निर्णय नं. ७२१२ - कर्तव्य ज्यान

निर्णय नं.७२१२ ने.का.प.२०६० अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्वत २०५७ सालको फौ.पु.नं. २६१०
सम्वत २०५८ सालको साधक नं. २१६
फैसला मितिः २०६०।३।१३।६
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः दाङ जिल्ला विजौरी गा. वि. स. वडा नं. १ घर भै हाल कारागार शाखा तुल्सीपुर दाङमा थुनामा रहेको उमाभक्त वली
बिरुद्ध
विपक्षी
वादीः विरवहादुर वस्नेतको जाहेरीले श्री ५ को सरकार
वादीः विरवहादुर वस्नेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः दाङ जिल्ला विजौरी गा. वि. स. वडा नं. १ घर भै हाल कारागार शाखा तुल्सीपुर दाङमा थुनामा रहेको उमाभक्त ओली
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी.
विपक्षी वादी तर्फवाटः
अवलम्वित निजरः
फैसला
न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत पुनरावेदन र ऐ. ऐनको दफा १० अन्तर्गत साधक जाँचका लागी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. २०५१।७।१९ गते तिर ऋषिराम वस्नेतलाई मार्ने उद्देश्यले उमाभक्त समेतका जना ३ ले खोजी गर्दै हिडेकोले आफ्नो श्रीमती सहित नयावस्तीमा गएका छन् भन्ने थाहा पाई ससुरालीको घरमा गै ऋषिराम घर भित्र बसी रहेको अबस्थामा उमाभक्त वलीले कम्मरवाट छुरी निकाली हान्न खोज्दा निज ऋषिराम वस्नेत ज्यान वचाउन घरको तलामा गएको मौकामा अन्य २ जनाले ढोका कुरी भाग्न उम्कन नपाउने गरी घेरा दिई उमाभक्त वलीले ३–४ पटक छुरी प्रहार गरी २०५१।७।१९ गते ६.३० वजे घटना घटेपछि निज अपराधी झ्यालवाट हामफाली भाग्न सफल भएका र पहिले देखि मार्छु भन्ने धम्की दिई आएका भुषण अवस्थी समेत जना ५ र ज्यान मार्ने उमाभक्त वली समेत जना ८ लाई सजाय गरी पाउँ भन्ने विरवहादुर वस्नेतको जाहेरी दरखास्त ।
३. मृतकले लगाएको पाईन्ट र कट्टु खोली हेर्दा वायाँ खुट्टाको जोर्नी देखि केहि माथी कम्मरको भागमा सवा १ ईन्च लम्वाई ६ इन्च काठको सिन्का जाने गहिराई भएको धारिलो हतियारले घोचेको जस्तो चोट भएको सो चोटवाट हल्का रगत वगी रहेको भन्ने समेत व्यहोराको मिति २०५१।७।२० को घटनास्थल प्रकृति मुचुल्का ।
४. २०५१।७।२१ को लास जाँच रिपोर्ट ।
५. प्रतिवादी उमाभक्त वली समेतले मृतकलाई कर्तब्य गरी मारेकोले निजलाई ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम र प्रतिवादी झगवहादुर वस्नेत, छवी वि. क. वासुदेव डांगीलाई ऐ. महलको १७(२) नं. तथा भुषण अवस्थी, धनवहादुर, वीरेन्द्र डांगी, किरण डांगी समेत जना ४ लाई ऐ. को १६ नं. बमोजिम सजाँय हुन माग दावी लिइएको अभियोग पत्र ।
६. प्रतिवादी झगवहादुर वस्नेत, छवी वि. क., भुषण अवस्थी, वासुदेव डांगी, धनवहादुर डांगी, वीरेन्द्र डांगी, किरण डांगी समेतले सफाइ पाउने र फरार रहेका प्रतिवादी उमाभक्त वलीको हकमा अ. वं. १९० नं. बमोजिम मुल्तवी राखी दिने ठहर्छ भन्ने मिति २०५३।६।१० को दाङ जिल्ला अदालतको फैसला ।
७. निज प्रतिवादी उमाभक्त वलीको हकमा मुल्तवी राख्ने गरी भएको मिति २०५३।६।१० को दाङ देउखुरी जिल्ला अदालतको फैसला पुनरावेदन अदालतवाट सदर भएको ।
८. फरार रहेका प्रतिवादी उमाभक्त वली पक्राउमा परी हाजिर हुन आएकोले प्रस्तुत मुद्दा मुल्तवीवाट जगाई दिएको छ भन्ने मिति २०५४।१२।१३ को दाङ देउखुरी जिल्ला अदालतको आदेश ।
९. म २०५१।७।१९ गते साँझ ६.३० वजेको समयमा दाङ विजौरी गा. वि. स. वार्ड नं. ३ वस्ने मैले नाम नजानेको उक्त मर्ने व्यक्तिले आफुले लिई राखेको छुरीले मलाई टाउको निधारमा प्रहार गरी वक्सिङले गालामा हानी घाँटी अचेट्न थाल्यो । त्यसपछि मैले निज मर्नेले लिएको छुरी खोसी वायाँ तर्फको पेटमा हानी मारी फरार भएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी उमाभक्त वलीले मिति २०५४।१२।१० गते अदालतमा गरेको वयान ।
१०. प्रतिवादी उमाभक्त वलीले कसूर गरेकोमा सावित भै वयान गरेकोले पछि प्रमाण वुझ्दै जाँदा ठहरे वमोजिम हुने गरी हाललाई अ. वं. ११८ को देहाय दफा २ वमोजिम पुर्पक्षको निमित्त थुनामा राख्नु भन्ने दाङ देउखुरी जिल्ला अदालतको आदेश ।
११. मृतकको मृत्यू उक्त छुरीको रोपाईवाट भएको कुरा मिसिल सँलग्न प्रतिवादीको वयान वादी पक्षको साक्षीहरुको वकपत्र र पोष्टमार्टम रिपोर्ट लगायतको कागजवाट समेत पुष्टि भै राखेको देखिदा प्रतिवादी उमाभक्त वलीले अभियोग दावी वमोजिम मृतक ऋषिराम वस्नेतलाई कर्तब्य गरी ज्यान मारी मुलुकी ऐन ज्यान सम्वन्धि महलको १ नं. ले परिभाषित कसूर गरेको देखिन आएकोले निजलाई ऐ. ऐनको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति ०५५।७।३० को फैसला ।
१२. मृतकले आफुलाई छुरी प्रहार गर्न छेकथुन गरेको र निधारमा घाउ समेत पारी दिएकाले आफ्नो आत्म रक्षाका लागि घटन गएको घटनालाई मृतकलाई मार्ने उद्देश्य लिई घटना घटाएको भनि फौज्दारी कानूनको गलत व्याख्या गरी शुरु जिल्ला अदालतवाट मिति २०५५।७।३० गते भएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी मलाई सफाइ दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी उमाभक्त वलीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१३. प्रतिवादी उमाभक्त वलीले अभियोग दावी बमोजिम मृतकलाई कर्तव्य गरी मुलुकि ऐन ज्यान सम्वन्धी महलको १ नं. को परिभाषित कसूर गरेको देखिन आएकोले निजलाई ऐ. ऐनको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला मनासिव देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुल्सीपुर दाङको फैसला ।
१४. मैले आत्मा रक्षा गर्दा घटना घट्न गएको, मृतकले हातमा छुरी लिएको त्यसरी छुरी लिनुको मनसाय तर्फ विचार नगरी सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत तुल्सीपुर दाङको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१५. पुनरावेदन अदालत तुलसीपुर दाङको २०५६।५।९ को फैसला साधक जाँचको लागी यस अदालतमा साधकको लगतमा दायर हुन आएको ।
१६. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहित मिसिल सँलग्न प्रमाण कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शेरवहादुर के. सी. ले पुनरावदकले घटनाको यथार्थ विवरण उल्लेख गरी अदालतमा सावित रहेको छ । घटनामा प्रयोग भएको छुरी मृतकले हातमा लिएको, दुवै पक्ष वीच लडालडको स्थिती रहेको, आफ्नो वचाउको लागी मृतकको हातको छुरी खोसी हानेको भन्ने मिसिलवाट देखिएको स्थिती छ । यस्तो अबस्थामा पुनरावेदकलाई ऐन बमोजिम सजाय गर्दा अन्याय पर्न जाने हुँदा अ. वं. १८८ नं. वमोजिम सजायमा हेरफेर होस् भनि गर्नु भएको वहस समेत सुनि पुनरावेदन अदालत दाङ तुलसीपुरको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्छ, पुग्दैन ? भन्ने विषय निर्णय दिनु पर्ने भै सो तर्फ विचार गर्दा प्रतिवादी उमाभक्त वलीलाई ज्यान सम्वन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको फैसला उपर निजको यस अदालतमा पुनरावेदन परी पुनरावेदन कै रोहवाट इन्साफमा विचार हुने हुँदा साधकको लगत कट्टा गरी दिनु । पुनरावेदनको रोहवाट हेर्दा यी पुनरावेदक प्रतिवादी उमाभक्त वली फरार रहेकोमा निज २०५४।१२।७ मा पक्राउ पर्न आएको देखिन्छ । निज पक्राउ परी अदालतमा उपस्थित भै वयान गर्दा मर्ने व्यक्तिले लिई राखेको छुरी खोसी वायाँ पेटमा हानी मारी फरार भएको हुँ भनी कसूर गरेकोमा सावित रहेको देखिन्छ । निज प्रतिवादीले मृतकले आफुलाई छुरीले टाउकोमा प्रहार गरेको र लात्ता मुक्काले हानेको हुँदा आत्मरक्षाको लागी मृतकले लिई राखेको छुरी खोसी मृतकलाई मारेको भनी जिकिर लिएता पनि सो जिकिर पुष्टि हुने वस्तुनिष्ठ सवुद प्रमाण गुजन आएको देखिदैन भने प्रतिवादी अपराध गरी फरार रहेको मृतकवाट आफु माथी प्रहार भएको घाउँ चोटको घाउ जाँच गराएको नदेखिएको र प्रहरीको प्रयासमा घटना घटीत भएको ३ बर्ष ५ महिना पछि पक्राउ परेपछि उल्लेखित जिकिर लिएकोवाट निजको जिकिर पुष्टी हुन आएको देखिएन । यी पुनरावेदक प्रतिवादीको कर्तब्यवाट मृतकको मृत्यू भएको भन्ने किटानी जाहेरी, सो जाहेरीलाई समर्थन गरी जाहेरवालाले अदालतमा आई गरेको वकपत्र, सर्जमिन मुचुल्काका गणेशवहादुर वुढाथोकी, नरेन्द्र के. सी. समेतले अदालतमा गरेको वकपत्र, टोपवहादुर वली, विष्णु देवी वस्नेत, शिववहादुर वस्नेतले मौकामा प्रहरीमा गरी दिएको ठाडो कागज, मृत्युको कारण नोछीलो धारीलो वस्तुले लागी (देव्रे फोक्सोलाई छेडी, आन्द्रालाई छेडी) शरिर भित्र तथा शरिर वाहिर अत्याधीक मात्रमा रक्तश्राव भई भएको भन्ने पोष्र्टमार्टम रिपोर्ट समेतका मिसिल सँलग्न प्रमाण कागजातहरुवाट मृतकलाई कर्तब्य गरी पुनरावेदक प्रतिवादीले मारेको भन्ने निजको साविती वयान पुष्टि भएको देखियो । पुनरावेदक प्रतिवादीलाई ऐन वमोजिम सजाँय गर्दा चर्को पर्ने हुँदा अ. वं. १८८ नं. वमोजिम सजायमा हेरफेर हुनु पर्दछ भनी प्रतिवादीका कानून व्यवसायीले जिकिर लिनु भएकोले सो तर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी समेतले घेराउ गरी छुरी जस्तो धारीलो हतियारले फोक्सो समेत छेडी सांघातिक प्रहारवाट ज्यान मारेको मिसिलवाट देखिएको र अपराध कसूर गरी सो बाट हुने सजायवाट वच्न फरार रही पक्राउ पर्न आएको देखिदा त्यस्तो प्रतिवादीको सजाय कम गर्न मुलुकी ऐन अ.वं. १८८ नं. को कानूनी व्यवस्था प्रयोग हुन उपयुक्त हुने नदेखिदा नीजका तर्फका कानून व्यवसायीको अ. वं. १८८ नं. बमोजिम सजाय घटाई पाउँ भन्ने जिकिरसँग सहमत हुन सकिएन । तसर्थ माथी विवेचित वुँदा प्रमाणवाट प्रतिवादी उमाभक्त वलीलाई कसूरदार ठहराई मुलुकी ऐन ज्यान सम्वन्धीको १३(१) नं. वमोजिम सर्वश्वसहित जन्मकैदको सजांय गर्ने गरेको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.मीनबहादुर रायमाझी
इति सम्वत २०६० साल असार १३ गते रोज ६ शुभम् ..... ।