शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२३४ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: भाद्र अंक:

निर्णय नं. ७२३४     ने.का.प.२०६० अङ्क ५.६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्बत् २०५८ सालको फौ.पु.नं.२८२४

सम्बत् २०५८ फौ.सा.नं.३६३

फैसला मितिः २०६०।५।१२।६

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला झापा खुदुनावारी वडा नं.६ घर घै हाल कारागार शाखा झापामा थुनामा रहेकी नामगेल छुमु परियार

बिरुद्ध

प्रत्यर्थी

वादीः काजीमान बर्देवाको जाहेरीले वादी श्री ५ को सरकार

 

वादीः  काजीमान बर्देवाको जाहेरीले वादी श्री ५ को सरकार

बिरुद्ध

प्रतिवादीः  जिल्ला झापा खुदुना वारी वडा नं.६ घर भै हाल कारागार शाखा झापामा थुनामा रहेकी नामगेल छुमु परियार

 

§  Post Mortem Report, लाश जाँच मुचुल्का र किटानी जाहेरी दरखास्त, नावालक साजन पांचकोटी र सरीता दर्जीको बकपत्र समेतबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई श्रृंखलाबद्ध रुपमा पुष्टी गरी रहेको देखिंदा घटनाको चस्मदित गवाह नभएकोले सजाय पाउन पर्ने होइन भनी लिएको पुनरावेदन जिकिर न्यायसंगत नदेखिने ।

(प्र.नं. २५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, इलामको मिति २०५७।११।१९  को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :

२.    मिति २०५६।४।३१ गतेका दिन म लगायत घरमा कोही नभएको मौका पारी वर्ष ६ को छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारी कोलाधारीमा फालेको अबस्थामा फेला परेकोले मानिस पत्ता लगाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत जाहेरी दरखास्त ।

३.    मृतक राजेश वर्देवाको अनुहार सुनिएको घांटीमा चोट पटक देखिएको भन्ने लाश जांच मुचुल्का।

४.    १५/१६ दिन अगाडि मेरी श्रीमती मुना वर्देवा र छुमा भन्ने नामगेल छुमु बीच झगडा पर्दा नामगेल छुमुले पछि देख्लास भनि दागा धरेको हुँदा छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारी कोलाघारीमा फालेको शंका लाग्छ, कारवाही गरी पाउँ भन्ने २०५६।५।९ को जाहेरी दरखास्त ।

५.    जाहेरवालाको श्रीमती मुना वर्देवा र नामगेल छुमु बीच झगडा भएकोले सोही इवि लिई जाहेरवालाको छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारेको बुझिन आएकाले पक्राउ गरी दाखेला गरेको छु भन्ने समेत प्रहरीको प्रतिवेदन ।

६.    जाहेरवालाको श्रीमतीले मलाई रुपैया चोरी गरेको आरोप लगाई भोटेनी, रण्डी भनी गाली गरेकीले रिस उठी जाहेरवालाको छोरालाई २०५६।४।३१ गते मेरो घर भित्र बोलाई घांटी थिची कर्तव्य गरी मारी प्लाष्टिकको वल (आरीमा) मृतकलाई हाली कपडाले छोपी कोलाघारीमा लगी फालेको हुँ भन्ने समेत प्रतिवादी नागेल छुमुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

७.    २०५६।४।३१ गते सोतर काट्न जाँदा कोलाघारीमा जाहेरवालाको छोरा राजेश वर्देवाको लाश देखि हो हल्ला गरेको हुँ । जाहेरवालाको श्रीमती र नामगेलका बीच झगडा भएकोले निज नामगेल छुमुले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत गजेन्द्रनाथ पौडेलले प्रहरीमा गरेको कागज।

८.    जाहेरवालाको श्रीमती र नामगेलको बिच झगडा भएकोले सोही कुराको रिसइवि लिई प्रतिवादीले जाहेरवालाको छोरालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत यामवहादुर रानामगरले प्रहरीमा गरेको कागज ।

