निर्णय नं. ७२८५ - डांका खुन

निर्णय नं. ७२८५ ने.का.प.२०६० अङ्क ९.१०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री राम नगिना सिंह
सम्वत २०५६ सालको फौ.पु.नं. ...२२५२
सम्वत २०५७ सालको फौ. पु. नं. २५७३
सम्वत ०५७ सालको फौ. पु. नं. ..२५७२
फैसला मितिः २०६०।२।२६।२
मुद्दा :– डांका खुन ।
पुनरावेदक
प्रतिवादीः भरत राउत कुर्मी समेतको जाहेरीले श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जि. पर्सा, मनिहारी ७ बस्ने रामसुन्दर साह तेली समेत
पुनरावेदक
प्रतिवादी वैजनाथ महतो खुल्वट
विरुद्ध
प्रत्यर्थी
वादीः लक्ष्मी राउत कुर्मिको जाहेरीले श्री ५ को सरकार .
पुनरावेदक
प्रतिवादीः मंगल राउत अहिर
विरुद्ध
प्रत्यर्थी
वादीः लक्ष्मी राउत कुर्मिको जाहेरीले श्री ५ को सरकार
§ फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर विवाद रहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा रहने कानूनी व्यवस्था वमोजिम प्रतिवादीहरुले वारदातका क्रममा को को भै के कसरी के कुन तरिकावाट वारदात घटाएको हो त्यो कुराको पुष्टी मिसिल कागज प्रमाणवाट देखिनु फौजदारी न्यायको रोहमा महत्वपूर्ण पक्ष रहने ।
§ फौज्दारी न्याय प्रशासनमा सरकारी पक्षको कर्तब्य वारदातको वारेमा वयान गराउनु, म्याद थप्नु, अभियोग पत्र दायर गर्नु र वहस पैरवी गर्नुका मात्र सिमित रहने हुदैन, अभियोग दावी लिइएका व्यक्तिहरुको उक्त अपराधमा के कुन तरिकाले सँलग्न रहेको थियो निजको भूमिका घटनामा के कस्तो थियो, उक्त कुरा पुष्टि हुने दशी प्रमाण के कस्ता छन् ? सो को यथार्थ विवरण मिसिलवाट देखिनु पर्ने ।
§ शंका रहित तवरवाट प्रतिवादीहरु उपरको अभियोग समर्थन प्रमाणवाट पुष्टी हुन नआएको स्थितिमा केवल अनुमान र प्रहरीमा भएकै वयानको आधारमा दोषी कायम गर्नु न्यायोचित एवं कानूनी राज्यको मान्य सिद्धान्त वमोजिम भएको मान्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीहरुलाई अभियोग दावीवाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा सदर हुने ।
§ प्र. वैजनाथ महतो खुल्वटको अभियोग दावी प्रमाणित गर्ने प्रमाणको रुपमा जाहेरी, पानी पटाउन गएका मिश्री ठाकुर एवं वच्चा राउत कुर्मीको कागज, मृतककी श्रीमती आइत वरियाको वयान कागज लगायत अधिकार प्राप्त अधिकारी समक्षको सह–अभियुक्तहरुको पोल वाहेक स्वतन्त्र रुपले निजको वारदातमा सँलग्नता थियो भन्ने ठोस वस्तुनिष्ठ आधार प्रमाण मिसिलवाट देखिन आएन । जाहेरी दरखास्त, प्रहरी समक्षको वयान, पीडित पक्षको कागजले त्यतिवेला प्रमाणको रुप धारण गर्छ जुन वेला अन्य स्वतन्त्र रुपवाट घटनाको स्वरुपलाई चित्रण गर्ने प्रमाण मौजुद रहन्छ । अभियोग दावीलाई पुष्ट्याई गर्ने माथि उल्लेखित जाहेरी दरखास्त, प्रहरी समक्षको वयान कदापी हुन नसक्ने ।
§ ज्यान डाका जस्तो संगिन अपराधमा केवल शंका र अनुमानको भरमा कसूरदार ठहर्याउनु मिल्ने नहुँदा पुनरावेदन अदालत हेटौडाले निज वैजनाथ महतोलाई कैद बर्ष तीन गरेको रायसँग सहमत हुन नसकिदा सो उल्टी भई निजले अयिभोग दावीवाट सफाइ पाउने ।
(प्र.नं. ४१ र ४२)
पुनरावेदक प्रत्यर्थी श्री ५ को सरकारका तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री लोकजंग साह
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री लोकभक्ता राणा र श्री शंभु थापा
अवलम्वित नजिरः
फैसला
न्या.रामनगिना सिंहः पुनरावेदन अदालत हेटौडाको मिति २०५५।१२।१ को फैसला उपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१)(ग) अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत पुनरावेदन पत्रहरु सहितको मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मिति २०४९ साल पौष ११ गतेको राती अं. ११ वजेको समयमा अपराधीहरुले म निवेदकको भाई लालवावु राउत कुर्मीलाई कर्तब्य गरी मारेकोले भएको व्यहोरा खुलाई सम्वन्धित व्यक्तिले जाहेरी दिने हुँदा लाश जिम्मा पाउँ भन्ने भरत राउत कुर्मीको निवेदन ।
३. मृतक लालवावु राउत कुर्मीको दाहिने पट्टी गालामा २ इन्च लामो काटेको ३ धर्को घाउ भएको, घाँटी मुनी छात्तिमा १ इन्च लामो धारिलो चुच्चो हतियारले हानेको जस्तो गहिरो घाउ भै रगत वगिरहेको शरीरको अन्य भागमा घाउ चोट नदेखिएको भन्ने लाश जाँच मुचुल्का ।
