निर्णय नं. ७२६१ - उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ

निर्णय नं.७२६१ ने.का.प.२०६० अङ्क ७.८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल
माननीय न्यायाधीश श्री राम नगिना सिंह
सम्वत् २०५८ सालको रिट नं. ३१७३
आदेश मितिः२०६०।८।२।३
बिषयः– उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ ।
निवेदकः दार्चुला जिल्ला, मालीकार्जून गा.वि.स. वडा नं. १ वस्ने वीरसिंह धामी
विरुद्ध
विपक्षीः इलाका प्रहरी कार्यालय, भिग्री, प्यूठान समेत
§ रिट निवेदक जस्तै समान अवस्था र परिस्थितीका प्र.ह. डम्वर वहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा निजलाई तल्लो पदमा घटुवा गर्ने गरी र रिट निवेदकलाई नोकरीवाट वर्खास्त गर्ने गरी भएको निर्णयमा असमानता र भेदभाव भएको देखिन आउने ।
§ निवेदक सरहको कसैलाई कम सजाय कसैलाई वढी सजाय गर्ने गरी पुनरावेदकीय तहवाट निर्णय गर्दा सोको तथ्ययुक्त मापदण्ड र आधार कारण निर्णयमा खुलेको हुनुपर्छ तर प्रस्तुत निर्णयमा सो कुरा खुलेको नपाइदा निवेदकको सन्दर्भमा हेर्दा निवेदक समेतको पुनरावेदन उपर निर्णय गर्दा समान अवस्था र परिस्थितिका व्यक्तिहरुका वीचमा समान रुपमा निर्णय नभै भेदभावपूर्ण निर्णय भएको देखिने ।
§ निवेदक उपर कानूनको प्रयोग भेदभावपूर्ण तरीकावाट गरी निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरी भएको निर्णयलाई कानूनसम्मत भन्न नमिल्ने हुंदा मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव महानिरिक्षकको निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरेको निर्णयलाई सदर गरेको मिति २०५७।६।१० को निर्णय एवं सोमा उल्लेखित २०५६।२।११ को निर्णय कारवाही समेत त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्धारा वदर हुने ।
§ निवेदकलाई पनि प्र.ह. डम्वर वहादुर पुनको सरहको प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवाको सजाय कायम गरी प्र.ज. पदमा पुनर्वहाली गर्नु भन्ने विपक्षीहरुको नाउंमा परमादेश समेत जारी हुने ।
(प्र.नं. १४)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा
अवलम्वित नजिरः
आदेश
न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ ।
२. म निवेदक मिति २०४०।१०।१ मा नेपाल प्रहरीको परिचर पदमा शुरु नियुक्ति हुनुको साथै मिति २०४१।८।२३ मा प्रहरी जवान पदमा मिति २०४७।१।१ देखि लागू हुने गरी प्रहरी हवल्दार पदमा पदोन्नति भई हाल सशस्त्र प्रहरी गण मुख्यालय धनगढीको दरवन्दीमा रही विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठान मातहतको इलाका प्रहरी कार्यालय भिंग्री, प्यूठान अन्तर्गतका स्ट्राइकिंग प्रहरी फोर्समा काजमा कार्यरत रही आएको थिएं । मैले यस अघि आफ्नो सम्पूर्ण नोकरी अवधिमा कुनै पनि विभागीय सजाय पाएको छैन । यसैवीच विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठानले म समेतका प्र.ह. डम्वर वहादुर पुन र प्र.ह. पदमराज चुनारा समेतले मिति २०५६।१।२९ को राती २२:३० बजेको समयमा अत्यधिक मादकपदार्थ सेवन गरी आई विभिन्न अपशव्द प्रयोग गर्दै व्यारेकमा पसेको र व्यारेकमा होहल्ला भई हामीसंग हतियार छ, उडाई दिन्छौ जस्ता शव्द प्रयोग गरी गैर जिम्मेवारी तथा अनुशासनहीन कार्य गरेकोले आवश्यक कारवाही गरि पाउं भन्ने सोही टोलीमा खटिएका प्र.ना.नि. केशववहादुर थापाको प्रतिवेदन अनुसार निजहरुले पटक पटक यस किसिमको लापरवाही तथा अनुशासनहीन कार्य गरेकोले आवश्यक कारवाहीका लागि यसै पत्रसाथ पठाइएको भन्ने स्ट्राइकिंग टोली मोवाइल ३ को मिति २०५६।१।३० को पत्र तथा प्र.ह. डम्वर वहादुर पुन, वीर सिंह धामी र पदमराम चुनार समेत लाई आवश्यक कारवाही गरी पाउन यस कार्यालयमा कार्यरत प्र.अ. तथा जवानहरुको संयुक्त निवेदन पेश गरेको हुंदा प्राप्त कागजातहरु समेत आवश्यक कारवाहीको लागि यसै साथ पठाइएको भन्ने इ.प्र.का. भिंग्रीको मिति २०५६।१।३० को पत्र समेत प्राप्त हुन आएको हुंदा कुनै पनि समयमा केही नहोला भन्न नसकिने हालको सम्वेदनशील परिस्थितिमा तपाईहरुले आफ्नो काम कर्तव्यलाई विर्सिएर विभागीय नीति निर्देशन अनुरुप आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको तथा प्र.नि. ०४९ परिच्छेद ९ को नियम ८८ देहाय (ग) १(च) वमोजिमको कसूर गर्नु भएको स्पष्ट देखिएकोले तपाईहरुलाई सोही नियमावलीको नियम ८८ वमोजिम किन कारवाही नगर्ने भनी २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण पेश गर्नु होला भनी मिति २०५६।१।३१ को पत्रद्वारा म समेतलाई स्पष्टीकरण सोधियो । विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठानको उक्त स्पष्टीकरणको जवाफमा म निवेदकले मादकपदार्थ सेवन गर्न नहुने थियो । त्यसमा मेरो गल्ती थियो । म संग भएको हात हतियार गोला गठा प्र.ना.नि. केशववहादुर थापाज्यूले लगेर जांदा मेरो शर्टगर्नको म्यागजीनमा गोली छ भनेको हुं म संग हतियार छ उडाई दिन्छु भनेको होइन । अचानक म वाट गल्ती हुन गयो । त्यसको लागि एक पटक सुघ्रिने मौका पाउं भनी मैले विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षकज्यू समक्ष स्पष्टिकरणको लागि तोकिएको म्याद २४ घण्टा भित्रै मिति २०५६।१।३१ मा स्पष्टीकरण प्रस्तुत गरेको थिएं । त्यसपछि विपक्षी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूवाट मैले प्रस्तुत गरेको उक्त लिखित स्पष्टीकरण सन्तोषजनक नभएको, स्पष्टीकरणको जवाफमा झुठा व्यहोरा उल्लेख गरेको भनी म समेतलाई पुनः १२ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्नु भनी सोही कार्यालयको मिति २०५६।२।१ को पत्रद्धारा अर्को स्पष्टीकरण सोधियो । सो स्पष्टिकरणको जवाफमा पनि मैले पहिले प्रस्तुत गरेकै व्यहोराको लिखित स्पष्टिकरण जवाफ तोकिएको समय १२ घण्टाभित्रै प्रस्तुत गरेको थिएं । विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठानले आवश्यक कारवाही गरि पाउं भनी विपक्षी क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती अचल दाङलाई लेखि पठाइयो ।
३. विपक्षी क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती अंचल दांङले म समेतका ३ जना उपर प्रहरी नियमावली, २०४९ को परिच्छेद ९ को नियम ८८ को (ग), (ङ) र (ज) वमोजिमको कसुरमा सोही नियमावलीको नियम ८८ अनुसार कारवाही गरिपाउं भनी विपक्षी मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजलाई लेखी पठाइयो । विपक्षी मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजका प्रहरी उपरीक्षकले प्रहरी नियमावलीको परिच्छेद ९ को नियम ८८ को देहाय (ङ) र (च) को नियम उल्लंघन गरेको प्रष्ट देखिन आएकोले प्र.ह. पदमराम चुनारा समेतलाई नियमावलीको नियम ८४ को देहाय (ज) अनुसार ऐ नियमावलीको नियम ८३ को देहाय (३) को (ख) ले दिएको अधिकार प्रयोग गरी भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरि नोकरीवाट हटाउने गरी निर्णय विपक्षी प्रहरी उपरीक्षकले गर्नु भएको उक्त निर्णय पर्चा उपर प्रहरी नियमावलीको नियम ९२ र ९३ (३)(ख) वमोजिम मैले विपक्षी प्रहरी नायव महानिरीक्षकज्यू समक्ष म्याद भित्रै पुनरावेदन गरेकोमा डम्वर वहादुर पुनको हकमा उक्त निर्णय वदर गरि प्रहरी नियमावली, २०४९ को परिच्छेद ९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवा गरि आजैका मितिमा प्र.ज. पदमा पुनर्वहाली गरि दरवन्दी समेत कायम गरि दिने र प्र.ह. वीरसिंह धामी र पदमराम चुनाराको हकमा म.प.क्षे. प्रहरी कार्यालय नेपालगंजवाट मिति २०५६।२।११ गते नोकरीवाट वर्खास्त गर्ने गरि गरिएको निर्णय नै न्यायोचित देखिएकोले सोही निर्णय सदर गर्ने निर्णय भयो ।
४. म निवेदक प्रहरी हवल्दार दर्जाको प्रहरी कर्मचारी हुं । मेरो स्थायी दरवन्दी सशस्त्र प्रहरी गण मुख्यालय धनगढी हो । म स्ट्राइकिंग प्रहरी फोर्स इलाका प्रहरी कार्यालय भिंग्री अन्तर्गत काजमा कार्यरत रही आएको अवस्थामा मलाई विपक्षी प्रहरी नायव उपरीक्षकज्यूवाट प्रस्तुत विभागीय कारवाहीको लागि स्पष्टीकरण सोध्न मिल्दैन । प्रहरी ऐन, २०१२ को दफा १० ले कुनै प्रहरी कर्मचारीलाई नियुक्ति गर्न सक्ने अधिकारीले मात्र सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने सोही ऐनको दफा ९ ले मातहत प्रहरी कर्मचारीको नियुक्ति प्रहरी महानिरीक्षक देखि प्रहरी उपरीक्षक सम्मले गर्न सक्ने व्यवस्था गरेको छ । प्रहरी नियमावली, २०४९ को नियम ९३ (३) (ख) ले प्रहरी हवल्दारको हकमा भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतया अयोग्य ठहरिने गरि नोकरीवाट वर्खास्त गर्ने अधिकार सम्वन्धित प्रहरी उपरीक्षकलाई तोकेको छ । सम्वन्धित भन्नाले मेरो स्थायी दिरवन्दीको हैसियतले म उपर उक्त कारवाही गर्ने अधिकार सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका प्रहरी उपरीक्षकलाई मात्र छ । मिति २०५७।६।१० को निर्णय लगायतका त्यस संग सम्वन्धित सम्पूर्ण काम कारवाहीहरु मुलुकी ऐन अ.वं. ३५ नं. अधिकार क्षेत्र विहिन हुनुको साथै प्रहरी ऐन, २०१२ को दफा १०,११ क. तथा २०४९ को नियम ९३ (३) (ख) विपरीत भई वदर भागी छन ।
५. यस्तै म जस्तै समान अवस्थाको प्र.ह. डम्वर वहादुर पुनलाई पनि सुरु कारवाहीमा विपक्षी प्रहरी उपरीक्षकज्यूले भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरि नोकरीवाट वर्खास्त गर्नु भएकोमा निज डम्वरवहादुर पुनले विपक्षी प्रहरी नायव महानिरीक्षकज्यू समक्ष पुनरावेदन गर्नु भएकोमा निज डम्वरवहादुर पुनलाई पुनरावेदकीय कारवाहीवाट प्रहरी नियमावलीको नियम ८४ (ङ) वमोजिम एक तह घटुवा गर्ने निर्णय गरियो । म निवेदकको हकमा शुरु निर्णय नै सदर गरिएवाट समान अवस्थाका व्यक्तिहरु माथि असमान व्यवहार गरिनुका साथै म निवेदकलाई मादकपदार्थ सेवन गरेको जस्तो एकदमै सामान्य कुरामा पूर्वाग्रह राखी भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने जस्तो एकदमै चर्को सजाय गरिएवाट पनि विपक्षी प्रहरी नायव महानिरीक्षकज्यूले मिति २०५७।६।१० मा गर्नु भएको उल्लेखित निर्णय समान अवस्थाका व्यक्तिहरुमाथि असमान र भेदभावपूर्ण व्यवहार हुन गई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को विपरीत भई वदर भागी छ ।
६. मलाई स्पष्टीकरण सोधिदा प्रहरी नियमावली, २०४९ को नियम ८८ को (ग) (ङ) र (च) वमोजिमको कसुर गरेको भनी सोधिएको छ । साथै पटकपटक लापरवाही एवं अनुशासनहीन कार्य गरेको भनी स्पष्टिकरणमा आरोप लगाइएको छ । तर पटक पटक यस अघि मैले के कस्तो लापरवाही एवं अनुशासनहीन काम गरेको थिएं ? मलाई सोधिएको स्पष्टीकरणमा त्यस्तो केही खुल्दैन । विपक्षी प्रहरी उपरीक्षकज्यूले गर्नु भएको उल्लेखित निर्णय लगायत सो निर्णयलाई सदर गर्ने गरेको विपक्षी प्रहरी नायव महानिरीक्षकज्यूको मिति २०५७।६।१० को निर्णय र सो संग सम्वन्धित सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशले वदर गरी निवेदकलाई पूर्ववत सेवामा वहाल गराई कामकाज गराउनु र विभागीय कारवाही भई वहाली हुंदासम्मको तलव भत्ता समेत दिनु भनी विपक्षीहरुका नाउंमा परमादेश समेत जारी गरि पाउं भन्ने समेतको बीर सिंह धामीको यस अदालतमा परेको रिट निवेदन ।
७. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो । १५ दिन भित्र लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई लिखित जवाफ आएपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको ०५७।८।८ को आदेश ।
८. मातहत कार्यालयवाट निकाशार्थ प्रस्तुत विषयमा आफै यस कार्यालयवाट गर्न सकिने विषयमा यसै कार्यालयवाट गर्नुपर्ने र गर्न नसकिने विषयमा अधिकार प्राप्त अधिकारी भएको निकायमा पठाउनु पर्ने दायित्व यस कार्यालयले वहन गर्नुपर्ने हुंदा सोही अनुरुप आवश्यक कारवाहीको लागि मध्य पश्चिम क्षेत्रिय प्रहरी कार्यालय नेपालगंजमा पठाएको हुंदा यस कार्यालयवाट प्रहरी ऐन तथा नियमावलीको वर्खिलाप कुनै पनि काम कारवाही भएको छैन रिट निवेदन खारेज गरी पाउं भन्ने समेतको क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती अंचल दाङ्गको लिखित जवाफ ।
९. प्रहरी सेवा जस्तो मर्यादित एवं अनुशासित संगठनको सदश्य भएर विशेष परिस्थितिमा विभागले खटाएको अवस्थामा पनि डिउटीमा अनुपस्थित भई मादक पदार्थ सेवन गरि आफू माथिको कमाण्डरलाई हातपात गर्नुका साथै धम्कीपूर्ण शव्दहरु प्रयोग गरि गैर जिम्मेवार एवं अति अनुशासनहीन कार्य गरेकोले उक्त कार्य प्रहरी नियमावली, ०४९ को परिच्छेद ९ को नियम ८८ को देहाय (ङ) र (च) विपरीत भई निजको हकमा सुरुवाट प्रहरी नियमावली, ०४९ को नियम ८४(ज) अनुसार नोकरीवाट बर्खास्त गर्ने गरि गरिएको निर्णय नै न्यायोचित देखिएकोले सोही सदर गरेको निर्णयवाट निवेदकको संवैधानिक हक अधिकारमा कुनै आघात नपरेको र प्रहरी नियमावली, ०४९ वमोजिम नै न्यायिक निर्णय भएकोले निवेदकको माग वमोजिम उत्प्रेषण समेतको आदेश जारी गर्नुपर्ने होइन । रिट निवेदन खारेज गरी पाउं भन्ने समेतको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजको लिखित जवाफ।
१०. विपक्षी रिट निवेदकले जि.प्र.का, प्यूठानका प्र.ना.उ. ले २ पटक स्पष्टीकरण सोधेको र दुवै पटक स्पष्टीकरण पेश गरेको कुरा रिट निवेदनमा समेत उल्लेख गरेवाट सफाइको मौका नदिएको भन्ने जिकिर खारेजभागी छ । विपक्षी रिट निवेदकले आफूले मादकपदार्थ सेवन गरेको कुरा स्वीकार गर्नको साथै स्वास्थ्य परीक्षणवाट पनि सो कुरा पुष्टी भएको देखिन्छ । प्र.नि. २०४९ को नियम ८८ (च) मा वर्दीको पोशाक लगाई पालोमा नरहेको अवस्थामा समेत कसैले मादक पदार्थ सेवन गरी हिडेमा त्यस्तो प्रहरी कर्मचारीलाई नियम ८८(ज) वमोजिम भविस्यमा सरकारी नोकरीको निमित्त सामान्यतया अयोग्य ठहरीने गरी नोकरीवाट वरखास्त गर्ने व्यवस्था छ साथै रिट निवेदक २४ घण्टा डिउटीमा रहनु पर्ने स्टाइकिङ फोर्समा खटिएको प्र.ह. हुंदा नियम ८८(ग) र (ङ) वमोजिम अनुशासनहिनताको काम नगरेको र आफ्नो पदको जिम्मेवारी अनुसार आचारण गरेको भन्ने मिल्ने देखिदैन तसर्थ नियम ८८(ग)(ङ) र (च) वमोजिमको कसुर ठहर गरी नियम ८४ (ज) वमोजिम सजाय दिएको नमिलेको भनि विपक्षी रिट निवेदकले दिएको जिकिर प्रहरी ऐन र नियमावली विपरीतको हुंदा खारेजभागी छ भन्ने प्र.उ. बीर शरण थापाको लिखित जवाफ ।
११. कसूर एवं प्रमाणकै आधारमा निज रिट निवेदक बिर सिंह धामी समेतका उपर कारवाही गर्ने अधिकार यस कार्यालयलाई नभएवाट प्र.नि. २०४९ को परिच्छेद ९ को नियम ८८ देहाय (ग) (ङ) र (ज) को कसुरमा सोही नं. ८८ वमोजिम निज समेतको उपरमा कारवाही हुने राय व्यहोरा सहित मिति २०५७।२।६ गते माथिल्लो इकाई मजकुर क्षेत्रीय प्रहरी इकाई कार्यालय तुल्सीपुर दाङमा शिलसिलेवार जाहेर गरिएको । निज रिट निवेदकको सम्वन्धमा भएको निर्णय वारे विपक्षी नं. ४ र ५ भनि उल्लेखित कार्यालयवाट जाहेर हुने नै छ खारेज गरी पाउं भन्ने समेतको जिल्ला प्रहरी कार्यालय प्यूठानको लिखित जवाफ ।
१२. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले मेरो पक्षको स्थायी दिरवन्दी भएको सम्वन्धित कार्यालयको प्रहरी उपरीक्षकले स्पष्टीकरण सोध्नु पर्नेमा अधिकारै नभएको प्रहरी उपरीक्षकवाट स्पष्टीकरण सोधी विभागीय कारवाही भएकोले अधिकार क्षेत्रको त्रुटी भएको छ । समान अवस्थाका डम्वरवहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा एक तह घटुवा गर्ने तर निवेदकलाई नोकरीवाट अवकाश दिने गरी भएको निर्णयवाट असमान निर्णय भएको छ । रिट आदेश जारी गरी पाउं भनी र विपक्षी तर्फवाट उपस्थित विद्वान उप न्यायाधिबक्ता श्री सुरेन्द्रवहादुर थापाले रिट निवेदकले कसूर गरेको समयमा प्यूठान अन्तर्गतको फोर्समा काजमा रहेकोले सोही कार्यालय अन्तर्गतका सम्वन्धीत प्रहरी उपरीक्षकले स्पष्टीकरण सोधेको अवस्था हुंदा कानून वमोजिम भएको छ । पुनरावेदन तहवाट निर्णय गर्दा आफुलाई प्राप्त अधिकार अन्तर्गत कसुरको मात्रा र स्पष्टीकरण अनुसार फरक फरक निर्णय भएको छ । रिट निवेदन खारेज गरीपाउं भनी वहस प्रस्तुत गर्नु भयो ।
१३. रिट निवेदन, लिखित जवाफ एवं फायल संलग्न मिसिल कागजातहरु अध्ययन गरी यसमा रिट निवेदकको माग वमोजिम रिट आदेश जारी हुनुपर्ने हो होइन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।
१४. निर्णयतर्फ विचार गर्दा यसमा निवेदकको स्थायी दरवन्दी भएको शसस्त्र प्रहरी गण मुख्यालय धनगढीका प्रहरी उपरीक्षकवाट निवेदकलाई विभागीय कारवाही गर्ने सम्वन्धमा स्पष्टीकरण सोध्ने लगायतका कारवाही अगाडि बढाउनु पर्नेमा निज काजमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रहरी उपरीक्षकवाट स्पष्टीकरण सोध्ने लगायतका विभागीय कारवाही गरी अधिकारक्षेत्रबिहीन निकायवाट विभागीय कारवाही गरिएको साथै निवेदक समानका .डम्वरवहादुर पुनलाई पुनरावेदन तहवाट निर्णय गर्दा निवेदकलाई भिन्दाभिन्दै सजाय गरी असमान निर्णय भएको समेत वाट विपक्षीहरुवाट निवेदकलाई नोकरीवाट अवकास दिने गरी गरिएको निर्णय कामकारवाहीहरुवाट निवेदकको संविधानको धारा ११ एवं प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०४९ ले प्रदान गरेको हकमा आघात भएकोले ति सम्पूर्ण निर्णय काम कारवाहीलाई उत्प्रेषणको आदेशवाट वदर गरी निवेदकलाई पुर्ववत सेवामा वहाल गराई काम लगाउनु भन्ने समेतको विपक्षीहरुको नाउंमा परमादेश जारी गरी पाउं भन्ने नै निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ (१) ले सवै नागरिक कानूनको दृष्टिमा समान छन । कसैलाई पनि कानूनको समान संरक्षणवाट वंचित गरिने छैन भनी र धारा ११(२) ले समान कानूनको प्रयोगमा कुनै पनि नागरिक माथी भेदभाव गरिने छैन भनी भेदभाव पूर्ण व्यवहार गर्न नपाउने गरी संवैधानिक हकको प्रत्याभूति गरेको देखिन्छ । रिट निवेदक समेत ३ जनालाई मादक पदार्थ सेवन गरी डियुटीमा रहेको प्र.ज.लाई गाली गलौज गरी अति उच्छ्र«ीखल कार्य गरी आफ्नो पदीय जिम्मेवारी अनुसारको अचारण नगरेको भनी प्रहरी नियमावली, २०४९ को नियम ८८(ङ) (च) को कसुरमा ऐ नियम ८४(ज) अनुसार र ऐ. नियम ९३(३)(ख) वमोजिम सरकारी नोकरीको निमित्त अयोग्य ठहरीने गरी नोकरीवाट बरखास्त गर्ने गरी मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजका प्रहरी उपरिक्षकवाट २०५६।२।११ मा निर्णय भएकोमा सो निर्णय उपर निवेदक समेतले प्रहरी नियमावली, ०४९ को नियम ९३(३)(ख) वमोजिम पुनरावेदन गरेकोमा निजहरुको पुनरावेदन उपर निर्णय हुंदा मिति २०५७।६।१० मा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजका प्रहरी नायव महानिरिक्षकले डम्वर वहादुर पुनको हकमा निजलाई वर्खास्त गर्ने गरी गरेको निर्णय वदर गरी प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवा गरी आजैको मितिमा प्र.ज. पदमा पुनर्वाहाली गरी दिने र निवेदक विर सिंह धामी समेतको हकमा निजहरुलाई नोकरीवाट दर्खास्त गर्ने गरेको मिति ०५६।२।११ को निर्णय सदर गर्ने गरी निर्णय गरेको देखियो । रिट निवेदक जस्तै समान अवस्था र परिस्थितीका प्र.ह. डम्वरवहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा निजलाई तल्लो पदमा घटुवा गर्ने गरी र रिट निवेदकलाई नोकरीवाट वर्खास्त गर्ने गरी भएको निर्णयमा असमानता र भेदभाव भएको देखिन आउंछ । निवेदक सरहको कसैलाई कम सजाय कसैलाई वढी सजाय गर्ने गरी पुनरावेदकीय तहवाट निर्णय गर्दा सोको तथ्ययुक्त मापदण्ड र आधार कारण निर्णयमा खुलेको हुनुपर्छ तर प्रस्तुत निर्णयमा सो कुरा खुलेको पाइदैन । माथि उल्लेखित संविधानद्वारा प्रदत्त समानताको हकले कसैलाई पनि कानूनको समान संरक्षणवाट वंचित गरिने छैन भन्ने प्रष्ट गरेको छ । कानूनको समान संरक्षण भन्नाले कानूनको प्रयोग गर्दा समान स्थितिका व्यक्तिहरुमा असमान रुपमा प्रयोग गरिनु हुन्न भन्ने हो । कानूनको समान संरक्षण समान स्थितिका व्यक्तिलाई दिइनुपर्ने समान व्यवहार हो । समान व्यक्तिहरुको वीचमा भेदभाव गरिएको देखिएमा समानताको हक कृयाशील हुन्छ । निवेदकको सन्दर्भमा हेर्दा निवेदक समेतको पुनरावेदन उपर निर्णय गर्दा समान अवस्था र परिस्थितिका व्यक्तिहरुका वीचमा समान रुपमा निर्णय नभै भेदभावपूर्ण निर्णय भएको देखिन्छ । यसरी निवेदक उपर कानूनको प्रयोग भेदभावपूर्ण तरीकावाट गरी निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरी भएको निर्णयलाई कानूनसम्मत भन्न नमिल्ने हुंदा मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव महानिरिक्षकको निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरेको निर्णयलाई सदर गरेको मिति २०५७।६।१० को निर्णय एवं सोमा उल्लेखित २०५६।२।११ को निर्णय कारवाही समेत त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । अव निवेदकलाई पनि प्र.ह. डम्वर वहादुर पुनको सरहको प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवाको सजाय कायम गरी प्र.ज. पदमा पुनर्वहाली गर्नु भन्ने विपक्षीहरुको नाउंमा परमादेश समेत जारी हुने ठहर्छ । विपक्षीहरुको जानकारीको लागि आदेशको प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.रामनगिना सिंह
इति सम्वत् २०६० साल मंसिर २ गते रोज ३ शुभम्––––––––