निर्णय नं. ७२७९ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ७२७९ ने.का.प.२०६० अङ्क ९.१०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५९ सालको रिट.नं. ३४९८
आदेश मितिः २०६०।९।१।३
विषयः– उत्प्रेषणयुक्त परमादेश ।
पुनरावेदकः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. १३ घर भै हाल केन्द्रीय कारागार शाखा (भद्रगोल वन्दीगृह) मा थुनामा रहेको विकाशप्रसाद सिन्हा
विरुद्ध
विपक्षीः पुनरावेदन अदालत पाटन समेत
§ करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दामा अदालतको फैसला वमोजिम विगो भराई पाउं भनी सो मुद्दाको वादी अनिता शर्माले दरखास्त दिंदाको अवस्थामा यी रिट निवेदक कर्तव्य ज्यान मुद्दामा अदालतवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर भै कैदमा वसिरहेको देखिन आयो । विगो भराई पाउं भनी दरखास्त परी कारवाही हुंदाको अवस्थामा यी रिट निवेदकलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्तिम नहुंदै निजको सर्वश्व हुन लागेको नभए पनि सर्वश्वसहित जन्मकैद हुने ठहर भएको फैसला अन्यथा नभएसम्म यी रिट निवेदकको सर्वश्व हुने मान्नु पर्ने ।
§ दण्ड सजायको २७ नं. मा सर्वश्व गर्दा कसूर जाहेर नहुँदै भोग दृष्टिवन्धक लेखिएका तमसुक वमोजिमको साहुको थैली परसार्नु पर्ने व्यवस्था गरिएको पाइन्छ । विपक्षी अनिता शर्मा र रिट निवेदकको वीचमा मिति २०५३।१०।२७ मा भएको करारनामाको लिखत रजिष्ट्रेशन पास भएको नदेखिंदा सो करारनामामा उल्लेखित रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गालाई भोग दृष्टिवन्धक लेखिएको मान्न नमिल्ने ।
§ निवेदकलाई सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्यथा नभई कायम रहिरहेको अवस्थामा सर्वश्व गर्दा दण्ड सजायको २७ नं. वमोजिम पर सार्नु नपर्ने रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गावाट करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला अनुसार विगो भराउन दण्ड सजायको २७ नं. को परिप्रेक्ष्यमा मिल्न नआउने ।
§ रिट निवेदकको कि.नं. १८३ को घर जग्गावाट विगो भराउनको लागि परेको फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतको तहसिलदारवाट भएको मिति २०५८।४।२३ को आदेश, सो आदेशलाई सदर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५८।५।८ को आदेश र काठमाडौं जिल्ला अदालतको उक्त आदेशलाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।९ को आदेश कानून प्रतिकूल देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने ।
(प्र.नं. ११)
पुनरावेदक तर्फवाटःविद्वान अधिवक्ता श्री कमलमणी श्रेष्ठ
विपक्षी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ताहरु श्री नारायण वल्लभ पन्त, श्री वालकृष्ण न्यौपाने, श्री अर्जुनप्रसाद कंणेल
अवलम्वित नजिरः
आदेश
न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. तारा आचार्यको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म भएको कर्तव्य ज्यान मुद्दा र मथुरा पुरीको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको कर्तव्य ज्यान मुद्दामा ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम मलाई सर्वश्वसहित जन्मकैदको सजाय गरेको काठमाडौं जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत पाटनमा मैले पुनरावेदन गरेकोमा शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनवाट मिति २०५८।९।२४ मा फैसला भएको छ । मैले विपक्षी अनिता शर्मासंग पटक पटक गरी रु. १२,५०,०००।– कर्जा लिई सो रकम वुझाइन भने काठमाडौं जिल्ला कलंकीस्थान गा.वि.स. वडा नं. ५(ख) कि.नं. १८३ को ०–४–० जग्गा र सो जग्गामा वनेको घर समेतवाट असुल गरी लिनु भनी मिति २०५३।१०।२७ मा करार गरी दिएकोले करारनामामा उल्लेखित सांवा र सोको व्याज समेत दिलाई भराई पाउं भनी निज विपक्षीले मिति २०५४।१।३१ मा म उपर फिराद दायर गरेकोमा वादी दावी वमोजिम सांवा व्याज समेत तिर्न वुझाउन पर्ने ठहर गरेको काठमाडौं जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत पाटनमा मेरो पुनरावेदन परेकोमा शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनवाट मिति २०५७।१०।९ मा फैसला भएको छ । विपक्षी अनिता शर्माले उक्त करार वमोजिम रकम दिलाई पाउं मुद्दाको फैसला वमोजिम विगो र कोर्ट फि समेत जम्मा रु.१७,९९,२३५।– काठमाडौं जिल्ला कलंकी गा.वि.स. वडा नं. ५(ख) को हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कि.नं. १८३ को ०–४–० को घर जग्गावाट असुल उपर गरी पाउं भन्ने दरखास्त दिई मेरो नाममा जारी भएको म्याद तामेल भै मलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) वमोजिम सर्वश्वसहित जन्मकैद भएको हुंदा दण्ड सजायको २७ नं. ले उक्त कि.नं. १८३ को घर जग्गा लिलाम गर्न नमिल्ने भनी मैले लिखित जवाफ दिएको थिएं । रोक्का भएको कि.नं. १८३ को सम्पत्ति जेथा देखाई विगो भरी भराउको लागि दरखास्त परी कारवाही भै रहेको अवस्था मिसिलवाट देखिएको हुँदा फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भन्ने काठमाडौं जिल्ला अदालतको तहसीलदारवाट मिति २०५८।४।२३ मा भएको आदेश उपर दण्ड सजायको ६१ नं. वमोजिम दिएको उजुरीमा तहसीलदारले गरेको आदेश रीतपूर्वक देखिंदा कानून वमोजिम गर्नु भन्ने काठमाडौं जिल्ला अदालतवाट मिति २०५८।५।८ मा भएको आदेश उपर अ.वं. १७ नं. वमोजिम मैले पुनरावेदन अदालत पाटन समक्ष निवेदन गरेकोमा काठमाडौं जिल्ला अदालतको आदेश नै सदर गरी पुनरावेदन अदालत पाटनवाट आदेश भयो । सर्वश्व गर्दा धितो नलेखिएको (पारित नभएको) साहुको थैली परसार्नु नपर्ने व्यवस्था दण्ड सजायको २७ नं. ले गरेको छ । ज्यान सम्वन्धीको १३(३) को अभियोग लागी मिति २०५३।१२।४ देखि प्रहरी हिरासतमा रही अदालतमा अभियोग दायर भए पश्चात मात्र घरायसी लिखतको आधारमा दायर हुन आएको मुद्दावाट भएको रोक्का एवं फैसलावाट मेरो घर जग्गा लिलाम गर्न नमिल्ने भन्ने दण्ड सजायको २७ नं. को स्पष्ट कानूनी व्यवस्था हुंदा हुँदै मलाई ज्यान सम्वन्धीको १३ (३) नं. वमोजिम अभियोग जाहेर भै सके पश्चात घरायसी लिखतवाट उठान गरेको मुद्दाको फैसला वमोजिम मेरो उक्त कि.नं. १८३ को घर जग्गा लिलाम गर्ने गरी काठमाडौं जिल्ला अदालतको तहसिलदारवाट मिति २०५८।४।२३ मा भएको आदेश सदर गर्ने गरेको काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको पुनरावेदन अदालत पाटनको आदेशले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२ द्वारा प्रदत्त मौलिक हकमा आघात परेको र दण्ड सजायको २७ नं. को विपरीत भएकोले ती आदेशहरु उत्प्रेषणको आदेशद्वारा वदर गरी मलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्व भएकोले उक्त करार वमोजिम रकम दिलाई पाउं मुद्दाको फैसला वमोजिम उक्त कि.नं. १८३ को घर जग्गा लिलाम गरी विगो भराउने कार्य नगर्नु नगराउनु भनी विपक्षी काठमाडौं जिल्ला अदालत तहसील फाट समेतका नाममा परमादेश समेत जारी गरी पाउँ । प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म उक्त कि.नं. १८३ को घर जग्गा लिलाम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको रिट निवेदन ।
३. लिखित जवाफ पठाउनु भनी विपक्षीहरुको नाममा सूचना पठाउनु भन्ने यस अदालतको आदेश ।
४. वादी अनिता शर्मा सित प्रतिवादीले २०५३।१०।२७ मा करारनामा गरेको, प्रतिवादी २०५३।१२।४ मा मात्र ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेको, ज्यान मुद्दाको फैसलाले प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्नु भन्दा अगावै २०५५।११।२८ को आदेशले करारा मुद्दामा कि.नं. १८३ को घर जग्गा रोक्का भएको अवस्था मिसिलवाट देखिन्छ । २०५३।१०।२७ को करारनामा जालसाजी घोषित गरी पाउं भनी यी रिट निवेदकले दिएको फिराद दावी पुग्न नसक्ने गरी २०५६।८।२७ मा काठमाडौं जिल्ला अदलतवाट भएको फैसला पुनरावेदन अदालत पाटनवाट मिति २०५७।१०।९ मा सदर भएको देखिन्छ । यी रिट निवेदक ज्यान मुद्दामा थुनामा पर्नु भन्दा अगाडि करारनामाको लिखत भएको कुरालाई विवेचना गरी वादी दावी वमोजिम विगो भराई पाउने ठहरी भएको फैसला वमोजिम दण्ड सजायको ४२ नं. को म्याद भित्र फैसला कार्यान्वयनमा वादी अनिता शर्माको दरखास्त परी प्रतिवादीले म्याद भित्र विगो वुझाउन नल्याएकोले निजका नाममा कायम भई यसै मुद्दावाट रोक्का समेत भएको कि.नं. १८३ को जेथावाट वादीको विगो भराई दिनेतर्फ कारवाही भै रहेको मिसिलवाट देखिन्छ । आफुलाई ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय भै सकेको हुंदा उक्त सम्पत्तिवाट विगो भराउन मिल्ने होइन भनी प्रतिवादीको निवेदन परेकोमा विगो भराउन मिल्ने गरी तहसिलदारवाट भएको आदेश जिल्ला न्यायाधीश र पुनरावेदन अदालत पाटनवाट समेत सदर भै विगो भराउने कारवाही अन्तिम चरणमा पुगेको देखिन्छ । यसरी ज्यान मुद्दामा थुनामा पर्नु भन्दा अगावै लिखत भएको करार मुद्दाको फैसला पुनरावेदन अदालत पाटनवाट सदर भै सोही फैसला समेतका आधारमा फैसला कार्यान्वयन सम्वन्धी कारवाहीको क्रममा भएका आदेशहरुवाट यी रिट निवेदकको कुनै पनि हक अधिकार हनन भएको भन्न मिल्ने अवस्था मिसिलवाट नदेखिएको हुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको विपक्षीहरु काठमाडौं जिल्ला अदालत र सो अदालतको तहसिल शाखाको संयुक्त लिखित जवाफ ।
५. विपक्षी स्वयं पक्षकार भएको फैसला वमोजिमको रकम निजले तिर्न वुझाउने होइन भन्न मिल्दैन । दण्ड सजायको २७ नं. अदालतवाट सर्वश्व गर्दाका वखत अवलम्वन गर्ने प्रक्रिया हो । सो सम्वन्धमा सर्वश्व भई आउने सम्पत्ति वारेमा श्री ५ को सरकारलाई मात्र हकदैया प्राप्त हुन सक्दछ । विपक्षीलाई उक्त दफाले कुनै हक प्रदान गरेको छैन । विपक्षी र मेरो वीच मिति २०५३।१०।२७ मा करारनामाको लिखत खडा भएको हुंदा विपक्षी कर्तव्य ज्यान मुद्दामा पक्राउ हुनु भन्दा अगावै उक्त लिखत भएको हो । उक्त लिखत वमोजिमको रकम विपक्षीवाट दिलाई भराई पाउने गरी काठमाडौं जिल्ला अदालतवाट मिति २०५६।८।२७ मा फैसला भई सकेको छ । जवकि ज्यान मुद्दामा निजलाई ज्यान सम्वन्धीको १३(३) वमोजिम सजाय गर्ने गरी मिति २०५६।११।४ मा मात्र फैसला भएको छ । फैसला कार्यान्वयनको क्रममा विपक्षी स्वयंले मिति २०५३।१०।२७ को करारनामामा उल्लेख गरेको अचल सम्पत्तिवाटै उक्त रकम भरीभराउ कार्यका लागि भएको कार्यवाट विपक्षीको कुनै हक प्रचलनमा आघात परेको छैन । तहसीलदारको मिति २०५८।४।२३ को आदेश उपर साधारण अधिकार क्षेत्र अन्तर्गत तह तह मूल्यांकन एवं विवेचना भई निरोपण भएको कुरामा रिट क्षेत्र आकर्षित हुने अवस्था समेत छैन । कानून वमोजिम अधिकार प्राप्त निकायवाट सम्पन्न भई रहेको कार्यलाई रोक्न प्रतिषेधको आदेश जारी हुने होइन । ज्यान मुद्दाको फैसलाको कारणवाट अघिल्लो फैसलाको कार्यान्वयन हुनवाट रोकिने होइन । कानून प्रतिकूलको रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको विपक्षी अनिता शर्माको लिखित जवाफ ।
६. मिति २०५३।१०।२७ को करार र सो करार सम्वन्धमा मुद्दा परी पक्ष विपक्ष वीच भएको करार अनुसार विगोमा कारवाही चल्दा तहसीलदारको २०५८।४।२३ को आदेश समर्थन गर्ने गरी जिल्ला न्यायाधीशले मिति २०५८।५।८ मा गरेको आदेश मिलेकै देखिंदा केही गर्नु परेन, कानून वमोजिम गर्नु भन्ने यस अदालतवाट भएको आदेश कानून वमोजिम भएको हुंदा रिट निवेदन खारेज योग्य भएकोले खारेज गरी पाउं भन्ने व्यहोरोको विपक्षी पुनरावेदन अदालत पाटनको लिखित जवाफ ।
७. सर्वश्वसहित जन्मकैदको अभियोगको दावी परी तह—तह दावी वमोजिम ठहर्ने गरी फैसला भै यस अदालतमा पुनरावेदन परी मुद्दा विचाराधीन भएको अवस्थामा करार मुद्दाको विगो भरी भराउ हुन सक्ने नसक्ने भन्ने कुरा दण्ड सजायको २७ नं. को परिप्रेक्ष्यमा विचारणीय भै व्याख्यात्मक प्रश्न उपस्थित भएको र त्यस विषयमा रिट निवेदन टुंगो लाग्दा निराकरण हुने नै हुंदा सो अवधिसम्म विवादित विषयलाई यथास्थितिमा राख्नु वाच्छनीय देखिंदा हाल निवेदनमा उल्लेखित कि.नं. १८३ को घर जग्गाको लिलाम सम्वन्धी कारवाही जे जस्तो चरणमा पुगेको छ, यथास्थितिमा राख्नु अघि नवढाउनु भनी विपक्षी काठमाडौ जिल्ला अदालतका नाममा अन्तरिम आदेश जारी गरिएको छ भन्ने अन्तरिम आदेश जारी गरी पाउं भनी दिएको छुट्टै निवेदनमा यस अदालतवाट भएको आदेश ।
८. नियम वमोजिम पेश भएको प्रस्तुत रिट निवेदन सहितको मिसिल अध्ययन गरी रिट निवेदक तर्फवाट विद्वान अधिवक्ता श्री कमलमणि श्रेष्ठले मेरो पक्षलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्वन्धीको १३(३) वमोजिम सर्वश्वसहित जन्मकैदको सजाय भएको छ । सर्वश्व गर्दा दण्ड सजायको २७ नं.ले भोग दृष्टिवन्धक लेखिएका तमसुक वमोजिमको साहुको थैली पर सार्नु पर्ने व्यवस्था गरेको छ । विगो असुल गर्न लागेको मेरो पक्षको घरजग्गा भोग र दृष्टिवन्धक पास गरी नदिएको अवस्थामा दण्ड सजायको २७ नं. विपरीत करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला अनुसार मेरो पक्षको कि.नं. १८३ को घरजग्गावाट विगो भराउन लागेको कानून विपरीत हुंदा रिट निवेदन माग वमोजिम आदेश जारी हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
९. विपक्षी अनिता शर्मा तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताहरु श्री नारायण वल्लभ पन्त, श्री वालकृष्ण नेउपाने र श्री अर्जुनप्रसाद कंडेलले रिट निवेदकको कि.नं. १८३ को घर जग्गा लिलाम भै सक्यो । पछिको लिलामी कार्य वदर गरी पाउं भन्ने रिट निवेदनमा दावी छैन । माग दावी वेगर लिलाम वदर हुन सक्दैन । करारको लिखत हुनु भन्दा पछि मात्र निवेदक ज्यान मुद्दाको हिरासतमा वसेको देखिन्छ । दण्ड सजायको २७ नं. को व्यवस्था सर्वश्व गर्ने वेला प्रयोग हुने हो, अहिले सर्वश्व हुन लागेको होइन । सर्वश्व भएपछि श्री ५ को सरकारको सर्वसंचित कोषमा जाने भनी निवेदन दिने हकदैया निवेदकलाई छैन । रिट निवेदन खारेज हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१०. उपरोक्त वहस समेतलाई दृष्टिगत गरी रिट निवेदन माग वमोजिम आदेश जारी गर्न मिल्ने, नमिल्ने सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णय तर्फ विचार गर्दा वादी अनिता शर्मा प्रतिवादी यी रिट निवेदक भएको करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला वमोजिमको विगो रिट निवेदकको कि.नं. १८३ को घर जग्गावाट भराई पाउं भनी वादी अनिता शर्माले दरखास्त दिएकोमा रिट निवेदकलाई कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद भएकोले दण्ड सजायको २७ नं. ले उक्त कि.नं. १८३ को घर जग्गा लिलाम गर्न नमिल्ने भनी रिट निवेदकले लिखित जवाफ दिंदा फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतको तहसीलदारवाट भएको आदेश र सो आदेशलाई सदर गरेको काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको आदेश वदर गरी कि.नं. १८३ को घर जग्गा लिलाम गरी विगो भराउने कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी गरी पाउं भन्ने रिट निवेदकको माग भएको देखिन्छ । दण्ड सजायको २७ नं. अदालतवाट सर्वश्व गर्दाका वखत अवलम्वन गर्ने प्रक्रिया हो रिट निवेदक ज्यान मुद्दामा पक्राउ हुनु भन्दा अगावै करारनामाको लिखत भएको र करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला कर्तव्य ज्यान मुद्दाको फैसला भन्दा अघिनै भैसकेको अवस्था हुंदा रिट निवेदन खारेजभागी छ भन्ने व्यहोराको लिखित जवाफ जिकिर भएको पाइन्छ । यी रिट निवेदक र विपक्षी अनिता शर्माको वीचमा मिति २०५३।१०।२७ मा करारनामाको कागज भएको देखिन्छ र सो करार वमोजिमको रकम दिलाई पाउं भनी अनिता शर्माले यी रिट निवेदक उपर दायर गरेको मुद्दामा दावीको करारनामा वमोजिमको सांवा व्याज समेत प्रतिवादीले तिर्न वुझाउन पर्ने ठहर्छ भनी शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५६।८।२७ को फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनवाट मिति २०५७।१०।९ मा फैसला भएको देखिन्छ । सो मिति भन्दा अगावै तारा आचार्यको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी यी रिट निवेदक भएको कर्तव्य ज्यान मुद्दामा निज प्रहरीको हिरासतमा रहेको देखिन आउछ । सो ज्यान मुद्दा र मथुरा पुरीको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी यी रिट निवेदक समेत भएको कर्तव्य ज्यान मुद्दामा यी रिट निवेदकलाई सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५६।११।४ को फैसला सदर हुने ठहरी पुनरावेदन अदालत पाटनवाट मिति २०५८।९।२४ मा फैसला भएको देखियो । पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पुनरावेदन परेको २०५९ सालको फौ.पु.नं. ३३४६,३३४५ र २७०७ को ती दुवै कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहरी आजै यसै इजलासवाट फैसला भएको छ । उपरोक्त करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दामा अदालतको फैसला वमोजिम विगो भराई पाउं भनी सो मुद्दाको वादी अनिता शर्माले दरखास्त दिंदाको अवस्थामा यी रिट निवेदक कर्तव्य ज्यान मुद्दामा अदालतवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर भै कैदमा वसिरहेको देखिन आयो । विगो भराई पाउं भनी दरखास्त परी कारवाही हुंदाको अवस्थामा यी रिट निवेदकलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्तिम नहुंदै निजको सर्वश्व हुन लागेको नभए पनि सर्वश्वसहित जन्मकैद हुने ठहर भएको फैसला अन्यथा नभएसम्म यी रिट निवेदकको सर्वश्व हुने मान्नु पर्ने हुन आयो । दण्ड सजायको २७ नं. मा सर्वश्व गर्दा कसूर जाहेर नहुँदै भोग दृष्टिवन्धक लेखिएका तमसुक वमोजिमको साहुको थैली परसार्नु पर्ने व्यवस्था गरिएको पाइन्छ । विपक्षी अनिता शर्मा र रिट निवेदकको वीचमा मिति २०५३।१०।२७ मा भएको करारनामाको लिखत रजिष्ट्रेशन पास भएको नदेखिंदा सो करारनामामा उल्लेखित रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गालाई भोग दृष्टिवन्धक लेखिएको मान्न मिलेन । रिट निवेदकलाई सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्यथा नभई कायम रहिरहेको अवस्थामा सर्वश्व गर्दा दण्ड सजायको २७ नं. वमोजिम पर सार्नु नपर्ने रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गावाट करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला अनुसार विगो भराउन दण्ड सजायको २७ नं. को परिप्रेक्ष्यमा मिल्ने देखिन आएन । अतः रिट निवेदकको माग वमोजिम रिट निवेदकको कि.नं. १८३ को घर जग्गावाट विगो भराउनको लागि परेको फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतको तहसिलदारवाट भएको मिति २०५८।४।२३ को आदेश, सो आदेशलाई सदर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५८।५।८ को आदेश र काठमाडौं जिल्ला अदालतको उक्त आदेशलाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।९ को आदेश कानून प्रतिकूल देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर गरिएको छ । अव दण्ड सजायको २७ नं. वमोजिम गर्नु भनी विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने ठहर्छ । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति सम्वत् २०६० साल पुस १ गते रोज ३ शुभम्................................................