९.    २०५६।४।३१ गते दिनको ५ बजे जाहेरवालाको छोरा राजेश वर्देवालाई नामगेल छुमुले आफ्नो घर भित्र बोलाई लगेकोले पहिला जाहेरवालाको श्रीमतीसँग वादविवाद परेको रिसइविको कारण कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत साजन पाँचकोटीले प्रहरीमा गरेको कागज।

१०.   २०५६।४।३१ गते दिनको ५:३० बजेको समयमा नामगेल छुमुले प्लाष्टिकको आरी बलमा कपडा बोकी गह्रौं भारी पाराले इनारतर्फ गएको इनारमा नपुगी कोलाधारी भित्र पसेको कोलाघारीबाट इनारमा नगई घरमा आएको देखेको हुँदा प्रतिवादी र जाहेरवालाको श्रीमतीको झगडा परेको रिसइवि लिई कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत सरिता दार्जेले प्रहरीमा गरेको कागज ।

११.   २०५६।४।३१ गते म काम विशेषले गरुवा चोकमा गएको दिनको ५:३० बजे मेरो छोरालाई कर्तव्य गरी कोलाघारीमा फालेको कुरा होहल्ला हुँदा थाहापाई घटनास्थलमा हेर्दा छोराको मृतक लाश देखेको हुँ । १५/१६ दिन अगाडि मेरो घरबाट रुपैयां चोरी भएको विषयमा पक्राउ परेका नामगेल छुमुसँग झगडा पर्दा देख्लास् भनि दागा धरेकोले सोही रिसइवि लिई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत मुना वर्देवाले प्रहरीमा गरेको कागज ।

१२.   मृतक राजेश वर्देवाको लाश फाल्न प्रयोग भएको प्लाष्टिकको बल आरी बरामद भएको बरामदी मुचुल्का ।

१३.   बरामद प्लाष्टिकको आरी जाहेरवालाको छोरालाई कर्तव्य गरी मारी कोलाघारीमा फाल्दा प्रयोग गरेको हो भनि प्रतिवादी नामगेल छुमुले गरेको कागज ।

१४.   जाहेरवालाको घरबाट रुपैयां हराएको विषयमा जाहेरवालाको श्रीमतीसँग नामगेलको झगडा भएकोले सोही कुराको इवि लिई राजेश वर्देवालाई कर्तव्य गरी मारी कोलाघारीमा फालेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत वस्तुस्थिति मुचुल्का ।

१५.   मृतकको घांटी किचेको कारण श्वास प्रश्वास अवरुद्ध भई मृत्यु भएको हो भन्ने पोष्टमार्टम  रिपोर्ट।

१६.   प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा सोही ऐनको दफा १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गरी पाउँ भन्ने समेत अभियोग पत्र ।

१७.   मृतकको आमाले मलाई पैसा चोरीस् भनि आरोप लगाएकोले झगडा भएको थियो । मृतकलाई मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत प्रतिवादीले अदालतमा गरेको बयान ।

१८.   जाहेरवाला समेतका वादीका साक्षी र प्रतिवादीका साक्षीको समेत बकपत्र भै मिसिल सामेल  रहेको ।

१९.   प्रतिवादीले वर्ष ६ को नावालक राजेश वर्देवालाई कर्तव्य गरी मारेको प्रमाणहरुबाट देखिन आएकोले निज प्रतिवादी छुमा भन्ने नामगेल छुमु परियारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत शुरु झापा जिल्ला अदालतबाट २०५७।२।९ मा भएको फैसला ।

२०.   शुरु जिल्ला अदालतबाट मिसिल संलग्न सवुद प्रमाणको त्रुटीपूर्ण मूल्यांकन गरी सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरी भएको फैसला वदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत प्रतिवादी नामगेल छुमु परियारको तर्फबाट पुनरावेदन अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

२१.   यसमा शुरु झापा जिल्ला अदालतबाट प्रतिवादी नामगेल छुमु परियारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सर्वस्व सहित जन्मकैद गर्ने गरी भएको निर्णय मुनासिब देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको फैसला ।

२२.   पोष्टमार्टम रिपोर्ट समेतमा मिति उल्लेख नभएको कुनै प्रत्यक्षदर्शी चश्मदिद गवाह नभएको, अदालतमा कसैको पनि किटान नभएको प्रमाण शुन्य प्रक्रियाको मुद्दामा गरिएको सजाय र फैसला बदरभागी छ । बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन   पत्र ।

२३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण कागजात अध्ययन गरियो । अब, पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो।

२४.   निर्णयतर्फ विचार गर्दा, प्रतिवादी नामगेल परियारलाई ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा सोही ऐनको दफा १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको माग दावी भएकोमा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याई भएको शुरु जिल्ला अदालत झापाको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला उपर प्रतिवादी तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।

२५.   यसमा प्रतिवादी नामगेल परियारको पुनरावेदन पर्न आएकोले साधकको लगत कट्टा गरी पुनरावेदनको रोहबाट विचार गर्दा, छुमा भन्ने नामगेलले मेरो छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारेकोले आवश्यक कारवाही गरी पाउँ भन्ने मृतकको बाबु काजिमानको किटानी जाहेरी देखिन्छ । लाश जाँच मुचुल्कामा घांटीमा कोतारिएका ४ सेन्टी मिटरको तीन वटा चोटहरु रहेको र शव परीक्षण रिपोर्ट (Post Mortem Report) मा Cause of death is Throttling Leading to asphyxia and death भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादी अदालतमा इन्कार रहे पनि अधिकार प्राप्त अधिकारी समक्ष मृतकको आमाले पैसा चोरी भएको विषयमा आफुलाई अश्लिल शव्द प्रयोग गरी गाली गरेको कुरामा रिस उठी सोही रिसइवीबाट वारदातको दिन मृतकलाई एक्लै भेटी घरमा बोलाई भित्र लगी घांटीमा समाई उतानो पारी लडाई बायां हातले किलकीले थिची मारी प्लाष्टिकको बाटा (आरी) मा हाली केरा घारीमा लगी लाश छाडी आएको भनी कसूरमा सावित भै बयान गरेको पाइन्छ । मृतक राजेशलाई प्रतिवादीले बोलाई घर भित्र लगेको देख्ने मृतकसँग साथमा रहेको सात वर्षे नावालक साजन पाँचकोटीले अधिकार प्राप्त अधिकारीको कागज र अदालतको बकपत्र र वारदातको दिन र समयमा प्रतिवादीले प्लाष्टिकको ठूलो बाटा (आरी) मा केही वस्तु राखी गह्रौं किसिमले बोकी इनारतर्फ गएको र इनारमा नपुगी इनार वरै रहेको केरा घारी भित्र गई त्यहीबाट फर्की आएको देखेको भन्ने सरीता दर्जीको बकपत्र देखिन्छ । प्रतिवादीसँग पैसाको विषयलाई लिएर झगडा भएकोले सोही रिसइवीबाट छोरा राजेशलाई कर्तव्य गरी मारेको हो भनी मृतकको आमा मुनाको बकपत्र देखिन्छ । प्रतिवादीसँग झगडा भएकोले सोही रिसइवी लिई छोरा राजेशलाई मारेको हो भनी जाहेरवालाको अदालतमा भएको बकपत्र र प्रतिवादीले नै झगडाको रिसइवीको कारण मृतक राजेश वर्देवालाई मारेको हो भनी वस्तुस्थिति मुचुल्काका मानिस यामवहादुर राना मगरको बकपत्र समेत देखिन्छ। यसरी Post Mortem Report लाश जाँच मुचुल्का र किटानी जाहेरी दरखास्त, नावालक साजन पांचकोटी र सरीता दर्जीको बकपत्र बमोजिम अदालतमा भएको बकपत्र समेतबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई श्रृंखलाबद्ध रुपमा पुष्टी गरी रहेको देखिंदा घटनाको चस्मदित गवाह नभएकोले सजाय पाउन पर्ने होइन भनी लिएको पुनरावेदन जिकिर न्यायसंगत देखिदैन ।

२६.   तसर्थ, शुरु झापा जिल्ला अदालतबाट प्रतिवादी नामगेल छुमुलाई ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याई गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला मुनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन। फैसलाको जानकारी पुनरावेदक प्रतिवादीलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

 

इति सम्बत् २०६० साल भाद्र १२ गते रोज ६ शुभम्–––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु