निर्णय नं. १५८५ - संघियार कायमगरी पाऊँ ।

निर्णय नं. १५८५ ने.का.प. २०३९ अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३८ सालको देवानी पुनरावेदन नम्बर ३०५
फैसला भएको मिति : २०३९।८।८।१ मा
पुनरावेदीका/प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं.१६ तेखाचो बस्ने रुद्रमाया श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.वा.नं.१३ बस्ने शिवप्रसाद साखकर्मिको मु.स.गर्ने चिनीमाया साखकर्मि
मुद्दा : संधियार कायम गरी पाउँ
(१) के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्याई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १०)
उल्लिखित मुद्दा : वादी द्वारीकानाथ श्रेष्ठ विरुद्ध चिनीमाया श्रेष्ठनी भएको सम्वत् २०३७ सालको दे.फु.नं. ३५ निखनाइपाउँ भन्ने मुद्दामा फु.बेञ्चबाट निर्णय ने.का.प. भाग २३ अंक ७ निर्णय नं., १४८२ मा प्रकाशित
फैसला
न्या.बासुदेव शर्मा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :
२. बुबा रामदास परलोक भएपछि कान्छी आमा कमलादेवीको हक आएको भ.पु.नं.पं..वडा नं.१६ तेखाचोको पूर्व विकुलालको घर, पश्चिम पचलालको घर, मुनी मसमेतको पसल, उत्तर मूलसडक, दक्षिण पंचलालको बगैंचा यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम लम्बाईको तिन कबले ४ तले घर र सो घर जोडिएको उत्तर दक्षिण लम्बाईको १ नाले लम्बाई हात १२ को ४ तले पक्की घर तथा चर्चेको लगापात समेतको घर मिति ०३४।६।१२ का दिन कान्छी आमा कमलादेवीले उत्तर मोहडा चार कबल पसल मध्ये दुई कबल बाहेक र पश्चिम साँध पंचलालको भन्ने जनाई विपक्षी रुद्रमाया श्रेष्ठलाई का.प.जि.माल कार्यालय मार्फत ४५,००१।–मा फार्छे राजीनामा लेखी रजिष्ट्रेशन समेत गरी लिनु दिनु गर्नु भएछ । राजीनामाको उल्लिखित घरको सन्धीसर्पन पर्ने व्यक्ति पनि म नै भएकोले थैली रु.४५,००१।–समेत राखी ऐनका म्याद भित्र भ.पु.भू.प्र.शाखामा निखन्न पाउँ भन्ने दर्खास्त गर्दा विपक्षले निखन्न दिन मञ्जुर गर्नु नभएकोमा सबूत प्रमाण बुझी इन्साफ दिनु पर्ने देखिई ३५ दिन भित्र अदालतमा जानु भनी ०३५।५।१४ मा पर्चा गरी दिएको छु । मेरो घर पसलको लागि नभई नहुने नभएमा असजिलो अवस्था पर्ने सँगै जोडिएको घर पसलको नजिकको जग्गा जमीन मेरो सन्धीसर्पन पर्ने हो । मैले निखन्न पाउने ठहर गरी पाउँ भन्ने समेत मिति ०३५।६।१६।२ को शिवप्रसाद साखकर्मिको फिरादपत्र रहेछ ।
३. मुलुकी ऐन लेनदेन व्यवहारको संशोधित ११ नं.मा भएका कानूनी व्यवस्थानुसार हकवाला हुँदैमा निखन्न पाउने हुँदैन, सन्धीसर्पन परेको हकवाला हुनुपर्छ, मैले खरीद गरी लिएको घर पसल विपक्षीलाई सन्धीसर्पन पर्दैन । यो यति कारण अवस्था परिवन्दबाट विपक्षीलाई नभई नहुने प्रकारको सन्धीसर्पन परेको हो, विपक्षीले निखनाई माग्न दिनु भएको दर्खास्त तथा प्रस्तुत फिरादमा समेत उल्लेख भएको देखिँदैन । विपक्षीलाई कुनै प्रकारको सन्धीसर्पन पर्ने नै होइन । सँधियार हुँदैमा र कसैको घर पसल कसैसँग जोडिंदैमा त्यतिको आधारबाट सन्धिसर्पन पर्ने पनि हुँदैन । सँधियार हकवालाले निखन्न पाउने मुलुकी ऐन लेनदेन व्यवहारको संशोधित ११ नं.मा कानूनी व्यवस्था छैन । सँधियार हुँदैमा निखन्न पाउँदैन, सन्धीसर्पन परेकै हुनुपर्दछ भन्ने कानूनी सिद्धान्त २०२९ सालको दे.पु.नं.११८५ को निखनाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३०।२।२२।२ मा प्रतिपादित गरी फैसला भएको हुँदा नजीर लगाई पाउन अनुरोध गर्दछु । विपक्षीलाई सन्धीसर्पन पर्दैन, झुठ्ठा दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत रुद्रमाया श्रेष्ठको प्रतिउत्तर ।
४. घर नजिकको जग्गा जमीन र नभई नहुने घरलाई समेत मान्नु पर्ने हुँदा न.नं.१ को हकदार प्रतिवादी दाताको हकदार भएको वादीलाई न.नं.१ को नाताबाट त्यो जोडिएको घरमा सन्धीसर्पन परेन भन्न मिल्ने देखिएन । वादी दावी बमोजिम प्रतिवादीले खरीद गरेको न.नं.२ र ४ का घर वादीलाई सन्धीसर्पन पर्न आउने हुँदा निखन्न पाउने ठर्हछ भन्ने समेत भक्तपुर जिल्ला अदालतको मिति ३६।३।३२।२ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन परेकोमा न.नं.१ को र न.नं.२ को पसल एकैसाथ रहेका नक्सा र लिखतबाट प्रष्ट हुन आउँछ । न.नं.१ को पसलमा वादीसमेतको हक भएको हकदारले न.नं.२ मा हकसफामा आएको देखिएबाट लेनदेन व्यवहारको दफा १२ को देहायको २ (१) ले निखन्न पाउने अवस्था देखिन आएबाट पुनरावेदकको जिकिर पुग्न सक्दैन । सुरुको फैसला मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३७।१२।२५।३ मा फैसला भएको रहेछ ।
६. उक्त इन्साफमा चित्त बुझेन मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको निवेदन परेकोमा प्रतिवादी रुद्रमायाले खरीद गरेको जग्गा सन्धिसर्पन पर्ने हकवाला हुँ भनी वादीले दावी गर्दा सो जग्गाको साँधमा वादीको जग्गा नभएको भन्ने प्रमाण ०३७।१२।१९ गतेको बण्डा मुचुल्का हुनाले सो नबुझी भएको फैसला ऐनको दफा ५४ ले बदर हुने हुनाले त्यस्तो त्रुटि गरेको हुँदा र सो सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०१३ को दफा १३ को उपदफा (५) को अवस्था विद्यमान हुँदा पुनरावेदनको लागि अनुमति दिईएको छ भन्ने डिभिजनबेञ्चको मिति ०३८।७।१९।४ को आदेश समेत रहेछ ।
७. यसमा भ.पु.न.पं.वडा नं.१६ तेखाचीको उत्तर मोहडा पूर्व पश्चिम लम्बाईको तिन कबले तिन नाले ४ तले घर, सो घर जोडिएको उत्तर दक्षिण लम्बाइको १ नाले लम्बाई हात १२ को ४ तले पक्की घर र चर्चेको लगापात समेतको घर मिति ०३४।६।१२ का दिन कान्छी आमा कमलादेवीले उत्तर मोहडा चार कबल पसल मध्ये दुई कबल बाहेक विपक्षी रुद्रमायालाई का.पं.माल कार्यालय मार्फत रु.४५,००१।–मा फार्से राजीनामा रजिष्ट्रेशन समेत गरी लिनु दिनु गर्नु भएछ । सन्धीसर्पन गर्ने व्यक्ति पनि म नै भएकोले रु.४५,००१।–समेत राखी ऐनका म्याद भित्र भू.प्र.का.मा नखिन्न पाउँ भन्ने दर्खास्त गर्दा अदालतमा जानु भनी ०३५।५।१४ मा पर्चा गरेकोले मेरो घर पसलको लागि नभई नहुने घर पसलको नजिकको जग्गा जमीन मेरो सन्धीसर्पन पर्ने हो निखन्न पाउने ठहर गरी पाउँ भन्ने वादीले मुख्य दावी लिएको प्रस्तुत मुद्दामा सुरु भक्तपुर जिल्ला अदालतबाट वादी दावी बमोजिम प्रतिवादीले खरीद गरेको न.नं.२ र ४ को घर वादीलाई सन्धीसर्पन पर्न आउने हुँदा निखन्न पाउने ठर्हछ भन्ने समेत गरी भएको फैसलालाई मनासिव ठहराउँदै मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ ।
८. प्रस्तुत मुद्दाको साथ प्रमाण निमित्त प्राप्त भई रहेको दर्खास्तवाला यिनै विपक्षी वादी शिवप्रसाद साखकर्मिले विपक्षी यिनै पुनरावेदक रुद्रमाया श्रेष्ठ उपर विवादास्पद घर जग्गा निखन्न पाउँ भन्ने विषयमा भूमि प्रशासन कार्यालय भक्तपुरमा दिएको उजुरी दर्खास्तमा विपक्षी रुद्रमाया श्रेष्ठले मलाई निखन्न दिन मान्नु नभएकोले मुलुकी ऐन लेनदेन व्यवहारको ११ अनुसार म सन्धीसर्पन पर्ने हकवालाले उल्लिखित घर निखनी लिन चाहेको हुँदा लिखत रजिष्ट्रेशन भएको मिति ०३४।६।१२ ले नक्कल सारी ल्याई थाह पाएको ३५ दिन भित्र दर्खास्त गर्न आएको छु निखन्न पाउँ भन्ने मुख्य जिकिर लिएको देखिन आएको र मिसिल संलग्न भई आएको नक्साबाट न.नं.१ र २ जोडिएको बाहेक यो यति परिवन्ध र यति कारण समेतले विवादको घर मलाई सन्धीसर्पन पर्छ भनी वादीले प्रमाण सहित दावी लिएको देखिँदैन ।
९. त्यस्तै प्रश्न समावेश भएको निवेदक द्वारिकानाथ श्रेष्ठ विरुद्ध चिनीमाया श्रेष्ठनी भएको सम्वत् २०३७ सालको दे.फू.नं.३५ को निखनाई पाउँ भन्ने मुद्दामा फुलबेञ्चबाट निर्णय हुँदा प्रतिवादीले किनेको घरको एक किलासको थोरै गार्होसँग वादीको घरको गार्हो पश्चिमतर्फ जोडिदैमा त्यतिकै नाताबाट वादीको घरदेखि पूर्व उत्तर दक्षिण तिनतिरै खुल्ला भई तिनतिरबाट हावा, प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा प्रकाश घाम बन्द हुने सन्धीसर्पन पर्ने कुरा देखिन आउँदैन भन्ने समेत निर्णय भई नेपाल कानून पत्रिका भाग २३ सम्वत् २०३८ कार्तिक अंक ७ मा निर्णय नं. १४८२ बाट प्रकाशित भई सकेको समेत पाइन्छ ।
१०. माथि लेखिए बमोजिम वादी शिवप्रसादको फिरादमा सन्धीसर्पन पर्ने व्यक्ति पनि म नै भएकोले मेरो घर पसलको लागि नभई नहुने, नभएमा असजिलो पर्ने भन्ने कुराको दावी मात्र लिई विवादको घर वादीलाई के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्याई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । अतः उपरोक्त फुलबेञ्चबाट भएको निर्णयको समेत विपरीत गर्दै वादी दावी बमोजिम निखन्न पाउने ठहराई सुरुको सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ती ठर्हछ । पुनरावेदीका प्रतिवादी रुद्रमायाले यस अदालतमा पुनरावेदन गर्दा मिति २०३८।८।९।३ मा राखेको कोर्टफी रु.१।५०–भराई पाउँ भनी वादीको यस सरहदको जायजात देखाई कोर्टफी ऐनका म्याद २ बर्ष भित्र प्रतिवादीको दर्खास्त परे दस्तुर केही नलिई उक्त कोर्टफी रु.१।५०–वादीबाट प्रतिवादीलाई भराई दिनु भनी का.जि.अ.मा लगत दिई नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल मार्ग ८ गते रोज ३ शुभम् ।