निर्णय नं. ८७०५ - कर्तव्यज्यान ।

ने.का.प. २०६८, अङ्क १०
निर्णय नं. ८७०५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री कमलनारायण दास
फौजदारी पु.नं.–०६६–CR–०००६, ०००७ र ००१५
फैसला मितिः २०६८।६।६।६
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ७ घर भै कारागार कार्यालय, नख्खुमा थुनामा रहेको आदित्य मुखिया समेत
विरुद्ध
प्रत्यर्थी वादीः दिनेश नगरकोटी (महर्जन) को जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं.७ घर भै कारागार शाखा, नख्खुमा थुनामा रहेको सुशील के.सी.
विरुद्ध
प्रत्यर्थी वादीः दिनेश नगरकोटी (महर्जन) को जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ७ घर भै कारागार शाखा, नख्खुमा थुनामा रहेका श्रीधर खड्का
विरुद्ध
प्रत्यर्थी वादीः दिनेश नगरकोटीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्ने :
ललितपुर जिल्ला अदालत
मा.न्या.श्री रमेश पोखरेल
पुनरावेदन फैसला गर्ने :
पुनरावेदन अदालत, पाटन
मा.न्या.श्री हरिराम कोइराला
मा.न्या.श्री जगदिश शर्मा पौडेल
§ प्रतिवादीहरू समूहगतरुपमा रहेको र सबै प्रतिवादीहरू वारदातमा संलग्न भएको अवस्थामा कुन प्रतिवादीले के भन्यो भन्नेतर्फ कसैले चासो दिएको र कसैले नदिएको वा कसले कुन प्रतिवादीबाट के भनेको सुन्यो वा सुनेन भन्ने कुरा कर्तव्य ज्यान मुद्दाको कसूर निर्धारणमा प्रासंगिक हुन आउँदैन । वारदातमा संलग्न भएका प्रतिवादीहरूको क्रियामा फरक नपारी बकपत्र गर्ने अभियोजनपक्षका साक्षीहरूको भनाईलाई कसूर निर्धारणको सम्बन्धमा कुरा बाझिएको भन्न नमिल्ने ।
(प्रकरण नं.१०)
§ एउटै समूहमा सँगै हिँडेको अवस्थामा कसैउपर आक्रमण गर्नु पूर्व रिसइवी वा अन्य खास कारण नभए पनि साथीभाइको आग्रह तथा समूहगत मेलको कारण तत्काल मनसाय तत्वको सिर्जना हुनसक्ने ।
§ समूहगतरुपमा हिँडेको अवस्थामा कुनै एक सदस्यको आग्रह वा उक्साहटलाई स्वीकार गरी कानूनले बर्जित गरेको कार्यमा संलग्न हुनुबाटै मनसाय तत्वको सिर्जना हुन्छ । यस्तो अवस्थामा घटना घटेको प्रत्यक्षदर्शी व्यक्तिले देखेको अथवा प्रत्यक्ष प्रमाण भएको अवस्थामा कसूर स्थापित गर्नको लागि मृतकलाई मार्नुपर्ने खास कारण वा मार्न उत्प्रेरित गर्ने तत्व थियो वा थिएन भनी खोजी गरिरहनु आवश्यक नहुने ।
(प्रकरण नं.११)
§ सर्वश्वसहित जन्मकैद वा जन्मकैद हुने अपराधको सन्दर्भमा फौजदारी न्याय प्रशासनमा तजविजी अधिकारको प्रयोगमार्फत् प्रतिवादीहरूले अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गरी कसूर निर्धारणपछि सजाय गर्दा न्यायिक सन्तुलन कायम राख्ने तजविजी अवधारणा हुन् । सजाय निर्धारणमा अ.वं.१८८ नं. को व्यवस्थाले न्यायकर्तालाई सजाय कम गर्न तजविजी अधिकार दिएको कानूनी व्यवस्थालाई प्रयोग गरी सजाय घटाउन अधिकारस्वरुप जिकीर लिन सक्ने नदेखिनुको साथै अभियोजनपक्षबाट पनि यो कानूनी व्यवस्थाको प्रयोग गरी सजाय घटाउन हुँदैन भनी दावी गर्न नसक्ने ।
§ अपराध र सजायमा सन्तुलन राख्नुपर्ने कानूनले उल्लेख गरेको अवस्थाको विद्यमानता छ र न्यायिक आधार मौजूद रहन्छ भने दण्ड निर्धारणमा न्यायकर्ताले विवेकसंगत रुपमा यो कानूनी व्यवस्थाको प्रयोग गर्नसक्ने ।
(प्रकरण नं.१४)
§ सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने अपराधको प्रकृति, अपराध गर्दा अभियुक्तले अपनाएको कार्यशैली, अभियुक्तको मानसिक स्थिति, अपराध गर्नु पछाडिको कारक तत्व जस्ता कुराहरू सबै अवस्था र परिस्थितिमा समान हुन नसक्ने भएकाले यस कानूनी व्यवस्थाको प्रयोग गर्दा न्यायकर्ताले विचार गर्नुपर्ने ।
§ सबै अवस्था र प्रकृतिका ज्यान मुद्दाहरूमा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउन सकिने अवस्था हुँदैन । सजाय घटाउन सकिने अवस्थाको विद्यमानता भएमा पनि उस्तै प्रकृतिका मुद्दाहरूमा अपराधको गाम्भीर्यता घटाउने परिस्थितिहरूको विद्यमानताको अवस्था पृथक हुनसक्छ । एउटै ज्यान मुद्दामा अ.बं १८८ नं. को प्रयोगद्वारा कम सजाय निर्धारण गर्दा पनि धेरै प्रतिवादीहरू भएमा उनीहरूको अपराध गर्दाको क्रियाकलाप र अपराधमा सहभागिताको आधारमा सजायको निर्धारण गर्नु न्यायसंगत हुने ।
(प्रकरण नं.१५)
§ मृतकलाई नियन्त्रणमा लिई हात खुट्टा समाई छुरी प्रहार गर्न सहज वातावरण बनाई दिएको भन्ने देखिएको अवस्थामा मृत्युवरण गराउने गरी छुरी प्रहार गर्ने र छुरी प्रहार नगर्ने प्रतिवादीहरूलाई समानरुपमा सजाय घटाउनु न्यायसंगत नहुने ।
(प्रकरण नं.१६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू लभकुमार मैनाली, चण्डेश्वर श्रेष्ठ, उज्वल शुक्ल र सूर्यलक्ष्मी महर्जन
प्रत्यर्थी वादी तर्फबाटः विद्वान नायब महान्यायाधिवक्ता श्री प्रेमराज कार्की
अवलम्बित नजीरः
§ नेकाप २०६१, अङ्क ६,पृष्ठ ७६५
§ नेकाप २०६३, अङ्क ८, पृष्ठ १०७५
§ नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९
§ नेकाप २०६८, अङ्क ५, नि. नं ८६१३
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको १३(१) नं., १३(४)
§ अ.बं. १८८ नं.
फैसला
न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावदन अदालत, पाटनको मिति २०६५।१०।९।५ को फैसलाउपर प्रतिवादीहरूको पृथक–पृथक पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :–
२०६३।८।२२ गते साँझ अं.६ बजेतिर आफ्नै घर अगाडि ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. १ र २ को बीचमा पर्ने बाटोमा म जाहेरवाला तथा मेरो काका सुजिन महर्जन र सरोज राउतसमेत पिकनिक जाने विषयमा गफ गरिरहेको अवस्थामा एसी भन्ने आदित्य मुखिया, श्रीधर खड्का, भरत श्रीमाली, बलदेव खड्का, सुशील के.सी. र अजय खड्का तथा अरु नचिनेको ३।४ जनासमेत आई एसी मुखियाले मेरो श्रीमती जिस्काउने यही सुजिन महर्जन हो र मेरो बाबुले मार्न भनेको मान्छे यही हो भन्नासाथ उल्लिखित व्यक्तिहरूले सुजिन महर्जनलाई हात मुक्काले हानी समाती नियन्त्रणमा लिई घोप्टो पारी एसी मुखियाले छुरी हान भन्नासाथ श्रीधरले छुरी निकाली सुजिन महर्जनको बाँया कुममुनि छुरी रोप्दा सख्त घाइते बनाई निजहरू भागी गए । सुजिन महर्जनलाई मार्न आदेश दिने युगल मुखिया तथा कुटपीट गरी मार्नमा प्रत्यक्ष संलग्न भरत श्रीमाली, एसी मुखिया, बलदेव खड्का, अजय खड्का सुशील के.सी. र छुरा प्रहार गर्ने श्रीधर खड्का समेतलाई कडा कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको दिनेश नगरकोटी महर्जनको जाहेरी दरखास्त ।
इमाडोल गा.वि.स., वडा नं. १ र २ सीमाना बाटोस्थित मिराज बस्नेतको खेतदेखि पश्चिम, बाधेपोखरी गाउँ जाने बाटोदेखि पूर्व, सूर्य अधिकारीको घर र ढुंगेसाङ्ग जाने बाटोदेखि उत्तर, बाक्ला गाउँ जाने तथा टिकाथली गा.वि.स. जाने बाटोदेखि दक्षिण । यति चार किल्लाभित्र रहेको कच्ची बाटोमा सुजिन महर्जनलाई मिति २०६३।८।२२ गते साँझ ६ बजेको समयतिर छुरा प्रहार गरी घाईते बनाएको स्थानको घटनास्थल र सो घटनास्थलको बाटो नजिक मुलावारीको ठाउँमा रहेको घाँस तथा धुलोमा रगतको सुकेको टाटाहरू देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
मृतक सुजिन महर्जनको लाशको घांटीको गर्धनको भागदेखि तल पुठ्ठासम्मको पूरै भागमा रगतले भिजी आलो रगत रहेको, मृतक लाशको पछाडि बायाँ पातामुनि नजिकै १ ईञ्च लम्बाइर्, आधा ईञ्च चौडाई भएको गहिरो काटेको घाउ भएको, सो घाउबाट रगत निस्की रहेको र मृतक लाश नजिक उत्तरतर्फ भूईंमा मृतकको कालो रंगको ज्याकेट रगतले भिजेको, उक्त ज्याकेटको पछाडिको बायाँतर्फ ढाडको भागमा काटिएको एक इञ्च लम्बाई भएको प्वाल भएको र सेतो बाहुला भएको आर्मी कलरको जर्सीको पछाडि ढाडको भागमा काटिएको प्वाल भएको कपडाहरू रहेकोमा उक्त कपडाहरू प्रहरीले उठाई लगेको भन्नेसमेत व्यहोराको लाश जाँच प्रकृति मुचल्का ।
इमाडोल गा.वि.स. ५ स्थित गोविन्द भण्डारीको २ तल्ले पक्की घर, सो घरको तल सटर भएको कोठाहरू रहेको, माथिल्लो तल्लाको कोठाहरूमध्ये दिलीप तामाङको डेरा कोठामा रहेको पलंङ्गको कपडा मुनिबाट ९ ईञ्च लम्बाई, १ इञ्च चौडाई भएको एकातर्फ आरीको जस्तो कडा र अर्कोतर्फ धार भएको, टुप्पो चुच्चो भएको रगतजस्तो रातो पदार्थ लागेको छुरी थान १ फेला परेको भन्नेसमेत व्यहोराको खानतलासी एवं वरामदी मुचुल्का ।
मिति २०६३।८।२२ गते साझ अं.६ बजेतिर मेरो घर डेरामा भरत श्रीमाली, श्रीधर खड्का र सुशील के.सी.आई भरत श्रीमालीले हाम्रो झगडा भयो, यो छुरी राखी देउ भने, म डराएर राख्दिन भन्दा हामीलाई हतार छ भनी मेरो कोठामा फाली दिई निजहरू निस्किएर गए । त्यसपछि मैले सो छुरीमा रगत लागेकोजस्तो देखी सो छुरी मैले मेरो कोठाको उत्तरपट्टि रहेको पलङ्गको डस्ना मुनी राखी दिएकोमा पछि प्रहरीहरू आई सो छुरी वरामद गरी लगेका हुन् । निज श्रीधर खड्कासमेतले सुजिन महर्जनलाई छुरी प्रहार गरी मारेको रहेछन भन्नेसमेत व्यहोरा दिलीप तामाङको प्रहरीमा भएको कागज ।
मृतक सुजिन महर्जनको मृत्युको कारण Hemorrhage भन्नेसमेतको शव परीक्षण प्रतिवेदन ।
२०६३ साल मंसीर २२ गते क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा मलाई टिकाथलीका केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे कुटपीट गर्ने भनी टिकाथली जाँदा केटाहरू फेला परेनन् । फर्कने क्रममा साथी बलदेव खड्कालाई सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले आँखा तरेर हेरेको भन्ने कुरा निस्कँदा निजहरू फेला परे ठीक पार्नु पर्दछ भनी भरत श्रीमाली र बलदेव खड्काले भनेकाले ढुंगेसाँघु हुँदै सुजिन महर्जनको घरतर्फ लाग्यौं । बाटोमा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी कुरा गरिरहेको देखी साथी बलदेवले अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी निहुँ खोज्न थाले । मैले पनि गाली गरें । विवाद बढ्दै गएपछि दिनेश नगरकोटी झगडा छुट्याउन आए । श्रीधर भूईंमा लड्दा सुजिन महर्जनले काठको लौरोले श्रीधरलाई प्रहार गर्न खोजेको बेला म सहितका साथीहरूले सुजिन महर्जनलाई हात हाली पक्री नियन्त्रणमा लियौं । श्रीधर खड्कालाई निजसँग भएको छुरीले हान भनी मसमेत कराएपछि श्रीधर खड्काले छुरी निकाली सुजिन महर्जनाई प्रहार गरे । मार्यो भन्दै सुजिन महर्जन भूईंमा लडे, हामी भाग्यौं । सोही छुरा प्रहार तथा मसमेतले प्रहार गरेको लात्ती, मुक्काको चोटको कारण सुजिन महर्जनको मृत्यु भएको भन्नेसमेतको प्रतिवादी एसी मुखिया भन्ने आदित्य मुखियाको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
२०६३ साल मंसीर २२ गते क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा एसी मुखियालाई टिकाथलीका केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे तिनीहरूलाई फेला नपरे रिस उठेका जो फेला पर्छन्, त्यसलाई कुटपीट गर्ने भनी सल्लाह भै टिकाथली लाग्यौं । मैले छुरी बोकी हिँडेको साथीहरू सबै जनालाई थाहा थियो । टिकाथली जाँदा केटाहरू फेला नपरेकाले फर्कने क्रममा साथी बलदेव खड्कालाई क्याम्पस जाँदा सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले आँखा तरेर हेरेको भन्ने कुरा निस्कँदा निजहरू फेला परे ठीक पार्नु पर्दछ भनी भरत श्रीमाली समेतले भनेकाले ढुंगेसाँघु हुँदै सुजिन महर्जनको घरतर्फ लाग्यौं । बाटोमा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी कुरा गरिरहेको देखी साथी बलदेवले अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी निहुँ खोज्न थाले । हात हालाहाल हुँदा सुजिनले प्रहार गरेको मुक्का मेरो गर्धनमा लागी म भूईंमा लडें । सुजिन महर्जनले काठको लौरोले मलाई प्रहार गर्न लाग्दा मेरा साथीहरू भरत श्रीमाली, अजय खड्का, बलदेव खड्का, सुशील के.सी. र एसी मुखियाले सुजिन महर्जनलाई हात, खुट्टा, कपाल समेत समाती तँसँग भएको छुरीले हान–हान भनी सबै जना साथीले भनेको हुँदा मार्ने नियतले छुरा प्रहार गरो । अर्कोपटक प्रहार गर्न खोज्दा पहिलो प्रहारबाटै निज भूईंमा लडेकाले घटनास्थलबाट भागी फरार भएका हौं । घटनापश्चात् म, सुशील के.सी. र भरत श्रीमाली छुरी लुकाउन भरत श्रीमालीले चिनेका दिलीप तामाङको कोठामा गई भरत श्रीमालीले दिलीपलाई यो छुरी राखी दिनु भनी दिई सो स्थानबाट भागी गएको हो । वरामद भएको छुरी नै मैले सुजिन महर्जनलाई प्रहार गरेको छुरी हो भन्नेसमेत व्यहोराको प्रतिवादी श्रीधर खड्काको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
२०६३ साल मंसीर २२ गते क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा एसी मुखियालाई टिकाथलीका केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे कुटपीट गर्ने भनी टिकाथली जाँदा केटाहरू फेला नपरेकाले फर्कने क्रममा साथी बलदेव खड्कालाई सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले आँखा तरेर हेरेको भन्ने कुरा निस्कँदा निजहरू फेला परे ठीक पार्नु पर्दछ भनी भरत श्रीमाली र बलदेव खड्काले भनेकाले ढुंगेसाँघु हुँदै सुजिन महर्जनको घरतर्फ लाग्यौं । बाटोमा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी कुरा गरिरहेको देखी साथी बलदेवले अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी निहुँ खोज्न थाले । हात हालाहाल हुँदा श्रीधर भूईंमा लड्दा सुजिन महर्जनले काठको लौरोले श्रीधरलाई प्रहार गर्न लाग्दा मसमेतले सुजिनलाई पक्री श्रीधरसँग भएको छुरी निकाले र मसमेतले हान–हान भन्दा तत्कालै श्रीधरले प्रहार गर्दा भूईंमा लडे र घटनास्थलबाट भागी फरार भएका हौं । म सहितका साथीहरूले प्रहार गरेको हात लात मुक्का र साथी श्रीधर खड्काले प्रहार गरेको छुराबाट निज सुजिन महर्जनको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अजय खड्काको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानकागज ।
२०६३ साल मंसिर २२ गते क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा मलाई निम्स कलेज पढ्न आउने क्रममा सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले निहुँ खोजेको हुँदा निजलाई ठीक पार्नुपर्छ भनी सबै जना साथीहरूलाई भनेको हुँ । एसी मुखियालाई टिकाथलीका लोकल केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे कुटपीट गर्ने भनी टिकाथली जाँदा केटाहरू फेला नपरेकाले सुजिन महर्जन र सरोज राउतलाई फेला पारे ठीक पार्ने भनी सबै जना सुजिन महर्जनको घरतर्फ लाग्यौं । इमाडोल गा.वि. स. को वडा नं. १ र २ को सीमाना पर्ने बाटोमा तीनजना कुरा गरिरहेको देखी जाँदा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी रहेछन् । मलाई रिस उठी किन अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी मैले भन्दा मेरा साथीहरू सुशील के.सी., अजय खड्का, श्रीधर खड्का, एसी मुखिया र भरत श्रीमालीले पनि रिसको आवेगमा आई हात हाले । झगडा हुँदै जाँदा श्रीधर भूईंमा लड्दा सुजिन महर्जनले काठको लौरोले श्रीधरलाई प्रहार गर्न लाग्दा मसमेतले सुजिनलाई पक्री श्रीधरसँग भएको छुराले एकपटक प्रहार गरे । सुजिन महर्जनलाई मसमेत भै कर्तव्य गरी मारेका हौं । वरामद छुरी नै वारदातमा प्रयोग भएको छुरी हो भन्नेसमेतको प्रतिवादी बलदेव खड्काको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
२०६३।८।२२ गते म ललितपुरको पाटनढोका नजिक अशोक पार्टी प्यालेसमा आई बेलुका ६ बजेबाट साथी अशोक शाक्यसँग बसी पार्टी खाएँ । पाटी खाँदै गर्दा ७.३० बजेतिर मेरी श्रीमतीले तुरुन्त घर आउनु भनी फोन राखी दिएकोले घरतर्फ गएँ । मेरो घर अगाडि धेरै मानिसहरू जम्मा भएकाले बुझ्दा मेरै छोरा आदित्य मुखिया भन्ने एसी मुखिया र निजकै साथीहरूले सुजिन महर्जनलाई निजकै घर अगाडि बाटोमा निहुँ खोजी नियन्त्रण लिई हात लात र मुक्का प्रहार एवं श्रीधर खड्काले छुरी निकाली प्रहार गर्दा सुजिन घाइते भै उपचारको लागि लैजाने क्रममा मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको युगल मुखियाको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
२०६३ साल मंसीर २२ गते क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा एसी मुखियालाई टिकाथलीका केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे कुटपीट गर्ने भनी टिकाथली जाँदा केटाहरू फेला नपरेकाले फर्कने क्रममा साथी बलदेव खड्कालाई सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले आँखा तरेर हेरेको भन्ने कुरा निस्कँदा निजहरू फेला परे ठीक पार्नु पर्दछ भनी बलदेव खड्काले भने । सरोज र सुजिन फेला परे ठीक पार्नु पर्दछ भनी सबैको सहमति भई ढुंगेसाँघु हुँदै सुजिन महर्जनको घरतर्फ लाग्यौं । इमाडोल गा.वि. स. को वडा नं. १ र २ को सीमाना पर्ने बाटोमा तीनजना कुरा गरिरहेको देखी जाँदा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी रहेछन् । साथी बलदेवले अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी निहुँ खोज्न थाले । गाली गलौज र हात हालाहाल हुँदा श्रीधर भूईंमा लड्दा सुजिन महर्जनले काठको लौरोले श्रीधरलाई प्रहार गर्न लाग्दा मसमेतले सुजिनलाई पक्री श्रीधरसँग भएको छुरी निकाले र म समेतले हान–हान भन्दा तत्कालै श्रीधरले प्रहार गर्दा भूईंमा लडे र घटनास्थलबाट भागी फरार भएका हौं । वारदातमा प्रयोग भएको छुरी वारदातपश्चात् श्रीधर खड्का, सुशील के.सी. र म भई मैले चिनेको साथी दिलीप तामाङको डेरा कोठामा छाडी भागेका हौं । सुजिन महर्जनलाई मसमेत भै कर्तव्य गरी मारेको हौं । देखाइएको छुरी वारदातमा प्रयोग भएको छुरी हो भन्नेसमेत व्यहोराको प्रतिवादी भरत श्रीमालीको र सोही मिलानको प्रतिवादी सुशील के.सी.को अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
सुजिन महर्जनलाई के कसले कस्तो परिबन्धबाट मारे मराएको हो म भन्न सक्दिन भन्नेसमेत व्यहोराको ज्योत्सना मुखियाको अनुसन्धान अधिकृतसमक्ष भएको कागज ।
श्रीधर खड्काले आफ्नो साथमा रहेको छुरी निकाली सुजिन महर्जनलाई पछाडिबाट प्रहार गर्दा घाइते भएको र उपचार गर्न लैजाने क्रममा निजको मृत्यु भएको भनी थाहा पाएको थिएँ, तर घटना प्रत्यक्ष नदेखेकोले यकीनसाथ लेखाउन सक्दिन भन्नेसमेत व्यहोराको मनिषा मुखियाको कागज ।
भरत श्रीमाली, श्रीधर खड्का, एसी मुखिया, अजय खड्का, बलदेव खड्का र सुशील के.सी. समेतले सुजिन महर्जनलाई नियन्त्रणमा लिई निज सुजिन महर्जनलाई हात, लात, मुक्का तथा श्रीधरले छुरा प्रहार गर्दा निज घाइते भएको र उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सरोज राउतको कागज ।
श्रीधर खड्काको टाउँकोको सिटी स्क्यानको बि.एण्ड वि. अस्पतालको मिति २०६३।९।९ को पत्र ।
मिति २०६३।८।२२ गते साँझ युगल मुखियालाई पाटनढोका नजिक अशोक पार्टी प्यालेसमा पार्टी खान बोलाएको थिएँ । श्रीमतीले फोन गरेर घरमा आउँनु भनेर बोलाएकि छन् भनी ७ः३० बजेतिर मसँग विदा मागी घरतर्फ जानु भएको थियो । पछि निज पनि ज्यान मुद्दामा पक्राउ परेको कुरा थाहा पाई बुझ्दा निज युगलको छोरा एसी भन्ने आदित्य मुखिया सहितका ५।६ जनासमेत भई सुजिन महर्जनलाई नियन्त्रणमा लिई छुरा प्रहार गरी मारेको भन्ने कुरा सुनी थाहा पाएँ भन्नेसमेत व्यहोराको रमेश शाक्यको कागज ।
दिलीप तामाङको कोठाबाट वरामद भएको छुरी, सुजिन महर्जनले लगाएको भनिएको रगत लागेको अवस्थामा रहेको कालो रंगको ज्याकेट र Adidas लेखिएको Vest परीक्षणको लागि पठाइएकोमा A ग्रुपको मानव रगत पाइएको भन्ने र मृतकको रगत पनि A ग्रुपको रहेको भन्नेसमेत व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
मिति २०६३।८।२२ गते साँझ म आफ्नै घरमा थिएँ । बेलुकी करीब ६ बजेको समयतिर घरबाहिर मानिस हल्ला गरी कराएको र गुहार–गुहार भनी कराएको आवाज सुनें । तत्काल म दौडिई बाहिर रोडतर्फ आउँदा चिनेका एसी भन्ने आदित्य मुखिया, श्रीधर खड्का, भरत श्रीमाली, बलदेव खड्का, सुशील के.सी., अजय खड्कासमेत भाग्दै गरेको देखी दिनेश नगरकोटी र सरोज राउतलाई सोध्दा भरखरै श्रीधर खड्का, सुशील के.सी., भरत श्रीमाली, अजय खड्का, बलदेव खड्का र एसी भन्ने आदित्य मुखियाले नियन्त्रणमा लिई हात लात मुक्का प्रहार गरी भुईमा लडाई श्रीधर खड्काले छुरी निकाली प्रहार गरी भागी गएको भनी बताएकोले शरीर पछाडि ढाडतर्फ हेर्दा प्रशस्त मात्रामा रगत निस्की कपडामा समेत लागेकोले तत्कालै उपचारको लागि लैजाने क्रममा मेरो दाजु सुजिनको मृत्यु भएको हो । सो अपराधमा संलग्न उल्लिखित व्यक्तिहरूलाई कडा कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको मृतकको भाइ सरोज महर्जनको कागज ।
मिति २०६३।८।२२ गते ४ बजेतिर चिनेका एसी मुखिया, श्रीधर खड्का, सुशील के.सी., अजय खड्का, बलदेव खड्का, भरत श्रीमाली पनि नास्ता गर्न आई नास्ता गरी एकैसाथ गएका थिए । नास्ता खाँदै गर्दा निजहरूले के के कुरा गरे मैले सुनिन भन्नेसमेत व्यहोराको लक्ष्मी लामाको कागज ।
प्रतिवादीहरू एसी भन्ने आदित्य मुखिया, श्रीधर खड्का, भरत श्रीमाली, बलदेव खड्का, सुशील के.सी., अजय खड्कासमेतले पूर्व रिसइविका कारण मिति २०६३।८।२२ गते साँझ करीब ६ बजेको समयतिर आफ्नै घर अगाडि बाटोमा उभिइरहेका सुजिन महर्जनलाई गाली गलौज गर्दै घेरा एवं नियन्त्रणमा लिई हात, लात, मुक्का तथा श्रीधर खड्काले छुरी प्रहार गर्दा निज सुजिन महर्जन घाइते भएकोमा तत्काल उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो । सो घटनामा संलग्न प्रतिवादीहरूलाई कडा कारवाही होस् भन्नेसमेत व्यहोराको घटनास्थल आसपास बुझिएका रत्नकुमार महर्जन, राजेश महर्जन, नरेन्द्र महर्जन, पारसमणि बस्नेत र अच्युत बोगटी समेतले लेखाई दिएको घटना विवरण कागज ।
विरुद्ध खण्डका प्रतिवादी श्रीधर खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसूर गरेकोमा प्रतिवादी श्रीधर खड्कालाई ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. अनुसार सजाय हुन र विरुद्ध खण्डका प्रतिवादीहरू एसी भन्ने आदित्य मुखिया, भरत श्रीमाली, बलदेव खड्का, सुशील के.सी., अजय खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. बमोजिमको कसूर गरेकोमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ । प्रतिवादी युगल मुखियाले सुजिन महर्जनलाई मार्न भनी आफ्नो छोरा एसी भन्ने आदित्य मुखियालाई आदेश तथा बचन दिएको र सोअनुसार विरुद्ध खण्डका प्रतिवादीहरूले सुजिन महर्जनलाई हात, लात, मुक्का एवम् छुरी प्रहार गरी सोही प्रहार गरेका चोट पीडाको कारण सुजिन महर्जनको मृत्यु भएको पुष्टि हुन आएकोले निज युगल मुखियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसूरमा ऐ. १३(४) नं. बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मिति २०६३।८।२३ गते दिनको अन्दाजी २.३ बजे तिर इमाडोल गा.वि.स. भन्दा तल रोल्पाली भन्नेको होटलमा बसी अजय खड्का, म, बलदेव खड्का, आदित्य मुखिया, भरत श्रीमाली, सुशील के.सी. भई खाजा खान जाँदा त्यहाँ बसी छ्याङ्ग पनि खान थाल्यौं । त्यहाँबाट गा.वि.स.को चौरमा ६ जना नै फर्कने क्रममा गयौं । त्यसपछि म घरमा गइन । घरमा छ्याङ्ग खाएको थाहा पाउँछन् भनी मावलीघर ताल्छीखेल गएँ । मैले छुरा प्रहार गरी सुजिन महर्जनको मृत्यु भएको होइन । कसले छुरा प्रहार गर्यो, मलाई थाहा छैन । म र मृतक सँगै सूर्योदय हाइस्कूलमा पढ्थ्यौं । हामीबीच झैं–झगडा थिएन । चिनजान राम्रो थियो । रिसइवि केही थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी श्रीधर खड्काले अदालतमा गरेको बयान ।
मिति २०६३।८।२२ गते क्रिकेट खेलिरहेका थियौं । बेलुका अन्दाजी तीन बजेको समयमा रोल्पाली होटलमा खाजा खान गयौं । खाजा खाने क्रममा चाउमिन र (छयाङ्ग) जाँड खायौं । त्यसपछि घुम्न भनी टिकाथली तिर लाग्यौं । टिकाथलीबाट फर्की आउँदा म, अजय, सुशील, बलदेव र भरत अरुभन्दा केही अगाडि थियौं । त्यसपछि श्रीधर खड्का हामी भन्दा केही पछि थियो । किन अलमलियो थाहा भएन । त्यसपछि मैले छुरा हानें, भाग केटा हो भनी दौडिँदै आएपछि मसमेत दौडिँदै घर गएको हुँ । मैले श्रीधर खड्कालाई छुरा हान भनेको होइन । मसँग मृतक सुजिन महर्जनको झगडासमेत भएको छैन । श्रीधरले छुरा प्रहार गरेपछि म दौड्दै घरमा गएँ । कसले अस्पताल लग्यो, लगेन थाहा भएन । मैले छुरा हान्नको लागि आदेश दिएको पनि छैन । मेरो श्रीमतीलाई जिस्क्याउने यही हो, मेरो बुबाले मार्नु पर्छ भन्नु भएको पनि छैन । अनुसन्धान अधिकारीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको होइन । म निर्दोष छु । मैले सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी एसी भन्ने आदित्य मुखियाले अदालतमा गरेको बयान ।
मिति २०६३।८।२२ गते क्रिकेट खेलिरहेका थियौं । बेलुका अन्दाजी तीन बजेको समयमा रोल्पाली होटलमा खाजा खान गयौं । खाजा खाने क्रममा चाउमिन र (छयाङ्ग) जाँड खायौं । त्यसपछि घुम्न भनी टिकाथली तिर लाग्यौं । टिकाथलीबाट फर्की आउँदा म, अजय, सुशील, बलदेव र भरत अरुभन्दा केही अगाडि थियौं । त्यसपछि श्रीधर खड्का हामीभन्दा केही पछि थियो । किन अलमलियो थाहा भएन । त्यसपछि मैले छुरा हानें, भागौं भनेकाले हामी भाग्यौं । त्यसपछि बलदेव खड्का र म कृष्ण मन्दिर नजिक रहेको सिडी पसलतिर गयौं । मैले छुरा हान्न सहयोग गरेको छैन । म त्यो घटनामा संलग्न छैन । को–को भई कसले आदेश दिई मृतकको हत्या भयो, थाहा छैन । श्रीधरले मैले छुरा हानें भनेपछि उसँग रहेछ भन्ने थाहा पाएँ । प्रहरीले लेखी ल्याएको कागजमा सही गर भनी कुटपीट गरेकोले सही गरेको हो । मैले अभियोग दावीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अजय खड्काले र सोही बयानसँग मिल्दोजुल्दो गरी प्रतिवादी बलदेव खड्काले अदालतमा गरेको बयान ।
मिति २०६३।८।२२ गते मेरो साथी रमेश शाक्यले आयोजना गरेको अशोक पार्टी प्यालेसमा पार्टीमा सहभागी हुन गएको र साझँ अं. ७:३० सम्म थिएँ । घरबाट श्रीमतीले छोरा आदित्य मुखियालाई प्रहरीले पक्रेर लग्यो भनेपछि म त्यहाँबाट विदा मागी स्कूल जाने दोबाटो पुग्दा धेरै मानिस बाटोमा रहेछन् । प्रिन्सिपल आयो ठोक भने र त्यो भीडले हातपात गर्यो । प्रहरीले मेरो सुरक्षा गर्यो । त्यसपछि सोधिखोजी गर्दा घटना भएको थाहा पाएँ । को–को भई कसरी हत्या गरे, त्यो थाहा छैन । मृतक सुजिन महर्जनलाई मार्न मैले बचन दिएको होइन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान पढी बाँची सुनाई सहिछाप गराएको होइन । सही गर भनेकाले सही गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी युगल मुखियाले अदालतमा गरेको बयान ।
मिति २०६३।८।२२ गते क्रिकेट खेलिरहेका थियौं । बेलुका अन्दाजी तीन बजेको समयमा रोल्पाली होटलमा खाजा खान गयौं । खाजा खाने क्रममा चाउमिन र (छयाङ्ग) जाँड खायौं । त्यसपछि घुम्न भनी टिकाथली तिर लाग्यौं । टिकाथलीबाट फर्की आउँदा म, अजय, सुशील, बलदेव र भरत अरुभन्दा केही अगाडि थियौं । त्यसपछि श्रीधर खड्का हामीभन्दा केही पछि थियो । किन अलमलियो थाहा भएन । त्यसपछि मैले छुरा हानें, भाग केटा हो भनी दौडिँदै आयो । मानिसहरूको गुहारले गर्दा हामी पनि दौडिन थाल्यौं । श्रीधरले भगवानथानबाट घर जाउँ भन्यो । भगवानथानभन्दा तल भरतको चप्पल हराएकाले साथीको कोठामा जुत्ता लगाउन गयो । त्यत्तिखेर म र श्रीधर ढोकाबाहिर बसिरहेका थियौं । माथिबाट भरत जुत्ता लगाएर आयो । उसको साथी पनि सँगै आयो । श्रीधरले उसको साथीलाई जवरजस्ती छुरी राखी दे भन्यो । कर गरेको हुनाले उसले छुरा लगेर राखिदियो । सोअवस्थामा श्रीधरको हातमा अलि–अलि रगत पनि लागेको थियो । श्रीधरले मामाघर जाने कुरा गरेको थियो । म घर जान्छु, अन्यत्र कतै जान्न भन्दा कर गरी जवरजस्ती लिएर गयो । ताल्छीखेल चोकमा आगो तापी बसेकोबेला प्रहरीको गाडी आएको देखेपछि श्रीधर अली डराएको थियो । हामीलाई प्रहरीले त्यहीँ समातेको हो । मैले छुरा प्रहार गर्न आदेश दिएको पनि छैन र कुटपीटसमेत गरेको छैन । म निर्दोष छु । सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी सुशील के.सी.ले अदालतमा गरेको बयान ।
क्रिकेट खेली रोल्पाली होटलमा गई छ्याङ र चाउमिन खाई फर्किंदा अघि–अघि म समेतका सुशील, बलदेव, अजय थियौं । पछि–पछि श्रीधर थियो । अं.६:४५ बजेतिर श्रीधरले मैले छुरा हानी भनी दौड्दै आयो । उ दौडेर आएपछि म पनि उसँग दिलीप तामाङको कोठमा गई मेरो चप्पल हराएकोले त्यहाँ चप्पल मागेर लगाएँ । श्रीधरले त्यहाँ कर लगाई जवरजस्ती छुरी राख्न दिलीप तामाङलाई दियो । त्यसपछि म घर जाँदा घरमा हल्ला भइसकेकाले अरु मानिस पनि रहेछन् । डर लागि घरभित्र नपसी वि.एण्ड.वि. नजिकको गेस्ट हाउसमा गई दुई रात बसें । त्यहीँ टि.भी., पत्रिकामा मेरो नाम पनि आएकोले दाजु लक्ष्मण श्रीमालीसँग बेलुकी ६:३० बजे तिर आत्मसमपर्ण गरें । मैले मृतकलाई पक्रेर लडाई घोप्टो पारेको भन्ने कुरा झूठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी भरत श्रीमालीले अदालतमा गरेको बयान ।
बुझिएका मानिस अच्युत वोगटी, राजेश महर्जन, नरेन्द्र महर्जन, सरोज मजर्हन (श्रेष्ठ), सरोज राउत, जाहेरवाला दिनेश नगरकोटीले तथा प्रतिवादी श्रीधर खड्काको साक्षी रमेश थापा, प्रतिवादी युगल मुखियाको साक्षी रमेश शाक्य, प्रतिवादी अजय खड्काको साक्षी प्रल्हाद खड्का, प्रतिवादी सुशील के.सी.को साक्षी इन्द्रबहादुर कार्की, प्रतिवादी एसी मुखिया भन्ने आदित्य मुखियाको साक्षी ध्रुव खड्का, प्रतिवादी बलदेव खड्काको साक्षी केशव खड्का प्रतिवादी भरत श्रीमालीको साक्षी सुरेश देउपाले आ–आफ्नो पक्षको बयानलाई समर्थन गरी पृथक–पृथक गरेको बकपत्र मिसिल सामेल रहेको ।
भौतिक परीक्षण गर्ने केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाका प्रहरी नायव निरीक्षक मोहनसिंह धामी र सूर्यप्रकाश सुवेदीले परीक्षण विधिसमेत उल्लेख गरी मृतकको लुगा र वरामद छुरीमा लागेको रगत परीक्षण गरी दिएको मौकाको प्रतिवेदन व्यहोरालाई समर्थन गरी गरेको बकपत्र मिसिलसामेल रहेको ।
वरामद भएको छुरी आफ्नै कोठाबाट वरामद गरेका र श्रीधर खड्काले ल्याएर राखेको भनी छोराले भनेका हुन् भन्नेसमेत व्यहोराको वरामदी मुचल्का मानिस डोल्मु तामाङ गरेको बकपत्र ।
प्रतिवादी वारदातमा संलग्न थिए भनी किटानीरुपमा जाहेरी परेको, अन्य प्रतिवादीहरूले मृतकलाई चल्न उम्कन नदिई समातेका र श्रीधर खड्काले छुरा प्रहार गरेको व्यहोराको प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयान र बयानअनुरूप वारदतमा प्रयोग भएको छुरी वरामद भएको, मृतकको शरीरमा एक मात्र घाउ रहेबाट बयान व्यहोरा समर्थित भएको, वारदातस्थलका चश्मदिद् जाहेरवाला दिनेश नगरकोटी, सरोज राउत र सरोज महर्जनले जाहेरीलाई समर्थन हुने गरी अनुसन्धानको क्रममा कागज एवं अदालतमा आई बकपत्रसमेत गरी दिएको देखिँदा प्रतिवादी श्रीधर खड्काले मृतक सुजिन महर्जनलाई धारिलो हतियार छुरी प्रहार गरी कर्तव्य गरी मारेको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का, भरत श्रीमाली र सुशील के.सी.ले मृतकको जीउमा हात हाली पक्री समाती मृतकलाई मार्नलाई संयोग पारी दिएको कुरा पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(४) को कसूरमा ऐ १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । अर्का प्रतिवादी युगल मुखिया वारदातमा संलग्न भएको मिसिल संलग्न प्रमाणबाट नदेखिँदा निज युगल मुखियाले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरूको उमेर, घटना हुँदाको परिस्थिति समेतलाई विचार गर्दा तोकिएबमोजिम सजाय चर्को पर्ने देखिएबाट प्रतिवादीहरूलाई अ.बं.१८८ नं. बमोजिम ७ वर्ष कैद हुन मनासिव देखिँदा साधक सदरको लागि पठाई दिने ठहर्छ भन्नेसमेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६४।११।१३ को फैसला ।
शुरु ललितपुर जिल्ला अदालतले निर्णयाधारको रुपमा जाहेरी दरखास्तलाई लिएको छ । कसैको नाम जाहेरी दरखास्तमा उल्लेख हुँदैमा त्यो नै कसूरदार हुन सक्दैन । हामीउपर कपोलकल्पीतरुपमा जाहेरी दिइएको छ, जुन कुरा जाहेरवालाको अदालतमा भएको विरोधाभासपूर्ण बकपत्रबाट पुष्टि भएको छ । प्रहरीमा भएको बयान हाम्रो स्वेच्छाले भएको होइन भन्ने व्यहोरा अदालतमा बयान गर्दा उल्लेख गरेका छौं । उक्त स्वेच्छा विपरीत भएको बयानलाई आधार लिई गरिएको शुरु अदालतको फैसला त्रुटिपूर्ण छ । मृतकको शरीरमा एक चोट मात्र देखिनुबाट हामीहरूले अदालतमा कसूरमा इन्कारी रही गरेको बयान प्रमाणित भएको छ । घटनाको चश्मदिद् भनेका दिनेश नगरकोटी, सरोज राउत र सरोज महर्जनले अदालतमा गरेको बकपत्र बनावटी विरोधाभाषपूर्ण र अविश्वसनीय रहेको छ । मृतकको मृत्यु छुरा प्रहारबाट भएको छ । हामीहरूले मृतकलाई मार्नमा संयोग पारी दिएको कुरा कँही कतैबाट पुष्टि हुन सकेको छैन । तसर्थ कानून, प्रमाण एवं न्यायका सिद्धान्त विपरीत हामीलाई कसूरदार कायम गरी गरेको ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी कसूरबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीहरू आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का र भरत श्रीमालीको पुनरावेदन अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।
जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, सूचना मात्र हो । जाहेरीकै आधारमा कसूरदार घोषित गर्न मिल्दैन । प्रस्तुत मुद्दाको जाहेरी वास्तविक रुपको नभै बनावटी र पूर्वाग्रही हो । वारदातमा प्रयोग भएको छुरा म पुनरावेदकले दिलीप तामाङको कोठामा राख्न दिएको भन्ने कुरा दिलीप तामाङको बयानबाट खुल्न सकेको छैन । अनुसन्धान अधिकारीसमक्ष भएको मेरो बयान स्वेच्छापूर्वक भएको होइन भनी मैले अदालतमा बयान गरेको छु । तसर्थ अनुसन्धान अधिकारीसमक्ष भएको बयान म विरुद्ध प्रमाणमा लाग्न सक्दैन । वरामदी मुचुल्का कानूनबमोजिम तयार गरिएको छैन । चश्मदिद् भनिएका व्यक्तिहरूको बकपत्र विरोधाभाषपूर्ण छ । अपराध हुन मनसाय तत्वको महत्वपूर्ण स्थान हुन्छ । प्रस्तुत वारदातमा मेरो मनसाय तत्व एवं अपराधमा संलग्नता भएको कुनै ठोस र वस्तुनिष्ठ आधार प्रमाण छैन । तसर्थ मबाट कसूर गरेको एवं गर्नमा मतियारको भूमिका निर्वाह गरेको कुनै प्रमाण नहुँदा नहुँदै कसूरदार ठहर गरी भएको शुरु ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी कसूरबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन प्रतिवादी सुशील के.सी.को पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
मृतक सुजिन महर्जनसँग मेरो कुनै रिसइवी छैन । म वारदातस्थलमा गएको नहुँदा मैले कर्तव्य गरी ज्यान मारेको होइन । प्रहरीले मलाई कुटपीट गरी साविति बयान कागजमा सही गराएका हुन् । प्रहरीले कुटेर टाउकोमा चोट लागि बि.एण्ड बि. अस्पतालमा मिति २०६३।९।९ मा टाउकोको CT Scan गराएको र CT Scan मा Focal depressed fracture of Right Parietal bone देखिएको छ । जसबाट कुटेर साविती भएको पुष्टि हुन्छ । त्यस्तो डरत्रास र कुटपीटबाट भएको साविती बयान प्रमाणयोग्य हुँदैन । दशीमा लेखिएको छुरा मेरो होइन । वरामदी मुचुल्का कानूनबमोजिम तयार गरिएको छैन । त्यस्तो लिखत मेरो विरुद्ध प्रमाण लाग्न सक्दैन । जाहेरीबाट मृतकको झगडा युगल मुखियासँग भई निजले मार्न अह्राएको भन्ने देखिन्छ । तर निजले नै सफाइ पाएको अवस्थामा म पुनरावेदकउपरको जाहेरी झूठा रहेको प्रमाणित हुन्छ । चश्मदिद् भनिएको व्यक्तिहरूको बकपत्र विरोधाभाषपूर्ण छ । मृतकलाई मार्नु पर्ने मेरो कुनै रिसइवीसमेत नभएकोले प्रमाणको अभाव हुँदाहुँदै मलाई फसाउने नियतले परेको जाहेरी समेतलाई आधार मानी सर्वस्वसहित जन्मकैद हुने ठहर गरी भएको शुरु ललितपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी कसूरबाट सफाइ पाऊ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी श्रीधर खड्काको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
शुरु ललितपुर जिल्ला अदालतले प्रतिवादी युगल मुखियालाई कसूरबाट सफाइ दिएको कानूनसंगत छैन । निज युगल मुखियाउपर किटानी जाहेरी पर्नुको साथै घटनाका प्रत्यक्षदर्शी सरोज राउतको कागजबाट पनि निजको वारदातस्थलमा उपस्थिति देखिन्छ । त्यस्तै जाहेरवालाको बकपत्र समेतबाट युगल मुखिया कसूरदार देखिएको अवस्था छ । अन्य प्रतिवादीहरू आदित्य मुखिया, अजय खड्का, बलदेव खडका, भरत श्रीमाली र सुशील के.सी.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्नुपर्नेमा १३(४) नं. बमोजिम सजाय गरिएको कार्य न्यायोचित् छैन । त्यस्तै सबै प्रतिवादीहरूलाई अ.बं. १८८ नं. को प्रयोग गरी ७ वर्ष मात्र कैद हुने राय व्यक्त गरिएको फैसला कानूनप्रतिकूल हुँदा सोहदसम्म ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम नै कसूरदार ठहर गरी सजाय समेत गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा सबूद प्रमाण मूल्याङ्कनको रोहमा शुरु ललितपुर जिल्ला अदालतबाट प्रतिवादी युगल मुखियालाई अभियोगबाट सफाइ दिने ठहर्याई मिति २०६४।११।१३ मा भएको फैसला नमिली शुरु फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६५।७।२१ को आदेश ।
प्रतिवादी श्रीधर खड्काले मृतक सुजिन महर्जनलाई धारीलो हतियार छुरी प्रहार गरी कर्तव्य गरी मारेको देखिन आयो । तसर्थ प्रतिवादी श्रीधर खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) बमोजिम कसूर गरेको देखिँदा ऐ. १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको ललितपुर जिल्ला अदालतको फैसला मिलेकै देखिन आयो । प्रतिवादीहरू एसी भन्ने आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का, भरत श्रीमाली र सुशील के.सी. समेतका यी प्रतिवादीहरूको समेत वारदात घटाउन सहभागिता भएको देखिन आयो । यी प्रतिवादीहरूको संलग्नता समेतबाट मृतक सुजिन महर्जनको मृत्यु भएको देखिन आएबाट निजहरूलाई हुने सजायको सम्बन्धमा विचार गर्दा निज प्रतिवादीहरूले मृतकको जीउमा हात हाली पक्री समाती मृतकलाई मार्नलाई संयोग पारी दिएको कुरा मिसिल संलग्न सबूत प्रमाणहरूबाट पुष्टि हुन आएको छ । यस्तो अवस्थामा यी प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिमको कसूर गरेको देखिन आयो । तसर्थ उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादीहरू आदित्य मुखिया, अजय खडका, बलदेव खड्का, भरत श्रीमाली र सुशील के.सी.लाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसला मिलेकै देखिन आयो । अपराधका सम्पूर्ण तत्वहरू तयारी आपराधिक मनसाय र आपराधिक कार्य पूरा भएको कर्तव्य ज्यान जस्तो जघन्य अपराधका कसूरदारलाई अ.बं. १८८ नं. को प्रयोग हुन सक्ने देखिन आएन । तसर्थ कसूरदार ठहर भएका सबै प्रतिवादीहरूलाई अ.बं.१८८ नं. बमोजिम ७ (सात) वर्ष मात्र कैद हुने राय व्यक्त गरेको हदसम्म शुरु ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६५।१०।९ को फैसला ।
कसैको नाम उल्लेख हुँदैमा कुनै पनि जाहेरी दरखास्तलाई किटानी भनी नामाकरण गर्न मिल्दैन । जाहेरवालाको अदालतसमक्ष भएको बकपत्रबाट निज भरपर्दा होइनन् । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजहरू स्वेच्छापूर्वक गराइएको हो भन्ने शंकारहित प्रमाण वादीबाट पेश भएको छैन । वरामदी मुचुल्का कानूनबमोजिम तयार भएको ग्राहय प्रमाण होइन । निर्णयाधारको रुपमा लिइएका चश्मदिद् गवाह सरोज राउत र सरोज महर्जन विश्वसनीय साक्षीहरू होइनन् भन्ने ती साक्षीहरूको बकपत्रले नै स्थापित गरेको छ । वारदातस्थलमा रहेको भनी तथ्यका सम्बन्धमा गरेको स्वीकारोक्ति कसूरको सम्बन्धमा गरेको साविती होइन । वादी पक्षबाट आफ्नो दावी प्रमाणित गराउन स्वतन्त्र र विश्वसनीय प्रमाणहरू पेश गर्न नसकेको र हाम्रा साक्षीहरूको बकपत्रबाट वादी दावा खण्डित हुन पुगेको हुँदा पुनरावेदन अदालत, पाटनको फैसला फौजदारी न्यायका मान्य सिद्धान्त, प्रचलित कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत भएकाले उक्त फैसला बदर गरी सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का र भरत श्रीमालीको कारागार शाखा, नख्खु ललितपुरमार्फत् यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
जाहेरी दरखास्त आफैंमा प्रमाण नभई सूचना मात्र हो । जसलाई सम्बद्ध प्रमाणसँगको तादम्यतामा परीक्षण गरिनु पर्दछ । जाहेरी दरखास्तलाई लाश प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट र वारदातमा प्रयोग भएको छुरासँगको तादाम्यता नभई किटानी जोहरीको हवालामा पूर्वाग्रही भै प्रमाण संकलन गरिएको छ । आपराधिक कार्यमा मनसाय तत्वको विवेचना र विश्लेषण आपराधिक कार्य र दायित्व निर्धारणमा प्रारम्भिक शर्त हो । मेरो कुन मनसायको कारण मृतकको मृत्यु हुन गएको भन्ने तथ्य स्थापित गर्ने प्रमाण छैन । मैले मृतकलाई मार्नु पर्ने सम्मको अवस्था रहेको कारण स्थापित हुन सकेको छैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मेरो स्वेच्छापूर्ण नभई बाध्यात्मक हो भनी अदालतमा गरेका् बयान व्यहोरालाई प्रामाणिक कसीमा जाँचिएको छैन । अनुसन्धान अधिकारीसमक्षको बयानलाई समर्थित गर्ने कुनै पनि स्वतन्त्र प्रमाण मिसिलमा छैन । कानूनविपरीत तयार गरिएको वरामदी मुचुल्का प्रमाण हुन सक्तैन । फैसलामा निर्णयाधारको रुपमा ग्रहण गरिएका जाहेरवाला सरोज राउत र सरोज महर्जनको बकपत्र आपसमा विरोधाभाषपूर्ण र अविश्वसनीय छ । प्रस्तुत मुद्दामा वादी पक्षबाट विश्वसनीय र स्वतन्त्र प्रमाण पेश गर्न सकेको छैन । पुनरावेदन अदालतको फैसला फौजदारी कानूनका मान्य सिद्धान्त तथा सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३)(४) नं. तथा अ.बं. १८८ नं. को व्याख्या, विवेचना, प्रयोग र परिपालनाको सन्दर्भमा त्रुटिपूर्ण भएकाले उक्त फैसला उल्टि गरी अभियोग माग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुशील के.सी.को कारागार कार्यालय, नख्खु, ललितपुरमार्फत् यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
म पुनरावेदकको मृतक सुजित महर्जनसँग कुनै रिसइवि छैन । म वारदातस्थलमा गएको नहुँदा मैले कर्तव्य गरी मृतकलाई मारेको छैन । प्रहरीले कुटेर डरत्रास देखाई साविती गराएको बयानलाई प्रमाणको रुपमा मान्न मिल्दैन । शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु Hemorrhage बाट भएको भनी उल्लेख भएकोमा प्रतिवेदन तयार गर्ने डाक्टरलाई अदालतमा बकपत्र गरी परीक्षण नगरेकोमा उक्त मुत्यु के कसरी भयो भन्ने अन्योलमा छ । दशीमा लेखिएको छुरा मबाट वरामद भएको होइन । सो छुरा दिलीप तामाङको भनिएकोमा निजलाई मैले चिने जानेको छैन । कथित वरामदी मुचुल्का कानूनबमोजिम तयार भएको होइन । त्यस्तो वरामदी वादी पक्षको प्रमाण बन्न सक्तैन । जाहेरवालाको जाहेरी बकपत्र किटानी भन्ने आधार त्रुटिपूर्ण छ । जाहेरी दरखास्त आफैंमा प्रमाण होइन । जाहेरी दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र कसूर ठहर गर्नु न्याय कानून समेतबाट मिल्दैन । सरोज राउतको बकपत्र वास्तविक्तामा आधारित नभई फँसाउनका लागि काल्पनिक कथन लेखिएको प्रष्ट छ । अन्य प्रतिवादीहरूले किन मलाई पोल लगाए, थाहा भएन । उक्त पोल स्वतन्त्र ठोस प्रमाणबाट समर्थित भएको छैन । म पुनरावेदकलाई सर्वश्वसहित जन्मकैद हुने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला गैरकानूनी र अन्यायपूर्ण भई सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भई कलिलो उमेरको विद्यार्थीको भविष्य नै अन्धकार हुन पुगेको हुँदा उक्त फैसला बदर गरी सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी श्रीधर खड्काको कारागार शाखा, नख्खु, ललितपुरमार्फत् यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा आदित्य मुखिया समेतका प्रतिवादीहरूले मृतक सुजिन महर्जनलाई नियन्त्रणमा लिई हात मुक्काले समेत हानि छुरा प्रहार गरेको भन्ने जाहेरी दरखास्त भएकोमा मृतकको लास जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट एक ठाउँमा मात्र छुरा प्रहार भएको र शरीरका अन्य भागमा चोटपटक नदेखिएको, दिलीप तामाङको कोठाबाट छुरी वरामद भएकोमा निजले बयान गर्दा प्रतिवादी भरत श्रीमालीले दिएको भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी श्रीधर खड्का आरोपित कसूरमा इन्कार रही बयान गरेका र प्रत्यक्षदर्शी भनिएका सरोज महर्जन, सरोज राउत र स्वयम् जाहेरवालाको मौकामा भएको बयान र अदालतमा भएको बकपत्रको व्यहोरामा फरक रहेको स्थितिमा अभियोग दावीबमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।३।१५ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूले प्रस्तुत गरेका पुनरावेदन जिकीरसहितको मिसिल अध्ययन गरी पुनरावेदक एवम् प्रत्यर्थीतर्फबाट प्रस्तुत भएको बहस सुनियो ।
पुनरावेदक आदित्य मुखियाको तर्फबाट विद्वान अधिवक्ता श्री लभकुमार मैनालीले यी पुनरावेदकले मृतकलाई कुटपीट गरेको प्रमाण छैन । एसी मुखियाले मर्ने गरी हान भनेपछि छुरी हानेको भन्ने भनाईलाई कुनै प्रमाणले समर्थन गरेको छैन । चश्मदिद् भनिएका व्यक्तिको भनाई र अधिकारप्राप्त अधिकारीसमक्ष भएको भनिएको बयान परस्पर फरक रहेको छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको भनिएको बयानलाई आधार लिने हो भने सो भनाईलाई समर्थन गर्ने स्वतन्त्र प्रमाण हुनुपर्दछ । जाहेरवालाले प्रतिवादी युगल मुखियाले मार्न बचन दिएको भनेको कुरालाई अदालतले स्वीकार नगरेको अवस्थामा निज जाहेरवालाको भनाई अन्य प्रतिवादीको हकमा पनि ग्राह्य हुन सक्तैन । अचानक घटेको घटनामा हान्ने दोषी हुन सक्ला तर योजना, मनसाय र उद्देश्य नै नभएको र सामान्य कुटपीटसम्म गर्ने नियत भए पनि कसैले छुरी हानेको आधारमा सबैलाई कसूरदार ठहर गर्न मिल्दैन भन्नेसमेत गर्नु भएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी श्रीधर खड्काको तर्फबाट विद्वान अधिवक्ताहरू श्री चण्डेश्वर श्रेष्ठ र श्री उज्वल शुक्लले सँगै क्रिकेट खेलेको र खाजा खाएको भन्ने आधारमा वारदातमा संलग्न नभएको व्यक्तिलाई कसूरदार ठहर्याउन मिल्दैन । पुनरावेदक प्रतिवादीलाई परिबन्दमा पार्न खोजिएको छ । जाहेरी दरखास्त आफैंमा प्रमाण होइन । सहअभियुक्तले पोल गरे पनि त्यस्तो पोललाई प्रमाणमा लिन मिल्दैन । वारदातमा प्रयोग भएको छुरी श्रीधरबाट वरामद भएको पनि छैन । छुरीमा श्रीधरको औंलाको निसानाछाप लागेको भन्ने अनुसन्धान भएको पनि छैन । मृतकलाई श्रीधरले मार्न पर्ने कारण, योजना र तयारी छैन । चश्मदिद् भनिएका व्यक्तिहरूका कुरामा पनि बेमेल छ । प्रतिवादी वायरिङ गर्न गएको अवस्थामा प्रस्तुत घटना भएको अवस्था रहेको र कम उमेरका प्रतिवादीहरूको भविष्य समेतलाई विचार गर्नुपर्ने हुन्छ । प्रतिवादीलाई दोषी ठहर्याएको खण्डमा पनि शुरु अदालतले राय लगाएकोलाई विचार गरिनु पर्दछ भन्नेसमेत गर्नु भएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी सुशील के.सी.को तर्फबाट विद्वान अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जनले घटनास्थल मृतकको घर छेउमा रहेको कारण स्थानीय व्यक्तिहरूले बढाई चढाई नभएका कुराहरू भन्ने अवस्था आउँछ । मृतकको पछाडि ढाडमा एउटा मात्र चोट भै अन्य निलडाम छैन । ६ जनाले लछार पछार कुटपीट गर्दा एउटा मात्र छुरा रोपिएको अवस्था हुँदैन । मृतकको शरीरमा एउटा मात्र छुराको घाउ भएबाट अन्य प्रतिवादीको घटनामा संलग्नता नभएको पुष्टि हुन्छ । क्रिकेट खेली फर्कने क्रममा अचानक भेट भई त्यसपछि वारदात भएको भन्ने मौकाको बयानबाट देखाइएको भए पनि अदालतमा भएको बयानबाट श्रीधरले छुरा हानेर भाग भनेपछि भागेको अवस्था छ । भागाभाग भएपछि के भएको भनी बुझ्ने अवस्था हुँदैन । यी प्रतिवादीलाई स्वतन्त्र प्रमाणको बाबजूद पनि कसूरदार ठहर्याउनु परेपनि ज्यानसम्बन्धी महलको १७(३) नं. को व्यवस्थासम्म आकर्षित हुने हो । पुनरावेदन अदालतले १३(४) अनुरूप कसूर गरेको ठहर गरेको मिलेको छैन भन्नेसमेत बहस गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान नायब महान्यायाधिवक्ता श्री प्रेमराज कार्कीले प्रस्तुत वारदातमा सामूहिक उत्तरदायित्वको अवस्था छ । छजना प्रतिवादीहरू सँगै खेलेको, खाजा खाएको र फर्केको अवस्थामा घटना घटेको घटाइएको हुँदा एकजना प्रतिवादी मात्र दोषी भन्ने अवस्था छैन । मृतकलाई भेटेमा मार्ने साझा मनसाय छ । साझा मनसाय भएको अवस्थामा ज्यानसम्बन्धीको १७(३) नं. को व्यवस्था आकर्षित हुँदैन । प्रतिवादी श्रीधरले छुरा प्रहार गर्ने र अन्य प्रतिवादीहरूले मृतकलाई भाग्न उम्कन नपाउने गरी समाएको भन्ने जाहेरवाला लगायतका प्रत्यक्षदर्शीहरू सरोज राउत, सरोज महर्जन समेतको बकपत्रबाट पुष्टि भएको छ । प्रतिवादीहरूले मृतकउपर आक्रमण गर्न समूहगत रुपमा हतियारसहित गई कर्तव्य गरी मारी भागेको अवस्थामा अ.बं. १८८ नं. बमोजिम सजाय घटाइनु पर्ने अवस्था नहुँदा पुनरावेदन अदालतले गरेको इन्साफ प्रमाण मूल्याङ्कनको आधारमा कानूनसंगत मिलेको हुँदा सदर हुनुपर्दछ भन्नेसमेत गर्नु भएको बहस सुनियो ।
पुनरावेदक र प्रत्यर्थी दुवैपक्षका तर्फबाट प्रस्तुत भएको बहस सुनी मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत प्रतिवादी श्रीधर खडकालाई मुलकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का, भरत श्रीमाली र सुशील के.सी.लाई सोही महलको १३ (४) नं. बमोजिम जन्मकैदको सजाय ठहर्याई अ.बं. १८८ नं.बमोजिम सवै प्रतिवादीहरूलाई जनही ७ वर्ष कैद गर्न राय व्यक्ति गरी प्रतिवादी युगल मुखियालाई अभियोग दावीबाट सफाइ दिने गरी शुरु जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दै पुनरावेदन अदालतले कसूरदार ठहर भएका प्रतिवादीहरूलाई शुरुले अ.बं. १८८ नं. बमोजिम ७ वर्ष कैद गर्न लगाएको रायको हकमासम्म उल्टी गरी गरेको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा प्रतिवादीहरूले मृतक सुजिन महर्जनलाई कर्तव्य गरी मारेको भन्ने कसूरमा प्रतिवादीहरू श्रीधर खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार प्रतिवादीहरू एसी भन्ने आदित्य मुखिया, भरत श्रीमाली, बलदेव खड्का, सुशील के.सी. र अजय खड्कालाई सोही महलको १३(३) नं. अनुसार र प्रतिवादी युगल मुखियालाई सोही महलको १३(४) नं. बमोजिम सजाय हुन माग दावी लिई अभियोगपत्र दायर भएको रहेछ । जसअनुसार प्रतिवादीहरूको फरक–फरक कार्यको लागि मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहायमा उल्लिखित फरक–फरक नम्बरमा व्यवस्था भएका आपराधिक कार्य यी प्रतिवादीहरूबाट भएको भन्ने अभियोग दावीबाट देखिन आउँछ ।
शुरु जिल्ला अदालतले प्रतिवादी युगल मुखियालाई सफाइ दिएको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको सम्बन्धमा पुनरावेदन परेको देखिँदैन । अन्य प्रतिवादीहरूलाई शुरुले कसूरदार ठहर्याई अ.बं. १८८ नं. बमोजिम जनही ७ वर्ष कैद गर्न राय जाहेर गरेकोमा राय जाहेर गरेको हकमासम्म केही उल्टी गरी अ.बं. १८८ नं. आकर्षित नहुने भनी पुनरावेदन अदालतले गरेको फैसलाउपर प्रतिवादी सुशील के.सी. र श्रीधर खड्काले अलग–अलग र अन्य कसूरदार ठहरिएका प्रतिवादीहरूको संयुक्त पुनरावेदन परी निर्णयार्थ पेश भएको देखियो । सफाइ पाएका प्रतिवादी युगल मुखियाको हकमा पुनरावेदन परको नदेखिँदा प्रस्तुत पुनरावेदनको रोहमा त्यसतर्फ विचार गरिरहन परेन ।
यसमा मृतकको शरीरको पछाडि बायाँ पातामुनि नजिकै १ ईञ्च लम्बाई र आधा ईञ्च चौडाई भएको गहिरो काटेको घाउ रहेको र शरीरको भाग रगतले निजको भन्ने लाश प्रकृति मुचल्काबाट देखिन आउँछ । शव परीक्षण प्रतिवेदनबाट मृतकको मृत्युको कारणमा अत्याधिक रक्तश्राव (hemorrhage) भन्ने देखिन आएबाट मृतकको मृत्यु कर्तव्यबाटै भएको भन्ने तथ्य स्थापित भएको देखिन आएको छ । कसूरदार ठहर गरिएका प्रतिवादीहरूलाई फरक–फरक प्रकृतिका आपराधिक कार्यउपर अभियोगपत्रमा सजायको माग गरिएको र पुनरावेदन अदालतले पृथक–पृथक सजाय गरेको देखिएको अवस्था हुँदा अभियोग दावीअनुरूप पृथकरुपमा विचार गर्नु वाञ्छनीय हुन आउँछ ।
२. सर्वप्रथम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजाय गर्न माग गरिएका प्रतिवादी श्रीधर खड्काको हकमा विचार गर्दा, यी प्रतिवादीले मृतकलाई अन्य प्रतिवादीहरूले घोप्टो पारी लडाई समाएको अवस्थामा मृतकको बायाँ पातामुनि धारिलो हतियार छुरी रोपेको भनी जाहेरी परेको देखिन्छ । निजले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा क्रिकेट खेली रोल्पाली होटलमा छ्याङ र भुटन खाँदा एसी मुखियालाई टिकाथलीका केटाहरूले ससुराली घर जाँदा निहुँ खोजी मोटरसाइकल लडाई दिएकाले मोटरसाइकल लडाउने केटाहरू फेला परे तिनीहरूलाई र फेला नपरे रिस उठेका जो फेला पर्छन्, त्यसलाई कुटपीट गर्ने भनी सल्लाह भै टिकाथली जाँदा केटाहरू फेला नपरेकाले फर्कने क्रममा साथी बलदेव खड्कालाई क्याम्पस जाँदा सूर्यमुखी शान्ति युवा क्लव अगाडि बाटोमा केही दिन पहिले सुजिन महर्जन र सरोज राउतले आँखा तरेर हेरेको भन्ने कुरा निस्कँदा निजहरू फेला परे ठीक पार्नु पर्दछ भनी भरत श्रीमाली समेतले भनेकाले ढुंगेसाँघु हुँदै सुजिन महर्जनको घरतर्फ लाग्यौं । बाटोमा सुजिन महर्जन, सरोज राउत र दिनेश नगरकोटी कुरा गरिरहेको देखी साथी बलदेवले अस्ती कलेज जाने समयमा मसँग निहुँ खोजेको भनी निहुँ खोज्न थाले । आपसमा गालीगलौज हात हालाहाल हुँदा सुजिनले प्रहार गरेको मुक्का मेरो गर्धनमा लागी म भूईंमा लडेकोबेला सुजिन महर्जनले काठको लौरोले प्रहार गर्न लाग्दा साथीहरू भरत श्रीमाली, अजय खड्का, बलदेव खड्का, सुशील के.सी. र एसी मुखियाले सुजिन महर्जनलाई हात, खुट्टा, कपाल समेत समाती तँसँग भएको छुरीले हान–हान भनी भनेको हुँदा मार्ने नियतले छुरा प्रहार गरेको र अर्कोपटक प्रहार गर्न खोज्दा पहिलो प्रहारबाटै निज भूईंमा लडेकाले घटनास्थलबाट भागी फरार भएका हौं । घटनापश्चात् म, सुशील के.सी. र भरत श्रीमाली छुरी लुकाउन भरत श्रीमालीले चिनेका दिलीप तामाङको कोठामा गई भरत श्रीमालीले दिलीपलाई यो छुरी राखी दिनु भनी दिई सो स्थानबाट भागी गएको हो भन्ने उल्लेख गरी कसूर गरेमा सावित भएको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा वारदात घटेको दिन क्रिकेट खेली रोल्पानी भन्ने होटलमा अन्य प्रतिवादीहरू अजय खड्का, बलदेव खड्का, आदित्य मुखिया, भरत श्रीमाली र सुशील के.सी.समेत भई खाजा खाँदा छ्याङ खाएको हुँदा छ्याङ खाएको घरमा थाहा पाउने भएकोले मावलीघर ताल्छीखेल गएको हुँदा आफूले मृतकलाई छुरा प्रहार नगरेको र छुरा कसले प्रहार गर्यो, आफूलाई थाहा नभएको भनी कसूर गरेमा इन्कार रहेको देखिन्छ । तर, आफ्नो बचाउको लागि निज प्रतिवादीले राखेको साक्षी रमेश थापाले वारदात समयमा यी प्रतिवादीलाई यो यस ठाउँमा भेटेको वा सो वारदात हुँदाको समयमा वारदातस्थलमा नभई निजसमेत अन्यत्र रहेको भन्ने सकेको देखिँदैन । निज प्रतिवादीलाई दिनको ५.३० को समयमा घरमै देखेको भनी बकपत्र गर्ने यी साक्षीले वारदात भएको समयको अवधिमा यी प्रतिवादीलाई अन्यत्र देखेको भनी बकपत्र गरेको पाइँदैन । साँझको ६ बजेको समयको आसपासमा प्रस्तुत मुद्दाको वारदात घटित भएको समयमा यी प्रतिवादीलाई नदेख्ने प्रतिवादीको साक्षीले निज प्रतिवादीको मौकाको बयानलाई खण्डन र अदालतमा भएको इन्कारी बयानलाई समर्थन गरेको देखिन आएन ।
३. अभियोजनपक्षका साक्षी प्रमाणलाई हेर्दा, प्रस्तुत घटना वारदातको समयमा वारदातस्थलमा मौजुद रहेका जाहेरवाला दिनेश नगरकोटीले बकपत्र गर्दा मृतक सुजिन महर्जन, सरोज राउत र आफूसमेत भै पिकनिक जाने कुरा गरिरहेको अवस्थामा यी पुनरावेदक समेतका अन्य प्रतिवादीहरू आई मेरो श्रीमती जिस्काउने यही हो भन्नेसमेत एसी मुखियाले भनी मृतकलाई लात मुक्काले हानि नियन्त्रणमा लिएका, अन्य प्रतिवादीहरूले मृतकको टाउको, हात र खुट्टा समाती घोप्टो पारी लडाएपछि यी पुनरावेदक श्रीधर खड्काले धारिलो छुरा रोपेका, आफू र सरोज बचाउन जान खोज्दा नचिनेका २/३ जनाले जान नदिएको भन्नेसमेत उल्लेख गरी यी प्रतिवादीले नै मृतकलाई छुरा प्रहार गरेको भनी गडाउ गरेको देखियो । अर्का प्रत्यक्षदर्शी सरोज राउतले मौकामा आफूले गरेको कागज व्यहोरालाई समर्थन गर्दै प्रतिवादीहरू ६ जना मिली सुजिन महर्जनलाई भाग्न उम्कन नसक्ने गरी नियन्त्रणमा लिई यी पुनरावेदकले नै छुरी हानेको भनी बकपत्र गरेको पाइन्छ । त्यसैगरी बुझिएका राजेश महर्जनको बकपत्र हेर्दा प्रतिवादीहरू आफ्नै पसलको बाटो हुँदै मार्नुपर्छ, छोड्नु हुन्न भन्दै आएकोले उनीहरूको पछि–पछि आफू मृतकको घर नजिक पुग्दा एसी मुखियाले मेरो श्रीमती जिस्काउने यिनीहरू नै हुन् भनेपछि मृतकलाई नियन्त्रणमा लिई लात मुक्काले प्रहार गर्दा दिनेश नगरकोटी र सरोज राउतले छुट्याउन लागेका, सोहीक्रममा श्रीधर खड्काले छुरी निकालेपछि आफूलाई डर लागी अलिपर गएकोमा सुजिनलाई छुरी हानि भागे भनी बकपत्र गरेको देखिन्छ । अर्का व्यक्ति नरेन्द्र महर्जनको बकपत्र हेर्दा घटनास्थलमा हल्लाखल्लाको आवाज सुनी जाँदा मृतकलाई यी पुनरावेदक समेतका अन्य प्रतिवादीहरू अजय खड्का, बलदेव खड्का, सुशील के.सी., एसी भन्ने आदित्य मुखिया, भरत श्रीमाली समेतले हातपात गरिरहेका र सुजिन लडेपछि श्रीधरले सुजिनलाई पछाडि ढाडमा देब्रेपट्टि छुरा प्रहार गरी पश्चिमतर्फ भागे भन्ने उल्लेख गरेको पाइन्छ । मौकामा बुझिएका सरोज महर्जनले पनि घरमा टि.भी. हेरी बसेको अवस्थामा गुन–गुन आवाज सुनी बाहिर निस्कँदा ७।८ जना केटाहरू दौडी रहेका भनी यी पुनरावेदक समेतका अन्य प्रतिवादीहरूको नाम लिँदै आफ्नो दाजु लडिरेहेको देखेर सोध्दा भतिजो र सरोज राउत भन्ने छिमेकीले श्रीधर खड्का लगायतका मानिसहरूले केहीले हात र केहीले खुट्टा समाएर छुरी हाने र भागे भनेको भनी बकपत्र गरेको पाइन्छ । प्रस्तुत मुद्दाको घटनालाई नजिकबाट नियालेका उल्लिखित व्यक्तिहरूले यी प्रतिवादीले नै मृतकलाई छुरा हानेको भनी स्पष्ट रुपमा लेखाई दिएको अवस्था छ ।
४. यसको साथै यी प्रतिवादीसमेत भई क्रिकेट खेली खाजा खाई फर्किदाँको अवस्थामा आफूले छुरा प्रहार गरेकोले भागौं भनी भनेकाले भागेको भन्दै अन्य सहअभियुक्तहरूले अदालतमा बयान गरी मृतकलाई यी पुनरावेदक प्रतिवादीले नै छुरा प्रहार गरेको भनी लेखाएको समेत देखिन्छ । वारदातपश्चात् वारदातमा प्रयोग गरिएको छुरी दिलीप तामाङ भन्नेलाई राख्न दिएको भन्ने कुरा यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान तथा सहअभियुक्तहरू सुशील के.सी. र भरत श्रीमालीको अदालतमा भएको बयानबाट समेत देखिन आउँछ । रगत जस्तो रातो पदार्थ लागेको अवस्थाको सो छुरा यी प्रतिवादी समेतले देखाएको दिलीप तामाङकै कोठाबाट वरामद भएको भन्ने वरामदी मुचुल्काबाट देखिन आउँछ । यी प्रतिवादी वारदातस्थलमा पक्राउ परेको नहुँदा यी प्रतिवादीबाट वारदातमा प्रयोग गरिएको छुरी वरामद नभई लुकाएको ठाउँबाट स्वाभाविक नै देखिन्छ । उक्त छुरा वरामद गर्दा गरिएको मुचुल्कामा बस्ने दिलीप तामाङकी आमा डोल्मु तामाङले बकपत्र गर्दा सो छुरी आफ्नै कोठाबाट वरामद गरेका र श्रीधर खड्काले ल्याएर राखेको भनी छोराले भनेका हुन् भनी उल्लेख गरेको देखिन आउँछ । अर्कोतर्फ वरामद भएको उक्त छुरामा लागेको रगतसँग मृतकको रगत मिलेको भन्ने परीक्षण प्रतिवेदनबाट देखिएको र सो परीक्षण गर्ने प्र.ना.नि. मोहनसिंह धामी र सूर्यप्रकाश सुवेदीले परीक्षण विधिसमेत खुलाई परीक्षण प्रतिवेदनलाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । वरामद भएको छुरीमा लागेको रगत र मृतकको रगत एउटै भएको भन्ने परीक्षणबाट देखिएको र सो अन्यथा भन्ने मिसिलबाट नदेखिएको अवस्थामा सोही छुरी प्रयोगबाटै मृतकको मृत्यु भएको तथ्य स्थापित भएको देखिन आयो ।
५. वारदातपश्चात् यी प्रतिवादी घरमा नगई डरले प्रतिवादी सुशील के.सी. समेतलाई लिई आफ्नो मावली गएको अवस्थामा सोही ठाउँबाट पक्राउ परेको देखिन्छ । निजले नै मृतकलाई पछाडि पट्टि छुरी प्रहार गरेको भन्ने निजको मौकाको बयानलाई लास प्रकृति मुचुल्काबाट देखिएको मृतकको शरीरमा पछाडिपट्टि परेको काटिएको एउटा गहिरो घाउबाट समर्थित भैरहेको छ । जाहेरवाला लगायतका प्रत्यक्षदर्शीहरूले यी प्रतिवादीले नै मृतकलाई छुरी हानेको भनी बकपत्रमा लेखाई दिएको, वारदातमा प्रयोग भएको छुरी यी प्रतिवादीले राख्न दिएको ठाउँबाटै वरामद भएको भन्ने देखिन आएको र वरामद छुरीमा लागेको रगत र मृतकको रगत एउटै भएको भन्ने परीक्षण प्रतिवेदन र सो परीक्षण गर्ने विशेषज्ञको बकपत्रबाट खुल्न आएको तथा सहअभियुक्तहरूको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आएको समेतका प्रमाणहरूबाट यी प्रतिवादीले नै मृतकलाई छुरी प्रहार गरी सोही छुरी प्रहारको कारण अधिक रक्तश्राव भई निजको मृत्यु भएको देखिएको अवस्थामा प्रस्तुत मुद्दाको वारदातमा आफ्नो संलग्नता नभएको भन्ने अपुष्ट बयान र पुनरावेदन जिकीरसँग सहमत हुने अवस्था रहेन ।
६. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायको माग गरिएका अन्य प्रतिवादीहरू एसी भन्ने आदित्य मुखिया, अजय खड्का, बलदेव खड्का, भरत श्रीमाली र सुशील के.सी.को हकमा विचार गर्दा, यी प्रतिवादीहरू समेत मृतकको मृत्युवरण गराउने कार्यमा संलग्न कर्तव्यवालाहरू भएको भन्ने अभियोजनपक्षको दावी छ । प्रतिवादीहरूको मौकाको बयान कागज हेर्दा प्रतिवादी श्रीधर खड्कासहित यी सबै प्रतिवादीहरू क्रिकेट खेली खाजा खाई घुमफिर गरी फर्किंदाको क्रममा मृतकले प्रतिवादी बलदेव खड्कालाई केही दिन पहिले कलेज जाँदा निहुँ खोजेको कुरामा मृतकलाई फेला परेमा ठीक पार्ने भनी सहमत गरी मृतकको घर नजिकको बाटोमा मृतक सुजिन महर्जन, सरोज राउत र जाहेरवाला दिनेश नगरकोटीलाई भेटी मृतकसँग गाली गलौज तथा हातपात हुँदा प्रतिवादी श्रीधर लडेको अवस्थामा मृतक सुजिन महर्जनले काठको लौरोले प्रतिवादी श्रीधरलाई हिर्काउन लाग्दा यी प्रतिवादीहरूले कसैले मृतकको हातमा, कसैले खुट्टा तथा कसैले टाउको समेतमा समाती सबैले नियन्त्रणमा लिई श्रीधरलाई छुरी हान भनी भनेको र श्रीधरले छुरी प्रहार गरेको भन्नेसमेत उल्लेख गरी कसूर स्वीकार गरी सावित भएको देखिन्छ । अदालतमा बयान गर्दा कसूर गरेमा सबै प्रतिवादीहरू इन्कार हुँदै क्रिकेट खेली रोल्पाली होटलमा खाजा खाई टिकाथलीतिर घुम्न गई साँझपख फर्किंदा श्रीधर के कति कारणले अलमलिई अलिपछि रहेकोमा दौड्दै आई मैले छुरा हानें भागौं भनेपछि आफूहरू भागेको भन्ने उल्लेख गरी यी सवै प्रतिवादीहरूले करीव एकै मिलानको बयान गरेको देखिन्छ । तर, बयान गर्दा क्रिकेट खेलेर फर्किने क्रममा आदित्य मुखियाले आफू, अजय, सुशील, बलदेव र भरत अरुभन्दा अगाडि रहेको भनको देखिन्छ भने अजय खड्काले बयान गर्दा फर्किने क्रममा भरत, आदित्य र श्रीधर पछाडि रहेको भनेको देखिन्छ । त्यस्तै बलदेव खड्काले सुशील, अजय र आफू कुरा गर्दै हिँडेको तथा भरत आदित्य र श्रीधर कुरा गर्दै हिँडेको भनेको, प्रतिवादी सुशील खड्काले आफू, बलदेव, अजय अगाडि र अरु पछाडि रहेको भनेको पाइन्छ । प्रतिवादी भरत श्रीमालीले फर्किंदा आफू, सुशील, बलदेव र अजय अघि थियौं भनी उल्लेख गरेको अवस्था हुँदा यी प्रतिवादीहरू क्रिकेट खेली फर्किने क्रममा अलग–अलग समूहमा अघि पछि भै आएको भने पनि बयानमा कुरा बाझिई एकरुपता भएको देखिन आएन ।
७. प्रस्तुत घटना वारदातका प्रत्यक्षदर्शी जाहेरवाला दिनेश नगरकोटी, वारदातस्थलमै रहेका सरोज राउत, राजेश महर्जन, नरेन्द्र महर्जन समेतको मौकाको कागज तथा अदालतमा गरेको बकपत्रबाट यी प्रतिवादीहरूले मृतकलाई हातपात गरी हात खुट्टा समाती घोप्टो पारी लडाएको र श्रीधर खड्काले छुरी प्रहार गरी भागेको भन्ने देखिन आएको छ । मृतकउपर श्रीधर खड्कालाई छुरी प्रहार गर्न सहज बनाएको देखिन आउँछ । यी प्रतिवादीहरू र छुरी हान्ने भनिएका प्रतिवादी श्रीधर खड्का एउटै गु्रप समूहका र सँगै क्रिकेट खेली फर्किएका व्यक्तिहरू हुन् भन्ने तथ्यमा विवाद देखिँदैन । वारदातपश्चात् केही प्रतिवादीहरू डरले आफ्नो घर गएको देखिँदैन । वारदातपश्चात् प्रतिवादी सुशील के.सी. श्रीधरको मावली घरतर्फ निजसँगै गएको निजको अदालतमा भएको बयानबाट समेत देखिन आउँछ । वारदातपश्चात् प्रतिवादी भरत श्रीमाली बि.एण्ड.बि. अस्पताल नजिकको गेष्ट हाउसमा दुई रात बसी दाजुसँग आत्मसमर्पण गरेको भन्ने निजले अदालतमा बयान गर्दा उल्लेख गरेको देखिन्छ । घटना वारदातमा सरीक नभई निर्दोष अवस्थामा भए यी प्रतिवादीहरू वारदातपश्चात् लुकी छिपी बस्न अन्यत्र जानुपर्ने अन्य कारण मिसिलबाट देखिँदैन । वारदातपश्चात् दिलीप तामाङको कोठामा प्रतिवादीहरू श्रीधर खड्का, भरत श्रीमाली र सुशील के.सी. गएको तथा भरत श्रीमालीको भागदौडको क्रममा चप्पल हराएकोले त्यहीँ जुत्ता मागी लगाएको तथा श्रीधरले त्यहाँ छुरी राख्न दिएको भन्ने तथ्य प्रतिवादीहरू सुशील के.सी. तथा भरत श्रीमालीको अदालतमा भएको बयान समेतबाट देखिन आएको र सोही ठाउँबाट छुरी वरामद भएको तथ्य स्थापित भएको छ ।
८. यी पुनरावेदक प्रतिवादीहरूले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष सिलसिलेबाररुपमा घटनाक्रमलाई बर्णन गर्दै बयान गरेकोलाई अदालतमा मौकाको सो बयानलाई स्वेच्छा विपरीतको भनी इन्कार गरेको भए पनि मौकाको बयान खण्डन हुने र अदालतमा गरेको इन्कारी बयान पुष्टि हुने निश्चयात्मक प्रमाण पेश गर्न सकेको पाइँदैन । अदालतमा बयान गर्दा कसूरमा संलग्न नभएको भनी अपुष्ट जिकीर लिनु नै कसूरबाट रिहाई पाउने आधार बन्न सक्ने हुँदैन । प्रतिवादी श्रीधरसहितका यी सबै प्रतिवादीहरू समूहगतरुपमा क्रिकेट खेल्न जाने, खाजा खाने, घुमफिर गरी सँगै फर्किंदाको समयमा मृतकसहित तीनजनाको समूहमा रहेका व्यक्तिहरूलाई फेला पारी एउटै व्यक्तिले मात्र मृतकसमेतको समूहमा आक्रमण गरी घटना घटाएको र यी प्रतिवादीहरूले त्यस घटनामा संलग्नता नदेखाएको भन्ने देखिने निश्चयात्मक प्रमाण भएको मिसिलबाट देखिन आएन । वारदातका प्रत्यक्षदर्शी जाहेरवाला दिनेश नगरकोटी, सरोज राउत, राजेश महर्जन, नरेन्द्र महर्जन समेतको बकपत्र, अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादीहरूले गरेको बयान समेतबाट यी प्रतिवादीहरूले मृतकलाई हातपात गरी निजको हात खुट्टा समाई नियन्त्रणमा लिएको अवस्थामा प्रतिवादी श्रीधरले मृतकउपर छुरी रोपेको भन्ने तथ्य मिसिलबाट देखिन आउँछ । मृतकको शरीरमा एउटा मात्र छुरी रोपेको घाउ देखिएको र अधिक रक्तश्रावको कारण निजको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिँदा यी प्रतिवादीहरूको चोटबाट मृतकको मृत्यु भएको भन्ने देखिन नआए पनि यी सबै प्रतिवादीहरूले प्रतिवादी श्रीधर खड्कालाई मृतकउपर छुरी हान्न सहज बनाउन सक्रिय रहेको अवस्था मिसिल संलग्न प्रमाणबाट देखिन आउँछ ।
९. तर, प्रतिवादीहरूको मौकाको साविती बयान र जाहेरवाला तथा अन्य प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरूको कुराहरू एक आपसमा फरक रहेकाले अभियोजनपक्षका साक्षीहरू विश्वासनीय प्रमाण नभएको भनी पुनरावेदनमा तथा यी प्रतिवादीहरूमध्ये कसैको मृतकसँग सामान्य विवाद रहे पनि अन्य सबै प्रतिवादीहरूले मार्नुपर्ने मनसाय, आसय, इविसमेत नरहेको भन्ने विद्वान कानून व्यवसायीहरूको बहसको क्रममा जिकीर रहेको हुँदा त्यसतर्फ पनि विवेचना हुनुपर्ने देखिन्छ ।
१०. प्रतिवादीहरूको मौकाको बयानबाट प्रतिवादी बलदेव खड्कालाई केही दिन पहिले कलेज जाँदा मृतकले आँखा तरेर हेरी निहुँ खोजेको र सोही कुरालाई लिएर विवाद र कुटाकुट भई प्रस्तुत वारदात भएको भन्ने देखिन आउँछ । अर्कोतर्फ जाहेरवाला तथा राजेश महर्जन समेतको बकपत्रबाट एसी मुखियाले मेरी श्रीमती जिस्क्याउने यही हो भने पछि प्रतिवादीहरूले मृतकउपर आक्रमण गरेको भन्ने देखिन आउँछ । यसकुरालाई लिएर विरोधाभाषपूर्ण कथन भनी अभियोजनपक्षका साक्षीहरू विश्वासनीय होइनन् भन्ने पुनरावेदनमा समेत जिकीर लिइएको अवस्था छ । मिसिलबाट यी प्रतिवादीहरू समूहगतरुपमा रहेको भन्ने देखिन्छ । जाहेरवालालगायत अभियोजनपक्षका सबै प्रत्यक्षदर्शी साक्षीहरूले प्रतिवादीहरूमध्ये श्रीधर खड्काले मृतकलाई छुरी हानेको र अन्य प्रतिवादीहरूले नियन्त्रणमा लिएको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरूको मौकाको बयानमा समेत सोही कुरा उल्लेख भएको पाइन्छ । यस तथ्यमा विवाद छैन । मृतकलाई छुरी हान्ने र मृतकलाई नियन्त्रण लिने प्रतिवादीहरू फरक–फरक रहेको भन्ने कतैबाट देखिन आएको छैन । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूउपरको शुरु तथा पुनरावेदन अदालतबाट निर्धारण भएको मूख्य कसूर नै मृतकलाई छुरी हानेको र मृतकलाई नियन्त्रणमा लिई छुरी हान्न सहज बनाएको भन्ने देखिएको छ । यी दुई तथ्यमा प्रत्यक्षदर्शी साक्षीहरूबाट परस्पर विरोधी कथन आएको मिसिलबाट देखिएको छैन । प्रत्यक्षदर्शी साक्षीहरूले प्रतिवादी श्रीधरले र अन्य प्रतिवादीहरूले वारदातमा देखाएको क्रियाकलापलाई नियालेको र सोही अनुरूप अदालतमा समेत बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरू समूहगतरुपमा रहेको र सबै प्रतिवादीहरू वारदातमा संलग्न भएको अवस्थामा कुन प्रतिवादीले के भन्यो भन्नेतर्फ कसैले चासो दिएको र कसैले चासो नदिएको वा कसले कुन प्रतिवादीबाट के भनेको सुन्यो वा सुनेन भन्ने कुरा कर्तव्य ज्यान मुद्दाको कसूर निर्धारणमा प्रासंगिक हुन आउँदैन । वारदातमा संलग्न भएका प्रतिवादीहरूको क्रियामा फरक नपारी बकपत्र गर्ने अभियोजनपक्षका साक्षीहरूको भनाईलाई कसूर निर्धारणको सम्बन्धमा कुरा बाझिएको भन्न मिल्ने देखिन आएन ।
११. प्रतिवादीहरूमध्ये कसैको मृतकसँग सामान्य विवाद रहे पनि अन्य प्रतिवादीहरूले मार्नुपर्ने मनसाय, आसय, इविसमेत नरहेको भन्ने जिकीरतर्फ विचार गर्दा यी सबै प्रतिवादीहरूको मृतकउपर ज्यान लिनै पर्नेसम्मको पूर्व रिसइवी वा अन्य खास कारण वा आसय समानरुपमा रहेको थियो भन्ने अवस्था मिसिलबाट देखिँदैन । मिसिलबाट मृतकसँग प्रतिवादी एसी मुखिया भन्ने आदित्य मुखिया र प्रतिवादी बलदेव खड्काको मन मुटावका कुराहरू देखिन आएको भए पनि यी सबै प्रतिवादीहरू समूहगतरुपमा रहेको भन्ने देखिन्छ । एउटै समूहमा सँगै हिँडेको अवस्थामा कसैउपर आक्रमण गर्न पूर्व रिसइवी वा अन्य खास कारण नभए पनि साथीभाइको आग्रह तथा समूहगत मेलको कारण तत्काल मनसाय तत्वको सिर्जना हुन नसक्ने भन्न सकिन्न । समूहगतरुपमा हिँडेको अवस्थामा कुनै एक सदस्यको आग्रह वा उक्साहटलाई स्वीकार गरी कानूनले बर्जित गरेको कार्यमा संलग्न हुनुबाटै मनसाय तत्वको सिर्जना हुन्छ । यस्तो अवस्थामा घटना घटेको प्रत्यक्षदर्शी व्यक्तिले देखेको अथवा प्रत्यक्ष प्रमाण भएको अवस्थामा कसूर स्थापित गर्नको लागि प्रतिवादीमा मृतकलाई मार्नुपर्ने खास कारण वा मार्न उत्प्रेरित गर्ने तत्व थियो वा थिएन भनी खोजी गरिरहनु आवश्यक हुँदैन । घटना वारदातको प्रत्यक्ष प्रमाण नभएको र घटना परिस्थितिजन्य प्रमाणमा आधारित रहेको अवस्था भएको खण्डमा कसूर स्थापित गर्न प्रतिवादी र मृतकबीचका पूर्व इवि, लाग वा वारदात घटाउने आवश्यक मन मुटावका कुराहरू वा प्रतिवादीमा मृतकलाई मार्नुपर्ने खास कारण वा मार्न उत्प्रेरित गर्ने तत्व थियो वा थिएन भन्ने कुराको खोजी प्रासंगिक हुन आउँदछ । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरू श्रीधरले मृतकलाई छुरी हान्ने र अन्य प्रतिवादीहरूले मृतकलाई हात, खुट्टा, टाउकोसमेतका भागमा समाई नियन्त्रणमा लिई छुरी हान्न सहज बनाई मार्ने क्रियामा संलग्नता रहेको भन्ने यी प्रतिवादीहरूको कसूरलाई मिसिल संलग्न प्रत्यक्ष प्रमाणबाटै पुष्ट्याई भैरहेको अवस्थामा कसूर निर्धारणको सम्बन्धमा कुनै प्रतिवादीको मृतकसँग पूर्व इवि वा मार्नैपर्ने सम्मको कटुता वा आसय थियो, थिएन भनी विचार गर्नुपर्ने देखिन आएन ।
१२. अतः माथि प्रकरण–प्रकरणमा विवेचना गरिएबमोजिम मिसिल संलग्न प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी श्रीधर खड्काले मृतक सुजिन महर्जनलाई छुरी हानेको र सोही छुरी प्रहारबाट भएको रक्तश्रावको कारण मृतकको मृत्यु भएको भन्ने देखिन आएको अवस्थामा निज प्रतिवादी श्रीधर खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. १३(१) नं. को कसूरमा सोही महलको १३(१) नं. बमोजिम सजाय हुने तथा अन्य प्रतिवादीहरू एसी मुखिया भन्ने आदित्य मुखिया, बलदेव खड्का, अजय खड्का, सुशील के.सी. र भरत श्रीमालीले मृतकलाई नियन्त्रणमा लिई छुरी हान्न सहज बनाएको देखिन आएकोले यी प्रतिवादीहरूले सोही महलको १३(४) नं. अनुरूप सजाय हुने कसूर गरेको ठहर्याएको ललितपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।९।५ को फैसला अन्यथा भन्ने देखिन नआएकोले सदर हुन्छ ।
१३. अब सजाय निर्धारण सबन्धमा यी पुनरावेदक प्रतिवादीहरूले कसूर गरेबमोजिम कानूनबमोजिमको सजाय गर्नु उपयुक्त हुन्छ वा हुँदैन भन्नेतर्फ विचार गर्दा पुनरावेदकतर्फका विद्वान अधिवक्ताहरूले बहसको क्रममा वैकल्पिक जिकीर लिँदै प्रतिवादीहरूलाई कानूनले तोकेको सजाय दिँदा न्याय पर्न नसक्ने भएकोले अ.बं. १८८ नं. बमोजिम घटी सजाय हुनुपर्ने अवस्था रहेको उल्लेख गर्नु भएको छ भने प्रत्यर्थी वादीका तर्फबाट नायब महान्यायाधिवक्ताले हतियार प्रयोग गरी समूहगत रुपमा घटना घटाएको अवस्थामा अ.बं. १८८ नं. लगाएर सजाय कम गर्न उपयुक्त नहुने तर्क बहसमा उठाउनु भएको छ ।
१४. मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. को व्यवस्था हेर्दा “ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्ने सम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ । यो कानूनी व्यवस्थाअनुसार वारदात मनसायपूर्वक नदेखिई भवितव्य हो की भन्ने देखिएको अवस्था र वारदात मनसायपूर्वक नै भए पनि ऐनबमोजिम सजाय दिँदा चर्को पर्छ कि भन्ने निर्णयकर्ताको चित्तले देखेको अवस्थामा ऐनबमोजिम हुने सजाय ठहराए पनि कम सजाय निर्धारण गर्न सकिने देखिन्छ । उल्लिखित दुवै अवस्थाहरू सर्वश्वसहित जन्मकैद वा जन्मकैद हुने अपराधको सन्दर्भमा फौजदारी न्याय प्रशासनमा तजविजी अधिकारको प्रयोगमार्फत् प्रतिवादीहरूले अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गरी कसूर निर्धारणपछि सजाय गर्दा न्यायिक सन्तुलन कायम राख्ने तजविजी अवधारणा हुन् । सजाय निर्धारणमा अ.वं.१८८ नं. को व्यवस्थाले न्यायकर्तालाई सजाय कम गर्न तजविजी अधिकार दिएको देखिँदा यो कानूनी व्यवस्थालाई प्रयोग गरी सजाय घटाउन पुनरावेदकले अधिकारस्वरुप जिकीर लिन सक्ने नदेखिनुको साथै अभियोजनपक्षबाट पनि यो कानूनी व्यवस्थाको प्रयोग गरी सजाय घटाउन हुँदैन भनी दावी गर्न सक्ने अवस्था हुँदैन । उल्लिखित कानूनी व्यवस्थामा सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दाको हकमा मात्र आकर्षित हुने भन्न उल्लेख भएको अवस्थामा प्रतिवादीले एक्लै वा समूहगतरुपमा अपराध गरेको थियो वा थिएन ? प्रतिवादीले अपराध गर्दा हतियार प्रयोग गरेको थियो वा थिएन ? भन्ने जस्ता कुराहरूको आधारमा यो कानूनी व्यवस्थाको प्रयोग संकुचित बनाउने देखिँदैन । अपराध र सजायमा सन्तुलन राख्नुपर्ने कानूनले उल्लेख गरेको अवस्थाको विद्यमानता छ र न्यायिक आधार मौजूद रहन्छ भने दण्ड निर्धारणमा न्यायकर्ताले विवेकसंगत रुपमा यो कानूनी व्यवस्थाको प्रयोग गर्न सक्ने देखिन्छ ।
१५. हाम्रो फौजदारी न्याय प्रशासनमा कानूनले के कस्तो अपराधमा के कति सजाय हुने भन्ने कुरा उल्लेख गरेको देखिए पनि सजाय निर्धारण सम्बन्धमा छुट्टै मार्गदर्शन तोकेको पाइँदैन । मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.मा पनि ऐनबमोजिम तोकिएको सजाय घटाउन सकिने अवस्थाको उल्लेख भए पनि के कस्तो प्रकृतिको हत्या वा अपराधमा के कति सजाय घटाउन सकिने भनी स्पष्टरुपमा उल्लेख भएको नदेखिँदा उल्लिखित कानूनी व्यवस्थाको प्रयोगबाट सजाय कम गर्दा न्यायकर्ताले संवेदनशील र गम्भीर भएर अपराधको प्रकृति र सो अपराध गर्ने प्रतिवादीका हरेक कुराहरूको मूल्याङ्कन र विश्लेषण गर्नुपर्ने हुन्छ । सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने अपराधको प्रकृति, अपराध गर्दा अभियुक्तले अपनाएको कार्यशैली, अभियुक्तको मानसिक स्थिति, अपराध गर्नु पछाडिको कारक तत्व जस्ता कुराहरू सबै अवस्था र परिस्थितिमा समान हुन नसक्ने भएकाले यस कानूनी व्यवस्थाको प्रयोग गर्दा न्यायकर्ताले ती कुराहरूलाई पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ । तर, सबै अवस्था र प्रकृतिका ज्यान मुद्दाहरूमा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउन सकिने अवस्था हुँदैन । सजाय घटाउन सकिने अवस्थाको विद्यमानता भएमा पनि उस्तै प्रकृतिका मुद्दाहरूमा अपराधको गाम्भीर्यता घटाउने परिस्थितिहरूको विद्यमानताको अवस्था पृथक हुनसक्छ । एउटै ज्यान मुद्दामा अ.बं १८८ नं. को प्रयोगद्वारा कम सजाय निर्धारण गर्दा पनि धेरै प्रतिवादीहरू भएमा उनीहरूको अपराध गर्दाको क्रियाकलाप र अपराधमा सहभागिताको आधारमा सजायको निर्धारण गर्नु न्यायसंगत हुन आउँछ । यस अदालतबाट अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउँदा विचार गर्नुपर्ने कुराहरूलाई शान्ती वि.क. विरुद्ध छविलाल वि.क.को जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दा (नेकाप २०६१, अङ्क ६, पृष्ठ ७६५), देवनारायण र चन्द्र मण्डलको जाहेरीले नेपाल सरकार विरुद्ध जुगत सदा समेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.पं, २०६३, अङ्क ८, पृष्ठ १०७५), पुनरावेदक गोविन्दबहादुर कार्की विरुद्ध शिवप्रसाद लामिछानेको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९) पुनरावेदक मधुमाया तामाङ विरुद्ध गणेश आले मगरको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (नेकाप, २०६८, अङ्क ५, नि. नं ८६१३) लगायतका अनेकौं मुद्दाहरूमा उल्लेख गरी सकिएको देखिन्छ ।
१६. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा शुरु जिल्ला अदालतले सबै प्रतिवादीहरूलाई मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम जनही ७ वर्ष कैद गर्न राय जाहेर गरेकोमा पुनरावेदन अदालतले राय जाहेर गरेकोलाई स्वीकार गरेको देखिएन । घटना वारदातको अवस्था हेर्दा प्रतिवादीहरू क्रिकेट खेली घुमफिर गरी आउँदाको अवस्थामा मृतकसमेतसँग जम्काभेट भई कुनै प्रतिवादीको पहिलेको सामान्य विवादको विषयलाई लिएरआपसमा गालीगलौज र हातपात हुँदा प्रस्तुत घटना घट्न गएको देखिन्छ । मृतकउपर आक्रमण गर्न पहिलादेखि योजनाबद्धढंगले आवश्यक तयारीका साथ मार्ने उद्देश्यले आएको भन्ने देखिँदैन । यी प्रतिवादीहरूको उमेर हेर्दा २३ वर्षभन्दा कम उमेरका केटौलेपनका र पेशेवर अपराधी भन्ने नदेखिई पढ्दै गरेका विद्यार्थी देखिन्छन् । मृतकउपर क्रुरतापूर्वक आक्रमण गरेको नदेखिई पछाडि पातामा एकपटक छुरा घोपी भागेको भन्ने देखिन्छ । सामान्य प्रतिशोधको भावनास्वरुप साथीको लहलहैमा घटना घटेको अवस्था समेतका परिस्थितिलाई विचार गर्दा यी प्रतिवादीहरूलाई कानूनबमोजिमको सजाय तोक्दा चर्को पर्न जाने भै न्यायसंगत हुने देखिन आएन । मृतकउपर प्रतिवादी श्रीधर खड्काले छुरी प्रहार गरेको र निजकै छुरी प्रहारबाट रक्तश्राव भै मृतकको मृत्यु भएको देखिन्छ । अन्य प्रतिवादीहरूले मृतकलाई नियन्त्रणमा लिई हात खुट्टा समाई छुरी प्रहार गर्न सहज बातावरण बनाई दिएको भन्ने देखिएको अवस्थामा मृत्युवरण गराउने गरी छुरी प्रहार गर्ने र छुरी प्रहार नगर्ने प्रतिवादीहरूलाई समानरुपमा सजाय घटाउनु न्यायसंगत हुँदैन । वारदातको प्रकृति र अपराधमा प्रतिवादीहरूको सहभागितालाई विचार गर्दा प्रतिवादी श्रीधर खड्कालाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद गर्नु मुनासिव देखिएको र अन्य प्रतिवादीहरूलाई सोही नं. बमोजिम १० वर्ष कैदको सजाय गर्दा न्यायसंगत र विवेकसंगत देखिएकोले प्रतिवादी श्रीधर खड्कालाई १२ वर्ष र अन्य पुनरावेदक प्रतिवादीहरूलाई जनही १० वर्षका दरले कैद हुन्छ ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी श्रीधर खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम र अन्य प्रतिवादीहरू एसी मुखिया भन्ने आदित्य मुखिया, बलदेव खड्का, अजय खड्का, सुशील के.सी. र भरत श्रीमालीले सोही महलको १३ (४) नं. अनुरूप सजाय हुने कसूर गरेको ठहर भई अ.वं. १८८ नं. बमेजिम प्रतिवादी श्रीधर खड्कालाई १२ वर्ष कैद सजाय र अन्य प्रतिवादीहरूलार्य जनही १० वर्ष कैद सजाय हुने ठहर भएकाले लगत कितावमा सोही व्यहोरा जनाई प्रतिवादीहरूलाई थुनामा परेको मितिबाट लागू हुने गरी देहायबमोजिम कैदमा राख्न कैदी पूर्जी संशोधन गरी सम्बन्धित कारागार शाखामा लेखी पठाउनू भनी शुरु ललितपुर जिल्ला अदालतमा लगत पठाउनू ... १
(क) प्रतिवादी श्रीधर खड्कालाई कैद वर्ष १२(वाह्र) ... १
(ख) प्रतिवादी एसी भन्ने आदित्य मुखियालाई कैद वर्ष १०(दश) ... २
(ग) प्रतिवादी बलदेव खड्कालाई कैद वर्ष १० (दश)... ३
(घ) प्रतिवादी अजय खड्कालाई कैद वर्ष १० (दश) .. ४
(ङ) प्रतिवादी सुशील के.सी.लाई कैद वर्ष १० (दश) ... ५
(च) प्रतिवादी भरत श्रीमालीलाई कैद वर्ष १० (दश) ... ६
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीहरूलाई दिई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६८ साल असोज ६ गते रोज ६ शुभम्
इजलास अधिकृत : दीपककुमार दाहाल