शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७०४ - कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ ।

भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १०

ने.का.प. २०६८,           अङ्क १०

निर्णय नं. ८७०४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् ०६३ सालको–CI–०१०१

फैसला मितिः २०६८।४।१५।१

मुद्दाःकम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ 

 

पुनरावेदक वादीः चितवन जिल्ला, जुटपानी गा.वि.स. वडा नं. २ घर भै हाल काठमाडौ जिल्ला,   काठमाडौ महानगरपालिका वडा नं. ३३ कालिकास्थान बस्ने मदनप्रसाद लम्साल

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. १ कमलादीस्थित       रेप्सोना       पब्लिकेशन्स प्रा.लि.

 

शुरु निर्णय गर्नेः

कम्पनी बोर्ड, त्रिपुरेश्वर

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ

मा.न्या.श्री गोविन्दकुमार उपाध्याय

 

§  निजी क्षेत्रको प्राइभेट लिमिटेड कम्पनीको प्रवन्धपत्र तथा नियमावलीले कम्पनीको कुनै सञ्चालकले मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न रोक नलगाएको तथा तत्काल प्रचलित कम्पनी ऐन, २०५३ ले पनि यस्तो प्रतिबन्ध नलगाएको अवस्थामा आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा अर्को पत्रिका प्रकाशन गर्ने, दर्ता गराउने र प्रचलित कानूनअनुसार सोसम्बन्धी ट्रेडमार्क दर्ता गराउन पाउँदैन भन्न नसकिने 

(प्रकरण नं.३)

§  सञ्चालकले कम्पनीमार्फत् वा कम्पनीको नाममा कारोवार गर्दा कम्पनी ऐन, २०५३ क दफा ७६(२) तथा ८० को व्यवस्था उल्लंघन गरी व्यक्तिगत फाइदा लिएको तथ्य प्रमाणित हुनको लागि आरोपित सञ्चालकले कुनै कारोवारमा कम्पनीको प्रतिनिधित्व गरेको र यसबाट लिएको मूल्य स्पष्ट रुपमा किटान भएको कुरा पुष्टि हुनुपर्ने 

§  मूल्य र रकम किटान नभए कम्पनीबाट लिएको व्यक्तिगत फाइदाको रकम ऋणसरह असूल हुनसक्ने अवस्था नहुने हुँदा कुन कारोवारबाट आरोपित सञ्चालकले कति फाइदा लियो भन्ने कुरा रकम र मूल्यको आधारमा किटान नभएको अवस्थामा दफा ७६(२) को उल्लंघन प्रमाणित हुन नसक्ने अवस्थामा दफा १२९ अनुसार जरीवाना हुन पनि नसक्ने 

(प्रकरण नं.६)

§  प्राइभेट कम्पनीको सञ्चालक भएकै कारणले पेशा तथा व्यवसाय गर्ने स्वतन्त्रता सम्बन्धमा संविधानअन्तर्गत प्राप्त मौलिक हकबाट बञ्चित गर्न नसकिने, प्राइभेट कम्पनीको कुनै सञ्चालकले यस्तो कम्पनीको व्यवसाय वा उद्देश्यसँग मिल्दोजुल्दो व्यवसाय गर्न नपाउने गरी कम्पनी ऐनलगायत अन्य प्रचलित कानून तथा स्वयं प्रत्यर्थी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समेत कुनै प्रतिबन्ध नलगाएको अवस्थामा छुट्टै पत्रिका दर्ता गराई प्रचलित कानूनअनुसार उक्त पत्रिकाको ट्रेडमार्क समेत दर्ता गराएको भन्ने मात्र आधारमा कम्पनी ऐन, २०५३ को दफा ७६ (२) तथा दफा ८० अनुसारको कसूर गरेको ठहर्‍याउन नमिल्ने 

(प्रकरण नं.८)

 

प्रतिवादी पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता महेश थापा

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  कम्पनी ऐन, २०५३ को दफा ७६(२), ८०, १२९

 

फैसला

न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनबाट मिति २०६१।१०।४।२ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

