निर्णय नं. १५८२ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।
निर्णय नं. १५८२ ने.का.प. २०३९ अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको रिट नं. १२५५
आदेश भएको मिति : २०३९।८।७।२ मा
निवेदक : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.१ बस्ने बर्ष १२ को नाबालक छोरा मुक्तिराज जोशीको तर्फबाट पिता ऐ.ऐ.बस्ने फेकुमान श्रेष्ठ
विरुद्ध
विपक्षी : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.२ बस्ने मनकुमारी भन्ने वेचनीकुमारी, जि.महोत्तरी आदर्श गा.पं.कार्यालय गौशाला
बिषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
(१) निवेदकको निवेदन परेको देखिएपछि दा.खा.गर्ने निर्णय गर्नु भन्दा पहिले निवेदकलाई समेत बुझी आफ्नो कुरा भन्ने मौका दिई निर्णय गर्नु पर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नैनविनोद नेउपाने
विपक्षी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. विपक्षी कार्यालयको निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य रिट निवेदन जिकिर यसप्रकार छ :
२. गौशाला आदर्श गाउँ पञ्चायत वडा नं.२ को पूर्व बजार पर्ति, पश्चिम डगर, दक्षिण सजना मगर्नी, उत्तर मानबहादुर जोशी श्रेष्ठ यति ४ किल्ला भित्र बनेको र घर र घडेरी आदर्श गा.पं.कार्यालय गौशालामा विटौरी रु.५।२०।–बुझाउनु पर्ने निवेदकले ०३४।८।२४।६ मा प्रत्यर्थीहरुको पिता धनबहादुर थकालीबाट महोत्तरी मालपोत कार्यालय मार्फत राजीनामा रजिष्ट्रेशन पास गरी लिएकोले उक्त घर र घडेरीमा निवेदकको निर्विवाद हक छ । उक्त घरघडेरीबाट धनबहादुरको नाम कट्टा गरी निवेदकको नाम दर्ता समावेश गरी निवेदकबाट नै विटौरी असुल गरी पाउँ भनी ०३६।१२।२२ म प्रत्यर्थी कार्यालयमा निवेदन प्रस्तुत गरेको थिएँ । दोश्रो निवेदन हुलाक मार्फत दिएँ । धनबहादुर थकाली परलोक भएको निजका हकदार भाइ छोरा भतिजा कोही नभई खास छोरी बेचनीकुमारी र बिमलाकुमारी भएकोले उक्त धनबहादुर थकाली जीवित छँदै उपरोक्त व्यहोराको जानकारी यस पञ्चायतलाई हुनु पर्ने सो नभएकोले हकदारको नाउँमा दाखिल खारेज भएको हुँदा तपाईले दिनु भएको निवेदन घर जग्गा खिचोला अदालतबाट निर्णय नहुन्जेल यस पञ्चायतले दर्ता गर्न नमिल्ने भएकोले तपाईको निवेदन फिर्ता पठाएको जानकारी गराईन्छ भनी आदर्श गा.पं.कार्यालयबाट ०३८।६।८ को पत्रद्वारा जानकारी दिइयो ।
३. निवेदकले हक प्राप्त गरेको घर जग्गा जुनसुकै समयमा दाखिल खारेज गराउन पाउने निवेदकको कानूनद्वारा प्रदत्त हक हो । धनबहादुरको छोरीको नाममा सो जग्गा दाखिल खारेज गर्नु अगाडि सबैले देख्ने गरी कुनै प्रकारको सूचनासम्म पनि टाँसिएको छैन । प्रत्यर्थी कार्यालय र प्रत्यर्थी दर्तावालाको बदनियतपूर्ण मिलोमतोबाट घर जग्गा नामसारी गर्ने हकबाट निवेदक बञ्चित हुनु परेको छ । प्रत्यर्थी कार्यालयको निर्णय बदर गरी निवेदकको नाममा घर जग्गा नामसारी दाखेल खारेज गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षबाट लिखितजवाफ मगाउनु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३८।७।२।१ को आदेश ।
५. गा.पं.ऐन (संशोधन सहित) २०१८ को दफा ६९ अनुसार गा.पं.बाट गरेको कुनै काम कारवाईमा गा.पं.उपर जिल्ला पञ्चायतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्था देखिन्छ । रिट निवेदनमा दावी गरिएको विषयबस्तुलाई लिएर निवेदकले महोत्तरी जि.अदालत समक्ष नालिस गरी सक्नु भएको कुरा रिट निवेदनमा स्वीकार गरी सक्नु भएको छ । साधारण अदालतको अधिकार क्षेत्रबाट हेरिने विषयबस्तुलाई रिट क्षेत्रबाट विचार गर्ने संवैधानिक व्यवस्था होइन, रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बेचनीकुमारी थकालीनी समेतको लिखितजवाफ ।
६. २०३६।५।२० गते धनबहादुर थकालीको मृत्यु भएको मृत्यु भएपछि पनि यस कार्यालयलाई सो लिखत पारित भएको छ भन्ने कुनै किसिमको जानकारी नभएको कारणबाट बेचनीकुमारी र विमलाकुमारीका नाउँमा ०३६।९।२६ गते नामसारी भइगएको यस गा.पं.का.ले कुनै किसिमको दतबन्दी, गुटबन्दी लोभलालचप्रति आस्था नराखी सही तरीकाबाट नेपालको संविधान नियम कानूनको मर्यादा कायम राखी मौलिक हकअधिकारप्रति प्रतिबन्धित नहुने तरीकाबाट धन बहादुर थकालीको घरघडेरी यस गा.पं.का.बाट १००।–जन्जिरभित्र पर्ने भएकोले स्व.धन बहादुर थकालीका हकदार को कति छन् भन्ने व्यहोरा गा.पं.लाई जानकारी भइरहेको र सरजमिन मुचुल्का र वडाअध्यक्षसमेत बुझी कुनै किसिमको टाँस मुचुल्का गर्नुपर्ने अवस्था देखिन नआएकाले नामसारी भइगएको हो भन्नेसमेत आदर्श गा.पं.का.महोत्तरीको लिखितजवाफ ।
७. निवेदक तर्फका विद्वान अधिवक्ता श्री नैनविनोद न्यौपाने तथा विपक्ष बेचनीकुमारी थकाली तर्फका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले गर्नु भएको बहस समेत सुनियो ।
८. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो निर्णय दिनु परेको छ ।
९. यसमा निर्णय तर्फ हेर्दा विवादित जग्गा दा.खा.गरी पाउँ भन्ने निवेदक र प्रत्यर्थी बेचनीकुमारी थकाली र विमलाकुमारी थकालीको निवेदन परेकोमा निवेदकको निवेदनमा कुनै कारवाई नै नगरी प्रत्यर्थीको निवेदन बमोजिम प्रत्यर्थी बेचनीकुमारी र विमलाकुमारीको नाउँमा दा.खा.गर्ने निर्णय प्रत्यर्थी गाउँ पञ्चायत कार्यालयले गरेको देखिन्छ । यसरी निवेदकको पनि यस सम्बन्धमा निवेदन परेको देखेपछि प्रत्यर्थीका नाउँमा दा.खा.निर्णय गर्नु भन्दा पहिले निवेदकलाई समेत बुझी निजलाई आफ्नो कुरा भन्ने मौका दिई निर्णय गर्नु पर्ने सो गरेको नदेखिएकोले प्रत्यर्थी गाउँ पञ्चायत कार्यालयको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
१०. अतः उपरोक्त कारणबाट प्रत्यर्थी गाउँ पञ्चायत कार्यालयको प्रत्यर्थी बेचनीकुमारी र बिमलाकुमारीको नाउँमा दा.खा.गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिएकोले सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ, कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी आर्दश गाउँ पञ्चायत कार्यालय गौशाला, महोत्तरीका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । विपक्षी गा.पं.कार्यालयको जानकारी निमित्त यो आदेशको प्रतिलिपिका साथै प्राप्त मिसिल फिर्ता पठाई दिनु।
म सहमत छु ।
न्या.धनेन्द्रबहादुर सिंह
इतिसम्वत् २०३९ साल मंसिर ७ गते रोज २ शुभम् ।