शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२५३ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं. ७२५३    ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत् २०५८ सालको फौ.पु.नं. २५०३

सम्वत २०५९ सालको साधक नं. २८८

फैसला मितिः २०६०।६।९।६

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः धनुषा जिल्ला हरिहरपुर गा.वि.स. वार्डनं. ५ घर भै हाल कारागार शाखा जलेश्वरमा थुनामा रहेको रामवहादुर महतो समेत

विरुद्ध

प्रत्यर्थी

वादीः राम नारायण महतोको जाहेरीले श्री ५ को सरकार

 

वादीः राम नारायण महतोको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः रामवहादुर महतो समेत

 

§  चोरहरु आई मृतकलाई मारेको भन्ने प्रतिवादीहरुको भनाईतर्फ विचार गर्दा चोरहरु आएपछि आफूसंग भएको घरको सांचो दिई आफू भागेको भनि प्र. रामवहादुरले अदालत समक्ष वयान गरेको पाइन्छ । आफू भाग्दा बुहारीलाई मारी सकेका थिए  भन्ने निजको भनाई रहेकोमा घरको मुल ढोकानेर सुतेका यि प्रतिवादीलाई केही नगरी केही नभएकी बुहारीलाई मात्र मारे भन्ने निजको भनाई स्वाभाविक नदेखिने ।

§  चोर आएपछि गाँउमा हल्लागरी गुहार माग्नु पर्नेमा त्यस्तो केही भएको देखिदैन । चोरहरुले वन्दुक पड्काए भनेकोमा वन्दुकको आवाज आई हल्ला भएको कसैले सुनेको देखिदैन । घरमा ३ ठांउमा सेन खनेको भनेकोमा वन्दुक वोकी ३ पटक फायर गर्दै आएको डाँकाहरुले सेन खने होलान भनी अनुमान गर्न नसकिने ।

§  प्रतिवादीहरुको घटना घटेको रात मृतकसंग झगडा भएको र सवै प्रतिवादी सो दिन घरमानै भएको भन्ने कुरा मौकामा कागज गर्ने अजव कुमार शर्मा, रामकुमार महतो, राम उदागर महतोको वकपत्रवाट देखिन आँउछ । यस्तो अवस्थामा प्रतिवादीहरु अन्यत्र रहेको भन्ने नदेखिने ।

§  मृतकको मृत्यु प्रतिवादीहरुको कर्तव्यवाट वाहेक अरु कारणवाट भएको भन्ने नदेखिएको र उक्त दिन चोर डाकाहरु आएको भन्ने पनि कुनै प्रमाणवाट नदेखिएको अवस्थामा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयानलाई शवपरीक्षण प्रतिवेदन जाहेरी दरखास्त, मौकामा वुझिएका राम उदागर महतो समेतको वकपत्र समेतले समर्थन गरेको देखिंदा निजहरुको अदालतमा भएको इन्कारी वयान लाई पुष्टि हुने अवस्था नदेखिने ।

(प्र.नं. २९ र ३०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अविधक्ता श्री लभकुमार मैनाली

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मीति २०५७।११।८ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ग) वमोजिम प्रतिवादीको तर्फवाट पुनरावेदन र ऐ. ऐनको दफा १० वमोजिम साधक जांचको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ ।

            २.    मेरो छोरी कुशमी देवीलाई ज्वांई सत्तेन्द्र कुमार महतो, रामवहादुर महतो, मखन महतो, विन्देश्वरी देवी, वद्री महतो समेतले कर्तव्य गरी मारेका हुंदा कारवाही गरी पाँउ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

            ३.    मृतकको भूंडी खुल्ला रहेको, वीच हत्केलामा कालो लागेको, खुट्टामा पायल चप्पल लगाएको, निधारमा सानो छाला खुइलिएको, आंखाको कोषवाट पानी वगी सुकेको, घांटीमा थिची छाला घसारिएको, घांटीमा दांया वांया साइडमा थिचेको र छाला खुइलिएको कपडाहरु च्यातिएको र छाला घिसारिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

            ४.    २०५३।७।२१ गते म तथा दाजु सतेन्द्र कुमार महतो, वावु रामवहादुर महतो, आमा विन्देश्वरी देवी र दाजुले ल्याएका २ जना व्यक्ति समेतभै कुशमी देवीलाई कर्तव्य गरी मारेको ठीक हो भनि मखन महतोले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