म फिरादी र विपक्षीले संयुक्त रुपमा कम्पनी ऐन, २०५३ अन्तर्गत शेयरमा सीमित दायित्व हुने गरी रेप्सोना पब्लिकेसन्श प्रा.लि. दर्ता गरी कम्पनी सञ्चालन गरी आएको हौं । मिति २०५५।२।२४ को सञ्चालक समितिको बैठकबाट कम्पनीको घोषित उद्देश्य पूरा गर्न अन्य उद्योग र वाणिज्य जस्ता विशेष जोड दिने खालको अंग्रेजी मासिक पत्रिका Business age नामक पत्रिका प्रकाशन गर्ने निर्णय भएको थियो र सो पत्रिकाको सम्पादकमा विपक्षीलाई नै नियुक्त गरिएको थियो । विपक्षीले आफू कम्पनीको सञ्चालक र विजनेश एज मासिक पत्रिकाको सम्पादक रहेकै अवस्थामा स्थानीय अधिकारीको कार्यालयमा New Business ageनामक पत्रिका दर्ता गरी समाजमा रेप्सोना पब्लिकेसन्शद्वारा आर्जित ख्याति र प्रतिष्ठामा चोट पुर्‍याउने हेतुले बदनियत पूर्ण तरिकाले Business age पत्रिकाकै ट्रेडमार्क लेबल प्रयोग गरी उस्तै आकार उस्तै पृष्ठ संख्या राखी New शब्द स्पष्ट रुपमा नदेखिने र नचिनिने गरी लुकाई Business age नै नाम राखी Vol. I. no. (बैशाख २०५८) May 2001 अंक भनी पत्रिका प्रकाशन गर्नु भएछ । कम्पनी ऐन, कम्पनीको प्रबन्धपत्र र नियमावलीविपरीत कम्पनीको कारोवारसँग हुबहु मिल्ने उस्तै प्रष्ट आकार र ट्रेडमार्क राखी कम्पनीसँग प्रतिष्पर्धा गर्ने उद्देश्यले कम्पनीको कारोवारलाई नोक्सान पुर्‍याउने कार्य गर्नु भएको छ । उक्त कार्य कम्पनी ऐन, २०५३ को दफा ७६ र ८० विपरीत भएकोले ऐ.को दफा १२८ र १२९ बमोजिम विपक्षीलाई हदैसम्म सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराका हरिकुमार राईको कम्पनी वोर्डमा परेको फिराद दावी 

प्रथमतः विपक्षी आफैले आफूलाई अधिकार दिई सञ्चालक विरुद्ध मुद्दा गर्न सक्ने अवस्था नभएकोले विना अधिकार झूठ्ठा व्यहोरा खुलाई दायर गरेको फिराद दावी खारेजभागी छ । साथै कुनै एक कम्पनीमा सञ्चालक भएपछि अन्य कुनै कार्य गर्न नपाउने गरी नियमावलीले प्रतिबन्ध लगाएको छैन । रेप्सोना पब्लिकेसन्श प्रा.लि.ले प्रकाशित गर्दै आएको विजिनेश एज नामको पत्रिका हुँदाहुँदै न्यू विजिनेश एज नामको पत्रिका दर्ता सम्बन्धमा उद्योग विभागमा विचारधिन छ । कुनै निकायमा विचाराधीन विषयमा यस बोडमा उजूरी गरेको कानूनसम्मत् छैन । विजिनेश एज पत्रिकाको प्रकाशक भै प्रकाशन गर्न लागेको नभै निजसँग बसी काम गर्न नसकिने अवस्था परेर मात्र गरेको हो । विजिनेश एज पत्रिकाको सम्पादक समेतबाट राजीनामा दिई न्यू विजिनेश एज पत्रिका कानूनबमोजिम दर्ता गरी प्रकाशन गरेको हो । विपक्षीको उजूरी खारेज गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र 

न्यू विजिनेश एज नामक पत्रिका दर्ता गर्ने र ट्रेडमार्क लिएको कुराको विवाद छापाखाना तथा प्रकाशन ऐन, २०४८ र पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ बमोजिम अधिकारप्राप्त अधिकारीले निर्णय गर्ने विषय रहेको हुँदा प्रस्तुत उजूरी जिकीर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको कम्पनी वोर्ड त्रिपुरेश्वरको फैसला निर्णय 

प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०५३ को दफा १२८ र १२९ को उल्लंघन भएको र सोबमोजिम उपचार दिने निकाय कम्पनी वोर्ड भएकोमा कुनै विवाद नरहेको अवस्थामा अन्य ऐनको हवाला दिँदै न्यायिक निकाय आफ्नो काम कारवाहीबाट पन्छन मिल्दैन । कम्पनी ऐन बमोजिमको माग दावी अन्य ऐनबाट उपचार गर्न मिल्दैन तसर्थ माग दावी बमोजिमको उपचार नदिई अन्य निकायले दिने भनी पन्छिने गरी भएको निर्णय वदर गरी माग दावीबमोजिम इन्साफ दिलाई पाउँ भन्नेसमेत व्यहोराको हरिकुमार राईको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

कम्पनीको निर्णय र हितविपरीतको काम गरेको उल्लेख गरी कम्पनी ऐन, २०५३ को दफा ७६, ८०, १२८, १२९ को दावी लिई प्रमाण समेत पेश गरी कम्पनी वोर्डमा उजूर परेकोमा प्रमाणको मूल्याङ्कन नै नगरी विवादको विषयभन्दा बाहिर गै गरेको कम्पनी वोर्डको निर्णय फरक पर्न सक्ने हुँदा छलफलको लागि विपक्षी झिकाई पेश गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५९।७।८ को आदेश 

यिनै पक्ष विपक्ष भएको ट्रेडमार्क बदर समेतका मुद्दारू साथै राखी पेश गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६१।२।२५ मा भएको आदेश 

प्रत्यर्थी मदनप्रसाद लम्सालले स्पष्ट तवरमा कम्पनी ऐन, २०५३ को दफा ७६(२) को कसूर गरेकोले निजलाई ऐ.को दफा १२९ बमोजिम जरीवाना गर्नुपर्नेमा पुनरावेदक वादीको उजूरी जिकीर पुग्न नसक्ने ठहराएको कम्पनी बोर्ड त्रिपुरेश्वरको मिति२०५८।११।२२ को निर्णय उल्टी भै प्रत्यर्थी लक्ष्मणप्रसाद लम्सालले कम्पनी ऐन, २०५३ को दफा ७६(२) को कसूर गरेको ठहरेकोले निजलाई ऐ.को दफा १२९ बमोजिम रू.२,५००।जरीवाना समेत हुने ठर्हछ भन्नेसमेतको पुनरावेदन अदालत पाटनबाट मिति २०६१।१०।४ को फैसला 

प्रत्यर्थीको नामबाट प्रकाशन हुँदै आएको Business age पत्रिका मेरो परिकल्पना अर्थात सिर्जना हुँदा त्यस उपर मेरो पूर्ण अधिकार रहन्छ । म सम्पादक भै मैले नै उक्त पत्रिका प्रत्यर्थीको नामबाट प्रकाशन गरेको हो र मैले सो कम्पनी छाडेपछि मेरो पत्रिकाको स्वामित्व प्रत्यर्थीसँग रहन सक्ने अवस्था नै थिएन । मैले लिखित मञ्जूरी गरी हक हस्तान्तरण नगरेसम्म वा भोग चलन गर्न स्वीकृति प्रदान नगरेसम्म सो पत्रिकाउपर प्रत्यर्थीको हक दावी रहन सक्ने अवस्था नै थिएन । सो पत्रिका उपरको दावी परित्याग गरी प्रत्यर्थीलाई दिएको भन्ने कुनै उजूर दावी छैन । कुनै कम्पनी खोली व्यवसाय गरिरहेको व्यक्तिले सो कम्पनी छाडी अर्कै व्यवसाय गर्न नसक्ने भनी अर्थ गर्न मिल्दैन । मैले New Business age भन्ने पत्रिका दर्ता गरी आफै प्रकाशन गर्न शुरु गर्दा कुन अन्तर्राष्ट्रिय काननू र प्रचलनको विपरीत भएको हो फैसलामा उल्लेख छैन । कम्पनी ऐन, २०५३ को दफा ७६(२) म सञ्चालकले कम्पनीमार्फत् फाइदा लिन नपाउनेमा फाइदा लिएको भनी फैसलामा उल्लेख भएको छ । मैले कुन फाइदा कसरी लिए भन्ने कुरामा फैसला मौन छ । मैले प्रत्यर्थी कम्पनीबाट कुनै आर्थिक वा अन्य फाइदा लिएको छैन । बहुमत शेयर लिने व्यक्ति हरिकुमार राईसँग बसेर काम गर्न नसकिएको कारणले अर्को पत्रिका दर्ता गर्दैमा मैले फाइदा लिएको भन्न मिल्दैन । मैले New Business age पत्रिका दर्ता गर्न हुने वा नहुने भन्ने विषय छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ अन्तर्गत छानविन हुने वा कम्पनी ऐन, २०५३ अन्तर्गत मुद्दा लाग्ने विषय नै होइन । क्षेत्राधिकारको गम्भीर त्रुटि भएको छ । प्रत्यर्थीले अर्को पत्रिका दर्ता गरी ट्रेडमार्क दर्ता गरेको विषयमा परेको मुद्दामा भएको फैसला उपर आजै मुद्दा दर्ता गरेको छु । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ र १८ ले मेरो ट्रेडमार्क मैले दर्ता गर्न पाउनु पर्ने र दर्ता गरेर मात्रै ट्रेडमार्क उपरको कानूनी हक स्थापित हुने स्पष्ट व्यवस्था छ । निज प्रत्यर्थीको नाममा Business age ट्रेडमार्क दर्ता नै छैन । प्रत्यर्थीले मलाई विपक्षी बनाई दायर गर्नु भएको प्रस्तुत मुद्दाको शुरु उजूरी नै अधिकार विहीन छ । प्रत्यर्थी कम्पनीमा म र हरिकुमार राई मात्रै सञ्चालक रहेकोमा मेरो अनुपस्थितिमा मेरै विरुद्धमा उजूरी गर्न सञ्चालक समितिले अधिकार दिन सक्दैन । कम्पनी ऐन, २०५३ अनुसार ५१ प्रतिशत सञ्चालक उपस्थिति नभई सञ्चालक समितिको बैठकले निर्णय गर्न सक्दैन । सञ्चालक समितिको निर्णय नभई कसै उपर कम्पनीको तर्फबाट मुद्दा गर्न नसकिने अवस्थामा ५० प्रतिशत अर्थात् १ जना सञ्चालक मात्र उपस्थित भै अर्को सञ्चालकको विरुद्धमा उजूरी गरेको कार्य अधिकारक्षेत्रविहीन छ । विपक्षीले लक्ष्मीनारायण सिंह सुवाललाई शेयरवाला बनाई सञ्चालक चयन गरेको मिति २०५८।४।१ को विशेष साधारण सभा समेत कम्पनी वोर्डको मिति २०५८।११।२२ को निर्णयले बदर भै अन्तिम भएकोले निज प्रत्यर्थी हरि कुमार राइले अनाधिकार तरिकाले अर्को सञ्चालक विरुद्ध गरेको उजूरी कानून विपरीत छ । उनाउ व्यक्ति लक्ष्मीनारायण सिंह सुवाललाई प्रवन्ध सञ्चालक देखाई निज समेत राखी सञ्चालक समितिको मिति २०५८।५।१७ को बैठक र सो बैठकले दिएको अख्तियारी कानूनविपरीत छ । प्रत्यर्थीको उजूरी नै अधिकारक्षेत्र विहीन भएको र मैले कम्पनी ऐन, २०५३ विपरीत कुनै कसूर नगरेको हुँदा पुनरावेदन अदालत पाटनको मिति २०६१।१०।४ को फैसला बदर गरिपाऊँ भन्नेसमेतको प्रतिवादीको यस अदालतसमक्ष परेको पुनरावेदन पत्र 

पुनरावेदक पनि विपक्षी कम्पनीको आधा हिस्सेदार भएको अवस्थामा एउटा साझेदारउपर अर्को आधा हिस्सेदारले मुद्दा गर्न पाउने हकदैया नदेखिएको तथा कम्पनी ऐन, २०५३ को दफा ७६ को उपदफा २ ले दुईजना हिस्सेदार भएको प्राइभेट कम्पनीको एक वा अर्को साझेदारले अन्य व्यवसाय गर्न प्रत्यक्ष रोक लगाएको नदेखिँदा सोही दफा ७६(२) को प्रतिवन्धात्मक खण्डको विपरीत भएको भनी सोही ऐनको दफा १२९ अनुसार पुनरावेदकलाई जरीवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिएकोले प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट मिति २०६७।२।१६।१ मा भएको आदेश 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेश थापाले मेरो पक्षले न्यू विजिनेश एज नामक मासिक अंग्रेजी पत्रिका दर्ता गर्ने सम्मको कारणले पक्ष समेत सञ्चालक रहेको उक्त रेप्सोना पब्लिकेशन्स प्रा.लि.का हकमा कुनै असर गर्न सक्ने होइन । मेरो पक्ष नै सम्पादक रहेको विपक्षी कम्पनीको पत्रिका प्रकाशन भएकोमा पक्षको सिर्जना निजसँग सँगै सर्ने र सो कार्यले विपक्षी कम्पनीको कुनै पनि हकमा असर नपर्ने भएबाट विपक्षी कम्पनीको हक हितमा असर गरेको भनी पक्षलाई रू.२,५००।जरीवाना गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने बहस प्रस्तुत गर्नुभयो 

अब पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन निर्णय दिनुपर्ने भै हेर्दा, विपक्षीले आफू कम्पनीको सञ्चालक र Business age नामक पत्रिकाको सम्पादक रहेकै अवस्थामा स्थानीय अधिकारीको कार्यालयमा New Business age नामक पत्रिका दर्ता गरी कम्पनी ऐन बमोजिम दर्ता भएको कम्पनीको प्रबन्धपत्र र नियमावली विपरीत कम्पनीको कारोवारसँग हुबहु मिल्ने उस्तै प्रष्ट आकार र ट्रेडमार्क राखी कम्पनीसँग प्रतिष्पर्धा गर्ने उद्देश्यले कम्पनीको कारोवारलाई नोक्सानी पुर्‍याउने कार्य भएबाट कम्पनी ऐन, २०५३ को दफा ७६ र ८० बमोजिमको विपरीत कार्य गरेकोले उक्त ऐनको दफा १२८ र १२९ बमोजिम सजाय गरी पाउन दावी लिई कम्पनी वोर्डसमक्ष निवेदन दिएको र कम्पनी वोर्ड त्रिपुरेश्वरबाट उजूरी जिकीर पुग्न नसक्ने गरी निर्णय भएकोमा सोही निर्णय उपर वादीको पुनरावेदन अदालत पाटन समक्ष पुनरावेदन परी पुनरावेदन अदालत पाटनले पुनरावेदक प्रत्यर्थी मदनप्रसाद लम्साललाई उक्त ऐनको दफा ७६(२) अनुसारको कसूर गरेको भनी निजलाई रू.२५००।जरीवाना हुने ठहरी फैसला भएकोमा सोही फैसलामा चित्त नबुझाई प्रतिवादी मदनप्रसाद लम्सालको यस अदालतसमक्ष पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदनको सम्बन्धमा निर्णय गर्नु पूर्व निम्न प्रश्नशरू निराकरण गर्नुपर्ने देखियोः

(क)   कुनै एक प्राइभेट कम्पनीको सञ्चालकले अर्को फर्म वा कम्पनी स्थापना गरी निज सञ्चालक रहेको कम्पनीको प्रकृतिसँग मिल्ने कुनै व्यवसाय गर्न कम्पनी ऐन, २०५३ वा अन्य प्रचलित कानूनले प्रतिबन्ध लगाएको छ वा छैन ?

(ख)   कस्तो अवस्थामा कम्पनीको सञ्चालकले कम्पनीमार्फत् आफूलाई व्यक्तिगत फाइदा हुने काम गरेको मानिन्छ ?

(ग)   प्रत्यर्थी पुनरावेदकबाट भए गरेको भनिएको कामकारवाहीबाट निजले कम्पनीमार्फत् व्यक्तिगत फाइदा लिएको अवस्था छ वा छैन?

२. प्रस्तुत विवादको तथ्यको सन्दर्भमा नै पहिलो प्रश्नको निराकरण गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दाको तथ्य हेर्दा यी पुनरावेदक प्रत्यर्थी रेप्सोना पब्लिकेसन्श प्रा.लि.को सञ्चालक र उक्त कम्पनीले प्रकाशन गर्ने Business age नामक पत्रिकाको सम्पादक रहेको अवस्थामा निजले उस्तै प्रकृतिको अर्को व्यवसाय गर्न उक्त कम्पनीले प्रकाशन गर्ने Business age नामको पत्रिकाको नामसँग मिल्ने गरी अर्को पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराई New Business age नामको Vol. 1, No. 1 (बैशाख २०५८) प्रकाशन गर्नुको साथै Business age भन्ने ट्रेडमार्क समेत दर्ता गराएकोले र यस्तो कार्य कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० को विपरीत भएकोले उक्त ऐनको दफा १२८ तथा १२९ बमोजिम सजायँ गरिपाऊँ भन्ने दावी परेको देखिन्छ । अर्को अर्थमा भन्ने हो भने प्राइभेट कम्पनीको सञ्चालकले उक्त कम्पनीको व्यवसायसँग मिल्ने अर्को व्यवसाय गरेको र यस्तो कार्यबाट तत्काल प्रचलित कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० को विपरीत कार्य भएकोले सजायँ गरिपाऊँ भन्ने नै प्रत्यर्थी कम्पनीको मूल दावी रहेको देखिन्छ । शुरु निर्णय गर्ने कम्पनी बोर्डले ट्रेडमार्क दर्ता गराएको विषय उद्योग विभागको कार्यक्षेत्रभित्र पर्ने विषय भएको भन्ने आधारमा दावी खारेज गर्ने निर्णय गरेकोमा पुनरावेदन अदालत पाटनको उक्त निर्णय बदर गरी उक्त ऐनको दफा १२९ अनुसार जरीवाना गरेको निर्णयको विरुद्धमा परेको प्रस्तुत पुनरावेदनको सम्बन्धमा निर्णय गर्नु पहिले एक प्राइभेट कम्पनीको सञ्चालकले उक्त कम्पनीको उद्देश्य र कामको प्रकृतिसँग मिल्ने अर्को व्यवसाय गर्न हुन्छ वा हुँदैन वा समान प्रकृतिको अर्को वस्तु उत्पादन गर्न कम्पनी ऐन, २०५३ लगायत अन्य कानूनले रोक लगाएको छ वा छैन भन्ने प्रश्न नै मूलरुपमा निराकरण गर्नुपर्ने देखियो 

३. कानूनले प्रतिवन्ध नलगाएको कुनै पनि पेशा, व्यवसाय वा रोजगारी गर्न पाउने अधिकार कुनै पनि व्यक्तिको सास्वत अधिकार हो भन्ने कुरामा विवाद छैन र यो अधिकारलाई तत्काल प्रचलित नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ र हाल प्रचलित अन्तरिम संविधान, २०६३ को धारा १२(३) समेतको मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको कुरामा विवाद छैन । प्रत्यर्थी कम्पनी निजी क्षेत्रको प्राइभेट लिमिटेड कम्पनी रहेको र उक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीले कम्पनीको कुनै सञ्चालकले मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न रोक लगाएको छ भन्ने दावी प्रत्यर्थीको भए रहेको देखिँदैन र तत्काल प्रचलित कम्पनी ऐन, २०५३ ले पनि यस्तो प्रतिबन्ध नलगाएको अवस्थामा यी प्रतिवादीले आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा अर्को पत्रिका प्रकाशन गर्ने, दर्ता गराउने र प्रचलित कानूनअनुसार सोसम्बन्धी ट्रेडमार्क दर्ता गराउन पाउँदैन भन्न सकिने अवस्था रहेन 

४. कुनै व्यक्तिले आफू सञ्चालक रहेको कम्पनीले गर्ने काम, उत्पादन गर्ने वस्तुको प्रकृति वा उक्त कम्पनीको उद्देश्यसँग मिल्दोजुल्दो अर्को काम वा वस्तु उत्पादन गरेको कार्यले कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० को उल्लंघन भएको मानिन्छ वा मानिदैन भन्ने दोस्रो प्रश्नको निराकरण गर्नको लागि उक्त दुवै दफारूमा गरिएको व्यवस्था र यसको प्रयोजन र उद्देश्य हेर्नुपर्ने हन्छ । उक्त ऐनको दफा ७६(२) मा साधारण सभाको निर्णय बमोजिम बाहेक कुनै पनि पब्लिक कम्पनीको सञ्चालकले कम्पनीमार्फत् आफूलाई व्यक्तिगत फाईदा हुने काम गर्नु हुँदैन तर प्राइभेट कम्पनीले प्रवन्धपत्र वा नियमावली वा सर्वसम्मत् सम्झौतामा उल्लेख गरी आफूलाई उपयुक्त लागेको किसिमले कम्पनीमार्फत् सञ्चालकले लिन पाउने फाइदाशरूको बारेमा व्यवस्था गर्न सक्नेछ भन्ने व्यवस्था भएको देखिन्छ । त्यस्तै दफा ८०(१) मा कम्पनीको सञ्चालकले कम्पनीमार्फत् वा कम्पनीको कामको सिलसिलामा व्यक्तिगत फाइदा लिने काम गर्न पाउने छैनन् भन्ने र दफा ८०(३) मा कम्पनीको कारोवारको सिलसिलामा कुनै सञ्चालकले व्यक्तिगत फाईदा लिएको पाइएमा सो रकम कम्पनीले त्यस्तो सञ्चालकबाट ऋणसरह भराई लिनेछ भन्नेसमेतको स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ 

५. कम्पनी ऐन, २०५३ को उक्त दफा ७६(२) ले पब्लिक कम्पनीको सञ्चालकले कम्पनीमार्फत् आफूलाई व्यक्तिगत फाइदा हुने काम गर्न नहुने भनी रोक लगाएको छ । यसको उद्देश्यले कुनै सञ्चालकले कम्पनीको नाममा वा कम्पनीको प्रतिनिधिको हैसियतले कम्पनीको नाममा कुनै कारोवार गर्दा त्यसबाट आफूले कुनै व्यक्तिगत फाइदा वा सुविधा लिनबाट सञ्चालकलाई रोक्नु हो । यस्तो कारोवारबाट कुनै कमिसन तथा छूट लगायतका सञ्चालकलाई कुनै सुविधा वा फाइदा प्राप्त भएमा यसको मूल्य वा रकम कम्पनीलाई नै बुझाउनु पर्ने भन्ने नै उपरोक्त कानूनी व्यवस्थाको आसय र उद्देश्य रहेको देखिन्छ । यो कुरा उक्त ऐनको दफा ८०(१) र ८०(३) को व्यस्थाबाट अझ स्पष्ट हुन्छ । कुनै सञ्चालकले उक्त ७६(२) को प्रावधानविपरीत कम्पनीमार्फत् वा कम्पनीको कामको सिलसिलामा कुनै फाइदा लिएमा त्यसको परिणाम के हुने भन्ने सम्बन्धमा उक्त ऐनबाट दफा ८०(१) तथा दफा ८०(३) मा गरिएको व्यवस्थाअनुसार कुनै सञ्चालकले कारोवारको सिलसिलामा व्यक्तिगत फाइदा लिएको देखिएमा यसरी फाइदाको रुपमा लिएको रकम सम्बन्धित कम्पनीले सम्बन्धित सञ्चालकबाट ऋण सरह भराई लिन पाउने व्यवस्था भए गरेको देखिन्छ 

६. सञ्चालकले कम्पनीमार्फत् वा कम्पनीको नाममा कारोवार गर्दा दफा ७६(२) तथा दफा ८० को व्यवस्था उल्लंघन गरी व्यक्तिगत फाइदा लिएको तथ्य प्रमाणित हुनको लागि आरोपित सञ्चालकले कुनै कारोवारमा कम्पनीको प्रतिनिधित्व गरेको र यसबाट लिएको मूल्य स्पष्ट रुपमा किटान भएको कुरा पुष्टि हुनु पर्दछ । मूल्य र रकम किटान नभए कम्पनीबाट लिएको व्यक्तिगत फाइदाको रकम ऋण सरह असूल हुन सक्ने अवस्था पनि नहुने हुँदा कुन कारोवारबाट आरोपित सञ्चालकले कति फाइदा लियो भन्ने कुरा रकम र मूल्यको आधारमा किटान नभएको अवस्थामा दफा ७६(२) को उल्लंघन प्रमाणित हुन सक्दैन र यस्तो अवस्थामा दफा १२९ अनुसार जरीवाना हुन पनि सक्दैन 

७. अब तेस्रो प्रश्न अर्थात् यी पुनरावेदकले प्रत्यर्थी कम्पनीमार्फत् आफूलाई व्यक्तिगत फाइदा लिएको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा प्रस्तुत विवादमा यी पुनरावेदकलाई प्रत्यर्थी कम्पनीको तर्फबाट कुनै खास मौद्रिक मूल्य वा रकम भएको ठेक्का वा खरिद वा अन्य कुनै कारोवार गर्न अख्तियारी दिएको र निजले सो कारोवारबाट यति मूल्यको व्यक्तिगत फाइदा लिएको भन्ने किटानी दावी प्रत्यर्थी कम्पनी भए रहेको देखिँदैन । यी पुनरावेदकले जिल्ला प्रशासन कार्यालय काठमाडौमा गई आफ्नो नाममा New Business age नामको पत्रिका दर्ता गराई उक्त पत्रिकाको Vol. 1, no. 1 प्रकाशित गरेको र आफ्नो व्यक्तिगत नाममा Business age नामको ट्रेडमार्क दर्ता गराएकोले तत्कालीन कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० को विपरीत यी पुनरावेदकले प्रत्यर्थी कम्पनीमार्फत् निजलाई व्यक्तिगत फाइदा लिए भन्ने नै प्रत्यर्थी कम्पनीको दावी रहेको छ । प्रत्यर्थी कम्पनीको तर्फबाट New Business age दर्ता गर्न वा प्रत्यर्थी कम्पनीको नाममा Business age नामको ट्रेडमार्क दर्ता गर्नु भनी यी पुनरावेदकलाई प्रत्यर्थी कम्पनीले प्रतिनिधि नियुक्त गरेको वा अधिकार प्रत्यायोजन गरी पठाएकोमा निजले उक्त दुवै कार्य आफ्नो फाइदाको लागि गरे भन्ने प्रत्यर्थी कम्पनीको दावी होइन । यसै गरी New Business age नामको पत्रिकाको Vol. 1, no. 1 प्रकाशित गर्न पुनरावेदकलाई प्रत्यर्थी कम्पनीले अख्तियारी दिएको र निजले सो काम गर्दा यति रकम वा मूल्यको व्यक्तिगत फाइदा लिएको भन्ने दावी पनि प्रत्यर्थी कम्पनीको छैन । यसैगरी प्रत्यर्थी कम्पनी प्राइभेट कम्पनी भएकोले यसको प्रबन्ध पत्र वा नियमावलीमा वा प्रत्यर्थी कम्पनीसँग भएको कुनै सम्झौतामा आरोपित सञ्चालकले कम्पनीसँग प्रतिष्पर्धा हुने वा कम्पनीको कारावारको प्रकृतिसँग मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न पुनरावेदकलाई रोक लगाएको भन्ने दावी पनि प्रत्यर्थी कम्पनीको नभएको अवस्थामा कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० मा गरिएको व्यवस्था पुनरावेदकले उल्लंघन गरेको भन्न सकिने अवस्था हुँदैन । कुनै कम्पनीको सञ्चालकले यसको उद्देश्यसँग मेल खाने वा यसको कामको प्रकृतिसँग मिल्ने गरी छुट्टै वा व्यक्तिगत तवरमा कुनै काम गर्दा वा वस्तु उत्पादन गर्दा कम्पनीलाई केही मर्का पर्ने वा प्रतिष्पर्धामा आउन पर्ने वा केही रकम नोक्सान सहनु पर्ने अवस्था हुनसक्छ तर यस्तो प्रतिष्पर्धा, मर्का वा नोक्सान भयो, हुन सक्छ भन्ने अनुमानको आधारमा कुनै सञ्चालकले कम्पनीमार्फत् आफूलाई व्यक्तिगत फाइदा हुने काम ग¥यो भन्न नहुने हुँदा यस्तो अवस्थामा कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० को विपरीत काम भयो भन्न सकिने अवस्था नहुने र दफा १२९ अनुसार जरीवाना गर्न पनि नसकिने हुँदा पुनरावेदकलाई उक्त ऐनको दफा ७६(२) को कसूरमा दफा १२९ अनुसार जरीवाना गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको उक्त निर्णय त्रुटिपूर्ण देखियो 

८. उपरोक्त प्रकरणमा विवेचना गरिएअनुसार प्राइभेट कम्पनीको सञ्चालक भएकै कारणले पेशा तथा व्यवसाय गर्ने स्वतन्त्रता सम्बन्धमा संविधानअन्तर्गत प्राप्त मौलिक हकबाट पुनरावेदकलाई बञ्चित गर्न नसकिने, प्राइभेट कम्पनीको कुनै सञ्चालकले यस्तो कम्पनीको व्यवसाय वा उद्देश्यसँग मिल्दोजुल्दो व्यवसाय गर्न नपाउने गरी कम्पनी ऐनलगायत अन्य प्रचलित कानून तथा स्वयं प्रत्यर्थी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समेत कुनै प्रतिबन्ध नलगाएको अवस्थामा पुनरावेदकले छुट्टै पत्रिका दर्ता गराई प्रचलित कानूनअनुसार उक्त पत्रिकाको ट्रेडमार्क समेत दर्ता गराएको भन्ने मात्र आधारमा कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा दफा ८० अनुसारको कसूर गरेको ठहर्‍याउन मिल्ने अवस्था देखिएन 

९. अतः कम्पनी ऐन, २०५३ को दफा ७६(२) बमोजिमको कसूर कायम गरी पुनरावेदक प्रतिवादी मदनप्रसाद लम्साललाई उक्त ऐनको दफा १२९ अनुसार रू. २५००।जरीवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६१।१०।४ को फैसला नमिलेकोले उल्टी भई शुरु कम्पनी वोर्ड त्रिपुरेश्वरको निर्णय सदर हुन्छ । अरुमा तपसीलबमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा पुनरावदेन अदालत पाटनको फैसला उल्टी भै कम्पनी वोर्ड त्रिपुरेश्वरको निर्णय सदर हुने ठहरेकोले प्रतिवादीका हकमा रू.२५००।जरीवानाको लगत कायम रहन नसक्ने हुँदा उक्त जरीवानाको लगत कट्टा गर्नु भनी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा लेखी पठाई दिनू....१

पुनरावेदक मदनप्रसाद लम्सालले कम्पनी रजिष्ट्रार कार्यालयमा र.नं. ३४३०४ मार्फत राखेको जरीवाना रू.२५००।निजले फिर्ता पाउने हुँदा उक्त रकम फिर्ता पाऊँ भनी ऐनका म्यादभित्र निजको दरखास्त परे सो रकम फिर्ता दिनु भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा लेखी पठाईदिनू ....१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ......१

 

उक्त रायमा सहमत छु 

 

न्या.कल्याण श्रेष्ठ

 

इति संवत् २०६८ साल साउन १५ गते रोज १ शुभम्

इजलास अधिकृतः विष्णुप्रसाद गौतम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु