निर्णय नं. ८६९३ - गैरकानूनी सवारी साधन दर्ता, भ्रष्टाचार

ने.का.प. २०६८, अङ्क १०
निर्णय नं. ८६९३
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं. ०६७–CF–००११, ००१२, ००१३
फैसला मितिः २०६८।९।७।५
मुद्दाः– गैरकानूनी सवारी साधन दर्ता, भ्रष्टाचार ।
पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला, मधेशा गा.वि.स.वार्ड नं. ७ घर भै अञ्चल यातायात व्यवस्था कार्यालय, बागमतीका तत्कालीन खरिदार धर्मराज भण्डारी
विरुद्ध
प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत कुमारबहादुर खड्काको प्रतिवेदनले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः रामेछाप जिल्ला, सालु गा.वि.स.वार्ड न.१ सालु धारापानी घर भै हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स.वार्ड न.२ वस्ने बागमती अञ्चल यातायात व्यवस्था कार्यालयको तत्कालीन शाखा अधिकृत नारदमणि काफ्ले
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत कुमारबहादुर खड्काको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः बागमती अञ्चल यातायात व्यवस्था कार्यालयको तत्कालीन शाखा अधिकृत नारदमणि काफ्ले समेत
शुरु फैसला गर्नेः–
मा.न्या.श्री भूपध्वज अधिकारी
मा.न्या.श्री कोमलनाथ शर्मा
मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.व.रा.
सर्वोच्च अदालत संयुक्त इजलासः–
मा.न्या.श्री बलराम के.सी.
मा.न्या.श्री अवधेशकुमार यादव
§ पैठारी गरिएको गाडीको प्रज्ञापनपत्र भरेको र भन्सार तिरेको आधारमा मात्र गाडी यातायात कार्यालयमा दर्ता नामसारी वा ठाउँ सारी गर्ने कार्य हुन्छ । प्रज्ञापनपत्र र भन्सार तिरेको रसीदको अभावमा गाडी दर्ता गर्ने गराउने कार्य स्वतः कानूनविपरीत हुने ।
(प्रकरण नं.९)
§ केवल प्राविधिक कर्मचारीले दिएको प्रतिवेदनको आधारमा निर्णय गरेको भन्दैमा अन्य आवश्यक प्रमाणको अभावमा गरेको निर्णयले वैधानिकता पाउने र दावीबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने ।
§ आफूले अनिवार्य रुपमा वुझ्नु पर्ने आवश्यक प्रमाण नबुझी कुनै स्रेस्ता वा प्रमाणबाट पुष्टि नभएको विवरण उल्लेख गरी गाडी नामसारीको निर्णय गर्ने कामकारवाही अज्ञानतावस वा सामान्य लापरवाहीसाथ गरिएको र त्यसमा वद्नियत थिएन भन्न सकिने आधार नदेखिने ।
(प्रकरण नं.१०)
प्रत्यर्थी वादीतर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता राजनारायण पाठक, सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल तथा उपन्यायाधिवक्ता शंकर राई
पुनरावेदक प्रतिवादीहरू तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता यज्ञमूर्ति वञ्जाडे तथा अधिवक्ताहरू कृष्णप्र्रसाद सापकोटा, रेवत खरेल र यदुनाथ खनाल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क)
§ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३), २२
§ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१)
आदेश
प्र.न्या.खिलराज रेग्मीः सर्वोच्च अदालतको संयुक्त इजलासमा मिति २०६७।२।९ मा रायवाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छः–
यातायात व्यवस्था विभाग र अन्तर्गतका कार्यालयमा गैरकानूनी तवरले चोरीको थुप्रै गाडी दर्ता गरी भ्रष्टाचार गर्ने गरेको भन्नेसमेत व्यहोरा देशभक्त नेपालीका नामले उजूरवालाले आफूलाई चिनाई टेलिफोनमा टिपाई अ.दु.अ.आयोगमा उजूरी दर्ता भएको वा.२ च २४७९ नं हाल वा.३ च ४०४४ नं. को गाडीसम्बन्धी तथ्य वुझ्न दर्ता हुँदाका कागजातसहितको फाइल झिकाई उल्लिखित सवारी साधनको भन्सार तिरे नतिरे सम्बन्धमा प्रज्ञापनपत्र समेत झिकाई वुझिएको । यातायात व्यवस्था विभागका महानिर्देशकलाई भन्सार नतिरी ल्याएका सवारी साधन दर्ता हुने एवं पूराना फाइल हराउने घटना दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन लेखी पठाइएको भन्ने उजूरी व्यहोरा ।
दर्ता भएको सवारी साधनको सवारी दर्ता किताव, फाइल ढड्डा हेर्ने, सवारी कर तिरे नतिरेको लगायत एवं प्राविधिक प्रतिवेदन लिई नामसारी गर्ने गरिएको थियो । कार्यालयको ढड्डा, फाइल खोज्दा नभेटिएमा कार्यालयबाट जारी भएको ब्लुबुकको आधारमा प्राविधिक प्रतिवेदन लिई आफूभन्दा माथिका अधिकृतलाई जानकारी गराई वा मौखिक निर्देशन लिई मात्र नामसारी गर्ने प्रचलन थियो । गाडी नामसारी गर्ने क्रममा पहिलाका अधिकृतबाट नामसारी भैसकेको कागजात सम्बन्धित सवारीधनीले पेश गरेको र पहिला दर्ता गर्दाको अवस्थामा खडा भएको ढड्डा फाइल खोज्दा नभेटिएकोले सवारी दर्ता पुस्तिका र प्राविधिक प्रतिवदेन लिई नामसारीमा निरन्तरता दिएको हुँ । वा.२ च.२४७९ नं.को गाडीको ब्लुबुक हेरेर मात्र दस्तखत नामसारी गरेको हो भन्नेसमेत व्यहोरा तत्कालीन बागमती अञ्चल यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत प्रतिवादी नारदमणि काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा गरेको वयान ।
मैले परम्पराबमोजिम वा.२ च.२४७९ नं. को सक्कल फाइल हराएकोले वा.३ च.२९०० मुनिका कुनै पनि सवारी साधनको लेजर पनि नभएकोले रेकर्ड अपटुडेट गर्न साविक ब्लुबुक खिची फाइल खडा गरेको हो र ब्लुबुक नभएर हाकिमले कसरी सही गरे होलान् ? सो वुक उक्त फाइलबाट झिक्नाको कारण षड्यन्त्र र फसाउने कारण हुनसक्छ । भन्सारसम्बन्धी विवरण सोही ब्लुबुकमा भएबमोजिम सारिएको हो । तत्कालीन बागमती अञ्चल यातायात व्यवस्था कार्यालयका खरिदार प्रतिवादी धर्मराज भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा गरेको वयान ।
ललितपुर ग्वार्को वस्ने राजीप महर्जन भन्नेको एउटा ग्यारिज थियो त्यसमा मेरो भाइ पनि काम गर्ने हुँदा वेलाबखतमा जाने हुनाले राजीपसँग पनि चिनजान भएको थियो । यसै क्रममा एउटा सेतो रंगको गाडी (नम्वर आफूलाई थाहा नभएको) मेरो नाममा गाडी खप्दैन ३/४ दिनमा वेची हाल्छु तिम्रो नाममा लिन पर्यो भनी राजीप महर्जनले भनेको र त्यसरी लिंदा केही हुँदैन भनेकोले २०५७।०५८ साल तिर मेरा नाममा लिई ३।४ महिना पछि टसीको नाममा नामसारी गरेको हो । मेरो आफ्नो गाडी किन्ने हैसियत छैन । ड्राइभ गर्न पनि आउँदैन । हाल टसीकै मोटर पार्ट पसलमा महिनाको तीनहजार पारिश्रमिकमा काम गर्छु । टसीलाई पनि मोटरका सामान किन्ने सिलसिलामा नै चिनेको हो । निजको राजीपसँग पैसा लिन वांकी छ भनेकोले सोबापत मेरो नामको मोटर लिन दिन मञ्जूर भएकोले टसीको नाममा नामसारी भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजन नापितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा गरेको वयान ।
वालाजुमा युनाइटेड व्रदर्श भन्ने गाडीका पार्टपूर्जा बिक्री गर्ने पसल सञ्चालन गर्दछु । वा २ च २४७९ (हाल वा.३ च ४०४४) ललितपुर ग्वार्खु (वि.एण्ड वी अस्पताल नजिक) वर्कशप चलाई वसेको राजीप महर्जनसँग १४ लाख रुपैयाँमा खरीद गरेको हो । मेरो पसलमा काम गर्ने राजन नापितको नामबाट राजीप भन्ने व्यक्तिले उक्त कार दर्ता गरेको कुरा थाहा पाएको र राजीप भन्ने व्यक्तिसँग विभिन्न सामान खरीद गरेको करीव नौ लाख रुपैया लिन वाँकी थियो र उक्त रकम लिन ताकेता गर्दा नदिएकोले राजनको नाममा रहेको टोयोटा मोटर मैले लिने र करीव चार लाख जति राजीवलाई दिने सहमति भई उक्त गाडी मेरा नाममा नामसारी भएको हो । नामसारी गरेको वखत नै यो गाडीलाई पोखरा लानु पर्छ भनी राजीवले भनेकाले त्यसको केही दिन पछि पोखरा गई भनेबमोजिम कागजमा सही गरी सोही गाडीमा फर्की आएको हो । चोरीको गाडी हुन्छ भन्ने थाहा थिएन, यातायात व्यवस्था कार्यालयले ठीक छ भनेको र पैसा उठाउने वाध्यताले गाडी लिन परेको हो भन्नेसमेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा तत्कालीन वा.३ चं. ४०४४ नं.को सवारीधनी प्रतिवादी टशी छवाङ लामाले गरेको वयान ।
मैले उक्त कार १४ लाखमा बिक्री कै लागि लिएको हो र सो कार काजी लामा भन्ने व्यक्तिलाई १४ लाखमा बिक्री गरेको तर समयमा पैसा नदिएकोले गाडी फाइनान्समा राखी पैसा निकालेका, अन्तिममा पैसा दिन्छु भनेपछि नामसारी गर्न जाँदा नामसारी हुन नसकेको हो । गाडी खरीद गर्ने क्रममा नामसारी भैसकेपछि मात्र पैसा दिने, यदि भएन भने पैसा फिर्ता लिने नियम छ गाडी खरीद गर्दा ब्लुबुक र कर वुक तथा यातायातको ढड्डा हेरेर खरीद गरिन्छ भन्नेसमेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा वा.३ चं. ४०४४ नं.को सवारीधनी पुष्पराज शाक्यले गरेको वयान ।
मेरो ग्यारेजमा गाडी बनाउन आइरहने संजय भन्ने व्यक्तिले उक्त गाडी बिक्री गरी दिन पर्यो भनेको र मैले सामान किन्न गइरहने छिरिङ भन्नेको पसलमा छिरिङलाई गाडी चाहिएको थाहा भएकोले सो गाडी निज छिरिङलाई बिक्री गराइ दिएको हो । २० हजार रुपैयाँ नाफा (कमिशन) लिई यो काम गरेको हुँ । कागजपत्र के कसो थियो पढेलेखेको नहुँदा थाहा छैन । गाडी के कस्तो हो भन्सार तिरेको हो /होइन त्यो पनि थाहा छैन । टशीले गाडी बिक्री गर्ने भनेकोले पोखरामा होटेल सेन्ट्रल प्वाइन्टको मानिसलाई बिक्री गर्ने कुरा मैल नै गरिदिएको हुँदा सो कामको लागि सरुवा सहमति लिई पोखरा लगी दिएको र बिक्री नभएकोले फेरि काठमाडौँमा नै सरुवा सहमति लिई दर्ता गराउन ल्याएको हो भन्नेसमेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा प्रतिवादी राजीप महर्जनले गरेको वयान ।
बा.३ च ४०४४ नं.को गाडी सम्बन्धमा तत्कालीन अवस्थामा वा.२ च २४७९ नं. रहेको खुल्न आएको । उक्त सवारी साधनका विषयमा मिति २०५७।१२।२९ मा “यसको साविक फाइल हराई आएकोले रेकर्ड कायम गर्न नयाँ फायल वुक राखी खडा गरिएको“ भन्ने व्यहोरा उल्लेख गरी कार्यालयमा रहने सवारी दर्ता कार्यमा सवारीधनीको नाम राजन नापित भक्तपुर ५ याछे र टशी छ्वाङ लामा गण्डकी मनाङ फु.गा.वि.स.लेखिएको र २०५७।१२।२९ मा राजन नापितबाट टशी छवाङ लामाका नाममा नामसारी गरे गराएको देखिएको ।
आयोगमा प्राप्त सवारी दर्ता कार्डमा लेखिएअनुसार दर्ता मिति ०५३।९।१० भएको र भन्सारको निस्सा महलमा वीरगञ्ज प्र.प.नं. ५४९० र.नं. १३८७१२ मिति २०५३।९।७ बाट भनी लेखेको देखिएको । बीरगन्ज भन्सार कार्यालयसँग बुझ्दा आ.व. २०५३।५४ को प्रज्ञापनपत्रहरू धुलाइसकेको तर प्रज्ञापनपत्र दर्ता रजिष्टरमा सो मितिसम्म प्र.द.नं. ३०३७ मात्र पुगेको देखिदा प्र.द.नं. ५४९० यस कार्यालयमा दर्ता नभएको कुरा प्रज्ञापन दर्ता रजिष्टरबाट देखिएको भन्ने जवाफ मिति ०६०।३।११ को पत्रबाट प्राप्त भएको ।
उक्त वा.२ च २४७९ नं.को गाडीको ब्लुबुकको आधारमा फायल खडा गरेको भनी फायल संलग्न कार्डमा जनाइएको तर ब्लुबुक फाइल संलग्न भएको नपाइएको । उक्त गाडीको फाइल खडा गरेकै मिति २०५७।१२।२९ मा प्रतिवादी टशीका नाममा नामसारी हुनाको साथै सोही दिन गण्डकी अन्चल यातायात व्यवस्था कर्यालयमा सरुवाको लागी सहमति दिइएको र पोखरामा दर्ता भई पुनः बागमती अन्चल यातायात कार्यालयमा सरुवा भई मिति २०५८।२।३ मा वा. ३ च ४०४४ नं.मा दर्ता भएको देखिएको र तत्पश्चात् सरुवा भई आएपछि सो गाडी अनुभव एडभरटाइजिङ्ग सेवाका नाममा २०५८।३।१५ मा नामसारी भएको । उक्त अनुभव एडभरटाइजिङ्गबाट २०५९।१०।१४ मा सिन्सीयर सेभीङ्ग एण्ड क्रेडिट को अपरेटीभ (ऋणी पुष्परत्न शाक्य) का नाममा नामसारी भएको देखिएको र यसै सिलसिलामा सो गाडी धितो राखी पुष्परत्न शाक्यले रु.६,५०,०००।– उक्त फाइनान्स कम्पनीबाट मिति २०५९।१०।१४ मा ऋण लिएको र हालसम्म चुक्ता नभएको खुल्न आएको ।
उल्लिखित गाडी ०५३।९।१० मा दर्ता भएको देखिने कुनै पनि अभिलेख कागजात फेला नपरेको, फाइल हराएको कुरा सवारी दर्ता कार्डमा उल्लेख गरिएको । नामसारी हुँदा सम्बन्धित व्यक्तिसँग मात्र भएको त्यस्तो सवारी दर्ता प्रमाणपत्रबमोजिमको अवस्था भए नभएको विषयमा प्रमाणपत्रमा उल्लिखित विवरण भिडाउने प्रयाससम्म पनि गरेको नदेखिएको ।
आ.व.०५७।५८ मा टोयटा कार पैठारी गर्दा भन्सार महशुल दर १३० प्रतिशत स्थानीय विकास शुल्क १.५ प्रतिशत र मूल्य अभिवृद्धि कर १० प्रतिशत भएको व्यहोराको भन्सार विभागको च.नं. ८७३ मिति २०६०।१०।७ को पत्रबाट खुल्न आएको । बा.३.च ४०४४ नं.को गाडी टशी छवाङ्ग लामाबाट अनुभव एड्भरटाइजिङ्ग सेवाका नाममा नामसारी हुँदा रु.१०,००,०००।– मा बिक्री गरेको भन्ने व्यहोरा खुलाइएको ।
माथि उल्लेख भएबमोजिम अनुसन्धानबाट देखिएको वस्तुस्थिति, आधार, प्रमाण तथा प्रतिवादीको वयानबाट प्रज्ञापनपत्र नम्बर नै काल्पनीक रुपमा राखिएको, दर्तासम्बन्धी कुनै अभिलेख एवं ब्लुबुक नै नभएको अवस्थाको भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको देखिएको वा. २ च. २४७९ (हाल वा. ३ च ४०४४) नं. को गाडीलाई बैधता दिने उद्देश्यले दर्ता फायल हराएको, व्लुबुकको आधारमा फायल खडा गरेको भन्ने व्यहोरा लेखी राजन नापितलाई सवारीधनी कायम गरी दर्ता मिति प्रज्ञापनपत्र नं. र मिति काल्पनिक राखी टशी छवाङ लामाको नाममा मिति २०५७।१२।२९ मा नामसारी समेत गरी दिने कार्य गर्ने शाखा अधिकृत नारदमणि काफ्लेले प्रतिवादी टशी छवाङलामा र प्रतिवादी राजीव महर्जनसँग मिली खरिदार धर्मराज भण्डारी समेतको सहयोग लिई बदनियतपूर्वक आफू समेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी पुर्याई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) ८,१६ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) र ८(४), दफा २२ बमोजिमको कसूर गरेको देखिएको हुँदा सोही दफाबमोजिम निजलाई सजाय गरी भन्सार चोरी पैठारी गरी नेपाल सरकारलाई परेको हानि नोक्सानी विगो रु.५,८५,९२१।३० साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) बमोजिम निज समेतबाट असूल गरी बिगोबमोजिम सजाय समेत गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
म यातायात व्यवस्था कार्यालय काठमाडौँमा सवारी चालक अनुमतीपत्र शाखामा खरिदार पदमा कार्यरत् रहेको र वा.२ च २४७९ नं.को गाडी २०५३ सालमा यातायात व्यवस्था कार्यालय बागमतीमा दर्ता भएको देखिएकोले सो गाडीको पुरानो फायल फेला नपरी हराएकोले सोही कुरा जनाई गाडी समेत प्राविधिकलाई चेक गराई सोहीबमोजिम टिप्पणी तयार गरी पेश गर्नु भनी हाकीम नारदमणि काफ्लेले मलाई मौखिक निर्देशन दिएको हुँदा मैले सोहीबमोजिम टिप्पणी उठाई पेश गरेको हुँ । सो टिप्पणी नारदमणि काफ्लेबाट सदर भए पछि उक्त गाडी राजन नापितका नामबाट टांसी छवाङको नाममा २०५७।१२।२९ मा नामसारी भै गएको हो । वा ३ च ४०४४ नं.को गाडीको विषयमा मलाई केही थाहा छैन । उक्त वा.२ च २४७९ नं.को गाडीको सरुवा सहमति निवेदनमा हाकिमबाट तोक आदेश गराई ल्याएकोले मैले सरुवा सहमतिको लागी पेश गरेको र हाकिमबाट सदर भएको हो । नामसारी भै सहमति भए पछि सो गाडी कहाँ के भयो मलाई थाहा छैन । उक्त गाडीको राजन नापितको नामको ब्लुबुक हेरी प्राविधिक जांच भएको रिपोर्ट आएपछि नामसारी भएको हो र राजन नापितको नामको ब्लुबुक टसी छवाङको नाममा नामसारी भएपछि टसी छवाङले नै लैजाने हुँदा निजैले लगी गए । मैले आरोपपत्र माग दावीबमोजिम कुनै गैरकानूनी कार्य गरेको छैन । मैले सो कार्यबाट कुनै फाईदा पनि लिएको छैन । दावीको विगो मैले तिर्नु पर्ने पनि होइन । मैले कुनै कसूर नगरेको हुँदा सजाय पाउनु पर्ने होइन सफाइ पाऊँ भनी प्रतिवादी धर्मराज भण्डारीले अदालतमा गरेको वयान ।
मेरो वालाजुमा गाडी पार्टसको पसल छ र राजीप महर्जनको ग्वार्कोमा वर्कसप भएकोले मेरो पसलबाट सामान लाने गर्दथे र सामान लग्दा लग्दै रु.९ लाख पुगेछ र रु.३ लाख थपी रु. १२ लाखमा मैले राजन नापितबाट वा २ च २४७९ नं.को गाडी नामसारी गरी लिएको हुँ । त्यसपछि राजीप महर्जनले पोखरामा गाडी किन्ने मानिस छ त्यहाँ गाडी बिक्री भयो भने तिम्रो पैसा दिन्छु भनेकोले गण्डकी अञ्चल पोखरामा लगियो । त्यहाँ गाडी बिक्री भएन फेरि काठमाडौँ नै फर्काएर ल्याएपछि पुनः वा ३ च ४०४४ नं.कायम गरेको । त्यो गाडी एउटै हो । गाडी काठमाडौँबाट पोखरालानलाई राजीप र यातायातका मानिसले कतै सही गराए कतै ल्याप्चे लगाउन लगाए र मैले गरी दिएको हुँ । उक्त गाडी राजन नापितको भन्दा अगाडि कस्को नाममा थियो मलाई थाहा छैन । नामसारी गरी लिएको र सरुवा सहमति भएको मिति म अनपढ मानिस भएको हुँदा मलाई थाहा छैन । २०५७।१२।२९ को सरुवा सहमति पाऊँ भन्ने निवेदनमा भएको सही मेरै हो । मैले खरीद गरेको गाडीको इन्जिन नं. च्याचिस नं.मोडेल नं.समेत मलाई याद भएन र मलाई कुनै नम्वर थाहा छैन गाडीमा ४ जना मानिस अट्ने थियो । गाडी मेरो नाममा नामसारी भएपछि मैले ब्लुबुकसम्म प्राप्त गरेको थिएँ । मैले उक्त गाडी १२ लाखमा अनुभव एडभरटाईज भन्ने कम्पनीलाई पछि बिक्री गरेको हुँ । ग १ च १५५९ मा ०५८।१।५ मा गाडी दर्ता भएको ब्लुबुकको सही र फोटो मेरो हो । मैले चोरीको गाडी खरीद गरेको होइन र रितपूर्वक अफिसमा गै राजन नापितबाट खरीद नामसारी गरी लिई मैले बिक्री समेत गरिसकेको र कुनै कर्मचारी व्यक्तिसँग मिली सरकारलाई नोक्सान पुर्याई आफूलाई फाईदा पुर्याएको छैन आफ्नो फसेको रुपैयाँ उठाउनलाई गाडी खरीद बिक्री गरेको हुं । उक्त गाडी राजीव महर्जनकै रहेछ तर राजन नापितको नाममा भएकोले मैले राजन नापितबाट नामसारी गरी लिएको हुँ । म निजहरू राजन नापित र राजीप महर्जन बाहेक अरुलाई चिन्दिन, दावीबमोजिम कुनै अपराध गरेको नहुदा सफाइ पाऊँ भनी प्रतिवादी टसी छवाङ लामाले अदालतमा गरेको वयान ।
मेरो मोटर बनाउने ग्यारेज छ, म मोटर बनाउने कार्य गर्दछु, टासी छवाङसँग मोटर पार्टसको पसल भएकोले र राजन नापितसँग मोटर पार्टस बिक्री गर्न ल्याउदा चिनजान भएको हो । अफिसका अन्य कर्मचारीसँग सामान्य चिनजान भएको हो । वा. २ च २४७९ को गाडी राजन नापितको नामबाट टसी छवाङ्गको नाममा नामसारी हुँदा मैले केही गरेको छैन । सो गाडी पोखरा बिक्री गर्न लाँदा म पनी टसी छवाङसँग साथी गएको थिएँ । सो गाडी गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गरी सँगै काठमाडौँ आयौं । उक्त गाडी संजयबाट राजन नापितले टसीलाई बिक्री गरेको हो उक्त गाडी मेरो हैन । मैले गाडी अर्काको नाउमा लिनु दिनु र ठाउसारी गराउने गैरकानूनी कार्य गरेको छैन । मैले मेरो ग्यारेज भएकोले पुराना गाडीहरू बिक्री गराई दिने गरेको हुँ । त्यसरी किनवेच गरी दिएबापत २, ४ हजार प्राप्त गर्ने गरेको छु । वाहिरबाट आएका गाडी दर्ता गराउने गरेको छैन । मैले दावीबमोजिमको कसूर गरेको नहुँदा दावीको विगो मैले तिर्नुपर्ने होइन सफाइ पाऊँ भनी प्रतिवादी राजीप महर्जनले अदालतमा गरेको वयान ।
राजीप महर्जनको ग्यारेजमा कामको खोजीमा म जाँदा निजसँग चिनजान भएको हो र राजीप महर्जनले नागरिकता लिएर आउनु भनेपछि मैले नागरिकता लिएर गएँ र नागरिकता सहित यातायात कार्यालयमा लग्यो नागरिकताको फोटोकपी गरी मलाई एउटा कागजमा सही गरायो र मलाई भोली भेटनु भन्यो राजीप महर्जन गाडीमा गयो । त्यसपछि म टसी छवाङकोमा कामको खोजीमा गए । त्यहाँ मासिक रु.२,५००।– मा २ महिना काम गरें । मैले काम गर्ने पसलमा राजीपले रु. ७ लाख जति तिर्नुपर्ने रहेछ । फेरि राजीपलाई टासीले रु. ३ लाख दिई मेरो नाममा रहेको गाडी टासीको नाममा गरेको हो मेरो गाडी किन्ने हैसियत पनि छैन । मैले गैरकानूनी तवरले उक्त गाडी आएको हो भन्ने पनि थाहा पाइन । मेरो वदनियत पनि छैन म ड्राइभिङ्ग पनि जान्दिन । मैले काम पाउने आसामा नागरिकता दिने र कागजमा सही गर्ने काम गरेको हुँ । गाडी मेरो नाउमा राख्दा र नामसारी भई जाँदा समेत मैले कुनै किसिमको रकम लिएको खाएको छैन, मैले कुनै किसिमको आर्थिक लाभ लिएको नहुदा अभियोगअनुसार सजाय पाउनु पर्ने होइन भनी प्रतिवादी राजन नापितले अदालतमा गरेको वयान ।
गाडीको पुरानो रेकर्ड फाइल खोज्न लगाई खोज्दा नभेटिएकोले यातायात व्यवस्था कार्यालयबाट जारी भएको सवारी दर्ता प्रमाणपत्र प्राविधिक प्रतिवेदन एवं आफूभन्दा माथि रहेका कार्यालय प्रमुखलाई भएको व्यहोरा अवगत गराई सोबमोजिम मौखिक निर्देशन समेत प्राप्त गरी गाडीको नामसारी प्रयोजनको लागी नयाँ फायल खडा गरिएको हो । नामसारी गर्दा लाग्ने दस्तूर, सवारी कर तिरेको बुक, नामसारी गरिने व्यक्तिको नागरिकताको प्रतिलिपि समेतका आधारमा उक्त गाडीको नामसारी गरिएको थियो । उक्त गाडीको दर्ता पहिला नै भैसकेको भन्ने कुरा उक्त गाडीको सवारी दर्ता प्रमाणपत्र, सवारी कर तिरेको बुक, प्राविधिक प्रतिवदेन समेतमा देखिन्छ । फायल खडा गर्दा सवारी दर्ता फायलमा ब्लुबुक राखी खडा गरिएको हो कुनै काल्पनिक फायल खडा गरेको होइन । गाडीको ब्लुबुक फाइल संलग्न रहेको देखिएको हुँदा भन्सार तिरे नतिरेको सम्बन्धमा पहिलेनै दर्ता भैसकेको हुँदा सो सम्बन्धमा मलाई थाहा भएन । केवल मैले निरन्तरता मात्रै दिएको हुँ । वा २ च २४७९ र वा ३ च ४०४४ का २ वटा नम्बर एउटै गाडीका हुन । अन्य कुराहरू मैले स.फौ.नं. ३५५ को मुद्दाको वयानमा नै खुलाई सकेको छु । आरोपपत्रमा उल्लेख गरेबमोजिम मैले कसैसँग मिलोमतो गरेको र कुनै लाभ हुने कुरा गरेको छैन भनी प्रतिवादी नारदमणि काफ्लेले अदालतमा गरेको वयान ।
मिसिल संलग्न सबूद प्रमाणहरूबाट आरोपपत्र मागदावीबमोजिमको कार्यगरी गैरकानूनी रुपमा भन्सार राजस्व हानि नोक्सानी पुर्याई प्रतिवादीमध्येका नारदमणि काफ्ले र धर्मराज भण्डारीले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) बमोजिमको र प्रतिवादी टसी छवाङ्ग लामाले सोही ऐनको दफा ८ बमोजिमको कसूर गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादीहरूलाई सोही दफा र दफा २९(२) बमोजिम जनही रु. ५,०००।– पाँच हजारका दरले जरीवाना हुन्छ । अन्य प्रतिवादीहरू राजीप महर्जन र राजन नापितले भने दावीको कसूर गरेको सबूद प्रमाणबाट पुष्टि नभएको हुँदा निजहरूले कसूर गरेको नठहरी प्रस्तुत आरोपबाट सफाइ पाउने ठर्हछ । विगोतर्फको दावीको हकमा मन्त्रिपरिषद्को मिति २०६३।५।६ को निर्णयबमोजिम सम्बन्धित भन्सार कार्यालयबाट आवश्यक कारवाही हुने नै हुँदा त्यस विषयमा यस मद्दाबाट विचार गरिरहनु परेन भन्नेसमेत व्यहोराको विशेष अदालत काठमाडौँको मिति २०६४।३।३२ को फैसला ।
विशेष अदालत काठमाडौँको फैसलामा चित्त बुझेन । सवारी साधनको कार्यालयमा भएको अभिलेख फेला नपरेको अवस्थामा सवारीधनीसँग भएको सवारी दर्ता प्रमाणपत्र प्राविधिक प्रतिवेदन, कर वुझाएको निस्साको आधारमा अभिलेख खडा गर्ने नामसारी ठाउसारी लगायतका कार्य गर्ने प्रचलन रहेको थियो भन्ने व्यहोरा म पुनरावेदकले अनुसन्धानको क्रम देखि नै उल्लेख गर्दै आएको मिसिल संलग्न प्रमाणहरूबाट देखिन्छ । यसरी कार्यालयको अभिलेख हराएको अवस्थामा अभिलेख अधावधिक गर्ने सम्बन्धमा एकरुपता ल्याउन यातायात व्यवस्था विभागको च.नं. २६१ मिति २०६०।४।३० को सवै यातायात व्यवस्था कार्यालयका नाममा जारी भएको परिपत्र बमोजिम पनि सवारीधनी निज रहेको सक्कलै सवारी दर्ता प्रमाणपत्र करवुक वा कर वुझाएको निस्साको सक्कल प्रति र प्राविधिक प्रतिवेदन समेतको आधारमा रेकर्ड जनाई राख्ने व्यवस्था गर्ने प्रचलन रहेकोले म पुनरावेदकले पहिलेनै दर्ता भएको विवादित गाडीको कर तिरेको निस्सा प्राविधिक प्रतिवदेन, सवारीधनीसँग रहेको सवारी दर्ता प्रमाणपत्र समेतको आधारमा अभिलेख राख्ने कार्यको लागी फाँटवालाको हैसियतले फायल पेश गरी निर्णय भएको स्थितिमा उक्त कार्य निर्देशनविपरीत नभएको र राजश्व हानि नोक्सानी समेत नभएको स्पष्ट हुँदाहुँदै मलाई कसूरदार ठहर गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी म पुनरावेदकले पूर्णरुपमा सफाइ पाउने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी धर्मराज भण्डारीको पुनरावेदन जिकीर ।
विशेष अदालतको फैसलामा चित्त बुझेन । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ६५(२) ले साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ लाई मिति ०५९।९।३ देखि खारेज गरेको हुँदा खारेज भैसकेको ऐन र खारेज गर्ने ऐन दुवैको अस्तित्व एकै साथ रहन सक्दैन । साविक ऐन वहाल रहेका वखत म समेत उपर सो ऐनअन्तर्गतको कुनै पनि कसूरका सम्बन्धमा अनुसन्धान कारवाही चालु रहेको वा कुनै अदालतमा आरोप करार गरी मुद्दा दायर भै विचाराधीन रहेको अवस्था समेत थिएन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६५(३) ले भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम भए गरेको कामकारवाहीलाई मात्र वचाउ गरेको छ । नभए नगरेको कामकारवाहीलाई वचाउ गरेको छैन । नयाँ ऐनले साविक ऐनलाई खारेज गरेको अवस्थामा म पुनरावेदकले गरेको कार्य कुन ऐन साविक ऐन वा मौजुदा ऐन अनुसार अपराध भयो यकीन गरी दावी लिएको अवस्था पनि छैन । दुवै ऐनलाई उल्लेख गरी दर्ता भएको आरोपपत्र कानूनी त्रुटिपूर्ण भएको हुँदा त्यस्तो त्रुटिपूर्ण आरोपपत्रका आधारमा म पुनरावेदकलाई कसूरदार ठहर गर्न मिल्दैन । अतः म पुनरावेदकउपर अभियोग लगाए पनि वादी नेपाल सरकारले सो अभियोग शंकारहित तवरबाट प्रमाणित गर्न नसकेको अवस्थामा तथ्य र प्रमाणहरूको यथोचित मूल्याङ्कन समेत नगरी हचुवाको भरमा कसूरदार ठहर गरी जरीवाना गर्ने गरी भएको विशेष अदालत काठमाडौँको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्ण रुपमा सफाइ पाउने गरी फैसला गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी नारदमणि काफ्लेको पुनरावेदन जिकीर ।
बिगोबमोजिम जरीवाना गर्नुपर्ने विषयमा विशेष अदालतले त्रुटिपूर्ण फैसला गरेको छ । अदालत स्वयमले तत्कालीन समयमा कीर्ते कागजात तयार गरी सवारी दर्ता नामसारी गरेको विषयमा ठहर गरी फैसला गरेको छ । तर प्रतिवादीलाई सजाय गर्ने क्रममा अभियोग माग दावीबमोजिम हुने तर विगोबमोजिम सजाय नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६३।१०।४ र मन्त्रिपरिषद्को मिति २०६३।५।६ को निर्णयलाई आधारमानी फैसला गरेको छ । फैसला गर्दाको मितिमा विगो यकीन हुँदाहुँदै पनि विगो कायम नगरी सामान्य जरीवाना गरी प्रचलित कानूनमा भएको व्यवस्था प्रतिकूल हुने गरी फैसला गरिएको छ । त्यस्तै प्रतिवादीहरू राजीप महर्जन र राजन नापितलाई बिना आधार र कारण सफाइ दिइएको छ । अतः अभियोग दावीअनुसार विगो कायम गरी सो बिगो कानूनअनुसार प्रतिवादीहरूबाट असूलउपर गरी गैरकानूनी रुपमा नामसारी भएको सवारी साधन जफत हुने भनी फैसला गर्नुपर्नेमा सो नगरी भएको फैसला कानूनसम्मत् नहुँदा सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकीर ।
यसमा पैठारी महसूल नै नवुझाई कीर्ते कागज तयार गरी भित्र्याएका सवारी साधनको अभिलेख एवं Blue Book नै नभएको अवस्थाको भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको गाडीमा सवारीधनी कायम गरी दर्ता मिति, प्रज्ञापन नं.र मिति काल्पनिक राखी वद्नियतपूर्वक आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको भनी मुद्दा चलेकोमा मिसिल संलग्न सबूद प्रमाणको आधारमा समान अवस्थाका प्रतिवादीलाई कसूर कायम गर्ने गरेको तर प्रतिवादीहरू मध्ये राजन नापित र राजीव महर्जनलाई सफाइ दिएको विशेष अदालत काठमाडौँको फैसला प्रमाणको विवेचना र मूल्याङ्कन गर्दा फरक पर्ने देखिँदा अ.वं.२०२ नं.बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु, साथै विशेष अदालत काठमाडौँको फैसलाउपर कसूर कायम भै सजाय पाएका प्रतिवादीहरू नारदमणि काफ्ले र धर्मराज भण्डारीको यस अदालतमा पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदनपत्रको प्रतिलिपिहरू पठाई महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिनु भन्ने यस अदालतको मिति २०६५।१।३१ को आदेश ।
यसमा प्रतिवादीहरू नारदमणि काफ्ले र धर्मराज भण्डारीले सफाइ पाउने ठहर्याई फैसला गर्नु पर्नेमा सो नगरी कसूरदार ठहर्याई भएको विशेष अदालत काठमाडौँ मिति २०६४।३।३२ को फैसला मिलेको नदेखिंदा सो हदसम्म उल्टी हुने र सफाइ पाउने प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम र कसूरदार ठहरिएका प्रतिवादीको हकमा विगो कायम नगरेको हदसम्म उल्टी गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री वलराम के.सी.को राय ।
मिसिल संलग्न सबूद प्रमाणहरूबाट अभियोग माग दावीबमोजिम प्रतिवादीहरू नारदमणि काफ्ले र धर्मराज भण्डारीले गैरकानूनी रुपमा भन्सार राजश्व हानि नोक्सानी पुर्याई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ का दफा ७(१) बमोजिम कसूर गरेको देखिएकोले निजहरूलाई सोही दफा र दफा २९ (२) बमोजिम जनही रु.५,०००।–का दरले जरीवाना हुने ठहर्याई र अरु प्रतिवादीहरूलाई सफाइ दिने गरी विशेष अदालत काठमाडौँबाट मिति २०६४।३।३२।२ मा भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक नारदमणि काफ्ले र धर्मराज भण्डारीलाई सफाइ दिने गरी मा.न्या.वलराम के.सी.बाट व्यक्त गरिएको राय फैसलामा सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९को नियम ३(१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश अवधेशकुमार यादवको राय ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारतर्फका विद्वान नायव महान्यायाधिवक्ता राजनारायण पाठक, सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल तथा उपन्यायाधिवक्ता शंकर राईले वा.३ च ४०४४ नं.को गाडी तत्कालीन अवस्थामा वा.२च २४७९ नं.रहेकोमा सो सवारी साधनको विषयमा पुरानो रेकर्ड हराएको भनी रेकर्ड कायम गर्न नयाँ वुक खडा गरिएको भन्ने व्यहोरा उल्लेख गरी मिति २०५७।१२।२९ मा राजन नापितबाट टसी छवाङ्ग लामाका नाममा नामसारी गराई ठाउँसारीको लागि सोही दिन पत्र लेखिएको अवस्था छ । पुरानो रेकर्ड नभएको अवस्थामा भन्सार कार्यालय वुझ्नुपर्नेमा यसरी वुझिएको देखिंदैन । पहिले दर्ता भएको ब्लुबुक हेरेर नामसारी गरेको भनी प्रतिवादीले वयान गरे पनि प्रमाणको रुपमा सो ब्लुबुक पेश हुन सकेको अवस्था छैन । यसबाट पहिले दर्ता भएको गाडी नामसारी गरेको नभई कुनै रेकर्ड नै नभएको गाडी दर्ता गरिएको पुष्टि हुन्छ । यस स्थितिमा विगो कायम नगरेको बिशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको र एकै अपराधका केहि प्रतिवादीलाई सफाइ दिएको समेत मिलेको अवस्था नहुँदा विशेष अदालतको फैसला केही उल्टी गर्नुपर्नेमा सदर गरेको माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय सो हदसम्म केही परिवर्तन गरी अभियोगदावीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादीहरू तर्फका विद्वान वरिष्ठ अधिवक्ता यज्ञमूर्ती वञ्जाडे तथा अधिवक्ताहरू कृष्णप्र्रसाद सापकोटा, रेवत खरेल र यदुनाथ खनालले २०५३ सालको प्रज्ञापनपत्र कीर्ते भयो भनी अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीमध्येका नारदमणि काफ्ले मिति २०५६।७।११ मा र धर्मराज भण्डारी मिति २०५६।८।११ मा हाजिर भई कामकाज गरेका व्यक्ति हुँदा २०५३ सालमा कीर्ते प्रज्ञापनपत्रका आधारमा निजहरूले दर्ता गरे भनी भन्न मिल्ने अवस्था छैन । वा ३ च ४०४४ नम्वरको गाडी पक्राउ परेकोमा तत्कालीन अवस्थामा सो गाडी २४७९ नं. थियो । गाडीको मोडल १९९५ भनी उल्लेख भएकाले २०५३ सालमा दर्ता हुनु स्वभाविक हो । प्राविधिकबाट जांच गर्दा सवै विवरण दुरुस्त छ भनी उल्लेख गरेको अवस्था छ । २०५५ सालमा कर तिरेको प्रमाणपत्र भएको र सो प्रमाणलाई वादीले अन्यथा भन्न नसकेको अवस्थामा सो गाडीको अस्तित्व पहिले नैं रहेको र प्रतिवादीहरूबाट केवल नामसारी गर्ने कामसम्म भएको प्रमाणित हुन्छ । पुरानो कागजातको आधारमा नामसारीसम्म गर्ने क्रममा केही प्रक्रियागत त्रुटि भएको भएपनि सो कार्य भ्रष्टाचारजन्य कसूर हुन नसक्ने भएकोले प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउनुपर्ने अवस्था हुँदा माननीय न्यायाधीश श्री वलराम के.सी.को राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
निर्णय सुनाउन आज तोकिएकोमा विद्वान कानून व्यवसायीहरूको बहस वुँदा तथा पुनरावेदन पत्र सहितका सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीश श्री वलराम के.सी. तथा अवधेशकुमार यादवले व्यक्त गरेको रायमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा प्रतिवादीहरू नारदमणि काफ्ले र धर्मराज भण्डारीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) बमोजिमको कसूर गरेको तथा प्रतिवादीहरू राजीप महर्जन र टसी छवाङ्ग लामाले सोही साविक र हालको ऐनको दफा ८ तथा ८(४) को कसूर गरेको हुँदा सोही ऐनबमोजिम निजहरूलाई सजाय गरी नेपाल सरकारलाई गरेको हानि नोक्सानीको विगो रु.५,८५,९२१।३० प्रतिवादीहरूबाट असूलउपर गरी विगोबमोजिम सजाय गरिपाऊँ भन्ने र अर्का प्रतिवादी राजन नापितले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६क तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिम कसूर गरेकाले सोही ऐनबमोजिम सजाय गरिपाऊँ भनी अभियोगपत्रमा दावी लिइएको पाइन्छ ।
३. प्रस्तुत मुद्दामा विशेष अदालतबाट प्रतिवादीमध्येका नारदमणि काफ्ले र धर्मराज भण्डारीले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ७(१) र प्रतिवादी टसी छवाङ्ग लामाले सोही ऐनको दफा ८ बमोजिमको कसूर गरेको ठहर्याई जनही रु.५०००।– जरीवाना हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर्याई फैसला भएपश्चात् सो फैसलाउपर प्रतिवादीहरू नारदमणि काफ्ले र धर्मराज भण्डारी तथा वादी नेपाल सरकारको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेको देखिन्छ । उक्त पुनरावेदनउपर सुनुवाइ हुँदा यस अदालतको संयुक्त इजलासबाट माननीय न्यायाधीश वलराम के.सी.ले विशेष अदालतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाइ दिनुपर्ने राय व्यक्त गरेको र माननीय न्यायाधीश अवधेशकुमार यादवले विशेष अदालतको फैसला सदर हुने भनी राय व्यक्त गरेकोले संयुक्त इजलासमा एउटै राय वन्न नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
४. प्रतिवादीहरूको पुनरावेदन जिकीर हेर्दा प्रतिवादीहरू मध्येका नारदमणि काफ्ले शाखा अधिकृत र धर्मराज भण्डारी खरिदार पदमा बागमती यातायात व्यवस्था कार्यालयमा कार्यरत् रहेका व्यक्ति भन्नेमा विवाद देखिंदैन । निजहरू सो कार्यालयमा कार्यरत् रहँदाका अवस्थामा दर्तासम्बन्धी कुनै अभिलेख एवं ब्लुबुक नै नभएको अवस्थाको भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको देखिएको वा २ च २४७९ (हाल वा ३ च ४०४४) नं.को गाडीलाई वैधता दिने उद्देश्यले राजन नापितलाई सवारीधनी कायमगरी दर्ता मिति, प्रज्ञापनपत्र नं. र मिति काल्पनिक राखि, फाइल हराएको भनी नयाँ फाइल खडा गरी टसी छवाङ्ग लामाको नाममा मिति २०५७।१२।२९ मा नामसारी गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको भन्ने अभियोग लगाइएको देखिन्छ ।
५. मिति २०५७।१२।२९ मा तयार गरिएको सवारी दर्ता प्रमाणपत्रको सिरमा लेखिएको व्यहोरा हेर्दा साविक फाइल हराई आएकोले रेकर्ड कायम गर्न नयाँ फायल वुक राखी खडा गरिएको भन्ने उल्लेख गरिएको देखिन्छ । त्यस्तै सवारीको विवरणमा सवारीको किसिम प्रा.कार, कम्पनी टोयोटा, मोडेल–१९९५ च्यासिस न. AE ११०–००२८८८५, इन्जिन नं. ५ACOOO६५१, भन्सारको निस्सा वीरगञ्ज प्र.प.नं. ५४९० र.नं. १३८७१२ मिति २०५३।९।७ बाट भनी उल्लेख भएको पाइन्छ । सवारीको नामसारी गराउनको लागि दिएको दरखास्तमा वा.२ च २४७९ नं.को सवारीधनी राजन नापितले मिति २०५७।१२।२९ मा टसी छवाङ्ग लामालाई बिक्री गरेको भन्ने देखिन्छ । पेश भएको दरखास्तमा सवारी नामसारी गर्नु भन्दा अगाडि प्राविधिकले सवारी जाँच गर्नुपर्ने व्यवस्थाबमोजिम जाँच गरी वा २ च २४७९ नं.को निजी कारको प्राविधिक विवरण सक्कल दर्ता प्रमाणपत्र अनुसार भएको भनी उल्लेख गरेको देखिन्छ । यसरी भएको प्राविधिक परीक्षण समेतको आधारमा गाडी नामसारी गरिएकोले कानूनविपरीत भएको भन्न मिल्दैन भन्ने पनि पुनरावेदक प्रतिवादीहरूको मुख्य जिकीर रहेको देखिन्छ ।
६. गाडीको विवरणका सम्बन्धमा भन्सारको निस्सामा वीरगञ्ज प्र.प.नं. ५४९० र.नं. १३८७१२ मिति २०५३।९।७ भनी उल्लेख भएकोमा सो प्रज्ञापनपत्र नम्वर नै नक्कली भएको भनी वादी नेपाल सरकारबाट दावी लिएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानको क्रममा प्रज्ञापनपत्र नं. ५४९० वास्तविक हो वा होइन भनी मिति २०६०।३।६ को पत्रबाट सोधनी गरिएकोमा विरगज भन्सार कार्यालयको मिति २०६०।३।११ को पत्रबाट आ.व. २०५३।०५४ को प्रज्ञापनपत्रहरू धुलाई सकेको तर प्रज्ञापनपत्र दर्ता रजिष्टरमा सो मितिसम्म प्रज्ञापनपत्र दर्ता नं. ३०३७ मात्र पुगेको देखिँदा प्रज्ञापनपत्र दर्ता नं. ५४९० उक्त कार्यालयमा दर्ता नभएको कुरा प्रज्ञापन दर्ता रजिष्टरबाट देखिएको भनी जवाफ प्राप्त भएको देखिन्छ ।
७. उल्लिखित तथ्यहरूको विश्लेषण गर्दा मिति २०५७।१२।२९ मा राजन नापितको नामबाट टसी छवाङ्ग लामाको नाममा वा. २ च २४७९ नं को गाडी नामसारी गर्न दरखास्त परेपछि यी पुनरावेदक प्रतिवादीहरूले उक्त गाडीको पुरानो स्रेस्ता फेला नपरेको भनी नयाँ स्रेस्ता खडा गरी गाडी नामसारी गरी दिएको देखिन्छ । नयाँ स्रेस्ता खडा गर्ने क्रममा गाडी धनीसँग भएको ब्लुबुक खिची सोहीबमोजिम नयाँ स्रेस्ता बनाउको, नामसारी गर्नुभन्दा अगाडि प्राविधिकले गाडी जाँच गर्दा सक्कल प्रमाणपत्रबमोजिम ठीक छ भनी लेखिदिएकोले सोहीबमोजिम नामसारी गरिएको भन्ने जिकीर प्रतिवादीहरूले लिएको पाइन्छ । तर पुनरावेदक प्रतिवादीहरूले तयार गरेको नयाँ स्रेस्ताको फाइलमा पुरानो सवारीधनीबाट खिचिएको भनिएको ब्लुबुक संलग्न भएको देखिंदैन । नामसारीको लागि ल्याइएको गाडीसँग सम्बन्धित स्रेस्ता कार्यालयमा फेला नपरेपछि सो गाडी कुन प्रक्रियाबाट हालको गाडीधनीको नाममा आएको हो भनी सम्बद्ध कार्यालयमा वुझ्ने र सम्बन्धित व्यक्तिबाट सो गाडीसँग सम्बन्धित कागजात पेश गर्न लगाई त्यसको वैधानिकता परीक्षण गरेर कानूनबमोजिमको प्रक्रिया अगाडि वढाउने जिम्मेवारी यी पुनरावेदक प्रतिवादीहरूमा रहने विषय हो । तर यी पुनरावेदक प्रतिवादीहरूले जुन प्रमाणको आधारमा नयाँ स्रेस्ता खडा गरेको भनेको हो सो प्रमाण फाइलमा संलग्न भएको देखिँदैन र जुन प्रज्ञापनपत्रका आधारमा गाडी ल्याएको भनिएको छ सो प्रज्ञापनपत्रको वैधता के हो भन्नेतर्फ वुझ्ने प्रयास सम्म पनि यी प्रतिवादीहरूले गरेको मिसिल संलग्न प्रमाणबाट देखिंदैन । यसरी आफ्नो कार्यालयमा सम्बन्धित स्रेस्ता नभएपछि सम्बन्धित पक्षबाट सोसँग सम्बन्धित कागजात पेश गर्न लगाउने र पक्षले पेश गरेको प्रमाणको वैधानिकता परीक्षण गर्न यथासम्भव उपाय अवलम्बन गर्नुपर्नेमा सो केही नगरी पक्षले पेश गरेको ब्लुबुकको आधारमा नयाँ स्रेस्ता खडा गरेको भने पनि सो ब्लुबुक समेत फाइलमा नदेखिएको अवस्थामा प्रतिवादीहरूको भनाई तथ्यगत रुपमा पुष्टि हुन आएन ।
८. अर्कोतर्फ अभियोजन पक्षको मुख्य दावी नैं प्रज्ञापनपत्र नम्वर नै काल्पनिक रुपमा राखिएको, दर्तासम्बन्धी कुनै अभिलेख एवं ब्लुबुक नै नभएको अवस्थाको भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको देखिएको वा.२ च.२४७९ (हाल वा ३ च ४०४४) नं. को गाडीलाई वैधता प्रदान गर्ने उद्देश्यले दर्ता फायल र ढड्डा हराएको भनी सोही आधारमा नयाँ स्रेस्ता खडा गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार गरेको भन्ने पाइन्छ । पुरानो स्रेस्ता हराएको भनी खडा गरिएको विवादित नामसारीसम्बन्धी फाइलमा २०५३ सालमा गाडी दर्ता भएको पक्षसँग भएको भनिएको सक्कल ब्लुबुक दाखिल भएको देखिंदैन । नयाँ फाइल वुक राखी खडा गरिएको सवारी दर्ताको अभिलेखमा उल्लेख भएको प्रज्ञापनपत्र नं. ५४९० को आधिकारिकताको सम्बन्धमा वीरगञ्ज भन्सार कार्यालयले आ.व. ०५३–५४ मा प्रज्ञापनपत्र नं ५४९० सम्म नपुगेको भनी जवाफ दिएकोले उक्त सवारी दर्ताको अभिलेखमा उल्लेख भएको प्रज्ञापनपत्र नं. वास्तविक नभई काल्पनिक रुपमा राखिएको भन्ने देखिन्छ । यस अवस्थामा प्रतिवादीहरूले नामसारी गरेको भनिएको विवादित गाडी भन्सारबाट विधिवत रुपमा प्रज्ञापनपत्र भरी आयात गरेको भन्ने तथ्य प्रमाणित भएको देखिँदैन ।
९. पैठारी गरिएको गाडीको प्रज्ञापनपत्र भरेको र भन्सार तिरेको आधारमा मात्र गाडी यातायात कार्यालयमा दर्ता नामसारी वा ठाउँ सारी गर्ने कार्य हुन्छ । प्रज्ञापनपत्र र भन्सार तिरेको रसीदको अभावमा गाडी दर्ता गर्ने गराउने कार्य स्वतः कानूनविपरीत हुन्छ । आफ्नो कार्यालयमा गाडी नामसारीको लागि आएको र सोसम्बन्धी अभिलेख आफ्नो कार्यालयमा नभेटिएपछि उल्लिखित कुनै पनि कागजात नहेरी वैधानिक कागजात बारे विचारै नगरी विना कुनै आधिकारिक कागजात विवादित गाडी नामसारी गर्ने कार्य यी पुनरावेदक प्रतिवादीहरूले गरेको देखिन्छ ।
१०. जहाँसम्म प्राविधिक कर्मचारीले प्राविधिक परीक्षण गर्दा सक्कल प्रमाणपत्रबमोजिम भएको भनेकोले सोही आधारमा गाडी नामसारीको निर्णय गरिएको भन्ने पुनरावेदक प्रतिवादीहरूको भनाई छ सो सम्बन्धमा विचार गर्दा प्राविधिक कर्मचारीको जिम्मेवारी प्राविधिक पक्षसँग मात्र सम्बन्धित हुन्छ । गाडीको प्राविधिक अवस्थाको बारेमा प्राविधिकले यान्त्रिक जाँचसम्म गर्ने हो । गाडी बिक्री, नामसारी वा दर्ता गर्नको लागि आवश्यक पर्ने अन्य स्रेस्ता जस्तै प्रज्ञापनपत्र छ वा छैन, दर्ता भएको छ वा छैन, भन्सार तिरेको छ वा छैन, भन्ने जस्ता स्रेस्ता ठीक भए नभएको जाँच्ने जिम्मेवारी प्राविधिक कर्मचारीको नभई फाँटवाला र निर्णय गर्ने अधिकारीको हुन्छ । केवल प्राविधिक कर्मचारीले दिएको प्रतिवेदनको आधारमा निर्णय गरेको भन्दैमा अन्य आवश्यक प्रमाणको अभावमा गरेको निर्णयले वैधानिकता पाउने र प्रतिवादीहरूले दावीबाट उन्मुक्ति पाउने आधार वन्न सक्दैन । यसरी आफूले अनिवार्य रुपमा वुझ्नुपर्ने आवश्यक प्रमाण नवुझी कुनै स्रेस्ता वा प्रमाणबाट पुष्टि नभएको विवरण उल्लेख गरी गाडी नामसारीको निर्णय गर्ने प्रतिवादीहरूको कामकारवाही अज्ञानतावस वा सामान्य लापरवाहीसाथ गरिएको र त्यसमा निजहरूको वदनियत थिएन भन्न सकिने आधार देखिएन ।
११. तसर्थ विवेचित आधार कारणबाट पुनरावेदक प्रतिवादीहरूले वादी दावीबमोजिम कसूर गरेको पुष्टि भएकोले निजहरूलाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र २९(२) बमोजिम जनही रु.५,०००। का दरले जरीवाना हुने ठहर्याएको विशेष अदालत काठमाडौँको फैसला सदर गरेको माननीय न्यायाधीश अवधेशकुमार यादवको राय मनासिव हुँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छौं ।
न्या.सुशीला कार्की
न्या.भरतराज उप्रेती
इति संवत् २०६८ साल पुस ७ गते रोज ५ शुभम् ...