निर्णय नं. ७२२९ - लिखत दर्ता वदर दर्ता
निर्णय नं. ७२२९ ने.का.प.२०६०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री रामनगिना सिंह
संवत् २०५६ सालको दे.पु.नं. .......५७३६
फैसला मितिः २०६०।४।५।२
मुद्दाः लिखत दर्ता वदर दर्ता ।
पुनरावेदक
प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ वस्ने भाइराजा शाक्य
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वस्ने लक्ष्मी चौधरी समेत
§ नावालकको नाउँमा दर्ता रहेको सम्पत्ति विक्रि हुँदा प्राप्त भएको रकम निजहरुको हक हितमा प्रयोग नभै सुरेश चौधरीले लगेको संरक्षकको तथाकथित भुमिका निर्वाह गर्ने चिनी देवीको प्रतिउत्तरवाट देखिइरहेकोले उक्त सम्पत्तिको व्यवहार नावालकको हकहितको वा निजहरुको शिक्षा दिक्षाको लागि गरिएको नदेखिने ।
§ संरक्षक वा हिफाजतकर्ताले नावालकहरुको हित गर्नलाई होइन कि नावालकको अहित हुने कार्य भै रहेको देख्दा देख्दै सहमति जनाउने व्यवहार सदर नहुने लेनदेन व्यवहारको १८ नं. मा प्रष्टतया उल्लेख भएको देखिने ।
§ उक्त ऐनको तल्लो वाक्यांशले त्यस्तो कार्य गर्ने संरक्षक वा हिफाजतकर्तालाइ थप जरिवानाको व्यवस्था गरेको देखिदा राजिनामा पास गरि दिने सुरोज, लक्ष्मी, सुलोचाना, सोना चौधरी समेत् जवान ४ नावालक भएको हुँदा मेरा सामुन्नेमा सहीछाप गरेको भन्ने हजुर आमा चिनीदेवी शाक्य भनी लेखिएकोले त्यस लेखाईमा संरक्षक वा हिफाजत गर्ने भन्ने लवज नपरेकोले संरक्षक वा हिफाजत गर्ने मानिसको रोहवरमा लिखत लेखि नावालकको सहीछाप भएको मान्न सक्ने अवस्था नरहेपनि लेनदेन व्यवहारको १८ नं. अनुसार लिखत वदर गर्न नमिल्ने भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसित सहमत हुन नसकिने ।
(प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी
विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री धु्रवलाल श्रेष्ठ र वावुराम कूंवर
अवलम्वित नजिरः
फैसला
न्या.रामनगिना सिंहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. का.जि. स्वयम्भु डल्लु गा.वि.स.वडा नं. ९(ख) कि.नं. ५६१ क्षे.फ. ०.३.० जग्गा मैले मिति २०४५।२।४ को र.नं. ६९१७(क) को राजिनामावाट रु. ३७,५००। मा प्राप्त गरेको उक्त जग्गा मेरो नाममा आएपछि का.न.पा.वाट मिति ०४६।२।१७ मा नक्सापास गराई घर वनाई वसी आएका थियौं । मेरा पति सुरेश चौधरीसंग केहि मनमुटाव हुन गएकोले मिति ०४८।२।२२ मा उक्त जग्गा मात्र मेरो छोरा छोरीहरुलाई घर व्यवहार मिलाउनको लागि र.नं. ७५४(क) वाट हक हस्तान्तरण गरेको थिएं । उक्त हक हस्तान्तरण भएको केहि दिन पछि मिति ०४८।५।२ मा र.नं. १११६(क) को राजिनामावाट विपक्षी भाइराजा शाक्यले रु.२४,०००। मोल राखी उक्त जग्गा लिनु भएको रहेछ । विपक्षी मेरो आमा चिनीदेवी शाक्य संरक्षकमा वसी सहीछाप गर्नु भएको रहेछ । सो कुरा २०४९।१०।४ मा मेरा मानिस मार्फत नक्कल सारी हेर्दा थाहा भयो । विपक्षी भाइराजाले राजिनामा गरी लिंदा संरक्षकमा म वा मेरा पतिलाई राख्नु पर्नेमा मलाई थाहा पत्तो समेत् नदिई मेरो नावालक छोराछोरीहरुको धन विगार्ने नियतले वेइमानी गरि गरिएको लिखत लेनदेन व्यवहारको १८ नं.को विपरीत छ । मेरो नावालक छोरा तथा छोरीहरुको पिता तथा माता हुँदाहुँदै निजहरुले घरखर्चको लागि भनी जग्गा वेच्नु पर्ने औचित्य छैन । उक्त जग्गामा वनेको घर मैले छोरा छोरीहरुलाई हक हस्तान्तरण गरेको छैन । केवल घर व्यवहार मिलाउनको लागि मात्र जग्गा निजहरुको नाममा गरी दिएको हुँ । अतः मिति २०४८।५।२ को र.नं. १११६(क) को राजिनामा लिखत गैरकानूनी भएकोले वदर गरी उक्त लिखतमा भएको विपक्षी भाइराजा शाक्यको नामको दर्ता वदर गरी मेरा नावालक छोरा छोरीको नाममा दर्ता गरी पाउँ भन्ने समेत् व्यहोराको तारा चौधरीको फिरादपत्र ।
३. मेरो नाममा लिखत वमोजिम हक दर्ता भै सो दर्ताको घर जग्गा वादीले छोडी मेरो मात्र हक भोगचलन स्थापित भएको भनेर वादी सावित रहेको छ । वादीले हा.व. पारित गरी दिंदा वज्यै चिनी देवीको संरक्षकत्वमा वज्यैको घरमा वसेका छोरा छोरीलाई का.जि. यटखाको घरमा नै वस्ने भनी हा.व. पारीत गरी हक छोडि दिएको कुरा लिखतलेनै वोलेको छ । सोही संरक्षकत्वमा वावु सुरेश चौधरीलाई सनाखत साक्षी समेत् राखी राजिनामा पारीत गरी मैले लिएको व्यवहार विलकुल निस्कलंक र कानूनसंगत छ । जालसाज गरी लिखत लिएको भए कसरी मा.पो.का.मा रोक्का र सनाखत भयो ? विना मुल्य पारित गराएको भए सो पारीत गर्ने अधिकार प्राप्त कर्मचारी विरुद्ध किन उजुर भएन । यसकारण म उपर लगाएको कसूर झुठृा हो । झुठृा वादि दावीवाट अलग फुर्सद पाउँ भन्ने समेत् व्यहोराको भाइराजा शाक्यको प्रतिउत्तर जिकिर ।
४. विपक्षी फिरादी कहिले कहाँ कहिले कहाँ वस्ने भएकीले निजका वच्चाहरु मेरो साथमा राखी आएकोमा वच्चाको पिता, फिरादीको पति मेरो ज्वाई सुरेश चौधरीले निजको नागरिकता नभएकोले उक्त जग्गा विक्री गर्न मलाई संरक्षक राखेका हुन् । त्यसमा निजको पिता साक्षी वसेका छन् । विपक्षीको छोरा छोरीको हक मार्न मैले कुनै व्यवहार गरेको होईन । त्यसवाट प्राप्त सम्पूर्ण रकम संरक्षक पिता सुरेशले नै प्राप्त गरी सकेका छन् । मलाई कारणी वनाएका मात्र हुन् भन्ने समेत् व्यहोराको चिनीदेवी शाक्यको प्रतिउत्तर जिकिर ।
५. मुलुकी ऐन लेनदेन व्यवहारको १८ नं. वमोजिम नावालकले गरेको व्यवहार सदर नहुने हुँदा विपक्षी भाइराजा शाक्यले लिएको लिखत वदर हुने र सो लिखतको आधारमा भएको निजको नामको दर्ता वदर भै वादीका नावालक छोराछोरीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत् व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।
६. उक्त फैसलामा चित्त वुझेन । शुरु जिल्ला अदालतको फैसलामा न्यायीक मनको प्रयोग गरिएको छैन । त्यसकारण सो फैसला वदर गरी पुनरावेदन जिकिर अनुरुप गरी पाउँ भन्ने भाइराजा शाक्य समेत्को पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
७. शुरुको इन्साफ फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. वमोजिम विपक्षीहरुलाई झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।
८. नावालकको सम्पतिको हिफाजत गर्ने व्यक्ति नै नरही भएको लिखतले कानूनी रुप लिन नसक्ने भएवाट शुरु फैसला सदर हुने ठहर्छ । तारा चौधरीले आफ्नो हकमा समेत् दावी राखी आएतापनि निजले आफ्नो हक २०४८।२।२८ मा वकसपत्र गरी नावालकहरुलाई दिइ सकेको हुनाले नावालकको नाममा समेत सम्पत्ति रहने गरी शुरु फैसला सदर भएवाट निजको हक सम्म फिराद दावी खारेज हुने ठहर्छ भन्ने समेत् पुनरावेदन अदालत, पाटनवाट मिति २०५३।९।१ मा भएको फैसला ।
९. यसमा नावालकहरु वज्यै चिनिदेवीको संरक्षकत्वमा रहेको र निज चिनी देवीले अभिभावकको महलमा र सनाखती साक्षीमा पिता सुरेश चौधरीले सही गरी लेनदेन भएको मिति २०४८।५।२ को राजिनामा लिखत वदर हुने भनी काठमाडौं जिल्ला अदालतवाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालतवाट भएको फैसलामा अ.वं. १८४(क) र १८५ नं. समेत्को व्याख्यामा त्रुटी भएको र सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तको पालन नगरिएको हुँदा उक्त मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी उक्त त्रुटीपूर्ण फैसलाहरु वदर गरी न्यायपाउँ भन्ने समेत् प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन ।
१०. यसमा वादी तारा देवीको हक नभएको, लक्ष्मी चौधरी समेत्का नावालकले हक छाडी दिएको लिखतका सम्बन्धमा नावालकको हकमा समेत् भनी अ.वं. ८३ नं. समेत्को विपरीत परेको नालेसमा पुनरावेदन अदालतवाट भएको फैसलामा अ.वं. ८३ नं., लेनदेन व्यवहारको १८ नं. समेत्को गम्भीर व्याख्यात्मक त्रुटी रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) अन्तर्गत दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत् यस अदालतको मिति २०५६।१।२९ को आदेश ।
११. नियम वमोजिम दैनिक पेशि सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फवाट उपस्थित हुनु भएका कानून व्यवसायी विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले नावालक लक्ष्मी चौधरी समेत्ले जग्गा विक्री गर्दा निजहरुको संरक्षक हजुरआमा चिनीदेवी साक्षी बसेको छ साथै निजहरुको वावु सुरेश चौधरी पनि लिखतमा साक्षी बसेकोले लिखत गराउँदा कुनै किसिमको गफलत भएको छैन । नावालकको धन विगार्नलाई लिखत भएको होइन र लेनदेनको १८ नं. मा लिखत वदर गर्ने प्रावधान नरहेकोले पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको नहुँदा वदर हुनु पर्दछ भनी र वादी तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु श्री ध्रुवलाल श्रेष्ठ र वावुराम कुंवर समेतले लिखतमा संरक्षक भनी कसैले सही गरेको छैन । नावालकहरुले आफ्नो आमावाट वकस पाएको सम्पति नीजको आमासित सम्बन्ध राम्रो नरहेको वावु सुरेश चौधरीलाई लिखतमा साक्षी राख्दैमा नावालकको सम्पत्तिको संरक्षकत्व भै सक्यो भन्न मिल्दैन लिखत वदर गर्ने प्रावधान लेनदेनको १८ नं. मा उल्लेख भएको र जालसाजी समेत् ठहर भै रहेकोले लिखत र दर्ता वदर गरी दर्ता समेत् हुने गरी शुरुवाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनले गरेको फैसला मनासिव हुँदा सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
१२. आज निर्णय सुनाउन तारिख तोकी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी दुवै तर्फका विद्वान कानुन व्यवसायीहरुले गर्नु भएको बहस समेत्लाई विचार गरी पुनरावेदन अदालत, पाटनले गरेको निर्णय मिले नमिलेको के हो ? निर्णय गर्नुपर्ने देखियो ।
१३. चिनीदेवीले आफ्नो छोरी तारा शाक्यकलाई का.जि. डल्लु वार्ड नं. ९(ख) मा पर्ने कि.नं. ५६१ को ०.३.० जग्गा २०४५।२।४ मा राजिनामा गरी दिएको र तारा चौधरी शाक्यले उक्त जग्गा २०४८।४।२२ मा आफ्नो नावालक छोराछोरीहरुलाई हालै देखिको वकस गरी दिएको उक्त लिखतमा यी प्रतिवादी भाइराजा पनि साक्षी वसेको छ । तारा चौधरीको लोग्ने सुरेश चौधरी नेपालको नागरिक नभै विदेशी नागरिक रहेको र लोग्ने स्वास्निको विचमा सम्बन्ध पनि राम्रो नरहेको अवस्थामा नावालकहरुको हजुरआमा (तारा चौधरीकी आमा चिनीदेवी) सित वस्दै आएको अवस्थामा वकसपत्रवाट पाएको जग्गा नावालक यी सुलोचना चौधरी, लक्ष्मी चौधरी, सोना चौधरी, सरोज चौधरीवाट २०४८।५।२ मा भाईराजा शाक्यले राजिनामा गराई लिएको लिखतमा हजुरआमा चिनीदेवी शाक्य भनी उल्लेख भएको र लिखत साक्षीमा नावालकको वावु सुरेश चौधरी भनी सही भएको लिखतवाट देखियो । उक्त लिखत र दर्ता वदर गराउनलाई नावालकहरुको हकमा निजहरुको आमा तारा चौधरीले प्रस्तुत मुद्दा दायर गरेको देखियो ।
१४. जुनसुकै कुरामा भएपनि सोह्र वर्ष नपुगेका नावालकको र उमेर पुगेको भएपनि कुनै किसिमको रोगले होस ठेगानामा नभएका वा वोलाएका मानिस समेत्को कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज लिनु गराउनु हुँदैन भन्ने मुलुकी ऐन अ.वं. को २४ नं. मा उल्लेख भएको छ ।
१५. चिनीदेवीले आफ्नो छोरी तारा शाक्यलाई उक्त जग्गा २०४५ सालमा राजिनामा गर्दा जग्गाको मोल रु. ३७,५००। लिखतमा उल्लेख भएको देखिन्छ । उक्त जग्गामा नगरपालिकावाट नक्सा पास गराई घर वनाएको फिराद लेखवाट देखिन्छ । जग्गामा घर छैन भन्ने प्रतिवादीले जिकिर लिन नसकेकोले उक्त जग्गामा पक्की घर रहेको मान्नु पर्ने हुन्छ । २०४८।५।२ मा नावालकहरुवाट राजिनामा गराई लिदा लिखतमा मोल रु. २४,०००। देखाइएको छ । तीन वर्षको अन्तरालपछी जग्गाको मोल बढ्नुको सटृा घटेको लिखतवाट देखिन्छ । त्यस जग्गामा वनेको घरको जिकिर न त २०४८।५।२ को लिखतमा उल्लेख छ, नत प्रतिवादीहरुले प्रतिउत्तरमा नै घरवारे कुनै जिकिर लिन सकेको छ । अर्थात जग्गामा रहेको घरको अस्तित्व जानी जानी लुकाईएको मिसिल अध्ययनवाट देखिन्छ । फिरादी कहिले कहाँ कहिले कहाँ वस्ने भएकीले निजका वच्चाहरु मेरो साथमा राखी आएकोमा वच्चाको पिता फिरादीको पति मेरो ज्वाई सुरेश चौधरीले निजको नागरिकता नभएकोले उक्त जग्गा विक्री गर्न मलाई संरक्षक राखेका हुन् त्यसमा निजको पिता साक्षी वसेका छन् भने विपक्षीको छोराछोरीको हक मार्न मैले कुनै व्यवहार गरेकी होईन । त्यसवाट प्राप्त सम्पूर्ण रकम संरक्षक पिता सुरेश चौधरीले नै प्राप्त गरी सकेका छन् । मलाई कारणी मात्र वनाएका मात्र हुन् भन्ने व्यहोरा चिनीदेवीले दिएको प्रतिउत्तरमा उल्लेख भएको देखिन्छ ।
१६. सोह्र वर्ष नपुगेका नावालकले गरेको लेनदेन व्यवहार सदर हुँदैन । त्यसको धनको हिफाजत गर्ने मानिस समेत्को सहीछाप गराएको रहेछ भने मात्र सदर ठहर्छ । त्यसले पनि सो नावालकको धन विगार्नका लागि बेईमानी गरेको रहेछ भने निजवाट त्यसको विगो भराई सो विगोको सयकडा २५।. जरिवाना गर्नुपर्छ भन्ने लेनदेन व्यवहारको १८ नं. मा उल्लेख भएको देखिन्छ । सोह्र वर्ष नपुगेका नावालकले लेनदेन व्यवहार गर्न अयोग्य घोषित गरिएको छ । त्यस्तो नावालकले गरेको व्यवहार वा कारोवारले कानूनी मान्यता प्राप्त गर्न सकदैन र त्यस्तो व्यवहार सदर पनि हुँदैन । तर त्यस्तो व्यवहार गर्दा नावालकको संरक्षक वा निजको सम्पत्तिको हिफाजत गर्ने व्यक्तिको लिखतमा सहीछाप गराएको रहेछ भने सदर हुने कानूनी व्यवस्था उक्त ऐनमा गरेको देखियो । नावालकको पालन पोषण, शिक्षा दिक्षा दिनलाई व्यवहार चलाउनु पर्ने स्थितिको सिर्जना हुन गएमा संरक्षक वा हिफाजत गर्ने मानिसले नावालकको हितको लागी गरेको व्यवहारलाई ऐनले मान्यता दिएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरुले लगाएको प्रतिउत्तर जिकिरवाट नावालकको के कस्तो हकहितको संरक्षण गर्न व्यवहार गर्नु परेको हो खुल्दैन । बल्कि नावालकको नाउँमा दर्ता रहेको सम्पत्ति विक्रि हुँदा प्राप्त भएको रकम निजहरुको हक हितमा प्रयोग नभै सुरेश चौधरीले लगेको संरक्षकको तथाकथित भुमिका निर्वाह गर्ने चिनी देवीको प्रतिउत्तरवाट देखिइरहेकोले उक्त सम्पत्तिको व्यवहार नावालकको हकहितको वा निजहरुको शिक्षा दिक्षाको लागि गरिएको देखिएन । संरक्षक वा हिफाजतकर्ताले नावालकहरुको हित गर्नलाई होइन कि नावालकको अहित हुने कार्य भै रहेको देख्दा देख्दै सहमति जनाउने व्यवहार सदर नहुने लेनदेन व्यवहारको १८ नं. मा प्रष्टतया उल्लेख भएको देखिन्छ । उक्त ऐनको तल्लो वाक्यांसले त्यस्तो कार्य गर्ने संरक्षक वा हिफाजतकर्तालाइ थप जरिवानाको व्यवस्था गरेको देखिन्छ । २०४८।५।२ को लिखतमा संरक्षकको सही भएको हो होईन भन्ने तर्फ हेर्दा अभिभावक चाहिएमा अभिभावकको नाम, थर, वतन, नाता भनी लिखतमा लेखिएको ठाउँमा यसमा लेखिएका राजिनामा पास गरि दिने सुरोज, लक्ष्मी, सुलोचाना, सोना चौधरी समेत् जवान ४ नावालक भएको हुँदा मेरा सामुन्नेमा सहीछाप गरेको भन्ने हजुर आमा चिनीदेवी शाक्य भनी लेखिएकोले त्यस लेखाईमा संरक्षक वा हिफाजत गर्ने भन्ने लवज नपरेकोले संरक्षक वा हिफाजत गर्ने मानिसको रोहवरमा लिखत लेखि नावालकको सहीछाप भएको मान्न सक्ने अवस्था नरहेपनि लेनदेन व्यवहारको १८ नं. अनुसार लिखत वदर गर्न नमिल्ने भनी पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसित सहमत हुन सकिएन ।
१७. तसर्थः माथी प्रकरणहरुमा विवेचना गरे अनुसार संरक्षक वा हिफाजत गर्ने जिम्मेवारी लिएको मानिसले नावालकको हकहित शिक्षा दिक्षा, लालन पालनमा वाहेक नावालकको अहित हुने गरी लिखत वा कुनै व्यवहार नावालकवाट गराएमा सदर हुँदैन भन्ने लेनदेन व्यवहारको १८ नं. मा व्यवस्था भै रहेकोले नावालकहरुको नाउँमा रहेको सम्पत्ति विक्री गरी हाल्नु पर्ने कुनै मनासिव कारण विना विक्रि गरे गराएकोलाई निजहरुको अहित हुने गरी विक्री व्यवहार गरेको मान्नु पर्ने हुँदा उक्त मिति २०४८।५।२ को पुनरावेदक प्रतिवादीको नाउंमा पारित भएका लिखत र दर्ता वदर गरी नावालकको नाउँमा दर्ता समेत हुने ठहराई पुनरावेदन अदालत पाटनले गरेको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसंवत् २०६० साल श्रावण ५ गते रोज २ शुभम .......