४. लक्ष्मी राउत कुर्मीको घर पश्चिममा रहेको सीताराम राउत कुर्मीको घरको उत्तर पट्टी फलामको फारमा रगत लागी सुकी राखेको अं. दुई इन्च जति रगत लागेको फलामको फार बरामद भएको, उक्त घर भित्र लत्ता कपडा छरिएको काठको वाकसको कव्जा तोडिएको सोही घरको उत्तर साईडमा हलोको फार झिकी राखेको उक्त घर देखि पुर्व पट्टी लक्ष्मी राउत कुर्मीको घर साईडमा अं. ३ फिट चौडाई ४ फिट लम्वाईमा रगत वगी सुकेको र सो उक्त फुसको घरको टाटामा वन्दुक फायर गरेको ५ वटा छर्रा फेला परेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का।
५. धारिलो वस्तुले मटुमा चोट लागी तत्काल मृत्यु भएको भन्ने व्यहोराको पोष्टमार्टम रिपोर्ट।
६. मिति २०४९।९।११ गतेका राती लालवावुको श्रीमती मेरो वुहारी आइतवरिया कुर्मिनले गोहार गोहार भनी कराएको सुनी म वाहिर निस्की हेर्दा ३ जना मैले नचिनेका वन्दुक लिएको व्यक्ति र मैले चिनेका अध्यक्ष वैजनाथ महतो खुल्वट, राम सुन्दर साह तेली, सुन्दर काजी श्रेष्ठ, मंगल राउत कुर्मी समेत ४ जनालाई देखी चिने । निजहरुले फलामे हतियारले छोरालाई हानेको देखी मैले गोहार गोहार भनी कराउँदै जाँदा मलाई घाइते तुल्याई दिएपछि गाउँका मद्दत आईपुग्दा निज अपराधीहरु भागी गएका छोरालाई उपचार गर्न अस्पताल ल्याउँदा मृत्यु भएकोले जाहेरी दिन आएको छु । छोरालाई फलामे हतियार प्रयोग गरी घाइते पारी साथमा भएको नगद रु ४,०००।– डकैती गरी लगेकोले नचिनेका अपराधी समेत खुलाई सजाँय गरी मेरो विगो दिलाई पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।
७. जाहेरीमा नचिनेका व्यक्तिहरुको सुराक पत्ता लगाउँदा मिर्जापुरको विगा राउत अहिर उक्त लालवावु राउतलाई कर्तब्य गरी मारेको अपराधमा सँलग्न रहेको भन्ने विशेष सुत्रवाट वुझिएको र निजलाई सोधपुछ गर्दा लालवावु राउत कुर्मीलाई कर्तब्य गरी मारेको घटनामा आफु सँलग्न रहेको भनी मुख सावित भएकोले कारवाहीको लागि दाखिल गरेको छु भन्ने प्र. नि. दिलीपवहादुर वस्नेतको प्रतिवेदन ।
८. मिति २०४९।९।११ गते राती ११ साढे ११ वजे मनियारी आई एकै ठाउँमा भेट हुँदा प्रेम गिरीले म अगाडि लाग्छु अरु पछि आउनु भनी जाँदा वाटो छेउकै खपडाको घरमा पुगी म समेतका केही व्यक्तिलाई वाहिर सडकमा वस्न लगाए । प्रेम गिरी, मुखलाल, सुवेदार, सुदामा समेत वन्दुक धारीले घरको ढोका तोडी भित्र पसी एकजनाले पंखा लिई वाहिर निस्केको देखि त्यसपछि एकजना आईमाई वाहिर निस्की घर पछाडि लागी गुहार भनी कराएको र प्रेम गिरी, मुखलाल, कान्ति साह तेली वाहिर निस्की आईमाईको पछि लागी गएको डकैत गरेको घरको पछाडि पट्टीको घरको लोग्ने मानिस र आईमाई कराएको हल्ला सुने र सोही हल्ला भएको ठाउँमा साथीहरुले १ फायर वन्दुक हाने त्यहाँ होहल्ला भएको कारण सवै भागी गए । प्रेम गिरी समेतका व्यक्तिसँग भेट भयो धन सम्पत्ति कत्ति ल्यायौ भनी सोध्दा प्रेम गिरीले केहि ल्याउन पाएनौं । लालवावु राउत कुर्मीले मलाई हलोको फाली हातमा लिएर हान्न आएको वखत मेरो कटुई वन्दुकमा गोली नभएको कारणले निजको हातवाट फाली खोसी उसैका छात्तीमा हिर्काउँदा भुईमा लडेकाले मर्यो भनी भनेको र मुखलालले अर्को मानिस निस्कन लाग्दा १ फायर गरी बाहिर निस्कन पाएन र वचे भन्यो हामीहरु सवै आ–आफ्नो घर तर्फ लाग्यौ भोलीपल्ट लालवावुको हत्या भएको भन्ने हल्ला हुँदा प्रेम गिरीले फालीले हानेको मानिस मरेछ भन्ने र मलाई कसैले शंका गर्दैन भनी वसेको थिएँ । भोलीपल्ट सुवेदार राउतलाई प्रहरीले घेरा हाली मुठभेडमा गोली लागेकोले निजको अस्पताल लगी मृत्यु भएछ । म भागी भारत गई वसे हाल खोजी भएको छैन होला भनी आउँदा पक्राउ गरेका हुन् भन्ने व्यहोराको विगा राउत अहिरले गरेको बयान ।
९. २०४९।९।११ गते ९ वजे तिर प्रेम गिरीको साथमा सुदामा साह, सुव्दार राउत, विगा राउत, धुरी राउत समेत आई पुगे सुदामासँग टोटावाल २ नाले वन्दुक, प्रेम गिरीसँग कटुई वन्दुक र अर्को १ जना सँग पेस्तोल र १ जना सँग २ नाल वन्दुक थियो । हामी सवै भएर मनिहारी आई पुगी प्रेम गिरीले डाँका गर्ने ठाउँमा आईपुग्यौं म अगाडि लाग्छु भनी राजेन्द्र राउत र प्रेम गिरी अगाडि लागे एउटा खपडाको घर पुगी प्रेम गिरी, सवेदार राउत, सुदामा साह, विगु राउत समेत घर भित्र पसी डकैती गर्न थाले केही वेरपछि घरवाट एक जना आईमाई वाहिर निस्की पुर्वतर्फ लागी गुहार भनी कराउँदा प्रेम गिरी सहित ३।४ जना आईमाईको पछि लागी गए । लालवावु राउत भन्नेले मलाई समात्न आएको थियो । हलोको फालीले छात्तीमा हानी दिएपछि निज लड्यो र भागी आएको हुँ । साथी मुखलालले वन्दुकले १ फायर गरे र हामी आ–आफ्नो घर तर्फ लाग्यौं। आफ्नै घरमा वसेका वखत विगो र।उतले पोल गरी मलाई पक्राउ गरेका छन् भन्ने समेत व्यहोराको राजदेव राउत कुर्मीले गरेको बयान ।
