निर्णय नं. ७१९९ - अवण्डा हत्तिनी वण्डा गरी पाउं

निर्णय नं.७१९९ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री रामनगिना सिंह
सम्वत २०५७ सालको दे.पु.नं. ..७०८५
फैसला मितिः २०६०।३।९।२
मुद्दाः अवण्डा हत्तिनी वण्डा गरी पाउं ।
पुनरावेदक
प्रतिवादीः जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं. १० मौजा जदाहरा वस्ने राम लखन कुर्मीको मु.स. गर्ने कैलासी कुर्मी
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वस्ने राम उग्रह कुर्मी
§ वादी प्रतिवादी वीच यस भन्दा अगाडि पनि अंश मुद्दा परी २०४२।३।५ मा मिलापत्र भएको भन्ने देखिन्छ । सो मिलापत्रको व्यहोरा हेर्दा चल सम्पत्ति हाडाभाँडा र घर मिन्ही डिहको जग्गा समेत घरसारमा वांडी लिई सकेको र भारतको सम्पत्ति वादीले प्रतिवादीलाई दिएमा नेपालको सम्पत्ति वादीले पाउने भन्ने समेतको व्यहोरा उल्लेख भई मिलापत्रमा उल्लेखित अचल जग्गाको हक वादीको र अरु नेपालको सम्पत्ति प्रतिवादीकै हुने प्रष्ट रुपमा लेखिएको देखियो । अंश मुद्दामा भएको उल्लेखित मिलापत्र समेतवाट यी वादी प्रतिवादी वीच कुनै सम्पत्ति अंशवण्डा गर्न वाँकी रहे भएको अवस्था नदेखिने ।
(प्र.नं. १३)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम दोहराउने निवेदनमा निस्सा प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
२. वाजे सर्जुका छोरा राजकुमार, अदैवर र शुलाभ, ३ छोरा भएको, अदैवर र सुलाम समेतका सन्तान अघि नै छुटिृ भिन्न भएको । राज कुमारको छोरा म र विपक्षी भएकोमा यिनै प्रतिवादीले म समेत उपर अंश मुद्दाको फिराद दिई मुद्दा चलेकोमा सराकतको सम्पत्ति मध्ये चल भाडावर्तन र जग्गा घर समेतका विवरण खुलाई २०४२।३।५।४ मा मिलापत्र गरेको सगोलको हतिनी १ जिउ मात्र भएकोले भाग वण्डा लगाउने अनुकूल नमिली वण्डा गर्न वांकी रहेको सगोलको सम्पत्ति भएकोले अव हत्तिनीको मोल गरी वण्डा गरौं भन्दा विपक्षीले नमानेकोले रु.१,५०,०००। पर्ने उक्त हत्तिनीको आधा रु.७५,०००। वरावरको वण्डा छुट्याई दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४९।९।१७।६ को राम उग्रह कुर्मिको फिरादपत्र ।
३. मिति २०४२।३।५।४ को मिलापत्रमा कुनै पनि चल सम्पत्ति वण्डा गर्न पर्ने वांकी रहेको भन्ने उल्लेख छैन । हत्तिनी वण्डा गर्न छुटेको भए अनिवार्य रुपले अवण्डा भनी लेख्नु पर्ने सो नभएको सो मिलापत्र पनि हात्ती हराएको र सो हात्तीको धनी म मात्र भएकोले तलास गरी जि.प्रहरी कार्यालयवाट मिति २०४७।११।१९।१ मा वुझी लगेको र नारायणी सफारी होटल चितवनमा वहालमा दिएको छु । सम्पत्ति वण्डा हुंदा १२ वोरको १ नाले वन्दुक र रु.१५,०००। नगद विपक्षीले लिई हत्तिनी मेरो भागमा परेको हुंदा वादीलाई वण्डा गर्नुपर्ने होइन । दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको मिति २०५०।१।२।४ को राम लखन कुर्मीको प्रतिउत्तर पत्र ।
४. शुरुको आदेशानुसार वुझिएका वादीका साक्षी सूर्य नारायण कर्ण, राम आधारे मिश्र र प्रतिवादीका साक्षी वद्रिप्रसाद कान्हु, प्रमात्मालाल श्रीवास्तवले गरेको वकपत्र मिसिल सामेल रहेछ ।
५. २०४२।३।५।४ मा मिलापत्र भएको अंश मुद्दा पर्दाको अवस्थामा विवादको हत्तिनी वण्डा नलागी अवण्डा भै रहेको देखिंदा विवादित हत्तिनी जिवीत भै भौतिक रुपमा वण्डा गर्न नमिल्ने हुंदा त्यसवाट आर्जन हुने अंशवाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेतको कपिलवस्तु जिल्ला अदालतको २०५२।२।१४ को फैसला ।
६. मेरो प्रतिउत्तर जिकिर, मिलापत्र एवं साक्षीको वकपत्र समेतवाट समर्थित भइरहेको सो को मूल्यांकन नगरी शुरु फैसला त्रुटिपूर्ण हुंदा वदर गरी इन्साफ पाउं भन्ने समेतको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन जिकिर ।
७. २०४० सालको दे.नं. ७७७ को अंश मुद्दामा मिति २०४२।३।५ मा भएको मिलापत्रमा अचल सम्पत्ति वादीले लिई सकेको भन्ने उल्लेख भई हात्ती अवण्डा रहेको भन्ने नभएको अवस्थामा वण्डा पाउने ठहर्याएको शुरु फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेतको पुनरावेदन अदालतको मिति २०५३।२।३१ को आदेश ।
८. यसमा विवादको हत्तिनी के कसरी कहिले देखि प्रतिवादीको स्वामित्वमा आएको हो सवै व्यहोरा खुलाई अ.वं. १३३ नं. वमोजिम वादी प्रतिवादीको कागज गराई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५३।६।२२ को आदेश ।
९. यसमा मिसिल संलग्न आधार प्रमाणहरुलाई मध्यनजर राखी अवण्डाको सम्पत्ति देखिएकोले वादीले दावी गरे वमोजिम २ भागको १ भाग वण्डा पाउने ठहराई गरेको कपिलवस्तु जिल्ला अदालतले मिति २०५२ साल जेष्ठ १४ गते गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत वुटवलको मिति २०५३।९।१० को फैसला ।
१०. अंश मुद्दाको मिलापत्रमा केही वण्डा भएको केही वांकी रहेको भन्ने समेत केही उल्लेख नभएको अवस्थामा उक्त मिलापत्रमा समष्टिरुपमा व्याख्या गर्न पर्नेमा कुनै विचार नगरी अंशवण्डा भई सकेको सम्पत्तिलाई अंशियार वीच पुनः वण्डा गराउने गरी गरिएको फैसला कानून विपरीत छ । मेरो वारेसले समेत प्रष्ट रुपमा अवण्डाको सम्पत्ति भनेको छैन । हत्तिनी मेरो भागमा परेको हुंदा शुरु र पुनरावेदन अदालतको इन्साफ उल्टाई पाउं भनी प्रतिवादीले यस अदालतमा मुद्दा दोहोराई पाउं भनी दिएको निवेदन ।
११. यसमा चल सम्पत्ति अघि नै वण्डा लिई दिई सकेको भनी मिलापत्र भएकोवाट हात्ती पनि चल सम्पत्ति नै मान्नु पर्ने हुंदा हात्तीलाई आधि आधि वण्डा गर्ने भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५३।९।१० को निर्णयमा रजिष्ट्रेशनको महलको १ नं. को व्याख्यात्मक त्रुटि विद्यमान हुंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान गरिएको यस अदालतको मिति २०५७।१।३० को आदेश ।
१२. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दासंग सम्वन्धित सम्पूर्ण मिसिल कागजात हेरी पुनरावेदक प्रतिवादी राम लखन कुर्मीको तर्फवाट विद्वान अधिवक्ता श्री होमनाथ ढुंगानले २०४२।३।५ मा अंश मुद्दामा मिलापत्र हुंदा कुनै पनि चल सम्पत्ति वण्डा गर्न वांकी रहेको भन्ने उल्लेख छैन । सो हत्तिनी समेत अवण्डा भनी उल्लेख नभएको कारण वण्डा गर्नुपर्ने सम्पत्ति मध्येको होइन भनी गर्नु भएको वहस समेत सुुनियो । प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी राम खलन कुर्मीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने कुराको इन्साफ गर्नुपर्ने देखिन आयो ।
१३. इन्साफतर्फ विचार गर्दा सगोलको सम्पत्ति मध्ये विवादित हत्तिनी वण्डा गर्न वांकी रहेको सम्पत्ति मध्येको भएको हुंदा सो हत्तिनी वण्डा छुट्याई पाउन फिराद परेकोमा अघि परेको अंश मुद्दामा मिलापत्र हुंदा समेत हत्तिनी वण्डा गर्न वांकी भन्ने देखिदैन । वण्डा हुंदा हत्तिनी वादीको भागमा परेको नभै आफ्नो भागमा परेको र त्यस वापत वादीले १२ वारेको १ नाले वन्दुक अंश वापत पाएको भन्ने प्रतिवाद भएको प्रस्तुत मुद्दामा शुरुले विवादित हत्तिनी वण्डा लगाएको नदेखिंदा सो वाट हुने आर्जनको २ भागको १ भाग वादीले पाउने ठह्याएकोमा पुनरावेदन अदालत समेतले सो इन्साफ सदर गरेमा चित्त नवुझाई प्रतिवादीले यस अदालतमा पुनरावेदन गरेको पाइयो । पुनरावेदन जिकिर अनुसार हुनुपर्ने हो होइन भन्ने तर्फ विचार गर्दा यी वादी प्रतिवादी अंशियार रहेकोमा विवाद देखिएन । विवादको रुपमा रहेको हत्तिनीमा आफ्नो पनि एक भाग लाग्नु पर्ने भनी वादीले दावी लिएकोमा सो हत्तिनी आफ्नो मात्र हक भोगके हो भनी प्रतिवादीले जिकिर लिएको हुंदा प्रस्तुत अंश मुद्दामा विवादको रुपमा सो हत्तिनी रहेको पाइयो । मिसिल संलग्न कागजात हेर्दा यी वादी प्रतिवादी वीच यस भन्दा अगाडि पनि अंश मुद्दा परी २०४२।३।५ मा मिलापत्र भएको भन्ने देखिन्छ । सो मिलापत्रको व्यहोरा हेर्दा चल सम्पत्ति हाडाभाँडा र घर मिन्ही डिहको जग्गा समेत घरसारमा वांडी लिई सकेको र भारतको सम्पत्ति वादीले प्रतिवादीलाई दिएमा नेपालको सम्पत्ति वादीले पाउने भन्ने समेतको व्यहोरा उल्लेख भई मिलापत्रमा उल्लेखित अचल जग्गाको हक वादीको र अरु नेपालको सम्पत्ति प्रतिवादीकै हुने प्रष्ट रुपमा लेखिएको देखियो । अंश मुद्दामा भएको उल्लेखित मिलापत्र समेतवाट यी वादी प्रतिवादी वीच कुनै सम्पत्ति अंशवण्डा गर्न वाँकी रहे भएको अवस्था देखिदैन । विवादित हत्तिनी अंशवण्डा गर्न वाँकी अवण्डा सम्पत्ति मध्येको हो भन्ने कुरा पनि कुनै लिखत प्रमाणवाट पुष्टि हुन सकेको अवस्था समेत पाइएन । यसरी अंशवण्डाको ३५ नं. वमोजिमको अवस्था नै नदेखिएको हुंदा शुरु कपिलवस्तु जिल्ला अदालतको हत्तिनीवाट आर्जन हुने सम्पत्ति वण्डा गर्ने गरेको इन्साफ सदर गरेको मिति २०५३।९।१० को र कपिलवस्तु जिल्ला अदालतको इन्साफ समेत उल्टी भई वादी दावी नपुग्ने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु तथा पुनरावेदन अदालतको इन्साफ उल्टी भई वादी दावी नपुग्ने ठहरेको हुंदा शुरु कपिवस्तु जिल्ला अदालतको इन्साफको तपसिल खण्डको देहाय १, २ र ३ नं. ले राखेको लगत कायम रहन नसक्ने भएको हुँदा कटृा गरी दिनु भनी शुरुमा लेखी पठाई दिनु ..१
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु पुनरावेदन अदालतको इन्साफ उल्टी भई वादी दावी नपुग्ने ठहरेको हुंदा वादीले र.नं. ४५९२ वाट मिति २०४९।९।१७ मा शुरु कपिलवस्तु जिल्ला अदालतमा राखेको कोर्ट फि १६३४।१७ सदरस्याहा गर्नु भनी शुरुमा लेखी पठाई दिनु ... २
शुरु तथा पुनरावेदन अदालतको इन्साफ उल्टी भई वादी दावी नपुग्ने ठहरेको हुंदा प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा शुरु कपिलवस्तु जिल्ला अदालत मार्फत र.न. ४७६ वाट मिति २०५२।३।१६ मा राखेको धरौटी रकम फिर्ता पाउने हुंदा प्रतिवादीको दर्खास्त परे सो धरौटी रकम केही दस्तुर नलिई निजलाई फिर्ता दिनु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाई दिनु .. ३
दायरीको लगत काटी मिसिल नियमानुसार गरी वुझाई दिनु .. ४
उक्त रायमा सहमत छु ।
न्या.रामनगिना सिंह
इति सम्वत २०६० साल असार ९ गते रोज २ शुभम .. ।