शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५५२ - कर्तव्यज्यान ।

भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक:

निर्णय नं. ८५५२

 

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

फौ.पू.इ.नं. ०६७CF००१५

फैसला मितिः २०६७।१२।२४।५

मुद्दाः कर्तव्य ज्यान 

पुनरावेदक/वादीः श्यामप्रसाद भट्टको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. घर भई कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको मुसाई भन्ने        विवेक लामा

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. गोपाल भट्टराई

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या.श्री गोविन्दप्रसाद पराजुली

मा.न्या.श्री पोषनाथ शर्मा

 

§  अ.वं. १८८ नं. बमोजिम राय लगाई घटी सजाय गरेउपर वादी प्रतिवादी कसैलाई पुनरावेदन गर्ने अधिकार नहुने 

§  अ.वं. १८८ नं. बमोजिम भएको सजाय बढी भएको भनी प्रतिवादीहरूले अथवा सो घटी सजाय गर्ने रायविपरीत बढी सजाय हुनुपर्ने भनी वादीले पुनरावेदन गर्न पाउने हुँदैन । अ.वं. १८८ नं. को प्रयोगको विषय न्यायिक विवेकको विषय भएकाले त्यसलाई मुद्दाका कुनै पनि पक्षले चुनौती दिन वा सोसम्बन्धी विषयलाई अधिकारको रुपमा दावी गर्न नसक्ने 

§  न्यायिक विवेक प्रयोग गर्न पाउने गरी कानूनले अनुमति प्रदान गरेको अवस्थामा त्यसरी प्रयोग गरिने विवेकमाथि अङ्कुश लगाउने गरी मुद्दाका पक्षले नै चुनौती दिने हो भने त्यस्तो अधिकार निरर्थक हुन जान्छ । कसूरदार देखिँदादेखिँदै पनि विभिन्न परिस्थितिहरूको आकलन र विश्लेषणबाट कम सजाय हुनुपर्ने महसूस गरिएको अवस्थामा मात्र त्यस्तो स्वविवेकीय अधिकारको प्रयोग गरिन्छ । त्यसरी विवेक प्रयोग गर्दा समेत त्यसको स्पष्ट आधार र कारण खुलाउनु पर्ने व्यवस्था आफैंमा स्वविवेकीय अधिकारको स्वेच्छाचारी प्रयोग हुन नहुने मान्यताको उपज भएकाले त्यसमा पुनः पक्षहरूद्वारा आपत्ति जनाउने वा यस्तो हुनुपर्ने भनी आग्रह गर्न नमिल्ने 

(प्रकरण नं.६)

 

पुनरावेदक/वादी तर्फबाटःविद्वान उपन्यायाधिवक्ता श्री शंकर राई

प्रत्यर्थी/प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन अ.वं.१८८ नं.      

§  ऐ. ज्यान सम्बन्धी महलको १३(३) नं.

§  बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३)

 

फैसला

न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौंडाको २०६५।१।१७ को फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन परी संयुक्त इजलासको मिति २०६७।६।११ को आदेशअनुसार पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर देहायबमोजिम रहेको छः

मिति २०६२।२।१४ गते साँझ १८.०० बजेको समयमा गा.वि.स.पिपरा सिमरा वार्ड नं. ६ स्थित चिनी मिलको खाली जग्गामा वार्ड नं. ६ र ७ बीच फुटवल खेल्ने क्रममा सामान्य विवाद भै वार्ड नं. ७ को चौधरी टिमले मदनप्रसाद भटृलाई कुटपीट गरेकोमा निज घाइते भई सिमराको सञ्जिवनी हेल्थ केयर सेन्टरमा ल्याउँदा ल्याउँदै मृत्यु भएको मौखिक जाहेरी, सो हेल्थ केयर सेन्टरभित्र इमर्जेन्सी वार्डको खाटमाथि उत्तानो अवस्थामा रहेको लाश, गाला र आँखा बीच नीलडाम, अण्डकोषको दायाँपटिृको भाग सुन्निएको, मलद्वार सुखा भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का 

जिल्ला वारा गा.वि.स. पिपरा सिमरा वडा नं. ६ स्थित पूर्वमा बाउने खोला, पश्चिम एयरपोर्ट आउने बाटो, उत्तरमा घना जंगल, दक्षिणमा सुदर्शन राणाको फार्म, यति चार किल्लाभित्र रहेको खुल्ला चौरको दक्षिणतर्फको पोल नजिक चौरमा वादविवाद हुँदा मदनप्रसाद घाइते भई तत्काल स्थानीय संजिवनी हेल्थ केयर सेन्टरमा उपचारको लागि लगेको भन्ने समेत व्यहोराको घटनास्थल विवरण 

जिल्ला वारा पिपरा सिमरा गा.वि.स. वडा नं. ६ स्थित बाग्लुङ टोल र सोही वडा स्थित शिव मन्दिर टोलका युवाहरूले २०६२।२।१४ गते वीरगञ्ज चिनी कारखाना लिमिटेडको उखु फाराम सिमराको जग्गा खाली चौरमा फुटवल म्याच खेल्ने निधो गरेर दुवै पक्षका खेलाडीहरू जम्मा भएको, सो समय बाग्लुङ टोलका नारायण सापकोटा खेलाडी रहेको समूहमा ४/५ जना खेलाडी उपस्थित हुन नसकेको भनी जानकारी दिए पछि शिव मन्दिर टोलका भागीरथ भट्ट समेतका समूहले अर्क दिन खेल्ने सहमति भै फुटवल खेल स्थगित गरेको घोषणा गर्दा पिपरा सिमरा गा.वि.स. वडा नं. ७ बस्ने चौधरी थर भएका थारू जातका केटाहरूले कम भएको खेलाडीको सट्टा हामी खेली दिन्छौ भन्दा शिव मन्दिर टोलका खेलाडीहरूले सो कुरा इन्कार गरेर साथमा लिई गएको भकुण्डो अनौपचारिक तरिकाबाट खेल्न लाग्दा चौधरी टोलबाट दर्शकको रुपमा गएका केटाहरू पनि खेल मैदानमा पसी भकुण्डो खेल्न थाले । यसै क्रममा म जाहेरवालाको कान्छो काका गंगाधर भट्टको छोरा भागीरथ भट्टले प्रहार गरेको भकुण्डो दक्षिणमा रहेको मकै बालीतर्फ पुगेको निहुँ बनाई ओमप्रसाद चौधरी खेल मैदानमा आई भागीरथ भट्टलाई आमा चकारी गाली गलौज गरी कुटपीट गर्दै श्याम चौधरी, मुसाई लामा समेत ६/७ जनालाई सहयोगको लागि बोलाई ठोक सालेलाई भनी आदेश गर्दा अन्य मानिसहरू पनि सो ठाउँमा पुगी लात हात बक्सिङ्गले कुटपीट गर्न लाग्दा मदन भट्ट छुट्याउन गएको । निजलाई माथि उल्लिखित मानिसहरूले कुटपीट गरी समाती घाँटी बटारी अण्डकोष तथा कोखा लगायतका अति संवेदनशील अंगमा बुट तथा छालाको पेटी लगायतले प्रहार गर्दा भागीरथ भट्ट भागी ज्यान जोगाउन सफल भए तापनि निजलाई गम्भीर चोट पटक लागेको, मदन भट्टलाई कुटपीट गर्दाको अवस्थामा वेहोस भएर भूईमा लड्न पुगेको हुँदा निज मरी सकेको सम्झी कुटपीट गर्ने ओमप्रसाद चौधरी समेत भागी गएछन् । बेहोस भएका मदन भट्टलाई सिमरा स्थित संजीवनी हेल्थकेयर सेन्टर अस्पतालमा पुर्‍याई उपचार गराउँदा डाक्टरबाट मृत्यु भैसकेको घोषणा गरेको हुँदा ओमप्रसाद चौधरी थारू समेतलाई पक्राउ गरी अन्य सहयोगीहरूको नाम ठेगाना खुलाई पक्राउ गरी सबैलाई कानूनबमोजिम सजाय गरी घाइते भागीरथ भट्टको चोटको जाँच केश फाराम समेत गराई पाऊँ भन्ने श्यामप्रसाद भट्टको २०६२।२।१६ मा दर्ता भएको जाहेरी दरखास्त 

वारदातपश्चात् भागी फरार भएका प्रतिवादीहरूलाई खोजतलास गर्दै जाँदा प्रतिवादी श्याम चौधरी, ओमप्रसाद चौधरी र मुसाई लामा समेतलाई पक्राउ गरी दाखिला गरेको प्र.ना.नि.बृजकिशोर चौधरीको प्रतिवेदन 

In our opinion cause of death is due to respiratory arrest due to fracture of cervical bone भनी उल्लेख गरिएको शव परीक्षण प्रतिवेदन 

मिति २०६२।२।१४ गते साँझ १७:०० बजेको समयमा पिपरा सिमरा गा.वि.स. वडा नं. ६ स्थित वीरगञ्ज चिनी कारखानाको खुल्ला जग्गामा रहेको फुटवल मैदानमा बाग्लुङ्गे र तल्लो शिव मन्दिर टोलबीच फुटवल म्याच खेल्न भनी शिव मन्दिर टिमबाट गएको वाग्लुङ्गे टिमबाट चौधरीहरू समेत समावेश भई आएकोमा बाग्लुङ्गे केटाहरू पूरा नभएको कारण खेल रद्द गरी आफ्नै टिमबाट ग्रुप बनाई खेली रहेको अवस्थामा चौधरी टोलका केटाहरूले छुट्टै बल ल्याई डिस्टर्व गरेको हुँदा तिमीहरूसँग हामी आज खेल्दैनौ, भोली टिम पुर्‍याएर आउनु अनी मात्र खेल्छौँ भनी मैले ओमप्रसाद चौधरी समेतलाई जानकारी गराउँदा निजहरूले अटेर गरी निहुँ खोजेपछि ओमप्रसाद चौधरी, श्याम चौधरी, मुसाई भन्ने विवेक लामाले आमा चकारी गाली गलौजको शब्द प्रयोग गरी हातपात गर्न थाले । मलाई विपक्षीले कुटेको देखी भाई मदनप्रसाद भट्टले छुटाउन जाने क्रममा भाई समेतलाई निजहरूले कुटपीट गरी भाई र म घाइते भएकोमा हामी दुवैलाई संजीवनी हेल्थ केयर सेन्टरमा ल्याउँदा भाइको बाटैमा मृत्यु भएको हो । मृतक भाईलाई श्याम चौधरी, ओमप्रसाद चौधरी, मुसाई भन्ने विवेक लामाले हात, खुट्टा, लात समेतले प्रहार गरी घाइते बनाएको हो र सोही कारणबाट मृत्यु भएको हो भन्ने सुरज भन्ने भागिरथ भट्टले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज 

वारदात मिति र समयमा म समेतका मानिसहरूले कुटपीट गर्दा मदनप्रसाद भट्ट सख्त घाइते भई उपचारको लागि स्थानीय संजिवनी मेडिकल हेल्थ केयर सेन्टरमा ल्याउँदा बाटैमा मृत्यु भएको हो । म लगायत ओमप्रसाद चौधरी, मुसाई भन्ने विवेक लामा समेत ३ जनाले झै झगडा भई कुटपीट गर्दा भागीरथ भट्ट र मदनप्रसाद भट्टलाई कुटपीट गरेको हो । फुटवल मैदानमा हाम्रो ग्रुपमा ओमप्रसाद चौधरी, , मुसाई भन्ने विवेक लामा, लिलाबहादुर कार्की, संदिप सिंह, पप्पु वि.क., राजेन्द्र पौडेल समेत थिए । भागीरथको टिममा नारायण सापकोटा, सुजित राई, सुमन राई समेतका मानिस थिए । निजहरूले कुटपीट गरेका छैनन् । मात्र हामी तीन जनासँग झगडा भएको हो भन्ने व्यहोराको प्रतिवादी श्याम चौधरीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान 

वारदात मिति र समयमा मलगायतका मानिसहरूले कुटपीट गर्दा मदनप्रसाद भट्ट र निजको दाजु भागीरथ भट्ट सख्त घाइते भएकोमा घाइतेहरू मध्ये मदनप्रसाद भट्टको मृत्यु भएको हो । फुटवल खेल्ने क्रममा ओमप्रसाद चौधरी र भागीरथ भट्टबीच विवाद हुन लाग्दा दुवै जना कुटपीट गर्न लागेको अवस्थामा म र श्याम चौधरी समेत छुटाउन जाँदा म समेतलाई कुटपीट गरे पछि हामी तीनै जनाले हात मुक्काले भागीरथलाई हान्न थाले पछि मदनप्रसाद भट्ट समेत छुटाउन आउँदा निजलाई हामी तीनै जना मिली हातखुट्टाले कुटपीट गर्दा कुटाईबाट दुवै दाजु भाई घाइते भएकोमा घाइते मध्ये मदनप्रसाद भट्ट उपचारको लागि लाँदा लाँदै मृत्यु भएको हो । वारदात मिति समयमा हाम्रो टिमका केटाहरू पूरा नभएको कारण म्याच नभए तापनि खेल मैदानमा ओमप्रसाद चौधरीले बल ल्याई गोल नजिक हान्ने क्रममा विवाद उत्पन्न भएको हो । को कसको हातको चोटबाट ढली घाइते भई उपचारको क्रममा मृत्यु भएको हो, सो कुरा यकीन भन्न सकिन । हाम्रो टिममा खेल्न आउने लिला कार्की, पप्पु वि.क. छुटाउन भनी गएका थिए । अरु पछि को कसले कुटपीट गरे थाहा भएन । घाइते र मृतकबीच पूर्व चिनजान तथा रिसइवी छैन भन्ने प्रतिवादी मुसाई भन्ने विवेक लामाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान 

