शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२७७ - कर्तव्य ज्यान

भाग: ४५ साल: २०६० महिना: पौस अंक:

निर्णय नं. ७२७७          ने.का.प.२०६० अङ्क ९.१०

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

सम्वत २०५९सालको साधक न. ..४०८

फैसला मितिः २०६०।५।५।५

 

मुद्दाःकर्तव्य ज्यान ।

 

वादीः मोरङ्ग इलाका प्रहरी कार्यालय उर्लावारीका प्र.ज. दिपेन्द्र फुयालको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः इलाम जिल्ला दानावारी गा.वि.स. वडा नं. ३ वस्ने मीरा तामाङ्ग

 

§  मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा, घाँटी भाँचिएको र श्वास प्रश्वास क्रिया वन्द भै मृत्यु भएको भन्ने देखिन्छ । जातक मृतक अवस्थामा जन्मिएको भए घाँटी भाचिनु पर्ने कारण देखिदैन । मानवहादुरसंगको अवैध सम्वन्धमा जन्मिएको भै लोकलाजवाट वच्न घाँटी थिची मारेको हुँ भन्ने निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टी गरी रहेको अवस्थामा जातक मरेको जन्मिएको थियो भन्ने निजको अदालत समक्षको वयानलाई अन्य कुनै प्रमाणले समर्थन नगरेको अवस्थामा विश्वास गर्न नसकिने ।

§  अवैध सम्वन्धवाट जन्मिएको जातकलाई मारेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष भएको यिनको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टि गरेको र अदालत समक्ष भएको यि प्रतिवादीको इन्कारी वयानलाई समर्थन गर्ने अन्य कुनै प्रमाण आउन नसकेको अवस्था हुँदा जातक जिउँदै जन्मिएको र लोकलाजवाट वच्न यिनले कर्तव्य गरी मारेको देखिंदा यि प्रतिवादी मीरा तामाङ्गलाई मुलुकी ऐन,ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४ को फैसला मिलेको देखिंदा सदर हुने ।

§  अवैध सम्वन्धवाट जन्मिएको वच्चालाई लोकलाजवाट वच्नको लागि मारेको अवस्था हुँदा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी ५ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी अ.व.१८८नं. वमोजिम लगाएको राय समेत मनासिव देखिंदा जाहेर भएको राय र साधक सदर हुने ।

(प्र.नं. १९ र २०)

वादी तर्फवाटः

प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

      मीनबहादुर रायमाझीः पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४ को फैसला उपर उक्त अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १०(१) वमोजिम साधक जाहेर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार  छ :

      २.    मिति २०५७।१०।१९ गतेका दिन अं. १५.३० वजेको समयमा मलाई वजार गस्ती पेट्रोलिङ्ग खटाई पठाए अनुसार उर्लावारी ३ स्थित वजार तर्फ गस्ती गर्दै जाँदा नवजात शिशुको लास माटोले पुरेको स्थानवाट निकाल्दै गर्दा फेलापारी ताहाँ वरपर वुझ्दा उर्लावारी ३ वस्ने वर्ष २५ को मीरा तामाङ्गले वच्चा जनमाई माटोले पुरी मारेको भन्ने वुझीएको हुँदा सो स्थानमा लास सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने प्र.दिपेन्द्र फुयालको प्रतिवेदन ।

      ३.    उत्तरमा अम्विकाप्रसाद दाहालको घर, दक्षिणमा धनवहादुर धिमालको घर, पूर्वमा पानी टंकी जाने कच्ची वाटो, पश्चिममा भोजकुमार राईको घर यति ४ किल्ला भित्र टाउको पश्चिम, दक्षिण दुवै खुट्टा, पूर्व उत्तर भएको नवजात शिशुको लास र लासको जिउ शरिरमा वालुवा नै वालुवा लागेको , कपाल एकइन्च लामो भएको, नाक, मुखमा फिज आएको, घाँटीमा दाग भएको, अन्य जिउ शरिरमा कांही कतै चोटपटक नभएको भन्ने समेत लास जाँच मुचुल्का ।

      ४.    घाँटी भाँचिएको र स्वास प्रश्वास कृया वन्द भै मृत्यु भएको भन्ने लाश पोष्टमार्टम रिपोर्ट ।

      ५.    २०५७।१०।१९ गतेका विहान अं.४.०० वजेको समयमा मैले एक्लै नवजात वच्चा शिशु जन्माई आफ्ना अपराध छिपाउनका लागि हातले आलु खनेको माटो खोस्रीपुरी मारेको हुँ । मलाई मार्नमा कोही कसैले सहमती दिएको छैन भनि प्रतिवादी मीरा तामाङ्गले गरि दिएको वयान कागज ।

