निर्णय नं. ७२४९ - बन्दिप्रत्यक्षीकरण

निर्णय नं.७२४९ ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
संवत् २०६० सालको रिट नं. ......७५
आदेश मिति२०६०।८।२४।४
बिषयः बन्दिप्रत्यक्षीकरण ।
निवेदिकाः का.जि.का.म.न.पा.वडा नं. ७ डेरा गरी वस्ने र हाल सुरक्षा फौजले कव्जामा लिएको भनीएका सि.एन. (चेतनाथ) ढुंगानाको हकमा ऐ.ऐ. वस्ने निजकी श्रीमती अनु प्रधान ढुंगाना
विरुद्ध
विपक्षीः श्री ५ को सरकार रक्षा मन्त्रालय, सिंहदरवार समेत
§ निवेदिकाले निजको श्रीमानलाई प्रत्यर्थी मध्येको कुन निकायले पक्राउ गरी कुन स्थानमा वन्दी वनाएको हो भन्ने कुराको स्पष्ट निवेदन दावी लिन नसकी डिल्लीवजार कालिकास्थान पिपलवोट नजिकवाट एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाति लगेको भनी स्थानिय व्यक्तिहरुले वताएको भन्ने आधारवाट प्रस्तुत रिट निवेदन दिएको पाईयो । प्रत्यर्थी निकायहरुले निवेदिकाको श्रीमानलाई पक्राउ नगरिएको र हिरासतमा नराखीएको भन्ने लिखित जवाफ जिकीर लिएको सन्दर्भमा निवेदिकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई कस्ले कहाँ पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखीएको हो स्पष्ट खुलाई कागज गराउनु भनी यस अदालतवाट भएको आदेश वमोजिम निवेदिकाले ०६०।७।२६ मा गरि दिएको कागजमा ‘विपक्षीहरुको बिभिन्न हिरासत तथा ठाउँ परिवर्तन गरिएको भन्ने सुनेकी छु, विभिन्न हिरासत तथा जेलमा वुझ्न जाँदा कुनै व्यहोरा थाहा जानकारी नभएको भन्ने सम्बन्धित अधिकारीहरुको भनाई भएको’ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यसरी निवेदिकाका पतिलाई कसले पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखिएको भन्ने सम्बन्धमा निजले गरि दिएको उक्त कागजवाट खुलाउन सकेको नदेखिएको स्थितिमा निवेदीकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई यो यसले पक्राउ गरी यस ठाउँमा हिरासतमा राखिएको होलाभनी अदालत आफैले अनुमान गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने ।
(प्र.नं. १५)
निवेदक तर्फवाटः
विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रबहादुर कार्की
अवलम्वित नजिरः
आदेश
न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ ।
२. मेरा श्रीमान सि.एन. (चेतनाथ) ढुंगानालाई ०६०।५।४ गते २ वजेको समयमा डिल्लिवजार कालिकास्थानको पिपलवोटवाट सादा पोशाकमा आएका सुरक्षाकर्मीहरुले समातेर लगेको भन्ने स्थानिय व्यक्तिहरुले वताएपछि थाहा पाएं । नजिकैको वडा प्रहरी कार्यालय सिंहदरवारमा वुझ्दा पक्राउ गरी नल्याएको वताइएको र जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा गई वुझ्दा समेत भेटघाट गर्न नमिल्ने र भित्र पस्न नमिल्ने भनी फर्काइयो । भाद्र ९ गते एक प्रहरी अधिकृतले मेरा श्रीमानलाई छानविनका लागि छाउनी व्यारेक लगिएको भनी मौखिक जानकारी दिनु भएकाले राष्ट्रिय मानव अधिकार आयोग तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा उजुरी दिई श्रीमानको यथास्थिति वारे जानकारी राख्ने प्रयत्न गरी राखेको छु । हालसम्म पनि निजको अवस्था अज्ञात नै छ । श्रीमानको गिरफ्तारी र अज्ञात स्थितिको अवस्था संवैधानिक, कानूनी र मानव अधिकारका अन्तर्राष्ट्रिय प्रावधान विपरीत हुँदा निजलाई अदालतमा उपस्थित गराई हिरासतको कानूनी वैधता स्पष्ट गरी थुनावाट मुक्त गराई पाउँ ।
३. निवेदिकाको श्रीमानलाई विपक्षीहरुको मिलेमतोमा गैरकानूनी रुपमा गिरफ्तारी गरी गैर कानूनी थुनामा राखीनुवाट निजको नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावना, धारा ११(१), (२) १२(२), १४(५) (६) र १५(१), नागरिक अधिकार ऐन, २०१२ को दफा ६, १२ र १५(१),(२), मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८को धारा १,३,५,७,९,१८ र १९, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा ६(१), ७ र ९, यातना तथा अन्य क्रुर अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्धी १९४८ को धारा १, २ समेतवाट प्राप्त हक अधिकारहरुमा प्रत्यक्ष आघात पुग्न गएको हुँदा यो रिट निवेदन लिई उपस्थित भएकी छु । मेरा श्रीमानलाई गैर कानूनी थुनावाट मुक्त गरि दिनु भनी प्रत्यर्थीहरुका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन मागदावी।
४. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएका मितिले वाटाका म्याद वाहेक ३ दिन भित्र लिखित जवाफ पठाउनु भनी विपक्षीहरुलाई सूचना पठाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासवाट मिति २०६०।६।३० मा भएको आदेश ।
५. यस मन्त्रालयवाट निजलाई पक्राउ गर्ने, थुनामा राख्ने आदेश दिइएको छैन । साथै निजको कुनै हक अधिकार हनन नगरिएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको गृह मन्त्रालयको लिखित जवाफ ।
६. रिट निवेदिकाका श्रीमान चेतनाथ ढुंगानालाई पक्राउ गर्न यस कार्यालयवाट सादा पोशाकका कुनै प्रहरी कर्मचारी नखटाइएको, निजलाई पक्राउ गरी नल्याएको र यस कार्यालयको थुनामा नरहेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको वडा प्रहरी कार्यालय सिंहदरवारको लिखित जवाफ ।
७. यस मन्त्रालयले सि.एन. (चेतनाथ) ढुंगानालाई थुनामा राखेको होइन । मन्त्रालय यस विषयमा अनभिज्ञ छ । निवेदकले यस मन्त्रालयको कुन काम कारवाहीवाट संविधान प्रदत्त हक हनन् भएको भनी खोल्न सकेको अवस्था समेत नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रक्षा मन्त्रालयको लिखित जवाफ ।
८. यस कार्यालय उपरोक्त रिट निवेदकको पक्षलाई रिट निवेदनमा उल्लेखित व्यहोराको कार्यमा संलग्न नरहेको, सरोकारै नभएको पक्षलाई सरोकारको बिषय वनाइ दिएको रिट निवेदन खारेज गरीपाउँ भन्ने समेत व्यहोराको शसस्त्र प्रहरीवल प्रधान कार्यालयको लिखित जवाफ ।
९. यस कार्यालयवाट विपक्षी रिट निवेदक सि.एन. (चेतनाथ) ढुंगानालाई पक्राउ गरी थुनामा राख्ने कार्य नभएको हुँदा सुरक्षा कर्मीले पक्राउ गरी लगेको, जि.प्र.का हनुमानढोकामा गै वुझ्दा भेटघाट गर्न नदिएको भन्ने जस्ता झुठृा कुरा रचि यस कार्यालय समेतलाई विपक्षी वनाइ दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय, हनुमानढोकाको लिखित जवाफ ।
१०. विपक्षीले रिट निवेदनमा उल्लेख गरे वमोजिम निवेदक सि.एन. (चेतनाथ) ढुंगाना शाही नेपाली सैनिक हिरासतमा नरहेकोले निवेदन माग वमोजिमको आदेश जारी हुन नपर्ने हुँदा आधारहीन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको शाही नेपाली जंगी अडृा काठमाडौंको लिखित जवाफ ।
११. यसमा निवेदीकाले पूर्व सल्लाह अनुसार आफ्ना श्रीमान सि.एन. (चेतनाथ) ढुंगानालाई डिल्लिवजार कालिकास्थान पिपलवोटमा भेट्न जाँदा भेट्न नसकेको र त्यस ठाउँका मानिसहरुले एक दुव्लो पातलो व्यक्तिलाई केही सादा पोशाकका मानिसहरुले समाती लगेको भनेको र वडा प्रहरी कार्यालय समेत वुझ्दा पक्राउ गरी नल्याएको वताइयो भन्ने समेत व्यहोरा लेखि कसले पक्राउ गरी कहाँ लगी कस्को हिरासतमा राखीएको भन्ने स्पष्ट उल्लेख गरी दावि लिएको देखिन नआएको र प्रत्यर्थीहरुको लिखित जवाफमा समेत निवेदिकाको पति सि.एन. (चेतनाथ) ढुंगानालाई पक्राउ नगरिएको भन्ने उल्लेख भएको देखिंदा निवेदिकाको पति सि.एन. (चेतनाथ) ढुंगानालाई कस्ले कहाँ पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखीएको हो ? निवेदिकावाटै स्पष्ट खुलाई कागज गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।७।२१ को आदेश ।
१२. यसमा निवेदनपत्रको प्रकरण नं. २ मा श्रीमानको खोजी गरी जिवन रक्षा गरी पाउँ भनी अन्तर्राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छु भन्ने उल्लेख भएको देखिंदा निवेदिका अनु प्रधान (ढुंगाना) को उल्लेखित विषयमा उजुरी निवेदन परेको छ छैन ? परेको भए त्यसमा के कस्तो कारवाही आयोगवाट गरिएको छ ? खुलाई पठाई दिनु भनी राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन पुल्चोकमा लेखि पठाई जवाफ आएपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।७।२८ को आदेश ।
१३. नियम वमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा प्रत्यर्थी रक्षा मन्त्रालय समेतको तर्फवाट उपस्थित विद्वान उप न्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले निवेदीकाको पति सि.एन. (चेतनाथ) ढुंगानालाई प्रत्यर्थी निकायहरुले पक्राउ गरेको र हिरासतमाराखेको छैन । यो यस नियकाले पक्राउ गरी अमुक ठाउँमा थुनेर राखेको भन्ने एकिन निवेदन दावी समेत नहुँदा रिट जारी हुनुपर्ने होइन । प्रस्तुत निवेदन खारेज गरी पाउँ भनी गर्नु भएको वहस समेत सुनी रिट निवेदन सहितको फाइल अध्ययन गरि हेर्दा निवेदन माग वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने हो होइन ? भन्ने बिषयमा नै निर्णय दिनु पर्ने देखिन आयो ।
१४. निर्णयतर्फ बिचार गर्दा आफ्ना श्रीमान सि.एन. (चेतनाथ) ढुंगानालाई डिल्लिवजार कालिकास्थान स्थित पिपलवोट नजिक भेटने पूर्व सल्लाह भई मिति ०६०।५।४ गते दिउसो दुइवजेतिर सो ठाउँमा जाँदा भेट्न नसकेको र एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाती लगेको भनी स्थानिय मानिसहरुले भनेवाट विपक्षी वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय समेत वुझ्दा पक्राउ गरी नल्याएको भनी भेट्न नदिएको, श्रीमानको स्थिति हालसम्म अज्ञात रहेकोले निजलाई अदालत समक्ष उपस्थित गराई वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत रिट निवेदन दावीमा निवेदिकाको श्रीमान सि.एन. (चेतनाथ) ढुंगानालाई पक्राउ नगरिएको, पक्राउ गर्न आदेश नदिइएको र हिरासतमा समेत नराखिएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थीहरुको लिखित जवाफ रहेको देखिन्छ ।
१५. यस्मा निवेदिकाले निजको श्रीमानलाई प्रत्यर्थी मध्येको कुन निकायले पक्राउ गरी कुन स्थानमा वन्दी वनाएको हो भन्ने कुराको स्पष्ट निवेदन दावी लिन नसकी डिल्लीवजार कालिकास्थान पिपलवोट नजिकवाट एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाति लगेको भनी स्थानिय व्यक्तिहरुले वताएको भन्ने आधारवाट प्रस्तुत रिट निवेदन दिएको पाईयो । प्रत्यर्थी निकायहरुले निवेदिकाको श्रीमानलाई पक्राउ नगरिएको र हिरासतमा नराखीएको भन्ने लिखित जवाफ जिकीर लिएको सन्दर्भमा निवेदिकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई कस्ले कहाँ पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखीएको हो स्पष्ट खुलाई कागज गराउनु भनी यस अदालतवाट भएको आदेश वमोजिम निवेदिकाले ०६०।७।२६ मा गरि दिएको कागजमा ‘विपक्षीहरुको बिभिन्न हिरासत तथा ठाउँ परिवर्तन गरिएको भन्ने सुनेकी छु, विभिन्न हिरासत तथा जेलमा वुझ्न जाँदा कुनै व्यहोरा थाहा जानकारी नभएको भन्ने सम्बन्धित अधिकारीहरुको भनाई भएको’ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यसरी निवेदिकाका पतिलाई कसले पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखिएको भन्ने सम्बन्धमा निजले गरि दिएको उक्त कागजवाट खुलाउन सकेको नदेखिएको स्थितिमा निवेदीकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई यो यसले पक्राउ गरी यस ठाउँमा हिरासतमा राखिएको होलाभनी अदालत आफैले अनुमान गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन । वन्दी वनाइएका भनिएका निवेदिकाका पति सि.एन. (चेतनाथ) ढुंगानाको अवस्था ज्ञात भए पछि एकिन र स्पष्ट स्थिति खुलाई पुनः निवेदन दिन सक्ने हक निवेदीकामा सुरक्षितै रहेको र त्यसरी निवेदन दिएको खण्डमा त्यस तर्फ विचार हुन सक्ने नै हुँदा हाल माग वमोजिमको रिट आदेश जारी गर्न नमिली प्रस्तुत निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति संवत् २०६० साल मार्ग २४ गते रोज ४ शुभम ................