं. बमोजिम सजायं कम हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
३१. पुनरावेदक प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्ने ठहर गरेको शुरु फैसला सदर गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाहेरी भई साधकको लागतमा समेत दर्ता भई पेश हुन आएको देखिन्छ । प्रतिवादीको पुनरावेदन परी सो समेत पेश हुन आएको हुंदा सोही पुनरावेदनबाट न्याय निरोपण हुने हुंदा साधकको लगत कटृा गरिदिनु ।
३२. पुनरावेदक प्रतिवादी चन्द्रबहादुर मल्ललाई आरोपित कसूर गरेको ठहर गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत वागलुङको फैसला निज प्रतिवादी चन्द्रबहादुरको पुनरावेदन जिकिरको रोहमा मिलेको छ छैन हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
३३. निर्णयतर्फ बिचार गर्दा छोरी गायत्री सेन र अ.९ महिनाकी नातिनी ०५५ साल श्रावण २ गते साझ अं. ७ बजे घरदेखि हिडेको भन्ने थाहा पाई सोधपुछ गर्दा हालसम्म पनि थाहापत्तो नलागेको हुंदा सास की लास खोजतलास गरी पाउं भनि मृतक गायत्रीका पिता तिर्थ प्रताप सेनको मिति २०५५।४।१७ को इलाका प्रहरी कार्यालय त्रिवेणी पर्वतमा परेको निवेदनको आधारमा प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । सोही मिति ०५५।४।१७ मा बच्चासहितको महिला हराएकोमा खोज तलास गरी पाउं भन्ने व्यहोराको इलाका प्रहरी कार्यालय लुंखु देउरालीमा यी पुनरावेदक प्रतिवादीको निवेदन परेपश्चात निज तीर्थ प्रताप सेनको छोरीको सासु खैकुमारी मल्ल, आमाजु र नन्द जमुना मल्ल तथा मीनाकुमारी हमालको मिलेमतोबाट ज्वाँई चन्द्रबहादुर मल्लले निज छोरी र नातिनीलाई कर्तव्य गरी मारी छोरी र नातिनीलाई खाडलमा पुरेको अवस्थामा फेला परेकोले निज ज्वाई समेतका व्यक्तिहरुलाई पक्राउ गरी कार्यवाही गरी पाउं भनि किटानी जाहेरी दरखास्त पर्न आई अनुसन्धानको क्रममा निज चन्द्रबहादुर समेतका पक्राउ परेका प्रतिवादीहरु सबैले मृतकलाई चन्द्रबहादुरले कर्तव्य गरी मारेका र सबैको मिलेमतोबाट लास गाडी दवाएको भन्ने कुरा स्वीकार गरेको अवस्था देखिन आउंछ ।
३४. मृतकहरु मध्ये गायत्रीको लास निज चन्द्रबहादुरको घर देखि अ. २५० मिटरको दुरीमा र नावालिका शिखा मल्लको लास प्रतिवादीको घर देखि १५ मिनेटको दुरीमा रहेको अमिलाको रुखमुनी फेला परेको र सो दुवै लास मैले मारी गाडेको हो भनि यी प्रतिवादी चन्द्रबहादुर मल्लले घटनास्थल तथा लासजांच प्रकृति मुचुल्कामा रोहवरमा बसी सही छाप समेत गरेको देखिन आउंछ। मिति ०५५।४।२ देखि घरबाट वेपत्ता भएको भनि ०५५।४।१७ मा पत्ता लगाई पाउन निवेदन दिने यी प्रतिवादी चन्द्रबहादुरले आफ्नोसंग साथमा रहेकी श्रीमती र नावालिक बच्चा समेतको समयमा खोजी नगरी मृतक गायत्रीको बाबुले खोजी गर्न थालेपछि र निज मृतकको बाबुको मिति ०५५।४।१७ मा त्रिदेवी इलाका प्रहरी कार्यालयमा लास वा सास पत्ता लगाई पाउं भनी परेको निवेदन पछि मात्र बेपत्ता भएको भनि प्रहरी कार्यालयमा निवेदन हाली आफूले गरेको अपराधबाट पन्छिन खोजेको अवस्था परिस्थितिजन्य मिसिल संलग्न सबूद प्रमाणबाट देखिन आउंछ । यस परिबन्दबाट आरोपित कसूर गरेको ठहर्याई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम निज प्रतिवादी चन्द्रबहादुर मल्ललाई सजायं गर्ने गरेको शुरु अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिदा सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३५. जहांसम्म प्रतिवादीलाई अ.वं. १८८ नं. अनुसार सजायं कम हुनुपर्ने भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीको जिकिर छ त्यसतर्फ बिचार गर्दा अ.वं. १८८ नं. को प्रयोग उचित र मनासिव माफिक न्याय सम्पादनको लागि न्यायाधीशको तजबिजको विषय हो । आरोपित व्यक्तिद्वारा गरिएको अपराधको संगिनता, अपराध गर्नुपर्ने कारण र अवस्था, अभियुक्तको उमेर, निजको सामाजिक एवं आर्थिक पृष्ठभूमि, निज उपर परिवारको निर्भरता इत्यादि विविध कुराहरु मध्ये सबै वा कुनै त्यस्तो तजविज गर्ने न्यायकर्ताले महत्वपूर्ण राय लगाउन सक्छ । प्रस्तुत मुद्दामा एकाघरसंग बसेको विवाहिता पत्नी र नावालक ९ महीनाकी छोरीलाई समेत कर्तव्य गरी मारी प्रतिवादी आफू र निजको आमा समेतका परिवार मिली लास दवाउने र आफै खोजी पाउं भनि निवेदन समेत गरी अपराधिक क्रियालाई छली हिड्ने अपराधिक प्रकृतिका प्रतिवादीका हकमा यस किसिमको सुविधा प्रदान गर्नु न्यायोचित नहुने हुंदा जिल्ला अदालतको फैसलाको तपसिल बमोजिम असुल उपर गर्नु भनि शुरु पर्वत जिल्ला अदालतमा लेखी पठाई नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति संवत २०६० साल जेष्ठ ९ गते रोज ६ शुभम् ।