निर्णय नं. ८७०१ - अंश मिलापत्र लिखत बदर चलन

ने.का.प. २०६८, अङ्क १०
निर्णय नं. ८७०१
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री तर्कराज भटृ
संवत् २०६५ सालको CI–०९०५
फैसला मितिः २०६८।४।३२।४
मुद्दाः– अंश मिलापत्र लिखत बदर चलन । ।
पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ ठाकुरवाडी रोड बस्ने विन्दुदेवी श्रेष्ठ समेत
विरुद्ध
प्रत्यर्थी वादीः जि.मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २२ वस्ने सनम श्रेष्ठ समेत
शुरु फैसला गर्नेः–
मोरङ्ग जिल्ला अदालत
मा.न्या.श्री महेशप्रसाद पुडासैनी
पुनरावेदन फैसला गर्नेः
पुनरावेदन अदालत विराटनगर
मा.न्या.श्री विनोदप्रसाद ढुंगेल
मा.न्या.श्री केदारप्रसाद चालिसे
§ बाबु, पतिले कानूनबमोजिम पाउने न्यायोचित् अंश नबुझी कानूनी रुपमा अंश छोडपत्र गरेको वा लिँदै नलिएको अंश लिएको भनी लिखत खडा गरेको अवस्थामा त्यस्तो अंश छोडपत्र गर्ने वा नलिएको लिखतबाट अंश लिएँ पाएँ भनी अंश भरपाई गर्नेका पत्नी छोराछोरीले आफूहरूले पाउनु पर्ने अंश पति पिता बाहेकको सगोलका अंशियारउपर दावी गर्न नसक्ने भन्न नमिल्ने ।
§ अंश हक नैसर्गिक हक हो । कसैले आफ्नो हक छोडपत्र गर्दा अरुको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने नैसर्गिक हकबाट बञ्चित हुन पुग्दछ । के कति अंश बुझेको छ र समस्त सम्पत्तिको तुलनामा उसले बुझेको सम्पत्ति न्यायोचित् छ भने मात्र उसका श्रीमती छोराछोरीले अरु अंशियारबाट दावी गर्न नसक्ने ।
§ तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको तुलना गर्दा अंश भपाई न्यायोचित् नदेखिएको अवस्थामा उसले गरेको अंश छोडपत्र तथा अंश मुद्दाको मिलापत्रले कानूनतः मान्यता पाउन नसक्ने ।
(प्रकरण नं.२)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री निरञ्जन आचार्य
प्रत्यर्थी वादीतर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अंशबण्डा महलको ३, ४ र ५ नं.
फैसला
न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदन दायर भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
स्व.बालकृष्ण र विपक्षी विन्दु देवीका ३ भाइ छोराहरूमा जेठा हाम्रो पति पिता विपक्षी सुवोध श्रेष्ठ, माहिलो विपक्षी संजीव श्रेष्ठ र कान्छो विपक्षी सुमित श्रेष्ठ हुन । ससुरा हजुरवुवा बालकृष्णको मिति २०५५।२।२ मा देहान्त भएको थियो । म मनुकुमारी र विपक्षी सुवोधका बीच २०४६ सालमा अन्तरजातीय प्रेम विबाह भएकोले विपक्षी सासू देवरहरूले हेलाहोचो गरी चुलो मानुसम्म गर्न दिएनन् । पति सुवोधको के कहिलेदेखि लागू औषध सेवन गर्ने आदत वसेको रहेछ । वहांको कुनै रोजगारी नभएको र घरको सम्पूर्ण व्यवहार तथा व्यवसायिक फर्म समेत विपक्षी सासू देवरहरूले चलाई आएकोले आर्थिक अभाव नै थियो । छोरी सनम र छोरा शुभमको जायजन्म भएपछि पनि सासू देवरहरूले हेलाहोचो गरी स्कूलको फि नतिर्ने तथा लुगाफाटो समेत नकिन्ने गर्नु हुन्थ्यो । मिति २०५९।९।