निर्णय नं. ७१९५ - कर्तव्य ज्यान

निर्णय नं.७१९५ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्बत् २०५८ सालको फौ.सा.नं. ..४०१
फैसला मितिः २०५९।११।१४।४
मुद्दा :– कर्तव्य ज्यान ।
वादीः माइली तितुङ तामाङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः धादिङ जिल्ला तसर्पु गा.वि.स.वडा नं. ९ वस्ने मखमली तितुङ
§ जन्मदाको अवस्था जिउंदो नै रहेको वच्चा लासको प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट वच्चाको मुखमा चुरोटको वट्टाको कागज कोचिएको स्थितिले गर्दा निज प्रतिवादीको कारणले वच्चाको मृत्यु हुन गएको होइन भन्ने स्थिति देखिन नआउने।
§ कुनै धन सम्पत्तिको लाभ अथवा कुनै रिसइवी साध्नको लागि निज प्रतिवादीवाट सो अपराध भएको नभई गाउं घरको लाजगाल र परिवारको इज्जत वचाउनको लागि आफैले जन्माएको वच्चालाई कर्तव्य गरी मार्नुपर्ने अस्वभाविक कार्य निज कलिलो उमेरको केटीवाट हुन गएको देखिन आएकोले तत्काल निज थुनामा वसेको अवधि ३ बर्ष ८ महिना १४ दिनको सजाय नै पर्याप्त देखिने ।
(प्र.नं. १८)
वादी तर्फवाटः
प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
प्र.न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन २०४८ को दफा १०(२) वमोजिम साधक जाँचका लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ : –
२. मेरी जेठी छोरी अविवाहीता वर्ष १८ को मखमली तितुङ तामाङले ०५६।२।२३ गते वच्चा जन्माई मृत्यूसमेत भएकोले आवश्यक कार्वाही गरी पाउं भन्ने जाहेरी दरखास्त ।
३. धादिङ जिल्ला तसर्पु गा.वि.स. वडा नं. ९ स्थित जाहेरवालीको घरमा बोराभित्र पुरानो सुतिको ज्याकेटमा नवजात शिशुको लाश भएको भन्ने घटनास्थल तथा लाश जांच मुचुल्का ।
४. काठमाडौं वानेश्वर स्थित लक्ष्मण श्रेष्ठको घरमा काम गर्न वस्दा ०५५ साल आश्विन महिनामा घर धनीकै नाता पर्ने ठमेल तिरको विनोद श्रेष्ठले यौन सम्पर्क गरेकोले ०५६।२।२३ गते आफ्नै घरमा वच्चा जन्मेको र सुरुवालको वायांतर्फको खुट्टाबाट झरेकोले भुईमा ठोकिन गै मृत्यु भएको भन्ने मखमली तितुङको वयान ।
५. महिना पुगेको पुरुष जातक वच्चा जन्मेको टाउकोमा इन्जुरीको कारण गिदीमा रक्तश्राव तथा इन्जुरी भै मरेको मुखमा कागजहरु कोचिएको भन्ने पोष्टमार्टम रिपोर्ट ।
६. वच्चा जन्माएको कुरा अरुले थाहा पाए गाली गर्छन भनेर लट्ठीले ३।४ चोटी वच्चाको टाउकोमा हाने, वच्चाले मुख खोलेकोले चुरोटको वटृा कोची दिएको हुँ भन्ने मखमलीको ततिम्वा वयान ।
७. मखमलीले मेरो घर छोडेको १ बर्ष भयो । निजले मेरो घरमा गर्भ वोके जस्तो लाग्दैन । विनोद श्रेष्ठ भन्नेलाई म चिन्दीन भन्ने लक्ष्मणलाल श्रेष्ठको कागज ।
८. जाहेरी दरखास्त, घटनास्थल तथा लाश प्रकृति विवरण मुचुल्का, प्रतिवादीको वयान, लक्ष्मणलाल श्रेष्ठको कागज समेतबाट प्रतिवादीले ०५६।२।२३ गते जिउंदो वच्चा जन्माई लाठाले टाउकोमा हानी मुखमा कागज कोची बोरामा हाली मुलुकी ऐन सम्बन्धी महलको १ तथा १३(३) को कसूर अपराध गरेकोले निजलाई सोही ऐनको सोही दफा १३(३) वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी ।
९. का.जि.का.म.न.पा.वडा नं. १० वस्ने लक्ष्मणलाल श्रेष्ठको घरमा काम गर्दा वस्दा ०५५ साल असाज महिनामा लक्ष्मणलाल श्रेष्ठको आफन्त पर्ने विनोद श्रेष्ठले मलाई समाती कोठामा लगी कारणी लेनदेन भयो । सो बेला म रजस्वला भएको ८।९ दिन भएको थियो । ममा गर्भ रहेछ म ०५६ साल बैशाख महिनामा घर आएँ म गर्भवती भएको कुरा कसैलाई भनेको थिइन। ०५६।२।२४ गते घरमा कोही नभएको बेला वच्चा पाउने वेथा लागी बेहोस भएछु । होसमा आउँदा वच्चा जन्मेर मरीसकेछ । अधिकार प्राप्त अधिकारी समक्ष भएको भनेको वयान मैले भनेको होइन । सही गर भनेकोले सही गरेको हुँ र मैले वच्चा मारेको होइन भन्ने प्रतिवादी मखमलीले अदालत समक्ष गरेको वयान ।
१०. नवजात शिशुको शव परीक्षण मैले गरेको हुं । वच्चा मर्नु अघि मुखमा कागज कोचिएको हो भन्ने डा. हरिहर वस्तीको वकपत्र ।
११. मुद्दा पूर्पक्षको लागि प्रतिवादीलाई थुनामा राखिएको रहेछ ।
१२. यसमा प्रतिवादीले नवजात वच्चालाई कुटपिट गरी मुखमा कागज समेत कोची कर्तव्य गरी जातक शिशुको ज्यान मारेको प्रमाणित भएको हुंदा अभियोग पत्र दावी बमोजिम प्रतिवादी मखमली तितुङ तामाङलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ । तर अपराध गर्दाको कारण र अवस्था तथा प्रतिवादीको १८ बर्षको युवा अवस्था समेतलाई मध्यनजर राखी यी प्रतिवादीलाई कसूर बमोजिमको जन्मकैदको सजाय दिंदा चर्को पर्न जाने हुंदा अ.वं. १८८ न. अनुसार निजलाई ५ बर्ष (पाँच बर्ष) मात्र कैदको सजाय गर्न न्यायोचित हुने देखि राय सहितको जाहेरी फैसला गरी दिएको छु भन्ने समेत व्यहोराको शुरु धादिङ जिल्ला अदालतको मिति ०५७।१।२१ को फैसला ।
१३. धादिङ जिल्ला अदालतको पसं. ०५७।५८ च.नं. १४१ मिति ०५७।५।७ को पत्रद्वारा साधक सदरको लागि पेश हुन आएको साधक जाहेरी ।
१४. यसमा शुरु धादिङ्ग जिल्ला अदालतको मिति ०५७।१।२१ को फैसलामा अभियोग पत्र दावी बमोजिम निज मखमली तितुङ तामाङलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ भनी लेखिएको मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) मा जन्मकैद मात्र उल्लेख भएकोले ज्यान सम्बन्धी महलको १३(३) नं. अनुरुप सजाय गरेको शुरु फैसला फरक पर्न सक्ने हुंदा छलफलको निमित्त पु.वे.स.व.कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने मिति ०५८।६।२ को यस अदालतको आदेश ।
१५. प्रतिवादीले ज्यान सम्बन्धीको १ नं. को कसूर गरेको ठहर्याई सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मिलेकै देखिंदा सदर हुने र सर्वोच्च अदालतमा साधक जाहेरी गरी पठाउने ठहर्छ । प्रतिवादीको उमेर तथा निजले गर्भ धारण गरेको अवस्था समेतलाई विचार गरी प्रतिवादीलाई ५(पाँच) वर्ष मात्र कैद सजाय गर्ने भनि अ.वं. १८८ नं. वमोजिम व्यक्त गरेको राय मनासिब नै देखिएको भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५८।६।१६।३ को फैसला ।
१६. पुनरावेदन अदालत पाटनको मिति २०५८।६।१६ को फैसला वमोजिम साधक जाँचको लागि पुनरावेदन अदालत पाटनको मिति २०५८।११।२९ को पत्रवाट प्रस्तुत मुद्दा यस अदालतमा प्राप्त हुन आएको ।
१७. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा प्रतिवादी १८ बर्षकी मखमली तितुङ तामाङले जिउदो वच्चा जन्माई लाठाले टाउकोमा हानी मुखमा कागज कोची कर्तव्य ज्यानको अपराध गरेको भनि मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. तथा १३(३) नं. को कसूरमा सर्वश्वसहित जन्मकैद सजायको माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । शुरु धादिङ जिल्ला अदालतवाट निज प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्याई अ.वं. १८८ नं. वमोजिम ५ बर्ष कैदको सजाय हुने राय व्यक्त गरी फैसला भएकोमा सो फैसला पुनरावेदन अदालतवाट समेत सदर हुने ठहरी फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको फैसला वमोजिम साधक जाँचको लागि पेश भएको प्रस्तुत मुद्दामा प्रतिवादी मखमलीले अनुसन्धानको क्रममा गरेको कागजवाट निज लक्ष्मण श्रेष्ठको घरमा काम गरी बस्दा विनोद श्रेष्ठ भन्ने व्यक्तिसंग अनुचित यौन सम्बन्ध हुन गई गर्भ रहेको र पछि निजले लक्ष्मण श्रेष्ठको घर छाडी आफ्नो घरमा आई वस्दा जीउदो वच्चा जन्मिएको कुरालाई स्वीकार गरेको देखिन आउंछ । तर वच्चा जन्मदाको अवस्था निज प्रतिवादीले लगाई राखेको सुरुवाल भित्र देव्रे पट्टीवाट एक्कासी भुईमा वच्चा खस्दा टाउको अगाडि परेकोले जोड संग भुईमा टाउको ठोकिन गएको र हत्तपत उठाउदा चिच्चाई रोएको भनि लेखाई दिएको देखिन्छ । यसप्रकार जन्मदाको अवस्था जिउंदो नै रहेको वच्चा लासको प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट वच्चाको मुखमा चुरोटको वट्टाको कागज कोचिएको स्थितिले गर्दा निज प्रतिवादीको कारणले वच्चाको मृत्यु हुन गएको होइन भन्ने स्थिति देखिन आएन । तसर्थ पुनरावेदन अदालत पाटनले शुरुको इन्साफ सदर गरी निज प्रतिवादीलाई १३(३) नं.को सजायको भागी ठहर्याएको इन्साफ मिलेकै हुंदा साधक सदर हुने ठहर्छ ।
१८. अपराध हुंदाको अवस्था र प्रतिवादी मखमली तितुङ तामाङको कांचो उमेर समेतलाई दृष्टिगत गरी घटी सजाय समेत शुरु र पुनरावेदन अदालतवाट जाहेर भए तर्फ विचार गर्दा काचो उमेर र हाम्रो जस्तो समाजमा घरायसी कामकाजको नोकरी गर्ने निम्न आर्थिक र पिछिडिएको सामाजिक स्थितिको महिलाहरु स्वभावतः मालिक र निजका आफन्तहरुवाट यौन शोषित हुने गरेको कुरालाई सामान्यतः विचार गर्दा निज प्रतिवादीले पनि सोही सामाजिक दुव्र्यवहारको दुष्परिणाम व्यहोर्नु परेको देखिन आउंछ । कुनै धन सम्पत्तिको लाभ अथवा कुनै रिसइवी साध्नको लागि निज प्रतिवादीवाट सो अपराध भएको नभई गाउं घरको लाजगाल र परिवारको इज्जत वचाउनको लागि आफैले जन्माएको वच्चालाई त्यसप्रकार कर्तव्य गरी मार्नुपर्ने अस्वभाविक कार्य निज कलिलो उमेरको केटीवाट हुन गएको देखिन आएकोले तत्काल निज थुनामा वसेको अवधि ३ बर्ष ८ महिना १४ दिनको सजाय नै पर्याप्त देखिने भएकोले अ.वं. १८८नं. ले सो थुनामा वसेको अवधि सम्मको सजाय हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरुले प्रतिवादी मखमली तितुङ तामाङलाई सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहरी अ.वं. १८८ नं. वमोजिम निज प्रतिवादीलाई ३ बर्ष ८ महिना १४ दिन कैद हुने ठहरेकोले निज प्रतिवादी मिति २०५६।२।३० वाट प्रहरी हिरासतमा रही हालसम्म थुनामा नै रही रहेको र निजलाई लागेको कैद भुक्तान भैसकेको देखिएकोले आजै थुनावाट छाडी दिनु भनि आदेश गरी सकिएकोले सोही व्यहोरा जनाई राख्नु भनि शुरुमा लेखी पठाई दिनु .....१
मिसिल नियमानुसार गरी बुझाई दिनु ............ १
उपर्युक्तरायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्बत् २०५९ साल फाल्गुण १४ गते रोज ४ शुभम ............. ।