निर्णय नं. ७२२५ - कर्तव्य ज्यान

निर्णय नं. ७२२५ ने.का.प.२०६० अङ्क ५.६
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु
सम्बत् २०५९ सालको फौ.पु.नं. ..२९२७
सम्बत् २०५९ सालको फौ.सा.नं. .. ३७८
फैसला मितिः २०६०।३।१३।६
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः गुल्मी नेशा गा.वि.स.वडा नं. १ घर भई कारागार शाखा गुल्मीमा थुनामा रहेकी वर्ष २५ की भिमकला वलाल
विरुद्ध
प्रत्यर्थी
वादीः खड्ग सिं वलालको जाहेरीले श्री ५ को सरकार
वादीः खड्ग सिं वलालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः गुल्मी नेश गा.वि.स. वडा नं. १ घर भई कारागार शाखा गुल्मीमा थुनामा रहेकी वर्ष २५ की भिमकला बलाल
§ लास जांच मुचुल्कामा घाटीमा कपडाको रस्सी वाँधिएको उल्लेख भएको र सव परीक्षण प्रतिवेदनमा डाक्टरको रायमा घाटी कसी (strangulation) मारिएको भन्ने उल्लेख हुंदा पुनरावेदिका वाहेक अरु कुनै व्यक्तिले नवजात शिशुको घांटी कसी मार्नुपर्ने स्थिति प्रमाण परिवन्धवाट देखिन नआएको समेत हुंदा पुनरावेदिका प्रतिवादी भीमकला वलाललाई अभियोग दावीको कसूरदार ठहराई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासीव ठहर्ने ।
§ प्रतिवादी भीमकला वलाल वर्ष २२ की देखिएकी उमेर र अवस्थाले गर्दा परपुरुषको गर्भ रहन गएको र मौकैमा गर्भपतन गर्न गराउन नसकी महीना पुगेको जातक जन्मेको र लोकलज्जावाट वच्न ठहरे वमोजिमको अपराध गरेको देखिएतापनि सर्वश्वसहित जन्मकैदको सजाय अपराध अनुसारको सजाय नहुने भई चर्को पर्ने देखिएको र पुनरावेदन अदालत र शुरु अदालतले ७ बर्ष कैद सजाय गर्ने गरी राय लगाएको भएतापनि ४ बर्ष कैद सजाय गरेवाट एकातिर फौजदारी न्यायको मकसद पुरा हुने र अर्को तर्फ विवशताबस् कलिलो उमेरको मानवीय कमजोरीका कारणले सामाजिक लाजगालको स्वभाविक विवशताबाट हुन गएको अपराधको सजायवाट शेष जीवन व्यतित गर्न निज प्रतिवादी भीमकलाले त्राण पाउने देखिएकोले अ.वं. १८८ नं. वमोजिम निजलाई कैद वर्ष ४ (चार) मात्रको सजाय हुने ।
(प्र.नं. १७ र १८)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०५८।१०।१७ को फैसला उपर न्यायप्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) र दफा १० अन्तर्गत पुनरावेदन परी र साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. मिति ०५६।४।१३ गतेका दिन मेरो माहिलो छोरा खुम बहादुर वलालको श्रीमती माहिली वुहारी भिमकला वलालले मेरो छोरा विदेश भारतमा गएको, घरमा निज बुहारीलाई छाडी गएकोमा, यहि ०५५ सालको माघे संक्रान्तिमा घरमा आई चैत्र महिनामा विदेश भारत तर्फ गएका हुन, निज बुहारी घरमा र माइतमा गरी आएकी थिइन,०५६।४।१३ गतेका दिन निज बुहारीले पुरा मास पुगेको छोरी जातकको नवजात शिशु जन्माई उक्त शिशुलाई कर्तव्य गरी मारी छाडेकिले निजलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त।
३. मृतक शिशुको दाहिने हात कुहिनाबाट खुम्चिएर घांटीतर्फ गएको, आन्द्राभुडी निस्केको र झिंगाहरु भन्की औंसा किराहरु परेको, मृतक शिशुको घांटीमा हरियो कपडाको रस्सि कसिएको अवस्थामा देखिएको र मृतक शिशुको लाश पूर्ण मांस पुगेको अवस्थाको देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. गुल्मी नेटा गा.वि.स. वडा नं. १ सिम्ले स्थित पूर्व होम बहादुर वलालको भीर खरवारी, पश्चिम निज होमबहादुर वलालकै खरवारी, उत्तर निजकै खरवारी दक्षिण चिउरीको रुख यति ४ किल्ला भित्र खरवारीको वीचमा पहेलो रंगको चुन्नीले ढाकेको अवस्थामा मृतक लाश रहेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
५. मेरो छोरा खुमवहादुर वलालले निज भिमकला वलाललाई ०५४ सालमा आफै खुसी विवाह गरी घरमा ल्याई भित्र्याई बुहारी तुल्याइएको थियो, यस्तैमा निज छोरा नोकरी गर्ने सिलसिलामा भारत वम्वईतर्फ गएका र ०५५ सालको माघे संक्रान्तिमा घरमा आई चैत्र महिनामा भारततर्फ गएका हुन् । निज बुहारी भिमकला घरमा रहे बसेकी र घर माइत गर्दै आएकी थिईन । यस्तैमा ०५६।४।१३ गते निज बुहारीले गाउंमा को कस्को अवैध गर्भधारण गरी सो गर्भबाट पूर्णमास पुगेको छोरी जातकको नवजात शिशु जन्माई उक्त शिशुलाई कर्तव्य गरी मारिछन् । सो कुरा मैले बेलुकीपख मात्र निज बुहारीले भनेकीले थाहा पाएको हुम् निज बुहारीको गर्भ को कस्को हो ? यकिन खुलाउन सक्दिन । ०५६।४।१३ गते घटनास्थलमा कर्तव्य गरी मारी छाडेको जातक छोरीको शिशु मेरो माहिली बुहारी भीमकलाले नै जन्माई कर्तव्य गरी मारेकी हुन् भन्ने समेत व्यहोराको वुझिएकी पुतली वलालले प्रहरीमा गरेको कागज ।
६. घांटी थिची मृत्यु भएको भन्ने मृतक नवजात शिशुको पोष्टमार्टम रिपोर्ट ।
७. ०५६।४।१३ गते भिमकला वलालले पूर्णमास पुगेको छोरी जन्माई घाँटी च्यापी कर्तव्य गरी मारी खर्यानमा फालेको भन्ने सुनियो । निजले को कस्को गर्भ बोकी बच्चा जन्माईन थाहा भएन भन्ने समेत व्यहोराको वुझिएका हर्कवहादुर बलाल, यम बहादुर वलाल, शेर बहादुर बलाल, जितेन्द्र श्रीस, समुन श्रीस,यककुमारी थापा र गोविन्द बलाल समेतको एकै मिलानको कागज ।
८. ०५५ साल कार्तिक महिनामा पति घरमा नभएको अवस्था भोट बहादुर श्रीससंग एक दिन करणी सम्पर्क भएको थियो, तत्काल गर्भ रहेको जानकारी भएन, मिति ०५६।४।१३ गते पुर्णमास पुगेको छोरी जन्मेकोले डरले कपडाको त्यान्द्रोले घांटी कसी मारी फालेकी हुम् भन्ने समेत व्यहोराको भीमकला वलालले प्रहरीमा गरेको वयान कागज ।
९. प्रस्तुत मुद्दामा जाहेरी दरखास्त, घटनास्थल तथा लाश प्रकृति मुचुल्का, पोष्टमार्टम प्रतिवेदन, प्रतिवादीको वयान कागज, वुझिएका व्यक्तिहरुको कागज समेतका आधारमा प्रमाणबाट मिति ०५६।४।१३ गतेका दिन भिमकला वलालले पूर्णमास पुगेको नवाजत छोरी जन्माई कर्तव्य गरी मारी फालेको भन्ने कुरा पुष्टी भएकोले र निजले मु.ऐन ज्यान सम्बन्धीको महलको १ नं. विपरीत कसूर अपराध गरेको देखिंदा निजलाई सोही ऐनको १३(३) नं. बमोजिम सजाय हुन माग दावी लिई प्रतिवादी भीमकला वलाल र सक्कल मिसिल समेत यसै साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको मिति ०५६।४।२५ को पाना ३ को अभियोग पत्र ।
१०. पति खुम बहादुरसंग मैले विवाह गरेको ३ बर्ष लाग्यो केटाकेटी जायजन्म भएको थिएन लोग्ने खुमवहादुर बैशाखमा विवाह गरेपछि भारतमा नोकरी गर्न गै ०५५ साल माघ महिनामा घरमा आई चैत्र सम्म घरमा बसी चैत्र महिनामा नै भारत जानु भएको हो । ०५५ साल कार्तिक महिना मै माइत गएको अवस्था भोट बहादुर श्रीसले तिहारको भैली खेल्न मेरो माइती घर गएको मौका रातीको समयमा ( गोठमा ) लगी मलाई करणी गरेको हो । सो ०५५ साल कार्तिक १० गते हो । ०५६ साल श्रावण १३ गते बिहान हाम्रो घरको पछाडि मकै वारीमा म गएको मौकामा मास पुगेको वच्चा जन्मी बच्चा जन्मदा जिउंदै अवस्थामा थियो जन्मेपछि वारीमा भेटाएको कपडाको रसिले घाँटीमा बांधी वच्चालाई मारेकी हुम् भन्ने समेत व्यहोराको प्रतिवादी भीमकला वलालले अदालतमा गरेको वयान ।
११. भीमकला वलालले प्रहरीमा तथा अदालतमा गरेको वयान झुठ्ठा हो । भीमकला मेरो मामाको छोरी वैनी नाता पर्छिन । ०५६।७।१० गते म आफ्नो गाउं घरमा थिइन । निजसंग उक्त दिन भेटघाट भएको पनि होइन । सो मितिमा म तम्घासमा छु । निजलाई मैले करणी गरेको र श्रीमती बनाएको छैन भन्ने समेत व्यहोराको वुझिएका भोटवहादुर श्रीसले अदालतमा गरेको वयान ।
१२. गोविन्दबहादुर वलाल, यमकुमारी वलाल, शेर बहादुर बलाल, खड्ग सिं बलाल, खड्ग बहादुर, सुमन श्रीस, यम बहादुर वलाल, प्रेमवहादुर थापा समेतको वकपत्र ।
१३. आफु माथि लगाइएको अभियोग दावीमा सावित भै प्रतिवादीले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष सावित भै वयान भएको पाइन्छ र सो वयान लाश प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टद्वारा पुष्टि भएको अवस्था हुँदा प्रतिवादीले लोग्ने विदेशमा गएको कारण परपुरुषसंग संभोग हुंदा गर्भ रहन गै जिउंदो जन्मेको बच्चाको घांटीमा कपडाको रसिले बांधी कर्तव्य गरी मारेको भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणबाट समर्थित भएको अवस्था हुँदा निज प्रतिवादी भिमकला वलाललाई ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी सरल सोझो र सादा प्रकृतिको छलकपट नजान्ने खालकी वौद्धिक क्षमता कम भएको कारणबाट बच्चा जन्माई दवाई छाड्दा पनि हत्याको आरोपबाट वच्छु भन्ने लोकलज्जावाट वच्न सोझो प्रवृत्ति देखाएको परिस्थिति र कारणबाट घटना घट्न गएको परिस्थितिलाई मध्येनजर राख्दा सर्वश्वसहित जन्मकैदको सजाय चर्को पर्ने भै सात वर्ष कैद सजाय गर्नु उपयुक्त देखिएकोले अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको गुल्मी जिल्ला अदालतको मिति ०५७।६।३० को फैसला ।
१४. प्रतिवादी भीमकला वलाललाई ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहराई प्रतिवादीको उमेर अवस्था र सिधासादा प्रकृतिको छलकपट नजान्ने खालको भई परपुरुषको गर्भ रहेको कुरा सामाजिक लोक लज्जावाट वच्न अन्य वैकल्पीक उपायको खोजी नगरी, नवजात शिशुलाई मारेको भन्ने कुरा देखिन आएवाट अभियोग दावी अनुसार सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले कैद वर्ष ७ (सात) उचित देखिएको भन्ने समेतको राय व्यक्त गरिएको शुरु गुल्मी जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति ०५८।१०।१७ को फैसला ।
१५. पुनरावेदन अदालतको फैसलामा चित्त नबुझेको कुरामा पुनरावेदन गरेको छु । नवजात शिशुलाई मार्ने पूर्व योजना केही नभएकोअवस्था हुंदा ज्यान सम्बन्धीको ६(२) अनुसार वा अ.वं. १८८ नं. वमोजिम ७ बर्ष भन्दा कम सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी भीमकलाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला उपर प्रतिवादी भीमकलाको पुनरावेदन परी साथै पेश हुन आएको देखिंदा सो पुनरावेदनवाट निर्णय हुने हुंदा साधकको लगत कट्टा गरिदिनु ।
१७. प्रतिवादी भीमकला वलालको परेको पुनरावेदन जिकिर समेतको रोहमा, निजलाई आरोपित कसूर गरेको ठहर गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्दा चर्को पर्ने भनी अ.वं. १८८ नं. वमोजिम सजाय कैद वर्ष ७ मात्र हुने भनी शुरु गुल्मी जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेको छ, छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१८. निर्णयतर्फ विचार गर्दा उपर्युक्त वमोजिम सजाय भए तर्फ परेको प्रस्तुत पुनरावेदनमा पुनरावेदक प्रतिवादीले अनुसन्धानको क्रममा गरेको कागज स्वइच्छाले नगरेको र होस नपुर्याई नवजात शिशुलाई वारीमा कपडाले लपेटी छाडी आएको भन्ने जिकिर लिई भवितव्यको वारदात देखाई ज्यान सम्बन्धीको ६(२) नं. वमोजिम सम्म सजाय हुने वारदातमा १३(३) नं. वमोजिम सजाय नहुनुपर्ने भन्ने तर्क गरिएको देखिन्छ । मिसिल संलग्न प्रमाणको अवलोकन गर्दा लास जांच मुचुल्कामा घाटीमा कपडाको रस्सी वाधिएको उल्लेख भएको र सव परीक्षण प्रतिवेदनमा डाक्टरको रायमा घाटी कसी (strangulation) मारिएको भन्ने उल्लेख हुंदा पुनरावेदिका वाहेक अरु कुनै व्यक्तिले नवजात शिशुको घांटी कसी मार्नुपर्ने स्थिति प्रमाण परिवन्धवाट देखिन नआएको समेत हुंदा पुनरावेदिका प्रतिवादी भीमकला वलाललाई अभियोग दावीको कसूरदार ठहराई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासीव ठहर्छ । ज्यान सम्बन्धीको ६(२) नं. अनुसार सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१९. पुनरावेदन अदालत वुटवलले अ.वं. १८८ नं. वमोजिम राय लगाएको सम्बन्धमा विचार गर्दा प्रतिवादी भीमकला वलाल वर्ष २२ की देखिएकी उमेर र अवस्थाले गर्दा परपुरुषको गर्भ रहन गएको र मौकैमा गर्भपतन गर्न गराउन नसकी महीना पुगेको जातक जन्मेको र जन्मेको कारणले लोकलज्जावाट वच्न ठहरे वमोजिमको अपराध गरेको देखिन आउंछ । पुनरावेदन अदालतको न्यायाधीशहरुको रायमा प्रतिवादी निज भीमकला कलिलो उमेरको मात्र नभै सीधा साधा प्रकृतिकी एवं छलकपट नजान्ने खालको केटी भएको भन्ने समेत हुंदा उपरोक्त सवै कुरालाई दृष्टिगत गर्दा सर्वश्वसहित जन्मकैदको सजाय अपराध अनुसारको सजाय नहुने भई चर्को पर्ने देखिएको र पुनरावेदन अदालत र शुरु अदालतले ७ बर्ष कैद सजाय गर्ने गरी राय लगाएको भएतापनि ४ बर्ष कैद सजाय गरेवाट एकातिर फौजदारी न्यायको मकसद पुरा हुने र अर्को तर्फ विवशताबस् कलिलो उमेरको मानवीय कमजोरीका कारणले सामाजिक लाजगालको स्वभाविक विवशताबाट हुन गएको अपराधको सजायवाट शेष जीवन व्यतित गर्न निज प्रतिवादी भीमकलाले त्राण पाउने देखिएकोले अ.वं. १८८ नं. वमोजिम निजलाई कैद वर्ष ४ (चार) मात्रको सजाय हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी भिमकला वलालके – माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकाले शुरु जिल्ला अदालतको फैसलाको तपसिलको देहाय १ को लगत राख्न नपर्ने हुंदा सो लगत कट्टा गरी निजलाई सर्वश्वसहित जन्मकैद हुने भई अ.वं. १८८ नं. वमोजिम सजाय कैद वर्ष ४ ( चार ) मात्र हुने भएकोले सोही व्यहोरा जनाई लगत राखी निज ०५६।४।१८ देखि प्रहरी हिरासतमा रही हालसम्म थुनामा रहेको देखिंदा सोही मितिवाट कैद मिन्हा दिई असुल उपर गर्नु भनी शुरु गुल्मी जिल्ला अदालतमा लेखी पठाई दिनु ....... १
नियमानुसार गरी मिसिल वुझाई दिनु .......... १
उपर्युक्त रायमा सहमत छु ।
न्या.सुशीला सिंह सिलु
इति सम्बत् २०६० साल असार १३ गते रोज ६ शुभम् .............