१०. खेतमा पानी पटई रहेका वखत गाउँमा हो हल्ला भएको सुनी गाउँ तिर आउँदा वैजनाथ महतो, सुन्दर काजी, मंगल राउत र राम सुन्दर साह तेली र अन्य १।२ जना व्यक्तिलाई टर्च वाली हेर्दा देख्यौं । गाउँ तिर भागेर आउँदा लक्ष्मी राउतको घरमा लालवावु मरेका थिए भन्ने सर्जमिनका मिश्री ठाकुर र बच्चा राउत कुर्मीको भनाइ र निजहरु भद्र भलादमी मानिस हुन्। डाँकाहरु मिर्जापुर तिरवाट आएका थिए भन्ने सुनेका हौ भन्ने समेत व्यहोराको अम्वर राउत कुर्मी, साह महमद मन्सुरी, भेगी राउत कुर्मी, सेरजन राउत कुर्मी, जगदेव राउत कुर्मी शंकर महतो धानुक, सन्त महतो, वासुदेव राउत, नन्दप्रसाद कुर्मीले पृथक पृथक लेखाई दिएको सर्जमिन मुचुल्का ।
११. मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसूर गरी लालवावुको मृत्यू हुन गएकोले निज प्रेम गिरीलाई मु. ऐ. ज्यान सम्वन्धी महलको १३ को देहाय १ बमोजिम सजाँय हुन मुखलाल राउत कुर्मी र कान्ती साह कतेलीलाई ऐ. को १७(२) वमोजिम र अन्य सवै प्रतिवादीहरु ज्यान मार्नमा मत सल्लाहमा पसेको देखिदा निजहरुलाई ऐ. को १७(३) वमोजिम सजाय गरी पाउँ डाँका पर्ने घरवाला सीताराम राउत कुर्मीको जाहेरी नपरे तापनि डाँका गर्ने सल्लाह गरी प्रतिवादीहरु गएको देखिने र लालवावुको रु ४,०००।– समेत लुटी लगेको हुँदा निज विगा राउत अहिर, राजदेव राउत कुर्मी, जगदीश साह, सुदामा साह तेली, प्रेम गिरी, सागर, कान्ति साह, धुरी राउत कुर्मी, सतन राउत कुर्मी, मुखलाल राउत कुर्मी, वुनीलाल, राजेन्द्र राउत, तपीलाल, रामानन्द, विगुराउत, जय किसुन सहनी, विनोद मलाहा वलवान चमार, इसराइल मिया, साहु चमार, गेनालाल मुखिया, समेतलाई मु. ऐन चोरीको १ र ६ नं. को कसूरमा ऐ. को १४(४) बमोजिम सजाँय गरी ऐ. को १० नं. बमोजिम जाहेरवालाको विगो भराई पाउँ भन्ने अभियोग दावी ।
१२. २०४९।९।११ गतेका दिन ८ वजे देखि १० वजे सम्म पञ्चायती भएको र त्यही पञ्चायतीमा थिएं, त्यसपछि सन्त राउतको घरमा किर्तन भएको हुँदा सोही किर्तनमा थिए । लालवावु राउत कुर्मीलाई मार्न मेरो सहयोग सहमति केही छैन डकैती पनि गरेको छैन भन्ने समेत व्यहोराको विगा राउत अहिरले शुरु अदालतमा गरेको वयान ।
१३. २०४९ साल पौष ११ गते दिन भरमा खेतमा काम गरी रातमा खाना खाई करिव ८ वजे सुते । मेरो साथमा मेरै गाउँको अम्विका राउत, रामा राउत विन सुतेका थिए । लाल वावु राउत कुर्मीको घरमा डाँका गर्न र निजलाई मार्नमा मेरो सहयोग सहमति सल्लाह केही छैन भन्ने समेत व्यहोराको राजदेव राउत कुर्मीले शुरु अदालतमा गरेको वयान ।
१४. अभियोग दावी अनुसार मैले कुनै कसूर नै नगरेको म निदोर्ष भएको हुँदा र म उपरको दावी समेत झुठ्ठा भएकोले मलाई कुनै सजाय हुनु पर्ने होईन छैन भन्ने समेत व्यहोराको प्र. गेना मुखियाले शुरु अदालतमा गरेको बयान ।
१५. २०४९।९।९ गतेका दिन म आफ्नो ससुराली भारतको पोखरिया गाउँमा आफ्नो सालीलाई बोलाउन गएको थिएँ । निजको आफ्नो कामले फुर्सद नहुादा म मात्र त्यहाँ (ससुराली) वाट ०४९।९।१५ गते साँझ अं. ४ वजे आफ्नो गाउँ घरमा फर्कीएको हुँदा ०४९।९।११ गतेको दिन रात म आफ्नो ससुराली भारतको पोखरिया गाउँमा थिएँ । लालवावुको मृत्यु कसरी भयो मलाई थाहा छैन । मैले कर्तब्य गरी निजलाई मारेको छैन भन्ने प्र. सुदामा साह तेलीले शुरु अदालतमा गरेको बयान ।
१६. लालवावु राउत कुर्मीको साथमा भएको रु ४,०००।– डकैती गरी निजलाई मैले कर्तब्य गरी मारेको छैन र कसले मारे मारेनन् सो कुरा मलाई थाहा छैन । अभियोग दावी अनुसारको कसूर अपराध नगरेको हुँदा आरोपित कसूरवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको धुरी राउत कुर्मिको अदालतमा गरेको बयान ।
१७. मिति २०४९।९।११ गतेको दिन रात म आफ्नै घरमा हुँदा मृतक लालवावु राउत कुर्मीको साथमा भएको रु ४,०००।– डकैति गरेको पनि छैन । निजलाई कुटपीट गरी मारेको पनि छैन कसले के कसरी मृतक लालवावु राउत कुर्मीलाई मारे म घरमा भएको हुँदा थाहा पाईन भन्ने समेत व्यहोराको ध्रुव सागर साह कानुले शुरु अदालतमा गरेको बयान ।
१८. ०४९।९।११ गतेको राती ११ वजेको समयमा म आफ्नो घरमा हुँदा र निज मृतक भनिएका व्यक्तिलाई मैले चिन्हे जानेको समेत नहुँदा मैले जाहेरवालाको घरमा गए डाँका गरेको छैन र मैले लालवावु राउत कुर्मीलाई मारेको पनि छैन भन्ने समेत व्यहोराको प्र. जगदीश साह तुराहाले शुरु अदालतमा गरेको वयान ।
१९. ०४९।९।१२ मा ससुरालीवाट गाउँ घरमा फर्की आएपछि लालवावुराउत कुर्मीलाई डाँकाहरुले मारे भन्ने कुरा सुनेको हुँ । मैले कर्तब्य गरी निजलाई मारेको होईन छैन । मैले दावी वमोजिमको कसूर अपराध गरेको नहुँदा मलाई सजाय हुनु पर्ने होईन भन्ने समेत व्यहोराको प्र. मंगल राउत कुर्मीले गरेको बयान ।
