निर्णय नं. ७१९६ - उत्प्रेषण समेत

निर्णय नं.७१९६ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत् २०५७ को रिट नं. ....३०७२
आदेश मितिः २०५९।१२।१८।३
बिषय :– उत्प्रेषण समेत ।
निवेदकः ललितपुर जिल्ला ल.पु.उ.म. न.पा.वडा नं. २० बस्ने गणेश शाक्य समेत
विरुद्ध
विपक्षीः श्री भूमिसुधार कार्यालय, ललितपुर
§ भूमिसुधार कार्यालय ललितपुरवाट झिकाइएको निर्णय फायल अवलोकन गर्दा, विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने सम्बन्धमा उक्त कार्यालयवाट आवश्यक छानवीन तथा निर्णय गर्दाको अवस्थामा स्पष्ट रुपमा देखिने त्रुटी (Apparent error) भएको देखिन नआउंदा त्यस्तो प्रत्यक्ष त्रुटी विद्यमान नरहेको अवस्थामा कानून वमोजिम निर्णय गर्ने अधिकारीवाट भएको निर्णयको औचित्य (Merit) भित्र प्रवेश गरी यस अदालतले हस्तक्षेप गर्नु मनासिब नहुने।
§ अघि परेको जग्गा वाँडफाँड मुद्दालाई पछि सृजना गरिएको मोही निष्काशन एवं गुठी सम्वन्धी मुद्दाले प्रभावित गर्छ भन्न नमिल्ने ।
(प्र.नं. १२)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमेश कुमार मैनाली
विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री शरद खडका, विद्वान अधिवक्ता श्री नारायणप्रसाद दवाडी
अवलम्वित नजिरः
आदेश
न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ : –
२. ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ६(ख) कि.नं. ६२८ को क्षे.फ. ०–१–२ , ऐ.ऐ. कि.नं. ६३५ क्षे.फ. ०–१५–० जग्गा हामी निवेदकहरु दिलवहादुर, गणेश र राजकुमारको नाममा, ऐ. कि.नं. ६५८ को क्षे.फ. २–५–० जग्गा न्हुच्छे विर, तुईसिंह, सानुकाजि र हेमराज शाक्यको नाममा र ऐ.कि.नं. ६४३ क्षे.फ.०–९–० जग्गा तुईसिंह, जुजुभाई, हेमराज समेतका नाउंमा दर्ता रहेको यी जग्गाहरु हामीहरुको नाममा दर्ता भएतापनि दर्तावालाहरुको मात्र एकलौटी हक लाग्ने नभई हामीहरुको समान हक लाग्ने निजी गुठीको जग्गा हो । दर्तावाला गुठियारहरु मध्ये न्हुच्छेवीरले गुठी चलाउन नसक्ने भनि गुठीवाट राजिनामा दिएकोले वांकी दर्तावालाहरुले उपरोक्त कित्ता जग्गाको आयस्थावाट हाम्रा पितापूर्खाको पालादेखि प्रत्येक वर्षको भाद्र अष्टमी यल पंचदानको दिन धानद्रव्य दान गरी गुठी चलाउने गरी आएका छौं । सो जग्गाहरु वीरमायांले जग्गाधनी र मोहीलाई आधा वांडफाड गरी पाउं भनि भूमिसुधार कार्यालयमा निवेदन गरेकी रहिछन् । सो जग्गाहरु वाँडफाँड गर्ने सिलसिलामा कारवाही हुँदै जाँदा राजभाई शाक्यले कि.नं. ६२८ क्षे.फ. ०–१–२ र कि.नं. ६३५ क्षे.फ.०–१५–० जग्गाको हकमा ०५७।१।२८ मा गुठी सम्बन्धी विवाद भई अदालतमा मुद्दा चलिरहेकोले यो मुद्दा मुलतवी राखी पाउं भनि दिएको निवेदनको आधारमा भूमिसुधार कार्यालय ललितपुरवाट मिति ०५७।२।१६ मा मूलतवी राख्ने आदेश भएको थियो । सो आदश वेरीतको भएको भनी वीरमायाले दिएको निवेदनमा पुनरावेदन अदालत पाटनवाट मिति २०५७।३।२२ मा कानूनी आधार नखुलाई हचुवा तवरले मूलतवी राख्ने गरेको ०५७।२।१६ को आदेश त्रुटीपूर्ण हुंदा वदर गरी दिएको छ भन्ने आदेश भयो । उक्त आदेश त्रुटीपूर्ण भएको व्यहोरा उल्लेख गरी सो आदेश वदर गरी पाउँ भनी यस अदालतमा उत्प्रेषण बिषयको रिट निवेदन दायर गरी पूर्पक्षमा रहेका अवस्थामा बिपक्षी भूमिसुधार कार्यालयवाट विवादित जग्गाका मोही र जग्गाधनीमा विवाद देखिएको र श्रेस्तावाट जग्गा निजी गुठीको भन्ने समेत नदेखिएको तथा निजी गुठी जनाई गुठीयार समेत कायम गरी पाउँ भनि मुद्दा परेको व्यहोरा दर्शाई मिति ०५७।२।१६ मा मुल्तवीमा राख्ने गरी भएको आदेश पु.वे.अ. पाटनवाट वदर भई कानून वमोजिम गर्न आदेश भई आएकोले विवादीत जग्गालाई वांडफांड गर्न नमिल्ने भन्ने कहीकतैवाट विवाद नभएकोले गा.वि.स. को राय, नापी शाखाको प्रतिवेदन र फिल्ड निरीक्षण प्रतिवेदन समेतका आधारमा इमाडोल गा.वि.स. वडानं. ६ (ख) कि.नं. ६२८ र कि.नं. ६३५ को जग्गालाई कित्ताकाट गर्दा घटी वढी भएमा दामासाहीले व्यहोर्ने गरी कि.नं. ६३५ को ०–१५–० जग्गालाई उत्तर दक्षिण कि.का. गरी पूर्व तर्फवाट क्षे.फ. ०–८–१ पुरै गरी जम्मा ०–८–१ जग्गा ज.ध. दिलवहादुर शाक्य समेत जना ३ को नाउमा वांकी रहने गरी भूमि सम्बन्धी चौथो संशोधन ऐन २०५३ को दफा २६(घ) वमोजिम जग्गा वांडफांड भई दा.खा. तथा जोत लगत समेत कट्टा हुने ठहर्छ । सो वमोजिम गरी दिन सोही ऐनको दफा २६ (छ) बमोजिम निर्णयको प्रतिलिपि समेत राखी मा.पा.का. ल.पु. मा लेखि पठाई दिनु भनि ०५७।५।२६ मा निर्णय भयो।
३. उक्त जग्गा हामीहरुको रैकर नभई निजी गुठीको जग्गा भएको र निजी गुठीको जग्गा वाडफांड गर्न स्पष्ट कानूनी व्यवस्था नभएकोले त्यस्तो जग्गा वांडफांड हुन सक्तैन । निजी गुठी सम्बन्धी लगत लिने र यस्को वन्दोवस्त समेत गुठी संस्थानले गर्न सक्ने गरी गुठी संस्थान ऐन २०३३ को दफा १९ क र २० मा व्यवस्था गरिएकोले भूमिसुधार अधिकारीलाई यस्तो जग्गा वांडफांड गर्ने अधिकार छैन । निजी गुठी सम्बन्धी विवाद उठी के कति गुठियार कायम भई क–कस्को गुठी हक लाग्ने भन्ने सम्बन्धमा र मोही निष्काशन सम्बन्धी विवाद अदालतमा चलीरहेको अवस्थामा सो मुद्दामा असर पर्ने गरी वांडफांडको निर्णय नगरी अ.वं. १२ नं. वमोजिम मूलतवी राखी दिनुपर्ने थियो । जग्गा वांडफांड गर्दा नरमकरम मिलाई गर्नुपर्नेमा नरमकरम मिलाई वांडफांड भएको छैन । हचुवाको भरमा मोहीलाई प्लट मिल्ने पट्टि र जग्गाधनीलाई लाम्चो सोतो परेको पट्टि पर्ने गरी हामीलाई केही सोधनी नगरी जग्गा रहेको स्थानको निरीक्षण नगरी जस्को स्वामित्व रहेको छ त्यसलाई मर्का पर्ने गरी राय पठाई वांडफांड भएवाट साह्रै अन्यायमा परेका छौं । भूमिसुधार कार्यालयको मिति ०५७।५।२६ को निर्णयको आधारमा मालपोत कार्यालय ललितपुरवाट मिति ०५७।६।९ मा दाखिल खारेज गरी मोही लगत समेत कट्टा गरेको छ । भूमिसुधार कार्यालय ललितपुरको मिति ०५७।५।२६ को निर्णयवाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ धारा १७ तथा धारा १९ द्वारा प्रदत्त निवेदकहरुको मौलिक हकमा आघात पुगेको हुनाले धारा २३ र ८८ वमोजिम ०५७।५।२६ मा कि.नं. ६२८ र ६३५ को जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने गरी गरेको निर्णय र सो निर्णयको आधारमा मालपोत कार्यालय ललितपुरवाट दाखिल खारेज गर्ने गरेको कार्य समेत उत्प्रेषणको आदेशद्वारा वदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
४. यसमा निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? बिपक्षीहरुवाट लिखित जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
५. रिट निवेदकहरु दीलवहादुर शाक्य, गणेश शाक्य र राजकुमार शाक्यका नाउंमा संयुक्त दर्ता रहेको ल.पु. इमाडोल गा.वि.स. वडा नं. कि.न.. ६२८ को क्षे.फ. ०–१–२–० र ऐ.कि.नं. ६३५ को .क्षे.फ.०–१५–० जग्गाको मोही वीरमाया महर्जन रहेकोले संशोधित भूमि सम्बन्धी ऐन, २०५३ बमोजिम मोही र जग्गाधनी वीच आधा आधा जग्गा वांडफांड गरिदिने गरी यस कार्यालयवाट निर्णय भएको हो । विवादका जग्गाहरु निजी गुठीका होइनन् । निजी गुठीको जग्गा भएको भएपनि त्यस्ता निजी गुठीको जग्गाहरु यस कार्यालयवाट मोही र जग्गाधनी वीच आधा आधा गरी वांडफांडको काम भइरहेको छ । निजी गुठी नै नभएको, नजनिएको जग्गालाई निजि गुठीको हो भन्दै अनावश्यक र कानून विपरीत जग्गाधनीहरुले गरेको दावी झुठ्ठा र औचित्य हिन भएकाले यस कार्यालयवाट मिति २०५७।५।२६ मा जग्गा वांडफांड गर्ने सम्बन्धमा भएको निर्णय कायम राखी रिट निवेदकहरुको निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय ललितपुरको लिखित जवाफ ।
६. भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन ऐन, २०५३ को दफा २६ घ वमोजिम इमाडोल गा.वि.स. वडा नं. ६(ख) कि.नं. ६३५ र ६२८ को जग्गा दर्तावाला जग्गाधनी तथा जोताहा वीच वांडफांड गरी जोत लगतकट्टा गर्न भू.सु.का. ल.पु.ले मिति ०५७।५।२६ मा निर्णय गरी सो निर्णय कार्यान्वयनको लागि उक्त कार्यालयको मिति २०५७।५।२८ को पत्रद्वारा लेखी आए अनुसार यस कार्यालयको मिति ०५७।५।२९ को आदेशानुसार कित्ताकाट गरी कायम कि.नं. ११५६ को क्षेत्रफल ०–८–१ उत्तर तर्फ मोही वीरमाया महर्जन र कि.नं. ११५७ क्षेत्रफल ०–६–३ वाकी पश्चिमतर्फ र कि.नं. ६२८ को क्षेत्रफल ०–१–२ जग्गाधनी दिलबहादुर शाक्य समेतको नाममा कित्ताकाट गरी पठाइएको हो । भूमिसुधार कार्यालयको मिति ०५७।५।२६ को निर्णय अनुसार उक्त कार्यालयको निर्णय कार्यान्वयन मात्र यस कार्यालयले गरेको हुंदा प्रस्तुत रिट निवेदन जिकिर खारेजभागी छ भन्ने समेत व्यहोराको बिपक्षी मालपोत कार्यालयको लिखित जवाफ ।
७. पति हाकुचा ज्यापु मोही भै खेती कमाई गरी आएको कि.नं. ६२८, ६३५ को जग्गा निज पति २०३० सालमा परलोक भएपछि २०३६ सालमा म वीरमाँयाको नाउंमा नामसारी भएको हो। भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन वमोजिम मोही र जग्गाधनी वीचमा जग्गा वांडफांड गरी पाउं्र भनी मिति २०५४।१०।