            ५.    २०५३।७।२१ गतेका राती भाउजूले खाना वनाई खाना खाइ घरको दलानमा सुते । वावु दाजु सतेन्द्र र मखन कुराकानी गरेको थिए । भाउजु र आमा घर भित्रै थिए । म भोली पल्ट उठदा गांउका मानिस तथा प्रहरी समेतलाई घरमा देखें । वुझ्दा भाउजू कुशमी देवी मरेको थाहा पाँए । रातमा के के भयो ? थाहा भएन, सो वेला दाजू मखन र सतेन्द्र घरमा थिएनन भन्ने समेत व्यहोरा को वद्री महतोले गरी दिएको अधिकार प्राप्त अधिकारी समक्षको वयान कागज ।

            ६.    दाइजोको कारण घरमा वुहारी कुशमी देवीसंग झगडा भै नै रहेको थियो । मिति ०५३।७।२१ गते राती छोरा सतेन्द्र कुमारको सल्लाह अनुसार कुशमी देवीलाई घांटी थिची कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको प्र. विन्देश्वरी महतोले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

            ७.    छोरा सतेन्द्र कुमारको विवाह हुंदा जग्गा दाइजो दिने कुरा भएकोमा दाइजो नदिएको विषयमा घरमा झगडा हुने गरेको थियो । मिति ०५३।७।२१ गतेको राती सतेन्द्र कुमारको सल्लाह अनुसार छोरा सतेन्द्र कुमारले ल्याएको २ जना समेतले घांटी थिची मारेको हो भन्ने समेत व्यहोराको प्र. रामवहादुर महतोले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

            ८.    ०५३।७।२१ गतेका दिन महेन्द्र नगरमा सीनेमा हेर्न भनि कुशमी देवी र सतेन्द्र कुमार गै वेलुका घरमा आएको देखेको र सोही राती ११ वजेको समयमा निजको घरमा हल्ला भएकोले हेर्न जांदा कुशमी देवी आगनमा रोई रहेकी थिइन । घरमा २ जना नचिनेका मानिस र मखन, सतेन्द्र, रामवहादुर, विन्देश्वरी पनि थिए । के भयो भन्दा नभनेकाले झगडा भएको हो भनि देखि निजका घरमा वरावर झगडा हुने भएकोले आआफ्नो घर तिर लाग्यौं । रातीको १२ वजेतिर खुन भयो, खुन भयो भन्ने हल्ला सुनि सवै जना जांदा कुशमी देवीलाई आंगन देखि दक्षिण तिरको कोठामा मृतक अवस्थामा देखेको, हेर्दा घरको दुई तिन ठांउमा खोस्रिएको थियो । सो वेला पहिले देखेका २ जना तथा सतेन्द्र कुमार र मखन समेत घरमा थिएनन् । कुशमी देवीलाई दाइजोको कारण घरकै रामवहादुर महतो, मखन महतो, सतेन्द्र महतो, बिन्देश्वरी देवी र नचिनेका २ जना समेतले कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको रामनारायण महतो, रामउदागर महतो, सत्यनारायण महतो, उजवलाल महतो समेतले अधिकार प्राप्त अधिकारी समक्ष लेखाई दिएको कागज  ।

            ९.    जाहेरीमा लेखिएका रामवहादुर महतो, सतेन्द्र कुमार महतो, मखन महतो, विन्देश्वरी देवी महतो अरु नचिनेका २ जना समेतले कर्तव्य गरी मारेको ठिक हो भनि सर्जमिन मुचुल्काका हिरालाल महतो समेतले लेखाई दिएको सर्जमिन मुचुल्का । 

            १०.    मृतक कुशमी देवीको अंचल अस्पतालवाट पोष्टमार्टम रिपोर्ट गराउंदा मृत्युको कारण छातिमा Blunt injury ले गर्दा Lives Rapture भै भएको हो भन्ने समेतको पोष्टमार्टम प्रतिवेदन ।

            ११.    मिति २०५३।७।२१ गतेका दिन सतेन्द्र कुमार महतो आफ्नो श्रीमती कुशमी देवीलाई साथमा लिई महेन्द्रनगरमा सिनेमा हेर्न गई भाई मखन महतोलाई घरमा बोलाई बाहिरवाट २ जना मानिस समेत ल्याई रामवहादुर महतो, विन्देश्वरी देवी समेत भई सोही राती पूर्व योजना अनुसार कुशमी देवी लाई घांटी, छाति, कुम समेतमा थिची लात मुक्का समेतले कुटपीट गरी कर्तव्य गरेर ज्यान मारी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसूर अपराध गरेको प्रष्ट देखिएको र बद्री महतोले कुशमी देवीलाई कर्तव्य गरी मारे मराएमा कोही कसैले पनि संलग्नता देखाउन नसकेको र जाहेरीको भरमा मात्र मुद्दा चलाई सजाय दिलाउन न्यायोचित हुने नदेखिएकोले खोजी भएका बखत हाजिर गराउने गरी हाजिरी जमानीमा छाडिएको तथा नाम थर खुल्न नआएका २ जना उपर पछि खुल्न आएको बेलामा ऐ. ऐनको १३(३) वमोजिम सजाय हुने नै हुंदा प्रतिवादी सतेन्द्र कुमार महतो, रामबहादुर महतो, मखन महतो उपर ऐ. ऐनको १३(३) वमोजिम र प्रतिवादी विन्देश्वरी लाई ऐ.ऐनको १७(२) वमोजीम  सजाय माग दावी भएको अभियोग पत्र ।

            १२.   मलाई सुनाइएको जाहेरी दरखास्त लगायत सम्पूर्ण मिसिल कागजात सुने । म उपरको उजुर झुठा हो । मैले भाउजूलाई मारेको छैन । म राती आफ्नो पसलमा सुतेको बेला राती अंदाजी २ वजे तिर ट्याक्टरमा मानिसहरु बोलाउन आंउदा म उठी उनिहरुसंग र पूलिस समेत संग घर पुग्दा मलाई घर भित्र पसन दिएनन् । वाहिरै राखेको हुन् । मैले भाउजूको ज्यान मारेको छैन । वारदात मितिमा म घर थिइन । पसलमा थिंए । मैले मारेको छैन । भाउजूलाई कसले मारेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र. मखन महतो ले अदालतमा गरेको वयान।

            १३.   जाहेरी दरखास्त सुने । सो झुठा हो । मैले निजलाई मारेको होईन । मेरो घरमा डाँका लागेको थियो । डांकालेनै मारेको हो । डाँकाले मलाई पनि कुटेको हुंदा म भागेर वारीमा लुकेको थिंए । मैले अपराध नगरेको हुंदा सफाइ पाउनु पर्छ भन्ने समेत व्यहोराको प्र. विन्देश्वरी देवीले अदालतमा गरेको बयान कागज ।

            १४.   मैले वुहारीलाई कर्तव्य गरी मारेको छैन, डाँकाहरुले नै कुटपीट गरी मारेका हुन् । म निर्दोष हुंदा अभियोग दावी वमोजिम सजाय पाउनुपर्ने होईन भन्ने समेत व्यहोराको प्र. रामवहादुर महतोले अदालतमा गरेको वयान कागज ।

            १५.   प्रतिवादी रामबहादुर महतो, मखन महतो र विन्देश्वरी देवीको हकमा निजहरुले अभियोग दावी वमोजीम कसूर गरेको ठहर्छ । सजायको हकमा रामवहादुर महतो, मखन महतोको हकमा यसै चोटवाट मरेको भन्ने नदेखिई प्रतिवादीहरुको संयुक्त चोटवाट मृत्यु भएको देखिदा ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्छ । प्र. विन्देश्वरीको हकमा ज्यान सम्वन्धीको १७(२) नं. अनुसार ५ वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०५५।९।२१ को धनुषा जिल्ला अदालतको फैसला ।

            १६.    जाहेरीमा लगाइएको आरोप झुठा र काल्पनिक छ । अधिकार प्राप्त अधिकारी समक्षको तथाकथित वयान हाम्रो होईन । हामीले कर्तव्य नगरेको कुरा अदालतको बयानमा उल्लेख गरेका छौं । म पुनरावेदक मखन महतो भाउजु मरेको रात घर छैन । घरमा डाँका लागेको स्पष्ट अवस्था र वारदात मुचुल्कामा देखिएको छ । हामीले कुशमी देवीलाई कर्तव्य नगरेको अवस्थामा उपरोक्त तथ्यहरु तर्फ शुरु अदालत प्रवेश नै नगरी भएको शुरुको फैसला त्रुटीपूर्ण हुंदा बदर गरी न्याय पाँउ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन अदालतमा परेको पुनरावेदन  पत्र ।

            १७.   यसमा अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम पुनरावेदन सरकारी वकील कार्यालय जनकपुरलाई पेशीको जानकारी दिई नियम वमोजिम पेश गर्नु भन्ने मिति ०५६।१२। १ को पुनरावेदन अदालत को आदेश ।      

            १८.   मृतकलाई दहेजमा दिने भनेको १० कट्ठा जग्गाकै कारणवाट रिशइवि भै कुटपीट भएको भन्ने देखिन्छ । हाम्रो समाजमा दाइजो र तिलकको रिशइवि साह्रै गहिरो संग रहने गरेको पाइन्छ । यस मुद्दामा पनि दाइजो तिलककै जग्गा नदिएवाट पुरानो र विषालु रिस वारदातमा उजागर भएर घटनामा परिवर्तन हुन आएको देखिन्छ ।

            १९.    घटना घटेको रातमृतकसंग झगडा भएको भन्ने र प्रतिवादीहरु सो रातघरमै रहेको भन्ने पनि मौकामा कागज गर्ने अजय कुमार शर्मा, रामकुमार महतो र रामउदगार महतो को वकपत्रवाट समेत देखिन आएको अवस्थामा प्रतिवादीहरु अदालतमा आई अन्यत्र रहेको भनि कसूरमा इन्कार भई गरेको वयान विश्वसनीय देखिन आएन ।

            २०.   प्रमाण ऐन, २०३१ को दफा ९(२) को अवस्थालाई हेर्दापनि यी पुनरावेदक प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको सावीति स्वतन्त्रको होइनकी इच्छा विरुद्धको होकि भनि हेर्दा जाहेरी मौकामा बुझिएका व्यक्ति रामउदगार समेतको वकपत्र लास प्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदन, वारदातको प्रकृती समेतवाट सो साविति अन्यथा भन्ने देखिन आएन । प्रहरीले यातना वा प्रलोभनमा पारेर सावित गराएको भन्नेपनि प्रतिवादीहरुले जिकिर लिन र पुष्टि गराउन सकेको पाइएन ।

            २१.   प्रतिवादी मखन महतो वारदात अगाडिनै महेन्द्रनगर टेलरिङ पसलमा सुतेको भन्ने जिकिरतर्फ हेर्दा पनि वारदात अगाडि दाजु सत्यन्द्र कुमार संगै घर आएको र वारदात पछि पसलमा फर्केको भन्ने मौकाको सावितिलाई अन्यथा भन्ने जिकिरलाई प्रमाणवाट पुष्टि गराउन सकेको पाइएन । वारदात पछि पनि १ घण्टामा पुग्ने ठांउमा जान नसकिने अवस्था हुदैन । प्रतिवादीको मौकाको मालाकार वयानलाई लास प्रकृति मुचुल्का, मौकामा बुझिएका रामउदगार समेतका वकपत्र लगायतका प्रमाणवाट समर्थन गरिरहेकाले अन्यथा भनी मान्न सकिएन ।      

            २२.   प्रतिवादीहरुले घांटी थिची मारेको भनी वयान गरेकोमा अन्य कारणवाट मरेकोमा सावीतिलाई स्वतन्त्र प्रमाणले समर्थन नगरेको भनी झगडीया झिकाइदा, लिइएको आधारतर्फ हेर्दा प्रतिवादी पुनरावेदकहरुले मृतक कुशमी देवीको घांटी, कुम र छातिमा समेत थिचेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको देखिन्छ । सोही वयान मुताविकनै छातिमा समेत ४जना मानिसले थिचेको कारणवाटनै Blunt injury भईकलेजो फुट्न गई अधिक रक्तश्राव भई मृतकको मृत्यु भएको घटनालाई प्रतिवादीहरुको मौकाको साविति वमोजिमनै मिल्न गएको देखिन्छ । प्रतिवादी मखन महतोको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानमा हेर्दा दाजु सत्येन्द्र कुमार र निजले ल्याएको २ जनाले मुख थुनी भुंइमा लडाएर छाति थिच्न लागे म र वावु रामवहादुरले कमरनिर तथा खुट्टा समाई छटपटाउन दिएनौभनि वयान गरेको देखिन्छ । प्र. विन्देश्वरीले पनि वुहारीलाई समाई मुख थुनी वोल्न चल्न नदिई लडाई छाती थिच्न लागे म कोही मानिस आँउछनकी भनी हेर्नलाई ढोकामानै वसें। प्रतिवादी रामवहादुर महतोले बुहारी कुशमीलाई सत्येन्द्र र निजले ल्याएको २ जनाले मुखमा समाती वोल्न चल्न नदिइ छाति कुममा थिची, म र छोरा मखनले कम्म खुट्टामा समाई छटपटाउन दिएनौं। भनि अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेवाट पनि घांटीमा पनि थिचेको र कुम छातिमा थिचेको देखिन्छ । छातिमा ३ जना मानिसले जवरजस्ती थिचेवाट नै छाति भित्र परेको चोटलाई शवपरीक्षण प्रतिवेदनमा देखाएकोमा सो घाउचोटलाई  प्रतिवादीहरुको वयानसंग नमिल्ने भन्न सकिने अवस्थाको देखिन आएन । प्रतिवादीहरुको साविति वमोजिम कुम छातीमा समेत थिचेको कारणवाटनै मृतकको शरिरमा चोट लाग्न गएको र सोही चोट शवपरीक्षण प्रतिवेदनमा देखिन आएकोलाई सावितिको विपरीत भन्न सकिने अवस्था देखिदैन । अतः यस्तो अवस्थामा पुनरावेदक प्रतिवादीहरुले ज्यान मारेको ठहर्‍याई ज्यान सम्वन्धी महलको१३(३) नं वमोजिम दुवै प्रतिवादीहरुलाई जन्मकैदको सजाय हुने ठहर्‍याएको धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको फैसला ।

            २३.   पुनरावेदन अदालतले हामीहरुलाई कसूरदार ठहरांउदा हामीहरुको अधिकारप्राप्त अधिकारी समक्ष भएको वयान लाई आधार लिइएको छ । उक्त वयान हाम्रो स्व इच्छाले भएको होइन । अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म त्यस्तो वयानलाई प्रमाणमा लिन मिल्दैन । डाकाहरुले आक्रमण गर्दा मृतकको मृत्यु भएको हो । कुनै प्रत्यक्षदर्शी साक्षीहरु नभएको अवस्थामा केवल अधिकार प्राप्त अधिकारी समक्ष भएको हाम्रो इच्छा विरुद्धको वयानको आधारमा हामीलाई दोषि ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको मीति ०५७।११।८ को फैसला उल्टी गरी अभियोगदावी वाट सफाइ पाँउ भन्ने प्रतिवादीहरु रामवहादुर महतो र मखन महतोको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            २४.   नियम वमोजिम दैनिक पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री लभकुमार मैनालीको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मीलेको छ छैन ? पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्ने हो होइन ? भन्ने सम्वन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।

            २५.   सर्वप्रथम यसमा पुनरावेदन अदालत जनकपुरवाट साधक जांचको लागि जाहेरहुन आएकोमा प्रतिवादीहरुको यस अदालतमा पुनरावेदन परेको देखिंदा पुनरावेदनकै रोहवाट हेरी इन्साफ हुने हुंदा यस अदालतमा रहेको साधकको लगत कट्टा गरीदिनु ।

            २६.   कुशमीदेवी महतोलाई कर्तव्य गरी मारेकोले प्रतिवादीहरु रामवहादुर महतो, मखन महतो र सत्येन्द्र कुमार महतो लाई ज्यान सम्वन्धी महलको १३(३) नं. र विन्देश्वरी देवी लाई ऐ. महलको १७(२) नं. वमोजिम सजायको मागदावी भएकोमा प्रतिवादी मध्ये सत्येन्द्र कुमार महतो हाजिर नभै फरार रहेकाले निजकाहकमा मुलतवी राखी वांकी प्रतिवादीहरु मध्ये रामवहादुर महतो र मखन महतोलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने र प्र. विन्देश्वरी देवीलाई ऐ.ऐनको १७(२) नं. वमोजिम ५ वर्ष कैद सजाय हुने गरी शुरु धनुषा जिल्ला अदालतवाट ०५५।९।२१ मा भएको फैसला उपर प्रतिवादी विन्देश्वरी देवीले चित्त वुझाई पुनरावेदन नगरेको र अरु प्रतिवादीहरुको पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेकोमा उक्त अदालतवाट शुरु जिल्ला अदालतकै फैसला सदर हुनेगरी फैसला गरेकोमा सो फैसला चित्त नवुझाई प्रतिवादीहरु रामवहादुर महतो र मखन महतोको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ।

            २७.   मेरी छोरी कुशमी देवीलाई ज्वांई सत्येन्द्र कुमार महतो, रामवहादुर महतो, मखन महतो, विन्देश्वरी महतो समेतले कर्तव्यगरी मारेकोले कानून वमोजिम कारवाही गरीपाँउ भन्ने राम नारायण महतोको जाहेरी दरखास्त रहेकोमा प्रतिवादी मध्येका रामवहादुर महतोले अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा मेरो जेठो छोरा सत्यन्द्र कुमार संग बुहारी कुशमी देवीको विवाह हुंदा निजको वावु जाहेरवाला राम नारायण महतोले १० कट्ठा जग्गा दिन्छु भनेकोमा नदिएको र सोही विषयमा राम नारायणले पञ्चायती समेत राखेपछि जग्गा नदिने पक्का भएकोले छोरा सत्येन्द्र रिसाई वुहारीलाई खतम वनाउनु पर्छ भनि ०५३।७।२१ गतेका दिन भन्दा म र मेरी श्रीमति विनदेश्वरीले मन्जुर गरेपछि जेठो छोराले महेन्द्रनगरमा भएको माइलो छोरो मखनलाई वोलाई अरु नचिनेका २ जनालाई पनि वोलाइ आए । सोही रात रातको अन्दाजी ११.०० वजे पछि नचिनेका तराइवासी २ जना आएपछि घरको दक्षिणपट्टि रहेको कोठामा रहेकी बुहारीलाई छोरा सत्यन्द्र र निजले ल्याएका २ जनाले मुखमा समाई छाति कुममा थिचे, म र छोरा मखनले कम्मर खुट्टामा समाई चटपटाउन दिएनौं । श्रीमति विन्देश्वरीले कोही आंउछनकी भनी वाहीर हेरीन । यसरी थिच्दा वुहारीको सास नगएकोले लात मुक्कले हिर्कायौं । त्यसपछि बुहारी मरेको ले छोरा सत्येन्द्र र निजले ल्याएका २ जना मानिस कता गए । माइलो छोरा मखन महेन्द्रनगर गयो । सल्लाह अनुसार म चाँही मेरो घरमा डाँका लाग्यो बुहारीलाई मारेछ भनि हल्ला गर्न गाँउतिर गएं भनी कसूरमा सावित भै वयान गरेको देखिन्छ भने अन्य प्रतिवादी मखन महतो र विन्देश्वरीले पनि निजकै वयानलाई समर्थन हुने गरी कसूरमा सावित रही वयान गरेको पाइन्छ ।  यिनै प्रतिवादी रामवहादुरले अदालतमा वयान गर्दा रातको १२ वजेतिर घरको मुलढोकामा चोरहरुले ढोका खोल्न खोज्दा आवाज आई उठें, टर्च वाली हेर्दा चोरहरुले म संग चावी माग्दा चावी निजहरुको नजिक फाली भागें । तिनै चोरहरुले वुहारीलाई मारेको हुनुपर्छ भनी कसूरमा इन्कारी वयान गरेको पाइन्छ भने अन्य प्रतिवादीहरु मखन महतो र विन्देश्वरीले पनि निजकै वयान मिलान हुने गरी कसूरमा इन्कारी वयान गरेको   देखिन्छ ।

            २८.   मृतक कुशमी देवीको कर्तव्य वाट मृत्यु भएको भन्ने कुरामा विवाद देखिदैन । प्रतिवादीहरुको वयान समेतवाट मृतक कुशमीदेवीको १२।१३ वर्ष अगाडि प्र.सत्येन्द्र संग विवाह हुंदा मृतकका वावु जाहेरवाला रामनारायण महतोले १० कट्ठा जग्गा दिन्छु भनेकोमा नदिएवाट वरावर मृतक र प्रतिवादीहरु वीच झगडा हुने गर्दथ्यो भन्ने कुरा मौकामा वुझिएका राम उदगार महतो, राम कुमार महतो र अजव कुमार शर्मा समेतले व्यहोरा समर्थन हुने गरी वकपत्र गरी दिएको समेतवाट प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानलाई पुष्टि गरेको देखिन्छ । यसवाट दाइजोको कारणवाट कुशमी देवीलाई कर्तव्य गरी मारेको भन्ने कुरालाई पुष्टि मिलेको देखिन्छ । मृतकको मृत्युको कारणका सम्वन्धमा मृतकको मृत्यु छातिमा Blunt injury ले गर्दा Liver मा Rapture भई रक्तश्राव भई भएको भन्ने शवपरीक्षण प्रतिवेदनवाट देखिन्छ । प्र. रामवहादुर समेतका ४।५ जना मानिसले कुम छातिमा थिची मुक्काले प्रहार गरेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र सोही वमोजिम लिभरमा चोट लाग्न गई रक्तश्राव भई मृतकको मृत्यु भएको भन्ने लाश जाँच परीक्षण प्रतिवेदनवाट देखिंदा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्षको वयान अन्यथा भन्ने देखिदैन ।

            २९.   जहांसम्म चोरहरु आई मृतकलाई मारेको भन्ने प्रतिवादीहरुको भनाई छ त्यसतर्फ विचार गर्दा चोरहरु आएपछि आफूसंग भएको घरको सांचो दिई आफू भागेको भनि प्र. रामवहादुरले अदालत समक्ष वयान गरेको पाइन्छ । आफू भाग्दा बुहारीलाई मारी सकेका थिए  भन्ने निजको भनाई रहेकोमा घरको मुल ढोकानेर सुतेका यि प्रतिवादीलाई केही नगरी केही नभएकी बुहारीलाई मात्र मारे भन्ने निजको भनाई स्वाभाविक देखिदैन । चोर आएपछि गाँउमा हल्लागरी गुहार माग्नु पर्नेमा त्यस्तो केही भएको देखिदैन । चोरहरुले वन्दुक पड्काए भनेकोमा वन्दुकको आवाज आई हल्ला भएको कसैले सुनेको देखिदैन । घरमा ३ ठांउमा सेन खनेको भनेकोमा वन्दुक वोकी ३ पटक फायर गर्दै आएको डाँकाहरुले सेन खने होलान भनी अनुमान गर्न समेत सकिदैन । प्रतिवादीहरुको घटना घटेको रात मृतक संग झगडा भएको र सवै प्रतिवादी सो दिन घरमानै भएको भन्ने कुरा मौकामा कागज गर्ने अजव कुमार शर्मा, रामकुमार महतो, राम उदागर महतोको वकपत्रवाट देखिन आँउछ । यस्तो अवस्थामा प्रतिवादीहरु अन्यत्र रहेको भन्ने देखिदैन ।

            ३०.   यसरी मृतकको मृत्यु प्रतिवादीहरुको कर्तव्यवाट वाहेक अरु कारणवाट भएको भन्ने नदेखिएको र उक्त दिन चोर डाकाहरु आएको भन्ने पनि कुनै प्रमाणवाट नदेखिएको अवस्थामा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयानलाई शवपरीक्षण प्रतिवेदन जाहेरी दरखास्त, मौकामा वुझिएका राम उदागर महतो समेतको वकपत्र समेतले समर्थन गरेको देखिंदा निजहरुको अदालतमा भएको इन्कारी वयान लाई पुष्टि हुने अवस्था देखिएन । यस्तो अवस्थामा म्यादमा हाजीर नभै फरार रहने प्रतिवादी सत्येन्द्र कुमार महतोको हकमा अ.वं. १९० नं.वमोजिम मुलतवी राखी प्रतिवादीहरु रामवहादुर महतो र मखन महतो लाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैदको सजायहुने ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको मिति ०५५।९।२१ को फैसला लाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति ०५७।११।८ को फैसला मिलेको देखिंदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीहरु रामवहादुर महतो र मखन महतोको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाइदिनु ।                                                  

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

इति सम्वत २०६० साल असोज ९ गते रोज ६ शुभम..............................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु