निर्णय नं. ७२३१ - गर्भपतन
निर्णय नं. ७२३१ ने.का.प.२०६० अङ्क ५.६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
सम्वत २०५७ सालको स.फौ.पु.नं. २२३८
सम्वत २०५९ सालको साधक नं. ३१८
फैसला मितिः २०६०।४।३०।६
मुद्दाः – गर्भपतन ।
पुनरावेदिका
प्रतिवादीः जिल्ला इलाम महमाई गा.वि.स. वडा नं. २ घर भै हाल कारागार शाखा, इलाममा कैदमा रहेकी फुलमाया मगर
प्रत्यर्थी
वादीः प्र.ना.नि. गोपाल गिरी समेतको जाहेरीले श्री ५ को सरकार
वादी प्र.ना.नि. गोपाल गिरी समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः जिल्ला इलाम महमाई गा.वि.स. वडा नं. २ घर भै हाल कारागार शाखा,इलाममा कैदमा रहेकी फुलमाया मगर
§ प्रतिवादी फुलमायाले आफ्नो विवाहित लोग्ने संग नवसी माइती घरमा वसि आएको अवस्थामा परपुरुष देउकुमार थापामगर संगको करणीले अवैध गर्भ वोकी जिउदो छोरी जातक जन्माई सामाजिक भय र लाजको कारणवाट मारी जुवाले खोलामा फ्याकी छोडेको देखिन आउँदा अभियोग दावी वमोजिम निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।
§ विवाहित स्त्री कतिपय कारणवश माइतीमा वस्नु पर्ने अवस्था पर्ने र २४ वर्षकी यौवनावस्थामा माइती गाउँकै देउकुमार थापाले विवाह गर्छु भनि ललाई फकाई करणी लिनुदिनु गरेको र गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्नु पर्छ भनि भागी वेपत्ता भएको देखिंदा सामाजिक अनुशासन, लोकलाजवाट वच्न अवैध सम्पर्कको कारणवाट जन्मेको कारण नवजात शिशुलाई मारेको देखिदा ग्रामिण अवला स्त्रीले ती लोक लाजका अपगालवाट वच्न जन्मेको शिशुलाई जन्मेकै स्थान जुवाले खोलामा मारी छाडी हिडेको देखिन आउँदा ठहर भएको कसूर अनुसारको सजाय गर्दा चर्को पर्ने हुँदा प्रतिवादी फुलमाया मगरलाई अ.व. १८८ नं. वमोजिम कैद वर्ष ४।१०।१० (चार वर्ष दश महिना दश दिन) मात्र हुने ।
(प्र.नं. २१ र २२)
पुनरावेदिका प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री अग्नी खरेल, श्री मीरा ढुंगाना, श्री लिलामणि पौडेल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.कृष्णकुमार वर्माः पुनरावेदन अदालत इलामको ०५७।२।९ को जाहेरी फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) वमोजिम पेश भएको साधक तथा ऐ ऐनको दफा ९(१) वमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ:–
२. ०५५।६।१४ गते साँझ १८.०० वजेको समयमा फुलमाया मगरले जुवाले खोल्सीमा अवैध रुपमा नवजात शिशु छोरी वच्चा जन्माई मृतक अवस्थामा फालेकोले निज फुलमायालाई पक्राउ गरी दाखेल गरेका छौं । अवैध रुपले फुलमायासंग यौन सम्पर्क गर्ने व्यक्तीको को हुन फुलमायावाटै खुलाई कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत जाहेरी प्रतिवेदन ।
३. जुवाले खोल्सीको वीच भागमा मृतकको लाश भएको मृतकको केश पुरा पलाई कालो भएको टाउकोको दाहिने भागमा केही छाला पिल्सिएको मृतकको मुखवाट कालो रगत वगी जमिनमा जमेको वार्याँ कान मुनी गर्धनमा चोट देखिएको मृतक नाङ्गगो अवस्थामा भएको मृतक छोरी जातीको पछाडि पट्टि ढाडमा छाला पिल्सिएको शरिरको वायाँ भाग ढुंगाले किचेको मौकाको घटनास्थल सहितको लाश प्रकृति मुचुल्का ।
४. फुलमायाले जुवाले खोल्सीमा दिसा गर्न भनी जाँदा वच्चा जन्मिएको र सोही ठाउँमा फालिराखेको छु भनी भनेको र सो ठाउँमा गै हेर्दा मृतक वच्चा देखेको हुँ उक्त वच्चा जिउंदै जन्मिए जस्तो लाग्छ, को कस्को गर्भ वोकी के कुन तरिकावाट वच्चालाई कर्तव्य गरी मारी फालेका हुन मलाई थाहा भएन भन्ने समेत प्रहरीवाट वुझिएका सुरेशकुमार लिम्वुले गरेको कागज।
५. मृतक शिशु वच्चाको लाश कुहिसकेको हुँदा मृत्युको कारण पत्ता लाग्न सक्दैन भन्ने समेत लाश जाँच रिपोर्ट ।
६. ०५५।६।१४ गते दानावारी गा.वि.स. वडा नं. ९ मा फेला परेको सालनाल सहितको मृतक शिशु वच्चाको लाश मैले मेरो लोग्ने खडगवहादुर मगरसंग यौन सम्पर्क राखी गर्भधारण भई उक्त मिति समयमा जन्माई फालेको वच्चा हो । वच्चा जिउँदो जन्मिएको थिएन मरेकै जन्मिएको हो भन्ने समेत फुलमाया मगरको वयान कागज ।
७. फुलमायालाई पटकपटक लिन जाँदा समेत मंसग नआई ०५४ साल देखि नै माइतीघरमा वस्ने गर्दा मैले ०५४ सालमा दोश्रो कान्छी विवाह गरी वसेको छु । फुलमायासंग सो मिति देखि यौन सम्पर्क राखेको छुइन । निज मेरो श्रीमती फुलमायाले को संग यौन सम्पर्क राखी गर्भधारण गरी शिशु वच्चा जन्मार्इं फालेको हुन मलाई थाहा भएन भन्ने समेत व्यहोराको खड्गवहादुर मगरको कागज ।
८. मैले डरको कारण २०५५।६।२१ गतेको वयानमा लोग्नेसंग यौन सम्पर्क राखेको हुँ भनी ढाटेको हुँ । तर म मेरो श्रीमान संग नवसी माइतीमा वसेको हुँदा मेरो माइती गाउँकै महमाई गा.वि.स. वडा नं ७ वस्ने देउकुमार थापासंग मिलेमतोमा करणी लिनुदिनु गरेपछि गर्भ रहन गएको हो सो कुरा देउकुमार थापालाई सुनाउँदा गर्भ फाल्न पर्छ भन्ने सल्लाह दिए पनि मैले गर्भ फालिन । ०५५। ६र१४ गते छोरी शिशु वच्चा जन्मिएको हो । अन्य कसैको पनि सहमति छैन भन्ने समेत व्यहोराको प्र फुलमाया मगरको ततिम्वा वयान कागज ।
९. ०५५।६।१४ गते फुलमाया मगरले जुवाले खोल्सीमा जन्माई फालेको शिशु वच्चालाई घटनास्थलमा गै हेर्दा नाक मुखवाट रगत वगेको मृतक अवस्था देखेको हो । उक्त वच्चा प्रतिवादीले जीवित जन्माई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको वुझिएका मनमाया मुखिया , मुना देवी समेतले एकै मिलानले लेखी वकिदिएको कागज।
१०. ०५५।६।१४ गते प्र फुलमाया मगरले जुवाले खोल्सीमा वच्चा जन्माई फालेको कुरा थाहा पाई घटनास्थलमा गै हेर्दा उक्त वच्चा फुलमायाले जिउदो जन्माई कर्तव्य गरी मारेकोमा हामीहरुलाई पूर्ण विश्वास लाग्छ प्र.देउकुमार हाल गाउँघरमा छैनन् भन्ने समेत घटनास्थलको जानकारी प्राप्त हुने काजीमान मुखिया समेतले एक मिलान हुने गरी लेखि दिएको कागज ।
११. मरेकै वच्चा जन्मिएको भए परम्परा अनुसार माटोमा नाङ्गगै जलाउने संस्कार पुरा गर्नुपर्नेमा नगरेको आफ्ना लोग्ने हुँदाहुदै परपुरुषको गर्भधारण गरेको लाश हेर्दा नाक मुखवाट रगत आएको शरिरमा निलडाम देखिएवाट कर्तव्यवाटै मारेको भन्ने पुष्टयाई हुन आयो । को कस्को मिलेमतो रहेछ भन्नेतर्फ हेर्दा अवैध गर्भधारण गर्ने देउकुमार थापाले गर्भ फाली दे भनी पटक पटक भनेको भन्ने समेत वयानवाट खुल्न आएकोले अपराध गर्न वचन दिने प्र देउकुमार र देउकुमारको विर्यवाट जन्मेको वचा जन्माई मारी फाली दिने फुलमाया मगरले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १नं. को कसूर गरेको पुष्टी हुन आएकोले प्र.फुलमाया मगरलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सजाय गरी पाउँन र प्र.देउकुमारले प्र फुलमायालाई गर्भ वोकाई वच्चा फाल्ने मार्ने किसिमसंग मतलवमा पसेको देखिदा निजका नाउँमा अदालतवाटै म्याद जारी गरी ऐ महलको १७(३) नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
१२. प्रहरीमा गाउँका संगीहरुले मलाई कुटला भनेर आफ्नै श्रीमानको गर्भ भनेका थिए तर लोग्नेसंग करणी लिनुदिनु भएको होइन । देउकुमार थापा मगरको करणी विर्यवाट गर्भधारण गरेकी हुँ निजले ०५४ साल माघ महिनामा मलाई स्वास्नी वनाई लान्छु भनी करणी गरेको र सोही मिति देखि मेरो गर्भ रही ०५५ साल जेष्ठ महिनामा भेटी मलाई लैजानु भन्दा गर्भ तुहाउनु पर्छ औषधी खाँउ भन्दा मैले नखाने भने । सो पछि निज गाउँ घरवाट भागी हिंडेका छन । ०५५।६।१४ गते मलाई दिसा लागेकोले जुवाले खोल्सीमा दिसा वस्न लाग्दा मरेको छोरी जन्मियो। मैले त्यतिकै छोडी घरमा आए, गाउँका मानिससंग मेरो वावु धनवहादुरसंग जाँडरक्सी खाएको वेला झगडा गरेको कारणवाट मलाई गाउँका मानिसहरुले जिउदो जन्माएर वच्चा मारेकी हुन भनी पोल गरेको कारणवाट प्रहरीले पक्राउ गरी प्रहरीले प्रतिवेदन गरेको हुन, मैले जिउदो वच्चा जन्माई मारेको होइन । मरेकै जन्मिएको वच्चा हुने भन्ने समेत प्र.फुलमाया मगरले अदालतमा गरेको वयान ।
१३ लाश प्रकृति मुचुल्कावाट मृतक नवजात शिशुको शरिरका विभिन्न ठाउँमा चोट पटक देखिएको, वस्तुस्थिति मुचुल्काका मानिस एवं अनुसन्धानको क्रममा वुझिएका प्रहरीमा मौकामा कागज गर्ने स्वतन्त्र मानिस विर नेम्वाङ समेतका मानिसहरुको अदालतमा भएको वकपत्र वाट अभियोग दावीको पुष्टि भइरहेको , मरेकै वच्चा जन्मिएको भन्ने कुराको पुष्टि हुन नसकेको, आफ्ना लोग्ने हुँदाहुदै परपुरुषसंग यौन सम्पर्क गरेको अवस्थामा गर्भधारण भएको उक्त वच्चालाई जुवाले खोल्सीमा जन्माएको तमाम आधार प्रमाणहरुवाट प्रतिवादी फुलमाया मगरले अभियोग माग दावी अनुसार कसूर गरेको पुष्टि भएको हुँदा निज प्रतिवादी फुलमाया मगरलाई अभियोग माग दावी अनुसार ज्यान सम्वन्धीको १३(३) नं वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । साथै अर्का प्रतिवादी देउकुमार थापाले वच्चा मार्ने कार्यमा संलग्नता भएको देखिंदा निजलाई ज्यान सम्वन्धीको १७(३) नं वमोजिम २ वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरुको ठहरका साथै प्रतिवादी फुलमाया मगरका हकमा अं.वं. १८८ नं. वमोजिम घटी सजाय कैद वर्ष ६ मात्र हुन उपयुक्त हुने भन्ने राय सहितको इलाम जिल्ला अदालतको मिति २०५६।३।१४ को फैसला ।
१४. जिल्ला अदालतको फैसलामा चित्त वुझेन । ०५५।६।१९ मा भएको Post Martum Report मा लास नै सडी गलिसकेको हुँदा मृत्युको कारण पत्ता नलागेको भन्ने उल्लेख छ भन्ने मिति २०५५।६।१८ अर्थात मृतवच्चा जन्मिएको ४ दिन पछिको उक्त लाश प्रकृति मुचुल्कामा उल्लेख भएको व्यहोरा एकातिर Post Martum Report संग वाझिएको देखिन्छ । भने उक्त मुचुल्काको व्यहोरा कपोलकल्पित रहेको प्रष्ट हुन्छ । कसैले पनि जन्मिएको वच्चालाई अभियुक्तले मारी फालेको देखेको भनि किटानीसाथ भन्न नसकेको अवस्था छ । विरामी भएका कारण ज्वरोको औषधी खाएको र ०५४५।६।१४ को दिन सांझ ६ वजेको समयमा मृतक वच्चा जन्मिएको समेतका सत्य तथ्य अधिकार प्राप्त अधिकारी र अदालतमा समेत मैले व्यक्त गरेको अवस्थामा मेरो वयान खण्डित नभए सम्म मेरो वयान झुठ्ठा प्रमाणित गर्न मिल्ने होइन। तसर्थ केवल Post Martum Report संग वाझिएको लाश प्रकृति मुचुल्कालाई प्रमाणको रुपमा ग्रहण गर्दैमा निर्दोष अवला नारीलाई आजन्मकैदमा वस्ने गरी इलाम जिल्ला अदालतवाट भएको फैसला विल्कुलै त्रुटीपूर्ण हुँदा वदर गरी आरोपित कसूरवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी फुलमाया मगरको पुनरोदन अदालतमा परेको पुनरावेदन ।
१५. यसमा प्रतिवादी फुलमाया मगरले अधिकार प्राप्त अधिकारी समक्ष एवं अदालतमा समेत मृतक वच्चा जन्मिएको भनि वयान गरेको अवस्थामा जिउदो वच्चा जन्माई कर्तव्य गरी मारेको ठहराएको शुरुको फैसला फरक पर्न सक्ने देखिंदा छलफलका लागि अ.व. २०२ नं वमोजिम सरकारी वकिल कार्यालयलाई पेशी सूचना दिई पेश गर्नु भन्ने पुनरावदेन अदालतको ०५७।१।१२ को आदेश ।
१६. यसमा प्रतिवादीहरु मध्ये देउकुमार मगरको पुनरावेदन पर्न आएको नदेखिएको र प्रतिवादी फुलमाया मगरको पर्न आएको पुनरावेदन पत्रको हकमा मिशिल संलग्न प्रमाणवाट निजले अवैध गर्भ वोकी पैदा भएको जातक मृत अवस्थामा जुआले खोल्सीमा भेटिएको समेतका परिस्थितिवाट प्रतिवादी फुलमायालाई कसूरदार ठहर गरी ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई सजायमा छुट दिने तर्फ अ.व. १८८ नं. अन्तर्गत व्यक्त गरेको राय समेत मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति २०५७।२।९ को फैसला ।
१७. उक्त फैसलामा चित्त वुझेन । मुद्दाको नाम गर्भपतन उल्लेख छ भने अभियोग माग दावी ज्यान सम्वन्धीको १३(३) को छ। गर्भ पतन भनेको कर्तव्य ज्यान होइन । जातक मैले मारेको नभई मरेको जन्मिएको हो । कर्तव्य गरी मारेको भन्ने Post Martum Report ले देखाउन सत्तैmन । जुवाले खोल्सी ढुंगामा जन्म भएको वच्चा ढुगामा ठोक्किनु , चोट लाग्ने घाउ देखिनु स्वभाविकै हो । यी तथ्यले पनि मरेकै जातक जन्मिएको पुष्टि हुन्छ । उल्लेखित तथ्यलाई मनन गरी शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरी सफाइ पाउँ भन्ने समेत प्रतिवादी फुलमाया मगरको कारागार शाखा मार्पmत दायर हुन आएको पुनरावेदन जिकिर ।
१८. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी फुलमाया मगरको तर्फवाट उपस्थित विद्वान अधिवक्ताहरु श्री अग्नी खरेल श्री मीरा ढुंगाना श्री लिलामणि पौडेलले प्रतिवादीवाट जन्मेको वच्चा जिउदै जन्मेको भन्ने कहि कतैवाट पुष्टि नभएको , पोष्टमार्टम रिपोर्टमा सडेगलेको अवस्था देखाइएको छ । लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्टको व्यहोरा मिलान छैन। मरेको वच्चा जन्मेको स्थितिमा ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम कसूरदार ठहर गरेको पुनरावेदन अदालतको इन्साफ उल्टी गरी सफाइ होस भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो ।
१९. प्रतिवादी फुलमायालाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरी पुनरावेदन अदालतले साधक जाहेर गरेकोमा प्रस्तुत मुद्दामा प्रतिवादीको पुनरावेदन पर्न आएकोले न्याय प्रशासन ऐन,२०४८को दफा १०(३) वमोजिम पुनरावेदनको रोहवाट हेरिने हुँदा साधकको लगत कट्टा गरिदिनु ।
२०. प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले प्रतिवादी उपरको अभियोग दावी अनुसार कसूर ठहर गरी कैद वर्ष ६ मात्र सजाय गर्ने गरी राय व्यक्त गरेको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिर वमोजिम हुनुपर्ने हो होइन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२१. निर्णय तर्फ विचार गर्दा विवाह भै सकेकी प्रतिवादी फुलमाया घरमा नगै माइती घरमै वसेको अवस्था देखिन्छ । गाउँकै देउकुमार थापासंग सहमतिले करणी लिनुदिनु गरी रहेको गर्भ देउकुमार संग भन्दा गर्भ फाल्नु पर्छ भनि सल्लाह दिएका थिए । ०५५।६।१४ मा छोरी जातक जन्मिएको हो अन्य कसैको सहमति छैन भनि अधिकार प्राप्त अधिकारी समक्ष साविति वयान गरेको पाइन्छ । सो कुरालाई निज प्रतिवादीको लोग्ने खडगवहादुर मगरले माइतीमा वसेकी श्रीमती फुलमायालाई लिन भनि पटक पटक जाँदा घरमा आउन नमानेकीले २०५४ सालमा दोश्रो विवाह गरेको छु । सो मिति देखि मेरो निज संग यौन सम्पर्क भएको छैन भनि गरिदिएको कागजवाट पनि पुष्टि भएको छ । अदालतको वयानमा २०५५।६।१४ गते दिसा लागी जुवाले खोलामा दिसा गर्न जाँदा मरेको शिशु जन्मेकोले त्यही छोडी आएँ भनि देउकुमार संगको करणी सम्पर्कलाई स्वीकार गरी वयान गरेकी प्रतिवादीको भनाइ भएपनि लाश प्रकृति मुचुल्कावाट मृतक नवजात शिशुलाई प्रतिवादीले लोकलज्जाको कारणवाट पनि जन्मिएको ठाउमै चोट पटक प्रहारी गरी शिशुको शरिरको विभिन्न ठाउँमा चोटपटक लागेको देखिन्छ । पर पुरुष संगको यौन सम्पर्कवाट गर्भ वोकी जन्मिएको मारी फालि हिडेको भनने प्रहरीमा कागज गर्ने मानिसहरुको भनाइलाई मृत नवजातको शरिरमा विभिन्न चोट लागेको देखिएवाट पनि पुष्टि हुन आउँछ । अभियोग दावी लाई वुझिएका व्यक्तिहरुको वकपत्रवाट पुष्टि भैरहेको र नवजात शिशु मृत अवस्थामा जन्मेको थियो भन्ने प्रतिवादीको भनाइको पुष्टि हुन नसकेको कारणवाट प्रतिवादी फुलमायाले आफ्नो विवाहित लोग्ने संग नवसी माइती घरमा वसि आएको अवस्थामा परपुरुष देउकुमार थापामगर संगको करणीले अवैध गर्भ वोकी जिउदो छोरी जातक जन्माई सामाजिक भय र लाजको कारणवाट मारी जुवाले खोलामा फ्याकी छोडेको देखिन आउँदा अभियोग दावी वमोजिम निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु इलाम जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको मिति २०५७।२।९ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ ।
२२. अव प्रतिवादीलाई अ.व. १८८ नं. वमोजिम ६ वर्ष मात्र कैद हुने भनि शुरु जिल्ला अदालतले व्यक्त गरेको रायलाई सदर गरेको पुनरावेदन अदालतको रायतर्फ विचार गर्दा विवाहित स्त्री कतिपय कारणवश माइतीमा वस्नु पर्ने अवस्था पर्ने र २४ वर्षकी यौवनावस्थामा माइती गाउँकै देउकुमार थापाले विवाह गर्छु भनि ललाई फकाई करणी लिनुदिनु गरेको र गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्नु पर्छ भनि भागी वेपत्ता भएको देखिंदा सामाजिक अनुशासन, लोकलाजवाट वच्न अवैध सम्पर्कको कारणवाट जन्मेको कारण नवजात शिशुलाई मारेको देखिन्छ । ग्रामिण अवला स्त्रीले ती लोक लाजका अपगालवाट वच्न जन्मेको शिशुलाई जन्मेकै स्थान जुवाले खोलामा मारी छाडी हिडेको देखिन आउँदा ठहर भएको कसूर अनुसारको सजाय गर्दा चर्को पर्ने हुँदा प्रतिवादी फुलमाया मगरलाई अ.व. १८८ नं. वमोजिम कैद वर्ष ४।१०।१० (चार वर्ष दश महिना दश दिन) मात्र हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
प्रतिवादी फुलमाया मगरलाई माथि ठहर खण्डमा लेखिए अनुसार कैद वर्ष ४।१०।१० हुने ठहर भएकाले निज ०५५।६।२२ देखि प्रहरी हिरासतमा र ०५५।७।१७ देखि मुद्दा पूर्पक्षको लागी कारागारमा थुनामा हुँदा हिरासतमा रहेको मिति देखिको कैद कट्टिले ठहर भएको कैदको अवधि ०६०।४।३२ मा भुक्तान हुने देखिंदा ०६०।५।१ देखि कारागारमुक्त गरिदिनु भनि सम्वन्धित कारागार शाखामा लेखि पठाई दिनु ............. १
मिसिल नियमानुसार वुझाई दिनु .. २
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत २०६० साल श्रावण ३० गते रोज ६ शुभम.................