६ मा भूमिसुधार कार्यालयमा मेरो निवेदन परेपछि सो वांडफांडलाई रोक्न बिपक्षीहरुले तथ्यहीन विवादको श्रृजना गरेको कारणले वांडफांड सम्बन्धी कारवाही मुलतवीमा रहेको थियो । पहिले परेको मुद्दालाई रोक लगाउने कलुषित भावनावाट मिलोमतो गरी उठाउने गरेको मुद्दाको सहारामा स्वतन्त्र रुपको पुरानो मुद्दा मुलतवी रहनु पर्ने वांडफांड नहुनुपर्ने भन्ने बिपक्षीको रिट निवेदन सरासर गैरकानूनी रहेको तथ्यवाटै प्रष्ट छ । पुनरावेदन अदालत पाटनको मिति २०५७।३।२२ को आदेश पछि जग्गा वांडफांड गर्ने गरी भू.सु.का. ले २०५७।५।२६ गते गरेको निर्णय र भएको कार्यान्वयन कानूनसम्मत छ । त्यसमा कुनै अधिकार क्षेत्रको प्रश्न उठ्न सक्ने ठाउं छैन । वांडफांड मुद्दाको पेशी सारी बिपक्षी गणेश शाक्य समेतले मोही निष्काशन समेतको मुद्दा सृजना गरेर म उपर अन्याय गर्न खोजेको र असफल भएको अवस्थामा जग्गा वाँडफाँड भए पछि दायर गरेको प्रस्तुत निवेदनमा उल्लेख गरिएका त्यस्ता कुराले कुनै अर्थ राख्दैन । ऐनको अख्तियारी वमोजिम जग्गा वांडफांड गर्ने गरी २०५७।५।२६ मा भू.सु.का. ललितपुरले गरेको निर्णय र सो वमोजिम भएको कार्यान्वयन वदर हुनुपर्ने होइन । तसर्थ रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको वीरमाया महर्जनको लिखित जवाफ ।
८. नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फवाट विद्वान अधिवक्ता श्री रमेश कुमार मैनालीले विवादित जग्गा निजी गुठीको जग्गा हो, त्यस्तो जग्गामोही र जग्गाधनी वीच वांडफांड गरिएमा गुठी चल्न सक्तैन । गुठी जग्गा भए नभएको तथा निवदेक वाहेकका अन्य गुठीयारहरु भए नभएको सम्बन्धमा तथा मोहीले विवादित जग्गाको हैसियत विगारी उब्जनी घटाउने कार्य गरेकोले मोही निष्काशन गरी पाउँ भनी दायर गरेको मुद्दाहरु जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा सो मुद्दाहरुमा समेत असर पर्ने गरी मोहीले दिएको निवेदनको आधारमा मोही र जग्गाधनी वीच जग्गा वांडफांड गर्ने गरी भएका सम्पूर्ण काम कारवाहीहरु त्रुटीपूर्ण भएकोले बदर गर्न निवेदन माग वमोजिमको आदेश जारी गरीनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो । बिपक्षी भूमिसुधार कार्यालय समेतका तर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का तथा बिपक्षी वीरमाया महर्जनका तर्फवाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद दुवाडीले मालपोत कार्यालयको श्रेस्तावाट विवादित जग्गा निजी गुठीको भन्ने देखिंदैन । विवादित जग्गाको मोही हाकुचा ज्यापु परलोक भएपछि निजको श्रीमती वीरमाया कायम भएको छ । भूमि सम्बन्धी ऐन २०२१ मा भएको चौथो संशोधनद्वारा संशोधित प्रावधान अनुसार जग्गा वांडफांडको लागि मोहीको निवेदन परेपछि फिल्ड निरीक्षण समेतका आवश्यक प्रक्रिया पूरा गरी भएको निर्णय कानूनसम्मत हुंदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
९. विद्वान कानून व्यवसायीहरुको उल्लेखित बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदन माग वमोजिमको आदेश जारी हुनुपर्ने हो, होइन ? भन्ने बिषयमा निर्णय दिनुपर्ने देखियो ।
१०. यसमा निवेदकहरुको नाममा दर्ता रहेको ललितपुर जिल्ला इमाडोल गा.बि.स.वडा नं. ६(ख) कि.नं. ६२८ को ०–१–२ र कि.नं. ६३५ को ०–१५–० जग्गा मोही र जग्गाधनी वीच वांडफांड गरी पाउँ भनी बिपक्षी वीरमाया महर्जनको निवेदन परेकोमा विवादित जग्गा निजी गुठी जनाई गुठीयार कायम गराई पाउँ भनी राजभाई शाक्य समेतको ललितपुर जिल्ला अदालतमा मुद्दा परिरहेको भन्ने आधारमा निजी गुठी सम्बन्धमा अदालतवाट अन्तिम किनारा नभएसम्म वांडफांड सम्बन्धीमा निर्णय गर्न मिलेन भनी भूमिसुधार कार्यालय ललितपुरवाट मिति २०५७।२।१६ मा मुलतवीमा राख्ने गरी भएको आदेश उपर अ.बं. १७ नं. बमोजिम परेको बिपक्षी वीरमाया महर्जनको निवेदनमा पुनरावेदन अदालत पाटनवाट कानूनी आधार नखुलाई मुलतवीमा राख्ने आदेश बदर भएको र पुनरावेदन अदालतको सो आदेश समेत त्रुटीपूर्ण भएको भनी यस अदालतमा रिट निवेदन दायर गरिएकोमा त्यसतर्फ कुनै विचारै नगरी मोहीको निवेदनको आधारमा विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने गरी भूमिसुधार कार्यालय, ललितपुरवाट मिति २०५७।५।२६ मा भएको निर्णय तथा सो आधारमा विवादित जग्गा दाखिल खारेज तथा मोही लगत कट्टा गर्ने गरी भएको मालपोत कार्यालय ललितपुरको निर्णय समेत वदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । बिपक्षीहरुको लिखित जवाफमा विवादित जग्गा निजी गुठीको जग्गा भएको भन्ने श्रेस्तावाट नदेखिएको र भूमि सम्बन्धी ऐन, २०२१ मा चौथो संशोधनद्वारा संशोधित दफा २६घ को कानूनी व्यवस्था अनुसार जग्गा वांडफांड गरी पाउं भनी मोहीको विनेदन परेको आधारमा आवश्यक छानवीन समेत पूरा गरी जग्गा वांडफांड गर्ने निर्णय भएकोले रिट निवेदन खारेज हुनुपर्ने जिकिर लिएको पाइन्छ ।
११. विवादित जग्गाको दर्तावाला मोही हाकुचा ज्यापु भएकोमा निज २०३० सालमा परलोक भएपछि निजको नाम कट्टा गरी मिति २०३६।२।२९ मा निजको श्रीमती बिपक्षी वीरमायाको नाममा मोही नामसारी गर्ने गरी भएको निर्णय वदर गरी पाउँ भनी यिनै रिट निवेदकहरु समेतले दायर गरेको सम्बत् २०५४ सालको रिट नं.३०५२ को उत्प्रेषणयुक्त परमादेश बिषयको रिट निवेदन खारेज हुने ठहरी यस अदालतवाट मिति २०५६।५।३२ मा निर्णय भएको देखिन्छ । सो निर्णयवाट समेत विवादित जग्गाको मोही बिपक्षी वीरमाया महर्जन भएकोमा विवाद गर्नुपर्ने अवस्था रहेको पाइदैन । भूमि सम्बन्धी ऐन, २०२१ मा मिति २०५३।९।२४ मा भएको चौथो संशोधन द्वारा थप गरिएको दफा २६ घ मा मोही लागेको जग्गा वांडफांड गरी पाउं भनी जग्गाधनी वा मोही मध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण वुझ्नु पर्ने भए सो समेत बुझी नरमकरम मिलाई जग्गाधनी र मोहीलाई आधा आधा हुने गरी जग्गा वांडफांड गरी मोही लगत समेत कट्टा गर्नुपर्ने कानूनी व्यवस्था गरिएको पाइन्छ । उल्लेखित कानूनी व्यवस्था अनुसार जग्गा वांडफांडको लागि विवादित जग्गाको मोही बिपक्षी वीरमाया महर्जनको निवेदन परी सो निवेदनको आधारमा सो जग्गाको जग्गाधनी यी रिट निवेदकहरुलाई झिकाई तारेखमा राखी वांडफांड सम्बन्धी काम कारवाहीमा सहभागी गराई मालपोत कार्यालय ललितपुरलाई समेत बुझी भूमिसुधार कार्यालय ललितपुर तथा नापी शाखा ललितपुरवाट फिल्ड निरीक्षण गरी प्राप्त प्रतिवेदन गाउं विकास समितिको राय समेतको आधारमा कि.नं.६३५ को जग्गालाई उत्तरदक्षिण चिरापारी समानुपातिक रुपमा आधा आधा पर्ने गरी पूर्व तर्फवाट क्षेत्रफल ०–८–१ जग्गा मोहीलाई र वांकी पश्चिमतर्फको ०–६–३ र कि.नं. ६२८ को क्षेत्रफल ०–१–२ पूरै जग्गाधनी दिलवहादुर शाक्य समेत ३ जवानको नाउमा रहने गरी जग्गा वांडफांड गर्ने गरी भूमिसुधार कार्यालय ललितपुरवाट मिति २०५७।५।२६ मा निर्णय भएको उक्त कार्यालयवाट झिकाइएको मिसिल संलग्न निर्णय फायलवाट देखियो । उल्लेखित निर्णय तथा काम कारवाहीमा प्रत्यक्ष रुपमा यो यस्तो त्रुटी भएकोले यस अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित हुने भन्ने निवेदनमा तथा निवेदक तर्फका विद्वान अधिवक्ताले आफ्नो वहसमा समेत कुनै खास जिकिर लिन सकेको पाइएन ।
१२. भूमिसुधार कार्यालय ललितपुरवाट झिकाइएको निर्णय फायल अवलोकन गर्दा, विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने सम्बन्धमा उक्त कार्यालयवाट आवश्यक छानवीन तथा निर्णय गर्दाको अवस्थामा स्पष्ट रुपमा देखिने त्रुटी (Apparent error) भएको देखिन आएन । त्यस्तो प्रत्यक्ष त्रुटी विद्यमान नरहेको अवस्थामा कानून वमोजिम निर्णय गर्ने अधिकारीवाट भएको निर्णयको औचित्य (Merit) भित्र प्रवेश गरी यस अदालतले हस्तक्षेप गर्नु मनासिब हुंदैन । यसका अतिरिक्त बिपक्षी मोहीको जग्गा वाँडफाँडको निवेदन ०५४।१०।६ मा परी कारवाही चलेपछि मात्र गुठी संवन्धी मुद्दा र मोही निष्काशन मुद्दा परे पारेको भन्ने देखिन्छ । अघि मोही नामसारी मुद्दा परी अन्तिम भैरहेको अवस्था पनि देखिएको छ । अघि परेको जग्गा वाँडफाँड मुद्दालाई पछि सृजना गरिएको मोही निष्काशन एवं गुठी सम्वन्धी मुद्दाले प्रभावित गर्छ भन्न मिल्दैन । न्यायिक कार्यविधि, प्रक्रिया र सिध्दान्त त्यो होइन । पछि मुद्दाको सृजना गरी अघिको मुद्दालाई प्रभावित गर्ने गलत मनसाय राखिएको देखिन्छ । यस परिप्रेक्ष्यवाट जग्गा वाँडफाँड संवन्धी भूमिसुधार कार्यालयको निर्णयलाई त्रुटिपूर्ण मान्न मिलेन । यसर्थ भूमि सम्बन्धी ऐन, २०२१ को संशोधित दफा २६ घ को कानूनी व्यवस्था अनुसार विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गरी पाउं भनी उक्त जग्गाको मोही बिपक्षी वीरमाया महर्जनले गरेको निवेदनको आधारमा जग्गाधनी यी निवेदकहरुलाई समेत झिकाई आवश्यक छानवीन गरी भूमिसुधार कार्यालय ललितपुरवाट कानून वमोजिम विवादित जग्गा वांडफांड गर्ने गरी भएको उक्त कार्यालयको मिति २०५७।५।२६ को निर्णयवाट निवेदकहरुको मौलिक तथा कानूनी हकमा कानून विपरीत आघात पारेको भन्न मिल्ने देखिएन । निवेदकको माग बमोजिमको आदेश जारीहुन सक्ने अवस्था विद्यमान रहेको नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छु ।
प्र.न्या.केदारनाथ उपाध्याय
इति सम्बत् २०५९ साल चैत्र १८ गते रोज ३ शुभम् ...............