निर्णय नं. १५८१ - अंश दर्ता
निर्णय नं. १५८१ ने.का.प. २०३९ अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३८ सालको दे.मि.नं. १३९
फैसला भएको मिति : २०३९।८।२४।५ मा
पुनरावेदक/वादी : जि.सप्तरी फरसैठ गा.पं.हाल वडा नं.६ बस्ने ठिटर यादव
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने गंगाई यादव
मुद्दा : अंश दर्ता
(१) आफ्नो आफ्नो अंश भागको भनी जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतका अभावमा सगोलमा रहे बसेको भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. हु.प्र.बक्स भई इन्साफ जाँचको लागि यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ : बाबु सन्ती यादवको तीन छोरामा जेठा खुसर यादव, माहिला ठिटर यादव, कान्छा गंगाई तीन दाज्यू भाइ भएको सगोलको आर्जनबाट प्र.धनमावत्ती, प्र.हरीहरवती समेतको नाउँमा केही जग्गाहरु खरीद भएको साथै पुख्र्यौली तथा सगोलको आर्जनबाट खरीद भएको जग्गाहरु समेत हामी तिनै दाज्यूभाई सगोलबाटै भोग चलन गरी आएका थियौं । घरको मुख्य प्र.खुसर हुनु भएकोमा अंशमा झेल झन्झट उत्पन्न गर्ने उद्देश्यले हाल सर्भेमा केही जग्गा प्र.धनमावत्तीको नाउँमा दर्ता गराई दिएको र आपसमा हितचित्त नमिली ०२९।१।१५ मा मानो छुट्टिई अलग अलग बसेकोमा तीन खण्डको एक खण्ड अंश दिनुहोस भन्दा अंश नदिएकोले प्र.हरुको नाउँमा नालेस गर्न आएको छु । चल अचल धनमालको तायदाती समेत लिई तीन खण्डको एकखण्ड अंश छुट्याई मेरो भागमा पर्ने मेरो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोरा भएको वादी दावी रहेछ ।
२. हामी आईमाइको नाउँको जग्गा समेतमा अंश लिन मुराद लिई अघि नै छुट्टिई बसेका वादीले ०२९ सालमा मानो छुट्टिएको भनी दावा गरेको प्रष्ट छ । वादी ०१५ सालमै मानो छुट्टिई भिन्न बसेपछि लोग्नेको मानो छुट्टिएपछिको आर्जनको जग्गा समेत म धनमावतीको पेवा रुपैयाँबाट खरीद गरी दर्ता भई राखेको नापी दर्ता समेत मेरा नाउँमा भएको वादीले दर्ता बदर चलाएकोमा सबूत प्रमाणबाट मेरो दर्ता कायम भई फैसला भएको । म हरीहरवतीले पेवाको रुपैयाँ दिई राजीनामा पारित गराई लिएको थप हुन आएको जग्गा पेवाको रुपैयाँबाट खरीद गरेको जग्गामा वादीको अंश लाग्दैन । अहिले सगोलको अंश भनी वादीको दावा पुग्न नसक्ने हुँदा वादीको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोरा भएको प्रतिवादीहरुको प्रतिउत्तरपत्र रहेछ ।
३. प्र.हरिहरवती यादवनी, प्र.धनमावती यादवनी समेत २ जनाको दाइजो पेवा सम्पत्ति कटाई सो बाहेक पेश भएको ०३३।३।११ र ०३३।५।२८ मा वादी प्रतिवादीहरुले दिएको तायदाती दर्खास्तमा उल्लेख भएको चल अचल सम्पत्तिबाट नरम करम मिलाई तीन खण्डको एक खण्ड अंश वादीले पाउने ठर्हछ भन्ने समेत व्यहोरा भएको सुरु सप्तरी जि.अ.को फैसला ।
४. उक्त फैसला उपर चित्त नबुझी मेरो प्रतिउत्तरपत्र लेख बमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोरा भएको गंगाई यादवको पू.क्षे.अ.मा परेको पुनरावेदन रहेछ ।
५. बण्डापत्रको लिखत नभए पनि व्यवहार प्रमाणबाट वादी छुट्टिई सकेको देखिँदा अशंबण्डाको ३० नं.विपरीत अंश पाउने गरेको सप्तरी जि.अ.को फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.र क्षे.अ.नियमावली, २०३६ अनुसार विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोरा भएको पू.क्षे.अ.डिभिजनबेञ्चको ०३७।३।२ को आदेश ।
६. वादी प्रतिवादीहरुको बीच कानून बमोजिमको बण्डापत्र नभए तापनि निजहरुको नाउँका दर्ता भोग तथा व्यवहार समेतबाट निजहरु सगोलमा छन् भन्न मिल्ने स्थिति नभएको र वादी प्रतिवादीहरु भिन्दा भिन्दै बसी व्यवहार गरेको समेत देखिनाले, त्यस्तोमा रीतपूर्वकको नभएका कारणबाट सगोलमा रहे बसेको भन्न नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने ठर्हछ । सुरुको इन्साफ गल्ती ठर्हछ भन्नेसमेत व्यहोरा भएको पू.क्षे.अ.को ०३७।१०।२४।३ को फैसला रहेछ ।
७. उक्त पू.क्षे.अ.को फैसला दोहोराई इन्साफ जाँच गरी पाउँ भनी पक्षको निवेदन परी इन्साफ जाँची दोहराई दिनु भन्ने मिति ०३८।३।१६।३ मा हु.प्र.बक्स भई यस अदालतमा पेश हुन आएको रहेछ ।
८. यसमा पुनरावेदक ठिटर यादवको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले अंशबण्डाको लिखत छैन, अंशबण्डाको अभावमा अंश पाउँदैन भन्न मिल्दैन भनी गर्नु भएको बहस समेत सुनियो । अब पू.क्षे.अ.को फैसला मनासिव बेमनासिव के रहेछ सो तर्फ निर्णय दिनु परेको छ ।
९. निर्णय तर्फ विचार गर्दा यसमा वादी प्रतिवादी समेतको पुर्खौली अचल सम्पत्ति पौवाई यादवको नाउँमा दर्ता रही पौवाई मरेपछि निजको छोरा नत्थु यादवले यी वादीलाई निजको अंश भोगको भनी र प्रतिवादी खुसर यादव र गंगाई यादवलाई पनि निजको अंश भागको भनी जग्गा राजीनामा गरी दिएको र उक्त राजीनामा अनुसार पुर्खौली अचल सम्पत्ति आफ्नो आफ्नो अंश भागको जग्गाहरु आफ्नो आफ्नोमा हक हिस्सा जिमदारी कचहरीबाट बेग्ला बेग्लै नामसारी दर्ता गरी तिरो भरो गरी आएको २०२९।१।१७।१ को फाराम नं.१ बाट देखिन्छ ।
१०. यि वादी प्रतिवादीहरुले आफ्नो आफ्नो अंश भागको पनि जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतको अभावमा सगोलमा रहे बसेको भन्न मिलेन ।
११. आफ्नो आफ्नो अंशको जग्गा बुझी लिई सो अनुसार दर्ता तिरो भोग गरेकोले अंशबण्डाको ३० नं.अनुसार अंश तर्फ वादीको दावी नपुग्ने हुँदा अंश नपाउने ठहराएको पू.क्षे.अ.को फैसला मनासिव ठर्हछ । हु.प्र.बक्स भई दायर हुन आएको हुनाले कोर्टफी तर्फ केही गरी रहन परेन । पू.क्षे.अ.को फैसला बमोजिम गर्नु भनी सुरु सप्तरी जिल्ला अदालतलाई लेखी पठाई मिसिल नियमानुसार गर्नु ।
उक्त रायमा सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल मसिंर २४ गते रोज ५ शुभम् ।