शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२०५ - अंश नामसारी

भाग: ४५ साल: २०६० महिना: असार अंक:

निर्णय नं.७२०     ने.का.प.२०६० अङ्क ३.४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

सम्वत् २०५५ सालको दे.पु.नं. .. ५०८६

फैसला मितिः २०५९।१२।१४।६

 

मुद्दा : अंश नामसारी ।

         

पुनरावेदक

वादीः जिल्ला नवलपरासी बदौली गा.वि.स. वार्ड नं.५ बेतहानी बस्ने झल्लु भरको छोरा बिपत भर

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ऐजन  बदौली गा. वि. स. वार्ड नं.५ बस्ने बिन्दरावती भर

 

§  वादी प्रतिवादी बीच रीतपूर्वकको अंशवण्डाको लिखत नभएको एवं बिक्री ब्यवहार समेत नभएको अवस्थामा केवल भूमि सम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि १ नं. र ७ नं. अनुसूची भरकै आधारमा अंश  बण्डाको महलको ३० नं. बमोजिमको ब्यवाहार प्रमाणबाट छुट्टी भिन्न भएको भनी अंश जस्तो नैसर्गिक हकलाई संकुचित पार्नु न्यायोचित   नदेखिने ।

(प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फवाटः

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५५।२।२४ को फैसला उपर न्याय प्रशासन एन, २०४८ को दफा ९ बमोजिम वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

२.    वावु भल्लु भरका २ छोराहरुमा जेठो रामपत भर र कान्छो म विपत भर भएकोमा रामपतको मृत्यु भैसकेको र निजको हक खाने जेठो भोजराज, कान्छो धर्मराज भएकोमा भोजराजको मृत्यु भै निजको श्रीमती विन्दरावती भर नावालक छोरा भिखारी र सुखारी छन् । धर्मराजको मृत्यु भै निजको हक खाने कोही नभै विपक्षी विन्दरावती र म विपत भर २ अंशियार भई आजसम्म एकासगोलमा सगोल सकारतको आर्जनको केही जग्गा विपक्षीको लोग्ने भोजराजको नाउँका दर्ता भएको र केही जग्गा मेरो नाउँमा दर्ता भएता पनि आधि आधि जग्गा घरसारमा वांडफांड गरी भोगचलन गरी आएता पनि रीतपूर्वको बण्डा गरौं भन्दा भन्दै विपक्षीको मृत्यु भएको र विपक्षी अरुको बहकावमा लागी बण्डा गर्न नमानेकोले अंशवण्डाको १, , , ५ र ३५ नं. बमाजिम फिराद गर्न आएको छु । बिपक्षी संग तायदाती फाँटवारी मागीं सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाई मेरा नाउँमा दर्ता नामसारी गरी कोर्ट फी समेत दिलाई भराई  पाउँ भन्ने समेतको वादीको फिरादपत्र ।

३.    विपक्षीको फिराद दावीसंग म सहमत छैन, विपक्षी मेरो ससुरासंग अघि नै छुट्टी भिन्न भै छुट्टै व्यवहार  गरी भु.सु. ७ नं. फारम पनि आफ्नो आफ्नो छुट्टै भरी आएकोले अंशवण्डाको ३० न.ले ब्यवहार प्रमाणबाट छुट्टिएको हुदां वादी दावी खारेज गरीपाउँ भन्ने समेतको विन्दरावतीको प्रतिउतर  जिकिर ।

४.    वादी प्रतिवादी बीच अंशवण्डा नभएको हुदां वादीले अंश पाउनु पर्ने भन्ने वादीका साक्षीहरुको र वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने हाईन भन्ने समेतको प्रतिवादीका साक्षीहरुको वकपत्र मिसिल सामेल रहेको ।

५.    अंशवण्डाको ३० नं. मा भएको कानूनी ब्यवस्था बमोजिम वादी प्रतिवादी छुट्टी भिन्न भै अलग बसेको भन्ने कुरा ब्यवहार प्रमाणबाट देखिन नआएकोले वादी प्रतिवादी अघि नै छुट्टी भिन्न भएको भन्ने प्रतिवादीको जिकिर तथ्ययुक्त देखिन आएन । वादीले प्रतिवादीबाट दावी बमोजिम आफ्नो अंश पाउने हुदां वादीले तायदातीमा उल्लेखित सम्पत्तिबाट २ भागको १ भाग सम्पत्ति छुट्याई आफ्नो नाममा दर्ता समेत गराई लिन पाउँने ठहर्छ भन्ने समेत ब्यहोराको नवलपरासी जिल्ला अदालतको मिति २०५४।२।१ को फैसला ।

      ६. हामी वादी प्रतिवादी बीच आ-आफ्नो अंश भागको जग्गा आ-आफ्नो नाउँमा दर्ता गराई भूमि सम्बन्धी अनुसूची १ ,, र ७ नं. फारम छुट्टाछुट्टै भरी उखडा जग्गा समेत बेग्ला बेग्लै कमाई दर्ता नामसारी गरी आएको अवस्थामा हाम्रो बीचमा अंशवण्डा भएको भन्ने कुरा पुष्ठी भै रहेको अवस्थामा मेरो प्रमाणको उचित मुल्यांन नै नगरी गरिएको शुरुको फैसला त्रुटीपूर्ण हुदां सो फैसला बदर गरी विपक्षीको फिराद दावी खारेज गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिवादीको मिति २०५४।५।१८ को पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन जिकिर ।

      ७. यसमा ब्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टिई भिन्न भै सकेको देखिंदा शुरुले वादी दावी नपुग्ने ठहर्‍याई भएको फैसला नमिली फरक पर्न जाने भएकाले छलफलमा अ. बं. २०२ न. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधी नाघे पछी नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५४।१०।१५ को आदेश ।

       ८. जेठा दाजुले घरको ब्यवहार चलाउने हुंदा निजले बेग्लैे ७ नं. र १ नं. अनुसूची भर्दैमा  छुट्टी भिन्न भएको भन्न मिल्दैन । रीतपूर्वकको अंशवण्डाको लिखत नभएको अवस्थामा सो अनुसूची बेग्लै हुनु मात्र अंशवण्डा भएको न्यायोचित तर्क हुन सक्दैन भन्ने ने . का . प . २०४८, अंक ७, पृष्ठ ३५० मा सिद्धान्त प्रतिपादन भएको छ । विपक्षीले आफ्नो नाउँमा भएको जग्गा निजी आर्जन हो भन्ने कुराको तथ्ययुक्त सबुद दिन नसकेको हुंदा सो सम्पत्ति पैत्रिक भएको  कुरा  प्रमाणित हुन्छ । बेग्लाबेग्लै बसेको र बेग्लाबेग्लै दर्ता श्रेस्ता भएकै कारणले मात्र  अंशवण्डाको ३० नं. बमोजिमको  ब्यवहार प्रमाणबाट छुट्टिएको भन्न मिल्दैन । तसर्थ पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी शुरु जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन जिकिर ।

९.    यसमा बादी प्रतिवादी बीच अंशवण्डा भएको प्रमाण केही देखिदैन । ७ नं. फांटवारी अलगअलग भरेकैबाट पहिले नै अंशवण्डा भैसकेको मान्न मिल्ने देखिन आउदैन । तसर्थ अंशको दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला फरक पर्ने दखिएकोले अ. बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आए पछी नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५८।२।१७ को आदेश ।

१०.      नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी हेर्दाे वादी दावी बमोजिम अंश पाउँने ठहर्‍याएको शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिले नमिलेको के रहेछ तत् सम्बन्धमा नै निणर्य दिनुपर्ने देखियो ।

        ११.      निर्णयतर्फ बिचार गर्दा हामी वादी प्रतिवादी सगोलमा बसी बिभिन्न सम्पत्ति भोगचलन गरी आएतापनि रीतपूर्वकको अंशवण्डा नभएको र मूल रुपमा २ अंशियार भएको हुदा सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग दिलाइ नामसारी समेत गरीपाउँ भन्ने फिराद दावी र विपक्षीसंग ससुराको पालामा नै छुट्टिई छुट्टाछुट्टै १ न. र ७ नं. भरेको, ब्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको हुदाँ अंश दिनुपर्ने होइन भन्ने प्रतिउतर जिकिर भै वादी दावी बमोजिम अंश पाउँने ठहर्‍याएको शुरुको फैसला उल्टी गरको पुनरावेदन अदालत बुटवलको इन्साफ उपर वादीको प्रस्तुत पुनरावेदन परको देखियो ।

      १२. यसमा पुनरावेदक वादी विपत भर मूल पूर्खा झल्लु भरका छोरा तथा प्रत्यर्थी प्रतिवादी बिन्दरावती नातिनी बुहारी भई अंशियार भएको कुरामा विवाद देखिदैन । मूल पूर्खा झल्लु भर, निजको जेठा छोरा रामपत र नाती प्रत्यर्थी प्रतिवादी बिन्दरा देवीका पति भोजराज भरको मृत्यु भै सकेको अवस्था देखिन आउँछ । भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम छुट्टाछट्टै १ नं. र ७ नं. फाँटबारी भरी दर्ता श्रेस्ता समेत छुट्टाछुट्टै रहेको भन्ने पुनरावेदन जिकिर रहेको पाइन्छ । तर यी पुनराबेदक प्रतिवादीले अमूक पैत्रिक सम्पत्ति अंशको रुपमा नामसारी हुदै आई सो १ नं. र ७ नं. फाँटबारी बेग्लाबेग्लै भरको भनी देखाउँन  सकको पाइदैन । वादी प्रतिवादीका नाउँमा रहेका सम्पत्तिको विवरण हेर्दा समानुपातिक रुपमा सम्पत्ति रहेको देखिदैन भने प्रतिवादीका नाममा रहेको सम्पत्ति निजि आर्जन बण्डा नलाग्ने भनी सबूद प्रमाण साथ पुष्टी गर्न सकेको देखिदैन । वादी प्रतिवादी बीच रीतपूर्वकको अंशवण्डाको लिखत नभएको एवं बिक्री ब्यवहार समेत नभएको अवस्थामा केवल भूमि सम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि १ नं. र ७ नं. अनुसूची भरकै आधारमा अंश  बण्डाको महलको ३० नं. बमोजिमको ब्यवाहार प्रमाणबाट छुट्टी भिन्न भएको भनी अंश जस्तो नैसर्गिक हकलाई संकुचित पार्नु न्यायोचित देखिदैन ।

१३.   तसर्थ शुरु नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको नदेखिदा सो फैसला उल्टी भै वादी दावी बमोजिम अंश २ भागको १ भाग अंश पाउने ठहर्‍याएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

 

तपसील

 

माथी इन्साफ खण्डमा लेखिए बमोजिम अंश दिलाई पाउँ भनी ऐनका म्याद भित्र वादीको दर्खास्त परे शुरु जिल्ला अदालतले राखेको लगत बमोजिम  बिगोको अढाई दस्तुर लिई वादी प्रतिवादीले पेश गरको सम्पत्तिबाट २ भागको १ भाग नरम गरम मिलाई अंश छुट्टया्ई वादीको नाममा दाखिला खारेज नामसारी गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाइ दिन लगत राख्नु शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु .....   १

वादीले फिराद दायर गर्दा शुरुमा राखेको कोर्ट फी रु.३०४९।( दिलाई पाउ भनी निवेदन दिए प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालत बुटवलमा मिति २०५४।५।१८ धरौटी राखेको कोर्टफी वादीलाइ फिर्ता दिनु भनी लेखि पठाइदिन लगत राख्न शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ...... २

वादीले पुनरावेदन दायर गर्दा यस अदालतमा राखेको रु.५१०।( कोर्ट फी भराई पाउ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई दरखास्त दिए कुनै दस्तुर नलिई कोर्ट फी भराई दिन लगत राख्न शुरुमा लेखी पठाइ दिनु ......  ३

पुनरावेदन अदालत बुटवलको फैसलाले वादीबाट प्रतिवादीले कोर्ट फी भरी पाउने गरी कसेको  लगत कायम राख्न परेन कट्टा गरी दिनु भनी शुरुमा लेखि पठाइ दिनु .. .........    ४ 

मिसिल नियमानुसार गरी बुझाई दिनु .......       ५

 

उक्त रायमा म सहमत छु ।                                          

 

न्या.चन्द्रप्रसाद लम्साल

 

इति सम्बत् २०५९ चैत्र १४ गते रोज ६ शुभम् ............ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु