शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५८४ - लिखत पारित

भाग: २४ साल: २०३९ महिना: मंसिर अंक:

निर्णय नं. १५८४    ने.का.प. २०३९  अङ्क ९

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.पु.नं. ३०३

फैसला भएको मिति  : २०३९।७।२१।१ मा

पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धराभक्त मानन्धर 

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ.वडा नं.१४ मरु प्याफलटोल बस्ने लक्ष्मीकुमारी मानन्धरनी

मुद्दा : लिखत पारित

(१)                पक्षले आफ्नो हित विरुद्व कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन  ।

(प्रकरण नं. १०)

प्रत्यर्थी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।८।३ को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरेको यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ :

२.    तपाई दिज्यूका सुनका गहनाहरु जम्मा तोला ९० र नगद रु.२३,४००।लिई राखेको मैले मासी दिएकोबाट तपाई दिज्यूको चित्त बुझाउने गरी धितो राखी दिनु मेरो मञ्जुर भएको र धितो लेखाई लिनु तपाईको पनि मञ्जुर भएकोले अरु कसैलाई कुनै प्रकारको लिखत गरी नदिएको मेरो मात्र हक भोग चलनको का.जि.का.न.पं..वडा नं. २३ अन्तर्गत ल्बक नं.५।८४३ मध्ये पूर्व काका धनबहादुरको घर, पश्चिम लाल गुभाजूको घर र धन्सार देव, उत्तर नन्दमाया वाँडानी र अरु वाँडाहरुको घर, दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको २ नाले र २ कवले समेत जम्मै घरहरु समेतको दृष्टिबन्धकीको कागज लेखी उपरोक्त गहना र नगद रुपैयाँ समेत ६ महिना भित्र बुझाउँला नबुझाए दशौंद दरले ब्याज समेत लगाई उपर गरी लिनु होला । यो कागज म्याद भित्र पास गरी दिउँला भनी उल्लेख गरी ०३४।७।४ मा उक्त दृष्टिबन्धकीको कागज लेखी निज भाइ बसुन्धराले मलाई दिएको । उक्त दृष्टिबन्धकीमा लेखिए बमोजिमको गहना र नगद रुपैयाँ समेत नबुझाएको र पारित पनि गरी नदिएकोले यो नालेस गर्नु परेको हो । मुलुकी ऐन, (सातौं संशोधन) २०३४ को राजपत्रमा प्रकाशित मिति ०३४।२।२७ हुनाले सो भन्दा अघि सम्पन्न भएको लिखतको हकमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को उपदफा ४ अनुसार जुन बेला जुन कानून बहाल छ सो कानून अनुसार भएको काम हुनाले रजिष्ट्रेशनको साविक ६ नं.मा लिखत गरिदिने र म्याद भित्र पारित गरी दिएन भन्ने ३५ दिन भित्र थमाई नालेस लाग्ने नै हुँदा उक्त दृष्टिबन्धकीको लिखत पारित गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    मैले यस मितिमा यो वापत यति रुपैयाँ लिई मासी दियो, यो धितो राखी लेखी दिएको म्यादमा पास गरी नदिएकोले पास गरी पाउँ भन्ने नालेस यो नभई तपाई दिदीले नम्बरी सुनको गहनाहरु जम्मा तोला ९० र नगद रु.२३४००।लिई राखेको मासी दिए बापत कागज गरी दिएको दृष्टिबन्धकको तमसुक पारित गरी पाउँ भन्ने दावा देखियो । मेरो मुख्य कुरा यो छ कि वादी मेरो सहोदर दिदी र वहाँको लोग्ने बेलायतमा राजदूत हुनु भएको रामप्रसाद मानन्धर मेरो भिनाज्यू हुनु भएको निज १२ सालमा राजदूत हुनु भई बेलायत जाने भई सो जान मलाई खर्च नपुगेकोले रु.१०,०००।कर्जा देउ दशांैद व्याज दिन्छु यो गहनाहरु पनि तपाईकहाँ राख्नु भनी दिदी भिनाजुले करीब १००।१०२ तोलाको गहना जिम्मा दिई उक्त दश हजार रुपैयाँ कर्जा लिनु भएको थियो । ०१६।१।१९ गते दिदीले बेलयातबाट हामी आएको ३ बर्ष भयो, तिमीलाई रुपैयाँ खाँचो पर्ला १०० तोला सुन बेची हामीले तिर्नु पर्नेमा सोधभर्ना गरी लिनु भनी चिठ्ठी पठाउनु भएबाट उस बखत सुन तोला १ को नम्बरी रु.१००। बजारमा चलेको दरभाउ छ भनी लेखी पठाउँदा सो खबर पुगेपछि निज दिदीबाट १९५९, जुन २० तारेखमा तिमीले सुनको भाउ लेखेको बुझे, यहाँ पनि मैले भाउ बुझ्दा तोला १ को रु.१००।मात्र पर्छ, तोला १०० बेची पठाउनु भनी चिठ्ठि आउँदा रु.१००।को दरले १०० तोेला बिक्री गरी मेरो साँवा भर्ना गरें । त्यसपछि वहाँलाई चाहिने माल सामान लेखी आउँदा मेरै रुपियाँबाट खर्च गरी पठाउँदै गरेको थिएँ । बेलायतबाट फर्कनु भएपछि मेरो दिदीले मेरो सक्कली मुगाको तोला १०५ भएको माला १ र १४ दाना हिरा जडाउ भएको घडी १ देवाली पूजामा लाउनु पर्‍यो भनी लिई जानु भयो । देवाली सिद्धिएपछि बराबर माग्दा मसँग भएको कहाँ जाला भन्नु भई दिनु भएन । आफु सहोदर दिदी हुनु भएकोले दिनु होला भनी बसेको तर नदिनु भएकोले जहानमा कचकच हुँदा मैैले भन्नै भएन भन्दा रिसाउनु भएको थियो । ०३४ कात्र्तिक महिना हो, गते बारको सम्झना भएन मलाई डाक्न पठाउनु भई तिम्रो हाम्रो हिसाव राम्रो मिलेन भनी मलाई लोग्नेले तँ माईत गई बस भनी झगडा भयो, तिमी भाइ म दिदीमा के हुन्छ, गहना र नगद मासी खाए दिन्छु भन्ने एउटा कागज गरी देउ, लिने होईन भन्दा दिदीलाई सुविधा हुने भए लौ भनी वहाँ भएको वकिल दिनेशमान डिठ्ठा, शिवलालले भने बमोजिमको मैले कागज लेखी दिएँ। सो कागज हेर्न नपाई मैले यसै भन्न सक्दिन । मैले र दिदी  भिनाज्यूले पनि धर्म भाकी मसँग बाँकी यति छ भनी भाक्नु भएमा दिन तयार छु । दिदी भिनाज्यूको खाने मेरो नियत छैन। यो यस मितिमा यो यति सुन लिएको यसको यो भाउले यति रुपैयाँ यस मितिमा लिएको नगद समेत जम्मा यति भन्ने केही नभएको कानून विरुद्धको लिखत हुँदा पारित गरी दिन नमिल्ने हुँदा खारिज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    आफुले गरी दिएको लिखत प्रतिवादीले म्यादभित्र पारित गरी दिनु पर्ने सो गरी दिएको नदेखिँदा वादी दावी बमोजिमको मिति ०३४।७।४।५ को दृष्टिबन्धकी लिखत पारित हुने ठहर्छ भन्ने सुरु का.जि.अ.को फैसला ।

५.    सुरु फैसला उपर चित्त नबुझी सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन ।

६.    पुनरावेदक प्रतिवादीले ०३४।७।४ मा आफ्नो हक भोगको का.जि.का.न.पं.वडा नं.२३ को ब्लक नं.५/८४३ को २ नाले र १ नाले घर समेत दृष्टिबन्धक लेखी वादीलाई दिएको  देखिन्छ । आफ्नै हस्ताले लेखेको लिखत हो भनी स्वीकारी पुनरावेदकले बयान समेत गरेको देखिनाले साथै प्रतिवादीले वादीबाट लिखतमा लेखिए बमोजिमको सुन गहना समेत नलिएको भए स्वहस्ताले त्यस्तो लिखत लेख्नु पर्ने सम्मको कुनै ठोस सबूत पेश हुन नसके समेतबाट वादी दावा बमोजिम लिखत पारित हुने ठहराई सुरु का.जि.अ.ले गरेको इन्साफ मनासिव ठर्हछ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३७।३।३ को फैसला ।

७.    उक्त निर्णयउपर पुनरावेदनको अनुमतिपाउँ भनी प्रतिवादीको यसअदालतमा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने डिभिजनबेञ्चको ०३८।७।२८ को आदेश।

८.    नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुनआएको प्रस्तुतमुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्यायले विपक्षीहरुले गराएको तमसुकमा उल्लिखित विपक्षीले राख्न दिएको सुन विपक्षीका श्रीमान् बेलायतमा राजदूत भई विपक्षी समेत वहीं बसेका बखतमा बेची निजहरुले मेरो पक्षसँग सापट लिएको रकम उपर गरेको र सो सुन बेच्न मेरो पक्षलाई विपक्षीले स्वीकृति दिई लेखेका पत्रहरु मेरो पक्षसँग छन् । सो पत्रहरुलाई अ.बं.७८ नं.बमोजिम अदालतले सद्दे कीर्ते मा सुनाएको छैन । पहिले सुन बेची सकेपछि अब ९० तोला सुन पाउनु पर्ने लेखाइएको कागजले मेरो पक्षलाई मर्का परेको छ भन्ने बहस समेत प्रस्तुत गर्नु भयो । विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधानले कानून बमोजिम लिखत भएकोछ र सो लिखत पास नहुने कुनै कारण छैन, पुनरावेदक तर्फबाट देखाईएका पत्रहरुको कुनै कानूनी अस्तित्व छैन । तसर्थ लिखत पास गर्ने सुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

९.    विद्वान अधिवक्ताहरुको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा लिखत पास हुने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव बेमनासिव के हो भन्ने विषयमा निर्णय दिनु परेको छ ।

१०.    यसमा प्रस्तुत मुद्दामा सुनका गहनाहरुमा जम्मा तोला ९० र नगद  रु.२३,४००।लिई राखे बापत का.जि.का.न.पं. वडा नं.२३ अन्तर्गत ब्लक नं.५।८४३ मध्ये पूर्व काका धनबहादुरको घर, पश्चिम हरिलाल गुभाजुको घर र घरसार देवल, उत्तर नन्दमायाँ बाँडानी र अरु बाँडाहरुको घर दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको २ नाले र १ नाले समेत जम्मै घरहरु समेतको दृष्टिबन्धकी कागज लेखी ०३४।७।४ मा दिएको पास गरी नदिएको हुँदा उक्त दृष्टिबन्धकीको लिखत पास गरी पाउँ भन्ने वादीको ०३५।२।३ मा फिराद परेको र प्रतिवादीले ०३४ सालमा वादीलाई कागज गरिदिएको कुरा स्वीकार्दै सो कागज हेर्न पछि नपाएको कुरा सम्म उल्लेख गरेका रहेछन । यही ०३५।८।९।६ मा ततिम्बा बयान हुँदा उक्त ०३४।७।४ को कागजलाई आफ्नो हस्ताक्षरबाट लेखिदिएको र लेखात्मक सहिछाप र ल्याप्चे सहीछाप समेत गरी दिएको कुरा उल्लेख गरेका रहेछन । यस बाहेक यी पुनरावेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरमा वादीले गहना राखी रु.१०,००० कर्जा लिएको र पछि  २०१६।१।२९ गतेमा बन्धकमध्ये १०० तोला सुन बेची मैले लिनु पर्ने रकम चुक्ता गरी राखेँ भन्ने र पछि सन् १९५९ जुन २० तारेखमा १०० तोला सुन बेची पठाउनु भन्ने पत्र प्राप्त भएपछि उक्त सुन बेची पठाइएको र सुन बाँकी नभएको कुरा उल्लेख गरेको देखिन्छ । यदी प्रतिवादीको कुरा सत्य साँचो भए निजले पछि २०३४।७।४ मा दृष्टिबन्धकको कागज लेखी नदिनु पर्ने हो । पक्षले आफ्नो हित विरुद्व कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन ।

११.    अब फिरादीले आफ्नो फिरादपत्रमा उल्लेख गरेको विवादित ०३४।७।४।५ को दृष्टिबन्धक कागज पारित हुनु पर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा उक्त कागजमा यी पुनरावेदकले सुनको गहना जम्मा तोला ९० र नगद रु.२३,४००।लिई राखेको कुरा उल्लेख भएको छ । उक्त कागज मुलुकी ऐन रजिष्ट्रेशनको ५ नं. बमोजिम रजिष्ट्रेशन पास गरी माग्न पाउने वादीको हक सुरक्षीत नै देखिँदा र वेरीतको नदेखिँदा उक्त कागज पारित नहुने भन्ने मिल्ने देखिएन  ।

१२.   अतः उपर्युक्त कारणहरुबाट विवादित लिखत कानून बमोजिमको नै देखिँदा वादी दावी बमोजिम लिखत पारित हुने ठहर्‍याई गरेको सुरु का.जि.अ.को इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।८।३ को इन्साफ मनासिव ठर्हछ ।

 

म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल कार्तिक २१ गते रोज १ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु