शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५८६ - लिखत पास

भाग: २४ साल: २०३९ महिना: पौस अंक:

निर्णय नं. १५८६     ने.का.प. २०३९ अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रि.फू.नं. १९४

फैसला भएको मिति  : २०३९।८।१८।६ मा

पुनरावेदक/प्रतिवादी : जि नवलपरासी स्वाठि गा.पं.वार्ड नं.२ रजहवा बस्ने रामधनी यादव र फेरइ     यादव 

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने भुदर यादव

मुद्दा : अंश

(१)                आफ्नो अंश जग्गा समेत बण्डा गरी घरसारमै लिई दिई गरेको देखिन आएकोले प्रचलित मुलुकी ऐन अंशबण्डाको ३० नं.अनुरुप प्रतिवादीबाट अंश दिलाई पाउँ भनी गरेको वादी दावी नपुग्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल तथा यादवप्रसाद खरेल

विपक्षी वादीतर्फबाट :

उल्लिखित मुद्दा :

फैसला

न्या.बासुदेव शर्मा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश  हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :

२.    बाजे अयोध्याका छोरा ३ मध्ये माहिला हरिद्धार अघि नै परलोक भएका बाँकी जेठा बैजु कान्छा अन्यायवाला रामधनीको छोरा अन्यायवाला फेरइ र जेठा बाबुको छोरा म भुदुर मेरो छोरा रामबदन अन्यायका फेरइका छोरा रामचन्द्र रामबरण समेतको पुस्तावली हो । हामी सबै एकासगोलमा बसी आएको विर्ताको जग्गा हुँदा २०१६ सालमा विर्ता उन्मूलन हुँदा केही जग्गा भुदुरका नाउँमा र अरु सबै जग्गा अन्यायको रामधनीको छोरा फेरइका नाउँमा दर्ता गराई सगोलमै बसी भोग चलन गरी आएका थियौं । भूमिसम्बन्धी नियम, २०२१ को नियम ३ बमोजिम  अन्यायको दाइ फेरइले जग्गाको मोहीको लगत दिँदा सबै जग्गाको फाँट र एका घरका परिवारमा मलाई भाइ भुदुर लेखी सबै परिवारको नाम लेखी कैफियतमा ४१९० निजको भाइ म भुदुरका नाममा रहेको र ५ विगाहा जग्गा अधियामा कमाएको भन्ने समेत ०२२ साल फाल्गुण २९ गते भू.प्र.न.पं.मा दाखिल गर्नु भएको अनुसुचि १ भरे अनुसार सम्पूर्ण जग्गाको पूर्ण स्वामित्व निज फेरइ भएको प्रष्ट देखिन्छ । २०२५ साल जिल्ला सर्भे नापीमा अन्यायका फेरइले म भुदुरका नाउँमा ३१७ जग्गा दर्ता गराई अरु आफ्नो नाउँमा दर्ता गराउनु भएको, यस बेला सम्म भोग चलन भने सगोलमै भैरहेको । २०२८ साल माघ २८ गते माना सम्म बेग्लै भई अरु सब सगोलैबाट भोगचलन गरी आएको हाल अंश दिनुस् भन्दा दिन्न भन्ने जवाफ दिएकोले नालिस गर्न आएको छु । २०२८ साल माघ २८ गतेसम्मको विपक्षीवालाबाट अचल सम्पत्तिको फाँट लिई २ भागको १ भाग मेरा बाबुले पाउने अंश पाउँ भन्ने भुदुर यादवको फिरादपत्र ।

३.    वादी दावी अनुसार वादीलाई अंश दिनु पर्ने छैन । वादीको एकाघर सराकतमा बसी भन्ने दावी पनि झुठ्ठा हो । बाजे अयोध्याप्रसाद तथा प्र.रामधनिको पालामा समेत कुनै जग्गा नभएको पछि वादी भुदुरले रैजहवाको दर्तावाला रैती श्रीदेवी भण्डारीसँग जग्गा उखडामा जोत्न कमाउन मागी जोते कमाएको र सोही मौजा रैजहवाको दर्तावाला रैति श्री विष्णुप्रसाद पन्तसँग जग्गा उखडामा जोत्न मागी फेरइले जोतेका हुन् । पछि उखडा सम्बन्धी ऐन, ०२१ लागू भएपछि सो ऐन अनुसार उक्त जग्गा नम्बरीमा परिणत हुन आएको हो । बाजे अयोध्याका पालादेखि ठेक्कामा जोती कमाई आएको भए २०१६ सालमा विर्ता उन्मूलन हुँदाको बखत सो जग्गा प्र.रामधनिका नाममा दर्ता हुन आउने थियो, जुन भएन । यसरी पैतृक आर्जनको सगोलको जग्गा जमीन केही पनि नभई वादीको नाममा दर्ता भएको जग्गा र दावीको भएको जग्गा र दावी मध्येका फेरइको नाममा दर्ता भएको जग्गा समेत आआफ्नो प्रयास शिपबाट उखडामा कमाउन पाई उखडाबाट नम्बरीमा दर्ता हुन आएकोले मुलुकी ऐन अंशबण्डाको संशोधित दफा १८ अनुसार मानु नछुटिई सँगैबसेका अंशियारले पनि उक्त वादी प्रतिवादीका नाममा दर्ता रहेको जग्गा आफ्नो आफ्नो निजी ठहरी आफ्नु खुसी गर्न पाउने अंशबण्डा गर्न कर नलाग्ने । यी वादीसँग अघि कुटपिट मुद्दा समेत परी इवीवाला भएकोले झुठ्ठा उजुर गरेको । सो झुठ्ठा उजुर दावाबाट फुर्सद पाउँ भन्ने समेत रामधनी फेरइ यादव समेतको प्रतिउत्तरपत्र ।

४.    वादी बेग्लै छन् । किन कसरी उक्त फाराममा नाम लेखियो, लेखाइयो यसै भन्न सक्दिन भन्ने समेत रामबदनले अदालतमा गरेको बयान ।

५.    अनुसूची तर्फ जुन भूलबाट लेखिएको होला भनी बयान गर्नु भएको छ सो नभई सगोल सदाकालमै भएको र भएकै पनि हो, त्यसै कारणबाट फेरइ दाइले लेखाउनु भएको हुँदा भूल भई लेखी लेखाएको भन्ने झुठ्ठा हो भन्ने समेत रामबहादुरले अदालतमा गरेको बयान ।

६.    २०२८ साल माघमा घरमा झगडा भई चलमा २ बण्डा लगाई जग्गा पनि हरेक कित्ता भाग लगाई मलाई दिनु भएको अनुसार तिरो बुझाई आएको भन्ने प्रकरण ६ मा र ०२८ साल फल्गुण २८ गते भन्दा अगाडिका दिनसम्मको तायदाती लिई अंश दिलाई पाउँ भन्ने प्रकरण ८ मा उल्लेख भएको पाइयो । यसबाट वादी र प्रतिवादीमा अंशबण्डा एक पटक भई सकेको रहेछ भन्ने देखिन आयो । साथै पेश भएको दर्ता प्रमाणबाट वादी प्रतिवादीको नाउँमा अलगअलग उखडाबाट दर्ता भएको जग्गाको पत्रहरु पनि मिसिलबाट देखिन आयो । अब वादीमा मुख्य जिकिर भूमिसुधार कार्यालयमा अनुसूची १ मोहीको लगतमा भाइ भुदुर बर्ष २५ को भनी लेखिएकोबाट म एकाघरको छु र अंश अचल दिलाई पाउँ भन्ने माग दावी भएको छ । तर, रामधनी प्रतिवादीको बाबु वादी यो प्रतिवादी भएको कुटपिट मुद्दामा प्रतिवादी भै वादी भुदुरले दिएको प्रतिवादी ०३५ साल श्रावण १५ गतेमा यस अदालतमा दिएकोमा हामीहरुको अंशियार भई चल अचल सबैमा भागबण्डा गरी भोगी आएका थियौं । वादी घर मेरै भागमा परेकोमा घर नउठाई दिएबाट झगडा भएको हो भन्ने कुरा उल्लेख भएको देखियो । यसरी वादीले नै उक्त प्रतिवादीमा चल अचल भागबण्डा गरी गराई भोगी आएको भन्ने आफ्नो प्रतिउत्तर र ०३५ साल श्रावण १५ गते दरिएकोबाट उक्त १ नं.फाराम भन्दा पछाडि छुट्टिएकोमा वादी नै साविती भएको प्रमाण मिसिलबाट देखिन आयो । यसरी वादी प्रतिवादी एक पटक छुट्टिई भिन्न भएको मिसिल प्रमाणबाट देखिनाले मुलूकी ऐन अंशबण्डाको २० नं.ले यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र र बण्डा गरी नगरी आफ्नो हिस्सा लिई दाखिल खारेज गराई सकेको प्रमाणबाट बण्डा भएको ठहरेको पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा असल कमसल भयो भन्न पाउँदैन भन्ने उल्लेख भए अनुसार एकपटक बण्डा भएको र आफ्नो आफ्नो जग्गा आआफ्नो नाउँमा दर्ता समेत भएकोबाट उक्त ३० नं.ले बण्डा हुनु पर्ने देखिन आएन । साथै वादी प्रतिवादी दुवै थरले अचल जग्गा उखडाबाट जग्गा प्राप्त गरेको प्रमाणबाट देखिन आयो र उखडाबाट जग्गा प्राप्त गर्नु नै आफ्नो सिप प्रयासबाट प्राप्त भएको देखिनाले त्यस्तो आर्जन बण्डा गर्न कर नलाग्ने अंशबण्डाको १८ नं.मा पनि व्यवस्था भएको देखिनाले वादीलाई अंश दिलाउन पर्ने देखिएन । वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत नवलपरासी जिल्ला अदालतको मिति २०३५।१२।३०।५ को फैसला ।

७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुरावेदन पत्र ।

८.    वादी प्रतिवादीका बीच अंश भाग घटि बढी भएको आधारमा फिराद गरेको हो । घरसारमा अंशभाग बुझी लिई भोग गरेको हो अंश नै नभएकोमा यो उजुर हैन भनी बहस गर्नु भयो । वादी प्रतिवादीलाई उखडा जग्गा अलग अलग भोग गरेको भन्ने देखिन्छ । तर, घर व्यवहारमा अंशबण्डा भएको मान्न सकिने देखिन्न । अलग अलग भागबण्डा गरी तिरो तिरान गरेको मान्न सकिएन । तसर्थ, अंशबण्डाको संशोधित दफा ३० अनुसार अंशबण्डा भएको मान्न मिलेन । वादी प्रतिवादीबाट आएको तायदाती बमोजिम वादीले दावी बमोजिम दुइ भागको एक भाग अंश पाउने ठहर्छ । नवलपरासी जि.अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।२।९।५ को फैसला ।

९.    सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी रामधनी यादव समेतको निवेदनमा यी निवेदक वादी र विपक्षी भुदुर यादव प्रतिवादी भएको कुटपिट मुद्दाको प्रतिवादीले विपक्षका अंशमा पर्ने चल अचल लिई छुट्टिएकोमा भैंसी बाँध्ने धारी घर चापेको भन्ने बारेमा पञ्चायती समेत भएको भन्ने कुरा ०३५ साल आषाढमा दिनु भएको प्रतिउत्तरमा किटानी लेख्नु भएको भन्ने निवेदनको प्रकरण ५ मा देखिन्छ । तसर्थ, सबूत प्रमाणको मूल्यांकन नगरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले अंश पाउने ठहर्छ भनी गरेको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भिर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति ०३८।४।६।३ को आदेश ।

१०.    पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल तथा यादवप्रसाद खरेलको बहस समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव या गल्ती के रहेछ निर्णय दिनु परेको छ ।

१२.   बाजे अयोध्याका ३ छोराहरु मध्ये माहिला हरिहर अघि नै परलोक भएका बाँकी जेठा बैजु कान्छा, अन्याय रामधनी र रामधनिको छोरा फेराइ र जेठा बैजुको छोरा १ म भुदुर हुदाई फेरइले भूमिसम्बन्धी नियम, ०२१ को नियम ३ बमोजिम मोहीको लगत दिंदा सबै जग्गाको फाँट कैफियतमा ४१९० निजको भाइ म भुदुरका नाउँमा रहेको र ५ विगाहा जग्गा अधियामा कमाएको भन्ने समेत लिखत दाखिल गरेको । २०२५ सालमा सर्भे नापीमा अन्यायी फेरइले म भुदुरका नाउँमा ३१७१ जग्गा दर्ता गराई अरु आफ्नै नाउँमा दर्ता गराएको, यसै बेलासम्म सगोल भोग चलन भई रहेको । २०२८।१०।२८ गते मानो सम्म बेग्लै भई अरु सब सगोलबाट भोग चलन गरी आएको । ०२८।१०।२८ सम्मको विपक्षीबाट अचल सम्पत्तिको फाँट लिई २ भागको १ भाग मेरो बाबुले पाउने अंश पाउँ भन्ने समेत उल्लेख गर्दै वादीले फिराद गरेको र वादी दावी अनुसार वादीलाई अंश दिनु पर्ने हैन । वादीसँग अघि कुटपिट मुद्दा परी इविवाला भएकोले झुठ्ठा उजुर गरेको हो भन्ने समेत प्रतिवादीबाट जिकिर भएको प्रस्तुत मुद्दामा वादीलाई अंश दिलाउन पर्ने देखिएन । वादी दावा झुठ्ठा ठहर्छ भन्ने समेत सुरुको र वादी दावी बमोजिम दुई भागको एक भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ ।

१३.   यसमा वादीको फिरादपत्र लेखाई, प्रतिवादी जिकिर तथा मिसिल संलग्न कागजहरु समेतबाट वादी भुदुर यादव र प्रतिवादी फेरइ अहिरका नाउँमा जग्गाहरु छुट्टाछुट्टै दर्ता भएको देखिएको र प्रस्तुत मुद्दाको साथ प्राप्त भई रहेको यिनै प्रतिवादी रामधनी यादव वादी यिनै भुदुर यादव प्रतिवादी भएको कुटपिट मुद्दाको मिसिल हेर्दा यी वादी भुदुर यादवले आफ्नो प्रतिवादीको दफा २ मा हामीहरु अंशियार भई चल अचल सबैमा भागबण्डा गरी गराई भोगी आएको थियो । तापनि, रीतपूर्वक बण्डापत्र भएको होइन, घरसारमा बाँडी लिई धारी घरको जग्गा मेरो भागमा परेको पञ्चायतबाट निर्णय गरी दिएको भन्ने समेत उल्लेख गर्दै प्रतिवादी यी पुनरावेदक रामधनिबाट वादी भुदुर यादवले आफ्नो अंश जग्गा समेत बण्डा गरी घरसारमै लिई दिई गरेको देखिन आएको प्रचलित मुलुकी ऐन अंशबण्डाको ३० नं.अनुरुप प्रस्तुत मुद्दाका वादी भुदुरले प्रतिवादी रामधनी तथा निज रामधनीका छोरा फेरइ यादवबाट अंश दिलाई पाउँ भनी गरेको फिराद दावी झुठ्ठा ठहराई सुरु नवलपरासी जिल्ला अदालतको फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारबाट सो सुरु जिल्ला अदालतले प्रतिवादीहरु उपरको अंशमा वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिव ठर्हछ । उपरोक्त कारण तथा आधार समेतबाट अंश भाग लिईसकेका वादी भुदुर यादवको फिराद दावी अनुरुप प्र.हरुबाट दुई भागको एक भाग अंश वादीले पाउने ठहर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।२।९ को इन्साफसँग सहमत हुन नसकी उक्त क्षेत्रीय अदालतको फैसला गल्ती ठर्हछ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहराएको हुँदा देहायका कुरामा देहाय बमोजिम गर्नु भनी सुरु नवलपरासी जिल्ला अदालतलाई पत्र लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...........१

वादी भुदुर यादवले दिएको ०३६।११।३०।५ मा तायदातीमा लेखिएमध्ये वादीका अंश भागमा पर्ने २ भागको १ भागबण्डा गर्ने गरेकोमा सो अनुसार गर्न परेन । व्यहोरा जनाई उक्त मिति २०३७।२।९ का फैसला बमोजिम घर जग्गा बस्तु भाउ धनमाल समेत बण्डा गर्ने गरी कसिएको लगत कट्टा गर्नु.....................................................................................२

वादीलाई प्र.बाट अंश छुट्याई दिने र गरेको लगत समेत वादी भुदुर यादवलाई प्र.हरुबाट भराउने गरेको कोर्टफी को जम्मा रु.७८१।३६ भराई रहन परेन । सो को समेत लगत कट्टा गर्नु.......................................................................३

प्रतिवादी रामधनी तथा फेरइ यादवले पुनरावेदन गर्दा मिति ०३८।४।२६ मा यस अदालतमा राखेको कोर्टफी धरौट रु.७८१।३६ फिर्ता दिनु.................................................................................................................४

प्रतिवादी रामधनी यथा फेराइ यादवले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.११७।२१ भराई पाउँ भनी वादीको यसै सरहदको जायजात देखाई कोर्टफी ऐनका म्याद २ दुई बर्ष भित्र प्र.हरुको दर्खास्त पर्न आए दस्तुर केही नली उक्त कोर्टफी वादीबाट प्र.हरुलाई भराई दिनु भन्ने ऐ.ऐ...................................................................................५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल मार्ग १८ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु