शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५५३ - आगो लगाई कर्तव्य ज्यान

भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक:

निर्णय नं. ८५५३

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री रणबहादुर बम

सम्वत् २०६७ सालको २०६७–CF०००९

फैसला मितिः २०६७।८।९।५

मुद्दाः आगो लगाई कर्तव्य ज्यान 

पुनरावेदक वादीः नर्मदा लामा समेतको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला नवलपरासी, सुनवल गा.वि.स.वडा नं १ बस्ने दलबहादुर चोख्याल

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री रामेश्वरनाथ अमात्य

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री पुरुषोतम पराजुली

मा.न्या.श्री केशरमान पती

सर्वोच्च अदालत संयुक्त इजलासः

मा.न्या.श्री रामप्रसाद श्रेष्ठ

मा.न्या.श्री अवधेशकुमार यादव

 

§  लामो समयान्तरपछिको अभिव्यक्ति पुनः व्यक्त गर्दा सामान्य विविधता हुँदैमा निजको वास्तविक उल्लेखन विरोधाभाषपूर्ण रहेको भनी तर्क गरी अपभ्रंस व्याख्यान गर्नु न्यायोचित नहुने 

§  आमाको पक्षमा लागी बाबुलाई सजाय गराउनु पर्दछ भन्ने कलुषित भावनाको प्रार्दुभाव भै कुनै एक पक्षप्रति दुराषययुक्त भावना राखी वास्तविक तथ्य अपभ्रंस पारी उजागर गर्नुपर्ने कुनै कारण र आधार नदेखिएको स्थितिमा उसको बकपत्र वास्तविक खुल्ला किताव जस्तो हो जसलाई सत्यता र यथार्थताको ऐना झै स्पष्टदर्षी मान्नुपर्ने 

(प्रकरण नं.३)

§  पहिला कुटपीट गरी त्यसपछि आमाको शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष लेखाई अदालतमा आई सो कुरा पुष्टि हुने गरी बकपत्र गरिदिएको कथन अन्यथा प्रभावित नभएसम्म काल्पनिक र मिथ्या भनी अनुमान गर्न मिल्ने नदेखिँदा प्रस्तुत वारदात भवितव्य हो भन्न नसकिने 

§  अत्यन्त सहज र स्वभाविकरूपले बाबु आमाबीच वादविवाद भएको र बाबुले आमालाई मट्टितेल खन्याई आगो लगाएको कुरा आफूले खाटमुनि बसेर देखेको भनी अदालतमा आई बकपत्र गरेको र अदालतको बकपत्रमा प्रतिवादीको कानून व्यवसायीबाट भएको जीरहमा समेत आफूले देखेको कुरालाई सहज र सरल ढंगले प्रस्तुत गरेको देखिएको हुँदा प्रमाण ऐन, २०३१ को दफा ३८ अनुसार अदालतबाट सोधिएको प्रश्न बुझ्न सक्ने र युक्तियुक्त जवाफ दिन सक्ने व्यक्तिले अदालतसमक्ष व्यक्त गरेको सो कुरा पहिला मौकामा व्यक्त गरेको मूलभूत कुरासँग मेल खाएको देखिँदा उक्त बकपत्र अदालतले प्रमाणमा ग्रहण गर्न नमिल्ने भन्न नमिल्ने 

(प्रकरण नं.७)

§  कुनै पनि प्रकारको ज्यानसम्वन्धी अपराध सिद्ध गर्नु पूर्व रीसइवी, मनसाय नै स्पष्ट देखिनु पर्ने भन्ने अकाट्य मान्यता रहे पनि सदासर्वदा सोही मापदण्ड नै हरेक घटना वारदातमा अकाट्य मापदण्डभित्र पर्दछ भनी आश्वस्त र विश्वस्त भै सधै एउटै निष्कर्ष विन्दुमा पुग्नु कदाचित् सर्वमान्य नहुने 

§  घटनाको अवस्था तथा तत्काल विद्यामान परिस्थितिलाई पुनरमूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न  उचित हुन आउँदैन । तसर्थ परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्लेषण र विवेचना गर्नु पनि त्यतिकै सान्दभिर्क देखिने 

(प्रकरण नं.११)

§  होस नपुर्‍याई वा हेलचेक्रयाँईपूर्वक कुनै काम गरेको अवस्थामा वारदात घटित हुन गएको अवस्था न भै रक्सीको विषयमा विवाद उठी रक्सीको नसामा रहेका प्रतिवादीले कुटपीट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको अवस्था देखिएको र सोही आगोबाट शरीरको विभिन्न भाग जली मृत्यु भएको भन्ने शंकारहित रुपमा पुष्ट्याँई भएको अवस्थामा ज्यानसम्बन्धी महलको ६ नं. को देहाय २ अनुसारको सजाय गर्नुलाई न्यायोचित मान्न नमिल्ने 

(प्रकरण नं.१३)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको २, , , १३(३) नं.

 

फैसला

            न्या.प्रेम शर्माः यस अदालत संयुक्त इजलासको २०६६।३।१६ को फैसलामा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

             जिल्ला नवलपरासी सुनवल गा.वि.स. वडा नं. १ लुम्विनी चिनी कारखाना आवास क्षेत्रभित्र दलबहादुर चोख्याल बस्ने गरेको कोठामा विस्तारासहित रहेको सो कोठाको बीच भागको भूइमा व्यागपाइपर ह्विस्की लेखेको वोतलको बिर्को रहेको सो बिर्कोमा मट्टितेलको गन्ध आएको, बोतल नभेटिएको, सो कोठादेखि पूर्व १ मीटर दूरीको आगनमा आगोबाट जली डल्लो परेको रूपमा कपडा देखिएको भन्ने मिति २०५८।३।२९ को घटनास्थल प्रकृति मुचुल्का 

मेरो भाई दलबहादुर चोख्यालकी श्रीमती मञ्जू चोख्याल २०५८।३।२९ गते आगोले जली भाइसमेत घाइते भई पाल्पा मिसन अस्पतालमा लगेको थाहा पाएकोमा ऐ. ३० गते विहान पुग्दा मञ्जू चोख्यालको राति मृत्यु भएछ भन्ने समेत व्यहोराको दिलबहादुर चोख्यालको मिति २०५८।३।३० को जाहेरी दरखास्त 

             शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेको कारण मृत्यु भएको भन्ने मृतक मञ्जू चोख्यालको पोष्टमार्टम रिपोर्ट 

            मेरी छोरी मञ्जूलाई दलबहादुरले प्रेम विवाह गरी लगी ज्वाँइले मादक पदार्थ सेवन गरी कुट्ने गरेको कुरा छोरी मञ्जूबाट थाहा पाएको थिए । मिति २०५८।३।२४ मा पनि मञ्जू मेरो घरमा आई ज्वाँईले कुटपीट गरेको भनेको र ऐ. २९ गते ज्वाँई दलबहादुरले छोरीलाई कुटपीट गरी लुगाले बाँधी मट्टितेल खन्याई शरीरमा आगो लगाई दिएकोमा दलेले ज्यान लियो भन्दै मञ्जू चिच्याउँदै बाहिर निस्केपछि ज्वाँईले पानी खन्याई दिंदा छाला गै जीउमा समेत चोट परेको रहेछ । सो कुरा थाहा पाई जाँदा छोरी मञ्जूको मिसन अस्पतालमा मृत्यु भएको पाएँ । निज छोरीलाई ज्वाँई दलबहादुरले कर्तव्य गरी मारेकोमा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको मृतककी आमा नर्वदा लामाले मिति २०५८।४।११ मा दिएको जाहेरी दरखास्त 

            मेरी आमा मञ्जू र बाबु दलबहादुरबीच झगडा भै बाबुले आमालाई लाठीले हानी मट्टितेल खन्याई लाइटर सल्काई आगो लगाई दिएकोले म खाटमुनि लुकेको हुँ भन्ने मृतकको नावालक छोरा शंकर चोख्यालको कागज 

