निर्णय नं. ७२४७ - हक कायम समेत

निर्णय नं.७२४७ ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
का.मु. सम्माननीय प्रधानन्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री राम नगिना सिंह
संवत् २०५७ सालको दे.पु.नं. ..६५२६
फैसला मितिः २०६०।७।१७।२
मुद्दा :– हक कायम समेत
पुनरावेदक
वादीः: नुवाकोट जि.महाकाली गा.वि.स.वडा नं. ८ बस्ने कमान सिंह तामाङ्ग
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ. बस्ने विसुमाया तामाङ्ग
§ पुनरावेदक वादीले मिति २०३४।१।३१ को घरसारको राजिनामाबाट विवादित जग्गामा आफ्नो हक हुन आएको भनि दावी जिकिर लिएपनि सोही जग्गा २०३७ सालमा प्रतिवादी विसुमायालाई कागज गरी फिर्ता दिएको देखिएबाट निजको फिराद माग दावी विश्वसनीय नदेखिने।
§ राजिनामाको लिखत मिति २०३४।१।३१ पछि २०३४।९।२७ मा नापी हुंदाका अवस्था फिल्डबुक उतारमा विवादित जग्गाको जग्गाधनीमा प्रतिवादी विसुमायाको नाउं उल्लेख भएको तथ्य समेत मिसिल प्रमाणबाट देखिन आएको स्थितिमा विवादित जग्गामा यि पुनरावेदक वादीको हक कायम हुन सक्ने नदेखिंदा वादी दावी अनुसार हक कायम भै दर्ता समेत हुने ठहर्याएको जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने।
(प्र.नं. २०)
पुनरावेदक वादीका तर्फवाट : विद्वान अधिवक्ता श्री जगतबहादुर कार्की
विपक्षी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
का.मु.प्र.न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५७।३।२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर निम्न छ :–
२. प्र. विसुमाया तामाङ्गको बाबु कृष्णबहादुर तामाङ्गको छोरा नभई छोरी विपक्षी विसुमाया तामाङ्गनी मात्र हुंदा बाबु कुष्णबहादुरको मृत्यु पश्चात विपक्षीको हक हुन आएको कृष्णबहादुरको बाबु विपक्षीको बाजे जगासिंग तामाङ्गको नाउंमा ०९ साल देखि बाली आउने गरी १४ सालमा नम्बरी भएको पूर्व मानबहादुरको बारी पश्चिम मानबहादुर समेतको बारी दक्षिण ऐ.को वारी उत्तर मानबहादुरकै हिलेबारी ४ किल्ला भित्रको विरौटो खेत ।४ विपक्षी बिसुमाया तामाङ्गले म फिरादीलाई घरसारमा मिति २०३४।१।३१ मा रु.९९।– मा राजिनामा गरी जग्गाको हक छाडी दिएकोले २०३४ सालदेखि अविछिन्न रुपमा जग्गा उपभोग गरी आएको छु । सो जग्गा मेरा नाउंमा नापी हुन छुट भै फिल्डबुकमा विपक्षीको नाम लेखिन गई कि.नं. ४०९ क्षेत्रफल ३–८–१–१ कायम हुन आएकोले छुट जग्गा दर्ता गरी पाउं भनि गा.वि.स.को सिफारिश समेत राखि मिति ०४७।१।१९ मा मा.पो.का.मा. निवेदन दिएको थिएं । सो निवेदनको सिलसिलामा विपक्षीलाई झिकाई बयान गराउंदा ०३४।१।३१ को राजिनामामा किर्ते हो सो जग्गा जगतबहादुरले कमाएको छ भनि बयान गरेकीले सद्दे किर्ते र हक बेहक तर्फ हेर्ने क्षेत्राधिकार यस कार्यालयलाई नभएकोले ३५ दिन भित्र नुवाकोट जिल्ला अदालत जानु भनि सुनाएकोले फिराद गर्न आएको छु । मिति २०३४।१।३१ को राजिनामा अनुसारको कि.नं. ४०९ क्षेत्रफल ३–८–१–१ को जग्गा हक कायम गरी दर्ता समेत गरी पाउं भन्ने वादी कमान सिं तामाङ्गको फिराद पत्र ।
३. मिति २०३४।१।३१ मा राजिनामा गरि लिएको भन्ने कुरा झुठृा हो । सो जग्गा तिम्रो नाउंमा दर्ता गरी दिएको छ । लालपूर्जा राखि दिएको छु भन्नु भएको थियो । २०३४ सालमा वादीले राजिनामा गरि लिएको भए सो जग्गा वादीकै नाउंमा दर्ता गराउनु पर्ने थियो । विपक्षीले उक्त जग्गा एकलौटी खाने मनसाय गरी मालपोत कार्यालयमा दर्ता गराउने तर्फ कारवाही गरेको भन्ने मेरा नाउंमा सूचना आएपछि मात्र थाहा पाएको हो । ०३४ सालमा मेरो उमेर १६ वर्ष पुगेको थिएन । वादीको सम्पूर्ण लेख झुठ्ठा हो । सो जग्गामा मेरो हक कायम गरी पाउं भन्ने प्रतिवादी विसुमाया तामाङ्गको प्रतिउत्तर पत्र ।
४. वादीले पेश गरेको मिति २०३४।१।३१ को घरायसी सक्कल कागज आज यस अदालतबाट देखाउंदा देखें । सो लिखतमा लागेको सिरपुछारको २८२ ल्याप्चे मेरो होइन देखाएको ल्याप्चे वादीले किर्ते सही बनाएका हुन र लिखत र अन्तर साक्षी समेत मिलि किर्ते ल्याप्चे सही गरी जालसाजी लिखत खडा गरेका हुन भन्ने अ.वं. ७८ नं. बमोजिम प्रतिवादी विसुमाया तामाङ्गले गरेको बयान ।
५. प्रतिवादीले गरेको बयान झुठृा हो । ०३४।१।३१ को लिखत सद्दे हो किते जालसाजी होइन भन्ने वादी वा.कृष्णबहादुर तामाङ्गले अ.वं. ७८ नं. बमोजिम गरेको बयान ।
६. २०३४।१।३१ को लिखत देखाउंदा देखे । सो लिखत मैले लेखेको होइन । को कस्ले लेखे मलाई थाहा छैन लिखत भएको मितिमा म आमाको कृयामा बसेको छु । सो लिखतमा लागेको सही विसुमाया तामाङ्गनीको होइन । सो ल्याप्चे सही किर्ते हो भन्ने लिखत साक्षी डिल्लीबहादुर खड्काले गरेको बयान ।
७. २०३४।१।३१ को लिखत देखाउंदा देखें । सो लिखतमा साक्षी म बसेको जस्तो मलाई लाग्दैन। धेरै वर्ष पहिलाको कुरा हुंदा म यकिन खुलाउन सक्दिन । सो लिखतमा लागेको दाया वायां ल्याप्चे सही छाप विसुमायाको होइन भन्ने अन्तरसाक्षी कृष्णबहादुर तामाङ्गले गरेको बयान ।
८. वादी कमानसिंह तामाङ्गले प्र. विसुमाया तामाङ्गसंग ०३४।१।३१ गते रु. ९९।– मा वादीले दावी गरेको जग्गा राजिनामा गरी लिई सोही मिति देखि वादीले नै भोगचलन गरी आइरहनु भएको छ । वादीको हक कायम हुनु पर्छ र सो ०३४ सालको लिखत सद्दे सांचो हो भन्ने वादीका साक्षी रेसमबहादुर तामाङ्ग र रोमबहादुर भण्डारीको एकै मिलानको बकपत्र ।
९. जग्गा विसुमायाको नाउंमा नापी भएको हो । जग्गा हालसम्म कमान सिंहले खाई आएका छन् । अरु कुरा मलाई थाहा छैन भन्ने प्र.का साक्षी सम्मरबहादुर खडका र मलाई यस सम्बन्धमा केही कुरा थाहा छैन भन्ने अर्को साक्षी लोकबहादुर खड्काको बकपत्र ।
१०. मिति २०३१।२।८ र ०३७।२।१९ को गा.वि.स.बाट प्राप्त लिखत देखे । सो लिखत मध्ये ०३१।२।८ को लिखतमा मेरो बुबा कमान सिंहले गरेको भनेको ल्याप्चे सही प्र.हरु मिलि किर्ते ल्याप्चे लगाई जालसाजी कागज खडा गरेको हुन् र ०३७।२।१९ को निवेदनमा बिसुमाया तामाङ्ग ०३७ सालमा १७ वर्ष भयो भनि जालसाजीबाट उमेर लेखाएको मात्र हो । मा.पो.का. नुवाकोटमा जग्गा दर्ता गरी पाउं भनि दिएको निवेदन साथ पेश गरेको नागरिकताको प्रमाण पत्रको फोटोकपीमा निजको जन्म २०१५।१०।५ मा भएको हुंदा मैले राजिनामा गरी लिंदा बिसुमाया तामाङ्ग सावालक भई सकेको प्रष्ट देखिन्छ । त्यस कारण सो कागजमा १७ वर्ष भयो भनि झुठृा व्यहोरा लेखाएको हो । निवेदन पनि जालसाजी हो भन्ने अ.वं. ७८ नं. बमोजिम वादीका वारेस मिनबहादुर तामाङ्गले अदालतमा गरेको बयान ।
११. २०३२।२।८ र ०३७।२।१९ को लिखत र निवेदन सद्दे हो जालसाजी होइन भन्ने प्रतिवादीका वारेस सुरथबहादुर पराजुलीले अ.वं. ७८ नं. बमोजिम गरेको बयान, प्र. केदारबहादुर र केशवराजले शुरु म्यादै गुजारी बसेको ।
१२. प्रतिवादीको ०३४।१।३१ को विवादित लिखत सद्दे होइन भन्ने जिकिर तथा सो विवादित लिखतका साक्षी कृष्णबहादुर समेतको ल्याप्चे सही छाप आफ्नो होइन भन्ने जिकिर पुग्न नसकी विवादित लिखत सद्दे सांचो देखिएको र सोही लिखतको आधार समेतबाट वादीको हक विवादित जग्गामा पुग्ने देखिंदा वादी दावा अनुसार हक कायम भई दर्ता समेत हुने ठहर्छ भन्ने समेतको नुवाकोट जिल्ला अदालतको फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन । विशेषज्ञको रायलाई अदालतमा उपस्थित गराई साक्षी सरह बकपत्र गराई प्रमाणको रुपमा लिनु पर्नेमा कानूनद्वारा निर्दिष्ट प्रक्रिया अबलम्बन नगरी विशेषज्ञले व्यक्त गरेको रायलाई प्रमुख प्रमाणको रुपमा ग्रहण गरिएको फैसला प्रतिपादित सिद्धान्त प्रतिकूल छ । ०३१।२।८ मा गा.पं.ले विपक्षी वादीलाई तायदाती विवरण भरि जिम्मा दिएको लिखतमा बिसुमायाको उमेर ११ वर्ष उल्लेख भएकोले विसुमाया नावालक भएको कुरा विपक्षीलाई जानकारी थिएन भनि मान्न सकिने अवस्था छैन । बिसुमायाले ०३७।२।१९ मा आफ्नो उमेर १७ वर्ष पुगेकोले पैतृक सम्पत्ति जिम्मा लिन सक्ने हुंदा फिर्ता पाउन ०३७।२।२१ मा गा.प.मा निवेदन दिई ५ वर्षको बाली समेत विपक्षी वादीबाट बुझी भरपाइ गरी लिएकी छन् । यदी ०३४।१।३१ मा राजिनामा गराई लिएको भए वादीले ५ वर्षको बाली आयस्ता बुझाउने थिएनन् । तसर्थ नुवाकोट जिल्ला अदालतबाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी पुनरावेदन जिकिर बमोजिम इन्साफ पाउं भन्ने समेतको प्रतिवादी डिल्लीबहादुर खड्का र बिसुमाया तामाङ्ग थापाको संयुक्त पुनरावेदन पत्र ।
१४. उक्त फैसलामा चित्त बुझेन । विशेषज्ञको रायलाई प्रमाणको रुपमा ग्रहण गर्दा प्रमाण ऐन २०३१ बमोजिम राय व्यक्त गर्ने विशेषज्ञलाई अदालतमा उपस्थित गराई साक्षी सरह बकपत्र गराई प्रतिवादीलाई जिरह गर्ने अवसर प्रदान गर्नुपर्नेमा कानूनद्वारा निर्दिष्ट प्रक्रिया अवलम्वन नगरी भएको फैसला कानूनी सिद्धान्त समेतको प्रतिकूल छ । वादीले प्रमाणको रुपमा पेश गरेको २०३४।१।३१ को राजिनामा लिखत आफूले नलेखेको र सहिछाप समेत आफ्नो नभएको हुंदा जालसाज गरी तयार गरेको लिखतलाई मान्यता दिई सजायं गरिएको फैसला त्रुटीपूर्ण हुंदा उल्टी गरी पुनरावेदन जिकिर बमोजिम इन्साफ पाउं भन्ने समेतको प्रतिवादी कृष्णबहादुर तामाङ्गको पुनरावेदन पत्र ।
१५. यसमा २०३१।२।८ को तायदाती कागजको ल्याप्चे सहीछाप फिरादीको भएको देखिन आएको स्थितिमा सो मा उल्लेखित सम्पत्तिको संरक्षक बनि जिम्मेवारी लिने जो व्यक्ति हो उही व्यक्ति यी वादीले संरक्षित भै बस्ने उल्लेखित तायदाती विवरणमा ११ वर्ष उमेर उल्लेख भएकी बिसुमायालाई २२ वर्ष उमेरकी सावालिक दर्शाइ लिएको मिति २०३४।१।३१ को लिखतलाई सद्दे ठहर गरी सो कै आधारमा विवादित जग्गामा वादीको हक कायम गरी दर्ता समेत हुने ठहर गरेको शुरु फैसला फरक पर्न सक्ने भई विचारणिय देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
१६. यसमा लगाउको दे.पु.नं. ३६९२ मा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
१७. वादीले दावी लिएको मिति २०३४।१।३१ को लिखत बमोजिमको उक्त जग्गा राजिनामा बमोजिम निजको रहे भए पूनः २०३७ सालमा भएको कागजबाट यि पुनरावेदीकालाई फिर्ता दिने प्रश्न विद्यमान नदेखिने र दावीको जग्गा नापी हुंदाको अवस्थामा यिनै पुनरावेदकको नाममा मिति २०३४।९।७ मा नापी कायम भई उल्लेख भएको प्रमाणको फिल्डबुक उतारबाट देखिन आउंदा विपक्षी वादीको उक्त मिति २०३४।९।७ को घरसारको राजिनामा यकिन रहेको भन्न मिल्ने देखिन आएन । यस स्थितिमा पुनरावेदिका विसुमायाको हक कायम हुने ठहर गर्नुपर्नेमा अन्यथा गरी शुरु नुवाकोट जिल्ला अदालतबाट मिति २०५६।६।१६ मा भएको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको फैसला ।
१८. पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा चित्त बुझेन । २०३४।१।३१ को राजिनामाको लिखत सदर नै रहेको छ । उक्त लिखतलाई बदर घोषित गराउने तर्फ विपक्षीको दावी पनि छैन । आफ्नो पूर्ण स्वामित्व रहेको जग्गा बिक्री वितरण गर्न विपक्ष कानून तथा व्यवहारले समेत सक्षम हुनुहुन्थ्यो । विपक्षी २०३४।१।३१ सम्ममा १६ वर्ष उमेर पुगिसकेको प्रष्ट हुंदा उमेर पुगेका व्यक्तिबाट गरे भएको हदमुनिको राजिनामाबाट मेरो हक कायम हुन आएकोले पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी न्याय पाउं भन्ने समेत व्यहोराको वादी कमान सिंह तामाङ्गको पुनरावेदन ।
१९. नियमानुसार पेश भै आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात समेत अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री जगतबहादुर कार्कीले प्रस्तुत गर्नु भएको वहस समेत सुनि वादी दावी पुग्ने ठहर्याएको शुरु नुवाकोट जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो ।
२०. निर्णयतर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा बाबु कृष्णबहादुरको मृत्यु पश्चात विपक्षीको हक हुन आएको विरौटो खेत । ४ जग्गा निज विसुमाया तामाङ्गले मलाई मिति २०३४।१।३१ मा रु. ९९।– मा घरसारमा राजिनामा गरी दिई भोग गरी आएकोमा मेरा नाउंमा नापी हुन छुट भै छुट जग्गा दर्ता गरी पाउं भनि मा.पो.का.मा निवेदन दिंदा सद्दे किर्ते र हक वेहक तर्फ अदालत जानु भनि सुनाएकाले फिराद गर्न आएको छु । हक कायम गरी दर्ता समेत गरी पाउं भन्ने फिराद माग दावी र सम्पत्ति हिनामिना हुन नपावस् भनि मेरो सम्पत्तीको तायदाती विवरण तयार गरी फिरादी कमान सिंह तामाङ्ग र बाजे नाता पर्ने जगतबहादुर तामाङ्गलाई गा.पं.ले जिम्मा दिएकोले मिति २०३४।१।३१ मा राजिनामा गरि लिएको भन्ने कुरा झुठा हो भन्ने प्रति उत्तर जिकिर देखिन्छ । विवादित कि.नं. ४०९ क्षे.फ. ३–८–१–१ जग्गा प्रतिवादी विसुमाया तामाङ्गकै बाबु बाजेका पालदेखि कै पैतृक सम्पत्ति भएकोमा विवाद देखिदैन । विसुमाया नावालक भएको र पैतृक सम्पत्ति संरक्षण गर्ने व्यक्ति कोही नभएका कारणबाट उक्त विवादित जग्गा तत्कालिन उप प्रधानपञ्च रहेका यि पुनरावेदकले जिम्मा लिएको समेत देखियो । तत्पश्चात मिति २०३७।२।१९ मा प्रतिवादी विसुमायाले यि पुनरावेदक जिम्मा रहेको सम्पत्ति फिर्ता दिलाई पाउं भनि गा.पं.मा निवेदन दिई जिम्मा फिर्ता लिएको समेत देखिन आउंछ । पुनरावेदक वादीले मिति २०३४।१।३१ को घरसारको राजिनामाबाट विवादित जग्गामा आफ्नो हक हुन आएको भनि दावी जिकिर लिएपनि सोही जग्गा २०३७ सालमा प्रतिवादी विसुमायालाई कागज गरी फिर्ता दिएको देखिएबाट निजको फिराद माग दावी विश्वसनीय देखिदैन । साथै राजिनामाको लिखत मिति २०३४।१।३१ पछि २०३४।९।२७ मा नापी हुंदाका अवस्था फिल्डबुक उतारमा विवादित जग्गाको जग्गाधनीमा प्रतिवादी विसुमायाको नाउं उल्लेख भएको तथ्य समेत मिसिल प्रमाणबाट देखिन आउंछ । यस्तो स्थितिमा विवादित जग्गामा यि पुनरावेदक वादीको हक कायम हुन सक्ने नदेखिंदा वादी दावी अनुसार हक कायम भै दर्ता समेत हुने ठहर्याएको नुवाकोट जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिएकाले सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.रामनगिना सिंह
इति संवत् २०६० साल कार्तिक १७ गते रोज २ शुभम् ........ ।