निर्णय नं. ७२०१ - घर भत्काई खिचोला मेटाई चलन

निर्णय नं.७२०१ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५६ सालको दे.पु.नं. ... ६१३९
फैसला मितिः २०६०।५।१५।२
मुद्दाः – घर भत्काई खिचोला मेटाई चलन ।
पुनरावेदक
प्रतिवादीः जिल्ला रुपन्देही वुटवल न.पा. वडा नं. ५ वस्ने तुल्सीराम घिमिरे
विरुद्ध
विपक्षी
वादीः जिल्ला कपिलवस्तु तौलिहवा न.पा.वडा नं. २ वस्ने मोतीलाल पौडेल
§ जुनसुकै मुद्दामा हदम्याद सम्वन्धी प्रश्नले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नगरपंचायत क्षेत्रमा फिराद दावी अनुसार प्रतिवादीले निजको जग्गा चापी २०४४ सालमा घर वनाउन थालेको भए सम्वन्धित नगरपंचायतमा नगरपचायत ऐन, २०१८ को दफा ४८ अनुसार मौकामा उजुरी गरी घर वनाउन रोक्का पनि गरेको नदेखिंदा वादीको फिराद दावी मुलुकी ऐन घर वनाउनेको महलको ११ को हदम्याद नाघी दायर भएको देखिंदा सो फिराद दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने ।
(प्र.नं. १६ र १७)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम मुद्दा दोहोर्याई दिए अनुसार पुनरावेदन दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ : –
२. जिल्ला रुपन्देही वुटवल नगरपालिका वडा नं ५ कि.न. २७५ को क्षेत्रफल ०–०–१० जग्गा उमा शंकर चौधरीवाट मिति २०३४।४।९ मा छोडपत्र पारित गरी लिएको मिति २०४४।९।१० गते मेरो जग्गाको उत्तर पश्चिम तर्फवाट विपक्षी तुल्सीराम घिमिरेले अ.पुर्व पश्चिम लम्वाई २० फिट उत्तर दक्षिण चौडाई १२ फिट भएको जग खनी घर वनाउन शुरु गरेको कुरा साक्षी मध्ये त्रिलोचन वस्यालले खवर पठाएको र वुटवल आई जग्गा हेर्दा १ फिट गाह्रो उठाई सकेको र उक्त वनाउन लागेको घर नाप नक्सा गर्दा पूर्व पश्चिम लम्वाई २० फिट मध्ये १५ फिट र उत्तर दक्षिण चौडाई १२ फिट मेरो जग्गा मिची २०४४।९।२१ गते पक्की घर तयार गरी दक्षिण किनारामा २०४४।९।२२ मा पाइखाना वनाई ऐ २३ गते पाइखाना समेतलाई भित्र पारी अढाई फिट अग्लो ढुगाको पर्खाल लगाई मेरो जग्गाको पश्चिम तर्फवाट पूर्व पश्चिम चौडाई १५ फिट उत्तर दक्षिण १२ फिट जग्गामा घर पाईखाना र पर्खाल वनाई हटक खिचोला गरेकोले घर भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दावी ।
३. विपक्षीले दावी लिनु भएको जग्गा कुनै व्यक्तिको स्वामित्व नभएको सार्वजनिक वाटो घाटो डहर जग्गा हो सो जग्गा विपक्षी र उमा शंकरले आफ्नो स्वामित्वमा ल्याएको कुरा फिरादपत्रको व्यहोरालाई अवगत गर्दा म आश्चर्य चकित भएको छु । विपक्षीले दर्ता गराएको जग्गा निजकै स्वामित्वको ठहरिएमा पनि विपक्षीको जग्गा मिची मैले घर पाइखाना समेत वनाएको छुइन । मेरो आफ्नै जग्गा कि.नं १२२ को २ कठ्ठा जग्गा भित्र वनाएको छु, सो घर २०२१ सालमा मेरो जग्गामा सव भन्दा पहिला वनाएको घर हो । घर पाइखाना र गाह्रो समेत ०४४ सालमा वनाएको होइन । वादीको दावी सरासर झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. वादीको साक्षी प्रेमप्रसाद शर्मा (ढकाल), प्रतिवादीको साक्षी हरिप्रसाद उपाध्यायले गरेको वकपत्र मिसील सामेल रहेको ।
५. मिति२०४५।११।२८ को नाप नक्सा मुचुल्का मिसील सामेल रहेको ।
६. मिति २०४६।९।९ को आदेशानुसार मिति २०४७।३।२१ मा नाप नक्शा मुचुल्का भएको ।
७. वादीको जग्गा प्रतिवादीले खिचोला गरेको ठहर्छ । सो ठहर्नाले वादी दावी वमोजिम घर भत्काई खिचोला मेटाई चलन समेत चलाई पाउने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५०।९।२६ को फैसला ।
