शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२५१ - उत्प्रेषण समेत

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं.७२५१     ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत २०५७ सालको रिट नं. ४३४२

आदेश मितिः २०६०।८।२।३

 

विषय : उत्प्रेषण समेत ।

 

निवेदकः घरेलु तथा साना उद्योग विकास समितिमा कार्यरत काठमाडौं जि.का.म.न.पा. मा कार्यरत काठमाडौं जि.का.म.न.पा.वडा नं. ३० बस्ने नविनलाल श्रेष्ठ

विरुद्ध

विपक्षी

प्रतिवादीः श्री ५ को सरकार, उद्योग मन्त्रालय समेत

 

§  निवेदक स्वयंको निवेदन पत्रको प्रकरण नं. १ हेर्दा २०४० सालमा आफू सहायक अधिकृत तह ६    (लेखा समुह) पदमा नियुक्ति भएको र त्यस पछाडि सातौं तथा आठौं तहमा बढुवा हुँदा सहायक अधिकृत तह (प्र) पदमा बढुवा भई आएको भन्ने व्यहोरा उल्लेख गरेको हुँदा निवेदक शुरुमा नियुक्ति हुँदा लेखा शाखामा नियुक्ति भएतापनि प्रशासन सेवाको भनि निजले फाराम भरेको समेत देखिएको हुँदा निजलाई सेवा समेत परिवर्तन गरि सरुवा गरिएको भन्न नमिल्ने ।

§  मिति २०५६।६।४ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार विपक्षीले २०५६।६।१० मा क्षयरोग लागेको कारणबाट सरुवा भएको स्थानमा जान नसक्ने भनी स्पष्टीकरण पेश गरेको देखिन्छ र निजलाई पुन सरुवा भएको स्थानमा गइ काम गर्न ताकेता गर्दा २०५६।९।२६ मा क्षयरोग निको भइ मधुमेह रोग लागेको भनि दुइ दुइ पल्ट स्पष्टीकरण दिएको कुरा निवेदन लेख र मिसिल संलग्न अन्य कागजातहरुबाट समेत खुलेको हुँदा सफाइको मौका प्रदान नभएको भन्न सक्ने अवस्था नदेखिने ।

(प्र.नं.८)

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री सिताराम के.सी.

विपक्षी तर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक र अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ

अवलम्वित नजिरः ने.का.प.२०५६, नि.नं. ६७०१, पृ. २७६

 

आदेश

            न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अनुसार पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ ।  

            २.    म निवेदक २०४०।१२।९ गतेको विपक्षी समितिको पत्रबाट सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भई समितिको लेखा शाखामा सेवा गर्दै आइरहेको थिए । यसरी मैले नियुक्ति पाएदेखि इमान्दारी, अनुशासित, एंव निश्पक्ष साथ आफ्नो पदीय दायित्व निर्वाह गरे अनुरुप म निवेदक मिति २०४३।७।२८ मा सहायक अधिकृत तह ७(प्र.) पदमा र मिति २०५३।५।१६ मा सहायक वरिष्ठ अधिकृत तह ८(प्र) पदमा बढुवा भई आएको थिए । यसरी बढुवा भए पश्चात पनि म निवेदकले विपक्षी घरेलु तथा साना उद्योग विकास समितिको केन्द्रिय कार्यालयको साविकको लेखाको प्रमुखको रुपमा रही आफनो पदीय दायित्व पुरा गरि आएको थिएँ । मैले आफू क्षयरोगको बिरामी भएको र पछि मधुमेहको रोग समेत लागेको भनि विपक्षी समक्ष निवेदन गरेकोमा मेरो निवेदनहरुलाई समेत वास्ता नगरी विपक्षीबाट म लेखा समुहको कर्मचारीलाई कानून विपरीत घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा कार्यालय डोटी स्थित प्रमुख उद्योग अधिकृतको पदमा सरुवा गरियो । यसरी मलाई कानूनतः सरुवा गर्न पनि नमिल्ने र आफूलाई लागेको रोगको सम्बन्धमा डाक्टरको सर्टिफिकेट समेत पेश गरेकोमा सोलाई समेत विचार नगरि २०५६।६।४ को गोरखापत्रमा हाजिर हुन जानु भन्ने सूचना प्रकाशित गरियो । सो प्रकाशित सूचना पश्चात पनि विपक्षीलाई जानकारी गराउँदा मलाई सफाइको मौका समेत दिइएन र मिति २०५७।१।७ को पत्रबाट म निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहर्ने गरि सेवाबाट हटाउने निर्णय गरेको हुँदा विपक्षीबाट भए गरेको उल्लेखित निर्णयहरु उत्प्रेषणको आदेशबाट बदर गरि पुनः सो पदमा नियुक्ति दिनु भन्ने समेतको विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरि पाउँ भन्ने समेतको निवेदन ।

            ३.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार भए आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनि विपक्षी उद्योग मन्त्रालयलाई र आफै वा आफनो कानूनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनि विपक्षी घरेलु तथा साना उद्योग विकास समिति समेतलाई सम्बन्धित जिल्ला अदालत मार्फत सूचना पठाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०५७।३।१३।३ को  आदेश ।

            ४.    विपक्षी निवेदक लेखा समुहको कर्मचारी नभै लेखा शाखाको काम गर्नसम्म तोकिएको कर्मचारी हो । समुह परिवर्तनको लागि पदपूर्ति समितिको सिफारिशको व्यवस्था पनि २०५५।८।१९ मा यस समितिको नियमावली २०५५ ले गरेको मात्र हो सो अघिको चालु यस समितिको नियमावली २०३८ मा सो सिफारिशको व्यवस्था छैन र सो २०५५ को नियमावली अनुसार निजलाई लेखा समुहमा लगिएको पनि  छैन । विपक्षीले २०५२।३।१ बाट २०५४ जेष्ठ मसान्तसम्मको विदा माग गर्दा निजले आफनो घरयासी कामको कारण दिनु भएको छ । क्षयरोग वा मधुमेह रोग लागेको उल्लेख गर्नु भएको छैन । निजलाई २०५५ सालमा डोटीमा सरुवा गरिएकोमा २०५६।२।२३ मा मात्र पत्र बुझी १२ महिना भन्दा बढि विदा बसी सरुवा भएको ठाउँमा हाजिर हुन नगएकोले नियमावलीको परिच्छेद ११ को नियम ११.४.१ बमोजिम २०५६।६।४ मा सेवाबाट किन नहटाउने भनी गोरखापत्रमा सूचना प्रकाशित गरियो निजले तत्पश्चात सन्तोषजनक स्पष्टीकरण पेश गर्न समेत नसकेको कारण २०५६।१२।२२ को निर्णय अनुसार निजलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहर्ने गरि २०५७।१।१७ मा सेवाबाट बर्खास्त गरिएको हो । सो उपर चित्त नबुझी निजले सन्चालक समितिको अध्यक्ष समक्ष पुनरावेदन पर्न सक्नेमा नियम १.३ र ११.८ अनुसार पुनरावेदन समेत गरेको पाइन्न तसर्थ उल्लेखित आधारबाट रिट खारेज गरि पाउँ भन्ने समेतको घरेलु तथा साना उद्योग विकास समितिको प्रधान कार्यालय तथा ऐ.का कार्यकारी निर्देशकको लिखित जवाफ ।

            ५.    समितिको नियमावली २०५५ को परिच्छेद १ को नियम १.३ तथा परिच्छेद ११ को नियम ११.८(क) अन्र्तगत सन्चालक समितिका अध्यक्ष समक्ष ३५ दिन भित्र पुनरावेदन गर्न सक्ने र त्यस्तो पुनरावेदन परेमा विचार गर्न सक्ने नै हुँदा बैकल्पिक उपचारको बाटो छाडी रिट क्षेत्रमा प्रवेश गरेको समेत कारणले रिट खारेज गरि पाउँ भन्ने समेतको घरेलु तथा साना उद्योग विकास समितिको लिखित जवाफ ।

            ६.    घरेलु तथा साना उद्योग विकास समिति विकास समिति ऐन, २०१३ बमोजिम स्थापित संस्था हो । उक्त संस्थाका कर्मचारीहरुको नियुक्ति सरुवा बढुवा सम्बन्धमा सोही संस्थाको कर्मचारी सेवा सर्त नियमावली बमोजिम त्यहिको पदपूर्ति समिति तथा संचालक समितिले निर्णय गर्दछ । यस मन्त्रालयको के कुन काम कारवाहीले निवेदकको हकहितमा असर पर्‍यो  खुल्न नसकेको हुँदा रिट खारेज गरि पाउँ भन्ने समेतको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय को लिखित जवाफ ।

            ७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढि इजलास समक्ष पेश हुन आएको प्रस्तुत निवेदनसंग सम्बन्धित सम्पूर्ण मिसिल कागजात अध्ययन गरि निवेदक तर्फबाट विद्वान अधिवक्ताद्वय राधेश्याम अधिकारी र सिताराम के.सी.ले कार्यकारी निर्देशकको  निर्णय उपर संचालक समिति समक्ष पुनरावेदन गर्ने हो तर प्रश्तुत विषयमा स्वयं संचालक समितिले बर्खास्त गरेको कुरा लिखित जवाफको प्रकरण २ बाट स्पष्ट भएको हुँदा समेत घरेलु तथा साना उद्योग विकास समितिको कार्य बदरभागी छ भन्ने समेतको र विपक्षी घरेलु तथा साना उद्योग विकास समितिको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठले निवेदक लेखा समुहको कर्मचारी होइनन् किनभने त्यो समुह २०५२ सालमा छुट्टिएको हो र त्यस भन्दा अगाडि नै सेवामा रहेका छन् । त्यसमा पनि आफूलाई लगाए अह्राएको काम नगर्ने सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई स्पष्टीकरण सहित बर्खासी गरेकोलाई अन्यथा भन्न मिल्दैन भन्ने समेतको र विपक्षी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको तर्फबाट विद्धान सहन्यायाधिवक्ता श्री राजनारायण पाठकले मन्त्रालयलाई विपक्षी बनाउन पर्ने अवस्था नै छैन, समय समयमा लेखाको काम गर्दैमा कुनै कर्मचारी लेखा समुहको हुन सक्दैन निजले बढुवा पाएको नियुक्ति पत्रहरुमा समेत प्राविधिक कर्मचारी भनेको हुँदा लेखा समुह तर्फको कर्मचारी भन्न मिल्दैन भन्ने समेतको बहस गर्नु भयो । निवेदन माग बमोजिमको आदेश जारी हुन सक्छ सक्दैन भन्ने कुराको निर्णय गर्न पर्ने देखिन आयो ।

            ८.    निर्णयतर्फ विचार गर्दा यी निवेदकले आफनो रिट निवेदनमा आफू लेखा समुहको कर्मचारी भई २०४०।१२।९ को विपक्षी घरेलु तथा साना उद्योग विकास समितिको पत्रबाट नियुक्ति पाई आठौं तहसम्म बढुवा भई कार्यरत रहेकोमा विपक्षी समितिले लेखा समुहको मानिसलाई क्षयरोग र मधुमेह रोग लागेको अवस्थामा समेत विचार नगरी घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय डोटी स्थित प्रमुख उद्योग अधिकृतको पदमा सरुवा गरियो । सो सम्बन्धमा आफूले डाक्टरको सर्टिफिकेट पेश गरेकोमा पनि वास्ता नगरी २०५६।६।४ को गोरखापत्रमा हाजिर हुन जानु भन्ने सूचना प्रकाशित भए अनुसार मनासिब माफिकको कारण दिंदा समेत वास्ता गरिएन । सफाइको मौका समेत नदिई विपक्षी समितिले २०५७।१।७ को पत्रबाट निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहर्ने गरि सेवाबाट हटाउने निर्णय गरेको हुँदा सो निर्णय समेत बदर गर्न गराउन र पुन सो पदमा नियुक्ति दिनु भन्ने परमादेशको आदेश जारी गरि पाउँ भन्ने समेतको निवेदन रहेको पाइयो । विपक्षीहरुको लिखित जवाफ हेर्दा निवेदक लेखा समुहको कर्मचारी नभएका निजले कहिलेकाँही मात्र लेखा शाखामा काम गरेको, समितिको नियम समेत विपरीत आफूलाई खटाएको ठाउँमा हाजिर हुन नगई लामो समयसम्म बिना जानकारी विदा बसेको हुँदा स्पष्टीकरण सहित कानून अनुसार सेवाबाट हटाएको हो भन्ने समेतको लिखित जवाफ फिराएको देखियो । निवेदन माग अनुसारको आदेश जारी हुन सक्छ सक्दैन भन्ने तर्फ विचार गर्दा यी निवेदक स्वयंको निवेदन पत्रको प्रकरण नं. १ हेर्दा २०४० सालमा आफू सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भएको र त्यस पछाडि सातौं तथा आठौं तहमा बढुवा हुँदा सहायक अधिकृत तह (प्र) पदमा बढुवा भई आएको भन्ने व्यहोरा उल्लेख गरेको हुँदा निवेदक शुरुमा नियुक्ति हुँदा लेखा शाखामा नियुक्ति भएतापनि प्रशासन सेवाको भनि निजले फाराम भरेको समेत देखिएको हुँदा निजलाई सेवा समेत परिवर्तन गरि सरुवा गरिएको भन्न मिल्ने देखिएन । यी निवेदकले भने जस्तै निजलाई सफाइको मौका समेत नदिई सेवाबाट हटाएको हो कि त भन्ने तर्फ विचार गर्दा २०५६।६।४ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार विपक्षीले २०५६।६।१० मा क्षयरोग लागेको कारणबाट सरुवा भएको स्थानमा जान नसक्ने भनी स्पष्टीकरण पेश गरेको देखिन्छ र निजलाई पुन सरुवा भएको स्थानमा गई काम गर्न ताकेता गर्दा २०५६।९।२६ मा क्षयरोग निको भई मधुमेह रोग लागेको भनि दुइ दुइ पल्ट स्पष्टीकरण दिएको कुरा निवेदन लेख र मिसिल संलग्न अन्य कागजातहरुबाट समेत खुलेको हुँदा सफाइको मौका प्रदान नभएको भन्न सक्ने अवस्था देखिएन । यी निवेदकले आफू सरुवा भएको स्थानमा हाजिर हुन नगई विदा समेत स्वीकृत नगराई अटेर गरि बसेको भन्ने देखिन्छ । घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी सेवा सर्त नियमावली २०५५ को नियम ११.४.१(घ) ले विदा स्वीकृत नगराई लगातार तीन महिनासम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा संस्थाको सेवाको लागि अयोग्य नठहरिने गरि हटाउन सक्ने नै देखिएको र सफाइको मौका समेत दिई सेवाबाट हटाएको अवस्था देखिएको हुँदा यी निवेदकले अदालतलाई तथ्य समेत स्पष्ट उल्लेख नगरी सफाहात नलिई अदालत प्रवेश गरेको अवस्था देखियो । ने.का.प. २०५६, नि.नं.६७०१, पृ. २७६ निवेदक शिवरतन शारदा विरुद्ध  विपक्षी श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत भएको निवेदनमा सफाहात लिई प्रवेश नगर्ने निवेदकलाई यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गरी उपचार प्रदान गर्नु उपर्युक्त नदेखिने भनि यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त समेत प्रतिपादन भएको हुँदा माथि विवेचित आधार कारण र उल्लेखित प्रतिपादित सिद्धान्त समेतका आधारमा प्रस्तुत रिट जारी हुन सक्ने अवस्था देखिएन। निवेदन खारेज हुने ठर्हछ । दायरी लगत काटी मिसिल नियम अनुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.खिलराज रेग्मी

 

इति सम्वत २०६० साल मंसिर २ गते रोज ३ शुभम् ................. ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु