निर्णय नं. ७२५५ - अंश चलन

निर्णय नं.७२५५ ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५८ सालको दे.पु.नं. ७१०४
फैसला मितिः २०६०।२।७।४
मुद्दा: अंश चलन ।
पुनरावेदक
वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु वस्ने सरीता महर्जन समेत
विरुद्ध
प्रत्यर्थी
प्रतिवादी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ वस्ने कृष्णवहादुर महर्जन समेत
§ यी वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै वादीहरुको अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिन आउने ।
§ भूमि सम्वन्धी ऐन, २०२१ प्रारम्भ हुनु अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर वनाएको रहेछ भने सो घरवारीको जग्गा विक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ क. को प्रतिवन्धात्मक वाक्यांशमा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम पक्की घर वनाई मोही वसोवास गरी आएको सो कि.नं. २७० को घर जग्गा हक हस्तान्तरण हुन सक्ने अवस्थाको भई उक्त घर जग्गामा वादीहरु समेतको वसोवास भएको कुरालाई प्रतिवादीहरुले अन्यथा भन्न नसकेको हुंदा सो जग्गा मोहियानी हकको भए पनि अंशबण्डा गर्न मिल्ने अवस्थाको देखिने ।
§ वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै यी वादीहरुको् अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट यी वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिने ।
§ प्रस्तुत मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेकोमा विवाद नभई प्रस्तुत मुद्दा परी तायदाती फां६वारी समेत पेश भइसकेपछिको अवस्थामा मोही र जग्गाधनीको वीचमा वांडफाड भई मानो छुट्टिएको मिति भन्दा पछि प्रतिवादी कृष्ण वहादुरको नाममा प्राप्त भएको अवस्थामा ती जग्गाहरु यो मुद्दा परि सकेपछि वाडंफाड भएको कारणले ती जग्गाहरुबाट वादीहरुले अंश पाउन सक्ने अवस्था नदेखिने ।
(प्र.नं. १५ देखि १७)
पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री रामप्रसाद पोखरेल र श्री युवराज भण्डारी
प्रत्यर्थी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने
अवलम्वित नजिरः
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. हामी फिरादीहरु सरीता महर्जन र राधिका महर्जनका पतिहरुले हामीलाई वारम्वार कुटपिट गर्ने गरेको र हामीहरुले थाहा नपाउने गरी हाम्रो समेत हक लाग्ने जग्गा विक्री वितरण गरेको सम्वन्धमा सल्लाह गर्दा केही पनि वास्ता नगरी अपशव्द प्रयोग गरी धम्कीपूर्ण जवाफ दिई सोही दिन देखि घरबाट निकाला समेत गरेकोमा आफ्नो माइती घरमा गै वसेको र अंश गर्न पर्ने अंशियार विपक्षीहरु जना ३ फिरादीहरु जना २, फिरादी राधिका महर्जनको छोरा १ समेत ६ जना भएकोले हालसम्म अंशबण्डा नभएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशको तायदाती लिई नावालक छोरा समेतको भाग हाम्रै जिम्मामा राखी विपक्षी अमित कुमार महर्जनको तर्फबाट २ भागको एक भाग तथा विपक्षी रवि कुमार महर्जनको तर्फबाट ३ भागको २ भाग र दुवै तर्फबाट छोरीको विवाह खर्च समेत छुट्याई दिलाई चलन समेत चलाई पाउं भन्ने फिरादपत्र ।
३. विपक्षीहरु मेरा वुहारीहरु हुन । निजहरुलाई कुनै पनि अन्याय गरेको छैन । निजहरु हालसम्म मेरै संरक्षणमा रेखदेखमा वस्दै आएका छन् । छोराहरु जीवितै रहेको अवस्थामा विपक्षीहरुलाई मैले अंश दिनु पर्ने होइन । फिराद खारेज गरी हक इन्साफ पाउं भन्ने प्रतिवादी कृष्णवहादुर महर्जनको प्रतिउत्तर पत्र ।
४. विवाह भएको कम्तिमा १५ बर्ष र उमेर कम्तिमा ३५ बर्ष पुगेकी स्वास्नी मानिसले चाहेमा मात्र अंश लिई भिन्न वस्न पाउने कानूनी व्यवस्था छ । फिरादीको विवाह भएको १५ बर्ष र उमेर ३५ बर्ष पुगेको छैन । यस्तो अवस्थामा विपक्षीहरु अंश लिई भिन्न वस्न पाउने भन्ने अवस्था नै छैन । विपक्षीलाई अंशको फिराद गर्ने हकदैया नै नभएको हुंदा फिराद स्वत खारेजभागी छ । त्यसमा पनि हामीले दर्ता गरेको सम्वन्ध विच्छेद मुद्दामा विपक्षीहरुसंग सम्वन्ध विच्छेद हुने स्पष्ट भएको हुंदा विपक्षीले दिएको फिराद पत्र खारेज गरी पाउं भन्ने प्रतिवादी रवि कुमार महर्जन र अमित कुमार महर्जनको संयुक्त प्रतिउत्तर पत्र ।
५. वादी मध्येकी राधिका महर्जनका पतिले यसै लगाउको दे.नं. १५९२ को अंश मुद्दाको फैसलाबाट पाएको सम्पत्ति मध्येबाट अविवाहित छोरा एक छोरी एकले ऐन वमोजिम पाउने विवाह खर्च परसारी वांकी रहन आउने सम्पत्तिलाई तीन भाग लगाई सो तीन भाग मध्येबाट दुई भाग सम्पत्ति वादी राधिका महर्जनले पाई निजको नाममा सो सम्पत्ति दर्ता समेत हुने ठहर छ । यस्तै वादी सरिता महर्जनको पतिले उक्त अंश मुद्दाको फैसलाबाट पाएको सम्पत्ति मध्येबाट अविवाहिता छोरी १ को लागि ऐन वमोजिम विवाह खर्च परसारी वांकी रहन आउने सम्पत्तिलाई दुई भाग लगाई सो मध्ये एक भाग सम्पत्ति वादी सरीता महर्जनले पाउने र निजको नाममा दर्ता समेत हुने ठहर छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
६. विपक्षी ससुरा कृष्ण वहादुर महर्जनले शुरु जिल्ला अदालतमा दिएको तायदातीमा उल्लेख भएको सम्पूर्ण सम्पत्ति बण्डा गर्नु पर्नेमा सो नगरी हाम्रो हक लाग्ने पैतृक सम्पत्ति बण्डा नहुने गरी भएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा उक्त फैसला उल्टी गरी सम्पूर्ण सम्पत्ति बण्डा लाग्ने गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी राधिका महर्जन र सरीता महर्जनको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
७. विपक्षीहरुले हाम्रो जीउज्यान समेतमा खतरा पुग्ने गरी कुटपिट गरेकोमा मुलुकी ऐन, लोग्ने स्वास्नीको १(क) वमोजिम सम्वन्ध विच्छेद गर्नुपर्नेमा सो नगरी अंश समेत पाउने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी इन्साफ पाउं भन्ने समेत प्रतिवादीहरु रवि कुमार र अमित कुमारको पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
८. यसै लगाउको दे.पु.नं. ३१४४ को अंश मुद्दामा विपक्षी झिकाइएको हुंदा यसमा पनि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
९. शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिएकोले सदर हुने ठहर छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला ।
१०. विपक्षी ससुरा कृष्ण वहादुर महर्जनको तर्फबाट शुरु जिल्ला अदालतमा पेश गर्नु भएको तायदातीमा उल्लेखित वुढा ससुरा आशामरुको नाममा कायम भएको मोहियानी जग्गाहरु विपक्षी ससुराको नाममा नामसारी भै जग्गाधनीहरुसंग जग्गा वांडफांड भई आएको पैतृक जग्गा र हामी समेत बसोवास गर्दै आएको तायदातीको सि.नं. ७ मा उल्लेखित कि.नं. २७० को जग्गा र मोहीले साविकमा वनाएको २ वटा घर समेत बण्डा नलाग्ने गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा प्रत्यक्षत कानूनी त्रुटि रहेको र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर समेतको वेवास्ता भएकोले मुद्दा दोहर्याई हेरी फिरादपत्र अनुरुप हुने गरी न्याय दिलाई पाउं भन्ने समेत व्यहोराको वादीहरु राधिका महर्जन र सरीता महर्जनको यस अदालतमा परेको निवेदन पत्र ।
११. प्रतिवादी कृष्णवहादुर महर्जनले पेश गरेको तायदातीमा कि.नं. २७० मा घर भएको र सो घर भूमि सम्वन्धी ऐन, २०२१ लागु हुनु अगावै वनी मोहीको वसोवास भएको भन्ने देखिन्छ। त्यस्तो मोही लागेको जग्गामा वनेको घरवारी जग्गा मोहीले विक्री गर्न वा अन्य व्यहोराले हक छाडी दिन सक्ने कानूनी प्रावधान भएकोमा त्यस्तो घरवारीको जग्गामा अंश नपाउने गरी शुरुले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ र मुलुकी ऐन, अंशबण्डाको १८ नं. समेतको व्याख्याको त्रुटि भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१२. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री रामप्रसाद पोखरेल र श्री युवराज भण्डारीले प्रतिवादी कृष्ण वहादुर महर्जनले पेश गरेको तायदातीको सि.नं. ३ देखि ९ सम्मको जग्गा शुरु र पुनरावेदन अदालतबाट बण्डा नहुने ठहर गरियो । सो जग्गाहरु आशामरु महर्जनबाट कृष्ण वहादुर महर्जनको नाममा आएको मोहियानी पैतृक सम्पत्ति हो । हक छाडी दिन सक्ने अधिकारको मोहीको घरवासको कि.नं. २७० अंशियारहरुको वीचमा अंशबण्डा लाग्ने घरवासको जग्गा हो । यी वादीहरुले दिएको अंश मुद्दाबाट ससुराको नाममा रहेको सम्पत्तिमा अंश हक छ, छैन हेरिनु पर्ने हुंदा प्रतिवादीहरु अमित कुमार र रवि कुमारले आफ्नो वावु कृष्ण वहादुर उपर दिएको अंश मुद्दाको फैसलाले यस मुद्दालाई असर गर्न सकदैन । कृष्ण वहादुरको मोहियानी हकको जग्गा वाडंफाडं भै मोहीको हैसियतले कृष्णवहादुरले आधा जग्गा प्राप्त गरेको अवस्थामा मोहीका परिवार वीचमा अंशबण्डा हुनु पर्छ । वादीका लोग्नेहरुले दिएको अंश मुद्दाबाट निजहरुले पाउने सम्पत्ति मध्येबाट मात्र वादीहरुले अंश पाउने ठहर गरी तायदातीमा उल्लेखित अरु सम्पत्तिबाट वादीहरुले अंश नपाउने ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरी सवै सम्पत्तिबाट वादीहरुले अंश पाउनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१३. प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपानेले यी वादीका लोग्नेहरुले आफ्नो वावु उपर दिएको अंश मुद्दाको फैसलाबाट निजहरुले जुन सम्पत्ति पाउने हुन त्यहि सम्पत्तिबाट मात्र निजका स्वास्नीहरुले अंश पाउन सक्५न् । जुन सम्पत्ति छोराले अंशमा पाउन सक्दैन सो सम्पत्ति वुहारीले अंश वापत पाउन सक्ने अवस्था हुदैन । यदि वादीहरुका लोग्नेहरुले दिएको अंश मुद्दाको फैसलाबाट वादीहरुलाई असर परेको भए सो फैसलालाई वदर गराउन सक्नु पर्ने थियो । मानो छुट्टिएपछि आर्जन गरेको सम्पत्ति बण्डा लाग्दैन । मानो छुट्टिदा सम्मको समयमा शुरु र पुनरावेदन अदालतले बण्डा नलाग्ने गरेको सम्पत्तिको कृष्ण वहादुर मोही मात्र हुन। त्यसवेला सो सम्पत्तिको स्वामित्व निजमा आई सकेको थिएन । त्यसैले यी वादीका लोग्नेहरुले आफ्नो वावुबाट अंश मुद्दाको फैसलाबाट पाएको सम्पत्ति वाहेक अरु सम्पत्तिबाट वादीहरुले अंश नपाउने ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला मिलेको हुंदा सदर कायम रहनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१४. उपरोक्त वहस समेतलाई दृष्टिगत गरी पुनरावेदक र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताहरुले पेश गर्नु भएको वहस नोट समेत अध्ययन गरी आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा प्रतिवादी ससुरा कृष्णवहादुर महर्जन र निजको छोराहरु रवि कुमार महर्जन र अमित कुमार महर्जन भै घरबाट निकाला समेत गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशको तायदाती फा६वारी लिई विवाह हुन वांकी नन्द कान्छी महर्जनको विवाह खर्च परसारी अंशियार मध्ये ससुरा तथा पतिहरुको तीन भाग लगाई ससुराको एक भाग कटाई वांकी रहेको दुई भाग मध्ये नावालक छोरा छोरी समेत हाम्रो संरक्षणमा रहेको हुनाले दुवैको तर्फबाट छोरीहरुको विवाह खर्च समेत छुट्याई विपक्षी लोग्नेहरुको भागबाट आफ्नो र छोरा समेतको अंश दिलाई पाउं भन्ने फिराद दावी भएको पाइयो । वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर महर्जन उपर दायर गरेको अंश मुद्दाको फैसलाबाट निजहरुले अंश पाउने सम्पत्तिबाट मात्र यी वादीहरुले अंश पाउने ठहर गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उपर तायदातीमा उल्लेखित सम्पूर्ण सम्पत्तिबाट अंश पाउनु पर्ने भन्ने जिकिर लिई वादीहरुको यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा रवि कुमार महर्जन र अमितकुमार महर्जनले निजहरुको वावु उपर दिएको अंश मुद्दाको फैसलाबाट निजहरुले पाउने सम्पत्ति वाहेक तायदातीमा उल्लेखित अरु सम्पत्तिबाट यी वादीहरुले अंश नपाउने गरेको सम्म शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले, नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१५. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी मध्येका कृष्ण वहादुर महर्जनका छोराहरु प्रतिवादी अमितकुमार महर्जन र रवि कुमार महर्जन भै निजहरुका श्रीमती सरीता तथा राधीका र राधिकाको छोरा सचिन्द्र भएको कुरामा विवाद भएको पाइएन । शुरु र पुनरावेदन अदालतले यी वादीका पतिहरुले आफ्नो वावु उपर दायर गरेको अंश मुद्दाको फैसलाबाट जुन सम्पत्ति पाउने हुन सोही सम्पत्तिबाट मात्र निजहरुका स्वास्नी छोराले अंश पाउन सक्ने भन्ने आधारमा यस मुद्दामा प्रतिवादी रवि कुमार महर्जन र अमित कुमार महर्जनले निजहरुका वावु कृष्ण वहादुर उपर दायर गरेको अंश मुद्दाको फैसलाबाट निजहरुले पाउने सम्पत्तिबाट मात्र यी वादीहरुले अंश पाउने ठहर गरी सो वाहेक तायदातीमा उल्लेखित अरु सम्पत्तिको सम्वन्धमा केही विचार गरेको पाइएन । प्रतिवादी मध्येका रवि कुमार महर्जन र अमित कुमार वादी भै वावु कृष्ण वहादुर उपर दिएको अंश मुद्दाबाट सो मुद्दाका वादीहरुले यस मुद्दाको तायदाती फा६वारीमा उल्लेखित सम्पत्ति मध्ये कि.नं. १५४० र ९२१ को जग्गाबाट मात्र अंश पाउने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला अन्तिम रहेको देखिएता पनि उल्लेखित अंश मुद्दा मिति २०५४।९।ज्ञट मा पर्नु भन्दा अघि यी वादीहरुले ससुरा कृष्ण वहादुर महर्जन समेतलाई प्रतिवादी वनाई प्रस्तुत अंश मुद्दा मिति २०५४।९।१० मा दिएको देखिन्छ । वादीहरुले यो अंश मुद्दा दिइसकेपछि यदि वादीका लोग्नेहरुले निजहरुको वावु उपर अंश मुद्दा नदिई फैसला नभएको भए वादीहरुका ससुरा कृष्ण वहादुरले पेश गरेको प्रस्तुत मुद्दाको तायदातीमा उल्लेखित कानून वमोजिम बण्डा लाग्ने सम्पत्तिमा यी वादीहरुको अंश हक रहेको मान्नु पर्ने अवस्था हुने थियो । अघि दिएको अंश मुद्दाको तायदातीमा उल्लेखित सम्पत्तिमा वादीहरुको अंश हक रहे नरहेको विचारणिय कुरालाई पछि परेको अंश मुद्दामा भएको फैसलाको कारणले मात्र असर पर्न सक्ने अवस्था पनि हुदैन । यी वादीहरुले निजका लोग्ने र ससुरा समेत उपर अंश मुद्दा दिइसकेपछि वादीका लोग्नेहरुले निजको वावु उपर पछि दिएको अंश मुद्दाको फैसलाबाट वादीहरुका पतिहरुले जति सम्पत्ति पाएका छन् त्यति सम्पत्तिबाट मात्र वादीहरुले अंश पाउने भनि तायदाती फा६वारीमा उल्लेखित अरु सम्पत्तिको सम्वन्धमा विचारै गर्न नमिल्ने अर्थ गर्नु न्यायसंगत नहुने भै यी प्रतिवादी मध्येका अमित कुमार समेतले दायर गरेको सो अंश मुद्दा पर्नु भन्दा अगाडी नै यी वादीहरुले दायर गरेको प्रस्तुत मुद्दाको तायदाती फांटवारीमा उल्लेखित सम्पत्तिबाट यी वादीहरुले अंश पाउने नपाउने सम्वन्धमा विचार गर्नुपर्ने अवस्था देखिन आयो ।
१६. तायदाती फाटवारीमा उल्लेखित सम्पत्ति मध्ये कि.नं. २७० को जग्गामा पक्की घर दुइवटा र कच्ची घर एउटा भै सो घर जग्गा प्रतिवादी कृष्ण वहादुर महर्जनको नाममा मोहियानी कायम भएको घर वसोवास भएको जग्गा देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ प्रारम्भ हुनु अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर वनाएको रहेछ भने सो घरवारीको जग्गा विक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ क. को प्रतिवन्धात्मक वाक्यांशमा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम पक्की घर वनाई मोही वसोवास गरी आएको सो कि.नं. २७० को घर जग्गा हक हस्तान्तरण हुन सक्ने अवस्थाको भई उक्त घर जग्गामा वादीहरु समेतको वसोवास भएको कुरालाई प्रतिवादीहरुले अन्यथा भन्न नसकेको हुंदा सो जग्गा मोहियानी हकको भए पनि अंशबण्डा गर्न मिल्ने अवस्थाको देखियो । यी वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै यी वादीहरुको् अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन । तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट यी वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिन आयो ।
१७. सो कि.नं. २७० को घर जग्गा र शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालतले वादीले अंश पाउने ठहर गरेको कि.नं. १५४० र ९२१ को जग्गा वाहेक तायदाती फां६वारीमा उल्लेखित अरु कि.नं. २६८, ८७३, ८७४, ८७५, १७८ र १८९ को जग्गाको सम्वन्धमा विचार गर्दा ती जग्गाहरुको जग्गा धनी प्रतिवादी कृष्ण वहादुर नभई निजको मोहियानी हकको जग्गा देखिन्छ र ती जग्गाहरुमा घर भएको पनि देखिदैन । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ क. मा मोहियानी हक खरिद गर्न वा दान दातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन नपाउने व्यवस्था गरेको पाइन्छ । ती जग्गाहरुको जग्गा धनी अन्य व्यक्ति भएको अवस्थामा उक्त कानूनी व्यवस्था वमोजिम मोही हक हस्तान्तरण हुन नसक्ने भई ती जग्गाहरु मोहीका अंशियार वीच बण्डा गर्न मिल्ने अवस्थाको भएन । ती जग्गाहरु मोही र जग्गा धनी वीच भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम वांडफाडं भै सकेकोले ती जग्गाहरु मध्ये आधि जग्गाको स्वामित्व प्रतिवादी कृष्ण वहादुरमा आई सकेकोले ती जग्गाहरु पनि बण्डा गर्नु पर्ने भन्ने पुनरावेदक तर्फका विद्धान अधिवक्ताहरुले वहसमा जिकिर लिएको पाइन्छ । मानो छुट्टिनु भन्दा अघिको सगोलको आर्जनमा मात्र अंशियारहरु वीच बण्डा हुने हो । प्रस्तुत मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेकोमा विवाद नभई प्रस्तुत मुद्दा परी तायदाती फांटवारी समेत पेश भइसकेपछिको अवस्थामा मोही र जग्गा धनीको वीचमा वांडफाडं भई मानो छुट्टिएको मिति भन्दा पछि प्रतिवादी कृष्ण वहादुरको नाममा प्राप्त भएको अवस्थामा ती जग्गाहरु यो मुद्दा परि सकेपछि वांडफाडं भएको कारणले ती जग्गाहरुबाट वादीहरुले अंश पाउन सक्ने अवस्था देखिएन ।
१८. अतः माथि उल्लेख भए वमोजिम घर वसोवास भएको कि.नं. २७० को घर जग्गाबाट समेत वादीहरुले अंश पाउने ठहर गर्नुपर्नेमा सो कि.नं. २७० को घर जग्गाबाट वादीहरुले अंश नपाउने ठहर गरेको सम्म शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा सो हदसम्म शुरु र पुनरावेदन अदालत पाटनको फैसला वदर भै केही उल्टी हुन्छ । सो कि.नं. २७० को घर जग्गालाई तीन भाग लगाई सो मध्येको एक भागलाई पुनः २ भाग लगाई सो मध्ये एक भाग वादी सरीता महर्जनले पाउने र सो कि.नं. २७० को तीन भागको एक भागलाई तीन भाग गरी सो मध्येबाट वादी राधिका महर्जनको एक भाग र निजको छोरा सचिन्द्र महर्जनको एक भाग गरी जम्मा दुई भाग वादी राधिका महर्जनले पाउने ठहर छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए वमोजिम तायदाती फांटवारीमा उल्लेखित कि.नं. २७० को घर जग्गा समेतबाट वादीहरुले अंश पाउने ठहरेकोले वादीहरुले शुरुमा कोर्ट फि दाखिल नगरेकोमा शुरुको फैसलामा वादीहरुले वुझाउनु पर्ने सम्पूर्ण शुरु कोर्ट फि प्रतिवादीहरुबाट वरावरको हिसावले असुल गर्न लगत राख्ने भनी फैसलामा उल्लेख भएकोमा वादीहरुले तायदातीमा उल्लेख भए वमोजिम सम्पूर्ण सम्पत्तिबाट दावी वमोजिम अंश नपाएको अवस्था हुंदा सम्पूर्ण कोर्ट फि रु.१९,३९२। प्रतिवादीहरुबाट असुल गर्न नमिल्ने भै वादीले शुरु काठमाडौं जिल्ला अदालतको फैसला समेतबाट अंश पाएको जग्गा र यस अदालतको फैसलाबाट कि.नं. २७० को जग्गा समेतबाट अंश पाउने भई ती जग्गाहरुको तायदातीमा उल्लेख भएको विगो अनुसार वादीहरुले अंश पाउने जतिको हुने शुरु कोर्ट फि रु.१५,६२१।३८ तीनैजना प्रतिवादीहरुबाट वरावरको हिसावले असुल गर्नु भनी र वांकी कोर्ट फि रु. ३७७०।६२ वादीहरुबाट असुल गर्न लगत राख्नु भनी शुरु काठमाडों जिल्ला अदालतमा लेखी पठाउनु....... १
वादीहरुले शुरुको फैसला उपर पुनरावेदन अदालत पाटनमा र पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फि मध्ये कि.नं. २७० को घर जग्गाबाट वादीहरुले अंश पाउने जतिको हुने शुरु कोर्ट फि को १५ प्रतिशतले दुवै तहको गरी हुने कोर्ट फि रु. १७३५।४० प्रतिवादीहरुको यसै सरहदको जेथाबाट भराई पाउं भनी वादीहरुको कानूनको म्याद भित्र दरखास्त परे वादीहरुलाई प्रतिवादीबाट भराई दिन लगत राख्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु .... २
कि.नं. २७० को घर जग्गाबाट समेत वादीहरुले अंश पाउने ठहरेकोले सो घर जग्गा समेतबाट अंश छुट्याई पाउं भनि वादीहरुको कानूनको म्याद भित्र दरखास्त परे सो कि.नं. को घर जग्गा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम जग्गा धनी र मोहीको वीचमा वांडफाडं भइसकेको भनी वादीहरुले यस अदालतमा कागज गरेको देखिंदा सो कि.नं. २७० को घर जग्गा मध्ये मोही कृष्ण वहादुरको भागमा परेको कि.नं. ९७९ को घर जग्गालाई माथि ठहर खण्डमा लेखिए वमोजिम तीन भाग गरी सो मध्येको एक भागलाई तीन भाग गरी सो मध्येको राधिका र नावालक छोरा सचिन्द्रको समेत दुई भाग राधिका महर्जनको नाममा र एक भागलाई २ भाग लगाई त्यस मध्येको एक भाग वादी सरीता महर्जनको नाममा बण्डा छुट्याई दिन लगत राख्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु.......... ३
शुरु कोर्टफि असुल गर्ने सम्वन्धमा माथि देहाय १ मा छुट्टै लेखिसकेकोले शुरु काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय १ मा शुरु कोर्ट फि असुल गर्ने सम्वन्धी लगत कट्टा गर्नु भनी शुरु काठमाडौं. जिल्ला अदालतमा लेखी पठाउनु ................... ४
मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति सम्वत् २०६० साल जेष्ठ ७ गते रोज ४ शुभम्................