वारदात मिति र समयमा म लगायतका केटाहरूले कुटपीट गर्दा मदनप्रसाद घाइते भई उपचारको क्रममा मृत्यु भएको हो । मलगायत श्याम चौधरी र मुसाई भन्ने विवेक लामाले भागीरथ भट्ट र मदनप्रसाद भट्टलाई कुटेको हो । भागीरथ भट्टसँग फुटवल खेल्ने क्रममा बल फ्‌याँकेको कारण आमा चकारी गाली गरेपछि मैले शुरुमा भागीरथसँग झैं झगडा गर्दा कुटपीट भएको र त्यसपछि श्याम चौधरी र मुसाई भन्ने विवेक लामा आएर तिनै जना मिली हानाहान गर्दै थियौं । सोही समयमा भागीरथको भाई आई यसो नगर भने पछि हामीले सहन नसकी हामी तीनै जनाले एकएक मुक्का हानेका थियौं । सोही मुक्काबाट लागेको ठक्करबाट निज मदनप्रसाद भट्टलाई सिमरातर्फ ल्याउने क्रममा मृत्यु भएको हो । मसँग श्याम चौधरी, मुसाई भन्ने विवेक लामा ३ जना लगायत लीलाबहादुर कार्की, कर्णबहादुर कार्की, पप्पु वि.क. थिए । खेल नभएको कारण बाहिर वसी रहेका थिए । कुटपीट गर्दा मान्छे मर्छ भन्ने थाहा भए तापनि सामान्य वादविवाद हुँदा के हुन्छ भनेर कुटपीट गरेको हो भन्ने व्यहोराको प्रतिवादी ओमप्रसाद चौधरीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान 

यस विद्यालयको भर्ना अभिलेखअनुसार छात्र श्याम चौधरीको जन्म मिति २०४६।१।१३ भएको भन्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, औरही, बाराको २०६२।२।२६ को पत्र 

ओमप्रसाद चौधरीको जन्म मिति विद्यालयको भर्ना अभिलेखअनुसार २०४५।६।७ भएको र २०५४ सालमा १ कक्षाको वार्षिक परीक्षा दिए पछि पढ्न छोडेको, विवेक लामाको जन्म मिति विद्यालयको भर्ना अभिलेख अनुसार २०४६।५।१८ भएको भन्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय औरही बाराको २०६२।२।२६ को पत्र 

मिति २०६२।२।१४ गते फुटवल खेल हेर्न भनी गई मैदान बाहिर वसी खेल हेर्दै थिएँ । खेल शुरु हुनुभन्दा अगाडि भागीरथ भट्टसँग ओमप्रसाद चौधरी तथा श्याम चौधरी र मुसाई भन्ने विवेक लामा समेतले फुटवल खेल खेल्न भनी मैदानमा प्रवेश गरी खेल्न लागेकोले निज भागीरथ भट्टसँग झै झगडा भएकोमा निजलाई कुटपीट गरी रहेको देखी छुटाउन मदनप्रसाद भट्ट खेल मैदानमा गई छुटाउन कोसिस गर्दा ओमप्रसाद, श्याम चौधरी र मुसाई भन्ने विवेक लामा समेतले निजलाई जत्रतत्र कुटपीट गरेको कारणबाटै निज मदनप्रसादको मृत्यु भएको हो भन्ने व्यहोराको सुमन हमालले गरेको कागज 

मिति २०६२।२।१४ गते साँझको १८:०० बजेको समयमा फुटवल खेल मैदानमा एक आपसमा गाउँकै खेलाडीहरू मिलेर बाँडफाँड गरी खेल शुरु भैसकेको अवस्थामा प्रतिवादीहरू श्याम चौधरी, ओमप्रसाद चौधरी तथा मुसाई भन्ने विवेक लामा समेतका केटाहरू खेल मैदानमा प्रवेश गरी जवरजस्ती फुटवल खेल्न शुरु गरेका हुन् । सोही क्रममा बल बाहिर गएको अवस्थामा ओमप्रसाद चौधरीले भागीरथ भट्टलाई अपशब्द प्रयोग गरेको, हात हाली झै झगडा गर्न थालेको अवस्थामा मदन भट्टले छुटाउन जाँदा निजलाई पनि ठोक भनी मुसाई भन्ने विवेक लामा, श्याम चौधरी र ओमप्रसाद चौधरी समेत भई निज मदनप्रसाद भट्टलाई कुटपीट गर्दा मैले छुटाउन कोशिस गरेको हुँ, छुटाउन सकिन । पक्राउमा परेका प्रतिवादीहरूले मृतकलाई जत्रतत्र कुटपीट गरेको कारणबाट मदनप्रसाद भट्टको मृत्यु भएको हो भन्ने लिलाबहादुर कार्कीले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज 

गाउँका खेलाडीहरूले फुटवल खेल खेली रहेको अवस्थामा प्रतिवादी श्याम चौधरी, ओमप्रसाद चौधरी तथा मुसाई भन्ने विवेक लामा खेल मैदानमा प्रवेश गरेकोमा मृतकको दाजु भागीरथ भट्टसँग फुटवल बाहिर गएको कारणबाट वादविवाद भै रहेकोमा निज भागीरथलाई ओमप्रसाद चौधरी, श्याम चौधरी तथा मुसाई भन्ने विवेक लामा समेत भई कुटपीट गरेको देखी निज मृतक सो झै झगडा छुटाउन भनी जाँदा निज मदनप्रसादलाई पनि कुटपीट गरेको कारणबाट मृत्यु भएको हो भन्ने व्यहोराको संदिप सिंहले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज 

मिति २०६२।२।१४ गते १८:०० बजेको समयमा फुटवल खेल्न भनी गएकोमा साथीहरू पूरा भै सकेकोले म बाहिर नै हेरी बसेको थिएँ । सोही अवस्थामा झैं झगडा शुरु हुँदा मारपीट साले पहाडियाहरूलाई भन्दै ओमप्रसाद चौधरी, श्याम चौधरी तथा मुसाई भन्ने विवेक लामा समेतसँग भागीरथ भट्टको झै झगडा हुँदा मृतक मदनप्रसाद भट्ट दाजुलाई कुटपीट गरेको देखेर छटउन जाँदा प्रतिवादीहरू ओमप्रसाद चौधरी, श्याम चौधरी तथा मुसाई भन्ने विवेक लामा समेत भएर कुटपीट गर्दा सोही कुटाइको कारणबाट जाहेरवालाको भाई मदनप्रसाद भट्टको मृत्यु भएको हो भन्ने समेत व्यहोराको राजेन्द्र पौडेलले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज 

मिति २०६२।२।१४ गते १८:०० म शिव मन्दिरको तर्फबाट फुटवल खेलेको थिएँ । मसँग भागीरथ भट्ट पनि रहेको थियो । खेल्दै गरेकोमा प्रतिवादी ओमप्रसाद चौधरी, श्याम चौधरी र मुसाई भन्ने विवेक लामा समेतले बल लिएर खेल मैदानमा प्रवेश गरी खेल्न थाले र बल गोल पोष्टमा पुग्यो । भागीरथले बल बाहिर फाली दिएको र सोही विषयमा भागीरथसँग झै झगडा गर्न थालेकोमा निजको भाई मदनप्रसाद तथा अन्य खेलाडीहरू समेत झगडा छुट्याउन लागेका थिए । प्रतिवादी मुसाई भन्ने विवेक लामा, श्याम चौधरी तथा ओमप्रसाद चौधरी समेतले कुटपीट गरेको कारणबाट निज मदनप्रसाद भट्टको कुटपीट कै कारणबाट मृत्यु भएकोमा मलाई पूर्ण विश्वास छ भन्ने प्रदिप थापाले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज 

फुटवल खेल मैदानमा पक्राउमा परेका प्रतिवादी मुसाई भन्ने विवेक लामा, श्याम चौधरी तथा ओमप्रसाद चौधरी समेतले भागीरथ भट्टलाई कुटपीट गरेकाले निजको भाई मदनप्रसाद भट्ट छुट्याउन जाँदा निजलाई ओमप्रसाद चौधरी, श्याम चौधरी तथा मुसाई भन्ने विवेक लामा समेत भई निज मदनप्रसाद भट्टलाई कुटपीट गरेको कारणबाट निजको मृत्यु भएकोमा पूर्ण विश्वास छ भन्ने समेत व्यहोराको श्यामप्रसाद पाठक समेत ५ जनाको वस्तुस्थिति मुचुल्का 

विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले मर्छ भन्ने जानीजानी अति संवेदनशील अंगमा बक्सीङ्ग, लात तथा छालाको पेटीले निर्मम रुपमा कुटपीट गरी घाँटी बटारी दिएकोले सोही कारणले घाँटीको हाड भाँचिई श्वास प्रश्वास प्रक्रिया अवरुद्ध भई मृतक मदनप्रसाद भट्टको तत्कालै मृत्यु भएको देखिएकोले निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. ले निषेधित गरेको कार्य गरी ज्यान सम्बन्धी महलको १३(३) नं. को कसूर अपराध गरेकोले प्रतिवादीहरू श्याम चौधरी, ओमप्रसाद चौधरी र विवेक लामालाई सोही ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको २०६२।३।६ मा दर्ता भएको अभियोग पत्र 

उमेर १३ वर्षको भएँ, २०६२।२।१४ गते बारा जिल्ला पिपरा सिमरा गा.वि.स. वडा नं. ६ स्थित चिनी कारखानाको खाली जग्गामा फुटवल खेल हेर्न गएको थिएँ । केही वेर पछि फुटवल खेल हुने ठाउँमा होहल्ला झै झगडा हुन थाल्यो । धेरै मानिसहरू भएकाले कसका बीचमा झै झगडा भयो, मलाई थाहा भएन । एकै छिन पछि त्यहाँ रहेका मानिसहरूले मदनप्रसाद भट्टलाई उठाई हेर्न लागे । म चाहिँ आफ्नो घरतिर गएँ । को कसले निज मदनप्रसाद भट्टलाई कुटपीट गरी मारे सो कुरा मलाई थाहा भएन । मैले निजलाई कुटपीट गरी मारेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन । म उपरको जाहेरी व्यहोरा झूठा हो । भागीरथ भट्टले गरेको कागज व्यहोरा झूठा हो । अधिकारप्राप्त अधिकारीसमक्षको कागज मैले लेखाएको होइन । बयान लेख्नेले मसँग केही नसोधी बयान कागज तयार गरी मलाई नसुनाई सही छाप गराएको हो भन्ने समेत व्यहोराको प्रतिवादी मुसाई भन्ने विवेक लामाले अदालतमा गरेको बयान 

उमेर १५ वर्षको भएँ, २०६२।२।१४ गते पिपरा सिमरा गा.वि.स. वडा नं. ६ स्थित चिनी कारखानाको खाली जग्गामा म फुटवल खेल्न गएको थिएँ । सो वखत मृतक मदन भट्टको दाजु भागीरथ भट्टसँग मेरो वाद विवाद झै झगडा भएकोमा श्याम पाठक आई झगडा छुट्याई दिए पछि म आफ्नो घर तर्फ फर्की गएँ । मैले मदनप्रसाद भट्टलाई कुटपीट गरी मारेको होइन । को कसले निजलाई कुटपीट गरी मारे मैले देखेको नहुँदा म भन्न सक्दिन । म उपरको जाहेरी दरखास्तको व्यहोरा झूठा हो । भागीरथको व्यहोरा झूठा हो । अधिकारप्राप्त अधिकारीसमक्षको व्यहोरा मैले लेखाएको होइन । बयान लेख्ने आफैंले झूठा व्यहोराको कागज तयार गरी मसँग सहीछाप गराई लिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी ओमप्रसाद चौधरीले अदालतमा गरेको बयान 

मैले मृतकलाई कुटपीट गरेको छैन । म फुटवल खेल्न गएकोमा त्यहाँ मर्नेको दाजुसँग ओमप्रसादको वादविवाद भएको सुनें देखें । त्यसपछि श्याम पाठक आई झगडा छुटाई दिए । मैले मृतकलाई कुटेको वा मृतकको दाजुसँग मेरो कुनै झगडा भएको समेत होइन । मउपरको अभियोग दावी झूठा हो । मृतकलाई कसले कुटपीट गरे मैले देखिन । चौरमा भैरहेको झगडामा म गइन । चौरको छेउमा बसेको हुँदा जाहेरी दरखास्त झूठा हो । मृतकको दाजु भागीरथ भट्ट समेतको कागज झूठा हो । अधिकारप्राप्त अधिकारीसमक्ष मैले कुनै व्यहोरा लेखाएको छैन । मसँग कुनै कुरा नसोधी प्रहरी आफैंले लेखी ल्याई सही गर भनी भनेको र के लेखेको छ भनी सोध्दा सही गर भनी भनेको हुँदा सही मात्र गरेको हुँ । म निर्दष हुँदा सफाइ पाऊँ । म १३ वर्षको मात्र भएँ भन्ने समेत व्यहोराको प्रतिवादी श्याम चौधरीले अदालतमा गरेको बयान 

ओमप्रसाद समेतका प्रतिवादीहरूले कुटपीट गरेका होइनन् । निजहरूले कुटेको कारण मृतक मरेको होइन । फुटवल खेल्ने चौरमा २०/३० जना मानिस थिए । कसले कुट्यो थाहै भएन । उक्त खेलमा जान त उनीहरू पनि गएका थिए । ओमप्रसादले पिटेको छैन भन्ने प्रतिवादी ओमप्रसादको साक्षी मनोज चौधरीको वकपत्र 

प्रतिवादी श्याम चौधरीले कुटपीट गरेको कारण मृतकको मृत्यु भएको होइन । ऊ १३/१४ वर्षको बालक हो । निजले कुटपीट गरेको होइन । फुटवल खेलकै विषयमा झगडा भयो । खेलाडीहरू धेरै थिए, कसबीच झगडा भयो, थाहा भएन । को कोले कुटे चिन्न सकिन, मर्न त कुटपीटले नै मरेको हो भन्ने प्रतिवादी श्याम चौधरीको साक्षी जगदीश चौधरीको वकपत्र 

विवेक लामा निर्दोष छ । निजले कुटपीट गरी मृतकलाई मारेको होइन । त्यत्रो हुलमुलमा यी प्रतिवादीले मृतकलाई कुटपीट गरेको देखिएन । मैले करिव ५० मीटर टाढाबाट देखेको हुँ, भिडभाड थियो । झगडा भै रहेको थियो, फुटवल खेलाडीहरू झगडा गरी रहेका थिए । को को झगडामा थिए, नाम खुलाउन सक्दिन भन्ने प्रतिवादी विवेक लामाको साक्षी नागेन्द्र चौधरीले गरेको वकपत्र 

२०६२।२।२७ गते अनुसन्धानको क्रममा मैले लेखाएको व्यहोरा साँचो हो । मृतक ढली सके पछि देखेको हुँदा यो यसको प्रहारले भन्न सक्दिन भन्ने व्यहोराको अनुसन्धानको क्रममा कागज गर्ने राजेन्द्र पौडेलले गरेको वकपत्र 

२०६२।२।२७ गते अनुसन्धानको क्रममा वस्तुस्थिती मुचुल्कामा लेखिएको व्यहोरा ठीक छ । वारदातको बेला म करिव ५० मीटर टाढा थिएँ । त्यहाँ उपस्थित श्याम चौधरीलाई म समेतले समाती बुझाएको हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका पूर्णचन्द्र तिमिल्सिनाले गरेको वकपत्र 

२०६२।२।१८ मा अनुसन्धान अधिकृतसमक्ष भएको कागजको व्यहोरा र सहीछाप दस्तखत मेरै हो । २०६२ साल जेठ १४ गते हाम्रो गाउँमा फुटवल म्याच हुँदा यी तीन जना प्रतिवादीहरूले झगडा गरी मलाई पिटी रहेका थिए । भाई मदनले फिल्ड वाहिरबाट देखी छुटाउन आउँदा निजहरूले निजलाई समेत कुटपीट गरे । त्यसपछि घाइते भाईलाई संजिवनी हस्पिटलमा लगियो । त्यहाँ लाँदा लाँदै मृतकको मृत्यु भएको हो । प्रतिवादी विवेक लामा, ओमप्रसाद र श्याम चौधरीको कुटपीटबाट मेरो भाईको मृत्यु भएको हो भन्ने सरकारी गवाह घाइते सुरज भन्ने भागीरथ भट्टले गरेको वकपत्र 

मृतकलाई ओमप्रसाद, श्याम चौधरी र विवेक लामाले कुटपीट गरेका हुन् । तीनै जनाले हातले कुटपीट गरेका हुन् । अनुसन्धानको क्रममा लेखाएको कागज व्यहोरा ठीक छ भन्ने लिलाबहादुर कार्कीले गरेको वकपत्र 

२०६२।२।१४ गते बेलुकी अन्दाजी ६ बजे तिर फुटवल खेली रहेको ठाउँमा झगडा भएको भन्ने सुनेर त्यहाँ गएँ । म जाँदा घाइते भागीरथ अगाडिबाट भागेर गाउँतिर आई रहेको अवस्थामा बाटोमा भेट भयो । उसले फुटवलसम्बन्धी झगडा भयो, पहिला ओमप्रसाद, श्याम चौधरी र विवेक लामासँग मेरो झगडा भयो । अनि पछि छुट्याउन भनी भाई मृतक जाँदा तिनै केटाहरूले पिटेर वेहोस अवस्थामा छ भनी बतायो । म र निज भागीरथ भट्ट फुटवल मैदानमा पुग्दा मृतकको मृत्यु भै सकेको रहेछ, संजीवनी हेल्थ सेन्टरमा ल्यायौं, जहाँ डाक्टले मरी सकेको कुराको घोषणा गरी दिएका थिए । मृतक र प्रतिवादीहरू बीच पूर्व रिसइवी केही थिएन । प्रतिवादीहरूको चाल चलन ठीक थियो भन्ने व्यहोराको जाहेरवाला श्याम भट्टको वकपत्र 

मृतक मदन भट्टको मृत्यु कुटपीटको कारणले भएको हो । विवेक लामा, श्याम चौधरी र ओमप्रसाद चौधरीले कुटपीट गरेको कारणबाट मृत्यु भएको हो । झगडा कुटपीट म समेतले छुट्याई दिएको हुँ । फुटवल खेल्दा खेल्दै के कारणले झगडा कुटपीट भयो थाहा भएन । झगडा कुटपीट भएपछि गई छुट्याएँ । मृतक ढली सकेको थियो र दाँत बाँधी सकेको थियो । मृतक र प्रतिवादीहरू बीच पूर्व रिसइवी केही थिएन भन्ने वस्तुस्थिति मुचुल्काका मानिस श्यामप्रसाद पाठकले गरेको वकपत्र 

प्रतिवादीहरूले छोडेको चोटकै कारण मृतक मदनप्रसाद भट्टको मृत्यु भएको पुष्टि हुन आयो । प्रतिवादीहरूबाट सामुहिक रुपमा कुटपीट भएको र यसैको चोटबाट मृत्यु भएको खुल्न नआएकोले प्रतिवादीहरूले ज्यान सम्बन्धीको १३(३) नं. अनुसारको कसूर गरेको देखिँदा सोही ऐनबमोजिम निजहरूलाई जनही जन्म कैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरू र मृतकबीच पूर्व रिसइवी नभएको, एकै टोल छिमेकका साथीहरू भन्ने देखिएको छ । निजहरू विद्यालयमा अध्ययनरत छात्रहरू रहेको, निजहरू भरखर वालिग उमेरमा प्रवेश गरेको अवस्था र घटनाक्रम समेतलाई विचार गरी जन्मकैदको सजाय गर्दा चर्क पर्ने देखिँदा अ.वं. १८८ नं. बमोजिम प्रतिवादीहरूलाई जनही कैद वर्ष ६ को सजाय गर्न उपयुक्त देखी राय प्रस्तुत गरिएको छ भन्ने बारा जिल्ला अदालतको २०६३।९।१९ को फैसला 

अनुसन्धान अधिकारीसमक्षको बयानलाई स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म प्रमाणमा ग्रहण गर्न र हाम्रा विरुद्ध प्रमाण लगाउन मिल्ने होइन । अदालतमा भएको बकपत्रमा मृतक र हामीबीच पूर्व रिसइवी केही नभएको, साथी साथी भएको भन्ने तथ्य उल्लेख छ । हामीलाई जन्मकैदको सजाय गर्ने गरी दोषी प्रमाणित गर्न मिल्ने होइन । लाश जाँच मुचुल्का स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । मृतक मदन भट्टका दाजु भागीरथसँगको विवादलाई हाम्रा विरुद्ध प्रमाणमा लगाउन मिल्ने होइन । हाम्रा साक्षीहरूको वकपत्रलाई प्रमाणमा लगाइएको छैन । भागीरथ भट्टको घा जाँच भएको छैन । आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएकोमा कुनै काम गर्दा त्यसैद्वारा केही भै मानिस मर्न गएमा ज्यान सम्बन्धीको ५ नं. आकर्षित हुनेमा जन्मकैद ठहर भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको पुनरावेदन अदालत हेटौंडामा २०६३।१२।२१ मा दर्ता भएको पुनरावेदन पत्र 

यसमा मिति २०६२।२।१४ को घटना अवस्थालाई हेर्दा कसैको ज्यान लिने मनसाय अथवा इविलाग केही नभई मानिस मर्ला जस्तो नदेखिएको स्थितिमा कुटपीटबाट मृतकको मृत्यु भएको देखिँदा ज्यान सम्बन्धी महलको १३(३) नं. अनुरूपको कसूर कायम गरी सजाय गर्ने गरेको वारा जिल्ला अदालतको फैसला व्याख्याको सन्दर्भबाट फरक पर्न सक्ने भएकोले छलफलको निमित्त पुनरावेदन सरकारी वकील कार्यालयलाई पेसीको सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको २०६४।३।१२ को आदेश 

शारीरिक र २०६२।२।२९ र २०६२।२।३० का एक्सरेहरू परीक्षण गर्दा श्याम चौधरीको सम्भावित उमेर १६१७ वर्षको बीचमा ओमप्रसाद चौधरीको सम्भावित उमेर १८२० वर्षको, मुसाई भन्ने विवेक लामाको सम्भावित उमेर १६१७ वर्षको बीचमा देखिन्छ भन्ने नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति मेडिकल बोर्डको २०६२।२।३० को राय प्रतिवेदनको प्रतिलिपि शुरु मिसिल सामेल रहेको 

      प्रतिवादी मुसाई भन्ने विवेक लामाको उमेर १५ नाघेको र १६ वर्ष नपुगेको भन्ने देखिँदा निजको हकमा समेत ज्यान सम्बन्धी महलको १३(३) अन्तर्गत उमेर पुगेका प्रतिवादी सरह जन्मकैदको सजाय हुने ठहराई अ.वं. १८८ नं. बमोजिम ६ वर्ष कैदको सजाय गर्नु उपयुक्त देखिएको भनी राय व्यक्त गरेको हदसम्मको शुरु फैसला गल्ती हुँदा सोही हदसम्म केही उल्टी भै निज प्रतिवादी मुसाई भन्ने विवेक लामालाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम अरु उमेर पुगेका प्रतिवादीलाई हुने सजायको आधा सजाय हुन्छ । साथै निजको हकमा अ.वं. १८८ नं. बमोजिम अरु उमेर पुगेका प्रतिवादीको हकमा व्यक्त गरिएको रायअनुरूपको कैद वर्ष ६ को आधा ३ वर्ष मात्र कैद गर्नु उपयुक्त हुने राय व्यक्त गरिएको छ । प्रतिवादी ओमप्रसाद चौधरी र श्याम चौधरीको हकमा निजहरूले आरोपित कसूर गरेमा ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहराई अ.वं. १८८ नं. बमोजिम ६ वर्ष मात्र कैद सजायको राय व्यक्त गरेको शुरु बारा जिल्ला अदालतको फैसला मनासिब हुँदा सो फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको २०६५।१।१७ को फैसला 

पुनरावेदन अदालत हेटौंडाले प्रतिवादी विवेक लामाको उमेर १६ वर्ष नपुगेको भन्दै अ.वं. १८८ नं. ले भएको सजायको आधा सजाय गरेको, तर निज विवेक लामाको उमेर सम्बन्धमा निज स्वयंले अदालतको वयानको स.ज.९ मा आफू नेपाल राष्ट्रिय प्राथमिक विद्यालय औराह बारामा नपढेको भनी उल्लेख गरेको अवस्थामा सो विद्यालयको अभिलेखलाई उमेरको आधार बनाउन मिल्दैन । निजको उमेरको सम्बन्धमा मेडिकल बोर्डबाट शरीर चिकित्सा विज्ञानका दृष्टिले वैज्ञानिक तवरबाट परीक्षण गरी उमेर यकीन गरिएको हुँदा विना आधार कारण त्यसलाई इन्कार गर्न मिल्ने हुँदैन । तसर्थ निज विवेक लामाको उमेर नपुगेको भनी तथ्य र कानूनको उचित प्रयोग र पालना नगरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला प्रत्यक्ष त्रुटिपूर्ण छ । तसर्थ प्रतिवादी विवेक लामाको हकमा निजको उमेर सम्बन्धमा न्यायिक मूल्याङ्कन नगरी कम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी शुरु जिल्ला अदालतको फैसलाबमोजिम प्रतिवादी विवेक लामालाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र 

यसमा २०६५।४।१२ मा विपक्षी प्रतिवादी मुसाई भन्ने विवेक लामाको पुनरावेदन परी यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।१।३० मा फैसला भएको देखिँदा सोही मुद्दाको वादी पक्षको पुनरावेदनबाट उही संयुक्त इजलासले हेरी निर्णय गर्न मिलेन । प्रस्तुत मुद्दा नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।६।११ मा भएको आदेश 

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शंकर राईले १६ वर्ष उमेर पुगिसकेका विवेक लामाको हकमा बालबालिका सम्बन्धी ऐनको प्रयोग गरी छूट दिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ, उमेर सम्बन्धमा असम्बन्धित विद्यालयको पत्रलाई आधार बनाउन मिल्दैन, वैज्ञानिक परीक्षणबाट उमेर स्पष्ट भैसकेको विषयलाई अन्यथा हुने गरी प्रतिवादीले दावी नै नलिएको विद्यालयको पत्रलाई प्रमाण लगाएकोले पुनरावेदन अदालतको फैसला सो हदसम्म उल्टी हुनु पर्दछ भनी गर्नु भएको वहस जिकीर समेत सुनियो 

२. उपर्युक्त वहस जिकीरका साथै मिसिल संलग्न कागजातहरूको अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रतिवादीहरूले मृतक मदनप्रसाद भटृलाई मर्छ भन्ने जानी जानी अति संवेदनशील अंगमा बक्सिङ्ग, लात तथा छालको पेटीले निर्मम रुपले कुटपीट गरी घाँटी बटारी दिएको र सोही कारणले घाँटीको हाड भाँचिई श्वास प्रश्वास प्रक्रिया अवरुद्ध भई मृतकको तत्कालै मृत्यु भएको देखिएकोले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. प्रतिकूलको निषेधित कार्य गरी ऐ. १३(३) नं. को कसूर अपराध गरेको भनी प्रतिवादीहरू श्याम चौधरी, ओमप्रसाद चौधरी र मुसाई भन्ने विवेक लामालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायको माग दावी लिई अभियोग पत्र दायर गरिएको देखियो । शुरु जिल्ला अदालतले अभियोग दावी बमोजिम प्रतिवादीहरूले ज्यानसम्बन्धी महलको १३(३) नं. को कसूर अपराध गरेको ठहर्‍याई अ.वं. १८८ नं. बमोजिम जनही कैद वर्ष ६ को सजाय गर्न उपयुक्त हुने भनी राय लगाएकोमा पुनरावेदन अदालत हेटौंडाले प्रतिवादी ओमपसाद चौधरी र श्याम चौधरीको हकमा शुरु फैसला सदर हुने र प्रतिवादी विवेक लामा १५ नाघी १६ वर्ष नपुगेको नाबालक भएको देखिएको भन्ने आधार ग्रहण गरी निजको हकमा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ को उपदफा (३) बमोजिम उमेर पुगेकालाई हुने सजायको आधा सजाय हुने भनी निजलाई सजायको हदसम्म शुरुको फैसला केही उल्टी गरी ३ वर्ष कैद हुने भनी राय लगाएको अवस्था देखिन्छ । वादी नेपाल सरकारका तर्फबाट प्रतिवादी विवेक लामाको हकमा वैज्ञानिक परीक्षण समेतबाट निजको उमेर निश्चित् गरिएको कुरालाई बेवास्ता गरी विवादास्पद कागजलाई आधार बनाई बालबालिका सम्बन्धी ऐनको प्रयोग गरी सजाय घटाई गरिएको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेको भनी यस अदालतसमक्ष पुनरावेदन जिकीर लिइएको र यसै मुद्दामा प्रतिवादीहरू श्याम चौधरी, ओमप्रसाद चौधरी र विवेक लामाका तर्फबाट परेको पुनरावेदनमा यस अदालतको संयुक्त इजलासबाट पुनरावेदन अदालतको फैसला राय सहित नै सदर हुने ठहर्‍याई मिति २०६६।१।३० मा फैसला भैसकेको देखिन आउँछ । संयुक्त इजलासबाट फैसला भैसकेको भन्ने आधारमा वादी नेपाल सरकारबाट परेको प्रस्तुत पुनरावेदनको हकमा पूर्ण इजलासबाट न्याय निरुपण गरिनुपर्ने भनी आदेश भै यस इजलाससमक्ष पेश हुन आएको अवस्था छ 

३. यसरी प्रतिवादीहरूको पुनरावेदनको रोहमा यस अदालतको संयुक्त इजलासबाट फैसला भैसकेको र वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा प्रतिवादीमध्येका विवेक लामाको उमेर १६ वर्ष पुगिसकेको प्रमाणबाट पुष्टि भैरहेको अवस्थामा निजको हकमा बालबालिकासम्बन्धी ऐनको दफा ११ को उपदफा (३) को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने भनी जिकीर लिइएको सन्दर्भमा पुनरावेदक/वादीको पुनरावेदन जिकीरमा सीमित रही निर्णय दिनुपर्ने भएको छ । तर प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट भएको फैसलाको समग्र अध्ययन गर्दा प्रतिवादीहरूले अभियोग दावी बमोजिम नै ज्यान सम्बन्धी महलको १३(३) नं. को कसूर अपराध गरेको ठहर्‍याई जन्मकैदको सजाय हुने गरी सजाय निर्धारण समेत गरिएको र अ.वं. १८८ नं. को प्रयोगको सिलसिलामा सबै प्रतिवादीहरूलाई निजहरूको उमेर र घटना हुँदाको परिस्थिति समेतलाई आधार बनाई ६ वर्ष कैद हुने भनी राय लगाई प्रतिवादी मध्येका विवेक लामाको हकमा निजको उमेर १६ वर्ष पूरा नभएको भन्ने आधार ग्रहण गरी ६ वर्षको आधा अर्थात् ३ वर्ष मात्र कैद हुने भनी राय व्यक्त गरेको पाइन्छ । त्यसरी अ.वं. १८८ नं. बमोजिम राय लगाएको विषयलाई नै पुनरावेदक/वादीले प्रस्तुत पुनरावेदनमा प्रश्न उठाएको देखिँदा यस मुद्दामा मुख्य रुपमा न्यायाधीशले अ.वं. १८८ नं. बमोजिम राय लगाई सजाय निर्धारण गरेको विषयमा प्रश्न उठाई त्यसैमा आधारित भई पुनरावेदन गर्न र रायमा उल्लेख भएको भन्दा घटी वा बढी सजाय हुनुपर्ने भनी जिकीर लिन मिल्ने हुन्छ वा हुँदैन ? भन्ने प्रश्नको निरुपण गरेपछि मात्र पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के छ भन्ने प्रश्नमा प्रवेश गर्नुपर्ने भएको छ 

            ४. उक्त प्रश्नमा प्रवेश गर्नु अघि मुलुकी ऐन, अदालती वन्दोवस्तको १८८ नं. मा रहेको कानूनी व्यवस्थालाई हेर्नुपर्ने हुन आउँछ । अदालती वन्दोवस्तको १८८ नं. मा ऐनले सर्वस्वसहित जन्म कैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुने सम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटी सजाय तोक्न हुन्छभन्ने कानूनी व्यवस्था रहेको छ । सो अनुसार मुद्दा हेर्ने न्यायाधीशले कानूनबमोजिम हुने सजाय ठहर्‍याई देहायका आधारमा घटी सजाय हुनुपर्ने भनी राय लेखी जाहेर गर्नुपर्ने देखिन्छ:

१. घटित घटना भवितव्य हो कि भन्न हुने सम्मको शंकाको स्थिति विद्यमान भएमा,

२. अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई तोकिएको सजाय चर्को पर्न जाने महसूस गरिएमा 

            ५. यसरी राय लगाइएको अवस्थामा सो रायमा अभिव्यक्त कुरालाई अन्तिम निर्णय दिनेले समर्थन गरेमा मात्र त्यसले निर्णायक हैसियत ग्रहण गर्दछ भन्ने उक्त कानूनी व्यवस्थाबाटै स्पष्ट हुन्छ 

            ६. अब, अ.वं. १८८ नं. बमोजिम राय लगाई सजाय निर्धारण गरेको विषयमा प्रश्न उठाई त्यसैमा आधारित भई पुनरावेदन गर्न र रायमा उल्लेख भएको भन्दा घटी वा बढी सजाय हुनुपर्ने भनी जिकीर लिन मिल्ने हुन्छ वा हुँदैन ? भन्ने प्रश्नमा प्रवेश गरी हेर्दा अ.वं. १८८ नं. बमोजिम राय लगाई घटी सजाय गरेउपर वादी प्रतिवादी कसैलाई पुनरावेदन गर्ने अधिकार हुने देखिँदैन । आफूलाई अ.वं. १८८ नं. बमोजिम भएको सजाय बढी भएको भनी प्रतिवादीहरूले अथवा सो घटी सजाय गर्ने राय विपरीत बढी सजाय हुनुपर्ने भनी वादीले पुनरावेदन गर्न पाउने हुँदैन । अ.वं. १८८ नं. को प्रयोगको विषय न्यायिक विवेकको विषय भएकाले त्यसलाई मुद्दाका कुनै पनि पक्षले चुनौती दिन वा सो सम्बन्धी विषयलाई अधिकारको रुपमा दावी गर्न सक्ने हुँदैन । किनभने अ.वं. १८८ नं. मा त्यस्तो राय व्यक्त गर्ने आधारहरू तोकिएको भएतापनि राय व्यक्त गर्ने कुरा सम्बन्धित न्यायाधीशको विवेकको अधीन राखिएको छ । त्यसरी राय व्यक्त गर्नै पर्ने गरी कसैले पनि बाध्य गर्न सक्दैन, न त रायमा व्यक्त गरिएभन्दा घटी वा बढी सजाय हुनुपर्ने गरी दावी नै लिन सकिन्छ । त्यस्तो रायलाई समर्थन गर्ने वा नगर्ने वा फरक रुपमा समर्थन गर्ने भन्ने अधिकार केबल माथिल्लो अदालतलाई मात्र हुन्छ । वादी वा प्रतिवादीले त्यसमा प्रश्न उठाउन सक्ने देखिँदैन । अ.वं. १८८ नं. मा घटी सजाय हुनुपर्ने केही आधार तोकिएको भएपनि ती आधार भनेको न्यायकर्ताले अनुभूत गर्ने विषय हुन् । न्यायिक विवेक प्रयोग गर्न पाउने गरी कानूनले अनुमति प्रदान गरेको अवस्थामा त्यसरी प्रयोग गरिने विवेक माथि अङ्कुश लगाउने गरी मुद्दाका पक्षले नै चुनौती दिने हो भने त्यस्तो अधिकार निरर्थक हुन जान्छ । कसूरदार देखिँदा देखिँदै पनि विभिन्न परिस्थितिहरूको आंकलन र विश्लेषणबाट कम सजाय हुनुपर्ने महसूस गरिएको अवस्थामा मात्र त्यस्तो स्वविवेकीय अधिकारको प्रयोग गरिन्छ । त्यसरी विवेक प्रयोग गर्दा समेत त्यसको स्पष्ट आधार र कारण खुलाउनु पर्ने व्यवस्था आफैंमा स्वविवेकीय अधिकारको स्वेच्छाचारी प्रयोग हुन नहुने मान्यताको उपज भएकाले त्यसमा पुनः पक्षहरूद्वारा आपत्ति जनाउने वा यस्तो हुनुपर्ने भनी आग्रह गर्न मिल्दैन । प्रस्तुत मुद्दामा वादी नेपाल सरकारले पुनरावेदन गर्दा लिएको एकमात्र आधार भनेको अ.वं. १८८ नं. को प्रयोग गरी प्रतिवादी विवेक लामाको हकमा बालबालिका सम्बन्धी ऐन, २०४८ समेतलाई आधार बनाएर कम सजाय गर्ने गरी व्यक्त राय त्रुटिपूर्ण रहेको भन्ने नै देखिन्छ । पुनरावेदन अदालतबाट वादी दावीबमोजिम नै प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याई सजाय समेत निर्धारण भैसकेपछि राय व्यक्त गर्ने क्रममा प्रसंगबस उठाएको विषयलाई पुनरावेदनको आधार बनाउने वादी पक्षले अ.वं. १८८ नं. को विधिशास्त्रीय आधार र त्यसको प्रयोग गर्ने न्यायिक स्वविवेकको अन्तरवस्तुलाई बुझ्न सकेको देखिएन । यदि त्यस्तो विषयलाई पुनरावेदनको माध्यमबाट चुनौती दिने परम्परा स्थापित गर्ने हो भने अ.वं. १८८ नं. को कानूनी व्यवस्था निरर्थक हुन जान्छ र राय व्यक्त गर्ने र अन्तिम निर्णय गर्नेले त्यस्तो राय सदर वा बदर गर्न सक्ने न्यायिक मान्यता र परम्परा समेत खण्डित हुन जान्छ 

            ७. तसर्थ प्रतिवादीमध्ये विवेक लामाको हकमा अ.वं. १८८ नं. बमोजिम घटी सजाय गर्ने राय व्यक्त गरी निज १६ वर्ष मुनिको भएको भनी ३ वर्ष कम कैद हुने गरी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६५।१।१७ को फैसला मनासिब नै हुँदा सदर हुने ठहर्छ । अ.वं. १८८ नं. अन्तर्गत न्यायिक विवेक प्रयोग गरी व्यक्त रायको विषयलाई आधार बनाई परेको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

उक्त रायमा हामी सहमत छौं 

न्या.रामकुमारप्रसाद शाह

न्या.कृष्णप्रसाद उपाध्याय

इति संवत् २०६७ साल चैत २४ गते रोज ५ शुभम्

इजलास अधिकृतः उमेश कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु