निर्णय नं. ८७०० - लेनदेन.

ने.का.प. २०६८, अङ्क १०
निर्णय नं. ८७००
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
दे.पु.नं. २०६६–CI–०९५०
फैसला मितिः २०६८।५।१५।५
मुद्दाः– लेनदेन ।
पुनरावेदक वादीः दाङ्ग जिल्ला, बिजौरी गा.वि.स. वडा नं. ४ बस्ने देवमणि देवकोटा
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला मानपुर गा.वि.स. वडा नं. ७ बस्ने अनोदकुमार देवकोटा
शुरु फैसला गर्ने :
मा.न्या. श्री वीरेन्द्रकुमार बाटाजू
पुनरावेदन फैसला गर्ने (तेस्रो राय):
मा.न्या.श्री तेजबहादुर के.सी.
§ कुनै पनि लिखतको आसय निरोपण गर्नु पर्दा लिखतमा प्रयोग भएका भाषालाई केन्द्रबिन्दूमा राखी मानवीय व्यवहार, मानसिकता र स्वाभाविकताको परिप्रेक्ष्यमा न्यायिक विवेचना गर्नुपर्ने ।
§ अघिल्लो दिन लेनदेनको कागज गरी भोलिपल्ट मिलापत्र गर्दा सो कागज बाहेकका अन्य कागज मात्र निष्क्रिय भनियो होला भनी मान्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वाभाविक देखिँदैन । सो लिखतलाई निष्क्रिय नबनाउने अभिप्राय रहेको भए यसलाई प्रष्ट शब्दमा बाँकी नै राखिएको व्यहोरा लेखिन्थ्यो भन्ने अनुमान सहजै गर्न सकिने ।
§ मिलापत्र गर्नुको तात्पर्य नै सबै विवादको समाधान गर्नु हो । एउटा विवाद अन्त्य गरी अर्को विवाद यथावत् कायम राखिएको होला भन्ने अर्थ गर्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वाभाविक नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता अर्जुनप्रसाद कँडेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता शालिकराम आचार्य
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः–
विपक्षीले मबाट मिति २०५२।८।२० गते रु. ५३६५६।– कर्जा लगी तमसुक गरी दिनुभएकोमा उक्त रुपैयाँ नदिएकाले साँवा र व्याज गरी जम्मा रु. ७९९०१।८० र भरी भराउ हुँदासम्मको व्याज र कोर्टफी समेत दिलाई पाऊँ भन्ने फिरादपत्र ।
फिरादी र मेरोबीचमा लेनदेन मुद्दा परी २०५२।८।२१ गतेभन्दा अगाडिका घरसारका लिखतहरूलाई निष्क्रिय पार्ने शर्तमा २०५२।८।२१ मा हामीबीच भएका सबै लिनुदिनु गरी मिलापत्र गरेकाले फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र ।
यिनै वादी प्रतिवादीवीच पहिले लेनदेन मुद्दा परी सो लेनदेन मुद्दामा मिति २०५२।८।२१ गते अघिका हामीवीच भएका घरसारको सम्पूर्ण कागज निष्क्रिय हुने गरी मिति २०५२।८।२१ गते दुवै पक्षबीच मिलापत्र भएको प्रमाण मिसिलबाट देखिएकोले मिति २०५२।८।२० गतेको लिखतबाट भराई पाऊँ भन्ने फिराद दावी उक्त शर्तनामा गरी भएको मिलापत्रले निष्क्रिय भैसकेको अवस्थामा वादी दावी पुग्न सक्दैन भन्ने दाङ्ग देउखुरी जिल्ला अदालतबाट २०५८।३।१७ मा भएको फैसला ।
फिराद दावी नपुग्ने गरी दाङ्ग देउखुरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो फिराद दावीअनुसार दिलाई भराई पाऊँ भन्ने वादी देवमणि देवकोटाको पुनरावेदनपत्र ।
यसै लगाउको जालसाज मुद्दा दाङ्ग देउखुरी जिल्ला अदालतमा कारवाही भैरहेकोले उक्त मुद्दा किनारा भै आएपछि वा पुनरावेदन परेपछि साथै राखी किनारा गर्ने गरी दायरीको लगत कायमै राखी अ.वं. १२ नं. बमोजिम मुलतवी राखी दिएको छ भन्ने पुनरावेदन अदालत तुल्सीपुरको मिति २०५९।८।१७ को आदेश ।
जालसाज मुद्दा दाङ्ग देउखुरी जिल्ला अदालतबाट किनारा भै प्राप्त भएकोले यस मुद्दा मुलतवीबाट जगाई दिएको छ । मुलतवी रहँदा हाजिर रहेका पक्षलाई ७ दिने सूचना जारी गरी हाजिर भए वा गुजारे नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६०।३।२४ को आदेश ।
विवादमा नआएको लेनदेन विषयमा समेत मिलापत्र गरेको भन्ने आधारमा दावी पुग्न नसक्ने ठहर गरेको शुरु इन्साफ विचारणीय देखिँदा छलफलमा विपक्षी झिकाउने र यिनै पक्ष विपक्षवीच चलेको लेनदेन मुद्दामा मिति २०५२।८।२१ मा भएको मिलापत्रसहितको मिसिल सम्बन्धित अदालतबाट झिकाई लगाउको जालसाज मुद्दा साथै राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६०।५।२३ को आदेश ।
फिरादीले मिति २०५२।८।२० गतेको लिखतअनुसारको साँवा व्याज यी प्रतिवादीबाट भराई पाऊँ भनी दावी लिई फिराद गरेको देखिन्छ । यी वादी प्रतिवादी दुवै पक्षवीच मिति २०५२।८।२१ गते घरसारमा हामीहरू बीच भएको कुनै पनि कागजहरू यसै मिलापत्रद्वारा निष्क्रिय हुने शर्तमा दुवैथरीको मञ्जूरी भई दाङ्ग देउखुरी जिल्ला अदालतमा मिलापत्र भएको कागजलाई वादी समेतले अन्यथा भन्न सकेको देखिँदैन । तसर्थ उक्त मिलापत्रको कागज प्रमाण ग्रहण गर्न मिल्ने नै देखिन आउँछ । उक्त २०५२।८।२१ को मिलापत्रको कागजभन्दा अगाडि २०५२।८।२० गतेको घरसारको लिखत कागज उक्त मिलापत्रबाट निष्क्रिय भैसकेको देखिएकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको मिति २०५८।३।१७ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री उद्धवप्रसाद बाँस्कोटाको राय ।
देवमणि देवकोटाले मेरा बाबु तेजमणि देवकोटाबाट मिति २०४६।३।२४ मा घर खर्च गर्न भनी रु. ४२,६००।– कर्जा लिई सोबापतमा आफ्नो नाममा दर्तास्रेस्ता भएको दाङ्ग मानपुर गा.वि.स. वडा नं. ७ ग कि.नं. १५२ मध्ये दक्षिणतर्फको ज.वि. १–१–६ जग्गा पारीत गरी दिने गरी घरसारमा राजीनामा गरी दिएकोमा उक्त जग्गा पारीत पनि नगरी दिने र रुपैया पनि नबुझाई बुवा तेजमणिले तरताकेता गर्दागर्दै बुवा २०४७।३।२३ मा परलोक हुनु भएकोले उक्त लिखतको साँवा व्याज दिलाई भराई पाऊँ भनी यिनै अनोदकुमार देवकोटाले यिनै पुनरावेदक देवमणि देवकोटाको उपरमा दाङ्ग देउखुरी जिल्ला अदालतमा २०५२।२।