२ मा कान्छी छोरी साक्षीको जन्म हुँदा पनि विपक्षीहरूले कुनै हेरविचार उपचार समेत नगरी मिति २०५९।९।२५ मा सुत्केरी अवस्थामै घरबाट निकाला गरेकाले छोराछोरी समेत माइतीमा शरण लिन पुग्यो । विपक्षी सुवोधले पनि लागू औषध सेवन गर्दै बारम्वार रकम माग्ने गरेपछि मिति ०५९।१२।१५ मा विपक्षी सासू देवरहरूले घरबाट निकाला गरेपछि निज सुवोधले विपक्षी सासू देवरहरू उपर यसै अदालतमा दे.नं. १४९६ को अंश मुद्दा गरी मूल ४ अंशियार भै हामीलाई नदेखाई विपक्षी आमा छोराहरू मात्र अंशियार देखाई मुद्दा दायर गरेको रहेछ । सो मुद्दा चल्दा चल्दैको अवस्थामा मिति २०६०।७।३० गते र.नं. (ख) १०४१ मा मालपोत कार्यालय विराटनगरबाट विपक्षीहरू मिली जम्मा सम्पत्ति रु. २० लाख देखाई ४ भागको १ भाग रु. ५ लाख नगद अंशबापत पति पिता सुवोधले वुझिलिएको भनी रुपैया लेनादेना नै नगरी सुवोध समेतलाई सही गराई हाम्रो अंश हक मार्ने गरी अंश भरपाई लेखत पास गरी सोही लेखतलाई सिरानी हाली वादीदावी र प्रतिउत्तर जिकीर छाडी छोडाई मिति २०६०।८।१ मा विपक्षीहरूले अंश मुद्दा मिलापत्र गरेकाले सो अंश भरपाई लिखत र अंश मुद्दाको मिलापत्र बदर गरी विपक्षीहरू समेतबाट तायदाती फाटवारी लिई विपक्षीहरू समेत मूल ४ अंशियार हुँदा ४ भागको १ भाग विपक्षी सुवोधको भागमा पर्ने हुँदा सो १ भागको ५ भाग लगाई ४ भाग हामी फिरादीहरूलाई अंश दिलाई चलन समेत चलाई पाऊँ भन्ने मनुकुमारी श्रेष्ठ समेतको फिराद पत्र ।
यी विपक्षीहरूले म प्रतिवादीबाट अंश पाउने हुँदा मैले अंशबापत नगदै रु. ५,००,०००।– लिई अंश छोडपत्र गरिसकेको र सो रकम विपक्षीले आफ्नो जिम्मामा लिई सकेको हुँदा मसँग कुनै रकम नभएकोले मैले अंश दिनुपर्ने होइन भन्ने व्यहोरा प्रतिवादी सुवोध श्रेष्ठको प्रतिउत्तर पत्र ।
हामी प्रतिउत्तर कर्ताहरू ३ जना आमा छोरा हौ,अर्का प्रतिवादी सुवोध श्रेष्ठ हाम्रा दाजु तथा जेठो छोरा हुन् । विपक्षीहरू निज जेठो छोरा दाजुका श्रीमती छोराछोरी हुन् निज सुवोध श्रेष्ठले हामीउपर दे.नं. १४९६ को अंश मुद्दा गरेपछि हाम्रो जम्मा सम्पत्तिलाई रु. २०,००,०००।– मूल्याकन गरी हामी जम्मा ४ अशियार हुँदा सो ४ भागको १ भागको हुने रु. ५,००,०००।– अंशबापत नगदै निज सुवोध श्रेष्ठले वुझि लिई २०६०।७।३० गते र.नं. १०४१ (ख) मा अंश भरपाई लिखत पारीत गरी मिति २०६०।८।१ मा उक्त दे.नं. १४९६ को अंश मुद्दा मिलापत्र गरेको हुँदा यो वादीका पति पिताले हामीबाट पाउने अंश नागदै लिई छुटृी भिन्न भैसकेका हुँदा र यी वादी निज सुवोधको एकासगोलका अंशियार हुँदा वादीको दावीअनुसार हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विन्दुदेवी श्रेष्ठ, संजीव श्रेष्ठ र सुमित श्रेष्ठको संयुक्त प्रतिउत्तर पत्र ।
वादी प्रतिवादीका साक्षीको बकपत्र भै मिसिल संलग्न रहेको ।
प्रतिवादी विन्दुदेवी नाम दर्ताको कि.नं. १४५ प्रतिवादी सुमित श्रेष्ठको नाउँ दर्ताको किन.५७ तथा कि.नं.६१ मध्ये कित्ताकाट भै कायम भएको कि.नं. १२३ बाहेक तायदातीमा उल्लिखित अन्य सम्पतिमध्ये दर्ता स्रेस्ता समेतबाट दर्ता रहेको देखिन आएको सम्पत्तिबाट वैंकको ऋण व्यहोरा रोक्का फुकुवा भएपछि चार भागको एक भागलाई पुन पाँच भाग लगाई सोको पााच भागको चार भाग वादीहरूले अंश पाउने ठहर्छ । बण्डा लाग्ने सम्पतिबाट वादीहरूले अंश पाउने ठहर भएको र प्रतिवादीहरू बीच पारीत अंश भरपाईको लिखत तथा मिलापत्रबाट वादीहरूको गएको हकमा असर परेको अवस्था नहुँदा अंश भरपाई तथा मिलापत्र बदर गरिरहनु पर्ने अवस्था नहुँदा बदर गरिरहनु नपर्ने ठहर्छ भन्ने शुरु मोरङ जिल्ला अदालतको मिति २०६२।११।२८को फैसला ।
शुरुको फैसलामा चित्त बुझेन । प्रत्यर्थीहरू र ससुरा हजुरवुवा स्व.बालकृष्ष्णको सम्पूर्ण सम्पत्ति भाग नलगाई भएको फैसला सो हदसम्म उल्टाई सम्पूर्ण चल अचल सम्पत्तिबाट अंश पाउने ऋण व्यहोर्नु नपर्ने र विवादित अंश भरपाई एवं मिलापत्र बदर हुने निर्णय गरी मुद्दा परेपछि वैकलाई लेखी लिएको धितो फुकुवा नहुञ्जेलसम्म प्रतिक्षा गर्नु नपर्ने हुँदा फुकुवा भएपछि मात्र अंश छुटयाउने भनी भएको निर्णय मिलेको छैन बैंक समेत वुझि पाऊँ भन्नेसमेत व्यहोराको वादीहरूको पुनरावेदन जिकीर ।
वादीहरूका पति पिताले हामीबाट पहिलेनै अंश लिई भिन्न भै अंश मिलापत्र समेत गरी उक्त मिलापत्र यथास्थितिमा रहिरहेको अवस्थामा यी वादीहरूले निजहरूको पति पिताको अंश हकबाट मात्र अंश पाउने हुँदा हाम्रो अंशियार नै हुन नसक्ने वादीहरूले लिएको दावी नपुग्ने गरी खारेजी फैसला गर्नुपर्नेमा सो नगरी दावी पुग्ने गरी भएको फैसला अ.वं.१८४ (क) नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत भएकोले शुरुको फैसला उल्टी हुने गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको पुनरावेदन जिकीर ।
शुरु फैसलाले बण्डा नलाग्ने ठहराएको कि नं १४५, ५७,१२३ को जग्गा निजी आर्जनको ठहर्ने अवस्था छैन । निजी आर्जन प्रमाणबाट पुष्टि हुनुपर्दछ । २०६०।९।१० मा फिराद परेकोले सोही दिन मानो छुट्टिएको मिति कायम हुने हुँदा सो पश्चात् पास भएको धितो लिखतबमोजिमको ऋणको दायित्व वादीले व्यहोर्नु नपर्ने । तसर्थ शुरु फैसला केही उल्टी भै वादीहरूले विन्दुदेवीको नाम दर्ताको कि.नं.१४५ सुमित श्रेष्ठको नाम दर्ताको कि नं. ५७ तथा १२३ र स्व. जितबहादुरको नाउँको कि.नं. ४५४ समेतको सम्पत्तिबाट चार भागको एक भागलाई पुनः पाचँ भाग लगाई चार भाग वादीहरूले अंश पाउने ठहर्छ । वादीको भाग हिस्सासम्मको बण्डा भरपाई र मिलापत्र समेत बदर हुने ठर्हछ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६५।८।११ को फैसला ।
प्रस्तुत विवादमा अंशबापत वुझेको भनेको ५ लाख रुपैयाँको अस्तित्व प्रतिवादीले स्थापित गर्न सकेको छैन । सर्वप्रथम इन्साफको रोहमा प्रवेश गर्नु भन्दा पहिला वादीहरू हामीसँग अंशको हकदैया भएको अंशियार हो होइन भन्नेतर्फ विचार पुर्याउनु पर्ने थियो तर त्यसतर्फ विचारै नपुर्याई हकदैयाविहीन दावीबाट अंश पाउने गरी भएको फैसलामा अ.वं. ८२ नं. विपरीत तथा त्रुटिपूर्ण छ ।
यी वादीका पति पिताले हामीउपर मिति २०५९।१२।२५ गते दे.नं. १४९६ मा अंशचलन मुद्दा दायर गरी मुद्दा कारवाहीमा चलिरहँदाकै अवस्थामा मिति २०६०।७।३० गतेका दिन र.नं. (ख) १०४१ मार्फत् आफ्नो अंश भाग जति अंश भरपाई मार्फत् अंश वुझी लिई सोको भोलिपल्ट मिति २०६०।८।१ गतेका दिन श्री मोरङ जिल्ला अदालतमा अव उप्रान्त अंशबापत चल अचल सम्पत्ति लिन दिन बाँकी छ भनी कही कतै उजूरवाजुर नगर्ने गरी वादी दावी छोडी छोडाई मनोमान राजीखुसीले मिलापत्र गरिसकेको र मुलुकी ऐन अंशबण्डाको ३२ नं.ले दिएको सुविधा उपर समेत कही कतै उजूर नगरी चित्त वुझाई वसिसकेको अवस्थमा यि वादीहरूले अंशबण्डाको ३, ४ नं.अनुसार आफ्नो पति पिताको अंशबाट मात्र अंश पाउने स्पष्ट कानूनी व्यवस्था हुँदाहुदै हामीउपरको अंश नालिस दावी नपुग्ने गरी दावी खारेज हुनुपर्नेमा सो नभई अंश पाउने गरी भएको फैसलामा हामीलाई चित्त बुझेन । अंश वुझेको भरपाई स्वयं अकाट्य प्रमाण हुनुका साथै अंश वुझिसकेकाले वादीहरूका पति पिताले अंश मुद्दा मिलापत्र गरेकोमा सो स्थापित तथ्यलाई ग्रहण नगरी ५ लाख रुपैयाँ वुझेको स्थापित नभएको भन्ने अमूर्त कुरा गरी वादी दावी पुग्ने ठहर्याएको तर्फ हामीलाई चित्त बुझेन ।
वादीका पति पिताले मनोमान राजीखुशीले आफ्नो अंश भाग वुझी लिई निजहरूको पति पिताले अंश हक प्राप्त गरिसकेको र अरु अंश पाउन वाँकी छैन भनी चित्त वुझाई मिलापत्र गरेकोले बदरतर्फ प्रश्न उठाउने हकदैया नै नभएको अवस्थामा नेकाप २०५१ अंश ७ निर्णय नम्वर ४९४५ मा प्रतिपादित नजीर सिद्धान्त समेतका आधारमा जिल्ला र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ ।
स्त्री अंशधनको १ नं. ले म विन्दुदेवीले आफ्नो आर्जनको चलअचल आफ्नो खुश गर्न पाउने निर्विवाद छ । रै.नं. ४४७ को जग्गा म विन्दुदेवीले ससुरा जीतबहादुरबाट मिति २०३१।३।२६ मा राजीनामा पारीत गराई लिएको हुँ । विन्दुदेबी समेतलाई प्रतिवादी बनाई २०४५ सालमा दिएको दे.नं. १०४D १७४० को अंश मुद्दामा उक्त रै.नं. ४४७ अर्थात् कि.नं. ७१ को ०–४–१४ जग्गा बण्डा नलाग्ने गरी फैसला समेत भैसकेको छ । यसरी स्त्री अंशधनको १ नं. र अघिबाट भएको फैसला समेत विपरीत पुनरावेदन अदालतले जिल्ला अदालतको फैसलालाई उल्टाई गरेको फैसला अन्यायपूर्ण र त्रुटिपूर्ण छ । अतः यी वादीहरूका पति पिताले हामीबाट पहिले नै अंश लिई भिन्न भै अंश मुद्दा मिलापत्र समेत गरिसकेको हुँदा शुरुको र पुनरावेदनको त्रुटिपूर्ण फैसला उल्टी हुने गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पक्षबाट उपस्थित विद्धान अधिवक्ता श्री निरञ्जन आचार्यले वादीका पति पिताले अंश मुद्दा गरी अंशबापत नगद ५ लाख वुझी अंश भरपाई गरी सोही आधारमा अंश मुद्दा मिलापत्र गरिसकेपछि वादीका पति पिता बाहेकका पुनरावेदक प्रतिवादीहरू उपर वादीहरूले नालिस गर्न पाउने हकदैया नै छैन । कि नं १४५ को जग्गालाई अघिल्लो मुद्दाबाट दाइजो स्विकारिएको अवस्था छ, आमाले छोरीलाई दिएको लिखत बदर गरेको त्रुटिपूर्ण हुँदा वादीहरूलाई अंश दिलाई दिने गरेको शुरुको फैसला केही उल्टी भएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो ।
पुनरावेदनपत्र सहितको शुरु तथा रेकर्ड मिसिल अध्ययन गरी विद्धान अधिवक्ताको बहस बुँदा समेत मनन गरी इन्साफतर्फ विचारगर्दा शुरु फैसला केही उल्टी गरी कि.नं. ५७, १२३, १४५, ४५४ समेतबाट अंश पाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन अर्थात् प्रतिवादीको पुनरावेदन जिकीर पुग्छ पुग्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा हाम्रो अंशहक मार्ने गरी अंश भरपाई लिखत पास गरी सोही लिखतलाई सिरानी हाली मिति २०६०।८।१ मा अंश मुद्दा मिलापत्र गरेकाले सो अंश भरपाई लिखत र अंश मुद्दाको मिलापत्र बदर गरी विपक्षीहरू समेतबाट तायदाती फाँटवारी लिई विपक्षीहरू समेत मूल ४ अंशियार हुँदा ४ भागको १ भाग विपक्षी सुवोधको भागमा पर्ने हुँदा सो १ भागलाई ५ भाग लगाई ४ भाग हामी फिरादीहरूलाई अंश दिलाई चलन समेत चलाई पाऊँ भन्ने मुख्य फिराद दावी भएकोमा प्रतिवादीबाट अंशबापत नगदै लिई अंश छोडपत्र गरिसकेको भन्ने प्रतिवादी सुवोध श्रेष्ठको प्रतिउत्तर जिकीर र यी वादीका पति पिताले हामीबाट पाउने अंशबापत नगदै लिई छुटृी भिन्न भैसकेको हुँदा र यी वादी निज सुवोधको एकासगोलका अंशियार हुँदा वादीको दावीअनुसार हामीले अंश दिनुपर्ने होइन भन्ने विन्दुदेवी श्रेष्ठ समेतको प्रतिउत्तर जिकीर भएको प्रस्तुत मद्दामा कि.नं. १२३, १४५, ५७ र ४५४ बाहेक तायदातीमा उल्लिखित अन्य सम्पत्तिबाट वैंकको ऋण व्यहोरी रोक्का फुकुवा भएपछि चार भागको एक भागलाई पुनः पाँच भाग लगाई सोको पाँच भागको चार भाग वादीहरूले अंश पाउने ठहर्छ । अंश भरपाई तथा मिलापत्र बदर गरिरहनु पर्ने अवस्था नहुँदा बदर गरिरहनु नपर्ने ठहराई शुरु अदालतबाट भएको फैसलामा केही उल्टी भै शुरुले बण्डा नलाग्ने ठहराएको प्रतिवादीहरूको नाउँको कि नं ५७,१२३,१४५ बाट समेत अंश पाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसलाउपर प्रतिवादीहरूले वादीले आफूहरूबाट अंश नै नपाउने भन्ने मात्र पुनरावेदन जिकीर लिएको अवस्थामा सोही पुनरावेदन जिकीरको सम्बन्धमा विचार गरी पुनरावेदन अदालतको निर्णय मिले नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा स्व.बालकृष्ण र विन्दुदेवीका ३ भाइ छोराहरूमा जेठा सुवोध श्रेष्ठ, माहिलो संजीव श्रेष्ठ र कान्छो विपक्षी सुमित श्रेष्ठ भएकोमा सुवोध र निजकी श्रीमती वादी मनुकुमारीबाट २ छोरी र १ छोरा जन्म भएको देखिँदा यी वादी प्रतिवादीबीच नातामा कुनै विवाद देखिन आएन ।
२. पुनरावेदक प्रतिवादीबाट वादीका पति पिताले अंश मुद्दा दर्ता गरी नगद ५ लाख वुझि अंश भरपाई पारीत गरी दिई अंश मुद्दामा दावी छाडी मिलापत्र गरिसकेकोले वादीहरूले आफ्नु पति पिता बाहेक पुनरावेदक प्रतिवादीहरू उपर अंशमा दावी गर्ने हक वादीहरूमा छैन भनी पुनरावेदन जिकीर लिएको देखिन्छ । मुलुकी ऐन अंशबण्डाको महलको ३, ४ र ५ नं.को व्यवस्थाअनुसार पत्नी र छोराछोरीहरूले पति पिताको अंश हकबाट अंश पाउने देखिन्छ । पिता पतिले आफूले पाउनु पर्ने न्यायोचित् अंश बुझेको छ भने अवश्य तिनका छोराछोरीले बाबु पतिबाट अंश पाउने कुरामा कुनै दुइमत छैन । तर बाबु पतिले कानूनबमोजिम पाउने न्यायोचित् अंश नबुझी कानूनी रुपमा अंश छोडपत्र गरेको वा लिंदै नलिएको अंश लिएको भनी लिखत खडा गरेको अवस्थामा त्यस्तो अंश छोडपत्र गर्ने वा नलिएको लिखतबाट अंश लिएँ पाएँ भनी अंश भरपाई गर्नेका पत्नी छोराछोरीले आफूहरूले पाउनु पर्ने अंश पति पिता बाहेकको सगोलका अंशियारउपर दावी गर्न नसक्ने भन्न मिल्दैन । अंशको हक नैसर्गिक हक हो । कसैले आफ्नो हक छोडपत्र गर्दा अरुको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने नैसर्गिक हकबाट बञ्चित हुन पुग्दछ । यहाँ के कति अंश बुझेको छ र समस्त सम्पत्तिको तुलनामा उसले बुझेको सम्पत्ति न्यायोचित् छ भने मात्र उसका श्रीमती छोराछोरीले अरु अंशियारबाट दावी गर्न सक्तैनन् । प्रस्तुत मुद्दामा प्रतिवादी सुवोधले नगदै ५ लाख बुझेको भन्ने उल्लेख भएको सो पाँच लाख कहाँ के कसरी खर्च गरेको वा के कति जग्गा किनेको वा कसरी लगानी गरेको भन्ने सम्बन्धमा प्रतिवादीले केही उल्लेख गरेको देखिएन । र तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको तुलना गर्दा उक्त अंश भपाई न्यायोचित् नदेखिएको अवस्थामा उसले गरेको अंश छोडपत्र तथा अंश मुद्दाको मिलापत्रले कानूनतः मान्यता पाउन सक्ने देखिन आएन । यस परिदृष्यमा यी वादीले प्रतिवादीहरूबाट अंश बुझेको नदेखिएको अवस्थामा निजहरूले अंश पाउने नै देखियो ।
३. प्रतिवादीहरूले वादीले आफूहरूबाट अंश नै नपाउने भन्ने मात्र पुनरावेदन जिकीर लिएको यी सम्पत्ति निजी हुँदा बण्डा लाग्ने होइन भन्ने जिकीर नलिएको अवस्थमा शुरु अदालतले बण्डा नलाग्ने ठहराएको फैसला केही उल्टी गरी प्रतिवादी विन्दुदेवीको नाम दर्ताको कि.नं. १४५ र सुमीन श्रेष्ठको नाउँको कि.नं. ५७ र १२३ र स्व जितबहादुरको नाउको कि नं ४५४ को जग्गा समेत बण्डा लाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला कानूनसम्मत् नै देखियो ।
४. माथि उल्लिखित आधार कारणबाट कि.नं ५७, १२३, १४५ र ४५४ को जग्गा बण्डा नलाग्ने सुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी उल्लिखित जग्गा समेतबाट तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट अविवाहितको अंशियाराको विवाह खर्च परसारी सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाइ एक भागलाई पुनः ५ भाग लगाइ अलग गरिएको विवाह खर्च सहित ५ भागमध्येको ४ भाग अंशबण्डा छुट्याई लिन पाउने, वादीका पिता बाबुले गरिदिएको दावीको बण्डा भरपाई र अंश मिलापत्र बदर हुने र बैंकको ऋणको दायित्व वादीहरूले तिर्नु नपर्ने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०६५।८।११ को फैसला मुनासिव देखिँदा सदर हुने ठर्हछ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.तर्कराज भटृ
इति संवत् २०६८ साल साउन ३२ गते रोज ४ शुभम्
इजलास अधिकृत : विष्णुप्रसाद उपाध्याय