निर्णय नं. ७२१० - भवितव्य ज्यान र गर्भपतन

निर्णय नं.७२१० ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु
सम्बत् २०५६ सालको दे.पु. नं. — २११८
फैसला मितिः २०६०।१।२२।२
मुद्दा :– भवितव्य ज्यान र गर्भपतन ।
पुनरावेदक
प्रतिवादीः जिल्ला महोत्तरी वर्दिवास गा.वि.स .वडा न . ३ वस्ने सिताराम भन्ने मानवहादुर खत्री
विरुद्ध
प्रत्यर्थी
वादीः जि.महोत्तरी वर्दिवास गा.वि.स. वा.नं. ३ वस्ने चन्द्रप्रसाद फुयलको जाहेरीले श्री ५ को सरकार
§ गर्वपतन गराउने कार्य यी प्रतिवादी मान बहादुर खत्रीले गरेको भन्ने नभई चिकित्सकहरुबाट गराएको भन्ने उल्लेख भएको र के कुन चिकित्सकको क्लिनिकमा के कसरी गर्वपतन गराएको भन्ने व्योहोरा खुल्न न आएको भन्ने प्रहरी प्रतिवेदन समेत मिसिल सङ्लग्न रहेको देखिंदा गर्वपतन गराएको तथ्य नै स्थापित नभई सकेको स्थितिमा यी प्रतिवादिलाई कसुरदार ठहराएको नमिलेकोले अभियोग दावीबाट सफाई दिनु पर्नेमा शुरु फैसला केही उल्टी गरी गर्वपतन गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा उल्टी भई सुरु जिल्ला अदालतले गरेको फैसला मनासिव भै सदर हुने
पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री कुमारप्रसाद घिमिरे
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री पुष्पराज कोइलारा
अवलम्वित नजिरः
फैसला
न्या.गोपालप्रसाद खत्रीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. मेरो भाई पुण्यप्रसाद फुयल गत साउन महिनामा विदेशमा गएको र निजका जहान परिवार घरमै रही आएकोमा निजकी श्रीमती खग कुमारी फुयल गत ५ दिन देखि विरामी परेकी र ज्यादै सिकिस्त हुन आएवाट निजको उपचारको लागी मिति ०४९।१२।१७ गते ज. अं अस्पतालमा लगी उपचार भैरहेकोमा निजसंग सोधपुछ गर्दा छिमेकमा घर हुने सिताराम भन्ने मान व. खत्रीसंग ३ महिना अगाडी यौन सम्पर्क भई गर्भ रहन गएकोले उक्त गर्भ पतन गराउन निमित्त निज मानवहादुरले मलाई एक हप्ता पहिले जनकपुरमा ल्याई गर्भ पतन गराएकाले सोही कारणवाट विरामी हुन गई सिकिस्त अवस्थामा रहेकी भनि वताएकी र आज निजको अवस्था ज्यादै चिन्ताजनक रहेको हंदा जानकारी गराएको छु भनि जि. म. वर्दिवास गा. वि. स. वा. नं. ३ वस्ने चन्द्रप्रसाद फुयालले कार्यालयमा आई मौखिक जानकारी गराएकाले सो सम्वन्धमा आवश्यक अनुसंधान कारवाहीको लागी सादर जाहेर साथै निज सितराम भन्ने मान व. खत्रीलाई खोज तलास गर्दा फरार रहेको वुझीएको र खो.त. कार्य जारी नै रहेको व्यहोरा समेत सादर जाहेर भन्ने इ .प्र.का. वर्दिवासले जि. प्र. का. महोत्तरीलाई ०४९।१२।१८ मा लेखेको संचार पत्र ।
३. २०४९ साल कार्तिक देखि मेरो पेट दुख्ने र पेट पोल्ने गोला चल्ने रोग लाग्यो र सोहीवेला देखि साधारण उपचार गराउदै आएको छु । १०,१२ दिन पहिला सिताराम भन्ने मानवहादुर खत्रीलाई मेरो पेट पोल्छ, पेटमा गोला चल्छ, जनकपुर लगी पेट क्युरेट गरिदिनुहवस, म संग पैसा छैन, तपाईले नै पैसा पनि हाल दिनु हवस भन्दा हुन्छ भनि निजले भनेको हुंदा निजले चैत्र ११ गते जनकपुरमा ल्याई नाम नजानेका डाक्टर कहां लगी डाक्टरसंग निजले कुराकानी गरी मलाई सिटमा सुताई रेडियो वनाउन भनी निस्के, डाक्टरले पाखुरा र चाकमा सुई हाने पछि म वेहोस भएछु । पछि होसमा आउदा क्युरेट गरी पेट सफा गरी दिएछ डाक्टरले तपाईको साथमा आउने मानिस गै सक्यो, तपाई पनि जानुस भनेकाले वसपार्कमा रिक्सा चढी आउदा रिङगटा चक्कर लागी पेट समेत दुखेकाले अर्को रिक्सा पक्रि जनकपुर अंचल अस्पतालमा आई उपचार गराउदैछु । त्यसवेला देखि मानवहादुर संग भेट भएको छैन । निज मानवहादुरसंग मेरो नाजायज यौन सम्पर्क थिएन । डेढ वर्ष देखि म पर सरेको छैन । मलाई पेट मा गोला चलेको, पेट दुखेको रोगको र सो रोग उपचार गराउन जाने कुरा आफ्नो छोरा छोरी जेठाजु जेठानीलाई भनेको छैन भन्ने खग कुमारी फुयलले ०४९।१२।१९मा प्रहरी समक्ष गरेको कागज ।
४. विपक्षी सिताराम भन्ने मानवहादुर खत्री र मेरा भाई पुण्यप्रसाद फुयलको एकै छिमेकमा घर भै वसेका छन, मेरो भाई कमाउन भारत तर्फ २०४९ साल श्रावण महिनामा गएका, भाईको घरमा १ छोरा २ छोरी पाली भाई वुहारी खगमाया फुयल वसेकी थिइन । उक्त विपक्षीले उसलाई फकाई अनुचित व्यवहार गरी गर्भ रहेछ र सो गर्भ मिल्काउन पहिले सिम्रिक खुवाएछन, सिम्रिकवाट गर्भ पतन नभएकाले जनकपुरमा लगी योनीवाट हात हाली गर्भ पतन गराएछन् र योनीमा हालेको हातवाट भित्र पिडा परी उक्त विमारी सिकिस्त भई जनकपुर अंचल अस्पतालमा भर्ना गरेको छ र गर्भ वोकाउने पतन गराउने मानवहादुर खत्रीले विरामी कुरन राखेको हरिवहादुर खड्का, मानवहादुर कै सालो खडका कान्छो भन्ने र भोलानाथ घिमिरेले मिलोमतो गरी अपराधी मानवहादुर खत्रीलाई भगाएको छन् र विरामी मर्ने वाच्ने अवस्था केही थाहा छैन । भगाउने भाग्ने समेत अपराधीहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउं भन्ने चन्द्रप्रसाद फुयलको हुलाकवाट प्राप्त भएको मिति २०४९।१२।१८ को निवेदन ।
५. मृतकको नाकबाट केही ननिस्केको, मुख सुख्खा रहेको, दूध सुकेको देखिएको, पेटको भाग डम्म फूलेको, नाइटोदेखि १/२“ तलको भागमा निलो देखिएको, योनीबाट केही ननिस्केको तर फूलेको जस्तो देखिएको, पैतालाको मासु सेतो देखिएको भन्ने २०४९।१२।२१ को लास प्रकृति मुचुल्का ।
६. म जाहेरवालाको भाइ पुण्यप्रसाद फुयल गत श्रावण महिना तिर विदेश भारत तर्फ गएकोमा निजको श्रीमती खग कुमारी फुयल घरमा एक्लै भएको मौका पारी छिमेकमा बस्ने सिताराम भन्ने मानबहादुर खत्री घरमा गई करणी लेनदेन गर्दै आएकोमा २, ३ महिनाको गर्भ रहन जाँदा कसैलाई थाहा नदिई निज मानबहादुर खत्रीले फकाई फुसलाई जनकपुरमा लगि गर्भपतन गराउन सिम्रिक खुवाउँदा गर्भपतन नभए पश्चात नमालुम के कसरी कुन डाक्टरबाट गर्भपतन गराई घरमा आएकोमा गर्भपात गराउँदा योनीमा विकार खराबी हुन गै सोही पिडाबाट विरामी पर्दा निज खग कुमारीलाई सोध्दा मानबहादुरसँगको अनुचित यौन सम्बन्ध हुन गई गर्भ रहन जाँदा सो गर्भपतन निजले गराएकोले विरामी भएको हो भन्ने गाउँघरमा समेत हल्ला हुन जाँदा आवश्यक कारवाही गर्न इलाका प्रहरी कार्यालय बर्दिवासमा मौखिक अनुरोध गरी २०४९।१२।१८ मा क्षेत्रीय इकाई कार्यालय जनकपुरमा हुलाकबाट निवेदन पठाएको छु । निज खग कुमारीको उपचार गराउँदा गराउँदै २०४९।१२।२१ गते जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हुँदा निज मानबहादुर खत्रीले मेरो भाइबुहारी खग कुमारीलाई गर्भ बोकाई गर्भपतन गराई ज्यान मार्ने मनसायले सो क्रियाकलाप गरे गराएकोले मानबहादुर खत्रीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी पाउँ भन्ने चन्द्रप्रसाद फुयलको २०४९।१२।२५ को जाहेरी दरखास्त ।
७. हाम्रो रायमा मृत्युको कारण सेप्टिक एवोर्सनले गर्दा सेप्टिसेमियामा गई शकले भएको हो भन्ने २०४९।१२।२२ को पोष्टमार्टम रिपोर्ट ।
८. प्र. मानबहादुर खत्री र मृतक खग कुमारी फुलयको वीचमा अनैतिक यौन सम्पर्क भएको जस्तो मलाई लाग्दैन । निज खग कुमारीको मृत्यु भएको समयमा प्र. सिताराम भन्ने मानबहादुर खत्री गाउँघरमा नभै २, ३ महिना पहिले नैं भारत सिक्किम गईसकेका थिए । मृतक खग कुमारीलाई उपचार गराउन निजकै जेठाजु अर्थात् जाहेरवालाले नैं लगेको हुँदा प्र. मानबहादुरले जनकपुरमा गर्भपतन गराउन लगेको भन्ने झुठ्ठा हो, खग कुमारीको के कस्तो विरामीबाट मृत्यु भयो थाहा छैन भन्ने जानुका बराल र चन्द्रमायाँ कार्कीले २०५०।६।१९ मा प्रहरीमा गरेको कागज ।
९. मृतक खग कुमारी फुयलसँग मेरो कुनै अनैतिक यौन सम्बन्ध छैन । निजसँग बोलचाल नैं छैन । मसँग आई निजले पेटमा गोला चल्छ, पेट दुख्छ जनकपुरमा लगि उपचार गराई दिनुप¥यो भनी मलाई नभनेको र मैले निजलाई जनकपुरमा ल्याई कुनै डाक्टरबाट पेटको क्यूरेट र अप्रेशन समेत गराएको होइन । म २०४९ साल चैत्र महिनामा गाउँघरमा नभै भारतको सिक्किममा छु । जाहेरवालाको २।३ वर्ष अघि भैंसी विषयको झै झगडा भए पश्चात मसँग बोलचाल नभएको र स्थानीय निर्वाचनको चुनावको प्रचार प्रशार समेतको रिसइविबाट मलाई फँसाउन किटानी जाहेरी दिएको हुनुपर्छ भन्ने व्यहोराको अभियुक्त मानबहादुर खत्रीले २०५०।८।२१ मा अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
१०. मृतक खग कुमारी फुयलको पेटको क्यूरेट (अप्रेशन) के कुन डाक्टरको क्लिनिकमा गरेका हुन् गोप्य रुपबाट बुझ्दा खुल्न नआएको भन्ने प्रहरी सहायक निरीक्षक प्रेमकुमार मोक्तानको २०५०।८।२३ को प्रतिवेदन ।
११. खग कुमारी फुयलको ६ महिनाभन्दा कमको गर्भपतन गराउनमा निज खग कुमारी फुयल र प्र. सिताराम भन्ने मानबहादुर खत्रीको सहमतिबाट गर्भपतन गराएको समेत देखिन आएको समेतको आधारबाट खग कुमारी फुयलले २०४९ साल कार्तिक महिनादेखि पेट दुख्ने, गोला चल्ने रोग लागेको भनी गर्भ रहेको कुरालाई छिपाई जनकपुरमा आई दुवैको सहमतिबाट गर्भपतन गरी गराई मुलुकी ऐन ज्यान सम्बन्धी महलको ३१ नं. को कसुर गरेको र सोही गर्भपतन गराएको कारणबाट मृतक खग कुमारीको सेप्टिक एबोर्सनमा शक भई मृत्यु भएको देखिन आएकोले निज सिताराम भन्ने मानबहादुर खत्रीले सोही महलको ५ नं. को कसुर अपराध गरेको देखिदा निज प्र. उपर सोही महलको ३१ नं. र ९(५) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग पत्र ।
१२. खग कुमारी फुयलको मृत्यु कसरी भयो मलाई थाहा छैन । म भारत विदेशबाट घर आउँदा मरिसकेको थियो । जाहेरवालासँग मेरो भैसीको सम्बन्धमा एकवर्ष पहिले झै झगडा मारपिट समेत भएको, रिसईविले गर्दा नैं मेरो नाम पोल गरेको हो । निजको भनाई झुठ्ठा हो, मृतकको लोग्ने र जाहेरवाला समेतसँग मेरो भैसी सम्बन्धमा झै झगडा भएको कारणले मृतकले मेरो नाम पोल गरी अस्पतालमा कागज गरी दिएको हो । मैले कुनै अनैतिक कार्य गरेको छैन । मैले कुनै कसुर अपराध नगरेको हुँदा सफाइ पाउनु पर्ने भन्ने प्र. मानबहादुर खत्रीले २०५०।८।२९ मा अदालतमा गरेको बयान ।
१३. सिताराम भन्ने मानबहादुर खत्रीले मेरो भाइ पुण्यप्रसाद फुयल भारत गएको बेला निजको श्रीमती खग कुमारीलाई ललाई फकाई गर्भधारण गराई सकेपछि गर्भपतन गराउन गाउँघरमा जडीबुटी सिम्रिक समेत खुवाई गर्भ नझरेपछि जनकपुर अस्पतालमा ल्याई क्यूरेट गराए छन्, पछि घरमा आएपछि खग कुमारी विरामी परी थला परेको बेला मानबहादुर गाउँघरबाट भागी गएछन् । यो कुरा गाउँघरमा हल्ला भएपछि थाहा पाएको हुँ । निज खग कुमारीले मानबहादुरले नैं पहिला जनकपुरमा लगेको र अहिले पनि निजले नैं जनकपुर लैजानु पर्छ भनेको भन्छिन् । सिताराम भन्ने मानबहादुरले गर्भपतन गराउँदा योनीमा खराबी भै मरेको हो भन्ने जाहेरवाला चन्द्रप्रसाद फुयलको २०५०।१२।८ मा गरेको बकपत्र ।
१४. खग कुमारीलाई उपचार गर्न निजको जेठाजुले अस्पतालमा ल्याएको र पछि अस्पाताल मैं निजको मृत्यु भएको मैले थाहा पाएको हुँ । विरामी के थियो थाहा छैन, मृत्यु हुँदा खग कुमारीको पति गाउँघरमा छैन । प्र. मानबहादुर पनि इण्डियामा थियो । खग कुमारीको गर्भपतन गराउन मानबहादुरले प्रयास गर्दा सोही कारणले मृत्यु भएको भन्ने जाहेरवालाको भनाई सम्बन्धमा मलाई केही थाहा छैन भन्ने प्रहरीमा कागज गर्ने चन्द्रमायाँ कार्कीले २०५०।१२।८ मा गरेको बकपत्र ।
१५. प्र. मानबहादुर र म २०४९ सालको दशैं मानेर भारतको उत्तर बंगाल नाम्चे भन्ने ठाउँमा गएका र यसपालीको दशैंमा आएका हौं । प्र. मानबहादुरले जाहेरवालाको बुहारीलाई गर्भ बोकाएको होइन । निज उपरको अभियोग झुठ्ठा हो भन्ने प्रतिवादीका साक्षी सूर्यबहादुर खड्काले २०५०।१२।९ मा गरेको बकपत्र ।
१६. २०४९ साल चैत्रमा खग कुमारी बिरामी भई निजका सासु जेठाजुले इलाज गराउन जनकपुर तिर लगेकोमा ३, ४ दिनपछि जनकपुर मैं मृत्यु भएको हो । ग्याष्टिक रोग थियो भन्ने सुनेको थिएँ । गतसाल चैत्र २१ गते मानबहादुर इण्डियामा थिए । गतसाल जेष्ठमा गई यसपालाको दशैंमा आएको हो, अनैतिक सम्बन्ध थिएन र गर्भ बोकाएको होइन भन्ने प्रतिवादीका साक्षी भोलानाथ घिमिरेले २०५०।१२।९ मा गरेको बकपत्र ।
१७. खग कुमारीको मृत्यु २०४९ साल चैत्र १५, १६ गते तिर जनकपुरमा भएको हो । निज बिरामी भई उनको जेठाजु र सासुले इलाज गराउन जनकपुर ल्याएको हो । प्र. मानबहादुर एक डेढ वर्ष अघिदेखि भारत बस्ने गरेको हो । निजले पेट बोकाएको भन्ने अभियोग झुठ्ठा हो । निजले इलाज गराउन लगेको होइन भन्ने प्रतिवादीकै साक्षी गोपी भण्डारीले २०५०।१२।९ मा गरेको बकपत्र ।
१८. खग कुमारी पेटको बिरामी हुनुहुन्थ्यो । एक डेढ वर्षदेखि महिनावारी नहुँदा निजको पेटमा गोला वा गानु छ भनी इलाज गर्न आउनु भएको थियो । निजलाई उपचार गर्न निजको जेठाजु र सासुले ल्याए । मर्नुपूर्व भान्जी खग कुमारीले प्र. मानबहादुरले क्यूरेट गराउन अस्पताल जनकपुर ल्याएको र त्यही छोडी गएको कुरा भनिनन् भन्ने अ.वं. ११५ बमोजिम झिकाईएका रुद्रबहादुर खड्काले २०५१।५।६ मा गरेको बकपत्र ।
१९. खग कुमारीलाई निजको सासु र जेठाजुले अस्पतालमा ल्याएको थियो । पेट पोल्ने, हातखुट्टा पोल्ने बिरामी छ भनी सुनेको हुँ । मानबहादुर २०४९ सालको दशैं मानेर भारत विदेशमा काम गर्न गएको थियो भन्ने व्यहोराको अ.वं. ११५ नं. बमोजिम बुझिएका चन्द्रकला देवी कोइरालाले २०५१।५।६ मा गरेको बकपत्र ।
२०. चन्द्रप्रसादको बुहारी खग कुमारीलाई लिएर म जनकपुर अञ्चल अस्पताल आएको थिएँ । निजले बराबर पेट दुख्छ, गानो गोलाको बिरामी छ, ११ महिनादेखि नछुने पनि हुन्न भन्थिन् र पाठेघर सम्बन्धी तिनलाई रोग थियो । निजलाई २०४९ चैत्त १७ गते बर्दिवासबाट निजको सासु, जेठाजु र म समेत भै ल्याएकोमा २१ गते मृत्यु भयो । निज मृतकले मर्नु पूर्व मानबहादुरलाई तिमीले फसाउनु पर्छ भनी जेठाजु चन्द्रप्रसादले भन्नु हुन्छ भनी मसँग कुराकानी गरेको थिईन । खग कुमारीसँग प्र. मानबहादुरको कुनै सम्बन्ध थिएन भन्ने अ.वं. ११५ न.. बमोजिम झिकाईएको देवमायाँ पोख्रेलले २०५२।२।३० मा गरेको बकपत्र ।
२१. “मृतकको मृत्युको कारण गर्भासयमा इन्फेक्सन भई एर्वोसन भएको र सेप्टिसिमियामा गई भएको देखिन्छ । विरामीलाई जुनसुकै अंगमा इन्फेक्सनले गर्दा सेप्टिसिमिया जान सक्छ” भन्ने सम्बन्धित चिकित्सकको राय भएको भन्ने जनकपुर अञ्चल अस्पतालको स्पष्ट राय पठाएको २०५२।४।३० को च.नं. १७७ को पत्र ।
२२. मृतक खग कुमारीको पोष्टमार्टम मैले गरेको हुँ । सेप्टिसिमिया भनेको रोग भए तापनि यो उपचार नभएको घाउबाट मिनिन्जाईटिक्स, निमोनिया, गर्भपतन गर्दा सफा सुई र औजार व्यवहार नहुँदा हुनसक्छ । गर्भासयको सेप्टिसिमिया गर्भपतन गर्दा अप्राविधिक तरिकाबाट गराएको हुनाले हुनसक्छ । पोष्टमार्टम गर्दा गर्भाशय भित्र पिप फेला परेकोले सेप्टिसिमिया देखिएको हो । मृतकले सेप्टिसिमियाको उपचार पाएको थियो भन्ने डा. कल्पना बछारले २०५२।११।२९ मा गरेको बकपत्र ।
२३. मृतक खग कुमारीको पोष्टमार्टम मैले गरेको हुँ । सेप्टिसिमिया भनेको रोगको नाम हो । यो शरीरको कुनै भागमा इन्फेक्सन भएर त्यसको जिवाणु रक्त संचारमा गएर गर्छ र टक्सिन पैदा गर्छ, जसको कोप (cope) शरीर गर्न सक्दैन । सेप्टिसिमियामा सकमा जान सक्छ, किड्नी फेलियर हुनसक्छ। गर्भाशय पाठेघरमा इन्फेक्सन भएर सेप्टिसिमिया भएको हो । यो रोगको ईन्फेक्सन घाउखतको राम्ररी उपचार नभएको कारण, एवोर्सनले, फोक्सोमा निमोनिया भई उपचार नभएकोले, मेनिन्जाईटिस इत्यादिले हुनसक्छ भन्ने डा. आनन्द कुमार मिश्रले २०५२।११।२९ मा गरेको बकपत्र ।
२४. प्रतिवादीले मृतकलाई क्यूरेट गराउन ल्याई क्यूरेटकै कारणबाट भवितव्यमा परी मृतकको मृत्यु भएकोले प्रतिवादी मानबहादुरले ज्यान सम्बन्धी महलको ५ नं. को कसुर गरेको ठहर्छ । ज्यानसम्बन्धीको ६(५) अनुसार रु. १००।– जरीवाना हुने ठहर्छ । ज्यानसम्बन्धीको ३१ नं. को अभियोग तर्फ सबुद प्रमाणको अभावमा मागदावी पुग्न नसक्ने ठहर्छ भन्ने महोत्तरी जिल्ला अदालतको फैसला ।
२५. मृतकको कागज र जाहेरवालाको बकपत्रबाट प्रतिवादीले मृतकलाई क्यूरेट गराउन ल्याई क्यूरेटकै कारणबाट भवितव्यमा परी मृत्यु भएको भन्ने फैसलाको ठहर खण्डमा दुवै तथ्यलाई एकैसाथमा स्वीकार गरी राखेको स्पष्ट हुँदा ज्यान सम्बन्धीको ३१ न.. को कसूर ठहर गर्न अरु सबुद प्रमाण खोज्नु हुँदैन । मृतकले मर्नु अगाडि लेखाएको व्यहोराले मानबहादुरको संलग्नता र मृतकको मृत्युको कारण पोष्टमार्टमले स्पष्ट पारेको हुँदा महोत्तरी जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भई यी प्रतिवादीबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको ३१ न.. अनुसारको कसुर गरेको स्पष्ट देखिएकोले सो बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको मिति २०५४।७।२० मा दर्ता भएको पुनरावेदन पत्र ।
२६. प्रतिवादी मानबहादुर खत्रीले मृतकलाई क्यूरेट गराउन ल्याई क्यूरेटकै कारणबाट भवितव्यमा परी खग कुमारीको मृत्यु भएकोमा प्र. मानबहादुर खत्रीलाई ज्यानसम्बन्धी महलको ५ नं. को कसूरमा अपराध गरेको ठहर गरी ऐ. ऐनको दफा ६(५) बमोजिम सजाय गरिए पनि ज्यान सम्बन्धीको ३१ नं. को अभियोग तर्फ दावी पुग्न सक्तैन भनी प्रतिवादीलाई सफाइ दिने गरी शुरु महोत्तरी जिल्ला अदालतबाट मिति २०५४।२।२९।४ मा भएको फैसला नमिली फरक पर्नसक्ने देखिनाले छलफलको लागि अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम विपक्षीलाई झिकाउने भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५५।२।४ को आदेश ।
२७. प्रतिवादी मानबहादुर खत्री समेत भै मृतकको गर्भपतन गराएको र सोही जरीयाबाट मृतकको मृत्यु भएको व्यहोरा पोष्टमार्टम रिपोर्ट समेतबाट प्रमाणित भैसकेको स्थिति हुनाले गर्भपतनको अपराध समेत ठहर हुनुपर्नेमा भवितव्य ज्यान मात्र ठहर गरेको शुरुको फैसला सो हदसम्म उल्टी भै गर्भपतनको कसूरमा समेत ज्यान सम्बन्धीको ३१ न.. बमोजिम १ वर्षको कैद सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको फैसला ।
२८. मृतकको मृत्युपूर्व गर्भपतन गराएको थियो र सोही कारणबट नैं मृतकको मृत्यु हुन गएको हो भन्ने तथ्य पोष्टमार्टम रिपोर्ट, चिकित्सकको राय लगायत कुनै पनि प्रमाणबाट पुष्टि हुन नसकेको स्थितिमा प्रतिवादीलाई कसूरदार कायम गरेको र प्रतिवादीले भवितव्य ज्यानमा शुरुको फैसला उपर पुनरावेदन नगरेको आधारलाई प्रतिवादीले अभियोग स्वीकार गरेको भनी व्याख्या गरी प्रतिवादीको विरुद्ध प्रमाण लगाएको फौज्दारी न्यायको सिद्धान्त समेत प्रतिकूल हुँदा पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
२९. नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागज अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कुमारप्रसाद घिमिरेले प्रतिवादीले मृतकलाई गर्भ बोकाएको र मृतकको गर्भपतन भएको भन्ने तथ्य नैं एकिन नभई वारदात नैं स्थापित हुन नसकेको स्थिति भएकाले प्रतिवादी उपरको गर्भपतनको अभियोग गडाउ हुन सक्दैन । प्रतिवादीले पुनरावेदन नगरेको कुरालाई प्रतिवादीका विरुद्ध प्रमाणमा लगाउन नमिल्ने भएकाले प्रतिवादीले सफाइ पाउनु पर्छ भन्ने र वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले मृतकको क्यूरेट गरिएको कुरा मृतकले नैं मृत्युपूर्व बताएको र उक्त कुरा विशेषज्ञ चिकित्सकको बयान समेतबाट समर्थित भैरहेको स्थिति हुँदा सोही कारणबाट गर्भपतन भएको पुष्टि भएको स्थिति भएकाले गर्भपतनको कसूर कायम गरेको पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत जनकपुरको निर्णय मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो ।
३०. निर्णय तर्फ विचार गर्दा प्रतिवादीले मृतक खग कुमारी फुयलसँग अनुचित यौन सम्बन्ध कायम गरी गर्भ रहन गएको र दुवैको सहमतिले उक्त गर्भ पतन गरी गराई ज्यान सम्बन्धीेके ३१ नं. बमोजिमको र सोही गर्भपतनको कारणबाट खग कुमारीको मृत्यु भएको देखिन आएकोले सोही महलको ५ नं. को कसूर समेत गरेको देखिदा प्रतिवादी उपर सोही महलको ३१ नं. र ६(५) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी लिई दायर भएको प्रस्तुत मुद्दामा शुरु महोत्तरी जिल्ला अदालतले ज्यान सम्बन्धी महलको ५ नं. अनुसारको कसूर गरेको ठहराई सोही महलको ३१ नं. बमोजिमको गर्भपतनको कसूरमा सफाइ दिए उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पुनरावेदन अदालत जनकपुरबाट गर्भपतनको कसूर समेत कायम गरे उपर प्रतिवादीके यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३१. मिसिलको तथ्यबाट मृतक खग कुमारी फुयलले मृत्यु हुनु अगाडि जनकपुर अञ्चल अस्पतालमा गरिदिएको कागजमा आफूलाई पेट दुख्ने समेत भएका कारण डाक्टर कहाँ लगि क्यूरेट गराई दिन यी प्रतिवादी मानबहादुरलाई भनेकी र निजले उपचारको लागि डाक्टर काहाँ लगीदिएको भनी उल्लेख गरेको देखिदा निजको बयानलाई मृत्युकालीन घोषणाको रुपमा लिंदा प्रतिवादी मानबहादुर खत्रीले मृतकलाई जनकपुरसम्म पुर्याई दिएको भन्ने देखिन आउँछ । प्रतिवादी मानबहादुर खत्री अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा भएको बयानमा समेत वारदात भएको भनिएको समयमा आफू गाउँमा नैं नभएको भनी कसूरमा इन्कारी रही बयान गरेको देखिन्छ । जाहेरवालाले आफ्नो जाहेरी दरखास्तमा यी प्रतिवादी मानबहादुर खत्रीले खग कुमारीसँग अनैतिक यौन सम्बन्ध कायम गरी गर्भ रहन गएको र सो गर्भ जनकपुरमा लगि पतन गराएको र सोही कारणले बिरामी भै मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गरेको भए तापनि जाहेरी दरखास्तको उक्त व्यहोरा निजले कुन श्रोत प्रमाणबाट जानकारी पाएको भन्ने कुरा मिसिल संलग्न अन्य प्रमाणबाट खुल्न आउँदैन । अभियोग दावी बमोजिम गर्भपतनको अभियोग स्थापित हुन खग कुमारी गर्भवति थिइन र उनको गर्भपतन गराइएको थियो भन्ने तथ्य प्रमाणित हुनुपर्ने भएकोले त्यसतर्फ हेर्दा मृतक खग कुमारी फुयलले मृत्युपूर्वको आफ्नो बयानमा गर्भ रहेको कुरामा इन्कारी रही पेट दुख्ने रोगको कारणले अस्पताल भर्ना भएको भनी लेखाइ दिएको देखिन्छ । निजको लाशजाँच मुचुल्का (Post Mortem Report) मा मृत्युको कारण सेप्टिक एवोर्सनले गर्दा सेप्टिसेमियामा गई शकले भएको हो भन्ने उल्लेख गरेको पाइन्छ । पोष्टमार्टम गर्ने चिकित्सकको अदालत समक्ष भएको वकपत्रमा गर्भपतन कै कारण सेप्टिसिमियामा शक भएको भन्ने उल्लेख भएको नदेखिदा मृतकको मृत्र्यपूवै गर्भ पतन गराइएको भन्ने तथ्य पुष्टि हुन सक्ने देखिएन । अर्को तर्फ निजको गर्भपतन गराउने कार्य यी प्रतिवादी मानवहादुर खत्रीले गरेको भन्ने नभई चिकित्सकहरुवाट गराएको भन्ने उल्लेख भएको र के कुन चिकित्सकको क्लिनिकमा के कसरी गर्भपतन गराएको भन्ने व्यहोरा खुल्न नआएको भन्ने प्रहरीको प्रतिवेदन समेत मिसिल संलग्न रहेको देखिदा गर्भ पतन गराएको तथ्य नै स्थापित नभइ सकेको स्थितिमा यी प्रतिवादीलाई कसुरदार ठहराएको नमिलेकोले अभियोग दावीवाट सफाइ दिनु पर्नेमा शुरु फैसला केही उल्टी गरी गर्भपतन गरेको ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटीपूर्ण हुँदा उल्टी भई शुरु जिल्ला अदालतले गरेको फैसला मनासिव भै सदर हुने ठहर्छ । मिसिल नियमानुसार वुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.शुसिला सिंह सिलु
इति संवत २०६० साल वैशाख २२ गते रोज २ शुभम् ... ।