४ गते लेनदेन मुद्दाको फिराद पत्र दायर गरी चलेको र उक्त लेनदेन मुद्दामा २०५२।८।२१।५ मा मिलापत्र हुँदा आज मिलापत्र भएको मितिभन्दा अगाडि म वादी मेरो बुवा तेजमणि देवकोटा र प्रतिवादी देवमणि देवकोटा समेत दुवैथरिका बीच घरसारमा भएको कुनै पनि कागजातहरू यसै मिलापत्रको कागजले निष्क्रिय हुने शर्त राखी आफ्नो सम्पूर्ण वादी दावी छाडी मिलापत्र भएको देखिन्छ । सोही उल्लेखलाई प्रस्तुत मुद्दामा शुरु अदालतले दावीको मिति २०५२।८।२० गते पुनरावेदक साहु र प्रत्यर्थी ऋणी भई चलेको रु.५३,६५६।– कर्जा रकमबापतको तमसुक समेत सोही मिलापत्रमा समाहित गरी वादी दावी नपुग्ने गरी फैसला गरेको देखियो । प्रस्तुत मुद्दाको दावीको कपाली तमसुक उल्लिखित २०५२।८।२१ गतेको मिलापत्र हुनु अघिल्लो दिनमा सम्पन्न भएको देखिएतापनि यो तमसुकी रुपैयाको सो मिलापत्रमा कुनै जिकीर नरहेको र स्पष्ट उल्लेख हुन नसकेको र सो तमसुकको अस्तित्वलाई प्रतिवादीले स्वीकारै गरेको अवस्था देखिन्छ । फेरि कानूनी रुपमा हेर्दा पनि मिलापत्रमा किटान नगरिएका विषयवस्तुलाई सो दावीको मिलापत्र भित्रै पर्यो भनी ठहर्याउन विवेकपूर्ण र न्यायसंगत नहुने पनि देखिन्छ । यसरी शुरु दाङ्ग देउखुरी जिल्ला अदालतले घुमाउरो तवरले व्याख्या गरी वादी दावी नपुग्न सक्ने ठहर्याएको मिति २०५८।३।१७।१ को फैसला त्रुटिपूर्ण हुँदा बदर भई वादी दावीबमोजिम तमसुकी रुपैया र सोको कानूनबमोजिम पाउने व्याज भराई पाउने ठहर्छ । वादी दावी पुग्न नसक्ने शुरु फैसला सदर गर्ने गरेको मा.न्या. श्री उद्धवप्रसाद बास्कोटाज्यूको रायसँग सहमत नहुँदा निर्णयार्थ न्याय प्रशासन ऐन, २०४८ को दफा ८(४) बमोजिम तेस्रो इजलाससमक्ष पेश गर्नु भन्ने मा.न्या. श्री ओमप्रसाद सुवेदीको राय ।
मिति २०५२ मार्ग २० गते प्रतिवादी अनोदकुमार देवकोटा ऋणी र धनी देवमणि देवकोटावीच रु. ५३,६५६।– को तमसुक भएको र सोको भोलिपल्ट ऐ. २१ गते अनोदकुमार देवकोटाका बाबु तेजमणि देवकोटा धनी र देवमणि देवकोटा ऋणी भएको मिति २०४६ असार २४ गते भएको लिखतको सम्बन्धमा तेजमणिको स्वर्गेपछि निजका छोरा अनोद देवकोटा वादी भै चलेको २०५२ सालको दे.नं. ४९८ को लेनदेन मुद्दामा भएको मिलापत्रमा, “म वादी (मिलापत्र निवेदनमा कमा पनि भएको) मेरो बाबु तेजमणि देवकोटा र प्रतिवादी देवमणि देवकोटा समेत दुवैथरिका बीच परस्परमा भएको कुनै पनि कागजातहरू यसै मिलापत्रको कागजले निष्क्रिय हुने गरी ...” शर्त राखी भन्ने व्यहोरा राखी मिलापत्र भएको देखिन्छ । प्रतिवादी अनोदले मार्ग २० को लिखतको सहिछाप स्वीकारे पनि र निजको बाबु तेजमणिसँग देवमणिले गरी दिएको लिखत भएपनि तेजमणिको स्वर्गेपछि निजको हकमा र तर्फबाट छोरा अनोदले वादी भै दे.नं. ४९८ को मुद्दा दिएको र सोको मिलापत्रको व्यहोरामा नै म वादी मेरो बाबु तेजमणि र प्रतिवादी देवमणि देवकोटासमेत वीचको घरसारको कुनै पनि कागज निष्क्रिय हुने भन्ने बोली परेको छ । बाबु तेजमणिको मृत्युपछि वादीका छोरा अनोद बाबु वा आफूसँग भएको व्यवहारमा कुनै पनि लिखत, मुद्दा र मिलापत्र गर्न निज स्वतन्त्र हुने देखिन्छ । २०५२ मार्ग २० को तमसुकको अन्तरव्यहोराले २०५२ मार्ग २१ को मिलापत्रमा प्रतिवादी आफू अनोद र आफ्नो बाबु तेजमणिसँगको घरायसी लिखतको व्यवहार समावेश गरेको र उल्लेख भएको पाइन्छ । अतः वादीको बाबु तेजमणि र प्र. देवमणिवीचको लिखतउपरको मुद्दामा भएको मिलापत्र भए पनि सो मिलापत्रमा त्यस मुद्दाकै वादी अनोदको प्र. देवमणिसँगको व्यवहारसमेत समेटी उल्लेख गरेको हुँदा सो मिलापत्र हुनु अगाडिको अनोद ऋणी भएको मार्ग २० गतेको लिखत उक्त मिलापत्रको व्यहोराको दायराभित्र पर्दैन भन्ने अर्थ गर्न मिल्दैन । बाबु तेजमणिको स्वर्गेपछि निजका छोरा अनोद वादी भै मुद्दा दिएपछि र मिलापत्रमा आफूसँग प्रतिवादी देवमणिको व्यवहारसमेत समेट्ने गरी आफू “म वादी” समेत सँगको आजसम्मको कागज निष्क्रिय हुने भन्ने बोली परेपछि उक्त मिलापत्रमा मार्ग २० गतेको तमसुक निष्क्रिय नहुने भनी किटान गरी नपरेकोले सो तमसुकलाई बाहेक गरी मिलापत्र भएको हो भन्ने तर्कसँग सहमत हुन सकिँदैन । मुद्दाका पक्षहरू बीच भएको मिलापत्रमा मुद्दाका पक्षहरू वीचको व्यवहारको कुरा किटान गरी बाहेक नगरे पछि सोलाई समावेश नै भएको मान्नुपर्ने हुन्छ । २०५२ साल मार्ग २१ गतेको मिलापत्रमा “म वादी” समेत भनी स्पष्ट उल्लेख भएको शब्दले निजसँग भएको घरसारको व्यवहारलाई समेत समेट्दछ । मिलापत्रको निवेदन र मिलापत्रमा २०५२ मार्ग २० गतेको तमसुक निष्क्रिय नहुने भनी किटान साथ बाहेक गरी उल्लेख नगरेकोले सो बाहेकको भन्न मिल्दैन । तसर्थ मिति २०५२ मार्ग २१ को मिलापत्रको व्यहोरामा म वादी मेरा बाबु तेजमणि र प्रतिवादी देवमणिसमेत दुवै थरिका बीच परस्परमा भएका कुनै पनि कागजातहरू यसै मिलापत्रको कागजले निष्क्रिय हुने गरी भन्ने शब्दका शर्त राखी मिलापत्र भएको र बाबु तेजमणिको स्वर्गे भई निजका छोरा अनोद वादी भै दे.नं. ४९८ को लेनदेन मुद्दा दिएको कारणले निज पनि दुईमध्ये मुद्दाका एक पक्ष भएको हुँदा र सो आधारमा उक्त मिलापत्रबमोजिम निष्क्रिय हुने कागजमा ऐ. मार्ग २० को दावीको तमसुक समेत पर्ने भएको हुँदा वादी दावी नठहर्ने गरी शुरु जिल्ला अदालतले मिति २०५८।३।१७ मा गरेको फैसला कानूनसम्मत् मिलेकै देखिँदा सदर हुने ठहर्याई माननीय न्यायाधीश श्री उद्धवप्रसाद बाँस्कोटाले मिति २०६२।१।१९ मा व्यक्त गर्नु भएको राय मनासिव हुँदा शुरुको फैसला सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने व्यहोराको पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६४।२।२ को फैसला ।
मैले प्रतिवादीसँग दावी गरेको रकम प्रतिवादी अनोदकुमारले मिति २०५२।८।२० मा मलाई गरिदिएको तमसुकको रकम हो । सो लिखतको धनी म देवमणि देवकोटा र ऋणी प्रतिवादी अनोदकुमार देवकोटा हुन् । विपक्षीसँग मिलापत्र भएको मुद्दाको दावीको लिखत भनेको धनी तेजमणि देवकोटा ऋणी म देवमणि देवकोटा भएको मिति २०४६।३।२४ को घरसारको लिखत थियो । लेनदेनको विषय अलग अलग रकमको अलग कारोबार हुने प्रकृतिको भएकोले बाबुसँगको लिखत निष्क्रिय भएको कुराले अलग मितिको छोरासँग अलग कारोबारको लिखत निष्क्रिय हुन सक्तैन । मिति २०५२।८।२१ को मिलापत्र म र प्रतिवादीका बाबु तेजमणिका बीचमा भएका विगतका कागजहरूलाई निष्क्रिय बनाउने उद्देश्यबाट सम्पन्न भएको हो । प्रस्तुत मुद्दा स्व. तेजमणिसँगको लिखतको आधारमा चलेको नभई तेजमणिका छोरा अनोदकुमार र मेरोबीचमा भएको लेनदेनको कारोबारको लिखतको आधारमा चलेको हो । मिलापत्र भएको मुद्दामा उल्लेख र पेश नभएको अलग विषयमा भएको कागज बदर बातिल नभएको अर्को पृथक विषयमा मिति २०५२।८।२१ मा भएको मिलापत्रलाई मेरा विरुद्धमा प्रमाणमा लगाई भएको पुनरावेदन अदालतको फैसला अ.वं. १८४क तथा १८५ नं. एवं नेकाप २०४५, अङ्क १०, पृष्ठ ९७७ मा प्रकाशित सिद्धान्त समेतको प्रतिकूल हुँदा मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र ।
पुनरावेदन अदालतले मिति २०४६।३।२४ मा तेजमणि ऋणी र देवमणि धनी भई भएको २०४६।३।२४ को तमसुकको सम्बन्धमा यी धनी तेजमणिको मृत्यु भई निजको छोरा अनोदकुमारले वादी भै फिराद गरेकोमा उक्त मुद्दामा मिति २०५२।८।२१ मा मिलापत्र भएको देखिन्छ । उक्त मिलापत्रको व्यहोरामा “आज मिलापत्र भएको मितिभन्दा अगाडि म वादी, मेरो बाबु तेजमणि देवकोटा र प्रतिवादी देवमणि देवकोटा समेत दुवैथरिका बीच घरसारमा भएका कुनै पनि कागजातहरू यसै मिलापत्रको कागजले निष्क्रिय हुने” भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दामा दावी लिएको मिति २०५२।८।२० को लिखत उक्त मिलापत्र गर्ने तेजमणिका छोरा अनोदकुमार ऋणी भई गरिदिएको हुँदा उक्त लिखत समेत निष्क्रिय भएको भन्ने अर्थ गरी पुनरावेदन अदालतले दावी नपुग्ने ठहर गरेको देखिन्छ । तर मिलापत्र भएको मुद्दामा प्रस्तुत मुद्दाका प्रतिवादी अनोदकुमारको बाबु धनी भएको देखिएको र निजको मृत्यु भई निजको हकमा छोरा अनोदकुमारले वादी भई मुद्दा गरेको देखिएकोले दावीभित्रकै विषयमा मिलापत्र गर्न सक्ने भई सो गरेको मान्नुपर्ने र उक्त मुद्दामा प्रतिवादी अनोदकुमारले गरेको व्यवहारको सम्बन्धमा कुनै निर्णय गर्नुपर्ने विषय नै समावेश भएको मान्न नसकिने हुँदा मुद्दाको विषयवस्तुभन्दा बाहिरको विषयमा मिलापत्रले समेट्न सक्ने समेत देखिएन । प्रतिवादी अनोदकुमारले गरिदिएको मिति २०५२।८।२० को लिखतको हकमा उपरोक्त मिलापत्रले सम्बोधन गर्नुपर्ने कानूनबमोजिमको विवाद नै संलग्न नभएकोमा पनि सो समेतलाई लक्ष्य गरी मिलापत्रभित्र समेटिएको मान्न नसकिने हुनाले पुनरावेदन अदालत तुल्सीपुरको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३,५४, अ.वं. १८४, १८५ नं.को व्यवस्था र नेकाप २०५२, नि.नं. ६०४९, पृ. ६८३ मा प्रतिपादित कानूनी सिद्धान्तसमेत प्रतिकूल आकृष्ट नहुने मिलापत्रलाई आधार बनाई त्रुटिपूर्ण निर्णय गरेको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको मिति २०६७।१।८ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री अर्जुनप्रसाद कँडेलले प्रत्यर्थीका बाबु तेजमणिसँग भएका घरसारका लिखतहरूलाई निष्क्रिय गराउने गरी मिति २०५२।८।२१ मा मिलापत्र भएको हो । बाबुसँगको लिखत निष्क्रिय हुने कुराले छोरासँगको छुट्टै कारोबारको लिखत निष्क्रिय हुन सक्तैन । यो मुद्दा तेजमणिसँगको लिखतको आधारमा चलेको नभई तेजमणिका छोरा प्रत्यर्थी अनोदकुमार र वादी देवमणिका बीच भएको लेनदेनको छुट्टै कारोबारमा भएको लिखतको आधारमा चलेको मुद्दा हो । मिति २०५२।८।२१ को मिलापत्रमा प्रस्तुत मुद्दाको लिखतको कुनै प्रसँग नै उल्लेख भएको छैन । तसर्थ उक्त मिलापत्रको आधारमा प्रस्तुत मुद्दामा वादी प्रतिवादीबीच मिति २०५२।८।२० मा भएको लिखत समेत निष्क्रिय भएको भन्ने अर्थ गरी वादी दावी नपुग्ने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत तुल्सीपुरको इन्साफ त्रुटिपूर्ण छ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शालिकराम आचार्यले वादी अनोदकुमार देवकोटा र प्रतिवादी देवमणि देवकोटाबीचको लेनदेन मुद्दामा मिति २०५२।८।२१ मा भएको मिलापत्रले प्रस्तुत मुद्दाको मिति २०५२।८।२० को भनिएको घरसारको लिखत समेत निष्क्रिय भइसकेको हुँदा वादी दावी नपुग्ने गरेको शुरु तथा पुनरावेदन अदालतको फैसला कानूनसम्मत् छ भनी बहस गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत तुल्सीपुरको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनुपरेको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीले मिति २०५२।८।२० मा कपाली तमसुक गरिदिई मबाट ऋण लिएको सावाँ व्याज रकम भाखाभित्र नबुझाएको हुँदा सावाँ व्याज प्रतिवादीबाट दिलाई भराइ पाऊँ भन्ने वादी दावी र मेरा पिता तेजमणि देवकोटा धनी र विपक्षी देवमणि देवकोटा ऋणी भई मिति २०४६।३।२४ मा विपक्षीले मेरा पिताबाट लिएको ऋण दिलाई भराई पाऊँ भनी मैले दायर गरेको लेनदेन मुद्दामा विपक्षी देवमणिसँग मिति २०५२।८।२१ मा भएको मिलापत्रमा सो मितिसम्म हामीहरू बीच घरसारमा भएका सबै कागजहरू निष्क्रिय हुने शर्त राखी मिलापत्र भएको हुँदा दावीको मिति २०५२।८।२० को तमसुकसमेत निष्क्रिय भइसकेको छ भन्ने प्रतिउत्तर जिकीर रहेको देखिन्छ ।
३. प्रतिवादीले प्रतिउत्तरपत्रमा उल्लेख गरेको यिनै अनोदकुमार देवकोटा वादी र यिनै देवमणि देवकोटा प्रतिवादी भएको दे.नं. ४९८।१८८ को लेनदेन मुद्दाको फिरादपत्रमा, “मेरा एकाघरका बाबु तेजमणि देवकोटाबाट विपक्षी देवमणि देवकोटाले मिति २०४६।३।२४ मा रु. ४२,६००।– कर्जा लिँदा गरिदिएको लिखतबमोजिम जग्गा राजीनामा पारीत नगरी दिएको र पिताको मिति २०४७।३।२३ मा मृत्यु भएको हुँदा विपक्षीबाट उक्त ऋणको साँवा र व्याजसमेत दिलाई भराई पाऊँ” भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । दाङ्ग जिल्ला अदालतमा मिति २०५२।२।४ मा दायर भएको उक्त मुद्दामा वादी प्रतिवादीका बीच मिति २०५२।८।२१ मा मिलापत्र भएको देखिन्छ । उक्त मिलापत्रको कागजमा, “आज मिलापत्र भएको मितिभन्दा अगाडि म वादी मेरो बाबु तेजमणि देवकोटा र प्रतिवादी देवमणि देवकोटा समेत दुवैथरिका बीच घरसारमा भएका कुनै पनि कागजातहरू यसै मिलापत्रको कागजले निष्क्रिय हुने गरी” भन्ने शर्त राखी निजहरू बीच मिलापत्र भएको देखिन्छ ।
४. प्रस्तुत मुद्दामा हामी वादी प्रतिवादीबीच मिति २०५२।८।२० मा भएको कपाली तमसुक दे.नं. ४९८।१८८ को उपरोक्त लेनदेन मुद्दामा मिति २०५२।८।२१ मा भएको मिलापत्रको दायराभित्र पर्दैन भन्ने नै पुनरावेदक वादीको मुख्य पुनरावेदन जिकीर रहेको देखिएको छ । सो सम्बन्धमा विचार गरी हेर्दा, दे.नं. ४९८।१८८ को उक्त लेनदेन मुद्दा दायर गर्दा बाबु तेजमणिको मृत्यु भएको कारण दर्साई अनोदकुमार देवकोटाले वादी भई फिराद दायर गरेको देखिन्छ । उक्त मुद्दामा निजहरू बीच मिति २०५२।८।२१ मा मिलापत्र हुँदा स्पष्ट रुपमा, “आज मिलापत्र भएको मितिभन्दा अगाडि म वादी मेरो बाबु तेजमणि देवकोटा र प्रतिवादी देवमणि देवकोटा समेत दुवैथरिका बीच घरसारमा भएको कुनै पनि कागजातहरू निष्क्रिय हुने गरी” भन्ने शर्त उल्लेख भएको देखिएबाट वादी निज अनोदकुमार, निजका बाबु तेजमणि र प्रस्तुत मुद्दाका वादी यी देवमणिबीच मिति २०५२।८।२१ भन्दा अगाडि भएका घरसारका सबै कागजहरूलाई गोश्वारा बोलीमा एकैपटक निष्क्रिय गरी मिलापत्र भएको देखिन्छ । उक्त मिलापत्रमा अनोदकुमार, तेजमणि र देवमणि तीनै जनाको नाम उल्लेख भएको र प्रस्तुत मुद्दाको मिति २०५२।८।२० को कपाली तमसुकलाई उक्त मिलापत्रले निष्क्रिय नहुने भनी किटानीका साथ बाहेक गरेको नदेखिएको अवस्था हुँदा प्रस्तुत कपाली तमसुक उक्त मिलापत्रको दायराभित्र पर्दैन भन्ने वादी देवमणि देवकोटाको दावी र मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा ग्रहण गरिएको आधार समेत तर्कसंगत देखिन आएन । मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा आधार लिइएको नेकाप २०५२, पृष्ठ ६८३ मा प्रकाशित नि.नं. ६०४९ को मुद्दाको विषयवस्तु अंश मुद्दामा मानो छुट्टिएको मिति कायम गर्ने विषयसँग सम्बन्धित रहेको देखिँदा सो मुद्दामा प्रतिपादित सिद्धान्तसमेत प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन ।
५. कुनै पनि लिखतको आसय निरोपण गर्नु पर्दा लिखतमा प्रयोग भएका भाषालाई केन्द्रबिन्दूमा राखी मानवीय व्यवहार, मानसिकता र स्वभाविकताको परिप्रेक्ष्यमा न्यायिक विवेचना गर्नुपर्ने हुन्छ । स्वर्गीय बाबु साहू भएको २०४६।३।२४ गतेको कपालीमा परिणत लिखतको आधारमा वादी प्रतिवादीवीच लेनदेन मुद्दा २०५२।२।४ गतेबाट चल्दछ । वादीसँगै २०५२।८।२० गते अर्को तमसुक हुन्छ र भोलिपल्ट अर्थात् २०५२।८।२१ गतेको मिलापत्रमा, “म वादी, मेरा बाबु तेजमणि र प्रतिवादी देवमणि” वीचका सबै कागज निष्क्रिय हुने व्यहोरा अंकित हुन्छ । यस अवस्थामा सो २० गतेको बाहेक वादी प्रतिवादीवीच अर्को लिखत भएको देखिँदैन । तसर्थ वादीसँग गरिएको लिखत पनि सो मिलापत्रले निष्क्रिय गरेको छ । अघिल्लो दिन लेनदेनको कागज गरी भोलिपल्ट मिलापत्र गर्दा सो कागज बाहेकका अन्य कागज मात्र निष्क्रिय भनियो होला भनी मान्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वभाविक पनि देखिँदैन । सो लिखतलाई निष्क्रिय नबनाउने अभिप्राय वादी प्रतिवादीबीच रहेको भए यसलाई प्रष्ट शब्दमा बाँकी नै राखिएको व्यहोरा लेखिन्थ्यो भन्ने अनुमान सहजै गर्न सकिन्छ । मिलापत्र गर्नुको तात्पर्य नै सबै विवादको समाधान गर्नु हो । एउटा विवाद अन्त्य गरी अर्को विवाद यथावत् कायम राखिएको होला भन्ने अर्थ गर्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वभाविक देखिँदैन । मिलापत्रको व्यहोराले पनि यही तर्कलाई पुष्टि गर्दछ । “म वादी” भनी लेखिएपछि मिलापत्र दरखास्तमा कमा ( , ) राखी सो पछि, “मेरा बाबु तेजमणि” लेखिएबाट भाषाशास्त्रीय दृष्टिकोणबाट समेत वादी र निजका बाबु दुवै पक्षसँग प्रतिवादीका सो अघिका लिखत निष्क्रिय गरिएको अर्थ नै स्वाभाविक र न्यायसम्मत् देखिन्छ ।
६. अतयव दे.नं. ४९८।१८८ को लेनदेन मुद्दामा मिति २०५२।८।२१ मा भएको मिलापत्रले प्रस्तुत मुद्दाका वादी प्रतिवादीवीच मिति २०५२।८।२० मा भएको कपाली तमसुकलाई बाहेक गरेको नदेखिएको हुँदा सो मिलापत्रबाट निष्क्रिय भएको मिति २०५२।८।२० को उक्त तमसुकको सावाँ व्याज प्रतिवादी अनोदकुमार देवकोटाबाट भराइ पाऊँ भन्ने वादी देवमणि देवकोटाको दावी नपुग्ने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत तुल्सीपुरको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या.खिलराज रेग्मी
इति संवत् २०६८ साल भदौ १५ गते रोज ५ शुभम् ।
इजलास अधिकृत : मातृकाप्रसाद आचार्य