      ६.    २०५७।१०।१८ गतेका दिन दाउरा काटन जंगल गई रातपरेपछि घरमा आई खाना खाई सुतेको थिए । छोरी २ ।३ महिना अगाडि देखि ज्वाईको घर इलाम दानावारी ३ वाट आई माइत नै वसेकी थिईन । ज्वाई डिल्ली गएको ५ वर्ष भएको र आज सम्म नआएको कारण माइत वसेकी हुन र म घर नवस्ने र मीरा तामाङ्गको भँुडि त्यति नदेखिने भएको हुँदा मलाई केही थाहा भएन । मिति २०५७।१०।१९ गत के कुन समयमा मेरो छोरी मीरा तामाङ्गले वच्चा पाई कोठेवारीमा माटाले पुरी मारीछ मलाई थाहा भएन । सो सम्वन्धमा मेरो कुनै सहमती छैन । निजले नै माटाले पुरी मारेकी हुन भन्ने प्रतिवादीकी आमा नितामायाँ तामाङ्गले गरी दिएको कागज ।

      ७.    ज्वाई भारत डिल्ली गएको ५ वर्षभयो । घरमा नआएकोले छोरी मीरा तामाङ्ग२ ।३ महिना अगाडि देखि माइत मेरो घरमा वसेकी थिइन । म घरमा नवस्ने हुँदा छोरीले पेट वोकेको मैले थाहा पाइन । मिति २०५७।१०।१९ गते मा माटाले पुरेको नवजात शिशुको लास देख्दा थाहा भएको हो। मेरो छोरीले नै वच्चा जन्माई जिम्दै माटोले पुरी मारेको हो अन्य कसैको सहमती छैन भन्ने प्रतिवादी कै वावु शेरवहादुर तामाङ्गले गरिदिएको कागज ।

      ८.    प्रतिवादीको वयान, लास पोष्टमार्टम रिर्पोट एवम डाक्टरले गरि दिएको रिर्पोेट अनुसार निज प्रतेवादी मीरा तामाङ्गले नवजात शिशु जन्माई माटोले पुरि मारेकोमा हामीहरुलाई पुरा विश्वास लाग्छ भनि लेखाई दिएको वस्तुस्थिति मुचुलका ।

      ९.    निज प्रतेवादी मीरा तामाङ्गले नवजात शिशु वच्चा जन्माएको हो भन्ने डाक्टरले गरी दिएको स्वास्थ  परीक्षण रिपोर्ट ।

      १०.    प्रतिवादीले मु.ऐन ज्यान सम्वन्धी महलको १ नं. अनुसार कसूर गरेमा निजलाई सोही महलको १३ नं. को देहाय ३ अनुसार सर्वश्वसहित जन्मकैद सजाय गरी पाउँ भने समेत व्यहोराको अभियोग दावी ।

      ११.    आज भन्दा ६ महिना अघी मानवहादुर तामाङ्ग संग प्रेममायाँ वसी निजको श्रीमती घरमा नभएको मौका मलाई निजले आफ्नो घरमा वोलाई करणी गरेको थियो । यसरी हामी दुईले ३।४ पटक विभिन्न मिति समयमा करणी लिनु दिनु गरेको थियौ, सोही करणीवाट मैले गर्भधारण गरेछु र मैले गर्म धारण गरेको कुरा मानवहादुर तामाङ्गलाई भेटी भन्दा निजले डाक्टरकोमा जानु पर्छ र गर्भपतन गराउनु पर्छ तिमी नडराउ , तिम्रो लोग्ने नेपाल फर्केर आउदैन । म तिमीसंग विवाह गर्छु । तिमीलाई श्रीमती वनाउछु भनेको हुँदा मैले निज मानवहादुरलाई करणी गर्न दिएको थिए । मैले गर्भ वोकेको २ महिना पछि म माईतीघर उर्लावारी ३ मा आई वसेको र मलाई भेट गर्न ०५७। १०।१८ गते मानवहादुर आएका थिए । निजले मलाई भोली अस्पतालमा जचाँउन जानुपर्छ भनेको थियो, अस्पताल जान नपाउदै ०५७।१०।१९ गते दिनको २ वजे मेरो माइतीघरमा कोही पनि नभएको अवस्थामा वच्चा जन्मने वेथा लागी २ घण्टापछि वच्चा जन्मियो, उक्त छोरा जन्मिएको वच्चा नरोएको र केही वेर सम्म राखी विचार गर्दा पनि रुने, कराउने, छटपटाउने जस्तो नगरेको हुँदा मरेको जन्मिएछ भनि उक्त वच्चालाई माइती घरकै वारीमा खाल्टो खनि पुरी दिएको थिए । उक्त कुरा मैले मेरो वावुआमा कसैलाई पनि भनिन । मैले गर्भधारण गरेको वावु आमालाई पनि थाहा थिएन । मैले वच्चालाई पुरी आएपछि कुकुरले उक्त पुरेको ठाउँ खोस्री वच्चालाई झिकेछ सो कुरा गाउँलेहरुले देखी गाउँमा हल्लाखल्ला भएपछि प्रहरीले थाहा पाई म उपर शंकागरी मलाई प्रहरीले पक्री लगेका हुन । मैले जिउँदो वच्चालाई माटोले पुरी मारेको चांही हौइन । मरेकै वच्चा जन्मिएकोले माटोले पुरेको हुँ । प्रतिवेदन व्यहोरा झुठ्ठा हो । प्रहरीमा भएको वयान सुने । जिउँदो जन्मिएको, रोएको र मैले घाँटी थिची मारी पुरेको भनि भनेको थिइन । प्रहरीले आफूखुसी सो वेहोरा लेखी मलाई सो वयान नसुनाई सहीछाप गराएको हो । अभियोग मांग दावी सुने । मैले वच्चालाई कर्तव्य गरी मारी पुरेको होइन । मरेकै वच्चा जन्मिएको हुँदा उक्त मरेको वच्चालाई पुरेको मात्र हुँ । तसर्थ झुठ्ठा दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मीरा तामाङ्गले अदालतमा गरेको वयान ।

      १२.   आदेशानुसार प्रहरीमा कागज गर्ने शेरवहादुर तामाङ्ग, नितामाया तामाङ्ग र वस्तुस्थिती मुचुल्काको व्यक्ति नरवहादुर विश्वकर्मा, दलवहादुर गुरुङ्ग समेतको वकपत्र भएको ।

      १३.   अभियोग मांग दावी अनुसारको आरोपित कसूर प्रतिवादी मीरा तामाङ्गले गरेकै हुँदा निजलाई सर्वश्वसहितको जन्मकैद हुने ठहर्छ । निजले गरेको कसूर अपकार्य सम्म भएको अवस्था हुँदा माथी लेखिएअनुसार सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्कों पर्ने देखिएकोले कैद वर्ष ५ हुन अ.व. १८८ नं. वमोजिम यो राय जाहेर गरिएको छ भन्ने शुरु मोरङ्ग जिल्ला अदालतको फैसला ।

      १४.   शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मीरा तामाङ्गको तर्फवाट पुनरावेदन अदालतमा पर्न आएको पुरावेदन पत्र ।

      १५.   प्रतिवादीले प्रहरी समक्ष जिउँदो जन्मेको वच्चालाई मारेको भनी गरेको वयानलाई समर्थन गर्ने अन्य ठोस प्रमाण नभएको र प्रतिवादी मीरा तामाङ्गले अदालतमा कसूर गरेको छैन भनी वयान गरेको देखिंदा निजलाई कर्तव्यको कसूरदार ठहराएको शुरु फैसला फरक पर्ने देखिएकोले अ.व. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको संयुक्त इजलासवाट भएको आदेश ।

      १६.    अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीको वयानलाई लास जाँच प्रतिवेदन समेतले पुष्टि गरेको र जातक मृत अवस्थामा जन्मिएको हो भनी मान्न मिल्ने आधार प्रमाण समेत मिसिल संलग्न रहेको नदेखिंदा प्रतिवादीलाई अभियोग दावी अनुसार ज्यान सम्वन्धी महलको १३(३) नं अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याई अवैध यौन सम्पर्कको कारणले जन्मिएको वच्चा लोकलज्जाको कारणले विवश भै सो लोकलज्जावाट वच्न सकिन्छ कि भन्ने उद्देश्यले अपकार्यसम्म भएको अवस्था देखिंदा उक्त सजाय चर्को पर्ने भनी प्रतिवादीलाई ५ वर्ष सजाय हुन अ.व. १८८ नं. वमोजिम राय जाहेर गरी शुरु मोरंग जिल्ला अदालतले गरेको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको   फैसला ।

      १७.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन ? भन्ने सम्वन्धमा नै निर्णय दिनु पर्ने देखिन्छ ।

      १८.   यसमा प्रतिवादी मीरा तामाङ्गले नवजात शिशु जन्माई कर्तव्य गरी मारेकोले निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं.वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी भएकोमा शुरु जिल्ला अदालतवाट प्रतिवादी मीरा तामाङ्गलाई अभियोग दावी वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी अ.व.१८८ नं. वमोजिम ५ वर्ष मात्र कैद सजाय गर्ने राय लगाई फैसला भएकोमा शुरु जिल्ला अदालत को उक्त फैसला उपर चित्त नवुझाई प्रतिवादी मीरा तामाङ्गको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परी पुनरावेदन अदालतवाट शुरु मोरङ्ग जिल्ला अदालतकै फैसला सदर गरी ५ वर्ष मात्र कैद सजाय गर्ने गरी अ.व. १८८ नं वमोजिम लगाएको राय समेत सदर गरी भएको फैसलामा पुनरावेदन अदालत विराटनगरवाट साधक जाहेर भै यस अदालतमा आएको देखिन्छ ।

      १९.    प्रतिवादी मीरा तामाङ्गले अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा मानवहादुर तामाङ्गसंग प्रेम वसी निजसंग पटक पटक करणी लिनुदिनु गर्दा गर्भ रहन गएको थियो । सो कुरा मानवहादुरलाई भनी आफु माइतीघर उर्लावारीमा आई वसेकोमा मिति २०५७।१०।१८ गते मानवहादुर आई भोलीपल्ट अस्पताल जँचाउन लान्छु भनेकोमा अस्पताल जान नपाउँदै मिति २०५७।१०।१९ गते दिउँसो घरमा कोही नभएको अवस्थामा वच्चा जन्मियो । लोकलाजवाट वच्नको लागि मारी आलु खनेको माटोले पुरेको हुँ भनी कसूरमा सावीत रही वयान गरेको र निजले शुरु जिल्ला अदालत समक्ष वयान गर्दा जातक जन्मेपछि रुने कराउने नगरेको हुँदा मरेको भन्ने ठानी माटोले पुरेको हुँ । जिउँदो जन्मिएको वच्चा मारेको होइन भनी वयान गरेको पाइन्छ । मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा घाँटी भाँचिएको र श्वास प्रश्वास क्रिया वन्द भै मृत्यु भएको भन्ने देखिन्छ । जातक मृतक अवस्थामा जन्मिएको भए घाँटी भाचिनु पर्ने कारण देखिदैन । मानवहादुर संगको अवैध सम्वन्धमा जन्मिएको भै लोकलाजवाट वच्न घाँटी थिची मारेको हुँ भन्ने निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टी गरी रहेको अवस्थामा जातक मरेको जन्मिएको थियो भन्ने निजको अदालत समक्षको वयानलाई अन्य कुनै प्रमाणले समर्थन नगरेको अवस्थामा विश्वास गर्न सकिने भएन । मानवहादुर संगको अवैध सम्वन्धवाट जातक जन्मिएको भन्ने कुरामा विवाद देखिदैन।

      २०.   यसरी अवैध सम्वन्धवाट जन्मिएको जातकलाई मारेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष भएको यिनको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टि गरेको र अदालत समक्ष भएको यि प्रतिवादीको इन्कारी वयानलाई समर्थन गर्ने अन्य कुनै प्रमाण आउन नसकेको अवस्था हुँदा जातक जिउँदै जन्मिएको र लोकलाजवाट वच्न यिनले कर्तव्य गरी मारेको देखिंदा यि प्रतिवादी मीरा तामाङ्गलाई मुलुकी ऐन,ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४  को  फैसला मिलेको देखिंदा सदर हुन्छ । मानवहादुरसंगको अवैध सम्वन्धवाट जन्मिएको वच्चालाई लोकलाजवाट वच्नको लागि मारेको अवस्था हुँदा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी ५ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी अ.व.१८८ नं. वमोजिम लगाएको राय समेत मनासिव देखिंदा जाहेर भएको राय र साधक सदर हुन्छ । अरुमा तपसिल वमोजिम    गर्नु   ।

 

तपसिल

माथि इन्साफ खण्डमा प्रतिवादी मीरा तामाङ्गलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी ५ वर्ष मात्र कैद सजाय गर्ने गरी शुरु जिल्ला अदालतवाट अ.व.१८८ नं. वमोजिम व्यक्त गरेको राय सदर भएकोले निजका हकमा रहेको सर्वस्वसहितको जन्मकैदको लगत कट्टा गरी ५ वर्ष कैद सजाय गर्ने गरी लगत कायम राख्नु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लगत राख्न लेखी पठाउनु ............. १

  मिसिल नियमानुसार वुझाई दिनु ..२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

 

इति सम्वत २०६०साल भाद्र ५गते रोज ५ शुभम............... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु