निर्णय नं. ७२०६ - अंश

निर्णय न.७२०६ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्वत् २०५५ सालको दे.पु..नं. ५१०३
फैसला मितिः २०६०।३।२०।६
मुद्दाः अंश ।
पुनरावेदक
प्रतिवादीः सुर्खेत जिल्ला उत्तर गंगा गा.वि.स. वडा नं.९ वस्ने कर्णवहादुर गौतम
बिरुद्ध
विपक्षी
वादीः ऐ. ऐ. वडा नं. ८ वस्ने लिलावती वली
§ वण्डापत्र वदर नभएको स्थितिमा छुट्टी भिन्न भै सकेका भद्रवहादुर र चेतन कुमारवाट वादीले अंश पाउने देखिएन । त्यस वाहेक वाकी एकासगोलमा रहेका प्रतिवादी र कर्णवहादुर, निजकी श्रीमती तुल्सी गौतम तथा छोरा रुद्रवहादुर वादी समेत जम्मा ४ अंशीयारको वीच मात्र वण्डा हुन वांकी रहेको देखियो । यस्तो अवस्थामा अंशवण्डा नभई एकासगोलमा रहेका अंशीयार मध्ये घरको मुख्य प्रतिवादी कर्णवहादुरवाट पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिवाट वादीले अंशवण्डा छुट्याई लिन पाउने ।
(प्र.नं. २५)
पुनरावेदक प्रतिवादी तर्फवाटः
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत सुर्खेतको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. विपक्षी कर्णवहादुर गौतम लोग्ने र म फिरादी स्वास्नी हौ, निज पतीका ४ श्रीमती मध्येमा एउटीवाट रुद्रवहादुर गौतम, एउटीवाट चेतन कुमार गौतम, एउटा वाट भद्रवहादुर गौतमको जन्म भई अरु श्रीमती मरीसकेका हुंदा एक श्रीमती म फिरादी समेत ५ जना अंशियार छौ । विपक्षी पति र मेरा वीचमा मिति ०१७ सालमा विवाह भै निजका साथमा रहदा वस्दा निजका र मेरा सहवासवाट ०१९ साल आषाढ महिनामा एक छोराको जन्म भएकोमा २०२० साल श्रावणमा निज छोराको मृत्यु भै सकेपछि विपक्षी पहिले मलाई राम्रो वोली हुन नदिने राम्रोहात लाग्न नदिने गरी हेला गर्दा पनि मैले सहेर मिति ०२५ साल देखि माइतीमा भाई चक्रवहादुर वलीका घरमा आई ऋण सापट गरी ज्याला मजदुरी गरी जीवन निर्वाह गरी आएकीमा मैले पटक पटक अन्यायीसंग गई खान लाउन दिई राख्नु होस भनी मिति ०५१ साल श्रावण २५ गतेका दिन विपक्षी लोग्नेसंग गई कुरा गर्दा अन्यायी पतिले तंलाई हेरविचार गरी राख्दैन भन्दा त्यसो भए मेरो अंश भाग दिनुहोस भन्दा अन्यायी पतिले अंश भाग पनि दिदैन जहां गै जे गर्न सक्छौ गर भनी जवाफ दिएकाले अन्यायमा परी मुलुकी ऐन अंशवण्डाको महलको १, २, १० क, २८, ३५ नं. का आधार तथा हदम्याद भित्र फिरादपत्र ल्याई आएकी छु । विपक्षी पतिवाट अंशवण्डाका २०, २१, २२, २३ नं. वमोजिम सम्पूर्ण चलअचल सम्पत्तिको फाटवारी लिई हामी ५ जना अंशियार हुंदा सम्पूर्ण सम्पत्तिको ५ भाग लगाई ५ भाग मध्ये मेरो एक भाग अंश दिलाई पाउं भन्ने लिलावती गौतमको फिराद दावी ।
३. वादीका माइती दाङ जिल्लामा भै सो ठाउंमा रहदा वस्दा वादीको ३ जना संग विवाह भै सकेको रहेछ, वादी आफ्ना माइती संग सुर्खेतआई वसेको अवस्था निज संग मेरो चिनजान उठबस भै माया प्रेम बसी मैले वादीलाई ०१७ सालमा विवाह गरेतापनि वादी कहिल्यै घरमा नबसी माइतीमा नै बसेको, दावीमा उल्लेख भए वमोजिमको छोरा वादीले आफ्ना माइतीमा नै जन्माएकी र उसको मृत्यु पनि माइतीमा नै भएको, वादी घरमा नवसी माइतीमा नै बसेकीले पटक पटक लिन जांदा मेरो छोरा म¥यो तिम्रो जहान परिवारको सेवा चाकरी गरी म खान सक्दैन म माइतमा नै बस्छु भनी वादीले भन्दा त्यसो भए मैले दिएका सुन तोला ४ को ढुंग्री, माडवारी तिलहरी, छापे औठी किलिप देउ अलग भएको कागज गरौ भन्दा कागज गरे छडुली भन्छन कागज नगरौ अव देखी तिम्रो र मेरो वीच कुनै लोग्ने स्वास्नीको सम्वन्ध छैन तिमिले म माथी लागदावी नगर्नु मैले पनि तिमि माथी लागदावी गर्ने छैन तिमी लोग्ने रहेनौ म स्वास्नी भइन तिम्रो पति खर्च वापत यही गहना राख्दछु गहना दिन्न भनी सोही दिन देखि निज लिलावती मेरा वीच कुनै प्रकारको सम्वन्ध नरहेकाले मैले अंश भाग दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कर्णवहादुर गौतमको प्रतिउत्तर जिकिर ।
४. बादी लिलावती गौतम मेरो बुवाको दोस्रो श्रीमती हुंदा सौतेनी कान्छी आमा हुन्, प्रतिवादी कर्णवहादुर गौतम मेरो बुवा हुनुहुन्छ । अंशवण्डा भएको छैन फाँटवारीमा उल्लेखित तुल्सी गौतम, भद्रवहादुर गौतम, चेतन कुमार गौतम र म लगायत सम्पूर्ण सवै एक आपसमा अंशियार हौ । तुल्सी गौतलाई मेरो बुवा कर्णवहादुरले तेस्रो स्वास्नी बनाई विवाह गरी ल्याएकी हुंदा निज पनि मेरो कान्छी सौतेनी आमा हुन र भद्रवहादुर गौतम बादी लिलावती भन्दा अगाडि मेरो जेठी भन्दा पछाडि वीचमा ल्याएको मैले नदेखेको र नाम पनि याद नभएको माइली सौतेनी आमावाट जन्मेको छोरा हुन र निज म भन्दा जेठो हुंदा मेरो दाजु हुन । सोधिएका चेतन कुमार गौतम मेरै बाबु कर्णवहादुर गौतमले माथि उल्लेखित भद्रवहादुरकी आमा पछी ल्याएपछि नाम थाहा नभएकी तेस्रो सौतेनी आमावाट जन्मेका छोरा चेतन कुमार गौतम भाई हुन, बाबु कर्णवहादुरकी जेठी श्रीमती विवाहीत (पहिलो) मेरो आमा पुर्णा गौतम हुन । माइली भद्रबहादुरकी आमा, साहिली चेतन कुमारकी आमा, काइली लिलावती गौतम र कान्छी फाँटवारीमा उल्लेखित तुल्सी गौतम हुन। हाल जीवित लिलावती र तुल्सी मात्र छन । अरु सवैको मृत्यु भइसकेको छ । जम्मा ६ जना अंशियारहरु छौ । फाटमा उल्लेखित भद्रवहादुर तुल्सी चेतन कुमार र म रुद्रवहादुर हौ, म विदेश भारत तर्फ गएको अवस्था ०३६ सालमा म घर फर्कि आएपछि दाजु भद्रवहादुर गौतम र भाई चेतन कुमार गौतम बाबु कर्णवहादुर गौतमवाट अंश बुझी सकेका छन् भन्ने कुरा थाहा पाई मालपोत कार्यालयवाट निजहरुको नाममा जमीन रहे भएको श्रेस्ता समेत देखेको छु । वादी लिलावती बाबु कर्णवहादुर, म रुद्रवहादुर, तुल्सी गौतम समेत जना ४ को अंशवण्डा हुन वांकी छ भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. वमोजिम बुझिएका रुद्रवहादुर गौतमको वयान ।
५. चेतन कुमार गौतम मेरो भाई हो, अरु अंशियार सम्वन्धमा मलाई केही थाहा छैन । अरु कुरा केही थाहा छैन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. वमोजिम बुझिएका भद्रवहादुर गौतमको वयान ।
६. बादी लिलावती गौतम अंशियार होइनन निजलाई हामी चिन्दैनौ, निजसंग कुनै नाता छैन, वादी लिलावती कर्णवहादुर गौतमकी श्रीमती भएको भए हामीले सो कुरा सुन्नु थाहा पाउनु पर्ने हो, सो कुनै नभएवाट वादी लिलावती कुनै नाताकी मानिस होइनन् । प्रतिवादी कर्णवहादुर गौतम हाम्रा लोग्ने बाबु नाताका मानिस हुन । भद्रबहादुर, रुद्रबहादुर म चेतन कुमारका दाई र म तुल्सी देवीको छोरा नाताका मानिस हुन । लिलावती गौतम वाहेक अरु हामी सवै नै अंशियार हौ । प्र. कर्णवहादुरकी जेठी श्रीमती नाम थाहा नभएकी रुद्रबहादुरकी आमा माइली, भद्रबहादुरकी आमा नाम थाहा नभएकी साहिली, श्रीमती म चेतन कुमारीकी आमा कालिका देवी गौतम र कान्छी श्रीमती तुल्सी गौतम १ समेत ४ श्रीमती भएकीमा अरु श्रीमतीको मृत्यु भइसकेकोले म तुल्सी देवीसंग साथमा छु र म चेतन कुमार तथा भद्रवहादुरका वीच अंशवण्डा भएको छ तुल्सी देवी रुद्रवहादुरका वीच अंशवण्डा भएको छैन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. वमोजिम बुझिएका तुल्सीदेवी गौतम र चेतन कुमार गौतमको वारेस प्रेमध्वज शाहीले गरेको वयान ।
७. दुवै पक्षको साक्षी बुझ्ने र फिरादपरेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशवण्डाका २०, २१, २२, २३ नं. वमोजिम दुवै पक्षलाई अंशको फाटवारी लिई फाटवारीको जग्गा जमिनको दर्ता श्रेस्ता झिकाई लाग्ने कोर्ट फि लिई पेश गर्नु भन्ने सुर्खेत जिल्ला अदालतको आदेश ।
८. बादी लिलावती गौतम कर्णवहादुर गौतमकी श्रीमती हुन । वादी श्रीमती भएकीले अंश पाउनु पर्ने हो भन्ने समेत वादीका साक्षी भैरवदेव गिरीको बकपत्र, बादी प्रतिवादी लगायत ५ जना अंशियार छन, ३ छोरा २ बाबु आमा हुन अंशवण्डा भए नभएको मलाई थाहा छैन, वादी आफ्नो भाई चन्द्रवहादुर वलीका घरमा २०२५ सालदेखी आई बसेकी छन भन्ने समेत फिरादीका साक्षी नरवहादुर वली र अमृता गिरीको एकै मिलानको वकपत्र ।
९. हाम्रो धर्म अनुसार आफ्नो सन्तान मरेपछी काजक्रिया र जुठो वार्ने परम्परा छ र धर्मअनुसार माइतीमा वारे जस्तो लाग्छ । कर्णबहादुर गौतमवाट र वादीवाट ०१७।१८ साल तिर एक छोरा जन्मियो । १.१ र २ बर्षपछि मृत्यु भयो र आजसम्म माइतमा नै बसी आफ्नो जीवन निर्वाह गरेकी छन् भन्ने समेत व्यहोराको वादी साक्षी निलबहादुर कार्कीको बकपत्र ।
१०. वादी लिलावती प्र. कर्णवहादुर गौतमको जहान हुन । अरु मलाई थाहा छैन भन्ने प्र. सा. थिरवहादुर पन्तको बकपत्र । बादी लिलावती अं. २०२१।२२ साल तिर आफ्नो भाई चक्रवहादुर वलीको घरमा बसेकीछन, के कारणले बसेकी छन थाहा छैन, जुठो सुत्केरो बारे नवारेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी पुर्णदेव भारती, ज्यामित्रा कँडेल देव कुमार पन्त समेतको एकै मिलानको बकपत्र ।
११. मृतक बालकको बाबु प्र. कर्णवहादुर गौतम हुन भन्ने कुरा सुन्थे, अरु केही थाहा छैन भन्ने समेत व्यहोराको प्र.सा. तुलाराम भारतीको बकपत्र ।
१२. बादी र प्रतिवादी वीच ०१७ सालमा विवाह गरेको कुरा स्वयं प्रतिवादीले प्रतिउत्तरमा उल्लेख गरेका र प्रतिवादीकै साक्षीहरुले समेत बादी लिलावती गौतम ०२५ सालदेखी भाईको घरमा बसेकी भन्ने बकपत्र गरिदिएवाट खान लाउन नदिई घरवाट निकालेको भन्ने वादीको कथनमा मुख मिलेको देखिएवाट यी वादी अंशियार देखिएकी र अंश दिई सकेको छु भन्न स्वयं प्रतिवादीलेनै नसकेको हुंदा वादीले पेश भएका तायदाती फाँटवारीमा उल्लेखित सम्पत्ति मध्येवाट ६ भागको १ भागको अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०५३।९।२१ को सुर्खेत जिल्ला अदालतले गरेको फैसला ।
१३. बादी लिलावतीले म पुनरावेदक कर्णवहादुरलाई पति वरण गरेकि भए वा पति स्वीकार गरेकी भए मतदाता नामावलीमा लिलावती गौतम भनि लेखाउन पर्ने थियो तर थरमा वली लेखाएवाट निज मेरी श्रीमती नभएको प्रष्ट छ यस्तो स्थितिमा श्रीमती ठहर गरी अंश दिनु पर्ने ठहर्याएको फैसला त्रुटीपुर्ण छ । निज वादी लिलावती कर्णवहादुरकै श्रीमती भन्ने हो भने पनि हामी पुनरावेदक भद्रवहादुर र चेतन कुमारको लागी प्रकाशमा नआएको कर्णवहादुरकी श्रीमतीलाई कर्णवहादुरवाट पाएको अंशवण्डा वदर नभै हामीवाट अंश पाउने होइन । वादी लिलावतीलाई म पु.वे कर्णवहादुरले साविकको मु. ऐन लोग्ने स्वास्नीको महल वमोजिम छोडिसकेको र त्यस्तो स्थितिमा सम्वन्ध विच्छेद भए सरह हुने भएकोले अंश दिनुपर्ने होइन विपक्षीले अंश पाएपनि बुवा कर्णवहादुरको अंश मध्येवाट चार भागको १ भाग अंश पाउनु पर्ने हो । हामी पुनरावेदक भद्रवहादुर, चेतन कुमारका नाउंको सम्पत्ति पाउने होइन । यस्तो अवस्थामा निज वादी लिलावती गौतमले अंश नपाउनु पर्नेमा पाउने ठहर्याएको शुरु सुर्खेत जिल्ला अदालतको फैसला वदर गरी झुट्टा वादी दावीवाट फुर्सद पाउं भन्ने समेत व्यहोराको कर्णवहादुर गौतम, भद्रवहादुर गौतम समेतको वारेस भै आफ्ना हकमा समेत पुनरावेदन गर्ने वा स. चेतन कुमार गौतमको मिति ०५४।१।२३ पुनरावेदन ।
१४. यसै लगाउको वण्डापत्र वदर र जालसाजी मुद्दाका मिसिलहरु साथै राखी पेश गर्नु भन्ने मिति ०५४।८।१९ को आदेश ।
१५. मिति ०३९।७।५ मा अंशवण्डाको लिखत रजिष्ट्रेशन समेत गरी छुट्टी भिन्न भै खतिउपति समेत आ आफ्नै गर्ने गरी बसिसकेको करिव ८ बर्ष पश्चात ०४७।३।१२ मा प्रतिवादी चेतन कुमार गौतमकी श्रीमती शान्ती गौतमका नाममा लिएको १ कठ्ठा जग्गा र त्यसमा बनेको घर समेतको पनि अंश भाग लाग्ने गरी भएको फैसला विचारणीय हुंदा विपक्षी वादीलाई झिकाई पेश गर्नु भन्ने मिति ०५४।१०।६ को अदालतको आदेश ।
१६. पुनरावेदन पत्र हेर्दा शान्ती गौतम समेतले पुनरावेदन दायर गरेको देखिएकोमा शुरु मिसिल हेर्दा निजलाई प्रतिवादी पनि नबनाइएको र अ.वं. १३९ नं. वमोजिम बुझेको पनि देखिन आएन । यस स्थितिमा कार्यविधिगत दृष्टिले मुद्दामा कुनै पनि प्रकारले पक्ष कायम हुन नआएको व्यक्तिले पु.वे. दिने र दायर हुने अवस्था नहुने हुनाले निज शान्ती गौतमको पु.वे. स्वतः कायम नरहने भयो र प्रतिवादी चेतन कुमार गौतमको तायदातीमा उल्लेख भएको शान्ती गौतमका नाउंको कि.नं. ५८३ को अचल सम्पत्ति वण्डा गर्नु नपर्ने भन्ने जिकिर लिएको देखिंदा निज शान्ती गौतमलाई अ.वं. १३९ नं. वमोजिम म्याद जारी गरी बुझी पेश गर्नु भन्ने समेत व्यहोराको मिति ०५४।११।२८ गतेको आदेश ।
१७. यस अंश मुद्दाको अंशियार कर्णवहादुर, रुद्रवहादुर, भद्रवहादुर, तुल्सा गौतम र चेतन कुमार गरी जम्मा ५ जनामात्र हुन । वादी लिलावतीलाई म चिन्दीन र निजले अंश पनि पाउने होइनन् मेरो नाउंमा रहेको सुर्खेत गोठीकाडा गा.वि.स. वडा नं. १७ क कि.नं.५८३ को ज.वि. ०–१–० मेरो माइतीवाट पाएको टिका लगाएको दक्षिणवाट सुर्खेत उत्तर गंगा गा.वि.स. वडा नं. ९ वस्ने कालिका भारतीवाट ०४७।३।१२ गते रु.६०००।– मा खरिद गरी लिएकी हुं भन्ने समेत व्यहोराको बुझिएकी मानिस शान्ती गौतमले मिति ०५५।२।११ गते गरेको वयान ।
१८. बयान गर्ने शान्ती गौतमको बयानवाट कारणी सरह देखिंदा निजलाई तारेखमा राख्नु भन्ने व्यहोराको मिति ०५५।२।११ को आदेश ।
१९. आदेशानुसार शान्ती गौतम तारेखमा रहेको ।
२०. प्र. चेतन कुमारको श्रीमती शान्ति गौतमको नाउंको कि.नं. ५८३ को घर जग्गा समेत शुरुले वण्डा गरेको जग्गा प्र. चेतन कुमार ०३९।७।५ को पारित वण्डापत्र वमोजिम छुट्टी भिन्न भए पश्चात ०४७।३।१२ मा राजीनामा पारित गरि लिएको देखिन आएकोले उपरोक्त वमोजिम प्र. चेतन कुमार वाट वादीले वण्डा पाउन नसक्ने अवस्थामा निजको श्रीमतीको नामको घर जग्गावाट वादीले अंशवण्डा पाउने अवस्था स्वतः देखिएन ।
२१. अव, वण्डा हुन वांकी सगोलका अंशिशयारहरुमा उपरोक्त वमोजिम रुद्रवहादुरले वण्डा हुन वांकी भएको कुरा स्वीकार गरी वावु कर्णवहादुर, तुल्सी, यी वादी र आफु मात्र वण्डा हुन वांकी अंशियार भनी वयान गरेको देखिएको र मिसिलका अन्य तथ्यहरुवाट समेत सोही अवस्था देखिंदा सो वमोजिम नै वादीले ४ भागको १ भाग अंश पाउने अवस्था देखियो ।
२२. तसर्थ प्र. मध्येका रुद्रवहादुर प्र. चेतन कुमारले प्र. कर्णवहादुरवाट ०३९।७।५ का पारित वण्डापत्र वमोजिम अंश लिई छुट्टी भिन्न भै सकेको अवस्था र यिनै वादीले दिएको सो वण्डा पत्र वदर, जालसाज मुद्दाहरुमा वादी दावी नपुग्ने गरी शुरुवाट फैसला भए उपर वादीको पुनरावेदन नपरी अन्तिम भएको प्रमाण मिसिलहरुवाट देखिएको अवस्थावाट प्र. भद्रवहादुर र चेतन कुमारवाट समेत अंश पाउने ठहर्याएको शुरु फैसला मिलेको नदेखिनुको साथै प्र. चेतन कुमारको श्रीमतीको नाउंको कि.नं. ५८३ को घर जग्गा वण्डा गर्न नमिल्नेमा सो समेत वण्डा गर्ने गरी भएको शुरु फैसला सो हदसम्म मिलेको नदेखिंदा केही उल्टी हुन्छ । प्रतिवादी कर्णवहादुर गौतमको तायदाती वमोजिमको सम्पत्तिवाट मात्र ४ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेतको पु.वे.अ. सुर्खेतको मिति २०५५।३।१६ को फैसला ।
२३. सो फैसलामा चित्त वुझेन । २०२० साल देखि घरमा नवसी माइतीमा वसेको कारण व्यवहारिक रुपमा सम्वन्ध विच्छेद भै सकेको स्थितिमा वादी संग विवाह भएकै कारण अंश दिनुपर्ने अवस्था नहुंदा सो तर्फ विचारै नगरी वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालत सुर्खेतको फैसला त्रुटीपूर्ण हुंदा उल्टी गरी मेरो प्रतिउत्तर जिकीर वमोजिम गरी पाउं भन्ने समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
२४. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा शुरु सुर्खेत जिल्ला अदालतले पेश भएको तायदाती फाँटवारी वमोजिमको सम्पूर्ण सम्पत्तिवाट वादीले अंश पाउने ठहराएको फैसला केही उल्टी गरि प्रतिवादी भदं्रवहादुर चेतन कुमारले वण्डा नपाउने, प्रतिवादी चेतन कुमारको श्रीमतीका नाउंको कि.नं. ५८३ को घर जग्गा वण्डा गर्न नमिल्ने गरको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनु पर्ने देखियो ।
२५. यसमा वादी लिलावती र प्रतिविादी मध्येका कर्णवहादुर वली लोग्ने स्वास्नी भएको कुरामा मुख मिलेकै देखीयो । प्रतिवादी कर्णवहादुरले आफ्नी श्रीमती वादी २०२० साल देखी घरमा नवसी माइत वसेको र मौखिक रुपमा सम्वन्ध विच्छेद भैसकेकोले निजसंग विवाह भएकै कारण अंश दिनु नपर्ने भनि प्रतिवाद गरेको देखिएपनि कानूनी रुपमा वादी र प्रतिवादी कर्णवहादुर वीच सम्वन्ध विच्छेद भएको भन्ने तथ्य कतैवाट स्थापित हुन सकेको देखिदैन । वादी र प्रतिवादी कर्णवहादुर वीच लोग्ने स्वास्नीको सम्वन्ध कायम रहेको र वादीले अंश लिए पाएको भन्ने प्रतिवादीको जिकिर समेत नदेखिंदा वादी लिलावतीले अंश पाउने नै देखियो । अव कुन कुन सम्पत्तिवाट वादीले अंश पाउने रहेछ भन्ने तर्फ विचार गर्दा पेटवोलीवाट वुझी प्रतिवादी कायम गरिएका प्र. भद्रवहादुर र चेतन कुमार प्रतिवादी मध्येको कर्णवहादुरको छोरा भन्ने देखिए पनि मिति २०३९।७।५ मा निज कर्णवहादुर संग अंश लिई वण्डा पत्र पारित भएकोमा छुट्टी भिन्न वसेको देखिन्छ । वादीले सो वण्डा पत्र वदर गरी पाउं भन्ने मुद्दा र जालसाजी मुद्दा समेत दिएकोमा उक्त मुद्दाहरुमा वादी दावी नपुग्ने ठहरी अन्तिम भैरहेको पाइन्छ । उक्त उल्लेखित वण्डा पत्र वदर नभएको स्थितिमा छुट्टी भिन्न भै सकेका भद्रवहादुर र चेतन कुमारवाट वादीले अंश पाउने देखिएन । त्यस वाहेक वाकी एकासगोलमा रहेका प्रतिवादी र कर्णवहादुर, निजकी श्रीमती तुल्सी गौतम तथा छोरा रुद्रवहादुर वादी समेत जम्मा ४ अंशीयारको वीच मात्र वण्डा हुन वांकी रहेको देखियो । यस्तो अवस्थामा अंशवण्डा नभई एकासगोलमा रहेका अंशीयार मध्ये घरको मुख्य प्रतिवादी कर्णवहादुरवाट पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिवाट वादीले अंशवण्डा छुट्याई लिन पाउने नै देखिंयो । शुरु सुर्खेत जिल्ला अदालतले उक्त मिति २०३९।७।५ मा पारित भएको वण्डा पत्र वदर नभएको अवस्थामा छुट्टी भिन्न वसेका भद्रवहादुर र चेतन कुमार समेतवाट वादीले अंश पाउने र छुट्टी भिन्न भैसके पश्चात चेतन कुमारकी श्रीमतीले खरिद गरेको कि.नं.५८३ को जग्गावाट समेत वण्डा लाग्ने ठहराएको फैसला केही उल्टी गरि मुख्य प्रतिवादी कर्णवहादुरवाट पेश भएको तायदाती फाटवारीको सम्पत्तिवाट ४ खण्डको १ खण्ड वादीले अंश छुट्याई लिन पाउने र छुट्टी भिन्न भएका चेतन कुमारको श्रीमतीको नाममा उक्त मिति २०३९।७।५ को वण्डा पत्र पछि ०४७।३।१२ मा राजिनामा पारित गराई लिएको सम्पत्ति वण्डा नलाग्ने ठहराएको पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकले तारेखमा नवस्ने गरी पुनरावेदन गरेको देखिएकोले फैसलाको जानकारी पुनरावेदकलाई दिई दायरी लगत कट्टा गरी मिसिल नियम वमोजिम वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.मीनबहादुर रायमाझी
इति सम्वत् २०६० साल आषाड २० गते रोज ६ शुभम्............... ।