८. शुरु रुपन्देही जिल्ला अदालतवाट वादी दावी वमोजिम खिचोला गरेको ठहराई घर भत्काई खिचोला मेटाई चलन चलाई पाउने ठहराई भएको फैसला उपर चित्त वुभेन । वादीको फिराद दावी हदम्याद भित्र नपरी हदम्याद नघाई दर्ता भएकोमा हदम्यादतर्फ कुनै जिकिर नगरी विवादित नक्सा मुचुल्काको आधारमा भएको शुरुको फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर ।
९. मिसील संलग्न रहेको सवै नकसामा प्रतिवादीको कि.नं १२२ को जग्गाको पुर्वमा कि.नं १७५ भएकोमा अदालतवाट मिति २०४६।३।२१।५ मा भई आएको नक्सा मुचुल्कामा वादी प्रतिवादीको विवाद देखिएको नं.नं. ९, १९, ११, १२ को जग्गा र पाइखाना प्रतिवादीको निर्विवाद देखिएको नं.नं. ५ को दक्षिणमा देखिंदा नं.नं १४ को कि.नं २७५ प्रतिवादीको भनी उल्लेख भएको अवस्थामा उक्त नं.नं १४ देखि पश्चिममा देखिएको नं.नं. ९, १०, ११, १२ मा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु फैसला नमिली फरक पर्न सक्ने हुँदा अ.व.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ वमोजिम प्रत्यर्थीलाई छलफलमा झिकाई आए वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको आदेश ।
१०. जिल्ला रुपन्देही वुटवल नगरपालिका वडा नं ५ कि.नं २७५ को ज.वि.०–०–१० जग्गामा विपक्षीले पूर्व पश्चिम लम्वाई २० फिट मध्ये १५ फिट र उत्तर दक्षिण चौडाई ७२ फिट मेरो जग्गा मिची घर वनाई दक्षिण किनारामा पाइखाना र पर्खाल वनाई हटक खिचोला गरेकोले घर भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद भएकोमा फिराद दावी झुठ्ठा हो फिराद दावीको विवादित जग्गा सार्वजनिक जग्गा हो । मैले आफ्नै जग्गामा घर वनाएको हुँदा झुठ्ठा दावी वाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर भएकोमा वादी दावी वमोजिम खिचोला गरेको ठहराई घर भत्काई खिचोला मेटाई चलन चलाई पाउने ठहराई भएको शुरुको फैसला उपर हदम्यादको सम्वन्धमा कुनै विचार नगरी विवादित नक्साको आधारमा भएको शुरुको फैसला मिलेन भन्ने व्यहोराको पुनरावेदन जिकिर देखियो । मिसिल वाट प्रतिवादीले वादीको दर्ता सम्वन्धमा केही भन्न सकेको देखिदैन भन्ने वादीको जग्गा कहाछ सो प्रतिवादीले देखाउन सकेको पाइदैन । पुनरावेदकले हदम्याद सम्वन्धमा जिकिर लिएकोमा सो को पुष्टि हुने प्रमाण पुनरावेदन साथ पेश गरेको देखिदैन । अतः माथि उल्लेख भए अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको समेत रुपन्देही जिल्ला अदालतको ०५०।९।२६।२ को फैसला मिलेको देखिंदा मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५६।६।६।१ को फैसला ।
११. मैले आफ्नु प्रतिउत्तरमा विपक्षी वादीले दावी गरेको जग्गा सम्पूर्ण डहर अर्थात वाटो हो भन्ने उल्लेख गरेको छु । सर्भेको नक्सामा विपक्षीले खरिद गरी लिएको कित्ता नम्वरको जग्गा देखिंन्छ भने सो को लम्वाई चौडाई क्षेत्रफल कति हो र कुन तर्फवाट कति जग्गा कसरी मिचिन गयो वा नापी नक्सामा उल्लेख भए अनुसारको दर्ताको क्षेत्रफल घटि वढी छ छैन सो को सवूद प्रमाण वुझी ठहर्याउने जिम्मेवारी स्वयँ अदालतको हो । सर्भे नापीको नक्सा नभएको भए मात्र विपक्षीको जग्गा देखाउने जिम्मेवारी म प्रतिवादीको हुन जान्छ, जव सर्भे नक्सावाटै विपक्षीले दावी लिएको निजको दर्ता भनिएको जग्गा छुटिन्छ र मैले विपक्षीको भनेको जग्गालाई डहर (वाटो) हो भनी प्रतिउत्तरपत्रमा देखाउंदा देखाउंदै पनि जग्गा देखाउन नसकेको भन्ने वुँदामा प्रमाणको रुपमा आकर्षित हुन सक्दैन । किनभने प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार आफ्नु दावीलाई प्रमाणित गर्ने भार वादीकै हुन्छ । दर्ता श्रेस्ता नै गलत किसिमवाट यदि कायम भएको भए पनि सो अनुसार विपक्षीको नपुग भएको जग्गा दिलाउने देखाउने मेरो जिम्मेवारी हुन सक्दैन । तसर्थ पुनरावेदन अदालत वुटवलले शुरुको सदर गरेको फैसला त्रुटीपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) अनुसार मुद्दा दोहोर्याई न्याय पाउँ भन्ने निवेदन जिकिर ।
१२. यसमा २०३२ सालमा नै घर वनिसकेको भन्ने प्रतिउत्तर जिकिर भै वैंकमा घितो राखेको प्रमाण समेत पेश गरेको देखिन्छ । फिराद व्यहोरामा मिति २०४४।९।२१ मा घर पाइखाना वनि सकेको भन्ने उल्लेख भएको तर सो को तथ्ययुक्त प्रमाण भने भएको नदेखिएको अवस्था देखिन्छ । प्रतिउत्तर जिकिर वमोजिमको आधारवाट २०३२ सालमा नै घर वनिसकेको भन्ने देखिन आएको छ । यस स्थितिमा २०४५।३।५ मा परेको फिराद घर वनाउनेको ११ नं. को हदम्याद नाघी परेको देखिन आउने र साथै शुरु तथा पुनरावेदन अदालत समेतको फैसलामा अ.व. १८४ (.क) मा व्यवस्था भए वमोजिम फैसलामा आधार वुँदाहरु समेतको अभाव रहेको देखियो । अतः उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) समेतको आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५६।९।२१।४ को आदेश ।
१३. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फवाट रहनुभएका विद्वान अधिवक्ता श्री सिताराम तिवारीले मेरो पक्षले नेपाल राष्ट्र वैंकको कर्मचारी भएकोले घर सापटी सुविधा ऋणवाट वुटवल खस्योली नगर पंचायतवाट २०३२।७।१२ मा स्वीकृति पाए वमोजिम नेपाल राष्ट्र वैंकवाट २०३३।१।१४ मा घर सापटी निकासा भै २०३३ वैशाख देखि घर वनाउन शुरु गरी २०३३ पौषमा पक्की घर तयार भइसकेकोमा २०४४ सालमा घर वनाएको भनी वादी दावी वमोजिम जग्गा खिचोला गरी घर भत्काउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी शुरु प्रतिउत्तर वमोजिम इन्साफ गरी पाउँ भन्ने गर्नु भएको वहस समेत सुनि वादी दावी वमोजिम शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के हो ? सोही सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।
१४. यसमा निर्णयतर्फ विचार गर्दा, वुटवल नगरपंचायत वडा नं. ५ कि.नं २७५ को ०–०–१० दश धुर जग्गा पूर्व पश्चिम २० फिट मध्ये १५ फिट र उत्तर दक्षिण चौडाई १२ फिट जग्गामा मिति २०४४।९।१० गते विपक्षी तुल्सीराम घिमिरेले आफ्नो जग्गा समेतमा मिलाई भिडाई भान्सा घर र पाइखाना वनाई आफ्नो घर भित्र पार्न अढाई फिट अग्लो ढुगाँको पर्खाल समेत लगाई मेरो जग्गा खिचोला गरेकोले उक्त घर पाइखाना भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादी दावी र मैले आफ्नै जग्गा कि.नं १२२ को ०–२–० दुई कठ्ठा भित्र घर पाईखाना २०२९ सालमा अस्थायी वनाई २०३३ सालमा उल्लेखित जग्गा नेपाल राष्ट्र वैंकमा धितो राखी पटक पटक गरी २०३३ साल भित्र वनाएको घर पाइखाना २०४४ सालमा वनाएको होइन । वादीले दावी गरेको जग्गा डहर हो । तसर्थ वादी दावी झुठ्ठा हुँदा फुर्सद गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर अनुसार पुनरावेदक प्रतिवादीले प्रतिउत्तरको प्रमाण खण्डमा उल्लेख गरे अनुसार दोहोर्याई पाउँ निवेदन साथ संलग्न रहेको नेपाल राष्ट्र वैंकको नाउँमा पारित गरी दिएको मिति २०३४।६।२५ को दृष्टिवन्धकी लिखत वुटवल खस्यौली पंचायत कार्यालयवाट लिएको मिति २०३०।४।२० को अस्थायी घर वनाउने इजाजत पत्रवाट वादी दावीमा उल्लेखित कि.नं १२२ को ०–२–० जग्गा भित्रै प्रतिवादी तुल्सीराम घिमिरेले वादीकै दाता शंकर चौधरीकै पालामा घर वनाई सकेको देखिन्छ । सो जग्गामा पक्की घर वनाउन प्रतिवादीले मिति २०३२।७।१२ को वुटवल खस्यौली नगरपंचायतवाट नक्सा स्वीकृत पाई २०३३।१।१४ मा नेपाल राष्ट्र वैंकवाट कर्मचारी आवास सुविधा ऋण साप्टी स्वीकृत पाई पटकपटकको ऋण निकासा वाट २०३३ साल चैत्र मसान्त भित्र घर वनाई सकेको देखिन्छ। २०४४ सालमा घर वनाएको कुरा वादी लेख अनुसार कतैवाट पनि प्रमाणित एवं समर्थित भएको देखिन आएन । रुपन्देही जिल्ला अदालतवाट भै आएको मिति २०४५।११।२८ को नक्सा अनुसार वादीको जग्गाको कि.नं. २७५ को क्षेत्रफल घटेको र प्रतिवादीको जग्गा कि.नं. १२२ को क्षेत्रफल वढेको आधारमा फिराद दावी अनुसार खिचोला गरेको ठहर भई घर भत्काउने फैसला भएको देखियो ।
१५. घर वनाउनेको १ नं मा रहेको कानूनी व्यवस्था हेर्दा घर वनाउदा आफ्नो हक नपुग्ने जग्गा मिची घर वनाउन हुदैन । घर वनाउँदा वलेनी अर्काको जग्गामा परे जग्गाधनीले रोक्न हुदैन । जग्गाधनीले त्यसै जग्गामा तला उठायो वा घर वनायो भने त्यो वलेनी काटी वनाउन पाउँछ । काट्न नदिई रोक्न हुदैन भन्ने उल्लेख भएको र ऐजनकै ११ मा जग्गा मिची घर वनाएकोमा घर तैयार भएको मितिले एक वर्ष भित्र नालेश नदिए लाग्न सक्तैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
१६. जुनसुकै मुद्दामा हदम्याद सम्वन्धी प्रश्नले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नगरपंचायत क्षेत्रमा फिराद दावी अनुसार प्रतिवादीले निजको जग्गा चापी २०४४ सालमा घर वनाउन थालेको भए सम्वन्धित नगर पंचायतमा नगर पचायत ऐन, २०१८ को दफा ४८ अनुसार मौकामा उजुरी गरी घर वनाउन रोक्का पनि गरेको पनि देखिएन ।
१७. अतः वादीको फिराद दावी मुलुकी ऐन घर वनाउनेको महलको ११ को हदम्याद नाघी दायर भएको देखिंदा सो फिराद दावी अ.वं. १८०नं. वमोजिम खारेज हुने ठहर्छ । हद म्याद नाघी दायर भएको फिराद खारेज गर्नु पर्नेमा सो वमोजिम नगरी फिराद दावी अनुसार घर भत्काई खिचोला मेटाई चलन समेत चलाई दिने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको मिति २०५६।६।६।१ को फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादी दावी खारेज हुने ठहरेकोले वादीलाई शुरु जिल्ला अदालतले प्रतिवादीवाट भराई दिने गरेको कोर्ट फि रु ८०। पुनरावेदक प्रतिवादीले पुनरावेदन गर्दा रुपन्देही जिल्ला अदालत मार्फत मिति २०५१।१।२७ मा र.नं. ९०३५ वाट धरौटी राखेको देखिएको र सो धरौटी प्रतिवादीले फिर्ता पाउने हुँदा निजको सो कोर्ट फि वापतको धरौटी रकम फिर्ता पाउँ भन्ने दरखास्त परे दस्तुर नलिई फिर्ता दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ..... १
पुनरावेदक प्रतिवादीले २०५१।१।२७ मा पुनरावेदन अदालत वुटवलमा पुनरावेदन गर्दा रुपन्देही जिल्ला अदालत मार्फत राखेको कोर्ट फि रु १२। र यस अदालतमा २०५६।१०।२५ मा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु १२। समेत गरी जम्मा रु.२४। वादीवाट भराई पाउने हुँदा सो कोर्ट फि वादीवाट भराई पाउँ भनी वादीको जेथा देखाई प्रतिवादीको दरखास्त पर्न आए कानूनको रीत पुर्याई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ........ २
डायरीको लगत कट्टा गरी मिसिल नियम वमोजिम वुझाई दिनु ........... ३
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०६० साल भाद्र १५ गते रोज २ शुभम............. ।