निर्णय नं. ७१९८ - अदालतको अपहेलना

निर्णय नं.७१९८ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
संवत् २०५५ सालको फौ.पु.नं. ....१८७८
फैसला मितिः २०५९।११।२८।४
मुद्दाः अदालतको अपहेलना ।
पुनरावेदक
प्रतिवादीः जि.ध.जनकपुर नगरपालिका कार्यालयका प्रमुख वजरंगप्रसाद साह
विरुद्ध
विपक्षी
निवेदकः जनकपुर नगरपालिका वडा नं. ४ वस्ने रामषिस चौधरी
§ पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।१०।१२।५ मा निवेदकको माग वमोजिम नक्सापास गर्न मिल्ने वा नमिल्ने भन्ने वारे जो जे वुझ्नुपर्छ आफैले वुझी यथाशीघ्र नक्सापास सम्वन्धी निर्णय गरी दिनु भनी परमोदशको आदेश जारी भएको र सो आदेश वमोजिम जनकपुर नगरपालिकाका प्रमुख समेतले नक्सापास हुने नहुने सम्वन्धमा निर्णय नगरी जग्गाको स्वामित्व र नक्सापास गराउने अधिकार नपाएको भनी परमादेश मुद्दामा प्रश्न र विवाद उठाएको पाइदा पुनरावेदन अदालतबाट जारी भएको परमादेशको आदेशको विपक्षी जनकपुर नगरपालिका कार्यालयले निसंकोच र वस्तुनिष्ठ आधारमा पालना गरेको नपाइने ।
§ नगरपालिकाका प्रमुखका नाउंमा न्याय र सद्विवेक समेतको आधारमा परमोदशको आदेश वमोजिम गरी दिनु भनी पुनरावेदन अदालत जनकपुरबाट आदेश भएको देखिंदा आफ्नो आदेश पालना गराउन अदालतले त्यस्तो आदेश गर्नु न्यायसम्मत नै देखिंदा सो सदर हुने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकुमार सिंह
विपक्षी निवेदक तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५४।११।३ को फैसला उपर जनकपुर नगरपालिकाका प्रमुख वजरंगप्रसाद साहको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः
२. जनकपुर नगरपालिका वडा नं. ४ मा अवस्थिति हक भोगको हाल कि.नं. ४० को अधुरो घर जग्गामा पारीवारिक निवास स्थान खुल्ला असुरक्षित तथा चाहिने पर्दा पोश नभएकोले घर निर्माण कर्य पुरा गर्न हेतु २०४९।०५० सालमा तला थप गर्नलाई नियमानुसार लाग्ने दस्तुर समेत घरको नक्सा र रीतपूर्वकको निवेदन जनकपुर नगरपालिका कार्यालयमा दाखिल गरी उक्त नक्सा निवेदनमा आवश्यक सवै प्रक्रिया पुरा भई सो नक्सा मिसिल नं. ७१६ मा जनकपुर नगरपालिका प्रमुखको अन्तिम स्वीकृति मात्र वांकी रहेकोमा प्रमुखलाई उक्त नक्सापास गरी दिनका लागि वारम्वार आग्रह गरेको तर निजले नक्सापास वारे निर्णय नगरी निवेदन समेत लिन इन्कार गरेको हुंदा मिति २०५४।५।२० गतेका दिन हुलाकवाट रजिष्ट्री गरी रीतपूर्वकको निवेदनका साथै परमादेश शुरु दे.नं. २१५ को प्रमाणित फोटोकपी पठाएको छु । निजले फैसला आदेशलाई वास्ता नगरी आज सम्म फैसला आदेश वमोजिम निर्णय गरेको छैन । हकदैयायुक्त घर जग्गामा तल्ला थप गरी श्रीसम्पत्ति उपभोग गर्ने जस्ता मेरो नागरिक अधिकारवाट मलाई वंचित राखी उक्त फैसला आदेशलाई वेवास्ता गरी मनमानी गरेकाले जनकपुर नगरपालिका प्रमुखले संविधान कानूनसम्मत पदीय आचरण नगरेकाले निज माथी कारवाही गर्न हेतु संविधान कानूको संरक्षक हेतु यस सम्मानित अदालतमा निवेदन चढाएको छु भन्ने निवेदक राम अशिष चौधरीको मिति २०५४।६।७ गतेको निवेदन ।
३. यसमा के कसो भएको हो ? निवेदकको लेख अनुसार अदालतको अवहेलना आदेशको प्रतिकूल काम गरेको छ छैन ? भएको व्यहोरा खुलाई आदेश प्राप्त भएका मितिले ७ दिन भित्र अदालत समक्ष वयान गर्न उपस्थित हुनु भनी विपक्षीका नाउंमा ७ दिने म्याद जारी गरी निज हाजिर भएपछि वयान गराउन इजलास समक्ष पेश गर्नु उपस्थित नभै म्याद व्यतित भएमा निवेदकले उल्लेख गरेको सम्वन्धित रिट निवेदनको मिसिल समेत साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको २०५४।६।८ को आदेश ।
४. यसमा परमादेश मुद्दामा अदालतले निर्णय गरी पछि निवेदकले जनकपुर नगरपालिकामा निवेदन दिदा नगरपालिका ऐन, २०४८ ले निर्धारण गरेको प्रक्रिया पुरा गरेका वखत कारवाही गर्ने गरी उक्त निवेदन २०५२।४।२२ गतेमा तत्कालीन प्रमुख वृषेश चन्द्रलालले निर्णय गरी सक्नु भएको र सो निर्णय पश्चात कानूनको रीत पुर्याई निवेदन नपरेको र निवेदन परेका वखत तत्कालै निर्णय हुने हुँदा र रीतपूर्वक निवेदनको साथमा प्रमाणका कागजसहित लिई नगरपालिकामा आउनु भएमा हामी नक्सापास गर्न तयार छौं । मैले कुनै किसिमले अदालतको आदेशको अपहेलना गरेको छैन, अदालतको आदेशको सदैव पालना गर्न तत्पर रहेको र रहने हुंदा म उपर अपहेलनामा कारवाही हुनुपर्ने होइन, झुठा निवेदन दिएकोमा विपक्षीलाई नै सजाय गरी पाउं भन्ने प्रतिवादी वजरंगप्रसाद साहको २०५४।७।६ मा पुनरावेदन अदालत जनकपुरमा भएको वयान ।
५. प्रतिवादीलाई साधारण तारेखमा राख्ने र विपक्षीले वयान साथ पेश गरेको २०४९ सालको पु.नं. १५८३ को सम्वन्धमा २०५३।४।२२ मा गरेको भनेको निर्णयको सक्कल मिसिल झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको २०५४।८।१७ को आदेश ।
६. विपक्षी जनकपुर नगरपालिकाका तत्कालीन प्रमुख वृषेश चन्द्रलाल दासले यस अदालतको आदेशको पालना नगरेको देखिन आयो । निज उपर दावी नभएको हुंदा केहि गरिरहन परेन । प्रतिवादी वजरंगप्रसाद साहका पालामा हतपतमा पूर्व निर्णय वमोजिम निर्णयको सूचना सम्म तामेल गराएको देखिन आएता पनि आदेशको प्रत्यक्ष रुपमा अवहेलना गरेको देखिन नआएकोले निजको हकमा निवेदन दावी पुग्न सक्दैन यस अदालतको परमादेशको आदेश वमोजिम निर्णय नगरी निवेदकलाई जनपकुर नगरपालिका आफैले जग्गाको स्वामित्वमा विवाद खडा गरी तथा जग्गाको स्वामित्व समेत हस्तान्तरण गर्न सक्ने गरी अधिकृत वारेसनामामा सवै अधिकार निवेदकले पाएकोमा नक्सापास गराउन अधिकार नपाएको भनी अनावश्यक र विवाद भन्दा वाहिरको अर्थ गरी निवेदकलाई अनावश्यक दुःख हैरानी दिने गरी यस अदालतवाट मिति २०५१।१०।१२।५ मा भएको परमादेशको आदेशको पालना गरेको नदेखिएकोले सो आदेश वमोजिम गरी दिनु भनी विपक्षी जनकपुर नगरपालिका प्रमुखका नाउंमा न्याय र सदविवेक समेतको आधारमा यो आदेश समेत गरी दिने ठहर्छ भन्ने समेत व्यहोराको २०५४।११।३।१ को पुनरावेदन अदालत जनकपुरको आदेश ।
७. पुनरावेदन अदालत जनकपुरले अवहेलनाको ठहर नगरे पनि २०५२।४।२२ मा नगरपालिकाले गरेको निर्णय माथि अनावश्यक टिकाटिप्पणी गरी २०५१।१०।१२।५ मा परमादेशको आदेशको पालना गरेको नदेखिएकोले सो आदेश वमोजिम गरी दिनु भनी जनकपुर नगरपालिकाका प्रमुखको नाममा न्याय र विवेक समेतको आधारमा आदेश गरी दिनु पर्ने ठहर्छ भनी गरेको निर्णय अधिकारक्षेत्रविहिन, अप्रासंगिक र गैरकानूनी भएकोले वदर गरी पाउं भन्ने समेत व्यहोराको जनकपुर नगरपालिकाका प्रमुख वजरंगप्रसाद साहको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
८. नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक जनकपुर नगरपालिका कार्यालयका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री विजयकुमार सिंहले पुनरावेदन अदालत जनकपुरवाट भएको फैसला अधिकार क्षेत्रविहिन, अप्रासंगिक र गैरकानूनी हुंदा वदर हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।
९. उक्त वहस जिकिर एवं मिसिल संलग्न कागजातहरु अध्ययन गरी पुनरावेदन अदालत जनकपुरवाट जारी भएको परमादेशको आदेश पालना नगरेको भनी नगरपालिका प्रमुखका नाउंमा आदेश दिने ठहर्याएको पुनरावेदन अदालत जनकपुरवाट भएको आदेश मिले नमिलेको के रहेछ सो सम्वन्धमा निर्णय दिनु परेको छ । निर्णयतर्फ विचार गर्दा मेरो हक भोगको जग्गामा रहेको घरको तला थप गर्न घरको नक्सा र लाग्ने दस्तुर सहित निवेदन दिन नगरपालिकामा गएकोमा निवेदन समेत लिन इन्कार गरेकोले परमादेशको आदेशको फोटोकपी साथ निवेदन हुलाकवाट पठाएकोमा आजसम्म वास्ता नगरी अदालतको फैसला आदेशलाई वेवास्ता गरी अदालतको अवहेलना गरेकोले जनकपुर नगरपालिकाका प्रमुख माथि कारवाही गरी पाउं भन्ने निवेदन र निवेदन कानूनको प्रक्रिया पुरा गरी नपरेको तत्कालीन प्रमुख वृषेश चन्द्रलालले निर्णय गरी सक्नु भएको र रीत पुर्याई निवेदन परेका वखत नक्सापास गर्न तयार छौ । मैले अदालतको अवहेलना नगरेको हुंदा झुठा निवेदन दिएकोमा निवेदकलाई नै सजाय गरी पाउ भन्ने समेत प्रतिवादी वजरंगप्रसाद साहले पुनरावेदन अदालत जनकपुरमा गरेको वयान व्यहोरा भएको पाइन्छ।
१०. निवेदक दावीको कि.नं. ४० को जग्गामा मुद्दा मामिला गर्न र विक्री वितरण लगायत हक छाडी दिन मिलापत्र आदि गर्न भनी अधिकृत वारिसनामा यी निवेदकलाई आफ्नै वावु प्रेम चौधरीले अधिकार प्रदान गरी सकेको अवस्थामा घरको तला थपी नक्सा पास गराउन अधिकार प्रदान नगरेको भनी जनकपुर नगरपालिका कार्यालयबाट तामेलीमा राख्ने निर्णय गरेको पाइन्छ । पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।१०।१२।५ मा निवेदकको माग वमोजिम नक्सापास गर्न मिल्ने वा नमिल्ने भन्ने वारे जो जे वुझ्नुपर्छ आफैले वुझी यथाशीघ्र नक्सापास सम्वन्धी निर्णय गरी दिनु भनी परमोदशको आदेश जारी भएको र सो आदेश वमोजिम जनकपुर नगरपालिकाका प्रमुख समेतले नक्सापास हुने नहुने सम्वन्धमा निर्णय नगरी जग्गाको स्वामित्व र नक्सापास गराउने अधिकार नपाएको भनी परमादेश मुद्दामा प्रश्न र विवाद उठाएको पाइन्छ । यसरी यस तथ्यबाट पुनरावेदन अदालत जनकपुरबाट जारी भएको परमादेशको आदेशको विपक्षी जनकपुर नगरपालिका कार्यालयले निसंकोच र वस्तुनिष्ठ आधारमा पालना गरेको पाइदैन । यी सवै पक्षहरुको विवेचना गरी जनकपुर नगरपालिकाका प्रमुखका नाउंमा न्याय र सद्विवेक समेतको आधारमा परमोदशको आदेश वमोजिम गरी दिनु भनी पुनरावेदन अदालत जनकपुरबाट आदेश भएको देखिंदा आफ्नो आदेश पालना गराउन अदालतले त्यस्तो आदेश गर्नु न्यायसम्मत नै देखिंदा सो सदर हुने ठहर्छ । सो निर्णय अधिकारक्षेत्रविहीन अप्रासंगिक र गैरकानूनी हुंदा वदर गरी पाउं भन्ने प्रतिवादी नगरपालिका प्रमुख वजरंगप्रसाद साहको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत २०५९ साल फाग्गुण २८ गते रोज ४ शुभम् ... ।