२०. २०४९।९।११ गतेका दिन म गरडौलमा थिएँ । जाहेरवाला लक्ष्मी राउत कुर्मी र मृतक लालवावु राउत कुर्मीसँग मेरो कुनै किसिमको झगडा थिएन । लक्ष्मी राउत कुर्मी र मेरो घर नजिकै भएकोले जग्गाको सम्वन्धमा सामान्य भनाभन भएको थियो सोही रीस इवीवाट मेरो नाम पोल गरेको होला भन्ने समेत व्यहोराको रामसुन्दर साह तेलीले गरेको बयान ।
२१. सीताराम राउत कुर्मीको घरमा डाँका पर्दा त्यहाँ लालवावु राउत कुर्मी गएका थिए । निजै डाँकाहरुले लालवावु राउत कुर्मीलाई मारे भन्ने कुरा म २०४९।९।१३ गते फर्की आउदा गाउँ घरमा सुनेर थाहा पाएको हुँ । मैले कर्तव्य गरी लालवावु राउत कुर्मीलाई मारे मराएको होईन भन्ने समेत व्यहोराको वैजनाथ महतो खल्वटले गरेको बयान ।
२२. २०४९।९।१३ गते आफ्नो आँयल ट्यांकीवाट घर जाँदा लालवावु मरे भनी सुने, कसरी मरे मलाई थाहा छैन । मेरो कर्तब्यवाट मरेको होइन । कसको कर्तब्यवाट कसरी मरे म भन्न सक्दिन भन्ने समेत व्यहोराको प्र. राजेन्द्र राउत कुर्मीले शुरु अदालतमा गरेको बयान ।
२३. लालवावु राउतलाई मैले चिनेकै नहुँदा निजको मृत्यु भयो भएन यदि भएको भए कसको कर्तब्यवाट भयो, त्यसवारे मलाई केही थाहा छैन । निजको मृत्यु मेरो कर्तब्यवाट भएको चाँही होईन । मैले दावी बमोजिम कसूर अपराध गरेको नहुँदा आरोपित कसूरवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको वलवान चमार भन्ने रामनारायण महरा चमारले शुरु अदालतमा गरेको बयान ।
२४. प्र. विगा राउत अहिरको साक्षी सन्त राउत अहिर, मुल्चन राउत अहिर, प्र. ध्रुवसागरको साक्षी रामाकान्त महतो कंकर, प्र. राजदेवको साक्षी महेश राउत कुर्मी, किशोरी राउत कुर्मी, प्र. सुदामा साहको साक्षी हिरा राउत, प्र. जगदीश साहको साक्षी जोगी साह तुराहा, प्र. मंगल राउतको साक्षी लखन राउत कुर्मीले गरेको वकपत्र । प्र. वैजनाथको साक्षी विश्वनाथ महतो, रामसुन्दर साहको साक्षी नागेश्वर साह, प्र. मंगल राउतको साक्षी सिपाही साह तुराहा, प्र. वैजनाथको साक्षी व्रम्हादेव साह कानुको वकपत्र । प्र. राम सुन्दर साह तेलीको साक्षी रघुवीर राउत अहिरको वकपत्र । सर्जमिनका व्यक्ति वच्चा राउत, जाहेरवाला लक्ष्मी राउत कुर्मीको वकपत्र, सर्जमिनका मानिस रोजन राउत कुर्मी, सन्त महतो धानुक साह महमद मन्सुरी, वासदेव राउत अहिर, अमर राउत कुर्मीको वकपत्र मिसिल सामेल रहेको ।
२५. अ. वं. १३९ नं. बमोजिम वुझिएका नैना देवी कुर्मिन, सीताराम राउत कुर्मीले गरेको बयान ।
२६. ०४९।९।१२ गतेका दिनको १०।११ वजे तिर विरगञ्जमा नै गाउँका मानिसवाट सीताराम भन्नेको घरमा डाँका परेको र सीताराम र मृतक लालवावु पटिदार हुँदा डाँका परेको घरमा लालवावु गएको हुँदा र डाँकासँग मुठभेड हुँदा डाँकाको मृत्यु भएको भन्ने कुरा विरगञ्जमा नै थाहा पाएको हुँ भन्ने समेत व्यहोराको सुन्दरकाजी भनिएका चन्द्रमान जोशीले गरेको वयान ।
२७. प्र. चन्द्रमान जोशीको साक्षी सत्यनारायण साह, लालवावु शेष, प्र. राजेन्द्र राउतको साक्षी रामवालक सिंह, मृतकको श्रीमती आइतवरिया कुर्मिनले गरेको वकपत्र रहेछ ।
२८. सर्वप्रथम प्रतिवादी सुन्दर राउत प्रहरीको कारवाहीमा मरेको भन्ने अभियोग पत्रमा उल्लेख हुँदा निजका हकमा केहि गरिरहनु परेन । प्र. प्रेम गिरी, प्र. कान्ति साह तेली, सतन राउत कुर्मी, मुखलाल राउत कुर्मी, वुनीलाल राउत कुर्मी, तपीलाल राउत अहिर, रामानन्द गिरी, विगु राउत कुर्मी, जयकिसुन सहनी, विनोद मलाह, इसराइल मिया, साहु चमारको हकमा अ. वं. १९० नं. बमोजिम मुल्तवी रहन्छ । ज्यान जस्तो फौजदारी अभियोगमा शंकाको भरमा प्रतिवादीहरुलाई सजाय गर्नु फौजदारी न्याय सिद्धान्त विपरीत हुने र शंकाको सुविधा प्रतिवादीहरुले पाउने भनी श्री सर्वोच्च अदालतवाट कतिपय मुद्दाहरुमा नजीर कायम भैरहेको समेतवाट उल्लेखित प्रतिवादीहरु गेना मुखिया विन, धुरी राउत कुर्मी, ध्र्रुवसागर साह कानु जगदीश साह तुरहा, मंगल राउत कुर्मी, रामसुन्दर साह तेली, वैजनाथ महतो खुल्वट सुन्दरकाजी श्रेष्ठ जाहेरवालाले भनेको चन्द्रमान जोशी, प्र. वलवान चमार भनिएको रामनारायण महरा चमारले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ । प्रतिवादी राजदेव राउत, विगा राउत, सुदामा साह, राजेन्द्र राउतका हकमा विचार गर्दा निजहरुले डाँका गर्ने उद्योग गरेको ठहर्छ । निजहरुलाई चोरीको १७ नं. वमोजिम ३ बर्ष कैद हुन्छ । निजहरुका हकमा अन्य दावी पुग्न सक्दैन भन्ने समेत शुरु पर्सा जिल्ला अदालतको फैसला ।
२९. उक्त फैसलामा चित्त वुझेन । प्रतिवादीहरुलाई सफाइ दिएको फैसला आत्मपरक छ। प्रमाणको मूल्यांकन भएको देखिदैन । डाँका उद्योगको कसूरमा सजाय भएका राजदेव राउत, विगा राउत, सुदामा राउत, राजेन्द्र राउतको सम्वन्धमा मुल अभियुक्तका मतियार भै मृतक लालवावुलाई कर्तब्य गरी मार्ने कार्यमा यी प्रतिवादीहरु वारदातस्थलमा रहेभएको कुरा निश्चित भए पनि ज्यान अपराध मतियारामा सजाय हुनुपर्नेमा सो तर्फ फैसलामा कुनै उल्लेख नै छैन । ज्यान जस्तो सम्वेदनशील विषयलाई वेवास्ता गरी केही प्रतिवादीलाई डाँका उद्योगमा ३ वर्ष मात्र कैद गर्ने र केही प्रतिवादीलाई सफाइ दिने ठहर्याएको फैसला वदर गरी माग दावी बमोजिम ज्यान सम्वन्धी महल र चोरीको महलको डाँका अपराधमा सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
३०. यसमा मृतक लालवावु कुर्मीको मृत्यूको कारणमा The cause of death is stab wound leading heart injury and ultimately the death भनी उल्लेख भएको लास जाँच प्रतिवेदनवाट देखिन आएको अबस्थामा मृतकको मृत्यु कर्तब्यवाट भएको र मृतकको मृत्यु सम्वन्धमा २०४९।९।१४।३ मा लक्ष्मी राउत कुर्मीले दिएको जाहेरी दरखास्तलाई समर्थन गर्दै जाहेरवालाले अदालतमा आई वकपत्र गरेको र मृतकको श्रीमती आइतवरिया कुर्मीनले अदालतमा उपस्थित भै वकपत्र गर्दा सवाल ८ को जवाफमा प्र. वैजनाथ मंगल राउतले फाल लिएका थिए । वायाँ छात्तिमा हानी दिए । सीताराम सुन्दरकाजीले वन्दुक लिएका थिए फायर गरी दिए र हिडे भनी लेखाई दिनुका साथै सर्जमिनका मानिसले पनि अदालतमा वकपत्र गर्दा उक्त वारदातमा प्रतिवादीहरुको सँलग्नता देखाई बकपत्र गरेको अबस्था र स्थितिमा सवुद प्रमाणको समुचित मूल्यांकन गर्दा शुरु पर्सा जिल्ला अदालतको मिति २०५३।८।११ को निर्णय फरक पर्न सक्ने देखिदा अ. वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने समेत पुनरावेदन अदालतको आदेश ।
३१. डाँकाको उद्योग सम्मको कसूरदार ठहर्याएको र तीन बर्ष कैद गरेकोबाट कानूनको आधार र सजायको हदवाट समेत विचार गर्दा प्रतिवादीहरु राजदेव राउत–१, विगा राउत–१, सुदामा साह–१ र राजेन्द्र राउत–१ समेत चारजनालाई शुरु जिल्ला अदालतले डाकाको उद्योग गरेको ठहर्याई चोरीको १७ नं. अनुरुप कैद वर्ष ३ गरेको मिलेकै देखिन आयो । प्रतिवादीहरु मध्ये वैजनाथ महतो प्र. मंगल राउत कुर्मीको हकमा वाहेक अन्यका हकमा शुरु फैसला मिलेको तर प्र. वैजनाथ महतो प्र. मंगल राउत कुर्मीको हकमा निजहरुलाई वारदात स्थलमा रहेको देखिएको र वादी दावी ज्यान सम्बन्धी महलको १७(३) नं. भएको समेतबाट निजहरुलाई सफाइ दिने गरेको हदसम्मको शुरु फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भै निजहरुले ज्यान सम्वन्धी महलको १७(३) नं. को कसूर गरेको ठहरी सजाय जनही वर्ष ३ कैद हुने ठहरी शुरु फैसला केहि उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति ०५५।१२।१ को फैसला ।
३२. मृतक लालवावुलाई मार्नमा र डाका गर्नमा सँलग्न प्रतिवादीहरु मध्ये केहिलाई कम सजाय गर्ने गरेको र केहिलाई सफाइ दिएको इन्साफमा चित्त वुझेन । उक्त फैसला वदर गरी सवै प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सजाय गरि पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३३. मलाई कसूरदार ठहर्याई ३ बर्ष कैद हुने गरी भएको पुनरावेदन अदालत हेटौडाको फैसलामा अ. वं. १८४‘क’ , १८५, १८९ तथा ज्यान सम्वन्धीको १७(३) तथा प्रमाण ऐन २०३१ को दफा २५, २७ र ५४ को प्रतिवन्धात्मक वाक्याँश समेतको प्रत्यक्ष त्रुटी गरि भएको हुँदा उक्त फैसला वदर गरी शुरु इन्साफ सदर कायम गरी न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्र. वैधनाथ महतो खुल्वटको यस अदालतमा परेको पुनरावेदन पत्र । सोही व्यहोरा मिलानको प्र. मंगल राउत कुर्मीको छुट्टाछुट्टै पुनरावेदन पत्र ।
३४. यसमा प्रतिवादीहरुवाट पुनरावेदन परेको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई पेश गर्नु भन्ने यस अदालतको मिति ०५८।११।२७ को आदेश ।
३५. यस अदालतमा पुनरावेदन पत्र दर्ता गरी तारेखमा वसिरहेको अबस्थामा प्र. मंगल राउतको मिति ०५९।९।३ मा मृत्यू भएको व्यहोरा मृत्यु दर्ताको प्रमाण पत्र नागरिकताको प्रतिलिपि साथै राखी जानकारी गराउँछु भन्ने व्यहोराको प्र. का. एकाघरका छोरा शंभु राउत कुर्मीको यस अदालतको द. नं. ५६२३ मिति ०५९।११।१९ को जानकारी गराइएको वारेको निवेदन पत्र ।
३६. नियम बमोजिम दैनिक सूचीमा चढी इजलास समक्ष पेश हुन आएको पुनरावेदन पत्र सहितका मिसिल कागजात अध्ययन गरि श्री ५ को सरकारको तर्फवाट उपस्थित उपन्यायाधिवक्ता श्री लोकजंग साहले मृतक लालवावुको मृत्यु कर्तब्यवाट भएकोमा विवाद छैन, निजको मृत्यु के कसरी को वाट भएको सम्वन्धमा डाकाको वारदातमा सँलग्न वैधनाथ, मंगल राउत कुर्मि समेतको सँलग्नतामा मृतकलाई फाली जस्तो हतियारले छात्तीमा प्रहार गरी मृतकको साथमा रहेको रु.४,०००।– समेत लुटी लगेको देखिन्छ । वारदातमा सँलग्न प्र. विगा राउत, राजदेव राउतको प्रहरी समक्षको वयान समेतले आफू सावित रही अरुलाई पोल गरेको देखिन्छ । निजहरुको उक्त वयानलाई सर्जमीनका मानिस मिश्री ठाकुर र वच्चा राउतले आफूहरु खेतमा पानी लगाई रहेको वेला टर्चको उज्यालोवाट वैजनाथ समेतलाई चिने भनी लेखाएकोमा अदालतमा समेत वकपत्र गरि पुष्टी गरेको देखिन्छ । साथै घटनाका चश्मदिद आइतवरियाले समेत अदालतमा वकपत्र गर्दा मंगल राउत अहिर समेतलाई गढाउ गरी लेखाई दिएको समेतका आधारमा केहिलाई कम सजाय गर्ने र केहिलाई सफाइ दिने गरी पुनरावेदन अदालत हेटौडाको फैसला वदर गरि शुरु माग दावी वमोजिम सजाय हुनु पर्छ भनी वहस प्रस्तुत गर्नुभयो । यसैगरी पुनरावेदक वैजनाथ महतो खुल्वट तर्फवाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री लोकभक्त राणा एवं शम्भु थापाले ज्यान सम्वन्धी महलको १७ नं. आकृष्ट हुन ज्यान मार्नलाई मतलवमा पसेको हुनु पर्ने अनिवार्य शर्त हो, पुनरावेदक वैधनाथ ज्यान मार्ने मतलवमा पसेका भन्ने तथ्य वादी पक्षवाट खुल्दैन । मृतक लालवावुको घरमा वारदात भएको हो वा सीतारामको घरमा वारदात भएको हो सो प्रष्ट छैन, लालवावुको घरमा वारदात भएको भन्ने छैन, घटनाको प्रकृतीले वारदात सितारामको घरमा भएको देखिन आउँछ । सीतारामको श्रीमती नपनावतीलाई अ. वं. १३९ अनुसार वुझ्दा मेरो घरमा मात्र डाका वारदात भएको हो अरु ठाउँमा वारदात भएको देखिएन भनि उल्लेख छ जाहेरवाला लक्ष्मी राउतले मेरो छोरालाई कसले मारे थाहा छैन र अलग–अलग सुतेको र मेरो घरमा डाका भएको थाहा छैन, भनी वकपत्र गरेको देखिन्छ । मृतकको घर र सीतारामको घर जोडिएको छ, एकै गाउँ ठाउको व्यक्ति कहाँ डाका गर्न जाँदा भेष वदलि जानु पर्नेमा गा. वि. स. को अध्यक्ष आफैं डाका गर्न गएको पत्यार लायक देखिदैन । तसर्थ पुनरावेदन अदालतले मेरो पक्षलाई अभियोग ठहर गरेको इन्साफ उल्टी भै मेरो पक्षले सफाइ पाउनु पर्छ भनी वहस प्रस्तुत गर्नुभयो ।
३७. विद्वान कानून व्यवसायीहरुको वहस जिकिरलाई मध्यनजर राख्दा मिसिल कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ ? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
३८. सर्वप्रथम फौ. पु. नं. २५७२ पुनरावेदक मंगल राउत कुर्मिको पुनरावेदन पत्रमा विचार गर्दा निज मंगल राउन कुर्मिले पुनरावेदन दर्ता गरी तारेखमा वसि रहेको अबस्थामा मिति ०५९।९।३ मा निजको मृत्यु भएको व्यहोरा मुत्यु दर्ताको प्रमाण पत्र र नागरिकताको प्रतिलिपि साथै राखी जानकारी गराउछु भनि निजका एका घरका छोरा शम्भु राउत कुर्मिले यस अदालतमा द. नं. ५६२३ मिति ०५९।११।१९।२ मा जानकारी गराएको निवेदन मिसिल सँलग्न रहेको देखिएवाट निजको हकमा मुलुकी ऐन अ. वं. १७६ नं. बमोजिम केहि गरिरहनु परेन ।
३९. मिसिल अध्ययन गरी हेर्दा मिति ०४९।९।११ मा लालवावु राउत कुर्मिको मृत्यु भएकोमा लक्ष्मी राउत कुर्मीको जाहेरी परि प्रेम गिरी उपर १३(१) मुखलाल र कान्ती साह तेली उपर १७(२) र विगा राउत अहिर राजदेव राउत कुर्मी, जगदीश साह तुराहा, सुदामा साह तेली, प्रेम गिरी, ध्र्रुव सागर, कान्ती साह, धुरी राउत, सतन राउत कुर्मी, मुख राउत कुर्मी, वुनिलाल राउत, राजेन्द्र राउत, तपीलाल, रामानन्द, विगु राउत, जय किशुन सहनी, विनोद मलाह, वलवान चमार, इस्राइल मिया, साहु चमार, गेनालाल मुखियालाई चोरीको १ र ६ नं. को कसूरमा ऐ. को १४(४) नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम विगो भराई पाउँ भन्ने अभियोग दावी भएकोमा प्रेम गिरी, कान्ती साह तेली, सतन राउत कुर्मि, मुखलाल राउत कुर्मि, वुनिलाल राउत कुर्मि तपिलाल राउत अहिर, रामानन्द गिरी, विगु राउत कुर्मी, जय किशुन सहनी, विनोद मलाहा, इसराइल मिया र साहु चमारका हकमा अ. वं. १९० नं. बमोजिम फरार रहेकोले मुल्तवी राखी अदालतमा विगा राउत, राजदेव राउत, गेना मुखिया, सुदामा साह तेली, धुरी राउत, कुर्मी, ध्रुव सागर साह कानू, जगदीश साह तुखा, मंगल राउत कुर्मी, रामसुन्दर साह तेली, वैधनाथ महतो खुल्वट राजेन्द्र राउत कुर्मी, राम नारायण महरा चमार, सुन्दरकाजी भन्ने चन्द्रमान जोशीले घटनाको सम्वन्धमा इन्कारी वयान गरेको देखियो ।
४०. गेना मुखिया विन, धुरि राउत कुर्मी, ध्रुव सागर कानु, जगदीश साह तुराहा, मंगल राउत कुर्मि, रामसुन्दर साह तेली वैधनाथ महतो खुल्वट, सुन्दर काजी श्रेष्ठ भन्ने चन्द्रमान जोशी, वलवान चमार भनिएका राम नारायण महरा चमारले अभियोग दावीवाट सफाइ दिई राजदेव राउत, विगा राउत सुदामा राउन, राजेन्द्र राउतलाई डाका गर्ने उद्योग ठहर्याई चोरीको १७ नं. वमोजिम ३ बर्ष कैद हुन्छ भन्ने पर्सा जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फवाट वैधनाथ महतो खुल्वट, रामसुन्दर साह तेली, गेनालाल मुखिया वीन, धुरी राउत कुर्मि, ध्रुव सागर साह कानु, जगदीश साह तुरहा, मंगल राउत कुर्मी, सुन्दरकाजी श्रेष्ठ, वलवान चमार, राजदेव राउत कुर्मी, विगु राउत अहिर, सुदामा साह र राजेन्द्र कुर्मि उपर अभियोग दावी वमोजिम गरी पाउँ भन्ने पुनरावेदन अदालत हेटौडामा पुनरावेदन गरेकोमा वैधनाथ महतो, मंगल राउत कुर्मिको हकमा शुरु फैसला उल्टी गरी ज्यान सम्वन्धीको १७(३) नं. बमोजिम ३ बर्ष कैद हुने ठहराई र राजदेव राउत, विगु राउत, सुदामा साह, राजेन्द्र राउतलाई चोरीको १७ नं. बमोजिम डाकाको उद्योग ठहराई ३ वर्ष कैदको सजाय गरेको शुरु फैसला सदर गरी शुरुवाट सफाइ पाउने अन्य प्रतिवादीको हकमा सदर गरी फैसला गरे उपर प्र. वेधनाथ महतो खुल्वट र प्र. मंगल राउत कुर्मीको छुट्टाछुट्टै पुनरावेदन पत्र परी र वादी श्री ५ को सरकारको तर्फवाट परेको पुनरावेदन पत्रमा राम सुन्दर साह, गेनालाल मुखिया, धुरी राउत कुर्मी, ध्रुवसागर कानु, जगदीश साह कानु, सुन्दरकाजी श्रेष्ठ, वलमान चमार, राजदेव राउत कुर्मी, विगु राउत अहिर, सुदामा साह र राजेन्द्र कुर्मी उपर वादी दावी वमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन दावी जिकीर रहेको देखियो ।
४१. अव श्री ५ को सरकारको तर्फवाट परेको पुनरावेदन पत्र सम्वन्धमा विचार गर्दा प्रत्यर्थी वनाइएका प्रतिवादीहरु उपर मुलुकी ऐन ज्यान सम्वन्धी महलको १७(३) नं. को अभियोग दावी रहेको देखियो । उक्त नं. मा भएको कानूनी व्यवस्था हेर्दा अरु किसिम सँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरु कुरा केहि नगरी हेरिरहनेलाई र लेखिए देखि वाहेक अरु किसिमका मतलवीलाई ६ महिना देखि तीन वर्षसम्म कैद गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ। प्रत्यर्थी प्रतिवादीहरुको के कस्तो कार्यवाट उल्लेखित कानूनी व्यवस्था विपरीतको कार्य हुन गयो भनि मिसिल अध्ययन गरी हेर्दा ३ जना मैले नचिनेका व्यक्तिहरु र चिनेका वैजनाथ महतो खुल्वट, रामसुन्दर साह तेली, सुन्दर काजी श्रेष्ठ, मंगल राउत कुर्मीले ०४९।९।११ को राती फलामको हतियारले छोरालाई हानेको देखि गुहार माग्दा मलाई पनि घाइते तुल्याए भनि ०४९।९।१४ जाहेरी दरखास्त दिएको देखिन्छ । जाहेरी दरखास्तमा उल्लेखित ४ जना वाहेकको नाम किटानी साथ पोल गर्न सकेको देखिदैन, अन्य प्रतिवादीहरुको नाम राजदेव राउत र विगा राउतको प्रहरी समक्षको वयानको आधारमा कायम गरेको देखियो । पानी पटाई रहेको मिश्री ठाकुर हजाम र वच्चा राउत कुर्मीले समेत ५।६ जना डाका भाग्दै गरेको देखेको हौ भन्ने वयान गरेता पनि यिनै व्यक्तिले वारदात गरेका हुन् भनी किटानी साथ भन्न सकेको पाइदैन । वारदातका प्रत्यक्षदर्शी भनिएकी मृतककी पत्नी आइत वरियालाई वुझेको पनि देखिदैन । डांका वारदात सितारामको घरमा भएको भनिएकोमा निज तथा निजको श्रीमती नैनदेवीले अदालतमा वयान गर्दा मैले कसैलाई चिनिन मलाई डाका वारदात थाहा छैन भनी वयान गरेको र अदालतमा वयान गर्दा प्र. विगा राउत र राजदेवले मृतक समेतलाई चिनेको समेत छैन भनी वयान गरेको देखिन्छ । निजहरुको वयान एक आपसमा विरोधाभाषपूर्ण देखिन आएको छ । प्रतिवादीहरु उपर अभियोग दावी पुष्टी हुने खम्विर सवुद प्रमाण मिसिल सँलग्न रहेको देखिदैन । फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर विवाद रहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा रहने कानूनी व्यवस्था वमोजिम प्रतिवादीहरुले वारदातका क्रममा को को भै के कसरी के कुन तरिकावाट वारदात घटाएको हो त्यो कुराको पुष्टी मिसिल कागज प्रमाणवाट देखिनु फौजदारी न्यायको रोहमा महत्वपूर्ण पक्ष रहने हुन्छ । फौज्दारी न्याय प्रशासनमा सरकारी पक्षको कर्तब्य वारदातको वारेमा वयान गराउनु, म्याद थप्नु, अभियोग पत्र दायर गर्नु र वहस पैरवी गर्नुका मात्र सिमित रहने हुदैन, अभियोग दावी लिइएका व्यक्तिहरुको उक्त अपराधमा के कुन तरिकाले सँलग्न रहेको थियो निजको भूमिका घटनामा के कस्तो थियो, उक्त कुरा पुष्टि हुने दशी प्रमाण के कस्ता छन् ? सो को यथार्थ विवरण मिसिलवाट देखिनु पर्ने हुन्छ । फौजदारी अभियोगको सँगै अभियुक्तको वैयक्तिक स्वतन्त्रता कुण्ठीत हुन जान्छ र निरपराध व्यक्ति वा दोषी व्यक्ति नै किन नहोस उसको निर्दोषिता वा दोषिताको प्रष्ट खाका सहित अभियोजन भएमा न्याय प्रशासन स्वच्छ र सशक्त हुन जाने कुरामा दुई मत रहदैन । तसर्थ शंका रहित तवरवाट प्रतिवादीहरु उपरको अभियोग समर्थन प्रमाणवाट पुष्टी हुन नआएको स्थितिमा केवल अनुमान र प्रहरीमा भएकै वयानको आधारमा दोषी कायम गर्नु न्यायोचित एवं कानूनी राज्यको मान्य सिद्धान्त वमोजिम भएको मान्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीहरुलाई अभियोग दावीवाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४२. अवः पुनरावेदक प्रतिवादी वैजनाथ महतोको पुनरावेदन तर्फ विचार गर्दा जाहेरी दरखास्तमा जाहेरवालाले चिनेको हुँ भनि किटानी साथ जाहेरी दिएको देखिन्छ । वारदात पछि भाग्ने क्रममा पानी पटाई रहेका मिश्री ठाकुर र वच्चा राउत कुर्मीले निजलाई चिनेको भनि लेखाएका छन् भने निज उपर ज्यान सम्वन्धीको महलको १७(३) नं. बमोजिमको अभियोग दावी लिएको देखियो । निजले आरोपित वारदातको कसूरमा इन्कारी वयान दिएको देखियो । खेतमा पानी पटाई रहेको वखत देख्ने भनिएका मिश्री ठाकुर र वच्चा राउतले वैजनाथको हातमा वन्दुक रहेको भनी कागज गरेको भए पनि मृतककी श्रीमती आइतवरिया जो वारदातमा चश्मदिद छिन् निजले अ. वं. १३९ नं. बमोजिम बयान गर्दा वैजनाथको हातमा भाला थियो भनि भनेकी छिन् । सितारामको घरमा डाका परेको भनिएकोमा निजको जाहेरी छैन, निजले अदालतमा वयान गर्दा जाहेरी झुठ्ठा हो भनी उल्लेख गरेका छन् । रातको अं. ११ वजेको वारदात पछि खेत तिर भाग्दै गरेका डाकाहरुलाई लाईटको उज्यालोवाट देखे चिने भन्ने भनाइ पनि पत्यारलायक देखिदैन, गाउँमा होहल्ला भै वन्दुक पड्केको आवाज आएपछि डाँका लाग्यो भन्ने सम्झिएपछि त्यस अबस्थामा निहत्था व्यक्तिहरुले लाईटको प्रयोग गरी भाग्नेहरु चिन्न खोज्नु भन्दा वत्ती निभाएर ज्यान वचाउन पट्टि लाग्नु मानवीय स्वभाव हो । त्यसमाथी वन्दूक वोकेको डाकाहरुले आफुलाई चिनिने गरी लाईटको उज्यालोमा आफूलाई चिनाउने गरी चुपचाप वस्नु कत्तिको विश्वासनीय छ त्यो पनि आफैंमा सन्देहात्मक छ । निज प्र. वैजनाथ महतो खुल्वटको अभियोग दावी प्रमाणित गर्ने प्रमाणको रुपमा जाहेरी, पानी पटाउन गएका मिश्री ठाकुर एवं वच्चा राउत कुर्मीको कागज, मृतककि श्रीमती आइत वरियाको वयान कागज लगायत अधिकार प्राप्त अधिकारी समक्षको सह–अभियुक्तहरुको पोल वाहेक स्वतन्त्र रुपले निजको वारदातमा सँलग्नता थियो भन्ने ठोस वस्तुनिष्ठ आधार प्रमाण मिसिलवाट देखिन आएन । जाहेरी दरखास्त, प्रहरी समक्षको वयान, पीडित पक्षको कागजले त्यतिवेला प्रमाणको रुप धारण गर्छ जुन वेला अन्य स्वतन्त्र रुपवाट घटनाको स्वरुपलाई चित्रण गर्ने प्रमाण मौजुद रहन्छ । अभियोग दावीलाई पुष्ट्याई गर्ने माथि उल्लेखित जाहेरी दरखास्त, प्रहरी समक्षको वयान कदापी हुन सक्दैन । यी भनेका अपराध अनुसन्धानमा सहयोग पुर्याउने प्राइमरी लिखत मात्र हुन । ज्यान डाका जस्तो संगिन अपराधमा केवल शंका र अनुमानको भरमा कसूरदार ठहर्याउनु मिल्ने नहुँदा पुनरावेदन अदालत हेटौडाले निज वैजनाथ महतोलाई कैद बर्ष तीन गरेको रायसँग सहमत हुन सकिएन सो उल्टी भई निजले अयिभोग दावीवाट सफाइ पाउने ठहर्छ । अरुमा तपशिल वमोजिम गर्नु ।
तपसिल
प्र. मंगल राउत अहिर के माथी ठहर खण्डमा उल्लेख भए बमोजिम निजको मृत्यु भएको भन्ने देखिदा निजको हकमा राखेको कैद लगत कटृा गरी दिनु र निजले यस अदालतमा पुनरावेदन पत्र दायर गर्दा राखेको जेथा जमानी फुकुवा गरि पाउँ भनी हकवालाको निवेदन परे फुकुवा गरि दिनु भनि लेखि पठाई दिनु ........ १
प्र. वैजनाथ महतो खुल्वट के माथी इन्साफ खण्डमा उल्लेख भए बमोजिम निजले आरोपित कसूरवाट सफाइ पाएको हुँदा निजको हकमा राखेको कैद लगत कटृा गरी दिनु र निजले यस अदालतमा पुनरावेदन दायर गर्दा राखेको जेथा जमानी फुकुवा गरि पाउँ भनि निवेदन परे कानूनको रीत पुर्याई फुकुवा गरि दिनु भनि लेखि पठाई दिनु ........ १
मिसिल नियमानुसार गरी वुझाई दिनु ....१
उक्त रायमा म सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति सम्वत २०६० जेष्ठ २६ गते रोज २ शुभम् .............