            मैले मञ्जूलाई प्रेम विवाह गरेको हुँ । मैले रक्सी खाने गरेको र श्रीमतीले सो विषयमा झगडा गर्ने गर्थिन् । मिति २०५८।३।२९ मा मैले रक्सी खाएकोमा श्रीमतीले मसँग विवाद गरेकोले धम्क्याउँनका लागि मैले सानो लाठीले हानेको थिएँ । सो पश्चात् लाइटर सल्काई चुरोट खान लाग्दा श्रीमतीले शरीरमा मट्टितेल खनाउन लागेको देखी तान्दा शरीरमा मट्टितेल परेको र मेरो हातमा भएको लाइटरबाट आगो लाग्न गएकोमा मैले पानी खन्याई श्रीमतीको शरीरमा लागेको आगो निभाएको हुँ । सो आगो निभाउँदा मेरो हातमा समेत आगो लागेको हो । मैले आगो लगाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी दलबहादुर चोख्यालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

            मिति २०५८।३।२९ मा म कामबाट अं.४ बजे घर आउदा मञ्जूको शरीरमा आगो लागेको र छोरा दलबहादुरको हात जलेको देखेको हुँ । छोरा र बुहारी मञ्जूबीच ठाकठुक झगडा हुन्थ्यो भन्ने समेत व्यहोराको टेककुमारीको प्रहरीमा भएको कागज 

            मञ्जू छिमेकी नर्मदाको छोरी हुन् । मञ्जूको शरीरमा मिति २०५८।३।२९ गते आगलागी भएको थाहा पाई म र नर्वदा जाँदा निज मञ्जूको मृत्यु भै घरमा ल्याएको देखेको हुँ । निजको मृत्यु हुनुभन्दा अगाडि माइत आउँदा श्रीमानले दिनहुँ कुट्ने गरेको कुरा बताएकी थिइन् । मञ्जूलाई निजकै श्रीमान दलबहादुरले आगो लगाई मारेकोमा विश्वास लाग्छ भन्ने व्यहोराको लालश्री गुरुङ्गको कागज 

            मृतक मञ्जू र प्रतिवादी दलबहादुर लुम्बिनी चिनी कारखाना आवासक्षेत्रभित्र बस्ने व्यक्ति  हुन् । मिति २०५८।३।२९ गते आगो लागी मलाई बचाउ बचाउ भनी मेरो घरतर्फ दौडदै जाँदा निजको श्रीमान् दलबहादुरले पानी खन्याई आगो निभाएका हुन् । त्यसपछि पाल्पा मिसन अस्पतालमा लगेकोमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । प्रतिवादीले मादक पदार्थ खाएको विषयमा मृतक र प्रतिवादीबीच झगडा हुने गर्दथ्यो भन्ने व्यहोराको ज्ञानबहादुर श्रेष्ठ समेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का 

            प्रतिवादीको बयान तथा निजका छोरा शंकर चोख्यालले आमालाई बाबुले मट्टितेल खन्याई आगो लगाई दिएको भनी लेखाएको र मृतकको आमा नर्वदा लामाको किटानी जाहेरी, लालश्री गुरुङ्ग लगायतका बुझिएका व्यक्तिहरूले गरिदिएको कागज समेतबाट मञ्जू चोख्याललाई निजकै पति दलबहादुर चोख्यालले घरायसी कुरामा वादविवाद गरी आफूले श्रीमती मञ्जू चोख्याललाई दाउराले हानी मट्टितेल खन्याई आगो लगाई घाइते तुल्याई सोही कारणबाट मञ्जू चोख्यालको मृत्यु भएको खुल्न आएकोले निज दलबहादुर चोख्यालले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. विरुद्ध ऐ. १३(३) नं. को कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी दलबहादुर चोख्याललाई सोही महलको १३(३) नं. अनुसार सजाय गरी पाउन माग दावी लिइएको छ भन्ने समेत व्यहोराको अभियोग दावी 

            मिति २०५८।३।२९ मा म बाहिरबाट आई खाना नखाई सुते । दिउँसो चिया पकाउन भनेपछि श्रीमतीले मबाट लाइटर लिई गएको र ऐया भनेपछि म जाँदा शरीरमा आगो लागेको थियो । घटना घट्दा घरमा म, श्रीमती र छोरा तथा छोरी थियौं । श्रीमतीले आगो लगाए पछि निभाउन खोज्दा मेरो हात पनि जलेको हो । रक्सी खाएको विषयमा श्रीमती र म बीच झगडा हुने गर्दथ्यो । आगो लागेपछि श्रीमती बाहिर दौडदा बाल्टीनमा पानी लगी निभाएको हुँ । मैले आगो लगाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी दलबहादुर चोख्यालले शुरू अदालतमा गरेको बयान 

मिति २०५८।३।२९ गते मृतक मञ्जू चोख्याल शरीरमा आगो लागी छटपटाउदै मेरो घरतर्फ गुहार माग्दै आउनु भएको थियो र निजको लोग्ने दलबहादुरले शरीरमा पानी खन्याइ दिएपछि आगो निभेको र घरमा लगी उपचारका लागि अस्पताल लगेकोमा उपचार हुँदा हुँदै मृत्यु भएको हो, आगो कसरी लाग्यो थाहा भएन । मृतक र प्रतिवादीहरू बीच झगडा पनि भई रहन्थ्यो प्रतिवादी मादक पदार्थ सेवन गर्ने गर्दथे । मृतकले हारगुहार गरेपछि प्रतिवादीले पानी खन्याएका हुन् भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्काका मानिस ज्ञानबहादुर श्रेष्ठले अदालतमा गरेको बकपत्र 

मिति २०५८।३।२९ गते दलबहादुरको घरमा मानिस भेला भएको देखी गई हेर्दा निजकी श्रीमती मञ्जू आगो लागी घाइते भएको देखेको हुँ । घाइतेलाई के कसरी आगो लाग्यो भनी सोध्दा आफै आगो लगाएको हुँ भनी बताएकी थिइन् । सो कुरा धेरै मानिसले सुनेका छन् । दलबहादुरले आगो लगाएर मारेका होइनन्, अरु मलाई थाहा छैन भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्काका मानिस सुरेन्द्र शर्माले अदालतमा गरेको बकपत्र ।  

            मेरो उमेर थाहा छैन, ममीको मृत्यु बाबाले जलाएर भएको हो, बाबा र ममीबीच झगडा भएको र बाबाले मट्टितेल खन्याएर लाईटर बाली खुट्टाबाट आगो लगाएको मैले खाटमुनि लुकेर देखेको हुँ, आगो लगाएपछि पानी पनि बाबाले नै हालेको हो, बाबाले नै ममीलाई आगो लगाएको हो, अरु केही भन्नु छैन भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने शंकर चोख्यालले अदालतमा गरेको  बकपत्र 

मेरो छोरी मञ्जूलाई मिति २०५८।३।२९ गते मट्टितेल खन्याई आगो लगाएको कुरा नाति शंकर र छिमेकीहरूले भनेकाले मिति २०५८।३।३० मा थाहा पाएको हुँ । छोरी मञ्जूलाई उपचारका लागि ज्वाँइ समेतले पाल्पा मिसन अस्पतालमा लगेकोमा सोही ठाउमा मृत्यु भएको हो । छोरी ज्वाँइबीच बारम्बार झगडा हुने गरेको कुरा छोरीले माईत आउदा कुरा गरेकी थिईन् । घटना घट्नु भन्दा अगाडि असार २४ गते माइती आएकीमा किन आएकी भन्दा ज्वाँइले बारम्बार मार्छु भनी धम्क्याउछन् भनेकी थिईन्, २६ गते दिउसो ज्वाँइको फोन आएपछि मंगलबारको दिन नजाउ भन्दा ज्वाँइ रिसाउछन् भनी सोही दिन साँझमा घर गएकी थिइन् । ज्वाँइले स्टोभ पड्केर आगो लागेको भन्नु भनी मलाई लिन पठाएका रहेछन् तर छोरीको घरमा स्टोभ नभएको कुरा छोरीकी सासूले नै मलाई भनेकी थिइन । छोरीका छिमेकीहरू र बच्चाले भनेको तथा पटकपटक झगडा हुँदा मार्छु भन्ने गरेको कुरा छोरीले माइत आउँदा भनेकीले ज्वाँइले नै आगो लगाई मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको जाहेरवाली नर्वदा लामाले अदालतमा गरेको बकपत्र 

प्रहरीमा गरेको कागज मैले नै गरेको हो, मृतक र दलबहादुरबीच सधै झगडा भई रहने कुरा मञ्जू माइत आउदा भन्ने गरेको कुरा थाहा पाएको थिएँ । २०५८ साल असार २४ गते पनि आएकी र मलाई पनि भेटेकी थिइन् । २९ गतेको घटना भन्न ३० गते केदार भन्ने व्यक्ति आएका थिए, के भएको हो भनी सोध्दा स्टोभ पडकेर आगो लागेको भनेका थिए । नर्वदा, निजको श्रीमान् र म घटनास्थलतर्फ गयौं, मञ्जूको मृत्यु भइसकेको थाहा पायौं । मृतकको छोरा नावालक शंकरलाई के भएको हो भनी सोध्दा बाबाले ममीलाई पोलेको हो भनी भनेका र छिमेकीले समेत भनेकाले मञ्जूलाई दलबहादुरले नै मारेका हुन् भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने लालश्री गुरुङ्गले अदालतमा गरेको बकपत्र 

मेरो छोरा दलबहादुर रक्सी खाएर घरमा आउंदा बुहारी मञ्जूसँग झगडा हुने गरेको थियोघटना भएको दिन विहान छोरा काम गर्न बनारस जान्छु भन्ने र बुहारीले नजानु यही काम गर्नु भनेकी हुँदा झगडा भएको थियो । बुहारीले नास्ता दिएपछि म घरतर्फ गएँ, १ घण्टापछि बुहारीको शरीरमा आगो लागेको देखी मैले समेत बाल्टिनबाट पानी खन्याई आगो निभाएको हो । बुहारीले स्टोभबाट आगो लागेको भनेकी थिइन तर हाम्रो घरमा स्टोभ थिएन सो कसरी भयो भन्दा बुहारी बोलिनन् । गाउँले समेतको सहयोगमा अस्पताल लगेको हो घटनास्थलमा म थिइन भन्ने समेत व्यहोराको टेककुमारी चोख्यालले अदालतमा गरेको बकपत्र 

अदालतका आदेशानुसार प्रतिवादीका साक्षी चन्द्रबहादुर थापा, उत्तमराज उपाध्याय र डा.एच.पि. महाजूको बकपत्र भई मिसिल संलग्न रहेको 

            मृतकको मृत्यु आगो लागी भएको देखिन्छ । उक्त आगालागी अभियुक्तले ज्यान मार्ने हेतुले गरेको हो भन्ने तथ्ययुक्त सबूदको अभाव रहेको, चश्मदीद् भनिएका शंकरको बकपत्र आपसमा बाझिएबाट सो बकपत्रको आधारमा मात्र अभियुक्तलाई कसूरदार ठहराउन न्यायोचित देखिन   आउँदैन । अभियुक्त र मृतकबीच साधारण झै झगडा हुँदा मृतक स्वयंले मट्टितेल खन्याएको र चुरोट खान सल्काएको लाइटर दुवै जनाबीच खोसाखोस हुँदा आगो लाग्न गई मृतक जली मरेको देखिंन आउँछ । अभियुक्तले मार्ने मनसाय नलिएको र निजले हातमा लाइटर खोसाखोस गर्ने क्रममा वारदात हुन गएबाट वारदात भवितव्यबाट भएको स्पष्ट हुन आउँछ । तसर्थ अभियुक्तलाई ज्यान सम्बन्धीको ६(२) नं अनुसार २ वर्ष कैद तथा रु.५००।जरीवाना समेत हुने ठहर्छ भन्ने शुरू नवलपरासी जिल्ला अदालतको मिति २०६०।९।३० को फैसला 

            मृतकका परिवारबाट मृतक मञ्जू चोख्याल स्टोभबाट आगोलागी जली मरेको भन्ने जाहेरी परेको तर प्रतिवादीको आमा टेककुमारी चोख्यालको बकपत्रबाट निजको घरमा स्टोभ नै नभएको भन्ने पुष्टि हुँदा मृतकलाई कर्तव्यबाट मारिएको स्पष्ट हुन्छ । मृतक आफैले शरीरमा मट्टितेल खनाएको नभई प्रतिवादीले बेगपेपर हुस्कीको बोतलबाट मट्टितेल खनाएको भन्ने कुरा घटनास्थलमा फेला परेको उक्त बोतलको विर्कोमा मट्टितेलको गन्ध रहेबाट प्रतिवादीले नै प्रमाण नष्ट गरेको पुष्टि हुन्छ । घटनाको प्रत्यक्षदर्शी नावालक शंकर चोख्यालले अदालतमा बकपत्र गर्दा बाबा ममीकाबीच झगडा भएको, बाबाले ममीलाई लाइटरले खुट्टाबाट आगो लगाएको, सो अवस्था डरले आफू खाटमूनी गएको भन्दै बकपत्र गरेकोमा झिना मसिना कुरालाई बकपत्र बाझिएको भनी गरेको तर्क मिलेको छैन । प्रस्तुत वारदात भवितव्यको परिभाषाभित्र पर्दैन । तसर्थ शुरु फैसला उल्टी गरी अभियोग मागदावीबमोजिम कर्तव्यको वारदात ठहर गरी दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र 

            चश्मदीद् नाबालकको बकपत्रको प्रारम्भिक मूल्याङ्कननको अभावमा भएको शुरु फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६१।९।१३ को आदेश 

            प्रतिवादी दलबहादुर चोख्यालले आफ्नो श्रीमती मञ्जू चोख्याललाई मार्नुपर्ने कुनै मनसाय नभएको, श्रीमतीको शरीरमा आगो लागेपछि निजले नै आगो निभाउने प्रयास पनि गरेको देखिएको, श्रीमती मञ्जू चोख्यालको मृत्यु निजको शरीरमा लागेको आगोले पोली मृत्यु भएबाट शुरु नवलपरासी जिल्ला अदालतले श्रीमती मञ्जू चोख्यालको मृत्यु आगो लाग्न गई भवितव्य परी मृत्यु भएको ठहर गरी प्रतिवादी दलबहादुर चोख्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) अनुसार २ वर्ष कैद र रु.५००।– (पाँचसय) जरीवाना गरेको मिति २०६०।९।३० को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको २०६३।२।११ को फैसला 

            प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानबाट प्रतिवादीको आफ्नो र श्रीमतीसँग झगडा भई मट्टितेल खन्याई लाइटर बाली आगो लगाएको तथ्यगत बयानलाई अदालतमा केही इन्कार भएपनि मौकाको साविती बयान, घटनास्थलको तथ्य, प्रत्यक्षदर्शिको कागज, मौकाको जाहेरी र बुझिएका व्यक्तिहरूको कागज र बकपत्रहरूबाट प्रतिवादीले मृतकलाई कुटी आगो लगाएको तथ्य सावितीसँग मेल खाँदा खाँदै प्रमाण ऐनको दफा ९ को अवस्थाको सावितीलाई आत्मनिष्ठ रूपमा अदालतले भवितव्यतर्फ ठहर गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा प्रतिवादीलाई घटी सजाय गरेको हदसम्म सो फैसला बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदन पत्र 

            यसमा घटनाको प्रत्यक्षदर्शी मृतक तथा प्रतिवादी दलबहादुर चोख्यालका छोरा नावालक शंकर चोख्यालको मौकाको कागज र अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले मृतकलाई मट्टितेल खन्याई लाइटरले आगो लगाई कर्तव्य गरेको हो भन्ने तथ्य यकीन भई प्रतिवादीको कसूर स्थापित भइरहेको अवस्थामा सो प्रमाणको यथार्थ मूल्याङ्कन नगरी प्रतिवादीलाई दावीबमोजिम कसूरदार ठहर नगरी ज्यान सम्बन्धी महलको ६ नं. को कसूर ठहर गरेको नवलपरासी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १०, १८, ५४ र अ.बं १८४(क) को साथै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ५ र ६ को व्याख्यात्मक त्रुट देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६४।४।१५ को आदेश 

            प्रतिवादी दलबहादुर चोख्यालले आफ्नी श्रीमती मृतक मञ्जू चोख्याललाई मार्नुपर्ने कुनै मनसाय नभएको, श्रीमतीको शरीरमा आगो लागेपछि प्रतिवादीले आगो निभाउने प्रयास गरेको, सो गर्दा प्रतिवादी स्वयंलाई पनि घाउ चोट लाग्न गएको अवस्थामा मञ्जू चोख्यालको भवितव्य परी मृत्यु भएको पुष्टि हुँदा निज प्रतिवादी दलबहादुर चोख्याललाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ६(२) अनुसार २ वर्ष कैद र रू.५००।जरीवाना गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको मिति २०६६।३।१६ को राय ।      प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको देखिंएकोले भवितव्य ठहर्‍याई ज्यान सम्बन्धीको ६ (२) नं. ले २ वर्ष कैद र जरीवाना रू.५००।गर्ने गरी शुरूबाट भएको फैसलालाई सदर कायम हुने ठहर्‍याई पुनरावेदन अदालत बुटवलबाट मिति २०६३।२।११ मा भएको फैसला नमिलेकोले केही उल्टी भई अभियोग माग दावीबमोजिम प्रतिवादी दलबहादुर चोख्यालले मनसायपूर्वक मृतकलाई कर्तव्य गरी मारेको पुष्टि भएको देखिंदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । नावालकको भनाईलाई प्रमाणयोग्य मान्न नमिल्ने भन्ने प्रतिवादीका कानून व्यवसायीको जिकीरसँग सहमत हुन सकिएन । सहयोगी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठज्यूको रायसंग सहमत नहुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको मिति २०६६।३।१६ को राय 

            नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदीले मृतक मञ्जू चोख्यालले आफ्नो शरीरमा मट्टितेल खन्याई मर्नुपर्ने कुनै कारण देखिदैन । श्रीमतीले आफै शरीरमा आगो लगाए पछि आगो निभाउन खोज्दा मेरो हात जलेको भनी प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा उल्लेख गरे पनि उक्त कथन अन्य तथ्यहरूले शंकारहित रुपमा समर्थन गरेको पाइदैन । प्रतिवादीले रक्सी सेवन गरेको विषयमा पति पत्नीबीच झगडा भैरहने यथार्थता प्रतिवादी स्वयंले अनुसन्धान अधिकारीसमक्षको बयानमा लेखाएका छन् । वारदातस्थलमा रक्सीको शिशीको विर्कोमा मट्टितेलको गन्ध आईरहेको भन्ने घटनास्थल मुचुल्कामा उल्लेख भएको व्यहोरा तथा नर्वदा लामाको जाहेरी दरखास्त समेतको व्यहोराले यी प्रतिवादीले नै आफ्नो श्रीमतीलाई शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको भन्ने वस्तुनिष्ठ रुपमा पुष्टि गर्छ । मौकामा वारदातस्थलमा उपस्थित प्रत्यक्षदर्शी प्रतिवादीको नावालक छोरा शंकरले अनुसन्धान अधिकारी र अदालतसमक्ष बकपत्र गर्दा समेत बाबुले आमालाई मट्टितेल खन्याई लाईटरले आगो लगाई दिएको भनी अपराधमा आफ्नै बाबुको प्रत्यक्ष संलग्नता देखाई किटानी बकपत्र गरेको पाइन्छ । वस्तुस्थिति मुचुल्कामा बसेका ज्ञानबहादुर श्रेष्ठले गरेको बकपत्र समेतबाट प्रतिवादीले मृतक मञ्जू चोख्याललाई मार्ने नियतले मट्टितेल खन्याई आगो लगाई दिएको र सोही आगोले जलेको कारण मृतकको मृत्यु भएको हुँदा अभियोग दावीबमोजिम ज्यानसम्वन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको माननीय न्यायाधीश अवधेशकुमार यादवको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको विद्वतापूर्ण वहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी तर्फबाट तारेखमा रहेका व्यक्तिलाई इजलासबाट पटकपटक पुकारा गर्दा निज तथा प्रतिवादीको प्रतिनिधित्व गर्ने कानून व्यवसायीको अनुपस्थित भएको हुँदा नियमानुसार निर्णय गर्न बाधा पर्ने देखिन आएन 

विद्वान सहन्यायाधिवक्ताले गर्नु भएको बहस जिकीर सुनी शुरू तथा पुनरावेदन अदालतले भवितव्य ठहर गरेको निर्णय मिलेन भनी पर्न आएको पुनरावेदनपत्र सहितको मिसिल संलग्न सम्पूर्ण संकलित सबूद प्रमाणहरूको अध्ययन तथा विश्लेषण गरी निर्णयतर्फ विचार गर्दा कुनैपनि वारदात भवितव्य हो भनी पुष्टि हुन आवश्यक पर्ने आधारभूत तत्व के हुन् र कस्तो अवस्थामा भवितव्य स्थापित भै अभियुक्तले उन्मुक्ति पाउन सक्छ ? मृतक मञ्जू चोख्यालको मृत्यु कर्तव्य वा भवितव्य केबाट भएको प्रमाणित हुन्छ ? तथा यस अदालतको संयुक्त इजलासबाट रायबाझी भई पूर्ण इजलासमा पेश भएको प्रस्तुत निर्णयमा कुन माननीय न्यायायाधीशज्यूको राय युक्तिसंगत हुने हो ? जस्ता प्रश्नहरूको निरुपण हुनु पर्ने देखिन आयो 

            माथि उल्लिखित प्रश्नहरूतर्फ प्रवेश गर्नु अघि मुद्दाको पृष्ठभूमि अध्ययन गर्नु नितान्त आवश्यक देखिन आउछ । सर्वप्रथम अभियोग पत्र अध्ययन गर्दा प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको बयान, निजको छोरा शंकर चोख्यालले आमालाई बाबुले मट्टितेल खन्याई आगो लगाई दिएको भनी लेखाएको कागज, नर्वदा लामाको किटानी जाहेरी दरखास्त, बुझिएका ज्ञानबहादुर श्रेष्ठ, लालसिंह गुरुङ्ग लगायतका व्यक्तिहरूले वारदातमा अभियुक्तको संलग्नता देखाउदै गरिदिएको मौकाको कागज व्यहोरा समेतले मृतक मञ्जू चोख्याललाई निजको पति दलबहादुर चोख्यालले दाउराले हानी मट्टितेल खन्याई आगो लगाई घाईते तुल्याएको र सोही कारणबाट मृतकको मृत्यु भएको खुल्न आएकोले प्रतिवादी दलबहादुर चोख्याललाई मुलुकी ऐन, ज्यानसम्वन्धी महलको १३(३) नं. अनुसार सजाय माग गर्दै अभियोगपत्र दायर गरेको पाइन्छ । अर्कोतर्फ मृतक स्वयंले आफ्नो शरीरमा ज्वलनशील पदार्थ मट्टितेल खन्याई लगाएको आगलागीबाट मृत्यु भएको हो, ज्यानमार्ने उद्देश्यले अभिप्रेरित भै प्रतिवादीले आगो लगाएको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभाव रहेको, चश्मदीद् भनिएका शंकर चोख्यालको बकपत्र एक आपसमा बाझिई विरोधाभाषयुक्त भएको हुँदा सो बकपत्रको आधारमा कसूरदार ठहर गर्न न्यायोचित नहुने भन्ने प्रतिवादीको मुख्य जिकीर रहेको देखिन आयो । मृतक र प्रतिवादीबीच झैझगडा हुँदा मृतक स्वयंले मट्टितेल खन्याएको र चुरोट खान सल्काएको लाइटर खोसाखोस हुँदा आगो लाग्न गई मृतक जली मरेकी हुँदा अभियुक्तले मार्ने मनसाय नलिएको र लाइटर खोसाखोस गर्ने क्रममा अप्रत्यासित रुपमा वारदात घटन गएबाट प्रस्तुत वारदात भवितव्यबाट भएको स्पष्ट हुन आउँछ भनी प्रतिवादीलाई ज्यानसम्वन्धी महलको ६(२) नं. अनुसार २ वर्ष कैद तथा रू.५००।जरीवाना समेत हुने ठहर्‍याई भएको नवलपरासी जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत बुटवलबाट उक्त फैसला अनुमोदन भएको देखिन आयो । पुनरावेदन अदालत समेतबाट भवितव्य ठहर गरेको उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदनपत्रमा निस्सा प्रदान भै यस अदालतको सयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच रायमा एकरूपता हुन नसकी पृथकपृथक राय व्यक्त भै यस पूर्ण इजलाससमक्ष विचाराधीन हुन आएको छ 

            २. भाई दलबहादुर चोख्यालकी श्रीमती मञ्जू चोख्याल २०५८।३।२९ गते आगोले जली भाई समेत घाइते भै उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगेको थाहा पाएको थिएँ । भोलिपल्ट ३० गते विहान अस्पताल पुग्दा राति नै निज मञ्जू चोख्यालको मृत्यु भएछ भनी प्रतिवादीका दाजु दिलबहादुर चोख्यालले जिल्ला प्रहरी कार्यालय पाल्पामा दिएको जाहेरी दर्ता भै लास प्रकृति मुचुल्का सम्पन्न भएपश्चात् पुनः छोरी मञ्जूलाई प्रेम विवाह गरी लगेका ज्वाँई दलबहादुरले छोरीलाई मादक पदार्थ सेवन गरी पटकपटक कुटपीट गर्ने गरेको कुरा छोरीले सुनाउने गरेकी र २०५८।३।२९ गते छोरीलाई कुटपीट गरी मट्टितेल खन्याई शरीरमा आगो लगाई दिएकोमा छोरी चिच्याउँदै बाहिर निस्केपछि ज्वाँईले पानी खन्याई दिंदा जीउमा समेत चोट परेको र पाल्पा मिसन अस्पतालमा छोरीको मृत्यु भएको थाहा पाएँ । छोरीलाई दलबहादुरले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी मृतककी आमा नर्वदा लामाले प्रतिवादी दलबहादुरकै कर्तव्यबाट अपराध भएको भनी किटान साथ मिति २०५८।४।११ मा जाहेरी दिएपछि अनुसन्धान आरम्भ भै मुद्दा प्रारम्भ हुन आएको देखियो 

            ३. संकलित प्रमाणको अध्ययन गर्दा मृतकको मृत्यु आगोले जली उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिन आएन । सो तथ्यलाई मृतकको शरीरको ७० प्रतिशतभन्दा वढी भाग जलेको कारण मृत्यु भएको भन्ने मौकामा भएको शव परीक्षण प्रतिवेदनले निर्विवाद रुपमा पुष्टि गरेको छ । आफूले सधै रक्सी सवेन गर्ने गरेको विषयमा श्रीमतीले झगडा गर्ने गर्थिन्, मिति २०५८।३।२९ गते रक्सी सवेन गरेको निहुँमा वादविवाद झगडा गरेकीले धम्काउनका लागि लठ्ठीले हाने, तत्पश्चात् लाइटरले चुरोट सल्काउन लाग्दा श्रीमतीले शरीरमा मट्टितेल खनाउन लागेको देखी तान्दा शरीरमा मट्टितेल परी आगो लाग्न गई आगो निभाउन लाग्दा मेरो हातमा समेत पोलेको हो भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ भने अदालतसमक्ष बयान गर्दा श्रीमतीले आफैले शरीरमा आगो लगाएकीले बाल्टिनमा पानी लगी आगो निभाएको हुँ भनी अभियोगलाई पूर्णतः इन्कार गरी श्रीमान श्रीमती बीच झगडा हुने गरेको तथ्यलाई स्वीकारै गरी बयान गरेको देखिन आउछ । वारदात हुँदाको अवस्थामा आफू, श्रीमती र नावालक छोरा छोरी रहेको तथ्य निर्विवाद रुपमा अदालतको बयानमा समेत स्वीकार गरेको र सो घटनाको प्रत्यक्षदर्शी मृतकको नावालक छोरा शंकर चोख्यालले आमा मञ्जू र बाबु दलबहादुरबीच झगडा भै बाबुले आमालाई लठ्ठीले हानी मट्टितेल खन्याई लाइटर सल्काई आगो लगाई दिएको हो म खाटमूनी लुकेको थिए भनी प्रहरीसमक्ष आफू प्रत्यक्षदर्शी भएको स्वीकार गरी लेखाइदिएको घटना विवरणलाई अदालतमा आई उक्त मूल तथ्य फरक नपारी बकपत्र गरिदिएको व्यहोराले मौकाको कागजलाई समर्थन गरेको  देखिन्छ । लामो समयान्तर पछिको अभिव्यक्ति पुनः व्यक्त गर्दा सामान्य विविधता हुँदैमा निजको वास्तविक उल्लेखन विरोधाभाषपूर्ण रहेको भनी तर्क गरी अपभ्रंस व्याख्यान गर्नु न्यायोचित हुँदैन । मूलभूतरूपमा प्रतिवादीले मृतकको शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको हो होइन भन्ने तथ्य स्थापित भएको मूलभूत रुपमा देखिनु पर्दछ । नावालकले सो तथ्यका सम्बन्धमा मौकामा गरेको कागज र अदालतमा गरेको बकपत्रमा एकरूपता भै वारदातमा आफ्ना बाबुको संलग्नतामा उक्त घटना भएको तथ्य प्रष्फुटन गरेका छन् । शुरू अदालतबाट घटनाको प्रत्यक्षदर्शी नावालक शंकर चोख्यालको प्रहरीसमक्ष भएको कागज र अदालतमा भएको बकपत्रमा उल्लिखित भनाई एक आपसमा नमिलेको भनी मुख्य निर्णयाधार बनाई प्रस्तुत वारदातलाई भवितव्यतर्फ व्याख्यान गरी प्रस्तुत गरिएपनि वास्तविक कुन तथ्य र के कुरामा विविधता भएको हो ? सोको सुक्ष्म विश्लेषण गरिएको देखिएन । यी नावालकले प्रहरी तथा अदालतमा लेखाएको बुवाले आमाको शरीरमा मट्टीतेल खन्याई दिएको र आगो लगाई दिएको भन्ने तथ्यलाई बंग्याई हातले पिटेको वा लठ्ठीले हानेको भन्ने जस्ता झिना मसिना पृथकताले सम्पूर्ण वारदातलाई नै अन्यथा प्रभाव पार्ने स्थिति देखिँदैन । श्रीमान श्रीमतीबीच झगडा भै आफूले लठ्ठीले हानेको भनी स्वयं प्रतिवादीले नै अभिव्यक्त गरेको अवस्थामा नाबालकले लठ्ठी र हातमध्ये केले पिटेको भन्ने कुरा वताउन नसकेको भनी सोही कुरालाई विरोधाभाषपूर्ण रहको भनी ज्यान जस्तो गम्भीर अपराधमा दावीविपरीत प्रतिवादीलाई सामान्य सजाय दिनु वास्तवमा कानूनले आत्मसात गरेको भावना र मर्मविपरीत हुन जान्छ । एक अवोध वालकको दृष्टिमा आमा तथा बाबु दुबै समान आत्मियताका प्रतिमूर्ति हुन्छन् । उसमा कुनै द्वेष तथा दुरासयपूर्ण भावनाले स्थान पाइसकेको हुदैन । आमाप्रतिको ममता र आत्मियता एवं बाबुप्रतिको श्रद्धा उसको लागि सधै सार्थक अनुभूतिभित्र पर्दछन् । उसमा आमाको पक्षमा लागि बाबुलाई सजाय गराउनु पर्दछ भन्ने कलुषित भावनाको प्रार्दुभाव भै कुनै एक पक्षप्रति दुराषययुक्त भावना राखी वास्तविक तथ्य अपभ्रंस पारी उजागर गर्नुपर्ने कुनै कारण र आधार देखिदैन । यस स्थितिमा उसको बकपत्र वास्तविक खुला किताव जस्तो हो जसलाई सत्यता र यथार्थताको ऐना झै स्पष्टदर्षी मान्नुपर्दछ । उल्लिखित तथ्यबाट मृतकको मृत्यु मृतक स्वयंले लगाएको आगलागीबाट भएको भनी प्रतिवादीले लिएको जिकीर युक्तिसंगत एवं तर्कसंगत देखिन आउदैन ।    

            ४. अब शुरु जिल्ला अदालतबाट प्रस्तुत घटना वारदातलाई भवितव्य ठहर गरेको फैसला पुनरावेदन अदालतबाट समेत सदर भएतर्फ विवेचना हुनपर्ने नितान्त आवश्यक हुन आएको छ । उक्त वारदात कर्तव्य हो वा भवितव्य कुन प्रकृतिको वारदात हो भन्ने सम्बन्धमा मूल्याङ्कन गर्दा प्राप्त प्रमाणहरूको विवेचना गरी विवादित वारदातको प्रकृतिको विषयमा निरोपण गर्नुपर्ने देखिएको छ । भवितव्य सम्बन्धमा मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ५ नं. मा भएको कानूनी ब्यवस्था हेर्दा ज्यान लिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने उल्लेख भएको पाइन्छ । सोही महलको ६ नं को देहाय १ देखि ४ नं. सम्म भवितव्य भै मानिसको ज्यान मरेकोमा हुने सजायको वर्गीकरण समेत गरिएको छ । उक्त कानूनी व्यवस्थाअनुसार भवितव्य ठहर्नको लागि देहायअनुसारका तत्वको विद्यमानता हुनुपर्दछ :

(क)   ज्यान लिने इबिलाग वा मनसाय नभएको,

(ख)   आफूले गरेको कुनै कर्तव्यबाट मानिस मर्ला भन्ने जस्तो अवस्था देखिनु भएन,

(ग)   एउटा कामको लागि सावधानीसंग हातहतियार उठाएकोमा केही ब्यहोराले अरूलाई लाग्न गएको हुनु पर्‍या,

(घ)   होस नपुर्‍याई वा हेलचक्राई गरी कुनै काम गरेको अवस्था हुनुपर्‍या

(ङ)   सकारात्मक परिणामको अपेक्षा गरी गरेको कार्यको नकारात्मक परिणाममा परिणत भएको हुनुपर्‍या ।   

५. प्रस्तुत वारदातमा प्रतिवादी दलबहादुरले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा श्रीमतीले शरीरमा मट्टितेल खनाउन लागेको देखी तान्दा मेरो हातमा भएको लाइटरबाट आगो लाग्न गएको भनी उल्लेख गरेका छन् । यी प्रतिवादी सामान्य समझ वा चेतना भएको व्यक्ति होइनन् भन्ने कहि कतैबाट खुल्न नआएको स्थितिमा श्रीमतीले शरीरमा मट्टीतेल खन्याएको प्रत्यक्ष देखेको अवस्थामा तत्काल दुर्घटना वा घटना हुन सक्ने सम्भावित परिस्थितिलाई विचार पुर्‍याई त्यस्तो विषम परिस्थितिमा आगो लाग्न नदिन प्राथमिक उपाय अपनाउनु पर्नेमा सोको विपरीत सहजै आगो लाग्न सक्ने किसिमबाट मट्टितेल खन्याइएको शरीर नजिक गई लाइटर बालिएको छ । यस्तो अबस्थामा लाइटर बाल्दा सोको परिणतिले मानिस मर्न सक्छ भन्ने अनभिज्ञता प्रतिवादीका थियो भनी कल्पना गर्न सकिने अवस्था आउदैन । मट्टितेल खन्याएको शरीर नजिक बलेको लाइटर लिएर जांदा आगो लाग्ने र सोबाट हुन सक्ने परिणामको ज्ञान सामान्य समझ वा चेतना भएको व्यक्ति (Reasonable Person) मा पूर्वआभास हुन सक्ने कुरामा विवाद हुन सक्तैन । चेतनशील मानिसमा आफूले गरेको कार्य (Act) बाट निस्कन सक्ने परिणामको ज्ञान अग्रिम रुपमा थाहा हुने हुँदा त्यस्तो व्यक्तिले गरेको कार्यमा अपराधिक मनसाय अन्तर्निहित (Inherent Mens rea) रहेको हुन्छ । किनकी सामान्य समझ भएको व्यक्तिमा आफूले गरेको कार्यको परिणाम थाहा पाउन सक्ने क्षमता विद्यमान रहेको हुन्छ र त्यस्तो क्षमता भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक मनसाय अप्रत्यक्ष रुपमा रहेको हुन्छ । प्रस्तुत वारदातमा आकस्मिक रुपमा घट्न गएको रहेछ भन्ने मिसिल संलग्न कुनै पनि तथ्यले शंकासम्म गर्ने अवस्था पनि देखिन आएको अवस्था नहुँदा हाम्रो कानूनी संरचनाले व्यवस्था गरे झै भवितव्यका तत्वहरू प्रस्तुत वारदातमा विद्यमान रहेको पाइएन 

६. आफूले प्रायः रक्सी सेवन गर्ने गरेको र सोही विषयमा श्रीमतीसंग झगडा भैरहने गरेको प्रतिवादीकै बयान व्यहोरालाई अन्यथा भन्न सकिने अवस्था पनि देखिन आउँदैन । यसका अतिरिक्त मृतकसंग प्रेम विवाह गरी दुई छोरा छोरीको जायजन्म भैसकेका श्रीमानले दिनहुँ रक्सी सेवन गरी आफूलाई कुटपीट गर्ने गरेको भनी छोरीले आफूसँग भन्दै आएकी हुँदा प्रतिवादीले छोरीलाई आगो लगाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भनी मृतककी आमा नर्वदा लामाले किटानी जाहेरी दिएकी र सो जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा आई बकपत्र समेत गरिदिएको पाइन्छ । प्रतिवादी र मृतकबीच वादविवाद र सदा झैझगडा भै रहने गरेको कुरा वस्तुस्थिति एवं घटना विवरण कागज गर्ने व्यक्तिहरूबाट समर्थन भै पुष्टि भएको देखिन्छ 

७. त्यसैगरी मृतक एवं प्रतिवादीका नावालक छोरा शंकर बाबु आमाबीच भएको झगडाको विषयको प्रत्यक्षदर्शी हुन् । आमालाई बाबुले पहिला कुटपीट गरी त्यसपछि आमाको शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष लेखाई अदालतमा आई सो कुरा पुष्टि हुने गरी बकपत्र गरिदिएको उक्त कथन अन्यथा प्रभावित नभएसम्म काल्पनिक र मिथ्या भनी अनुमान गर्न मिल्ने नदेखिंदा प्रस्तुत वारदात भवितव्य हो भन्न सकिने स्थितिको देखिन आउदैन । निज नावालकले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको तथ्यमा तात्विक भिन्नता नपारी अदालतमा बकपत्र गरेको देखिंदा निजमा अदालतबाट सोधिएको प्रश्न बुझ्न सक्ने क्षमता विद्यमान रहेको नै पाइन्छ । निजले अत्यन्त सहज र स्वभाविकरूपले बाबु आमाबीच वादविवाद भएको र बाबुले आमालाई मट्टितेल खन्याई आगो लगाएको कुरा आफूले खाट मुनी बसेर देखेको भनी अदालतमा आई बकपत्र गरेको र निजको अदालतको बकपत्रमा प्रतिवादीको कानून व्यवसायीबाट भएको जीरहमा समेत आफूले देखेको कुरालाई सहज र सरलढंगले प्रस्तुत गरेको देखिएको हुँदा प्रमाण ऐन, २०३१ को दफा ३८ अनुसार अदालतबाट सोधिएको प्रश्न बुझ्न सक्ने र युक्तियुक्त जवाफ दिन सक्ने व्यक्तिले अदालतसमक्ष व्यक्त गरेको सो कुरा पहिला मौकामा व्यक्त गरेको मूलभूत कुरासंग मेल खाएको देखिंदा उक्त बकपत्र अदालतले प्रमाणमा ग्रहण गर्न नमिल्ने भन्न मिलेन । निजको उक्त भनाई प्रमाण ऐन, २०३१ को दफा ८ अनुसार प्रमाणस्वरूप अनिवार्य रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । मृतक एवं प्रतिवादीका नावालक छोराले बाबुप्रति कुनै घृणा, द्वेष, रीसइवी तथा दुराषययुक्त भावनाले अभिप्रेरित भै सोही कारणले लेखाएको होला भनी अनुमान गर्ने आधार पनि केही देखिँदैन 

८. मृतकले प्रायः रक्सी सेवन गर्ने गरेको र वादविवाद झगडा भैरहने कुरामा विवाद नरहेको, सोही झगडाको कारण रिस उठी मृतकलाई कुटपीट गरी मट्टितेल खन्याई आगो लगाई दिएको अवस्था देखिएको र यी मृतक बचाउ बचाउ भन्दै घर बाहिर निस्केको भन्ने कुरा मिसिलको तथ्यबाट पुष्टि भैरहेको अवस्थामा उल्लिखित ज्यान सम्बन्धीको ५ नं. मा रहेको ज्यान लिने इविलाग वा मनसाय नभै आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा भन्ने वाक्याँशअनुरूप प्रस्तुत घटना वारदात भवितव्य ठहर हुने अवस्थाको देखिन आउँदैन । दिनहुँ रक्सी सेवन गर्ने प्रतिवादीको आदत रहेकोमा लोग्ने कुलतमा नलागोस् भन्ने श्रीमतीको इच्छा रहेको पाइन्छ यस्तो इच्छा कुशल गृहिणीको अपेक्षाको विषय हो । तर दिनहुँ रक्सी सेवन गर्ने कुलतमा बल्झिन पुगेका यी प्रतिवादीमा आफ्नी श्रीमतीका त्यस्ता कुरा अपाच्य सावित हुन पुगे, जसको एकमात्र कारण दुबै पक्षको आआफ्नो इच्छा र स्वार्थ बाझिएकोले त्यसले झगडाको रूप लिई दुई पक्षबीच कुटपीट भई सोको परिणति प्रतिवादीले मृतकको शरीरमा मट्टितेल खन्याई आगो लगाएको कारण ज्यान गएको देखिदा प्रस्तुत वारदातलाई भवितव्यको वारदात भन्न मिलेन । प्रस्तुत वारदातमा होस् नपुर्‍याई वा हेलचेक्रयाई गरी आफ्नो श्रीमतीउपर यस प्रकारको घटना घटाएको भन्ने वस्तुनिष्ठ तथ्यको अभाव रहेको अवस्था समेत प्रष्ट देखिन आउँछ 

९. मृतक स्वयंले आफूलाई आगो सल्काउनुमा जीवनप्रति नैराश्यता वा विरक्तिले यथेष्ठ प्रभाव परी बाँच्नुप्रतिको मोहभंग भएको हुनुपर्छ । सामान्यतयाः आफ्ना नावालक लालाबालाको स्नेह र मातृत्वले पनि जीवन प्रतिको नैराश्यताका बाबजूद एउटी आमाको लागि बाँच्ने प्रेरणाको स्रोत बनेको हुन्छ । यस स्थितिमा (Depression) को चरम विन्दूका लक्षणहरू मृतक मञ्जू चोख्यालमा पाइदैन । सफल पारिवारिक जीवनको आशातीत् अपेक्षा बोकेकी निजले आफ्नो श्रीमान्‌को अभिलाषाअनुरूप नै व्यवहार गरिआएको समेत पाइन्छ । नावालक छोरा शंकर चोख्याल र ३ महिनाको नावालक छोरीको आमाले सांसारिक मोह र परिवारको स्नेहबाट विरक्तिएर आफै आगो लगाई आत्महत्या गर्नुपर्ने अवस्था र परिस्थिति मिसिलबाट देखिन आउँदैन । प्रतिवादी र मृतकबीच झगडा भै मृतकको शरीरमा आगो लागेपछि बाँच्नको लागि नै मृतक मञ्जू चोख्याल घर बाहिर निस्की दौडिदै बचाउ बचाउ भनी चिच्याएकी भनी छिमेकी ज्ञानबहादुर श्रेष्ठले प्रहरीमा कागज गरेको र सो व्यहोरालाई समर्थन हुने गरी अदालतमा आई बकपत्र गरिदिएको व्यहोराले समेत मृतक आफैले शरीरमा आगो लगाई मरेको भन्ने पुष्ट्याँइ हुन आएको पाइएन । यदि वास्तविकता मर्ने अभिप्रायले प्रेरित भएर मृतक स्वयंले आगो लगाएकी भए घरबाट बाहिर निस्केर बचाउ बचाउ भनी हार गुहार गर्नुपर्ने अवस्था हुँदैनथ्यो । यसबाट पनि मृतक स्वयंले आगो लगाएकी रहिछन् भनी अनुमान गर्न सकिने अवस्था नै देखिन आएन 

१०. त्यस्तै मृतकको मृत्युको सम्वन्धमा मिसिल संलग्न शव परीक्षण प्रतिवेदन अध्ययन गर्दा In my opinion, The cause of death is due to hypovalunic shock due to more than 70 percent burn भन्ने उल्लेख भएको र शव परीक्षण गर्ने डा. एच.पी. महाजुले मृतक मञ्जू चोख्यालको मृत्यु ७० प्रतिशत भन्दा बढी शरीरको भाग जलेको हुँदा Hypovalunic shock भनी मृत्युको कारण खुलाई दिएको छु भनी अदालतमा आई बकपत्र गरेका छन् । लास जाँच मुचुल्काबाट समेत बायाँ खुट्टा घुँडादेखि पैतालासम्म जली एकपत्रे छाला निस्केको, पछाडि शरीरको पुठाको भाग जलेको, दुवै स्तन जली छाला निस्केको, नाईटोभन्दा केही तल २ ईञ्च लम्वाई र दुई ईञ्च चौडाईको भाग जली फोका निस्केको भन्ने देखिएको छ । सामान्यतयाः मृतक स्वयंले मट्टीतेल खन्याई आगो लगाएको भए मट्टीतेल शरीरको माथिल्लो भागबाट खन्याउने र आगो समेत मट्टीतेल खन्याएको स्थानबाट नै लगाउने हुन्छ । जसअनुसार शरीरको माथिल्लो भाग नै जलेको हुनुपर्नेमा शरीरको अधिकांश तल्लो भाग जलेको देखिएबाट समेत आफै आगो लगाएको होला भनी अनुमान गर्न सकिने अवस्था आएन 

११. कुनै पनि प्रकारको ज्यानसम्वन्धी अपराध सिद्ध गर्न पूर्व रीसइवी, मनसाय नै स्पष्ट देखिनु पर्ने भन्ने अकाट्य मान्यता रहेपनि सदासर्वदा सोही मापदण्ड नै हरेक घटना वारदातमा अकाट्य मापदण्डभित्र पर्दछ भनी आश्वस्त र विश्वस्त भै सधै एउटै निष्कर्ष विन्दूमा पुग्नु कदाचित सर्वमान्य हुदैन । घटनाको अवस्था तथा तत्काल विद्यामान परिस्थितिलाई पुर्नमूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न पनि उचित हुन आउदैन । तसर्थ प्रस्तुत वारदातमा परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्लेषण र विवेचना गर्नु पनि त्यतिकै सान्दभिर्क देखिन आउछ 

१२. अब प्रस्तुत वारदातमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) ले कस्तो भूमिका निभाएका छन् सोको विवेचना गर्दा यथार्थताको नजिक पुग्न मद्दत पुग्ने देखिन आउँछ । तसर्थ प्रस्तुत घटना वारदातमा परिस्थितिजन्य प्रमाणको स्थिति तथा प्रतिवादीको संलग्नतालाई कसरी सापेक्षता स्थापित गर्न सकिन्छ भनी विचार गर्दा यी मृतक आगोले जली मरेको भन्नेमा विवाद छैन । मृतककी आमा जाहेरवाला नर्वदा लामाले २०५८ साल असार २४ गते छोरी माईतीमा आएकीमा के कामको लागि आएकी भनी सोधपुछ गर्दा लोग्नेले बारम्वार कुटपीट गर्ने गरेको, झगडा गर्ने गरेको र मार्छु भनी धम्काउने गरिरहेकोले मारि हाल्ने हो की भनी माइतीमा सबैलाई भेट्छु भनी आएकी हुँ भनेकी थिइन्, असार २६ गते दिउँसो ज्वाँई दलबहादुरले छोरीलाई तुरुन्त घर आ नत्र ठीक हुँदैन भनी धम्काएको र सो दिन मंगलबार परेकाले छोरीलाई घर नजाउ भोलि जाउली भन्दा आज नजाने हो भने ज्वाँई रिसाउँछन् आजै जान्छु भनी सोही दिन साँझ ५ बजे छोरी घर गएकी थिइन् भनी अदालतमा समेत आई लेखाएको देखिँदा यी श्रीमान् (प्रतिवादी) तथा श्रीमती (मृतक) बीच घरायसी कुरामा बारम्बार झगडा हुने तथ्य स्थापित भएको छ । मिति २०५८।३।२९ गते लोग्ने स्वास्नीबीच झगडा भएको र प्रतिवादी स्वयंले लट्ठी प्रहार गरी कुटपीट गरेको तथ्यलाई स्वीकार गर्नु, यदि मृतक आफैले आफ्नै शरीरमा मट्टितेल खन्याएको भए एउटा श्रीमानको कर्तव्य त्यसलाई मौकामा रोक्नुपर्नेमा सो कर्तव्य निर्वाह नगर्नु, श्रीमतीले मट्टितेल खन्याएको अवस्थामा आफूले चुरोट सल्काउन लाईटर बाली चुरोट खान खोजेको भनी लापरवाही (Negligence) को पराकाष्टा देखाएको विश्वसनीय नहुनु, अर्कोतर्फ त्यसमा सत्यताको आभास भए बलेको लाईटर लिएर मट्टितेल खन्याएको व्यक्ति नजिक जानुबाट निजको श्रीमतीप्रतिको नकारात्मक व्यवहार प्रर्दशित भएको देखिनु, प्रतिवादीले मृतकलाई कुटपीट गर्दा नावालक छोरा शंकरले खाटमुनि लुकेर टुलुटुलु हेरिरहनु, आगो लगाएपश्चात् मृतक बाहिर आएर बचाउ बचाउ भनी कराएको छिमेकी ज्ञानबहादुरले सुन्नु, वारदातस्थलमा मट्टितेलको गन्ध आइरहेको बोतलको बिर्को फेला पर्नु जस्ता परिस्थितिजन्य प्रमाणको एक कडीले अर्को कडीलाई सामीप्यता स्थापित गराएको पाइन्छ । यसरी वारदात हुनु भन्दा अगाडिदेखिनै मृतक र प्रतिवादीबीच झैझगडा हुने गरेको कुरा मृतकले माईतीमा गै भनेको, घटना घटेको दिन झगडा भएको कुरा प्रतिवादीकी आमा एवं मृतककी सासूले भन्नु, मृतकको शरीरमा आगो लागेपछि घर बाहिर निस्की छिमेकी ज्ञानबहादुर श्रेष्ठको घरतर्फ गुहार माग्दै जानु, घरमा स्टोभ नभएकोमा पनि स्टोभ पड्केर आगो लागेको भन्नु भनी माइतीमा खबर पठाउनु जस्ता तथ्य समेतबाट प्रतिवादीले नै मृतकको शरीरमा आगो लगाई दिएको कारण जली मरेको भन्ने मिसिलमा रहेका परिस्थितिजन्य तथ्यहरू एक आपसमा मालाकार कडीको स्वरुपमा देखिई पुष्ट्याँई भएको देखिन आएको छ 

            १३. यसै गरी प्रतिवादी र मृतक बुहारी मञ्जू चोख्यालबीच रक्सी सेवन गर्ने विषयमा वादविवाद झगडा भै रहने गरेको तथा बुहारीले स्टोभ पड्केर आगो लागेको भनेकी थिइन् तर हाम्रो घरमा स्टोभ थिएन, कसरी भनिन् थाहा भएन भनी प्रहरीमा कागज गर्ने प्रतिवादीकी आमा टेककुमारी चोख्यालले अदालतमा समेत आई लेखाई दिएको, वारदातको भोलिपल्ट मृतकको माइतीमा घटनाका बारेमा खबर पठाउंदा समेत स्टोभ पडकेर आगो लागेको भनी खबर पठाएको देखिँदा वास्तविकतालाई ढाकछोप गरी वारदातलाई अन्यत्र मोडन खोजेको देखिन आउछ । यस्तै मृतक मञ्जू चोख्यालले माइतीमा गै आफ्नो लोग्नेले बारम्बार नमारी छोड्दिन भन्ने गरेको कुरा व्यक्त गरेकी र वारदात घट्नु केही दिन अघि माइत गएकी र आमाले आज नजाउ भन्दा लोग्नेले मार्छकि भन्ने डरले घरमा आएकी भन्ने देखिन्छ । मिसिलमा रहेका यस्ता विश्वासप्रद तथ्यले मृतकलाई प्रतिवादीले मार्नेसम्मको कार्य व्यवहार गरेको भन्ने देखिन्छ । परिस्थितिजन्य प्रमाणको सूक्ष्म विश्लेषण गरी हेर्दा ती प्रमाण परिवन्दले घटनाको वास्तविक स्वरुप दर्शाएको अवस्थामा अदालतसमक्ष भएको प्रतिवादीको इन्कारी बयानलाई खण्डित गरेको छ । मिसिलमा देखिएको यस्तो परिस्थितिजन्य प्रमाणको विश्लेषण नगरी ज्यान सम्बन्धी महलको ६ नं. को देहाय २ अनुसार शुरु र पुनरावेदन अदालतले प्रतिवादीलाई सजाय गरेको पाइन्छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीले होस् नपुर्‍याई वा हेलचेक्रयाँईपूर्वक कुनै काम गरेको अवस्थामा प्रस्तुत वारदात घटित हुन गएको अवस्था नभै रक्सीको विषयमा विवाद उठी रक्सीको नसामा रहेका प्रतिवादीले आफ्नो श्रीमतीलाई कुटपीट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको अवस्था देखिएको र सोही आगोबाट शरीरको विभिन्न भाग जली मृत्यु भएको भन्ने शंकारहित रुपमा पुष्ट्याँई भएको अवस्थामा ज्यान सम्बन्धी महलको ६ नं. को देहाय २ अनुसारको सजाय गर्नुलाई न्यायोचित मान्न मिल्ने देखिएन 

            १४. अतः मिमांसमा लास जाँच प्रकृति मुचुल्का एवं प्रतिवेदन, वस्तुस्थितिका मानिसहरू ज्ञानबहादुर श्रेष्ठ समेतले लेखाई दिएको व्यहोरा र निजको बकपत्र, नर्वदा लामाको किटानी जाहेरी र निजको बकपत्र, प्रत्यक्षदर्शी मृतक एवं प्रतिवादीको नावालक छोरा शंकर चोख्यालको प्रहरीमा भएको कागज तथा अदालतमा भएको बकपत्र, शव परीक्षण प्रतिवेदन, छोराले रक्सी सेवन गर्ने विषयमा बुहारीसँग प्रायः झगडा हुने गरेको भन्ने प्रतिवादीको आमा टेककुमारी चोख्यालको भनाई समेतका वस्तुनिष्ठ प्रमाणहरूबाट प्रतिवादीले आफ्नो श्रीमती मञ्जू चोख्यालको शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको र सोही आगोले जलेको कारण निजको मृत्यु भएको भन्ने मिसिलमा संकलित वस्तुनिष्ठ प्रमाणहरू एक आपसमा मालाकार कडीका रुपमा आवद्ध भइरहेको विद्यमान अवस्थामा ज्यान सम्बन्धी महलको ५ नं. अनुसार भवितव्य ठहर गरी ऐ. को ६ नं. को देहाय २ अनुसार २ वर्ष कैद र ५०० रुपैया जरीवाना गर्ने गरेको शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावदन अदालत बुटवलको २०६३।२।११ को फैसला मिलेको देखिएन । तसर्थ सो फैसला सदर गरेको यस अदालतका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसँग सहमत हुन सकिएन । अभियोग माग दावीबमोजिम प्रतिवादी दलबहादुर चोख्यालले मृतकलाई कर्तव्य गरी मारेको ठहर गरी निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको मिति २०६६।३।१६ को यस अदालतका माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय सदर हुने ठहर्छ । अरूमा तपसील बमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी दलबहादुर चोख्याललाई २ वर्ष कैद र पाँचसय रुपैयाँ जरीवाना गर्ने गरेको शुरूको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी भै निज प्रतिवादी दलबहादुर चोख्याललाई सर्वस्वसहित जन्मकैद हुने ठहरेकोले प्रतिवादीको हकमा शुरु फैसलाको लगत कायम नरहने हुँदा सो लगत कट्टा गरी यी प्रतिवादी २०५८।१२।८ देखि प्रहरी हिरासत एवं थुनामा रही मिति २०६०।१२।७ मा थुनाबाट छुटी गएको देखिँदा थुनामा बसेको अवधि वर्ष २ वर्ष कटाई बाँकी कैद वर्ष १८ बेरुजु हुँदा लगत कसी असूल उपर गर्नु र निजको अंश सर्वस्वसहितको लगत राखी असूलउपर गर्नु भनी शुरु नवलपरासी जिल्ला अदालतमा लेखी पठाई दिनू––––––––––––––––––––––––––––––––––––––

मिसिल नियमबमोजिम गरी बुझाई दिनू––––––

उक्त रायमा सहमत छौं 

            न्या.तपबहादुर मगर

            न्या.रणबहादुर बम

इति संवत् २०६७ साल मंसिर ९ गते रोज ५ शुभम्

इजलास अधिकृत :    अशोककुमार बस्नेत,

                                  पुनाराम खनाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु