निर्णय नं. ७२४५ - कर्तव्य ज्यान

निर्णय नं. ७२४५ ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत् २०६० सालको साधक नं. ३४०
फैसला मितिः२०६०।८।२२।२
मुद्दा :– कर्तव्य ज्यान ।
वादीः दुर्गावहादुर अहिरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः जिल्ला रुपन्देही एकला गा.वि.स.वडा नं. ९ घर भई हाल कारागार शाखा रुपन्देहीमा थुनामा रहेको कल्लु धोवी
§ वारदातको दिन अर्थात मिति २०५८।१२।२१ का दिन यि प्रतिवादी कल्लु धोवी ज्यालादारी मजदुरीको रुपमा जाहेरवालाकै खेतमा यिनै मृतक चिनक अहिर निज चिनकको श्रीमती र छोरी समेत भई गहुं काटेको कुरामा विवाद देखिएन । यसरी दिनभरी सगसाथै मिलिजुली काम गरेका यि पीडित र पिडकको बीचमा कुनै पूर्व रिसइवी अदावत रहेकोे वा निज प्रतिवादीले मृतकलाई मार्नुपर्ने सम्मको अन्य कुनै कारण भएको भन्ने कुरा मिसिल संलग्न कागजातबाट देखिदैन ।
§ त्यसका अतिरिक्त यी प्रतिवादीले कर्तव्य गरेको कुरालाई किटानीसाथ जाहेरी दरखास्तमा उल्लेख गरेको भएता पनि कारणको सम्बन्धमा अनभिज्ञता व्यक्त गरेको देखिन्छ । अनुसन्धान तहकिकातको क्रममा भएको बयान कागजमा निज प्रतिवादीले दिनभर जाहेरवालाकै खेतमा निज मृतक र आफू समेत मिलिजुली गहूं काट्ने काम गरेको र सांझपख निज मृतकसंग जग्गा सम्बन्धी विवाद भएकोले हंसियाले १ पटक प्रहार गरेको भनि गरेको बयानलाई अदालतमा समेत स्वीकार गरी यी प्रतिवादीले न्यायिक प्रक्रियालाई जटिल वनाउन तिर नलागी सहज बनाएको देखिने ।
§ दिनभर संगसाथै मिलिजुली काम गरेको व्यक्तिलाई मार्नुपर्ने सम्मको कारण नदेखिएको र जग्गा सम्बन्धी विषयमा सामान्य विवाद उत्पन्न भई हसियाले एकपटक प्रहार गरेको मार्ने सम्मको रिसईवी नभएको र सो कुरा अदालतमा समेत स्वइच्छा पूर्वक बयान गरेको अवस्थामा निज प्रतिवादी कल्लु धोवीलाई कानूनले तोकेको हदसम्म सजायं गर्दा चर्को पर्ने देखिंदा इन्साफको रोहबाट कसूर अनुसार अ.वं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजायं हुने ।
(प्र.नं. १५ र १६)
वादी तर्फवाटः
प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.गोपालप्रसाद खत्रीः पुनरावेदन अदालत वुटवलको मिति २०५९।१०।८ को फैसला अनुसार न्याय प्रशासन ऐन, २०४८ को दफा १० समेत बमोजिम साधक जाहेरी भई दायर हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. जि.रुपन्देही एकला गा.वि.स.वडा नं. ९ पकडीहवा मेरो खेतमा गहुं छरी पाकेको हुंदा ०५८।१२।२१ गते छोरा वर्ष ३० को चिनक अहिर, निजको श्रीमती, छोरी मिरा र प्र.कल्लु धोवीलाई ज्याला मजदूरीमा बोलाई गहूं काटेका, अं. सांझ ७ बजेको समयमा के कस्तो मनसायले विपक्षी कल्लु धोवीले गहूं कटान गर्न लगेको हँसियाले एक्कासी छोरा चिनकको कोखमा प्रहार गरी रगताम्बे अवस्था पारी भागेका, छोरी र श्रीमतीले गुहार गुहार गरेकाले गाउंका मानिसहरु घटनास्थलमा गै उपचारार्थ अस्पतालमा लगी उपचार हुंदाहुंदै रातको २ बजे छोरा चिनकको मृत्यु भएको हुंदा प्रतिवादीलाई पक्राउ गरी कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. हात अर्ध खुम्चिएको, नाकबाट सेतो तरल पदार्थ निस्केको, मुख खुल्ला, मलद्वारबाट रगत निस्केको कम्मरमा ४ इन्च गहिरो १ इन्च लम्वाई घाउचोट भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. जि.रुपन्देही एकला गा.वि.स.वडा नं. ३ बस्ने दुर्गा अहिरले मलाई गहुं काट्न बोलाएकोमा ०५८।१२।२१ गते गहूं काट्न भनि गै म, जाहेरवालाको छोरा चिनक अहिर (यादव), निजको श्रीमती, छोरी भै दिनभर खेतमा गहुं काटी सांझ अं. ६ बजे चिनक अहिर समेत बीच जग्गा सम्बन्धी विवाद हुंदा रिस खप्न नसकी हसियाको चुच्चो धारले १ पटक प्रहार गरेको हो । चिनक चिच्याएको सुनि निजको श्रीमती र छोरी समेत उठी रुन कराउन लागी गाउंबाट मानिसहरु आएको देखि हंसिया त्यही फाली भागेको हुं । हसियाको चोटको कारणबाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी कल्लु धोवीले अनुसन्धान अधिकारी समक्ष गरेको बयान ।
५. ०५८।१२।२१ गते अं. ७ बजे तिर प्र. कल्लु धोवीले मेरो श्रीमान चिनक अहिरलाई हँसियाले प्रहार गरेका हुन् । श्रीमान् चिच्याएपछि म, छोरी उठी हेर्दा श्रीमान पल्टनु भएको थियो। रगत बगेको देखि गुहार गर्दा गाउंलेहरु आइरहेको देखि कल्लु धोवी हसिया फाली भागेका हुन् । उपचार हुंदा हुंदै श्रीमान्को मृत्यु भएको हो भन्ने समेत व्यहोराको मृतककी श्रीमति किसलावती अहिरको कागज । सोही व्यहोराको मृतकको छोरी मिरा यादवको कागज ।
६. घटनास्थलमा फेला परेको हँसिया मेरो घरको हो भनि प्रतिवादी कल्लु धोवीकी आमा रतना धोवीले गरेको सनाखत कागज ।
७. ०५८।१२।२१ का दिन हामीहरु आ–आफ्नो घरमा काम गरी रहेको बेला सांझ ७ बजेको समयमा मृतक चिनक अहिरलाई गहुं काटी रहेको अवस्थामा प्र. कल्लु धोवीले हंसिया प्रहार गरी हानेको भन्ने हल्ला सुनि घटनास्थलमा गै हेर्दा कल्लु धोवी भागेको, चिनक रगताम्य वेहोस भएकोले उपचारका लागि लगि उपचार हुंदा हुंदै मृत्यु भएको हो भन्ने समेत व्यहोराको कनहिया यादव, विक्रम यादव, ओम प्रकाश यादव, छोटेलाल यादव, वैजनाथ यादव समेतका मानिसहरुको कागज ।
८. प्र. कल्लु धोवीले जग्गा सम्बन्धी पूर्व रिसइवीको कारण जाहेरवालाको छोरा चिनक अहिरलाई धारिलो हतियारले हानी सोही चोटका कारण मृत्यु भएको हुंदा प्रतिवादी कल्लु धोवीले मु.ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीत ऐ.को १३(१) नं. बमोजिमको कसूर अपराध गरेको देखिएकोले निज प्रतिवादी कल्लु धोवीलाई मु.ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. वमोजिम सजायं गरी पाउं भन्ने समेत व्यहोराको अभियोगपत्र ।
९. म जाहेरवालाको घरमा गहुं काट्न गएको थिएं । सांझ पख जाहेरवालाको छोरा चिनक अहिरसंग घरको घडेरी सम्बन्धमा झगडा हुंदा हसियाले पछाडिबाट गर्धननिर एक पटक हानेको हुं। भाग्न लाग्दा गाउंलेहरुले पक्राउ गरेका हुन मार्ने नियतले निजलाई हानेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कल्लु धोवीले अदालत समक्ष गरेको बयान ।
१०. दुर्गा अहिर र देख्ने किसलावती अहिर समेतको बकपत्र ।
११. प्रतिवादीले अदालत समक्ष गरेको साविती बयान, जाहेरवाला र मृतकको पत्नीले गरेको बकपत्र, घटनास्थल मृचुल्का, लास जांच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन समेतबाट निज प्रतिवादीले धारिलो हतियार हंसियाले मृतकलाई प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि हुन आएकाले अभियोेग माग दावी बमोजिम प्रतिवादी कल्लु धोवीले कर्तव्य गरी ज्यान मारी कसूर गरेको ठहर्छ । सो ठहर्नाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार सर्वस्व सहित जन्मकैदको सजायं हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०५९।३।२७ को फैसला ।
१२. मैले मृतकलाई मार्नु पर्ने पूर्व रिसइवी, पूर्व मनसाय, पूर्व तयारी केही नभएको हुंदा र तत्काल उठेको रिस थाम्न नसकी हानेको हो भनि अधिकार प्राप्त अधिकारी र अदालत समक्ष भनेको स्थितिमा सोको गलत अर्थ लगाई आरोपित कसूरमा सावित रहेको भनि हदैसम्मको सजायं गरेको शुरु फैसला त्रुटीपूर्ण हुंदा बदर गरी अभियोग दावीबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी कल्लु धोवीको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।
१३. प्रतिवादी कल्लु धोवीले ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम कसूर अपराध गरेको देखिंदा निजलाई सोही नम्बर अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको रुपन्देही जिल्ला अदालतको ०५९।३।२७ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको ०५९।१०।८ को फैसला ।
१४. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी कल्लु धोवीलाई अभियोग दावी बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको शुरु सदर गरेको पुनरावेदन अदालत वुटवलको ०५९।१०।८ को साधक जाहेरी फैसला मिलेको छ छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१५. निर्णय तर्फ बिचार गर्दा प्रतिवादी कल्लु धोवीले हसियाको चुच्चो धारले मृतक चिनक अहिरलाई एकपटक प्रहार गरेकोमा निजको श्रीमती र छोरी समेत रुन कराउन थालेकोले गाउंलेहरु आएको देखी हंसिया त्यही फाली भागेको हुं भनि आरोपित कसूर गरेकोमा अनुसन्धानको सिलसिलामा सावित भै उक्त साविती बयानलाई निजले अदालतमा समेत स्वीकार गरेको देखिन्छ। निजको साविती बयानलाई किटानी जाहेरी, चश्मदिद गवाहका रुपमा रहेका मृतक चिनक अहिरको श्रीमती विसलावती अहिर तथा छोरी मिरा यादवले मृतक चिनक अहिरलाई कल्लु धोवीले हंसियाले प्रहार गरी हंसिया छाडी भागेका हुन् भनि अनुसन्धान अधिकारी समक्ष बयान कागज गरेकोमा सोही बमोजिमको बकपत्र अदालतमा समेत गरेको देखिन्छ । मृतकको कम्मरमा ४ इन्च गहिरो १ इन्च लम्बाईको घाउचोट भएको भन्ने लाश प्रकृति मुचुल्का, वारदात स्थलमा फेला परेको हसिंया आफ्नो भनि प्रतिवादीको आमा रतना धोवीले गरिदिएको सनाखत कागज पछाडि दाहिनेपटृी दाहिने मिर्गौलासम्म छेड्ने भएको घाउ भन्ने उल्लेख भएको शव परीक्षण प्रतिवेदन समेतका आधार प्रमाणबाट प्रतिवादीले धारिलो हतियार हसिया प्रहार गरी मृतक चिनक अहिरलाई कर्तव्य गरी मारेको देखिंदा निज प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायं गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको मिति २०५९।१०।८ को साधक जाहेरी फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ ।
१५. मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा वारदातको दिन अर्थात मिति २०५८।१२।२१ का दिन यि प्रतिवादी कल्लु धोवी ज्यालादारी मजदुरीको रुपमा जाहेरवालाकै खेतमा यिनै मृतक चिनक अहिर निज चिनकको श्रीमती र छोरी समेत भई गहुं काटेको कुरामा विवाद देखिएन । यसरी दिनभरी सगसाथै मिलिजुली काम गरेका यि पीडित र पिडकको बीचमा कुनै पूर्व रिसइवी अदावत रहेकोे वा निज प्रतिवादीले मृतकलाई मार्नुपर्ने सम्मको अन्य कुनै कारण भएको भन्ने कुरा मिसिल संलग्न कागजातबाट देखिदैन । त्यसका अतिरिक्त यी प्रतिवादीले कर्तव्य गरेको कुरालाई किटानीसाथ जाहेरी दरखास्तमा उल्लेख गरेको भएता पनि कारणको सम्बन्धमा अनभिज्ञता व्यक्त गरेको देखिन्छ । अनुसन्धान तहकिकातको क्रममा भएको बयान कागजमा निज प्रतिवादीले दिनभर जाहेरवालाकै खेतमा निज मृतक र आफू समेत मिलिजुली गहूं काट्ने काम गरेको र सांझपख निज मृतकसंग जग्गा सम्बन्धी विवाद भएकोले हंसियाले १ पटक प्रहार गरेको भनि गरेको बयानलाई अदालतमा समेत स्वीकार गरी यी प्रतिवादीले न्यायिक प्रक्रियालाई जटिल वनाउन तिर नलागी सहज बनाएको देखिन्छ ।
१६. यसरी उपरोक्त बमोजिमका तथ्य एवं आधार प्रमाणबाट दिनभर संगसाथै मिलिजुली काम गरेको व्यक्तिलाई मार्नुपर्ने सम्मको कारण नदेखिएको र जग्गा सम्बन्धी विषयमा सामान्य विवाद उत्पन्न भई हसियाले एकपटक प्रहार गरेको मार्ने सम्मको रिसईवी नभएको र सो कुरा अदालतमा समेत स्वइच्छा पूर्वक बयान गरेको अवस्थामा निज प्रतिवादी कल्लु धोवीलाई कानूनले तोकेको हदसम्म सजायं गर्दा चर्को पर्ने देखिंदा इन्साफको रोहबाट कसूर अनुसार अ.वं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजायं हुनु उपयुक्त देखिएकोले १० वर्ष कैद सजाय हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथी ठहर खण्डमा लेखिए बमोजिम प्रतिवादी कल्लु धोवीलाई ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सजायं हुने ठहरी अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहरेकाले रुपन्देही जिल्ला अदालतको मिति २०५९।३।२७ को फैसलाको तपसील नं. १ अनुसार राखिएको लगतमा सो व्यहोरा जनाई ०५९।१२।२६ देखि थुनामा रहेको देखिंदा सो मितिबाट १० वर्ष कैद ठेकी असुल गर्नु भनि शुरु रुपन्देही जिल्ला अदालतमा लेखि पठाई दिनु ......१
रुपन्देही जिल्ला अदालतको फैसलाको तपसील नं. २ अनुसार प्रतिवादीको अंश सर्वश्व गर्नु नपर्ने हुंदा सो अनुसार राखिएको लगत कटृा गर्नु ...... २
फैसलाको जानकारी थुनुवा प्रतिवादी कल्लु धोवीलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ....... ३
उपर्युक्त रायमा सहमत छु ।
प्र.न्या.केदारनाथ उपाध्याय
इति संवत् २०६० साल मंसीर २२ गते रोज २ शुभम् ।