शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२०३ - परमादेश

भाग: ४५ साल: २०६० महिना: असार अंक:

निर्णय नं.७२०     ने.का.प.२०६० अङ्क ३.४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री रामनगिना सिंह

सम्वत् २०६० सालको दे.पु.नं. ..७७६९

फैसला मितिः २०६०।२।१९।२

 

मुद्दाःपरमादेश ।

 

पुनरावेदक

निवेदकः जिल्ला वांके वेलमार गा.वि.स. वार्ड नं. १ वस्ने दुवर कर्मी

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः जिल्ला वांके वेलमार गा.वि.स. का अध्यक्ष हौसीलाल कुर्मी समेत

 

§  प्रत्यर्थीले निवेदकको नाता प्रमाणित गरी दिन इन्कार गरेको भन्ने देखिन नआई कारवाहीमा प्रक्रियागत कुरा पुरा गर्न केहि समय लाग्न गएको भन्ने सम्म जिकिर लिएको देखिन्छ । कारवाहीमा अस्वभाविक रुपमा विलम्व गरेको    भन्ने देखिन नआई कानूनको प्रक्रिया पुरा गर्न केहि समय लाग्न स्वभाविकै हुंदा माग वमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नदेखिंदा परमादेश जारी गरी पाउ भन्ने निवेदकको प्रस्तुत निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको आदेश मिलेको देखिदा सदर हुने ।

(प्र.नं. ८)

 

पुनरावेदक निवेदक तर्फवाटः

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत नेपालगंजवाट भएको मिति २०५८।९।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ ।

            २.    वादी वाकेलाल कुर्मी विरुद्ध प्रतिवादी मोहनलाल कुर्मी भएको दे.नं. १७९२ को लेनदेन मुद्दा वांके जिल्ला अदालतमा चलिरहेको अवस्थामा निज दाजु मोहनलाल कुर्मीको २०५८।५।१२ मा मृत्यु भएपछि उक्त मुद्दा सकार गर्न नाता प्रमाणितको लागि विपक्षीहरु संग जांदा आलटाल गरी नाता प्रमाणित गरी नदिएकाले विपक्षीहरुको उक्त कार्यवाट म निवेदक मुद्दा सकार गरी मुद्दा पुर्पक्ष गर्ने अधिकारवाट वंचित भएको छु । स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा २९(१)(छ) वमोजिम गा.वि.स. को अध्यक्षले गर्नुपर्ने उक्त कार्य नगरेको हुंदा म निवेदकलाई नाता प्रमाणित गरी दिनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरी पाउं भन्ने रिट निवेदन ।

            ३.    यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिम परमादेशको आदेश किन जारी हुनु नपर्ने हो सो को आधार प्रमाण र कारण भए म्याद सूचना प्राप्त भएको मितिले वाटाको म्याद वाहेक १५ दिन भित्र आफै वा वारेस वा कानून व्यवसायी मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि वा अवधि नाघेपछि कानून अनुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगंजको मिति २०५८।६।२१ को आदेश ।

            ४.    हामीहरुले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा २९(१)(छ) को कसूर गरेको नभै सोही कानूनी व्यवस्थाको आधारमा सम्वद्ध कुरा वुझी सिफारिश दिन मिल्ने नमिल्ने सम्वन्धमा आवश्यक कानूनी कारवाही गरी रहेका अवस्थामा आवश्यक कानूनी कारवाहीको प्रक्रिया पुरा गर्नु अघि नै विपक्षीले झुठो निवेदन दिएको अवस्था र आवश्यक कुरा वुझ्दैमा विपक्षीको किुनै हक अधिकारमा समेत आघात नपरेको हुंदा झुठा निवेदन खारेज गरी हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको गा.वि.स. कार्यालय वेलमार र ऐ. का अध्यक्ष हौसिलाल कुर्मीको लिखत जवाफ ।

            ५.    निवेदकलाई नाता प्रमाणित गर्न इन्कार गरेको मनसाय नदेखिई केवल प्रक्रियागत कुराको सम्पादनले गर्दा विलम्व भएको परिप्रेक्ष्यमा निवेदन माग अनुसार परमादेश जारी गर्न आवश्यक नपर्नाले निवेदन खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत नेपालगंजको मिति २०५८।९।५ को आदेश ।

            ६.    नाता प्रमाणित गर्नु गा.वि.स. अध्यक्षले प्रक्रियागत कुराको सम्पादनले गर्दा विलम्व भएको तर कुन कारणवाट, कुन नियम कानुनको प्रक्रिया पुर्याउनु पर्ने हो सो को पुष्टि लिखित जवाफमा गर्न सकेको छैन । आफ्नु कानूनी कर्तव्य विपक्षीले पुरा नगरे समेतवाट निवेदन खारेज गरेको आदेश त्रुटिपूर्ण हुंदा सो आदेश वदर गरी सिफारिश गरी दिनु भनी परमादेश जारी गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

            ७.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालजंगले गरेको आदेश मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।

            ८.    निर्णयतर्फ विचार गर्दा वाँके जिल्ला अदालतमा चलेको लेनदेन मुद्दामा मुद्दा सकार गर्नको लागि नाता प्रमाणितको लागि विपक्षीले आलटाल गरी मुद्दा सकार गर्ने अधिकारवाट वंचित भएकोले नाता प्रमाणित गरी दिनु भनी विपक्षीको नाममा परमादेश जारी गरी पाउं भन्ने मुख्य निवेदन जिकिर र नाता सिफारिश दिन आवश्यक कानूनी कारवाहीको प्रक्रिया पुरा गर्नु अघिनै रिट निवेदन दिएको हो रिट निवेदन खारेज गरी पाउं भन्ने समेत लिखित जवाफ रहेकोमा प्रक्रिया पुरा गर्न विलम्व भएको परिप्रेक्ष्यमा परमादेश जारी गर्न आवश्यक नपर्ने भई निवेदन खारेज गरेको पुनरावेदन अदालतको आदेश उपर पुनरावेदकको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । विपक्षीले निवेदकको माग वमोजिम नाता प्रमाणित गर्न इन्कार गरेको नभई प्रचलित कानूनी व्यवस्थाको आधारमा सम्वद्ध कुरा वुझी कारवाही प्रक्रियामा रहेको आवश्यक कानूनी प्रक्रिया पूरा गर्नु अघि नै निवेदकले प्रस्तुत निवेदन दिएको भनी विपक्षीहरुको लिखित जवाफवाट देखिन्छ । सो सम्वन्धमा पुनरावेदकले आफ्नु पुनरावेदनमा समेत अन्यथा भन्न   सकेको देखिदैन । यसरी प्रत्यर्थीले निवेदकको नाता प्रमाणित गरी दिन इन्कार गरेको भन्ने देखिन नआई कारवाहीमा प्रक्रियागत कुरा पुरा गर्न केहि समय लाग्न गएको भन्ने सम्म जिकिर लिएको देखिन्छ । कारवाहीमा अस्वभाविक रुपमा विलम्व गरेको भन्ने देखिन नआई कानूनको प्रक्रिया पुरा गर्न केहि समय लाग्न स्वभाविकै हुंदा माग वमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नदेखिंदा परमादेश जारी गरी पाउ भन्ने निवेदकको प्रस्तुत निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको आदेश मिलेको देखिदा सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । पुनरावेदक सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ५९ वमोजिम तारेखमा नरहने गरी पुनरावेदन गरेको हुंदा फैसलाको जानकारी पुनरावेदकलाई पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामनगिना सिंह

 

इति सम्वत २०६० साल जेष्ठ १९ गते रोज २ शुभम् ... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु